शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६३१ - उत्प्रेषण

भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक:

निर्णय नं. २६३१     ने.का.प. २०४३ अङ्क - २

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०४२ सालको रिट नम्बर २१८२

आदेश भएको मिति : २०४३।२।३०।६ मा

 

निवेदक : जि.नुवाकोट थानसिं गा.पं.वा.नं.८ वेलासपुर बस्ने धर्मप्रसाद पाठक

विरुद्ध

विपक्षी : अम्बरराज पाठकसमेत

 

विषय : उत्प्रेषण

 

(१)         माग बमोजिमको आदेश जारी गर्न मिल्ने कानुनी आधार प्रमाणिक अवस्था विद्यमान रहे भएको नहुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ।

(प्रकरण नं. ८)

 

निवेदकतर्फबाट  : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली

विपक्षीतर्फबाट  : विद्वान सरकारी सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्का

 

आदेश

न्या.सुरेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकार छ :

२. मेरो हकको बेलासपुर थान सिंह गा.पं.वा.नं.८ को कि.नं.१२७, १३६, १३७, १४२ र १८९ समेत ५ कित्ता जग्गाको अधियामा बाली तिर्ने बुझाउने गरी अम्बरराज पाठकले बुझाई आएकोमा ०३५ सालको आयस्ता मलाई नबुझाएको र पञ्चायतमा धरौटी समेत नराखेको हुँदा धानमुरी १ को रु.६०।ले ६६०।मकै मुरीको ७० ले ९८०।समेत १६४०।विपक्षबाट मलाई भराई दिलाई उक्त घर जग्गाबाट समेत निष्कासन गरिपाउँ भन्ने मेरो विपक्षी कार्यालयमा निवेदन दिँदा उक्त विवादीत कित्ता जग्गा भित्रको जग्गा रु.१३००।मा राजीनामा गरी दिई उक्त रकम नबुझाएसम्म ब्याज रु.१३०।बुझाई खाने शर्त राखिएको थियो वादीले २ तहको इन्साफमा ७२०।१० आयस्ता बापत खान पाउने फैसला भएको कुरा छिपाई म.क्षे.अ.को फैसला बमोजिमको दावी नदिई बढी बिगो लिई फिराद गरेकोमा फिराद खारेज होस् भन्ने विपक्षीको प्रतिउत्तर भएकोमा मिसिल अध्ययन गर्दा जग्गाहरू सबै वादीकै नाउँमा भएकोले ज.ध.वादी देखिन आएको र आयस्ता सम्बन्धमा आजै छिनिएको ०२४ सालको आयस्ता बालीको मिसिल भू.सु.वि.अ.को फैसला बमोजिम रु.७२०।१० मा दावी लिई फिराद गर्नुपर्नेमा १६४०। भराई पाउँ भनी दावी लिई फिराद दिन आएको देखिएकोले भू.सं.ऐन, ०२१ को दफा २९(३) बमोजिम आयस्ता बापत रु.७२०।१० वादीले प्र.बाट भरी पाउने ठहर्छ र मोही निष्कासन नहुने ठहर्छ भन्ने निर्णय गर्नुभयो जुन निर्णय निम्न लेखिए बमोजिम गैरकानुनी छ भनी प्रष्ट पारेको छु ।

३. जिकिरः जग्गाधनी म रहेको र बाली नबुझाएको कुरालाई विपक्षी कार्यालय र विपक्षीले समेत स्वीकार गरेको प्रष्ट रुपमा देखिएकै छ अतः यस्तो अवस्थामा मेरो जिकिर बमोजिमको बाली भराई मोही निष्कासन नगरेको भूमिसम्बन्धी ऐनको ठाडै उल्लघंन भएको छ । कूत पनि नबुझाउने सम्बन्धित ठाउँमा बाली धरौटी समेत नराखेको अवस्थामा भूमिसम्बन्धी ऐन, २०२१ को परिच्छेद ८ बमोजिमको दायित्व पुरा नगरेको प्रष्ट रुपमा देखिएकै छ । उक्त ऐनको दफा २९(१) ले मोही निष्कासन हुन पर्ने सो भएको छैन । भूमिसम्बन्धी ऐनमा व्यवस्था भए अनुसार तजबिजी निर्णय गर्दा सो कानुनको मनसायलाई समेत ध्यानमा राख्‍न पर्ने जरुरी हुन्छ । ०३५ साल देखि ०४१ साल सम्मको बाली नबुझाउने मोहिलाई पुनः मोही कायम गरी रहन उक्त ऐनको मनसाय होइन अतः विपक्षी कार्यालयको निर्णय पूर्ण रुपमा बदरभागी छ । मोहीले भू.सं. ऐनको दफा ३४(१) र (२) बमोजिम जग्गा धनीसँग कबूलियत गराउनु पर्ने र सम्बन्धित पञ्चायतमा समेत संलग्न हुनुपर्ने सो समेत लेखाउन देखाउन सकेको पाइँदैन । अतः उक्त निर्णय प्रमाण ऐनको दफा ५४ को ठाडै उल्लघंन भएकै छ । प्रस्तुत विवादमा ०२४ सालमा रु.७२०।१० आयस्ता बापतको रकम लिएको हुँ समयको परिवर्तनको साथसाथै २०२४ सालको बिगोलाई अहिले आएर सोही कायम गरी दिँदा मेरो निवेदन लेखाई बमोजिम १६४०। को दावी गरेको हुँ अतः ०२४ सालको रकम कायम गर्नु पूर्ण रुपमा गैरकानुनी भएको प्रष्ट छ । ०३५ साल देखि ०४० साल सम्मको बाली भराई पाउँ भन्ने मेरो भनाई भएकोमा एक वर्षको बाली मात्र विपक्षले भराएमा पनि कानुनसंगत छैन । अतः माथि उल्लेख गरे बमोजिमको गैरकानुनी त्रुटि गरी गरेको विपक्षी कार्यालयको निर्णयले निवेदकको संविधानको धारा १०(१)(२), ११(२)(ङ) र १५ द्वारा प्रदत्त मौलिक हकमा आघात पुगेको र अन्य उपचारको अभावमा संविधानको धारा १६।७१ बमोजिम उत्प्रेषण वा अन्य आदेशले बदर गरिपाउँ भन्ने समेत रिट निवेदन ।

४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आए  पछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको आदेश ।

५.    मेरो वन जंगल कटानी गरायो भन्ने मुद्दा चल्दा मेरो नाउँमा भएको सम्पत्ति आफ्नो नाममा पास गरी देउ पछि तिमीले मुद्दा जितेपछि तिम्रो सम्पत्ति तिमीलाई नै फिर्ता दिन्छु भनी विपक्षीले मेरो नाउँको जग्गा आफ्नो नाममा रजिष्ट्रेशन पास गरेको थिए । पछि मैले सो मुद्दाबाट सफाई पाएपछि मेरो नाममा लेखत पास गरी दिनोस् भन्दा मानेनन् पछि यस जिल्लामा भु.सु. लागू हुँदा विपक्ष धर्मप्रसादले फाराम भरेपछि मैले सोही जग्गामा मोहियानी फाराम भर्दै आएको थिएँ । २०२३ सालमा विपक्षीले २०२२ सालको बाली भराई निष्कासन गरिपाउँ भनी विशेष अदालतमा मुद्दा दिँदा उक्त कित्ता मध्ये ३ कित्ता रु.१३००।मा दृष्टिबन्धक लेखत भएको ब्याज रु.१३०।सालसालै बुझाउँदै आएको हुँ भन्ने मेरो प्रतिवाद हुँदा १०।का दरले ७२०।१० लिन पाउने भन्ने फैसला गरेपछि मेरो पुनरावेदन अदालतमा कारवाही चलेकोमा मेरो जालसाजी मुद्दा नुवाकोट जि. अदालतमा अम्बराज धर्मप्रसाद समेतको नाउँमा मुद्दा परिरहेको छ अन्तिम किनारा नभएसम्म दुवैको पुनरावेदन मुलतवी राखी पाउँ भन्ने निवेदन पर्दा मुलतवीमा रहेको थियो पछि के व्यहोराबाट हो दुवै पुनरावेदन यसै सम्मानीत अदालतमा र म.क्षे.अ.मा सरुवा भई गएछ ०३५ सालमा मेरो नाउँमा म्याद जारी भई आउँदा रु.१३०।वादी धर्मप्रसादले आयस्ता खान पाउँछ भनी सिंललबेञ्चको आदेश डिसमिस हुँदा ०३५ साल असार १६ गते डिभिजनबेञ्चले फैसला गर्दा वादी जिकिरको जग्गामा बनेको २१।२७, २ तले घर भएको जग्गा  दशौंदीको दरले आयस्ता खान पाउने गरी नुवाकोट विशेष अदालतले गरेको इन्साफ मनासिब ठहर्छ भन्ने फैसला भयो सो फैसला उपर पनि चित्त नबुझी यस सम्मानीत अदालतमा पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदन पेश हुँदा क्षे.अ.को सदर भएको भनी अनुमति प्राप्त भएन विपक्षीले क्षे.अ.बाट ७२०।१० बिगो भराउने गरेको निर्णयलाई मानिसकेकोमा बिगो भराउनेतर्फ नभई अधिया बाली ०३५ सालमा धरौटी नरहेकोले अधिया बाली भराई जग्गाबाट हटाई पाउँ भनी जि.भू.सु.का.नुवाकोट विशेष अदालतको इन्साफ सदर गरी म.क्षे.अ. ले गरेको इन्साफमा चित्त नबुझी श्री स.अ.मा मेरो पुनरावेदनको अनुमति पाउँ भनी अनुमति उक्त अदालतमा दायर छ मेरो रु.१३० को दावी चलिराखेको छ भन्ने प्र.जिकिर भए अनुसार मेरो प्रतिवादी परी कार्यबाही रही रहेको क्षे.अ.को इन्साफ बमोजिम रु.७२०।१० तिर्न बुझाउन मन्जूर छ भन्ने मेरो वारेसलाई कागज गराई ०४१ साल चैत्र २८ गते आयस्ता बापत रु.७२०।१० भराई दिने गरी जि.भू.सु.का.बाट निर्णय हुँदा चित्त बुझी रिट निवेदन गर्न सकिन ०३५ सालको बालीमा धरौट राख्‍न ७२०।१० शुरु देखि क्षे.अ.सम्मको इन्साफमा अधिया बालीको जिकिर वादीको मेरो दावीको जिकिर १३० को हुँदा १३० जिकिर टुङ्गो लागेको छैन भने मैले ०३५ सालको बाली धरौट राख्‍न मिल्ने होइन अतः रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत अम्बरराज पाठकको लिखितजवाफ ।

६. रिट निवेदकले दावी गरेको बिगोको सम्बन्धमा हेर्दा अदालतबाट कायम गरेको अंक भन्दा बढी दिलाउन अदालतको मानहानी गरेको जस्तो देखिन आउँछ । विपक्षीको दावी बमोजिम मोही निष्कासन गर्दा कानुनको मनसाय विपरीत हुने प्रष्टै छ धरौटी नराखेको भन्ने सम्बन्धमा पुनरावेदन तहमा कारवाही चलिरहेको हुँदा भूमिसम्बन्धी ऐनको परिच्छेद ८ बमोजिम भएन भन्न मिलेन । दावी गरेका सालमा मात्र निर्णय गरेको यस कार्यालयको निर्णय कानुनसंगत नै छ । तजबिजी अधिकार न्याय दिने अधिकार प्राप्त व्यक्तिबाट मोहीले आफ्नो दायित्व पूरा नगरेको ठहरेमा मात्र निष्कासन गर्नुपर्ने हो अतः निवेदकको सो जिकिर पनि न्यायसंगत देखिँदैन अतः यस कार्यालयबाट नियम कानुनको अधीनमा रही गरेको निर्णय कानुनसंगत नै हुँदा रिट निवेदन  खारेज गरिपाउँ भन्ने समेत भू.सु.का.नुवाकोटको लिखितजवाफ ।

७. नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली र विपक्षी कार्यालय तर्फबाट खटिई आउनु भएको विद्वान सरकारी सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विपक्षी लिखितजवाफवाला तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्काले गर्नुभएको वहस समेत सुनियो । मुख्यतया निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने हो होइन सो को निर्णय दिनुपर्ने हुन आयो ।

८. यसमा बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भनी दिएको वादीमा घटी बाली भराई जग्गाबाट समेत निष्कासन नगरेकोले मेरो वादी दावी अनुसारै गरिपाउँ भन्ने मुख्य रिट निवेदकको जिकिर भएको पाइन्छ । सो जिकिर अनुसार गर्न मिल्ने नमिल्ने के रहेछ भनी भूमिसुधार कार्यालय नुवाकोटको ०४१।१२।२८।४ को निर्णय हेर्दा निवेदकले विवादीत जग्गाको बाली रु.१६४०।भराई पाउँ भनी दावी लिएकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट रु.७२०।१० का दरले बाली भराई दिने र निष्कासन नहुने गरी २०३५।४।१६ गते फैसला भएको सो फैसला अन्तिम भइरहेको देखिन्छ । सो अन्तिम फैसला बमोजिमको दावी नलिई बढी बिगोको दावी लिई निवेदकले फिराद गरेकोबाट निष्कासन नहुने गरी सो अन्तिम फैसलाको आधार लिई निर्णय गरेको देखिन आएकोले यस्तो स्थितिमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने कानुनी आधार प्रमाणिक अवस्था विद्यमान रहे भएको नहुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । नियमानुसार गरी फाइल बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या. बब्बरप्रसाद सिंह

 

 

इति सम्वत् २०४३ साल ज्येष्ठ ३० गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु