निर्णय नं. ६७४४ - लेनदेन

नि.नं. ६७४४ ने.का.प. २०५६ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
संवत् २०५३ सालको दे.पु.नं. ..३८३३, ३४६४
फैसला मितिः २०५६।२।२०।५
मुद्दाः लेनदेन ।
पुनरावेदक
वादीः सिन्धुपाल्चोक जिल्ला, दुवाचौर गा.वि.स. वार्ड नं. ८ देउरीनि वस्ने चेतनाथ गिरी
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः ऐ. ऐ. वार्ड नं. ६ इसी भुमेस्थान वस्ने गर्भेकामी सुनार
पुनरावेदक
प्रतिवादीः सिन्धुपाल्चोक जिल्ला पाल्चोक गा.वि.स. वार्ड नं. ६ वस्ने गर्भे कामी सुनार
विरुद्ध
प्रत्यर्थी
वादीः सिन्धुपाल्चोक जिल्ला दुवाचौर गा.वि.स. वार्ड नं. ८ वस्ने चेतनाथ गिरी
§ प्रस्तुत विवादको विवादित लिखतमा कि.नं. ३९७ को जग्गा मोल रु.८०,०००। कायम गरी प्रतिवादीको नाममा रहेको उक्त जग्गा वादीले राजिनामा पारित गरी लिने र सो वापत हाल वैना स्वरुप केही रकम दिने, प्रतिवादीबाट २०४९।९।९ भित्र उक्त जग्गा रजिष्ट्रेशन पारित गरी वादीले लिने र नलिएमा बैना वट्टा पच हुने समेतका शर्तहरु उल्लेख भएको र त्यसमा दुवै पक्षले स्वीकृति जनाएको देखिंदा त्यस्तो लिखतलाई करारको प्रकृतिको लिखत मान्नु पर्ने हुन्छ । लेनदेन व्यवहारको २ नं. मा तमसुक भएका मितिले दश वर्ष भित्र केही व्याज असुल पनि नभएको, भाखापत्र पनि नगराएकोमा सो म्यादपछि नालेस लाग्न सक्दैन भन्ने उल्लेख भएको स्थितिमा विवादित लिखतलाई तमसुकको संज्ञा दिन सकिएन । करार ऐनले करारको लिखतको ढांचा तोकी दिएको पाइदैन, तर ऐनमा रहेको करारको परिभाषा तथा प्रस्ताव, एवं स्वीकृति जस्ता कुराहरुका आधारमा उक्त लिखत करारको लिखत हो भन्ने कुरा स्थापित हुन्छ।करार ऐन अनुसार करारका दुवै पक्षमा करारीय दायित्व (Contractual Obligation) निहित रहने र कुनै पक्षबाट त्यस्तो दायित्व पूरा नगरिएमा करारको उलंघन भएको मानी ऐ. ऐनको दफा १५(१) बमोजिम करार उलघंन गर्ने पक्षबाट अर्को पक्षले क्षतिपुर्ति भराई लिन पाउंछ र त्यस्तो पक्षले करार ऐन बमोजिमकै कार्यविधि अवलम्वन गर्नु पर्ने ।
(प्र.नं. १९)
पुनरावेदक तर्फबाटः
विपक्षी तर्फबाटः
अवलम्वित नजिर :
फैसला
न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ :
२. विपक्षी र मेरो सल्लाह अनुसार दुवाचौर गा.वि.स. वडा नं. ८ को कि.नं. ३९७ क्षे.फ. ६.१५.३.१ खेत रु. ८०,०००। मुल्य गरी दिने निश्चित भई ०४८।१०।१३।३ मा वैना रु.३०,०००। दिई फाल्गुन भित्र पास गर्ने गरी बैना कागज गरेकोमा फाल्गुनमा पास गरी दिनु होस् भन्दा नगरेपछि तपाईले दिएको रु.३०,०००। बैना मैले पनि जग्गा किन्न रु.२५,०००। वैना दिएकोमा समयमा दिन नसकी मेरो बैना पच भएको हुंदा तपाईले ७५,०००। लिएर आएमा खेत पाउनु हुन्छ नत्र दिन्न भन्ने पत्र प्राप्त भएपछि म विपक्षीको घरमा गई रु.५०,०००। दिन्छु भन्दा नमानेको र ०४९।२।४ गते भेटी रु.४२,००० दिएं र वांकी ८,०००। मा.पो.का. मा दिन्छु भनी भन्दा पनि आलटाल गरी मेरो ७२,०००। पचाउने नियत गरेकोले लिखत गरी दिनु पर्यो भन्दा बिपक्षी आफै दोहोरी कागज गर्ने भनी गर्भे सुनारका ४२,०००। वैना बटृा गरी आउने ०४९।२।४ गते भित्र जग्गा पास गरी नदिए बैना पच हुने गरी दोहरी कागज गरी दिएको । पौष महिना अगावै पास गर्नु पर्ने हुंदा पास खर्च र दिनु पर्ने रु.८०००। समेत दिई पास गरी दिनुस भन्दा तिमिसंग बैना स्वरुप रु.७२,०००। लिएको हुं, सो जग्गा तिमीलाई दिने वाला छैन अरुले ९०,०००। दिने भएछ, म दिन्न बैनाको पैसा पच भयो भनेकोले बैना स्वरुप पहिलो पटक दिएको रु.३०,००० र दोस्रो पटक दिएको रु.४२,०००। समेत जम्मा रु.७२,०००। विपक्षीवाट मलाई भराई विपक्षीलाई कानून वमोजिम सजाय समेत गरी पाउं भन्ने समेत व्यहोराको फिराद दावी ।
३. मिति ०४९।२।४ गते विपक्षीले मलाई पौष भित्र जग्गा पास गर्ने गरी रु.४२,०००। दिएको पौष महिना नलाग्दै मंसीर २८ गते फिराद दायर गरेको त्यस्तोमा लेनदेन व्यवहारको २ नं. को सुविधा नपाउने र करार ऐन, २०२३ को म्याद आधार समेतलाई अवलम्वन गर्नु पर्नेमा विपक्षीले गैह्र कानूनी उपस्थित भएको, मैले निजको फिराद दावी वमोजिम तिर्न वुझाउन पर्ने होइन । झुटृावादी दिएका विपक्षीलाई कानून वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
४. मिति ०४८।१०।१३ गते भएको रु.३०,०००। को लिखत सद्दे हो । सो लिखतमा लेखिए अनुसार थैली पूरा नगरेकोले पास नगरेको हो । सोही जग्गाको लागि पछि खरिद विक्रीको समयको सल्लाह गर्दा ३०,०००। को व्याज समेत जोडी ४२,०००। पुर्याई सो ४२,०००। लाइ मोठ थैली मानी बैना वटृाको कागज गरेको हो कि.नं. ३९७ कै सम्वन्धमा लिखत भएको हो । पहिलो रु.४२,०००। नगद लिएको छैन, लिखत सद्दे हो भन्ने समेत व्यहोराको प्र.वा. अक्कल वहादुर कामीले सद्दे किर्तेमा गरेको वयान ।
५. ०४८।१०।१३ मा ३०,०००। रुपैया चेत नाथ गिरीले, गर्भे सुनारलाई दिएको, सो रुपैया बैना लिएको खेत किन्नको लागि हो पछि ०४९।२।१३ मा ३०,०००। लाई व्याज समेत जोडी ४०,०००। को कागज प्रतिवादी गर्भे सुनारको घरमा भएको हो । पछि भएको कागज र अघिको ३०,०००। को कागज एउटै रुपैयाको हो, ३०,०००। को सांवा व्याजको रु. ४२,०००। को कागज गरी धितो समेत एउटै राखेको हो । पहिलाको कागज च्यात्न पर्दैन भनी संगै राखेको हो । चेतनाथले नच्यातेको हो, सो कागज ०४९।२।४ गते गराएको हो, पछि कागज खडा गरी रुपैया दिएको होइन, व्याज कुन दरमा राखेको हो मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्र.को साक्षी रामचन्द्र खड्काको बकपत्र ।
६. ०४८।१०।१३ गते जम्मा जग्गाको मोल रु.८०,०००। मध्ये ३०,०००। रुपैया वादीवाट प्रतिवादीले लिने दिने गरी मैले लेखेको हो भन्ने लिखत साक्षी ज्ञान व. गिरीको बकपत्र ।
७. रु.३०,०००। को लिखतको सांवा व्याज हिसाव गरी रु.४२,०००। लिखत बनाइ साक्षी वसेको हुं, छुट्टा छुट्टै रुपैया दिएर लिखत बनाएको होइन भन्ने समेत व्यहोराको अन्तर साक्षी जेठा सुनारको बकपत्र ।
८. मिति ०४९।२।४ को लिखत वादी प्रतिवादी वीच गर्ने गरी भएको हो भन्ने समेत व्यहोराको अन्तर साक्षी कृष्ण कुमारी गिरीको बकपत्र ।
९. ज्ञान वहादुरले लेखी ३०,००० लिने दिने गरी गरेको कागजमा साक्षी बसेको हुं पछि काठमाडौं जांदा रु.४२,०००। कागज गराई पुर्जा समेत ल्याएको हुं भन्ने समेत व्यहोराको लिखत साक्षी दधिराज गिरीको बकपत्र ।
१०. ०४८।१०।३ मा चेतनाथलाई जग्गा दिने भए साक्षी बसिदे भनेको र रु.३०,०००। गनेर दिएको देखेको हुं भन्ने लिखत साक्षी नर बहादुर गिरीको बकपत्र ।
११. लिखतको प्रकृति र व्यहोरावाट प्रतिवादीबाट वादीले कि.नं. ३९७ को खेत पास गरी लिने र नलिए बैना पच हुने भन्ने लेखिएवाट लिखत करारनामा देखिन आएकोले करार म्याद ०४९।९।२९ पूर्व नै ०४९।८।२८ मा नै ल्याएको हुंदा करार ऐन अनुसार हुने भनी फिर्ता गर्नुपर्नेमा सो नभएको र रकम फिर्ता पाउने शर्तनामामा उल्लेख समेत नभएको हुंदा वादी दावी वमोजिमको रकम भराई दिन मिल्ने नभई बैना रकम भराइ पाउं भन्ने दावी लेनदेन व्यवहारको २ नं. भित्र नहुंदा वादी दावी अ.वं. १८० नं वमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु सिन्धुपाल्चोक जिल्ला अदालतको मिति ०५१।३।१५ को फैसला ।
१२. बैनावटृाका लिखतहरु पनि लेनदेन व्यवहारको लिखत अन्तर्गत पर्ने र सोही महलको दफा ४० अनुसार हदम्याद कायम हुनेमा र नजिर समेतलाई ख्याल नगरी गरेको सि.पा.जि.अ.को फैसला गैह्र् कानूनी र बदरभागी हुंदा वादी दावी बमोजिम गरी पाउं भन्ने समेत व्यहोराको चेतनाथ गिरीले पुनरावेदन अदालत, पाटनमा दिएको पुनरावेदन ।
१३. ०४९।९।२९ गतेसम्म जग्गापास गरी लिने म्याद भएपनि ०४९।८।२० मा जग्गा पास गरी नदिने भन्ने दावी भएवाट फिराद गर्नुपर्ने कारण ०४९।८।२० गते परेको अवस्थामा खारेज गर्ने गरेको शुरु इन्साफ फरक पर्ने देखिंदा छलफल निमित्त अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाउने भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनवाट भएको आदेश ।
१४. यी वादी प्रतिवादीका वीच २ वटा लिखत भएको भनी दुवै लिखतको रुपैया भराई पाउन फिराद दायर भएकोमा उक्त दावीका २ लिखत मध्ये वादी प्रतिवादीका वीच के कति रुपैया लिई दिई कागज भएको रहेछ त भनी हेर्दा मिति ०४८।१०।१३ र ०४९।२।४ को दुईटै लिखत कि.नं. ३९७ कै जग्गाको बैनावटृा वापत भएको देखिंदा ०४९।१०।१३ मा रु.३०,०००। बैना लिई सकेपछि पुनः ०४९।२।४ मा रु.४२०००। बैना लिन दिन पर्ने औचित्य देखिन नआएवाट र ०४९।२।४ को लिखतले ०४८।१०।१३ को लिखतका सम्वन्धमा केही वोलेको समेत नदेखिदा ०४८।१०।१३ को लिखतको रकम समेत गाभी ०४९।२।४ को लिखत भएको मान्नु पर्ने हुन आयो । शुरु जिल्ला अदालतले लेनदेन व्यवहारको २ नं. आकर्षित नहुने भनी वुंदा उल्लेख गरेको हकमा फिराद पत्रमा लेनदेन व्यवहारको २ नं. अन्तर्गत दावी गरेको देखिएतापनि लेनदेन व्यवहारको ४० नं. को म्याद भित्रैको फिराद देखिंदा वादीले फिराद दावी मध्येको २०४९।२।४ को लिखतको रु.४२,०००। सम्म प्रतिवादीवाट भरी पाउने ठहर्छ । फिरादपत्र खारेज गर्ने गरेको शुरु सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनवाट मिति ०५२।११।८ मा भएको फैसला ।
१५. ०४८।१०।१३ मा रु.३०,०००। र ०४९।२।४ मा रु.४२,०००। लिनु दिर्नु भै लिखत समेत भएकोमा एकै प्रकृतिको एउटा लिखतलाई मान्यता दिई अर्कोलाई मान्यता नदिने गरी एउटा लिखत बमोजिमको रकम रु.४२,०००। मात्र भरी पाउने ठहर गरेको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुंदा सो फैसला बदर गरी फिराद दावी बमोजिम दुवै लिखतको पुरै रुपैया दिलाई भराई पाउं भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१६. जग्गाको मुल्य तोकी भाखा भित्र पास गर्ने र पास गरी नलिए बैनाको रकम पच हुन्ने भन्ने शर्त भएको वैनावटृाको लिखत, शर्तनामा लिखत भएकाले त्यस्तो शर्त समेतको बैनावटृाको लिखतमा आकर्षित हुनै नसक्ने लेनदेन व्यवहारको महल अनुसार गरेको पुनरावेदन अदालत पाटनको फैसला प्रचलित कानून एवं प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भएकाले उक्त फैसला बदर गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१७. नियम बमोजिम पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा सिन्धुपाल्चोक जिल्ला दुवाचौर गा.वि.स. वार्ड नं. ८ को कि.नं. ३९७ को क्षे.फ. ६-१५-३-१ को खेत रु.८०,०००। मोल गरी दिने निश्चित गरेकोले २०४८।१०।१३ मा बैना स्वरुप रु.३०,०००। प्रतिवादीलाई दिई फाल्गुन महिना भरीमा पास गरी दिने शर्तमा लिखत समेत गरि दिएको उल्लेखित म्यादभित्र जग्गा पास गरि नदिएको हुंदा पुनः मिति २०४९।२।४ मा निज प्रतिवादीलाई भेटी रु.४२०००। दिई बांकी रु.८०००। मालपोत कार्यालयमा दिन्छु भनी भनेकोमा पास गर्न नमानी आलटाल गरेको र मेरो रु.७२०००। समेत पचाउने नियत राखेकोले लिखत गरीदिनु होस् भनी भन्दा २०४९।९।२९ गते भित्र जग्गा पास गरी नलिए बैना पच हुने शर्तमा दोहोरी लिखत गरी दिएको भएतापनि हालसम्म पनि जग्गा पास गरी नदिएको हुंदा उल्लेखित लिखत बमोजिमको संपूर्ण रकम रु.७२०००। प्रतिवादीबाट भराई पाउं भन्ने मुख्य फिराद दावी रहेकोमा वैनावट्टाको लिखत लेनदेन व्यवहारको २ नं. को आधारमा फिराद गर्न मिल्दैन, त्यस्तो लिखत करारनामाको लिखत भएकाले करार ऐन वमोजिमको कार्यविधि अवलम्वन गर्नु पर्दछ, वादी दावी झुठा हो र बैना वट्टाको लिखत अनुसारको दायित्व वादीले पूरा नगरेको हुंदा फिराद दावी खारेज योग्य छ भने प्रतिउत्तर रहेको देखिन्छ । लिखत करारनामा प्रकृतिको देखिन आएको हुंदा करार ऐन वमोजिम फिराद परे कानून वमोजिम हुने भनी त्यस्तो लिखतबाट बैना रकम भराई पाउं भन्ने दावी लेनदेन व्यवहारको २ नं. को परिभाषा भित्र नपर्ने भन्ने आधारमा शुरु सिन्धुपाल्चोक जिल्ला अदालतबाट फिराद खारेज हुने ठहर्याएकोमा सो उपर पुनरावेदन अदालत पाटनमा वादीको पुनरावेदन परी पुनरावेदन अदालतबाट पहिलो लिखतको रकम समेत गाभी पछिल्लो लिखत भएको मान्नु पर्ने भनी लेनदेन व्यवहारको ४० नं. को म्याद भित्रको लिखत मानी शुरु जिल्ला अदालतको फैसला उल्टी गरी फिराददावी मध्येको २०४९।२।४ को लिखतको रु.४२०००। प्रतिवादीबाट भरी पाउने ठहर्याएको देखिन्छ । पुनरावेदन अदालतको फैसला उपर वादी प्रतिवादी दुवैको यस अदालतमा दोहोरो पुनरावेदन परेको अवस्था छ । यसमा प्रथमतः विवादित लिखतहरुका सन्दर्भमा करार ऐन, २०२३ आकर्षित हुने हो या लेनदेन व्यवहारको महल अनुसार हुने हो ? भन्ने प्रश्नको निरुपण गरी प्रस्तुत मुद्दा टुङ्गो लगाउनु पर्ने देखिन्छ ।
१८. लिखतको व्यहोरालाई हेर्दा पहिले अर्थात २०४८।१०।१३ को लिखतमा कि.नं. ३९७ को खेत रु.८००००। मुल्यमा फागुन भरमा रजिष्टे्शन पास गर्ने गरी सो रुपैया मध्ये रु.३००००। वुझि लिएं, वांकी रुपैया रजिष्ट्रेशन पास गर्दा चुक्ता गरी लिनुदिनु गर्ने गरी हामी साहु आसामी दुवै थरको मनोमानी खुशीराजीसंग यो कवुलनामा लेखि सहिछाप गरिदियां भन्ने उल्लेख भएको देखिन्छ । त्यसैगरी पछिल्लो अर्थात २०४९।२।४ गतेको लिखतमा गर्भे सुनारको कित्ता नं. ३९७ को खेत चेतनाथ गिरीले लिने वोलीले गर्दा चेतनाथ गिरीले मिति २०४९।२।४ गते जग्गा लिनको लागि गर्भे सुनारको हातमा रु.४२०००। वैना वट्टा गरी २०४९ साल पुष २९ गते भित्र जग्गा पास गरी नलिएमा रु.४२०००। वैना वट्टा पच हुने अर्थात फिर्ता नहुने व्यहोरा उल्लेख गरी साक्षी समेत राखी दुवै पक्षको सहीछाप भएको देखिन्छ । उल्लेखित दुवै लिखत बैनावट्टाको लिखत भएको कुरामा विवाद छैन र त्यसमा दुवै पक्ष मुख मिलेकै देखिन्छ ।
१९. विवादित लिखतमा जग्गाको मोल रु.८००००। कायम गरिएको, सो जग्गा रजिष्ट्रेशन पारित गरि दिने लिने कुरा उल्लेख भएको पारित गरि दने अवधि समेत किटान गरिएको र तोकिएको समयमा पास गरी नलिएमा हुने परिणाम अर्थात वैनावट्टा पच हुने कुरा समेत लेखिएको छ । करार ऐन, २०२३ को दफा २(क) मा करार भन्नाले दुई वा दुई भन्दा वढी पक्षहरुका वीच कुनै काम गर्न वा नगर्नका लागि गरिएको मन्जुरी संझनु पर्छ भन्ने व्यहोरा उल्लेख छ । साथै ऐ. दफा ४(१) मा कुनै व्यक्तिले कुनै व्यक्ति समक्ष प्रस्ताव राखेकोमा प्रस्ताव पाउने व्यक्तिले सो प्रस्ताव स्वीकृति गरेमा करार भएको मानिने छ भनी उल्लेख भएको सन्दर्भमा प्रस्तुत विवादको विवादित लिखतमा कि.नं. ३९७ को जग्गा मोल रु.८०,०००। कायम गरी प्रतिवादीको नाममा रहेको उक्त जग्गा वादीले राजिनामा पारित गरी लिने र सो वापत हाल बैना स्वरुप केही रकम दिने, प्रतिवादीबाट २०४९।९।९ भित्र उक्त जग्गा रजिष्ट्रेशन पारित गरी वादीले लिने र नलिएमा बैनावट्टा पच हुने समेतका शर्तहरु उल्लेख भएको र त्यसमा दुवै पक्षले स्वीकृति जनाएको देखिंदा त्यस्तो लिखतलाई करारको प्रकृतिको लिखत मान्नु पर्ने हुन्छ । लेनदेन व्यवहारको २ नं. मा तमसुक भएका मितिले दश वर्ष भित्र केही व्याज असुल पनि नभएको भाखापत्र पनि नगराएकोमा सो म्यादपछि नालेस लाग्न सक्दैन भन्ने उल्लेख भएको स्थितिमा विवादित लिखतलाई तमसुकको संज्ञा दिन सकिएन । करार ऐनले करारको लिखतको ढांचा तोकिदिएको पाईदैन, तर ऐनमा रहेको करारको परिभाषा तथा प्रस्ताव, एवं स्विकृति जस्ता कुराहरुका आधारमा उक्त लिखत करारको लिखत हो भन्ने कुरा स्थापित हुन्छ । करार ऐन, अनुसार करारका दुवै पक्षमा करारीय दायित्व (Contractual Obligation) निहित रहने र कुनै पक्षबाट त्यस्तो दायित्व पूरा नगरिएमा करारको उलंघन भएको मानी ऐ.ऐनको १५(१) बमोजिम करार उल्लंघन गर्ने पक्षबाट अर्को पक्षले क्षतिपुर्ति भराई लिन पाउंछ र त्यस्तो पक्षले करार ऐन वमोजिमकै कार्यविधि अबलम्वन गर्नु पर्दछ ।
२०. प्रस्तुत विवादमा उल्लेखित दुवै लिखतको प्रकृतिले ती लिखत करारनामाको लिखत हुंदा हुंदै पनि लिखत अनुसार भएन भन्ने पक्षले करार ऐन अनुसार नै उपचार खोज्नू पर्नेमा आकर्षित हुनै नसक्ने लेनदेन व्यवहारको २ नं. अनुसार वादीको फिराद परेको देखिन्छ । तसर्थ करार ऐन अर्न्तगतबाट क्षतिपुर्तिको दावी लिई आउनु पर्ने पक्षले लेनदेन व्यवहारको २ नं. अन्तर्गतबाट नालिश गरेको देखिंदा फिराद खारेज गर्ने गरेको शुरु जि.अ.को फैसला उल्टी गरी पछिल्लो अर्थात २०४९।२।४ को लिखत वमोजिमको रकम प्रतिवादीबाट भरी पाउने ठहर्याएको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिंदा उल्टी भै करार ऐन अन्तर्गतको विवादमा लेनदेन व्यवहारको २ नं. आकर्षित हुन नसक्ने भनी फिराद खारेज गर्ने गरेको, शुरु सिन्धुपाल्चोक जि.अ.को मिति २०५१।३।१५ को फैसला सदर हुने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए वमोजिम फिराद खारेज गर्ने गरेको शुरु सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला सदर हुने ठहरेकाले पुनरावेदक प्रतिवादी गर्भे कामी सुनारले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु.३६४।५० तथा धरौटी रु.१७५९।५० समेत फिर्ता पाउं भनी ऐनका म्याद भित्र प्रतिवादीको दर्खास्त परे कानून वमोजिम फिर्ता दिनु भनी शुरुमा लेखी पठाई दिनु ......... १
माथि इन्साफ खण्डमा लेखिए वमोजिम फिराद खारेज गर्ने गरेको शुरु सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला उल्टी गरी वादीले सांवा व्याज भरी पाउने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला उल्टी भै शुरु जि.अ.को फैसला सदर हुने ठहरेकाले पुनरावेदन अदालत पाटनको फैसलाको तपसील खण्डको देहाय १ ले राख्ने गरेको लगत कटृा गरी सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला वमोजिम गर्नु भनी शुरुमा लेखी पठाई दिनु ................. २
दायरीको लगत कट गरी मिसिल नियमानुसार गरी वुझाई लिनु ...................... ३
उपर्युक्त रायमा म सहमत छु ।
न्या. गोपालप्रसाद खत्री
इति संवत् २०५६ साल जेठ २० गते रोज ५ शुभम् ................................... ।