निर्णय नं. ६७४२ - कर्तव्य ज्यान

निर्णय नं. ६७४२ ने.का.प. २०५६ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
सम्वत् २०५३ सालको फौ.पु.नं. .. १४७८
सम्वत २०५३ सालको फौ.सा.नं. .. १३१
फैसला मितिः २०५५।९।२८।३
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक
वादी : वेद बहादुर खड्काको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः सोलुखुम्बु जिल्ला गोली गा.वि.स. वडा नं. ७ बस्ने लाक्पा शेर्पा समेत ।
वादीः वेदबहादुर खडकाको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादीः सोलुखुम्बु जिल्ला गोली गा.वि.स. वडा नं. ६ घर भै हाल कारागार शाखा सोलुखुम्बुमा कैदमा रहेको वांगेल शेर्पा ।
§ अ.वं. २०५ नं.को उपर्युक्त व्यवस्था अनुरुप शुरु जिल्ला अदालतवाट प्रतिवादीहरु मध्ये कसुरदार ठहरी सजाय पाएको मध्ये कसैको पुनरावेदन पर्यो र अरु वांकीको पुनरावेदन परेन भने त्यस्तोमा पुनरावेदन गर्ने प्रतिवादीलाई शुरुले कसुरदार ठहर्याएको इन्साफ उल्टी भै फैसला हुने अवस्थामा पुनरावेदन नगर्ने प्रतिवादी समेतको हकमा पुनरावेदन गर्ने प्रतिवादी सरह नै इन्साफ उल्टी गर्नु पर्छ । त्यस्तोमा पुनरावेदन गरेको छैन भनी शुरु अदालतले कसुरदार ठहर्याएको निर्णय सदर गर्न हुदैन । पुनरावेदन दिने प्रतिवादीको शुरु इन्साफ उल्टी गरे सरह नै निजको हकमा समेत उल्टी गर्नुपर्छ । तर प्रस्तुत मुद्दामा उक्त अवस्था विद्यमान छैन । किनकी शुरु सोलुखुम्बु जिल्ला अदालतले प्र. वाङ्देल र प्र. दावा सोनाम शेर्पा समेत दुवै प्रतिवादीलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम कसुरदार ठहर्याई सजाय गरेकोमा वाङ्देल शेर्पाको मात्र पुनरावेदन परेको र दावा सोनामको पुनरावेदन नपरेकोले अ.वं. २०५ नं. को अवस्था विद्यमान भयो की भन्ने भ्रम पर्न जाने सम्भावना रहेता पनि सोही अ.वं. २०५ नं. वमोजिम पुनरावेदन गर्ने वाङ्देलको सजाय उल्टीने अवस्था भएमा मात्र दावा सोनामको हकमा पनि शुरु इन्साफ उल्टी गरी दिनु पर्ने हो तर प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने प्र. वाङ्देलको हकमा शुरु इन्साफ सदर भएको अवस्थामा पुनरावेदन नगर्ने प्र.दावा सोनामको हकमा शुरु जिल्ला अदालतले कसुरदार ठहर्याएको इन्साफ उल्टी हुने अवस्था नै उक्त कानूनी प्रावधानले प्रदान गरेको देखिदैन । तसर्थ अ.वं. २०५ नं. विपरित पुनरावेदन नै नगर्ने प्र. दावा सोनाम शेर्पाको हकमा शुरु सोलुखुम्बु जिल्ला अदालतले निजलाई कसुरदार ठहर्याएको इन्साफ उल्टी गरी आरोपित कसुरवाट सफाइ दिएको तत्कालीन सगरमाथा अंचल अदालत ओखलढुंगा वेन्चको निर्णय सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको नदेखिंदा सो हदसम्म उक्त फैसला उल्टी हुने ।
(प्र.नं. ३१)
पुनरावेदक वादीको तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री नन्दबहादुर सुवेदी
प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री देवेन्द्रराज शर्मा
अवलम्वित नजिरः
फैसला
न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत राजविराजको मिति २०५२।३।२५।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) अन्तरगत वादी पक्षको पुनरावेदन परेको र ऐ.ऐनको दफा १० बमोजिम साधक समेत जाहेर भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. डिल्ली बहादुरको श्रीमती तुम्की भन्ने तुलामायांलाई २०४२ साल फाल्गुन महिनामा वाङ्गेल शेर्पाले गर्भ वोकाई डिल्ली बहादुरलाई जिम्मा लगाउन खोज्दा जिम्मा नलिएकोले गोली गा.पं. वार्ड नं. ७ बस्ने दावा सोनाम शेर्पा पेम्वा शेर्पा लाक्पा शेर्पा र वाङगेल शेर्पा समेत भै ०४३ साल असोज २ गतेका दिन बजारमा तुलामायां आई सबैको अगाडि वच्चा जन्मीने महिना नजिक आयो भनेकीले वाङ्गेल शेर्पा र निजका छोराहरु भै तुलामायांलाई सबैको सामुन्ने कुटपिट गरेको र गर्भपतन गराई वच्न नसक्ने विष खुवाई वोकी रामेछाप जिल्लाको वाम्ती भण्डार गा.पं. को भण्डार गाउंमा लगि बेहोस अवस्थामा मंसिर ८ गते छाडी गएका ऐ. ९ गते अभियुक्तहरु सोही ठाउंमा आई लास गायव गरेकोले विष खुवाई कर्तव्यबाट तुलामायांको मृत्यु भएकोले कर्तव्यवाला उपर कारवाही गरी पाउं भन्ने समेत व्यहोराको वेद बहादुर खड्काले २०४३।११।२० मा श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तीपत्र ।
३. यो निवेदन मैले मौसुफका जुनाफमा चढाएको होइन । कसले विन्ति पत्र चढाए मलाई थाहाछैन । दावा सोनाम समेतका मानिसले कुटपिट गरेको वा विष खुवाई मारेको कुरा मलाई थाहा छैन भन्ने समेत व्यहोराको वेद बहादुर खडकाको सनाखत कागज ।
४. तुम्की भन्ने तुलामायांलाई मैले आज भन्दा ७ वर्ष अघि ल्याएको थिए र २ महिना मेरो घरमा वसि जाहेरीमा किटानी भएका वाङ्गेल शेर्पाको घरमा गई बसेको थिइन २०४२ साल भाद्र महिनामा दावा सोनाम समेतले २०० सम्म दिउंला गर्भ स्वीकार गर भन्दा मैले मानिन । त्यसपछि निज लुलामायांलाई भण्डार भन्ने ठाउंमा लगि लामिछानेको घरमा नानी जन्मी मृत्यु भएको भन्ने सुनेको हुं । जात्रामा लाक्पा समेतले कुटपिट गरेका थिए कुटाइको चोटले हो वा विषलु पदार्थ खुवाइएकोले मरेको हो थाहा छैन भन्ने समेत व्यहोराको मर्नेको लोग्ने डिल्ली बहादुर थापाले जिल्ला प्रहरी कार्यालय सोलुमा गरेको वयान कागज ।
५. तुक्वी भन्ने तुलामायांलाई म समेत भै कुटपिट गरेको होइन तुलामायां भागी रामेछाप तर्फ गइन । मृतक वच्चा जन्मिई तुलामायांको मृत्यु भयो भन्ने सुनेको हुं । आफ्नो काल गतिले परेको हुनुपर्छ । २०४३।३।१२ गतेका दिन रामेछाप जिल्लामा पर्ने शिवालय बस्ने सोम बहादुर वस्नेतलाई भेटि सोदा मेरो घरमा आई वसेकि थिइन । मृतक वच्चा जन्मिएको १५ दिन पछि मरेको हुन भन्थे भन्ने समेत व्यहोराको प्र. दावा सोनाम शेर्पाको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा गरेको वयान ।
६. २०४० साल देखि तुलामायाले आफ्नो घर छाडी मेरो घरमा काम काज गर्न बसेकि थिइन । २०४२ फाल्गुनमा करणी लिन दिने भै गर्भ वोकेपछि गर्भ डिल्ली बहादरूलाई स्विकार गर भन्दा नमानेकोले मेरै घरमा फिर्ता लगे १ दिन बजारमा तुलामायाले सबैको सामुन्ने यो गर्भ वाङ्गेलको हो भनेकोले विन्तिपत्रमा उल्लेख भएका सबै प्रतिवादीहरुले कुटपिट गरे । २०४३।८।७ गते दावा सोनामले रु.३०००। मा लास गायव गर्छु भनेकोले रु,१,५०० दिई १,५०० आषाढ मसान्त भित्रमा दिन्छु भन्दा मन्जूर भै तुलामायांलाई विषालु पदार्थ खुवाए पछि तुलांमायालाई डोकोमा वोकी रामेछाप जिल्लाको वाम्ती मण्डार पुर्याउंदा उज्यालो भएकोले त्यहि छोडि फर्किएछन् । त्यसपछि ७।८ घण्टा पछि मृतक वालक जन्माएको ५।७ दिन पछि निजको मृत्यु भएको राति नै जनताहरुले थाहा नपाउने गरि जंगलमा फालेको हो भन्ने समेत व्यहोराको प्र.वाङ्गेल सेर्पाले जिल्ला प्रहरी कार्यालय र सोलुमा गरेको वयान कागज ।
७. दावा सोनाम समेतले कुटपिट गरि विष खुवाई वोकी राति मेरो घरमा ल्याई छाडेको हो । १० दिन पछि मरेको छोरी जन्माई एक्लैले खाल्डो खन पुरिन त्यसको ७।८ दिन पछि निजको समेत मृत्यु भयो सो कुरा दावा सोनाम र वाङ्गेललाई भन्दा हामी आउदैनौ जो जे गर्नु पर्छ गर परेको म व्यहोर्छु भनि वाङ्गेलले भनेकाले घरमा आई मृतकको लास सदगद गरे । मृतक मर्नु भन्दा अघि वाङ्गेल शेर्पासंग करणी लिनु दिनु भएको कुरा भनेकी थिइन भन्ने समेत व्यहोराको प्र. सोम बहादुर वस्नेतले जिल्ला प्रहरी कार्यालय सोलुमा गरेको वयान कागज ।
८. जाहेरी अनुसार तुलामायाले वोकेको गर्भ डिल्ली बहादुरले जिम्मा लिन नमानेकोले रामेछाप दिदीको घरमा गएकि थिइन । निजका घरमा मृतक अवस्थामा वच्चा जन्मेको ७।८ दिन पछि तुलामायांको मृत्यु भएको हो । मैले कुटपिट गरेको होइन । कसले कुटपिट गरेको देखिन भन्ने समेत व्यहोराको प्र. लाक्पा शेर्पाले जि.प्र.का. सोलुमा गरेको वयान कागज ।
९. ढुंगाको ओडार भित्र ढुंगाले छोपि राखेको ढुंगा हटाई हेर्दा लासको हड्डी मात्र रहेको सो हड्डीमा रातो पूरानो स्वीटर लगाउको हड्डिको जोर्नि खुस्किएको कपाल लामो, हातमा प्लाष्टिकका ७ वटा चुरा लगाएको वच्चाको लास गाडेको भनि सोमबहादुरले देखाएको ठाउं हेर्दा कुनै चिन्ह नदेखिएको भन्ने ससेत व्यहोराको लास जांच प्रकृति मुचुल्का ।
१०. डिल्ली बहादुरलाई तुलामायां जिम्मा लगाउन खोज्दा डिल्ली बहादुरले नमानेपछि वाङ्गेल समेतले फिर्ता लिई गएका हुन् । प्रतिवादीहरुले कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको करिव एकै मिलानका २० जनाको र लाक्पा र पेम्वाले तुलामायांलाई सिस्नाले कुटेको देखेको हुं भन्ने १ जनाको लाक्पा पेम्वाले तुलामायांलाई कुटपिट गरेका हुन भन्ने समेत व्यहोरा भएको २ जनाको समेत सरजमीन मुचुल्का ।
११. २०४३।६।२ गते काप्टी जात्रामा जम्मा शेर्पाको घरमा मान्छे कुटे पनि हेर्न जांदा पेम्वा र ल्हाक्पा समेत २ जनाले सिस्नु लगाई कुट्दै रहेछ । लाक्पाको हातमा सिस्नु र पेम्वा चांही थप्पडले हिर्काउदै थिए । दावा सोनामलाई रु३,०००। दिई अपराध गराएका हुनु भन्ने समेत व्यहोराको वुझिएका प्रभुराम वस्नेतले गरेको वयान ।
१२. दावा सोनाम शेर्पा, वाङगेल शेर्पा, पेम्वा शेर्पा र लाक्पा शेर्पा समेत ४ जना उपर मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सजांय हुन र सोम बहादुर वस्नेतलाई ज्यान सम्बन्धी महलको ४ नं. को कसुरमा २५ नं. बमोजिम सजांयको माग दावी लिएको प्रहरी प्रतिवेदन ।
१३. २०४३ साल मंसिर २ गते वुङगमा भाई बोलाउन गएको थिएं । २०४३ साल फाल्गुन ४ गते मात्र घरमा आएको हो । आएको ४।५ दिनपछि परेको नानी जन्मिएको थियो र १५ दिन पछि तुलामायां समेत मरि भन्ने सुनेको हुं कुट्नू मार्नु पर्ने कारण केहि थिएन । मैले प्रधानलाई रु ३,०००। दिएको पनि होइन । त्यसपछि प्र.पं. दावा सोनामलाई यहि चुनावको वेला मात्र देखेको हो । २०४३।५।७ गते छलफल हुंदा पेम्वा र ल्हाक्पा शेर्पा त्यहां आएका थिएन । मैले तुलामायांलाई कुटपिट गरि विष खुवाई मारेको होइन भन्ने समेत व्यहोराको प्रं. वाङगेल शर्पाले अदालतमा गरेको वयान ।
१४. २०४३ मंसिर ९ गत तुलामायांको मृत्यु भएपछि मैले ठोसेमा गई मौखिक जाहेर गरे । २ जना प्रहरी आए प्र.पं. नभएकाले वार्ड अध्ष्क्ष दोर्जे गोल्जेन शेर्पालाई ल्याए कालगतिले मरेको लास सदगद गर भनेकाले गाउंले समेत ११ जना भै ओडार ढुंगा मुनी गाडि दिउं २०४४।४।१३ गते डोर समेत गै गाडेको ठाउंबाट वाङगेल शेर्पा र म गएर झिकिउं लुगा कुहिएको हड्डी सलक्कै रहेछ । चुरा समेत थिए । तुलामायाले मरेको वच्चा २०४३।७।२७ गते जन्मी फालेको थियो । त्यसको १५ दिन पछि आमा मरेको हो भन्ने समेत व्यहोराको प्र. सोम बहादुर अदालतमा गरेको वयान ।
१५. तुलामायांलाई कुटपिट गरेको कसैको मुखबाट पनि सुनिन । २०४३ साल आश्विनको अन्तिम तिर भागेर तुलामायां गयो भन्ने सुनेको हुं । हामी ४ जना भई कुटपिट गरि विष खुवाई मारेको छैन, होइन भन्ने समेत व्यहोराको लाक्पा शेर्पाले अदालतमा गरेको वयान ।
१६. तुलामायांको गर्भ कसैको हो भन्ने विषयमा गाउंपंचायतमा छलफल हुंदा तपाई क्षेत्री बाहुन तपाईहरु नै छलफल गर्नुहोस । म वाहिर निस्केपछि १०।१५ मिनेट पछि उपप्रधान भैरव कुमार निस्के र घर तिर गए । २०४५।५।१० गते काठमाण्डौं गई असोज १६।१७ गते घर फर्की आएको हुं । त्यसपछि केहि छलफल पनि भएन । २०४३ मंसिर ७।८ गतेको समयमा म घर भाडा उठाउने काम हुंदा काठमाण्डौंमा नै छु र वाङगेलसंग मैले रु३,०००। लिई खाएको पनि छैन । मृतकलाई म समेत भै विष खुवाई मार्नु पराउनु गरेको होइन भन्ने समेत व्यहोराको प्र. दावा सोनाम शेर्पाले अदालतमा गरेको वयान ।
१७. मेरो घरमा परिवार सहित लिएर २०४३ आषाढ १६।१७ गते तिर काठमाण्डौं गएको हुं । यहि गए सालको फाल्गुन महिनामा हुने गा.पं.को निर्वाचनमा गोलि गाउं आउंदा सो कुरा सुनेको हुं । म समेतले विष खुवाई कुटपिट गरि मृतकलाई कर्तव्य गरी मोरेको होइन र प्र. वाङगेल शेर्पासंग रु.३,००० लिई खाएको पनि होइन भन्ने समेत व्यहोराको प्र. पेम्वा शेर्पाले अदालतमा गरेको वयान ।
१८. जाहेरवाला वेद बहादुर खड्का सरजमीनका व्यक्तिहरु कलुदेवी, गणेश बहादुर, कटक बहादुर, धर्मध्वज, मोहन बहादुर, भक्त बहादुर, देवी बहादुर, पेम्वा, आङगकाजी कांड,ू छोङवा, नुर्वू, खिल बहादुर, आङग, कामीको र प्र. दवा सोनामको साक्षी खम्वध्वज केसर बहादुर नर बहादुर लाल बहादुर वेदबहादुर देवी बहादुर प्रतिवादी सोम बहादुरको साक्षी तुलसी श्रेष्ठ प्रतिवादी वाङगेलको साक्षी वाङगेल दोर्जे, गोल्वू, ङिमा प्रतिवादी लाक्पाको साक्षी पुण्यध्वज, डिल्ली बहादुर आङतेम्वा केसर बहादुर र विम्छे गोम्बु, तिलक बहादुर, नरबहादुर र प्रतिवादी पेम्वा शेर्पाको साक्षी कुसाङ गेल्जेन शेर्पा, सिताराम बस्नेत र गेल्वु शेर्पा समेतको वकपत्र भै मिसिल सामेल रहेको ।
१९. मृतक कर्तव्य नपरी कालगतिले मरेको भए लास सुरक्षित राखी करिव ७।८ घण्टाको टाढा रहेको प्र. वाङगेल दावा सोनामको घरमा मान्छे मरेको खवर गर्न किन जानु पर्दथ्यो ? वाङगेल दावा सोनाम पनि प्रमाण तयार पारेपछि उपस्थित हुनु पर्ने थिएन । कर्तव्यबाट नमारेको भए मान्छे मरेको खवर पाएपछि आफू जिम्मेवार हुने वचन दिनु पर्ने आवस्था आउदैन प्र.वाङगेल र प्र. सोम बहादुरले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानलाई प्रमाण ऐन बमोजिम मान्नु पर्ने हुंदा गर्भपतन गराउन कुटपिट गरेको कारणले मारेको वाहेक मृतक अूरु कारणले मरेको भन्न पनि सकिएन । मृतक मरेपछि प्र. सोम बहादुरले प्र. वाङगेल प्र. दावा सोनामलाई खवर गरेको कुरालाई निजहरुले आफ्नो वयानमा खण्डन गर्न सकेको पाइदैन । प्रतिवादीहरु वाङगेल शेर्पा र दावा सोनाम शेर्पाले कुटपिट गरि तुलामायांलाई मारेको ठहर्छ भन्ने समेत व्यहोराको शुरु सोलुखुम्बु जिल्ला अदालतको मिति २०४६।४।११ को जाहेरी फैसला ।
२०. सोलुखुम्बु जिल्ला अदालतको उक्त फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन माग दावी अनुसार नै अभियुक्त मध्येका लाक्पा शेर्पा र पेम्वा शेर्पाको हकमा सजायं गरि पाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट तत्कालीन सगरमाथा अंचल अदालत ओखलढुंगा बेन्चमा परेको पुनरावेदन पत्र । ।
२१. मृतक तुलामायांको मृत्यु विष खुवाई भएको हो भन्ने आधारभुत विज्ञान सम्मत प्रमाण छदैछ दोश्रो प्र. सोम बहादुरको वयानमा अरु मानिस समेतका समक्षमा कालगतिले मरेको को हो भनी २ जना प्रहरीले लास सदगद गरेको भनेका कुरा उल्लेख छ र मिसिल कागजातमा अन्य मानिसको अभिकथनबाट पनि तुलामायांको मृत्यु विष खुवाई भएको हो भन्ने कुरा सिद्ध हुन सक्दैन र उक्त माथि विवेचित वुदाको आधारमा शुरु सोलुखुम्बु जिल्ला अदालतको फैसला वदर गरि म उपरको आरोपित कसुरबाट सफाइ दिई न्याय पाउं भन्ने समेत व्यहोराको वाङगेल शेर्पाको तत्कालीन सगरमाथा अंचल अदालतमा परेको पुनरावेदन पत्र ।
२२. यिनै वाङगेलकै विर्यबाट मृतक तुलामायांले गर्भधारण गरेको नै मान्नु पर्ने परिस्थिति मिसिल संलग्न कागजातबाट देखिन्छ । त्यसरी अर्को जानको व्यक्तिलाई गर्भधारण गराएको जाति च्युत भइन्छ भनी यिनले अधिकार प्राप्त अधिकारी समक्ष भनेको कुरा तर्र्कसंगत रुपमा ग्राह्य हुन आउंछ । त्यस उसले यी प्रतिवादी वाङगेलले सो गर्भ डिल्ली बहादुरले स्वीकार नगरेपछि दवाउने प्रयास गर्नु पनि अस्वाभाविक हुन आउंदैन । अतः यस्तोमा तुलामायांको मृत्यु कालगतिले नै भएको भन्न र मान्न सकिने अवस्था आउंदैन । उक्त आधारमा हेरिदा निज तुलामायांको मृत्यु निज प्र. वाङगेलकै कर्तव्यबाट भएको मान्नु पर्ने कुरा मिसिल संलग्न कागजातबाट पुष्टि हुने हुंदा निजको हकमा र प्र. सोम बहादुरका हकमा शुरु सोलुखुम्बु जिल्ला अदालतले क्रमशः मुलुकी ऐन ज्यान सम्वन्धीको १३(३) नं. र २५ नं. एवं ४ नं. अनुसार सजायं गर्ने गरेको फैसला मिलेकै देखिदा सो हदसम्म सदर हुने ठहर्छ । प्र.पेम्वा र लाक्पा शेर्पाको हकमा कलुदेवी खतिवडाले मृतकलाई सिस्नो पानि हातले ०४३।६।३ मा कुटेको देखेको भनि भनेकि तर मृतकको मृत्यु २०४३।८।८ मा भएको देखिन्छ । मु.ऐन ज्यान सम्बन्धीको ९ नं. को हदम्याद भित्र मरेको नदेखिनुका साथै मार्न पर्ने रिसइवि भएको र कारण परेको देखिन आउंदैन र निजहरुलाई सफाइ दिने गरि गरेको फैसला मिलेको देखिदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन र प्र. दावसोनान शेर्पालाई शुरु सोलुखुम्बु जिल्ला अदालतबाट मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) नं. अनुसार सर्वस्व सहित जन्मकैद गर्ने गरेको फैसला नमिलेकोले सो हदसम्म वदर हुने ठहर्छ भन्ने समेत व्यहोराको तत्कालीन सगरमाथा अंचल अदालत ओखलढुंगा बेन्चको मिति ०४७।३।४ को जाहेरी फैसला ।
२३. सगरमाथा अंचल अदालतको इन्साफमा चित्त बुझेन प्रस्तुत मुद्दामा सोम बहादुर वाङगेल शेर्पाको वयानलाई प्रमाणिक मुल्य दिई अदालतबाट अन्तिम रुपम प्रदान गरिएको छ । सोही वयानको खास अंश सह अभियुक्तको विरुद्धमा प्रमाणमा नलिई मुल्यांकन नगरिएको फैसलामा तथ्यगत रुपमा गम्भीर त्रुटी हुन गएको छ । उपरोक्त संपूर्ण प्रमाण परिवन्दको रुप आधारमा प्रत्यर्थीलाई सजायं हुनु पर्नेमा सफाइ दिने ठहराएको लाक्पा शेर्पा र पेम्वा शेर्पा को हकमा भएको सो जि.अ. को फैसला सदर गरिएको प्रष्ट आधार सहित दावा सोनाम शेर्पाको हकमा ठहर गरिएको शुरु सो. जि.अ. को फैसला विना आधार उल्टी गरेको सगरमाथा अंचल अदालत ओखलढुंगा बेन्चको फैसलामा प्रमाणको मुल्यांकन नै नभएकोले वदर गरी उल्लेखित आधारबाट निजहरुलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजांय गरी पाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट तत्कालीन पूर्वान्चल क्षेत्रीय अदालत धनकुटामा परेको पुनरावेदन पत्र ।
२४. सगरमाथा अंचल अदालत ओखलढुंगा वेन्चको फैसलामा कानून र व्यवहारमा स्थापित नजिरहरुमा समेत प्रत्यक्ष र गम्भिर रुपले त्रुटीपूर्ण रहेकोले मेरो चित्त बुझेको छैन । यो फैसलाबाट अर्काको कार्य क्षेत्रको अतिक्रमण भै रहकोले अ.वं. ३५ नं. बमोजिम वदर गरि पुनः कानून बमोजिम गरि पाउं परिणाम त्यस्तो हुन सक्दैन भने सो फैसला हुंदा प्रमाणको सहि मुल्यांकन नै नगरी नलाग्ने अर्थ र बुंदा लगाई सार्वजनिक महत्वको प्रचलित कानूनमा र स्थापित कानूनी सिद्धान्त समेतमा प्रत्यक्ष गम्भीर त्रुटीपूर्ण रहेकोमा हक न्याय भै सो फैसला वदर गरि मलाई लगाएको ज्यानमारको अभियोगबाट सफाइ दिई शुरु एवं अंचल अदालतको सर्वश्व सहितको जन्मकैदबाट समेत मुक्त गरि पाउं भन्ने समेत व्यहोराको प्र. वाङगेल शेर्पाको तत्कालीन पूर्वान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
२५. प्र. दावा सोनाम शेर्पाको अपराधमा संलग्नता देखिन आई रहेकोले निजलाई पूर्णतः सफाइ दिई सगरमाथा अंचल अदालत ओखलढुंगा बेन्चबाट गरेको फैसला मिलेको नदेखिंदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७।४८ बमोजिम दावा सोनाम शेर्पालाई झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराज मुकाम ओखलढुंगाको आदेश ।
२६. तुलामायांलाई विषालु पदार्थ खुवाउनै कार्य सोलुखुम्बु जिल्लामा भएको भन्ने देखिंदा जिल्ला अदालतले अधिकार क्षेत्र ग्रहण गरेकोलाई अन्यथा भन्न मिल्ने देखिएन । प्र. वाङगेल शेर्पा अदालतम वयान गर्दा इन्कार रहेको देखिए पनि प्र.मध्येका सोम बहादुरले वयान गर्दा प्र. वाङगेल शेर्पा समेतले तुलामायांलाई कुटपिट गरी वोकी ल्याई आफ्नो घरमा छाडी गएको १० दिन पछि मरेको वच्चा जन्मी त्यसको ७।८ दिन पछि तुलामायां मरेकी हुन् भनि यी प्रतिवादी वाङगेललाई कसुरदार देखाई पोल गरेको देखिन्छ । निजको प्रहरी समक्ष भएको साविती र सह अभियुक्तको पोललाई सर्मथन हुने गरी सर्जमिनका मानिस कलुदेवी खतिवडाको वकपत्र भएको देखिएबाट समेत प्र. वाङगेल शेर्पालाई कसुरदार ठहर्याई ज्यान सम्बन्धीको १३(३) नं. अन्तरगत सजायं गर्ने गरेको सोलुखुम्बु जिल्ला अदालतको फैसला सदर गरेको तत्कालीन सगरमाथा अंचल अदालत ओखलढुंग बेन्चले गरेको फैसला मिलेकै देखियो । अव प्रतिवादी मध्येका पेम्वा शेर्पा, लाक्पा शेर्पा र दावा सोनामका हकमा हेर्दा यी प्रतिवादीहरु आरोपित कसुरमा इन्कार रहेको र सो इन्कारीलाई निजका साक्षीहरुको वकपत्रबाट समर्थित भएको पाइएको र प्र. मध्येका वाङ्गेल र सोम बहादुर यी प्रतिवादीहरु उपर गरेको पोल स्वतन्त्र सवुदबाट समर्थित हुन सकेको नपाइएकोले यी प्रतिवादीहरु मध्ये दावा सोनामलाई कसुरदार ठहर्याएको इन्साफ उल्टी गरी प्र. पेम्वा र लाक्पाको हकमा शुरुले सफाइ दिने गरेको फैसला मनासिव ठहर्याई गरेको तत्कालीन सगरमाथा अंचल अदालत ओखलढुंगा वेन्चले मिति २०४७।३।४।२ मा गरेको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत राजविराजको मिति २०५२।३।२५।१ को फैसला ।
२७. मृतक तुलमायाको मृत्यु कर्तव्यबाट भएको तथ्य ठहर भै वाङ्गेल शेर्पा तथा सोमबहादुरको कसुर ठहर गरिदा निजहरुले प्रहरी तथा अदालत समक्ष गरकेो वयान समेतलाई प्रमाणित आधार लिइएको निजहरुको उक्त वयानमा प्रतिवादी लाक्पा शेपा, पेम्वा शेर्पा तथा दावा सोनाम समेतले मृतकलाई कुटपिट गरेको भन्ने तथ्यलाई स्पष्ट पार्दै एक अर्कालाई पोल समेत गरेको पाइयो । वाङगेल शेर्पाले अदालतमा गरेको वयानबाट पनि सो तथ्यको निष्कर्ष निकाल्न सकिन्छ । मृतकका लोग्ने डिल्ली बहादुरले मृतकको गर्भ नस्वीकारे पछि वारदात शुरु भएको र छलफलमा पैसाको प्रलोभन समेत दिएको तथ्य निज डिल्ली बहादुरले स्पष्ट रुपमा आफ्नो वयानमा लेखाई दिएको पाइन्छ । सो तथ्यलाई प्रतिवादीबाट अन्यथा प्रमाणित गर्न सकेको छैन । सर्जमिनका कलुदेवी तथा प्रहरीमा कागज गर्ने मौकाको साक्षी प्रभुराम वस्नेत समेतले यी प्रतिवादीहरुले मृतकलाई कुटेको देखेका छन । सो तथ्यलाई समर्थन गरी अदालत समक्ष वकपत्र गरेको पाइन्छ । यसबाट सफाइ पाउने उक्त प्रतिवादीहरुको अपराधका संलग्नता भएको भनी सह अभियुक्तले गरेको पोललाई अर्को स्वतन्त्र प्रमाणबाट पुष्टि भएकै छ । शुरु जिल्ला अदालतले कसुरदार ठहर्याएका प्र. दावा सोनामले पुनरावेदन नै नगरी जिल्ला अदालतको फैसला स्वीकार गरी वसेको अवस्थामा अंचल अदालतबाट विना प्रमाण सफाइ दिएको फैसलालाई पुनरावेदन अदालतबाट के कुन आधारमा सदर भएको हो, फैसलामा उल्लेख भएको छैन । त्यसैले पुनरावेदन अदालत राजविराजले प्र. मध्येका लाक्पा, पेम्वा र दावा सोनाम शेर्पालाई सफाइ दिने ठहर्याएको फैसला त्रुटिपूर्ण हुंदा सो हदसम्म उक्त फैसला उल्टी गरी निज प्र.हरुलाई समेत माग दावी वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट परेको पुनरावेदन पत्र ।
२८. यसमा शुरु सोलुखुम्बु जिल्ला अदालतले प्रतिवादी मध्ये दावा सोनाम शेर्पा र वाङ्गेल शेर्पालाई ज्यान सम्वन्धी महलको १३(१) नं. वमोजिम सर्वश्वसहित जन्मकैदको सजाय गरे उपर प्र. वाङ्गेल शेर्पाको मात्र तत्कालीन सगरमाथा अंचल अदालत ओखलढुंगा वेन्चमा पुनरावेदन परेकोमा उक्त अदालतबाट शुरु फैसला केही उल्टी गरी दावा सोनामलाई सफाइ दिई प्रतिवादी वाङ्गेल शेर्पाको हकमा शुरु फैसला सदर गरेको पाइन्छ । मुलुकी ऐन अ.वं. २०५ नं. वमोजिम पुनरावेदन दिने झगडियाको हकमा इन्साफ वा सजाय उल्टिने अवस्थामा मात्र पुनरावेदन नगर्ने झगडियाको हकमा पनि पुनरावेदन उजुर दिने सरह उल्टाई छिनी दिनु पर्ने व्यवस्था भएको देखिन्छ । प्रस्तुत मुद्दामा हार्ने झगडियाको पुनरावेदनबाट इन्साफ वा सजाय उल्टी भएको अवस्था नदेखिंदा पुनरावेदन नगर्ने प्रतिवादी दावा सोनामा शेर्पाको हकमा सफाइ दिने गरेको तत्कालीन सगरमाथा अंचल अदालत ओखलढुंगा वेन्चको इन्साफ सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला नमिली फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि वा अवधी नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालतको मिति २०५५।१।९।४ को आदेश ।
२९. नियम वमोजिम दैनिक मुद्दा पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा डिल्ली बहादुरकी श्रीमती तुक्की भन्ने तुलमायालाई वाङगेल शेर्पाले २०४२ साल फागुनमा गर्भ वोकाई डिल्ली बहादुरको जिम्मा लगाउन खोज्दा निजले जिम्मा नलिएकोले दावा सोनाम शेर्पा, पेम्वा शेर्पा लाक्पा शेर्पा र वाङ्गेल शेर्पा समेत भै २०४३।६।२ का दिन तुलमायालाई सवैका सामुन्ने कुटपिट गरेको र गर्भपतन गराउन विष खुवाई वोकी रामेछाप जिल्लाको वाम्ती भण्डार गाउंमा लगि वेहास अवस्थामा मंसिर ८ गते छाडि गएका र ऐ. मंसिर ९ गते अभियुक्तहरु सोही ठाउंमा आई लाश गायव गरेकोले प्रतिवादी दावा सोनाम शेर्पा, वाङगेल शेर्पा लाक्पा शेर्पा र पेमवा शेर्पा समेत चार जना उपर मुलुकी ऐन ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजाय हुन र प्रतिवादी सोम बहादुर वस्नेत उपर ऐ. ४ नं. र २५ नं. वमोजिम सजाय हुन माग दावी लिई दायर भएको प्रस्तुत मुद्दामा पुनरावेदक (वादी) श्री ५ को सरकार तर्फका सरकारी अधिवक्ता श्री नन्दबहादुर सुवेदीले मृतक तुलमायालाई विष खुवाइएको भन्ने कुरा प्र. सोम बहादुर र प्र. वाङगेलको वयान विवरणबाट देखिएको छ । घटनाको चस्मदिद गवाहको रुपमा रहेकी कलुदेवीले अदालतमा आई घटनामा दावा सोनाम पेम्वा र लाक्पा समेतको सहभागीता रहेको कुरा पुष्टि भै रहेकै छ । त्यसमा पनि प्रतिवादी मध्येका दावा सोनाम शेर्पालाई शुरु जिल्ला अदालतले कसुरदार ठहराई फैसला गरेकोमा सो फैसला उपर निजको पुनरावेदन नै नपरी निजलाई सफाइ दिएको तत्कालीन अंचल अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको छैन । तसर्थ प्र. दावा सोनाम, पेम्वा र लाक्पा शेर्पालाई समेत अभियोग पत्र माग दावी अनुसार सजाय हुनुपर्छ भनी वहस जिकिर प्रस्तुत गर्नु भयो । त्यस्तै झिकाईएको प्रतिवादीहरु तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र अधिवक्ता श्री देवेन्द्रराज शर्माले शुरु जिल्ला अदालतबाट भएको फैसला अन्तिम होइन । पुनरावेदन तहबाट सदर वा वदर हुन सक्छ । प्रस्तुत मुद्दामा प्रतिवादी दावा सोनामको तत्कालीन सगरमाथा अंचल अदालत ओखलढंूगा वेन्चमा पुनरावेदन नपर्नेमा निजको हकमा पुनरावेदन तहबाट साधकको रोहमा इन्साफ जांच गरी शुरु फैसला सदर वा वदर गर्न अ.वं. २०५ नं. ले कुनै वाधा पुर्याएको छैन । पुनरावेदन तहमा साधक जाहेर भएको प्रस्तुत मुद्दामा साधक जांच गर्दा मेरो पक्षले सफाइ पाउने देखेर नै शुरु फैसला केही उल्टी गरी तत्कालीन सगरमाथा अंचल अदालत ओखलढुंगा वेन्चले दावा सोनामलाई समेत सफाइ दिएको मिलेकै छ । साथै मृतक तुलमायाको लासको डाक्टरी जांच हुन सकेको छैन । विष खुवाएको भन्ने कुरा नै कतैबाट पुष्टि हुन सकेको छैन । सर्जमिनकी कलुदेवी खतिवडासंग मेरो पक्ष दावा सोनामको मुद्दा परेकोले त्यस्तो रिसइवि भएका मानिसले व्यक्त गरेको कथन मेरो पक्षको विरुद्धमा प्रमाण लाग्ने होइन । तसर्थ पुनरावेदन अदालतको फैसला सदर कायम रहनु पर्छ भन्ने वहस जिकिर प्रस्तुत गर्नु भयो। दुवै तर्फका विद्वान कानूनी व्यवसायीहरुको वहस जिकिरहरुलाई मध्ये नजर राख्दै निर्णय तर्फ विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत राजविराजको निर्णय मिले नमिलेको के रहेछ ? तथा वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने सम्वन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।
३०. यसमा पुनरावेदन अदालत राजविराजले न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) वमोजिम कसुरदार ठहरिएका प्रतिवादी मध्येका वाङगेल शेर्पाको हकमा साधक जाहेर भै आएकोमा अन्य प्रतिवादीहरु दावा सोनाम शेर्पा, लाक्पा शेर्पा र पेम्वा शेर्पालाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको पुनरावेदन अदालतको फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन परी निर्णयार्थ आजै यस इजलास समक्ष पेश भै रहेको देखिएकोले मुलुकी ऐन अ.वं. २१५ नं. वमोजिम वादीको तर्फबाट परेको पुनरावेदन रोहबाट निर्णय हुने नै हुंदा साधकको लगत कटृा गरी दिनु ।
३१. अव वादी श्री ५ को सरकारको तर्फबाट परेको पुनरावेदन जिकिरलाई समेत मध्ये नजर राख्दै पुनरावेदन अदालत राजविराजको निर्णय मनासिव वेमनासिव के रहेछ ? भनी हेर्दा सर्वप्रथम शुरु सोलुखुम्बु जिल्ला अदालतले कसुरदार ठहर्याएका प्रतिवादी वाङगेल शेर्पा र दावा सोनाम शेर्पा मध्ये प्र. वाङगेल शेर्पाको तत्कालीन सगरमाथा अंचल अदालत ओखलढुंगा वेन्चमा पुनरावेदन परेको तर प्र. दावा सोनाम शेर्पाको पुनरावेदन नपरी शुरु सोलुखुम्बु जिल्ला अदालतको फैसला स्वीकार गरी वसेको अवस्थामा वाङगेल शेर्पाको परेको पुनरावेदनको रोहमा निजलाई शुरु जिल्ला अदालतले कसुरदार ठहर्याएको निर्णय नै मनासिव ठहर गरी सदर कायम राख्दै पुनरावेदन नगर्ने अर्का प्रतिवादी दावा सोनाम शेर्पाको हकमा भने शुरु इन्साफ उल्टी गरी निजलाई आरोपित कसुरबाट सफाइ दिएको तत्कालीन सगरमाथा अंचल अदालत ओखलढुंगा वेन्चको निर्णय सदर गरेको पुनरावेदन अदालत राजविराजको इन्साफ मिलेको छ, छैन ? भन्ने सन्दर्भमा विचार गर्दा मुलुकी ऐन अ.वं. २०५ नं. वमोजिम एकै मुद्दामा हार्ने झगडिया मध्ये कसैको पुनरावेदन उजुर परेकोबाट जांचिदा इन्साफ वा सजाय उल्टिने भइ सो इन्साफ सजाय उल्टाई फैसला गर्दा पुनरावेदन उजुर नदिने झगडियाका हकमा समेत इन्साफ सजाय उल्टीन जाने भयो भने त्यस्तोमा पुनरावेदन उजुर परेको छैन भनी सदर गरी दिन हुदैन । पुनरावेदन उजुर नदिनेका हकमा समेत पुनरावेदन उजुर दिने सरह उल्टाई छिनी दिनु पर्छ भन्ने उल्लेख भएको देखिन्छ । अ.वं. २०५ नं.को उपर्युक्त व्यवस्था अनुरुप शुरु जिल्ला अदालतवाट प्रतिवादीहरु मध्ये कसुरदार ठहरी सजाय पाएको मध्ये कसैको पुनरावेदन पर्यो र अरु वांकीको पुनरावेदन परेन भने त्यस्तोमा पुनरावेदन गर्ने प्रतिवादीलाई शुरुले कसुरदार ठहर्याएको इन्साफ उल्टी भै फैसला हुने अवस्थामा पुनरावेदन नगर्ने प्रतिवादी समेतको हकमा पुनरावेदन गर्ने प्रतिवादी सरह नै इन्साफ उल्टी गर्नु पर्छ । त्यस्तोमा पुनरावेदन गरेको छैन भनि शुरु अदालतले कसुरदार ठहर्याएको निर्णय सदर गर्न हुदैन । पुनरावेदन दिने प्रतिवादीको शुरु इन्साफ उल्टी गरे सरह नै निजको हकमा समेत उल्टी गर्नुपर्छ । तर प्रस्तुत मुद्दामा उक्त अवस्था विद्यमान छैन । किनकी शुरु सोलुखुम्बु जिल्ला अदालतले प्र. वाङ्देल र प्र. दावा सोनाम शेर्पा समेत दुवै प्रतिवादीलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम कसुरदार ठहर्याई सजाय गरेकोमा वाङ्देल शेर्पाको मात्र पुनरावेदन परेको र दावा सोनामको पुनरावेदन नपरेकोले अ.वं. २०५ नं. को अवस्था विद्यमान भयो की भन्ने भ्रम पर्न जाने सम्भावना रहेता पनि सोही अ.वं. २०५ नं. वमोजिम पुनरावेदन गर्ने वाङ्देलको सजाय उल्टीने अवस्था भएमा मात्र दावा सोनामको हकमा पनि शुरु इन्साफ उल्टी गरी दिनुपर्ने हो तर प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने प्र. वाङ्देलको हकमा शुरु इन्साफ सदर भएको अवस्थामा पुनरावेदन नगर्ने प्र.दावा सोनामको हकमा शुरु जिल्ला अदालतले कसुरदार ठहर्याएको इन्साफ उल्टी हुने अवस्था नै उक्त कानूनी प्रावधानले प्रदान गरेको देखिदैन । तसर्थ अ.वं. २०५ नं. विपरित पुनरावेदन नै नगर्ने प्र. दावा सोनाम शेर्पाको हकमा शुरु सोलुखुम्बु जिल्ला अदालतले निजलाई कसुरदार ठहर्याएको इन्साफ उल्टी गरी आरोपित कसुरवाट सफाइ दिएको तत्कालीन सगरमाथा अंचल अदालत ओखलढुंगा वेन्चको निर्णय सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको नदेखिंदा सो हदसम्म उक्त फैसला उल्टी हुन्छ । प्र. दावा सोनाम शेर्पालाई अभियोग पत्र माग दावी वमोजिम मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम निजलाई सर्वश्व सहित जन्मकैद हुने ठहर्याएको शुरु सोलुखुम्बु जिल्ला अदालतको इन्साफ मनासिव देखिंदा सदर हुने ठहर्छ ।
३२. अव शुरु जिल्ला अदालतले कसुरदार ठहर्याएका अर्का प्रतिवादी वाङगेल शेर्पाको हकमा विचार गर्दा निज वाङगेलले मृतक तुलमायालाई आफ्नो घरमा राखी निजसंग करणी लिनु दिनु गरी गर्भ रहन गएकोले अर्को जातकी आइमाईलाई गर्भ वोकाए पछि जाती च्युत हुने जातीय परम्परा भएकोले तुलमायालाई निजको लोग्ने डिल्ली बहादुर कै जिम्मा लगाउन खोज्दा जिम्मा लिन नमानेकोले २०४३।६।२ मा काम्तीमा लागेको मेलामा तुलमायालाई निज समेत भै कुटपिट गरेको र २०४३।८।७ गते तुलमायालाई विषालु पदार्थ खुवाई आफू समेत भै तुलमायालाई वोकी रामेछापको वाम्ती भण्डार वस्ने सोम बहादुर वस्नेतको घरमा पुर्याएको भन्ने कुरामा सावित भै निज अधिकार प्राप्त अधिकारी समक्ष वयान गरेको देखिन्छ । उक्त वयान निजले स्वच्छाले गरेको होइन भन्ने कुराको निजले कुनै प्रमाण पुर्याउन सकेको छैन । सह अभियुक्त सोम बहादुर वस्नेतले मृतक तुलमायालाई वाङगेल समेतले कुटपिट गरी आफ्नो घरमा छाडि गएको र १० दिन पछि तुलमायाले मरेको वच्चा जन्माई त्यसको ७।८ दिनपछि तुलमायाको मृत्यु भएको हो भनी यी प्रतिवादी वाङगेल शेर्पा समेतलाई कसुरदार देखाई पोल गरेको पाइन्छ । वाङगेल शेर्पाको मित सह अभियुक्त सोम बहादुर वस्नेतले तुलमाया मरेपछि वाङगेललाई खवर गर्दा जो गर्नुपर्छ गर म व्यहोर्छु भनी वाङगेलले मृतक तुलमायाको लाश दवाउन सोम बहादुरलाई अह्राएको देखिन्छ । सर्जमिनको कलुदेवी खतिवडाले अदालत समक्ष वकपत्र गर्दा समेत मृतक तुलमायालाई यी प्रतिवादी समेतले सिस्नो लगाई कुटेको देखेको हुं भनी किटानी साथ लेखाई दिएकी छन् । त्यस्तै वुझिएका अर्का प्रभुराम वस्नेत तथा गणेश वहादुर कार्कीको कागज समेतबाट तुलमायाले वोकेको वाङगेलको गर्भ निजको पहिलो लोग्ने डिल्ली बहादुरलाई जिम्मा लगाउन छलफल गराउंदा प्र. पं. प्रतिवादी दावा सोनाम शेर्पा र स्वयं वाङगेल शेर्पा समेत भै मृतक तुलमायालाई सिस्नो लगाई कुटपिट गरेको भनी लेखाई दिएवाट निज वाङगेल शेर्पाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको सावितीलाई समर्थित गरी दिएको छ । तसर्थ प्रतिवादी वाङगेल र दावा सोनाम शेर्पा समेतको कसुरमा संलग्नता देखिदा प्र. वाङगेल शेर्पालाई कसुरदार ठहर्याई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. अन्तर्गत सजाय गर्ने गरेको सोखुखुम्वू जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी तत्कालीन सगरमाथा अंचल अदालत ओखलढुंगा वेन्चले गरेको इन्साफ सदर हुने ठहर्याएको पुनरावेदन अदालत राजविराजको इन्साफ मिलेकै देखिंदा सदर हुने ठहर्छ ।
३३. अव प्रतिवादी मध्येका पेम्वा शेर्पा र लाक्पा शेर्पाको हकमा परेको वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर तर्फ हेर्दा यी प्रतिवादीहरु आरोपित कसुरमा प्रहरी तथा अदालत समक्ष भएको वयानमा इन्कार रहेको र सो इन्कारीलाई निजहरुका साक्षी गोल्वू शेर्पा, आङतेम्वा शेर्पा, पूर्णयध्वज वस्नेत समेतको वकपत्रबाट समर्थित भै रहेको पाइन्छ । सह अभियुक्तहरु वाङगेल शेर्पा र सोम बहादुर वस्नेतले गरेका पोललाई स्वतन्त्र सवुदबाट समर्थित हुन सकेको देखिदैन ।
३४. ठोस एवं विश्वसनिय सवुदको अभाव रहेका यस्तो स्थितिमा यी प्रतिवादीहरुलाई कसरदार ठहराउन न्यायोचित नपर्ने हुंदा प्र. पेम्वा शेर्पा र प्र. लाक्पा शेर्पाको हकमा शुरुले सफाइ दिने गरेको फैसला सदर गरेको तत्कालीन सगरमाथा अंचल अदालत ओखलढुंगा वेन्चको फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला सो हदसम्म सदर हुने ठहर्छ । सो हदसम्मको वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
विपक्षी प्रतिवादी दावा सोनाम शेर्पा के, माथि इन्साफ खण्डमा लेखिए वमोजिम निजको हकमा पुनरावेदन अदालत राजविराजको फैसला केही उल्टी भै निजलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्मकैदको सजाय हुने ठहर्याएको शुरु सोलुखुम्बु जिल्ला अदालतको फैसला सदर भएकोले फैसला हुंदाका अवस्थामा निज अनुपस्थित रहेकोले निजलाई ठहरेको कैदको सजाय लगत कसी असुल गर्नु र निजको अंश कानूनको रीत पुर्याई सर्वश्व गर्नु भनी लगत राख्न शुरु सोलुखुम्बु जिल्ला अदालतमा लेखि पठाउनु .. १
फैसलाको प्रतिलिपी महान्यायाधिवक्ताको कार्यालयमा दिनु ..२
प्रस्तुत फैसलाको जानकारी सम्वन्धित कारागार मार्फत प्रतिवादी वाङगेल शेर्पालाई दिई, मिसिल नियमानुसार गरी वुझाई दिनु .... ३
उक्त रायमा म सहमत छु ।
न्या.कृष्णकुमार वर्मा
इति संवत २०५५ साल पौष २८ गते रोज ३ शुभम ।