निर्णय नं. ३६६२ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

निर्णय नं. ३६६२ ने.का.प. २०४५ अङ्क ११
एक न्यायाधीशको इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४५ सालको रिट नम्बर १२०९
आदेश भएको मिति : २०४५।११।२।२ मा
निवेदक : बनेपा न.पं.जकुटोल बस्ने जिद्धिभक्त श्रेष्ठ
विरुद्ध
विपक्षी : श्री का.मु. महानिर्देशक नापी विभागसमेत
विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ
(१) तथ्यगत त्रुटिमा सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र आकर्षित नहुने ।
(प्रकरण नं. ३)
आदेश
न्या.पृथ्वीबहादुर सिंह : म निवेदक मेन्टीनेन्स नापी शाखा काठमाडौंमा अमीन पदमा कार्यरत रहेको अवस्थामा बानेश्वर स्थित स्थलरुप नापी महाशाखामा गई त्यहाँका कर्मचारी राधेसुन्दर अणुलाई कुटपिट गरी उक्त महाशाखामा अशान्ति गरेको भनिएको तथाकथित दोषारोपणमा म संग स्पष्टीकरण माग गरी मैले सो घटना घटाएको हैन भनी दिएको स्पष्टीकरण तथ्य र प्रहरीमा मेरो उजूरीबाट भएको कारवाही र प्रहरी प्रतिवेदन बुझ्दै नबुझी पद अनुसारको आचरण नगरेको र बराबर अनुशासन हिनताको काम गरेको भनी भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नहुने गरी नोकरीबाट २०४२।२।२७ मा हटाउने निर्णय गरियो । उक्त निर्णयउपर प्रशासकीय अदालतमा पुनरावेदन दिएकोमा प्रहरीको कारवाही प्रहरी प्रतिवेदन अड्डैबाट झिकाई न्यायिक मनको प्रयोग गरी निर्णय गर्नु नैतिक एवं न्यायिक दायित्व प्रशासकीय अदालतको भएकोमा सो केही नगरी मेरो पुनरावेदन जिकिर नपुग्ने ठहर गरेको प्रमाण ऐन, २०३१ को दफा ५४ प्रतिकूल भई संविधानको धारा ९(ख) र १०(१) द्वारा प्रदत्त हकमा आघात परेको हुँदा उक्त निर्णयहरु बदर गरिपाउँ भन्ने निवेदन ।
२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनमा विपक्षीबाट लिखित जवाफ मगाउनु पर्ने हो वा होइन भन्ने कुराको निर्णय दिनुपरेको छ ।
३. निर्णयतर्फ विचार गर्दा यस्मा मैले कुटपिट गरेको हैन कुटपिट नगरेको मानिसलाई कुटपिट गर्यो भनी आरोप लगाई बुझ्नु पर्ने तथ्य नबुझी नोकरीबाट हटाइएको र सो निर्णयलाई सदर गरेको समेत त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने निवेदकको मुख्य जिकिर देखिन्छ नापी विभाग तथा प्रशासकीय अदालतबाट भएको निर्णयमा भयो भनिएको त्रुटि कानूनी नभई तथ्यगत त्रुटि भएको देखिन आयो । यस्तो तथ्यगत त्रुटिमा सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र आकर्षित नहुने हुँदा निवेदकको माग बमोजिम विपक्षीहरुलाई झिकाई रहन परेन । तसर्थ प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम बुझाई दिनु ।
इति सम्वत् २०४५ साल फाल्गुण २ गते रोज २ शुभम् ।