निर्णय नं. ३६६१ - निखनाई पाउँ

निर्णय नं. ३६६१ ने.का.प. २०४५ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको दे.पु.नं. ६०९
फैसला भएको मिति : २०४५।११।१।१ मा
पुनरावेदक/वादी : का.न.पं.वा.नं.२ टंगाल गैरी धारा बस्ने पद्मलक्ष्मी राजभण्डारी
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.वा.नं.२९ केशरमहल बस्ने कृष्णचन्द्र देवी राणा
मुद्दा : निखनाई पाउँ
(१) नासो धरौटको महल अन्तर्गत पर्ने गरी नासो धरौट राख्दा दिंदा लिने दिनेको बीच कुनै लेनदेन नहुने जबकी लेनदेनको महल अन्तर्गत पर्ने गरी बन्धकी धरौट दिँदा लिने दिने दुईको बीच लिनु दिनु समेत हुने ।
(प्रकरण नं. १३)
(२) लिने दिनेको बीचमा लेनदेन कारोबार गरी चल धनमाल धितो दिएकोलाई नासो धरौटको महल भित्र पर्ने नासो धरौट भन्न नमिली लेनदेन व्यवहार अन्तर्गतको धरौट हो भन्नु पर्ने अवस्थामा लेनदेनको १४ नं. मा भएको व्यवस्थाबाट यस्तो धरौट राखेको चल धनमाल जहिलेसुकै निखन्न आए पनि साहुले आफ्नो थैली बुझी लिई निखन्न दिनु पर्ने व्यवस्था गरेको हुँदा नासो धरौटको ७ नं. र लेनदेन व्यवहारको ४० नं. को म्याद भित्र फिराद नपरेको हुनाले हदम्याद नाघेको भनी खारेज गरेको इन्साफ मनासिफ देखिन नआउने ।
(प्रकरण नं. १३)
पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी एवं विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी
फैसला
न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ ।
२. पिता मिनबहादुरले मेरो लागि बनाई दिनु भएको नम्बरी सुन तोला २८/–/६ (अठ्ठाइस तोला ६ लाल) को चन्द्रहार १ र ऐ.सुन तोला ११–९–८ (एघार तोला नौ मासा आठ लाल) को चरी थान चार समेत जम्मा सुन तोला ४०।१४ (चालिस तोला चौध लाल विपक्षीलाई बन्धकी दिई रु.८,५००।– २०२१।१२।२५ मा लिएका थिएँ । उक्त गहना बन्धकी दिएको निस्सा २०२१।१२।२५।४ को लिखत र रु.८,५००।– बुझाई निखनी लिन भनी २०४० सालमा जाँदा धेरै वर्षको कुरा भयो यति पछि निखन्न मिल्दैन भन्ने जवाफ बक्सेकाले नालिश गर्न आएको छु । उक्त रु.८,५००।– विपक्षीलाई बुझाउन लगाई उक्त सुनका गहना निखनाई पाउँ भन्ने समेत व्यहोराको पद्मलक्ष्मी राजभण्डारीको फिराद ।
३. फिराद लेखबाट २०२१।१२।२५।४ मा धनमाल गहना धरौट राखी रुपैयाँ लिई रसीद भर्पाई गराई लिएको देखिन्छ । मुलुकी ऐन नासो धरौटको ७ नं. अनुसार १० वर्षभित्रको फिराद हुनुपर्नेमा १९ वर्षपछि २०४० सालमा हदम्याद नाघेको आधारबाट खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको कृष्णचन्द्रदेवी राणाको प्रतिउत्तर ।
४. वादीले प्रमाण दिएको लिखत २०२१ सालको भई फिरादपत्र २०४० सालमा पर्न आएकोमा १० वर्ष वितिसकेपछि पर्न आएको फिरादबाट नासो धरौटको ७ नं. को मयाद नाघी आएको हुँदा कारवाही गर्न नमिली खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०४१।१।१२ को फैसला ।
५. कानून बमोजिमको लिखतलाई मान्यता नदिई १० वर्षको हदम्याद नाघेको भनी खारेज गर्ने गरेको फैसला त्रुटिपूर्ण छ भन्ने समेत व्यहोराको पद्मलक्ष्मी राजभण्डारीको बागमती अञ्चल अदालतमा गरेको पुनरावेदन ।
६. प्रस्तुत मुद्दा स्पष्ट रुपमा मुलुकी ऐन नासो धरौटको १ नं.अन्तर्गतको देखिन आएकोले ऐ.को ७ नं. अन्तर्गत नालेश गर्न पर्नेमा वादीले सो गर्न नसकेकोले शुरु का.जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको मिति २०४१।७।२८।३ को फैसला ।
७. विपक्षीलाई धितो दिएको सुन सुरक्षाको लागि धरौट राखेको नभई कर्जा लिए बापतको धितो हुनाले नासो धरौटको १ नं.लागू हुने भनी कानूनको गलत व्याख्या गरी भएको फैसला त्रुटिपूर्ण छ । पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको पद्मलक्ष्मी राजभण्डारीले दिएको निवेदन ।
८. २०२१।२।२५।४ को लिखत अनुसारको सुन गहना निखनाई पाउँ भन्ने वादी दावीबाट प्रस्तुत मुद्दा प्रारम्भ भएको देखिन्छ । उक्त लिखतमा दाम फिर्ता गरेपछि माल फिर्ता दिनेछु भन्ने समेत व्यहोरा रहे राखिएको देखिएको र पछि फिर्ता लिने गरी कसैलाई राख्न दिएकोलाई नासो तथा ऋण लिए बापत धितो रहेकोमा बन्धकी मानिने हुनाले बन्धकीको रुपमा विवादीत सुन गहना राखिएको स्पष्ट हुन्छ । चल भोगबन्धकी राखिने लेनदेन व्यवहारको १४ नं. ले ग्राह्य नै हुने हुनाले समेत प्रस्तुत विवादमा नासो धरौटको ऐन आकृष्ट हुने अवस्था देखिएन । तसर्थ सबूद प्रमाणको आधारमा ठहर निर्णय गर्नुपर्नेमा शुरुबाट खारेज गरेकोलाई मनासिब ठहर्याएको बागमती अञ्चल अदालतको फैसला नमिली कानूनी त्रुटिपूर्ण हुँदा न्या.प्र.सु. ऐन, ०३१ (संशोधन सहित) को दफा १३(३) को आधारमा निवेदक वादीलाई पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने मिति २०४३।४।२४।२ को आदेश ।
९. प्रतिवादीले गरी दिएको कागजबाट लेनदेन व्यवहारको १४ नं.बमोजिम भोग वा दृष्टि बन्धक भन्न सकिने अवस्थाको नदेखिँदा लेनदेन व्यवहारको १६ तथा १७ नं.बमोजिम फिर्ता बन्धक राखी कर्जा लिएको भन्नलाई उक्त १६ र ३० नं. को प्रावधान हेरिएमा जहिले सुकै पनि नालेश लाग्ने गरी हदम्यादको व्यवस्था गरेको देखिन नआउँदा यस्तो अवस्थामा लेनदेन व्यवहारको ४० नं. को हदम्याद २ वर्षभित्र वादीको फिराद परेको समेत देखिन नआएबाट वादीको फिराद खारेज गरेको शुरु फैसला सदर गरेको अञ्चल अदालतको इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।३।२८ को फैसला ।
१०. लेनदेन व्यवहारको १६ नं. ले थैली तिरी निखन्न लिन पाउने गैह्र कुरामा भन्ने वाक्यांशले मैले बन्धकी राखेको सम्पत्ति थैली तिरी निखनी लिन पाउने हकमा विवाद गर्न सकिँदैन । थैली तिरी निखन्न पाउँ भनी दायर गरेको फिराद कदापि खारेज हुनसक्दैन । साहूको बन्धकी सम्पत्तिमा स्वामित्व नहुने भई दिएको ऋणमा मात्र हक हुने भएकोले सम्पत्ति नै साहुको हुने गरी गरिएको फैसलामा लेनदेन व्यवहारको १६ नं. को व्याख्या सम्बन्धी प्रश्न निहित हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीको अदालतमा पर्न आएको निवेदनपत्र ।
११. यसमा निवेदक वादीले सुनको गहना बन्धकी राखी रुपैयाँ लिए खाएको कुरामा विवाद देखिँदैन । वादीले त्यस्तो निर्विवाद बन्धकी गहना निखन्न पाउने नपाउनेतर्फ कानूनी व्यवस्था के छ भनी लेनदेन व्यवहारको महलको २९ नं. मा हेर्दा चलअचल भोग बन्धक वा दृष्टिबन्धक लिई राखे तमसुक बमोजिमको वा त्यसभन्दा घटी लिई लखबन्धकी राखी थैली लिन हुन्छ । बढता लिई सार्न हुँदैन । लखबन्धक परेको चलअचल अघि भोग दृष्टि बन्धक राख्नेले रुपैयाँ तिरी निखन्न जाँदा घटी लिई लख सारेकोमा आफूले बन्धक दिएका ठाउँमा तहतह संगै गई निखन्न जानुपर्छ । पूरा लिई लख सारेकोमा पछिल्ला साहू कहाँ निखन्न गए पनि हुन्छ । पछि लिनेले अघिको भन्दा बढ्ता थैली लिएको र करार लेखेको सदर हुँदैन भन्ने लेखिएको देखिन्छ । यस्तो स्थितिमा कानूनले हदम्यादै नतोकेको विषयमा हदम्याद भित्र फिराद नपरेको भनी खारेज गर्ने गरेको म.क्षे.अ.को फैसलामा उक्त लेनदेन व्यवहारको २९ नं. को प्रत्यक्ष त्रुटि गरी गरेको देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४४।५।७ को आदेश ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले चल धनमाल पनि धरौट बन्धकी हुनसक्ने व्यवस्था लेनदेन व्यवहारको महलमा भएकोबाट प्रस्तुत धरौट सोही अन्तर्गतको हो यस्तोमा जहिले सुकै पनि निखन्न पाउने कानूनी व्यवस्था हुँदा हदम्यादको आधारमा फिराद दावी खारेज गरेको इन्साफ मिलेको छैन भन्ने तथा विपक्षीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी एवं विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीले लिखत व्यहोराबाट बन्धकी भन्ने नदेखिई धरौट भन्ने देखिएको फिराद व्यहोरामा समेत सोही दावी भएबाट सो लिखत नासो धरौट भित्र पर्ने हुँदा हदम्यादको आधारमा खारेज गरेको मनासिब छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो । विद्वान कानून व्यवसायीहरुको बहस समेत सुनी प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।
१३. यसमा क्षेत्रीय अदालत समेतले निखनाई पाउँ भनेको चल धनमाललाई बन्धकी कायम नगरी धरौटी मानी नासो धरौटको ७ नं. को म्याद र लेनदेनको ४० नं. को म्यादभित्र नपरेको भन्ने आधारमा वादी दावी खारेज गरी फैसला भई आएकोमा सर्वोच्च अदालतबाट अनुमति प्रदान भई आदेश हुँदा लेनदेनको २९ नं. हेर्दा बन्धकी निखन्न कानूनले हदम्याद नै नतोकेको विषयमा हदम्याद भित्र फिराद नपरेको भनी खारेज गरेको लेनदेन व्यवहारको २९ नं. को प्रत्यक्ष त्रुटि गरेको भन्ने आधार लिई अनुमति प्रदान भएकोबाट वादीले निखनाई पाउँ भनी दावी लिएको चल धनमाल बन्धकी हो वा क्षेत्रीय अदालत समेतबाट ठहर भएबमोजिम नासो धरौटको महल अन्तर्गतको धरौट हो भन्ने नै मुख्य प्रश्न देखिन आउँछ । नासो धरौटको सम्पूर्ण महलमा भएको व्यवस्था हेरिएमा सो महल अन्तर्गत नासो धरौट लिएको कुरामा नासो धरौट लिने व्यक्तिले नासो धरौट दिनेलाई कुनै रकम दिने जस्तो कहीँ कतै व्यवस्था नगरेको र लेनदेन व्यवहार अन्तर्गत पर्न बन्धकी धरौटमा त्यस्तो बन्धकी धरौट लिनेले बन्धकी धरौट दिनेलाई आफूले बन्धक धरौटी लिएको माल बापत रकम कर्जाको रुपमा दिने व्यवस्था गरेको लेनदेन व्यवहारको ३२ नं. मा भएको व्यवस्थाबाट स्पष्ट देखिन आउँदछ । यिनी दुई व्यवस्थाहरुबाट यो स्पष्ट हुन्छ कि नासो धरौटको महल अन्तर्गत पर्ने गरी नासो धरौट राख्दा दिँदा लिने दिनेको बीच कुनै लेनदेन हुँदैन जबकी लेनदेनको महल अन्तर्गत पर्ने गरी बन्धकी धरौट दिँदा लिने दिने दुईको बीच लिनु दिनु समेत हुन्छ । नासो धरौट र बन्धकी धरौटमा यही नै मुख्य भिन्नता रहेको पाइन्छ । यसै कसीलाई ध्यानमा राखी विवादको कुरामा विचार गर्दा वादीले आफूले फिर्ता पाउँ भनी दावी लिएको चल धनमाल प्रतिवादीले लिएको भन्ने कुराको मुख्य सबूदको रुपमा प्रतिवादीले गरी दिएको ०२१।१२।१५ को लिखत पेश गरेको छ । जसलाई अदालतबाट सुनाइँदा प्रतिवादीले इन्कार गर्न नसकी आफूले गरी दिएको कुरा स्वीकार गरेको छ । पेश भएको सो लिखत व्यहोरा हेरिएमा सो लिखतमा धरौट लिनेले दिएको रकम र धरौट दिनेले दिएको चल धनमाल विवरण खुलाई पेट व्यहोरामा धरौट दिने काजी मिनबहादुरकी छोरी वादी पद्मलक्ष्मी राजभण्डारीलाई मोरु ८,५००।– दिए र निजको सुन ४० तोला ४ लाल मैले बुझिलिएको छ दाम फिर्ता गरेपछि माल फिर्ता दिनेछु भन्ने व्यहोरा लेखी प्रतिवादी कृष्णचन्द्रदेवी राणाले सहिछाप गरी दिएको देखिन आउँछ । यसबाट यो स्पष्ट देखिएको छ कि धरौट दिने वादी र धरौट लिने प्रतिवादीको बीचमा रु.८,५००।– को लेनदेन भएको छ । लिखतको यो व्यहोराबाट धरौट लिने र दिनेको बीचमा लेनदेन कारोबार भई दावीको चल धनमाल धरौटमा राखेको कुरामा कुनै शंका लिनु पर्ने ठाउँ देखिन आउँदैन । यसरी लिने दिनेको बीचमा लेनदेन कारोबार गरी चल धनमाल धितो दिएकोलाई माथि लेखी देखाइएका कानूनी व्यवस्थाबाट नासो धरौटको महल भित्र पर्ने नासो धरौट भन्न नमिली लेनदेन व्यवहार अन्तर्गतको धरौट हो भन्नु पर्ने हुनआएको छ । यस अवस्थामा लेनदेनको १४ नं. मा भएको व्यवस्थाबाट यस्तो धरौट राखेको चल धनमाल जहिलेसुकै निखन्न आए पनि साहूले आफ्नो थैली बुझिलिई निखन्न दिनुपर्ने व्यवस्था गरेको हुँदा नासो धरौटको ७ नं. र लेनदेन व्यवहारको ४० नं. को म्यादभित्र फिराद नपरेको हुनाले हदम्याद नाघेको फिराद भनी मध्यमाञ्चल क्षेत्रीय अदालत समेतले खारेज गरेको इन्साफ मनासिब ठहर्नु पर्ने भन्ने विपक्षीतर्फको जिरह मनासिब देखिन आएन । यसप्रकार प्रस्तुत मुद्दामा इन्साफ दिनुपर्ने देखिन आएकोले कानून बमोजिम ठहर गर्नु भनी पक्ष विपक्षलाई तारेख तोकी मिसिल शुरु जिल्ला अदालतमा पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४५ साल फाल्गुण १ गते रोज १ शुभम् ।