शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७४१ - जारी

भाग: ४१ साल: २०५६ महिना: असोज अंक:

नि.नं. ६७४१        ने.का.प. २०५६ अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा

सम्वत २०५२ सालको फौं पु.नं..१११२

फैसला मितिः २०५५।८।१८।६

 

मुद्दाः जारी ।

 

पुनरावेदक

वादी : पाल्पा जि. दोभान गा.वि.स. वडा नं. ६ वस्ने खिमानन्द वस्याल

विरुद्ध

विपक्षी

प्रतिवादीः नवलपरासी जि.आर्दश गा.वि.स वडा नं. ८ डेरा गरी वस्ने कुविजा वस्याल समेत

 

§  इलाका प्रहरी कार्यालय दोभानमा मिति २०४६।९।६ मा कुविजा र शंकर न्यौपानेको वीचमा भएको भनिएको कागज अंश मुद्दाको नालेश परिसकेपछि सृजना गरेको देखिएकोले त्यस्तो कागजको प्रमाणिक मुल्य नरहनुका अतिरिक्त फिराद साथ नक्कल दाखिल गर्न सक्ने प्रकृतिको देखिएको उक्त कागजको नक्कल फिराद साथ पेश नगरी पुनरावेदन अदालतमा आएर मात्र उक्त कागजको फोटो प्रतिलिपि पेश गरेको देखिंदा यस्तो कागज अ.वं. ७७ नं प्रतिकूल भै प्रमाण ग्राह्य भन्न नमिल्ने ।

§  कुविजाले आफ्नो छोराहरु उपर समेत गाली वेइजती मुद्दा दिई झगडिया वनाइएका कृष्ण प्रसाद र वेद प्रसाद वस्यालको वकपत्रलाई स्वतन्त्र साक्षीको वकपत्र सरह प्रमाणमा लिन नमिल्नेमा गवाही दिन कर नलाग्ने भनी प्रमाण ऐनले तोकिएका यस्ता छोरा नाताका व्यक्तिहरुले आमाको विरुद्धमा व्यक्त गरेको वकपत्रलाई मात्र आधारमानी जारी गरेको भन्ने वादी दावी शंकारहित तवरवाट स्थापित भएको नदेखिएको यस्तो स्थितिमा अन्य स्वतन्त्र एवं वस्तुनिष्ठ आधार प्रमाणको अभावमा कसुरदार ठहराउन नमिल्नेमा शुरु पाल्पा जिल्ला अदालतले वादी दावी वमोजिम जारीको कसुर ठहर गरेको त्रुटिपूर्ण निर्णय वदर गरी प्रतिवादी कुविजा वस्याल र भीमलाल भन्ने शंकर न्यौपानेले आरोपित कसुरवाट सफाइ पाउने ठहर्‍याएको पुनरावेदन अदालत वुटवलको फैसला मिलेकै देखिंदा सदर हुने ।       

(प्र.नं.१४)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री विश्वकान्त मैनाली र विजयकान्त मैनाली

विपक्षी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री गुणनिधि न्यौपाने

अवलम्वित नजिरः ने.का.प. २०४२, अंक ८, नि.नं. २४४५, पृ. ७१२

 

फैसला

            न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत वुटवलको मिति ०५१।१२।१।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तरगत यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः 

            २.    कुविजासंग मेरो दाम्पत्य सम्बन्ध भएपछि २ भाई छोरा हुर्के पछि केहि वर्षसम्म मेरो सत्यमा रही वसी आएको थिइन् । २०४१ सालवाट विपक्षी आफ्नो विचारले मेरो स्वीकृति नलिइकन हिडडूल गर्न लागेकी थिइन । यो प्रवृतिवाट वाहिर गएकी र विपक्षी पाल्पा दोभान गा.वि.स वडा नं. ७ वस्ने विपक्षी मध्येका भिमलाल भन्ने शंकर न्यौपानेसंग अनुचित सम्वन्ध राख्दै गएकोले सो कुरा गाउमा थाहा हुन गै गाउ समाज इष्टमित्रले तिम्री श्रीमतीलाई आफ्नो नियन्त्रणमा राख भनेपछि सम्झाई बुझाई गर्दा पनि पूर्ववत हिडडूल गरी घरको निन्दा हुन गयो र छोराहरु पनि भारत तर्फ गए विपक्षी शंकर न्यौपानेले अनुचित सृजना गरेकोले प्रहरीमा वुझी कागज समेत गरेको हुंदा ०४६।६।३ गतेका दिन विहानै मेरो कमाइको पहिला सुन तोला आधाको रु. ३०००। परेको चन्द्रमा किलिप १ र ऐ. सुन तोला आधीको रु.३०००। पर्ने घांटीमा लगाउने नौ गेडी र मेरोघरमा भएको नगद २०,०००। समेत जम्मा रु.२६०००। लिइ वेपत्ता भएकोले सोहि दिन प्रहरीमा दरखास्त दिएको थिए । विपक्षीहरु नवलपरासी हिमचुली होटेलमा लोग्ने स्वास्नी भै वसेकोले जारीमा सजाय गरी धनमाल दिलार्ई पाउं भन्ने उजुर दिउला भनि वसेको वखत उल्टो कुविजाले ०४६।७।११ मा अंश मुद्दा दिएको कुरा सो मुद्दाको म्याद ०४६।७।२६ मा म्याद तामेल हुंदा थाहा पाएकोले अंश दिनुपर्ने होइन भन्ने प्रतिउत्तर दिएको हुंदा इन्साफ पाउने छु । विपक्षी शंकरले मेरो स्वास्नी हो भन्ने कुरा जानी जानी सत्य डगाई पोइल जाने लाने र धनमाल लाने गरेकोले ०४६।८।१५ मा म र मेरा छोराहरु विपक्षीहरु कहां गै तिमीहरु धनमाल समेत लिई लोग्ने स्वास्नी भै वसी उल्टो मुद्दा दिने भन्दा हामीले जानेको गर्र्यौ । तिमीहरुले जानेको गर भनि जवाफ दिएकोले धनमाल लिई गएकोमा अ.वं. ७२ नं.को अवस्था अनुकुल छुट्टै मुद्दा दायर गरेको हुंदा मेरो सत्य डगाई पोइल जाने समेत गरेकोमा विपक्षीहरुलाइ सजाय गरी पाउने हुंदा न्याय पाउन यस अदालतको शरणमा आएको छु ।जो जे वुझनु पर्ने वुझी जारीको २ नं. वमोजिम सजाय गरी पाउं भन्ने समेत वादी खिमानन्द वस्यालको मिति ०४६।१०।६ को फिराद दावी ।

            ३.    विपक्षीको सम्पूर्ण दावा झुटृा हो । पोइल नगएको हुंदा सजाय हुनुपर्ने छैन । विपक्षीसंग मेरो दाम्पत्य जीवन कायम भै २ छोराहरुको जन्म भएतापनि मलाई कुटपिट हेलत्व गर्दै आएको र यस्तै अवस्थामा २०४६ साल भाद्र महिनामा विपक्षीले कुटपीट गरी घरवाट निकाला गरेकोले माइतमा वसेको र ०४६।६।४ गते घरमा आई इज्जत अनुसार खान लाउन र मेरो पेंवाका रुपैया समेत दिनुहोस कि अंश दिनुहोस भन्दा खान वस्न र अंश समेत दिन्न जानेको गर भनी जवाफ दिएकोले मेरो अंश नामसारी मुद्दाको फिराद परी कारवाही चलिरहेकै छ । विपक्षीले उक्त मुद्दाको  प्रतिउत्तरमा भीमलाल भन्ने शंकर न्यौपानेसंग पोइल गएको भनि अंशवाट वंचित गराउने नियत राखी वेइज्जत गरेकोले सजाय गरी पाउं भनी फिराद गरेकी छु। मैले कतै कागज गरेकी छैन । मेरो नाम सीता होइन म घरवाट आई जि.न.पआ.गा.पं. वडा नं. ८ मा डेरा गरी वसेकी छु। भीमलाल भन्ने शंकर न्यौपानेसंग मेरो कुनै सम्वन्ध छैन । अंश हक मेट्न वंचित गर्ने उद्देश्यले यो झुटृा मुद्दा दिएको हो । मेरो सवदु प्रमाण समेत वुझी विपक्षीलाई कानून वमोजिम सजाय समेत गरी पाउं भन्ने प्रतिवादी कुविजा वस्यालको मिति ०४६।१२।३० को इन्कारी प्रतिउत्तर पत्र ।

            ४.    वादीको श्रीमती कुविजालाई मैले श्रीमती वनाई पोइल लगेको समेत हैन । मैले प्रहरी समेत कतै कागज गरेको हैन । मेरो नाम भीमलाल नभई शंकर न्यौपाने हो । प्र. वादी कुविजा दिदी नाता पर्ने भएकोले वादीलाई मैले भेनाजु भन्ने गर्दछु । म गुल्मीअविनि घरमा वस्ने गर्दछु । प्र.कुविजा र वादी खिमानन्द वीच झगडा हुदै गर्नेवाट अंश पाउं भनि कुविजाले मुद्दा दिएकी रहिछन । दोभान वस्ने मेरो वावाआमा लगायतका परिवारसंग घरायसी सानातिना कुरामा मनमुटाव र रिसइवी परि आएको पनि रहेछ । तिनै कारणहरु समेतवाट कुविजालाई अंश दिन नपरोस र रिसइवी जति साधना होस भनि यो झुटृा मुद्दा दिएको हो । जारीको ६ नं. को हदम्याद १ वर्षभित्र उजुर गर्न नसकि ६ वर्ष पछि मात्र यो उजुर गरेको हुंदा खारेज भागी पनि रहेको छ । वादीलाई मैले पोइल लगी श्रीमती वनाइ राखेको र धनमाल लिएको समेत कुनै कुरा हैन र ०४६।८।१५ मा वादीसंग भेट भएकोहैन तसर्थ वादी दावीवाट फुर्सद गरी वादीलाई नै कानून वमोजिम सजाय गरी पाउं भन्ने समेत प्रतिवादी शंकर न्यौपानेको मिति ०४६।१२।३० को प्रतिउत्तर पत्र ।

            ५.    वादी प्रतिवादीहरुका साक्षी गंगाधर न्यौपाने पति प्रसाद थापा, शत्रुघन सापकोटा समेतको वकपत्र भै मिसिल सामेल भएको रहेछ ।

            ६.    वादी खिमानन्द वस्यालको पत्नी प्र.कुविजालाई प्र. भीमलाल भन्ने शंकर न्यौपानेले भगाई लगि स्वास्नी तुल्याएको देखिन आएकोले प्रतिवादीहरु दुवै जनालाई मुलुकी ऐन जारीको महलको २ नं. वमोजिम जनहि एकमहिना कैद र रु.१,०००। जरिवाना हुने ठहर्छ भन्ने पाल्पा जिल्ला अदालतको ०४८।९।४ को फैसला ।

            ७.    शुरु पाल्पा जि.अ.ले मेरा साक्षी प्रमाण नवुझी केवल भावनामा वगी म विपक्षी खिमानन्दको सत्यमा वसेकीलाई शंकर न्यौपानेले जारी गरी लिए गएको भनी म समेतलाई सजाय गरी गरेको फैसला कानून प्रतिकूलको हुंदा सो फैसला वदर गरी हक इन्साफ पाउं भन्ने प्र. कुविजा वस्यालको पुनरावेदन अदालत वुटवलमा परेको पुनरावेदन पत्र ।

            ८.    विपक्षीको झुटृा तथ्यलाई प्रमाण मानि वास्तविक तथ्यको खोजी नै नगरी जारी गरी लगेको ठहर्छ भनि शुरु पाल्पा जि.अ.वाट भएको फैसला कानून प्रतिकूल हुंदा उक्त फैसला वदर गरी हक इन्साफ पाउं भन्ने प्र. शंकर न्यौपानेको पुनरावेदन पत्र ।

            ९.    यसमा प्रतिवादी कुविजाले आफ्नो लोग्नेको सत्य डगाई पोइल गएको, पोइल जांदा रु.२०,०००। गहना समेत लगेको भन्ने प्रतिवादीका साक्षीहरुले वकपत्र गरेको तर सत्य डगाउने रु.२०,०००। को गहना के कस्ता व्यहोरासंग लगेको भनि लेखाउन नसकेको र लगाउको दे.पु.नं. १८६७ को अंश मुद्दामा प्रतिवादीले यिनैवादी उपर मिति ०४६।७।११ मा दायर गरेको अंश नामसारी मुद्दाको इतलायनामा तामेली पछि मात्र प्रस्तुत जारी मुद्दा परेको देखिंदा शुरुको फैसला नमिली फरक पर्ने देखिंदा अ.वं २०२ नं. वमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत मिति ०५१।७।२१ को पु.वे.अ. वुटवलको आदेश ।

            १०.    शुरु अदालतले आमा पोइल गइन भन्ने छोराहरुको कथनलाई प्रमाणमा लिई म पोइल गएको छैन भन्ने आमाका कथनलाई प्रमाणमा नलिएको मिलेन । प्र. कुविजालाई प्र. शंकरले भगाई जारी गरी घरमा लगेको र निजहरु लोग्ने स्वास्नी भै वसेको भनि वादी प्रतिवादीका साक्षीहरुको वकपत्रवाट खुल्दैन । यिनीहरु वसेको भनेको परासीको देउराली होटेलको वतन किटानी नखुलेको र हचुवा तवरले सम्म शंकरसंग पोइल गएकी हुन भनि गरेको वकपत्रलाई अकाट्य प्रमाण मान्न सकिदैन । त्यस्तै जीवनाथलेजारी मुद्दामा कुविजा न्यौपानेको नाउंका म्याद वुझी लिएको प्रमाण सम्वन्धमा विचार गर्दा प्र. शंकर प्रसादले जारी गरे नगरेको प्रमाणको आधारमा कसुर प्रमाणित हुने हो । न कि जीवनाथले म्याद वुझी लिएको आधारमा जिवनाथले वेइज्जती मुद्दामा प्र. कुविजा भाउजु होइन दाजु शंकरको विवाह भएको छैन भनि प्रतिवाद गरेको छ । शुरु पाल्पा जि.अ.ले आधार लिएको दुवै प्रमाण मुद्दाका वस्तुस्थिति र तथ्यसंग मेल नखाने र भरपर्दो प्रमाण देखिन नआएकोले प्र. कुविजाले परासीमा गै वसेको कारणले मात्र घर छाडी पोइल गएकोभनि जारी गरेमा सजाय गर्न मिलेन । साथै प्रत्यर्थी तर्फका विद्वान अधिवक्ताले पेश गरेको मिति ०५०।९।६ को कागज अ.वं. ७७ न. प्रतिकूल हुंदा प्रमाणमा लिन मिलेन । तसर्थ प्रतिवादीहरुलाई आरोपित कसुरवाट सफाइ दिनुपर्नेमा सो नगरेको शुरु पाल्पा जि.अ.को फैसला उल्टी हुन्छ । प्र.कुविजा र प्र.शंकर न्यौपानेले सफाइ पाउने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत वुटवलको मिति ०५१।१२।१।४ को  फैसला ।

            ११.    विपक्षी कुविजा पोइल गएकी हो भनि निजका एकाघरका छोराहरुले समेत किटानी वकपत्र गरेका र विपक्षी शंकर न्यौपानेका भाईले कुविजाको म्याद वुझिलिंदा निजको एकाघरका देवर भनि सहि गरेको प्रमाणित तथ्यलाई पुनरावेदन अदालत वुटवलले ध्यान दिएको छैन । अर्कोतिर शंकर न्यौपानेले वयान गर्दा वादी प्रतिवादी दिदी भिनाजु पर्ने भनि वयान गरेको र प्रतिवादीका साक्षीहरुले समेत अन्यत्र गएको होइन भनि वकपत्र गरिएको झिनो प्रमाणको आधारमा गरेको उल्टी फैसलामा न्यायिक मनको प्रयोग एंव प्रमाणको सहि विवेचना भएको छैन। विपक्षी उपर परेको उजुरी पश्चात विपक्षीले प्रहरी समक्ष गरेको कागजलाई कानून व्यवसायीले प्रमाणको रुपमा पेश गरेकोमा केवल म प्रतिको पूर्वाग्रहको कारणवाट ग्रहण गरिएको छैन । ०५०।९।६ को कागजलाई प्रमाणको रुपमा नलिइ गरेको फैसला त्रुटिपूर्ण छ । साथै लिखतको प्रकृतिवाट प्रमाणको रुपमा प्राप्त गर्न नसक्ने कागज जहिले प्राप्त हुन्छ सो वखतमा प्रमाण मान्य हुन्छ । पुनरावेदन अदालतले अ.वं. ७७ नं. विपरित प्रमाण ग्रहणनगरी भएको फैसलामा अ.वं. १८४(क), प्रमाण ऐन, २०३१ को दफा ५४ विपरित हुंदा उक्त फैसला वदर गरी जारी ठहराउने गरी वादी दावी वमोजिम इन्साफ पाउं भन्ने समेत खिमानन्द वस्यालको मिति  ०५२।५।२०।३ को पुनरावेदन पत्र ।

            १२.   यसमा छोराहरु दुवैले आमा शंकर न्यौपाने संग पोइल गएको भनि वयान गरेको र जारी मुद्दामा निजको एकाघरका देवर भनि शंकर न्यौपानेका भाई जिवनाथ न्यौपानेले वुझी लिएको समेतवाट जारी नठहर्‍याएको पुनरावेदन अदालतको फैसला नमिली फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाउनु भन्ने समेत यस अदालतको मिति ०५४।११।२५।२ को आदेश ।

            १३.   नियम वमोजिम दैनिक मुद्दा पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा मेरो विवाहित श्रीमती कुविजा वस्याल ०४१ साल देखि मेरो सहमति वेगर घरवाट वाहिर गएकोमा भीमलाल भन्ने शंकर न्यौपानेसंग अनुचित सम्वन्ध कायम गरी ०४६।६।३ गते विहान गर गहना समेत लिई पोइल गएकीले जारीमा सजाय गरी पाउं भन्ने मुख्य फिराद दावी तथा खान लाउन नदिई कुटपिट गरी घरवाट निकाला गरेकोले नवलपरासीमा डेरा गरी वसेकी छु । अंश माग्दा नदिएकोले अंशमा नालेश गरेकी छु । पोइल गएको छैन भन्ने कुविजाको र कुविजा दिदी नाता पर्ने भै परिचित व्यक्तिसम्म हुन । मैले जारी गरी लगेको होइन । आमा वावुसंग रिसइवी परेकोले झुटृा मुद्दा दिएका हुन् भन्ने प्र. शंकर न्यौपानेको प्रतिउत्तर जिकिर भै उत्पन्न विवादमा पुनरावेदक वादीका तर्फवाट रहनु भएका विद्वान अधिवक्ता द्वय सर्व श्री विश्वकान्त मैनाली र श्री विजयकान्त मैनालीले  विपक्षी कुविजा शंकर न्यौपानेसंग पोइल नगएको भए कुविजाको नाउंमा जारी भएको म्याद वुझी लिने शंकर न्यौपानेका भाई जीवनाथले कुविजाको एकाघरको देवर भनि लेखाउन नपर्ने । कुविजाका छोराहरुले आमा माथि लागेको आरोप पुष्टी गरी दिएको स्थितिमा जारी ठहर नहुनु त्रुटी एवं अन्यायपूर्ण छ। कुविजा र शंकरको वीचमा उमेरको फरक पर्दैमा यौन सम्पर्क हुन नसक्ने होइन । मिसिल संलग्न देउराली होटलमा कुविजा र शंकर एउटै पलङमा एउटै सिरक ओढी अगालो हालेर सुतेको फोटोले जारी ठहर गर्न पर्याप्त प्रमाण पुगेकै हुंदा पुनरावेदन अदालतको निर्णय वदर गरी जारी ठहर हुनुपर्छ भनि गर्नु भएको वहस, प्रत्यर्थी मध्येकी कुविजा वस्याल तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले अंश मुद्दाको इतलायनामा तामेल भएपछि प्रतिउत्तर पत्र ०४६।९।२१ मा दर्ता भै सकेपछि मिति ०४६।१०।६ मा जारीमा फिराद परेको छ । अंश नदिने वहानाले जारीमा फिराद परेको प्रष्ट छ । मेरो पक्ष कुविजाले नवलपरासी वतन देखाएको छ तर दोभान गा.वि.स.मा म्याद तामेल गरी देवर भाउजु नाता देखाउंदैमा त्यसलाई मेरो पक्षको विरुद्ध प्रमाण ग्रहण गर्न मिल्दैन भन्ने वहस जिकिर प्रस्तुत गर्नु भयो । अर्का प्रत्यर्थी भिमलाल भन्ने शंकर न्यौपानेका तर्फका विद्वान अधिवक्ता श्री गुणनिधी न्यौपानेले कुविजाका छोराहरुले आमाको विरुद्धमा वकेको वकपत्रको प्रस्तुत मुद्दामा प्रमाणिक महत्व रहदैन । त्यस्तै शंकर न्यौपानेका भाई जिवनाथले कुविजाको नाउंको म्याद वुझी लिदा म्यादको पिठमा लेखिएको व्यहोराले मेरो पक्षको विरुद्ध प्रमाण लाग्न सक्ने होइन । म्याद वुझी लिंदा एकाघरको देवर भनि तामेलदारले उल्लेख गर्दैमा सो कथन जिवनाथको हुन सक्ने होइन ।  तसर्थ पुनरावेदन अदालत वुटवलको निर्णय सदर कायम रहनु पदर्छ भनि वहस जिकिर प्रस्तुत गर्नु भयो । दुवै तर्फका विद्वान कानून व्यवसायीहरुको वहस जिकिरहरुलाई मध्यनजर राख्दै पुनरावदेन अदालत वुटवलले वादी दावी वमोजिमको कसुरवाट प्रतिवादीहरुले सफाइ पाउने ठहराएको निर्णय मिले नमिलेको के रहेछ ? वादीको पुनरावदन जिकिर पुग्न सक्ने हो होइन ? भन्ने सन्दर्भमा निर्णय दिनु पर्ने देखिन  आयो ।

            १४.   आज निर्णय सुनाउने तारेख तोकिएको भै निर्णयतर्फ विचार गर्दा प्रथमतः कुविजाले खिमानन्द उपर मिति ०४६।७।११ मा दिएको अंश नामसारी मुद्दामा मिति ०४६।९।२१ मा प्रतिउत्तर पत्र फिराइ सकेपछि मात्र खिमानन्दले प्रस्तुत जारी मुद्दा मिति ०४६।१०।६।६ मा दायर गरेको देखिएको, प्रतिवादी कुविजाको नाउंमा जारी भएको समाहन वुझी लिंदा तामेली व्यहोरा प्रतिवादी मध्येका शंकर न्यौपानेका भाई जिवनाथ न्यौपानेले आफू कुविजाको एकाघरको देवर भनि लेखाई दिएकोले कुविजा शंकर न्यौपानेसंग पोइल गएको देखिने भनि शुरु पाल्पा जिल्ला अदालतले फैसला गर्दा लिएको निर्णयाधारको सन्दर्भमा सम्वन्धित मिसील संलग्न जिवनाथले वुझी लिएको भनिएको समाह्वान म्यादको पिठमा लेखिएको तामेली व्यहोरा हेर्दा सो म्याद वुझी लिने भनिएका जिवनाथ न्यौपानेको नाउंको अगाडि लेखिएका अक्षरहरु केरमेट गरी उक्त समाह्वान जिवनाथले नै वुझी लिएको भनने कथन नै संदिग्ध अवस्थाको भई निर्विवाद रुपमा पुष्टि हुन सकेको छैन । साथै प्रतिवादी कुविजाले प्रतिउत्तर फिराउंदा सो जिवनाथले वुझी लिएको भनिएको म्यादको आधारमा थाहा पाएको नभै तामेली म्यादको नक्कल अदालतवाट सारी थाहा पाएको भन्ने व्यहोरा प्रतिउत्तरमा उल्लेख गरेको देखिएको र जिवनाथले वेइज्जती मुद्दामा प्र. कुविजा भाउजु होइन । दाजु शंकरको विवाह भएको छैन भनी प्रतिवाद गरेको देखिएवाट समेत शुरु जिल्ला अदालतले लिएको उपर्युक्त निर्णयाधार तथ्ययुक्त एवं वस्तुनिष्ट प्रमाणमा आधारित भन्न सकिने अवस्थाको देखिएन अर्कोतर्फ इलाका प्रहरी कार्यालय दोभानमा मिति २०४६।९।६ मा कुविजा र शंकर न्यौपानेको वीचमा भएको भनिएको कागज अंश मुद्दाको नालेश परिसकेपछि सृजना गरेको देखिएकोले त्यस्तो कागजको प्रमाणिक मुल्य नरहनुका अतिरिक्त फिराद साथ नक्कल दाखिल गर्न सक्ने प्रकृतिको देखिएको उक्त कागजको नक्कल फिराद साथ पेश नगरी पुनरावेदन अदालतमा आएर मात्र उक्त कागजको फोटो प्रतिलिपि पेश गरेको देखिंदा यस्तो कागज अ.वं. ७७ नं प्रतिकूल भै प्रमाण ग्राह्य भन्न मिल्ने देखिएन । यस सम्वन्धमा शुरु फिरादसाथ पेश नगरेको लिखत पछि पेश गरे प्रमाण लाग्दैन भनी घसिटे खां समेत विरुद्ध राममुख वर्मा समेत भएको दर्ता वदर मुद्दा (ने.का.प. २०४२ अंक ८, नि.नं. २४४५ पृ.७१२) मा  पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादन भइरहेको देखिंदा पछि पेश भएको उक्त कागजलाई प्रमाणको रुपमा लिन प्रतिपादित उक्त सिद्धान्तले पनि मिलेन । जहासंम्म प्र. मध्येकी कुविजाका छोराहरु कृष्ण प्रसाद र वेद प्रसादले वादी खिमानन्दको साक्षी भै वकपत्र गर्दा आमा कुविजा शंकर न्यौपानेसग पोइल गएको भनी लेखाई दिएको अवस्थामा जारीको कसुर ठहर्‍याएको  शुरु पाल्पा जिल्ला अदालतको निर्णय सदर गर्नु पर्नेमा उल्टी गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण रहेको भन्ने पुनरावेदन जिकिर छ सो सन्दर्भमा प्रमाण ऐन, २०३१ को दफा ४० को व्यवस्था हेर्दा यस ऐनका अन्य दफाहरुमा वा अन्य प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै पक्षका विरुद्ध गवाही दिन निजको आमा वावु छोरा छोरी लोग्ने वा स्वास्नीलाई कर लाग्ने छैन भन्ने उल्लेख भएको पाइन्छ । कुविजाको खिमानन्द उपर अंश मुद्दा परिसकेपछि अंश छुट्याई लिएमा निजका छोराहरुको अंश भाग घट्न जाने र छोराहरुले आमालाई पोइल  गएको भनी वकपत्र गर्दा निजहरुलाई आर्थिक फाइदा नै पुग्ने हुन्छ । त्यसमा पनि छोरा वेदप्रसाद वस्याल स्वयं वावुको वारेस भै मुद्दाको पुर्पक्ष गरी रहेको अवस्थामा निजहरुको प्रतिवादी सरहको हैसियत (Status) रहेको देखिन्छ । वस्तुतः छोराहरुले पनि वावु खिमानन्दबाट नै अंश पाउनु पर्ने हुंदा वावुको दवावमा परेर पनि आमाको विरुद्धमा वकपत्र गर्न  सक्ने  देखिन्छ ।

यसरी कुविजाले आफ्नो छोराहरु उपर समेत गाली वेइज्ती मुद्दा दिई झगडिया वनाइएका  कृष्ण प्रसाद र वेद प्रसाद वस्यालको वकपत्रलाई स्वतन्त्र साक्षीको वकपत्र सरह प्रमाणमा लिन नमिल्नेमा गवाही दिन कर नलाग्ने भनी प्रमाण ऐनले तोकिएको यस्ता छोरा नाताका व्यक्तिहरुले आमाको विरुद्धमा व्यक्त गरेको वकपत्रलाई मात्र आधारमानी जारी गरेको भन्ने वादी दावी शंका रहित तवरवाट स्थापित भएको नदेखिएको यस्तो स्थितिमा अन्य स्वतन्त्र एवं वस्तुनिष्ठ आधार प्रमाणको अभावमा कसुरदार ठहराउन नमिल्नेमा शुरु पाल्पा जिल्ला अदालतले वादी दावी वमोजिम जारीको कसुर ठहर गरेको त्रुटिपूर्ण निर्णय वदर गरी प्रतिवादी कुविजा वस्याल र भीमलाल भन्ने शंकर न्यौपानेले आरोपित कसुरवाट सफाइ पाउने ठहर्‍याएको पुनरावेदन अदालत वुटवलको फैसला मिलेकै देखिंदा  सदर हुने  ठहर्छ ।  वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. कृष्णकुमार वर्मा

 

इति सम्वत २०५५ साल मंसिर १८ गते रोज ६ शुभम ............... ।

                                                           

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु