शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६६० - निखनाई पाउँ

भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११

निर्णय नं. ३६६०     ने.का.प. २०४५                 अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४५ सालको दे.पु.नं. ९२९

फैसला भएको मिति : २०४५।११।८।१ मा

 

पुनरावेदक/वादी : राजविराज न.पं.वार्ड नं. २ बस्ने छुतहरु यादव

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.वार्ड नं. ९ बस्ने सुनयना झा

 

मुद्दा : निखनाई पाउँ

 

(१)                लिखत पास भएको मिति थाहा भएको भनी देखाएपछि सो मितिको आधारमा थैली यकीन गर्न पर्नेमा वादीले कुनै किसिमले थैली थाहा पाउने प्रयास गरेको कुरा आफ्नो फिरादमा लेखी देखाउँन नसकेकोले हाल बहाल रहेको लेनदेन व्यवहारको १६ नं. अन्तर्गतको फिराद परेको भन्न मिल्ने देखिन नआउने ।

(प्रकरण नं. ९)

 

पुनरावेद/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुंज विहारीप्रसाद सिंह

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने तथा विद्वान अधिवक्ता श्री शिवराज अधिकारी

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४४।९।१९।१ को फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।

२.    राजविराज नगरपञ्चायत वार्ड नं. ९ कि.नं ११० को ०१०० साविकदेखि मैले जोती आएको उक्त जग्गा जग्गाधनी शान्तिदेवीले बिक्री गर्नु परेमा म मोहीलाई सुनाई लेनदेन व्यवहारको १२ नं. अनुसार मैले नलिएमा अरुलाई बिक्री गर्नु पर्नेमा मलाई थाहा नै नदिई उक्त जग्गा २०३९।३।१० गतेमा राजीनामा पारीत गराई लिएको कुरा यही पौष ९ गते प्रमाणका मानिसबाट थाहा पाएकोले नालेश गर्न आएको छु । उक्त जग्गा मेरो मोहियानी हुँदा शान्तिदेवीले सुनयना झा लाई के कति रुपैयाँमा कहाँबाट पारीत गरिदिएको हो विपक्षीबाट लिखत दाखिल गराई थैली म बाट धरौट दाखिल गराई सो थैली विपक्षी सुनयना झा लाई बुझाई उक्त कि.नं.११० को ०१०० जग्गा म मोहीलाई हक सम्झी गराई मेरा नाउँमा दर्ता गराई पाउँ भन्ने समेत ०३९।१०।१२।४ को फिरादपत्र ।

३.    फिराद लेख बमोजिम वादी जग्गा कमाउने मोही होइन । त्यसो हुनाले वादीले मैले खरीद गरेको जग्गा निखनाई पाउने होइन फिराद लेख झुठ्ठा हो म संग वादीको बराबर सम्पर्क आवत जावत भएको हुँदा पारित भएको कुरा थाहा नभएको फिराद लेख झुठ्ठा हो भन्ने समेत सुनयना झाको २०४०।१।१४।४ को प्रतिउत्तरपत्र ।

४.    एका सगोलको लोग्ने जयनारायण शाहले २०४०।१।७।४ मा बुझी लिएको इतलायनामाको म्याद गुजारी प्र.शान्तिदेवी बसेको ।

५.    लेनदेन व्यवहारको १२ नं. मा हकवालाले ननिखनेमा र म्याद भित्र उजूर गरे मोहीले निखन्न पाउँछ भन्ने लेखेको देखिनुका साथै प्रतिवादीले नै पेश गरेको लिखतमा वादी मोही भन्ने लेखेको देखिएकोले वादी दावा अनुसार कि.नं. ११० को ०१०० जग्गाको हक निखन्न पाउने ठहर्छ भन्ने शुरु सप्तरी जिल्ला अदालतको ०४०।९।११।२ को फैसला ।

६.    शुरु जिल्ला अदालतको इन्साफमा चित्त नबुझी म सुनयना झा तर्फबाट सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चमा परेको पुनरावेदनमा लेनदेन व्यवहारको १२ नं. को दहाय १ बमोजिम निखनाई पाउन सक्ने व्यक्ति भएको र सोही ऐनको ११ नं.को म्याद भित्र फिराद दावी भई प्रतिउत्तर परी थैली रजिष्ट्रेशन दस्तूर यकीन भएपछि थैली र रजिष्ट्रेशन दस्तूर दाखिल भएको देखिनाले प्रत्यर्थी वादीले फिराद दावी बमोजिम हक निखनाई पाउने ठहर्‍याई शुरु जिल्ला अदालतले गरेको निर्णय मनासिब देखिँदा पुनरावेदकको पुनरावेदन जिकिर नपुग्ने ठहर्छ भन्ने सगरमाथा अञ्चल अदालत राजबिराज बेञ्चको ०४२।७।१३।३ को फैसला ।

७.    स.अं.अ.(राजविराज बेञ्च) को उक्त फैसलामा समेत चित्त नबुझी पुनरावेदन गर्ने अनुमति प्राप्त गरी प्र.सुनयना झा तर्फबाट पू.क्षे.अ.मा पुनरावेदन परकोेमा प्रस्तुत मुद्दामा वादीले थैली थाहा पाउन प्रयास गरेको भन्ने कहीँ पनि उल्लेख गरेको देखिएन । ०३९।३।१० गतेमा राजीनामा पारीत भएको जानकारी पाएको भनेकोमा रजिष्ट्रेशन पनि वादी  प्रतिवादीको घर भएकै इलाकाको मालपोत कार्यालयबाट भएको देखिँदा यस्तोमा यदि रजिष्ट्रेशनको २६ नं.बमोजिम वादीले मालपोत कार्यालयमा गई प्रयास गरेको भए थैली थाहा पाउने हुँदा थैली थाहा पाउने उद्योग नै नगरी थैली थाहा भएन भन्दै रजिष्टेशनको ३५ नं. ले निर्देशित उपायको खिलाफ सोझै अदालतमा नालेश दिएकोबाट स.अ.फुल बेञ्चको २०३५।१२।२१।६ मा प्रतिपादित सिद्धान्त बर्खिलाप हुँदा वादी दावी पुग्न नसक्नेमा निखन्न पाउने ठहर्‍याएको शुरु र अञ्चल अदालतको इन्साफ गल्ती हुँदा उल्टी हुन्छ, वादी दावी पुग्न सक्दैन भन्ने व्यहोराको पू.क्षे.अ.को २०४४।९।१९।१ को फैसला ।

८.    पू.क्षे.अ.को उक्त फैसलामा चित्त नबुझी पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीतर्फबाट पूर्वाञ्चल क्षेत्रीय अदालत मार्फत पर्न आएको निवेदनमा नि.नं.२१२०, ने.का.प. २०४१, पृष्ठ ८१९ पु.वादी गणेशलाल मरी मु.स.गर्ने श्याम बिहारीलाल समेत विपक्षी प्र.अम्बरनाथ समेत भएको हक सफा मुद्दामा स.अ.डिभिजन बेञ्चबाट २०४१।९।२४ मा भएको निर्णयमा प्रतिपादित सिद्धान्त विपरीत प्रस्तुत मुद्दामा निर्णय भएको देखिन आएकोले न्या.प्र.सु. (चौथो संशोधन) ऐन, २०३१ को दफा १३(५)(ग) अनुसार प्रस्तुत मुद्दामा पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको २०४५।१।२४।६ को आदेश ।

९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा वादी प्रतिवादीका वारेशलाई रोहवरमा राखी पुनरावेदक वादीतर्फबाट बहसका लागि उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुंजविहारीप्रसाद सिंको र विपक्ष प्रतिवादीतर्फबाट बहसका लागि उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने तथा श्री शिवराज अधिकारीको बहस जिकिर सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ भनी इन्साफतर्फ विचार गर्दा पु.क्षे.अ.बाट ने.का.प. २०३५, पृष्ठ २५६ मा प्रकाशित नि.नं.१२१९ वादी सूर्यबहादुर श्रेष्ठ वि.रमेश श्रेष्ठ समेत भएको निखनाई पाउँ भन्ने मुद्दामा यस अदालतबाट प्रतिपादित सिद्धान्तको आधारमा वादीले थैली पत्ता लगाउने कुनै प्रयास नगरेको भन्ने आधारमा शुरु जि.अ.को सदर गरेको अं.अ.को फैसला उल्टाई दावी बमोजिम निखन्न नपाउने ठहर्‍याएकोमा वादीको पुनरावेदन गर्ने अनुमति पाउँ भनी दिएको निवेदनमा क्षे.अ.को उक्त फैसला ने.का.प. २०४१, पृष्ठ ८१९, नि.नं.२१२० पू.वादी गणेशलाल मरी मु.स.गर्ने श्यामविहारीलाल वि.अम्बरनाथ समेतको हकसफा मुद्दामा प्रतिपादित सिद्धान्तको विपरीत भएको भन्ने आधारमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको देखिएको वादी दावीको कुराको सन्दर्भमा उक्त नजीरहरु अध्ययन गरिएमा ने.का.प. २०३५, पृष्ठ २५६, नि.नं.१२१९ को मुद्दामा २०३१।१०।२६ मा लिखत राजीनामा दिएको कुरा हुँदा साविक रजिष्टेशनको ३५ नं. को व्यवस्थालाई व्याख्या गरी थैली थाहा पाउने उद्योग गरेकै छैन भने थैली थाहा छैन भनी जिल्ला अदालतमा नालेश गरेकोबाट रजिष्ट्रेशनको ३५ नं. को खिलाफ यो फिराद परेको हुनाले यसबाट वादी दावी पुग्न सक्दैन भनी जि.अ.ले गरेको ठहर म.क्षे.अ.ले सदर गरेको मनासिब ठहर्छ भन्ने ठहर भएको देखिएकोबाट साविक अर्थात् २०३४ सालमा मुलुकी ऐन लेनदेन व्यवहारको १६ नं. मा संशोधन हुनु पूर्व पनि थैली थाहा नभएकोमा थैली थाहा पाउने प्रयास गर्नु बेगर सिधा अदालतमा आई निखनाई पाउँ भनी दिएको फिराद तत्काल प्रचलनमा रहेको रजिष्ट्रेशनको ३५ नं. को विपरीत हुने र त्यस्तो फिरादबाट निखन्न दिन नमिल्ने भन्ने ठहर भएको स्पष्ट छ । अनुमति प्रदान गर्दा उल्लेख भएको ने.का.प. २०४१, पृष्ठ ८१९, नि.नं.२१२० को मुद्दाको प्रकाशित नजीर हेरिएमा सो मुद्दामा पनि २०२९।११।२ मा पास  भएको लिखतको सम्बन्धमा मुद्दा परेकोमा संयुक्त इजलासबाट ठहर हुँदा प्रस्तुत मुद्दाको फिराद पर्दाको अवस्था कायम रहेको लेनदेन व्यवहारको १६ नं. हेर्दा थैली थाहा नभएकोमा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिन भित्र थैली अड्डामा ल्याई धरौट राख्नु पर्छ भन्ने उल्लेख भएको पाइन्छ । हक निखनाई लिन अंक बताई दिनुहोस् भन्दा निखन्न दिन्नौ अंक बताउन खाँचो छैन भनी जवाफ गरे लिखत पत्ता लगाई निखन्नलाई भरमग्दूर प्रयास गर्दा लिखत पास भएको कार्यालय पत्ता लगाउन सकिन भन्दै तत्कालीन लेनदेनको १६ नं. को आधारमा प्रस्तुत फिराद परेको पाइन्छ । प्रतिउत्तर परी थैली थाहापाए पछि थैली समेत ऐनका म्यादभित्र धरौट राखेको देखिन्छ । फिराद पर्दाको अवस्था वादीलाई थैली थाहा भएको भन्ने र निखन्न दिनु नपर्ने कुराको तथ्ययुक्त सबूत प्रमाण प्रतिवादीले दिन सकेको छैन यस्तोमा प्रतिउत्तर परी थैली थाहा पाएपछि म्यादभित्रै धरौट राखेको अवस्थामा निखन्न पाउँदैन भन्न नमिल्ने भन्ने ठहर भएको देखिएकोबाट प्रस्तुत नजीरबाट पनि थैली थाहा नभएको आधारमा तत्काल प्रचलित रजिष्ट्रेशनको ३५ नं. को विपरीत नहुने गरी लेनदेन व्यवहारको १६ नं. अन्तर्गत सिधा अदालतमा थैली धरौट राखी दिएको फिरादबाट इन्साफ दिन थैली थाहा पाउने भरमग्दुर प्रयास गरेको देखाउनु पर्ने अनिवार्य गरेको देखिन आएकोबाट यस नजीरबाट पनि उक्त ने.का.प. २०३५, नि.नं १२१९, पृष्ठ २५६ को मुद्दामा पूर्ण इजलासको बहुमतको राय नै समर्थन गरेको स्पष्ट हुन आउँछ । प्रस्तुत मुद्दामा २०३४।५।१४ को लिखत पास गरिपाउँ भनी मुद्दा परी पास हुने ठहरी २०३९।१।२२ मा अन्तिम फैसला भई २०३९।२।१९ को पास पुर्जी बमोजिम २०३९।३।१० मा पास भएकोबाट लिखत मिति २०३४।५।१४ कै भए पनि २०३९।३।१० मा पास भएकोबाट वादीले २०३४।९।२७ मा संशोधित लेनदेन व्यवहारको र रजिष्ट्रेशनको व्यवस्था अनुरुप निखनाई माग्नु अनिवार्य भएको छ । प्रस्तुत मुद्दामा पनि वादीले थैली थाहा नपाएको प्रचलित लेनदेन व्यवहारको १६ नं. को आधारमा फिराद दिएको देखिएकोले हाल प्रचलित लेनदेन व्यवहारको १६ नं. मा भएको व्यवस्था हेरिएमा सोमा भएको व्यवस्थामा “...थैली थाहा नहुने मनासिब कारण परी थाहा नभएकोमा प्रतिउत्तर परेको ३५ दिन भित्र...भन्ने रहेकोबाट थैली थाहा नभएको आधारमा रजिष्ट्रेशनको ३५(२) नं. को व्यवस्था बमोजिम मालमा दर्खास्त नदिई अदालतमा सिधा फिराद दिंदा थैली थाहा नहुनुको मनासिब कारण आफ्नो फिरादमा लेखी देखाउनु अनिवार्य गरेको छ । यदि सो बमोजिम नगरेको भए उक्त नजीरमा प्रतिपादित सिद्धान्तले त्यस्तो फिरादबाट निखन्न दिन नमिल्ने स्पष्ट छ । अतः वादीको २०३९।१०।१२ मा परेको फिराद हेरिएमा सो फिरादको प्रकरण २ मा मलाई कुनै थाहा खबर नदिई विपक्षीहरु गुपचुप मिली नमालुम के कति रुपैयाँमा हो उक्त जग्गा राजीनामा गरी २०३९।३।१० मा पारीत गराई लिएको रहेछ सो कुरा मलाई थाहा भएन यही गएको पौष ९ गतेमा निम्न प्रमाणका मानिसहरुले मलाई सुनाएबाट थाहा भएको थैलीको अंक निजहरुले पनि नदेखेको र कहाँबाट पास गरे गराए सो पनि पत्ता नलागेकोबाट थैली यकीन हुन नसके पनि प्रतिउत्तर परेपछि धरौट राख्न पाउने लेनदेन व्यवहारको १६ नं. मा व्यवस्था भएको..भनी देखाई फिराद दिएकोबाट लिखत पास भएको मिति सम्म थाहा भएको भनी देखाएपछि सो मितिको आधारमा थैली यकीन गर्नै पर्छ । वादीले कुनै किसिमले थैली थाहा पाउन प्रयास गरेको कुरा आफ्नो फिरादमा लेखी देखाउन नसकेकोले हाल बहाल रहेको लेनदेन व्यवहारको १६ नं. अन्तर्गतको फिराद परेको भन्न मिल्ने देखिन आएन । लिखत मुलुकी ऐनमा २०३४।९।२७ मा सातौं संशोधन भएपछि पास भएको र फिराद पनि २०३९।१०।१२ मा मात्र परेको देखिन आएकोले साविक प्रचलित लेनदेन व्यवहार रजिष्ट्रेशनको महलको व्यवस्था समेतमा विचार गर्न नपरेकोले उल्लिखित नजीरहरु समेतबाट पू.क्षे.अ.ले निखन्न नपाउने ठहर्‍याएको इन्साफ  मनासिब ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४५ साल फाल्गुण ८ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु