शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६७० - जिउ मास्ने बेच्ने

भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२

निर्णय नं. ३६७०     ने.का.प. २०४५                 अङ्क १२

 

संयुक्त इजालस

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको फौ.पु.नम्बर ४४६

फैसला भएको मिति : २०४५।९।२९।५ मा

 

पुनरावेदक/वादी : श्री ५ को सरकार (वीरबहादुर तामाङको जाहेरीले)

विरुद्ध

विपक्षी/प्रतिवादी : सिधुपलाञ्चोक जिल्ला पोखरे गाउँ पञ्चायत वडा नं. ४ बस्ने संग्रामे भन्ने छकबहादुर तामाङसमेत

 

मुद्दा : जिउ मास्ने बेच्ने

 

(१)                जिउ मास्ने बेच्ने महलको १ नं. मा कसैले कुनै मानिसलाई बिक्री गर्ने उद्देश्यले ललाई फकाई नेपाल सरहद बाहिर लैजान वा लगी बिक्री गर्न हुँदैन भन्ने प्रतिबन्ध  लगाएको देखिने ।

(प्रकरण नं. १७)

(२)               केटीलाई बेच्न लगेको र बेच्न नपाउँदै पक्राउ भएको भन्ने देखिन नआएको हुँदा प्रतिवादीहरुले आरोपित कसूर गरेको भन्न सकिने अवस्था नरहने ।

(प्रकरण नं. १७)

 

पुनरावेदकतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत वादी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    संग्रामे तामाङ, क्षेत्रबहादुर तामाङ र कठेउरी तामाङनीको लोग्ने नाम नजानेको तामाङ समेत ३ जनाले मेरी श्रीमती नमीन तामाङनीलाई विदेश बम्बैमा लान भनी म नभएका बेलामा ललाई फकाई कठेउरीको घरमा लुकाई राखेको रहेछ । संग्रामेलाई कारकेर गर्दा सावित भएकोले विपक्षी संग्रामे र मेरो श्रीमतीलाई यसै दर्खास्त साथ दाखिल गर्न ल्याएको छु मेरी श्रीमतीबाट आवश्यक बयान समेत गराई विपक्षीहरुलाई कानून बमोजिम सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको वीरबहादुर तामाङको मिति २०३९।३।२० गते पर्न आएको जाहेरी दर्खास्तपत्र ।

३.    मेरो लोग्ने घरमा नभएको अवस्थामा संग्रामे र क्षेत्रबहादुर आई विदेश बम्बैमा राम्रो लाउन खान पाइन्छ भनी फकाई लगी प्यूघर बस्न नाम नजानेको घरमा लगी राखेकोले निजहरु उपर कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको नमीना तामाङनीको प्रहरीमा भएको मिति २०३९।३।२० गतेको कागज ।

४.    मैले जाहेरवालाको घरमा गई जाहेरवालाकी श्रीमतीलाई फकाएको होइन, छैन । मिति २०३९।३।१४ गते क्षेत्रबहादुरले वीरबहादुरकी श्रीमती नमीन तामाङनीलाई फकाई राखेको छ मसंग खर्च भएन खर्च भए हामी २ जना विदेशमा मेरो छोरी कहाँ लगी राखौं भनी भन्दा मैले जान्न भनें र मैले सोही दिनको अं. १२ बजे केटीको लोग्ने वीरबहादुर समेतलाई बोलाई नमीन तामाङनीलाई लुकाई राखेको ठाउँबाट ल्याई प्रधानपञ्चको घरमा पुर्‍याएको हो । मैले नमीन तामाङनीलाई फकाएको होइन, छैन भन्ने पक्राउमा परेको संग्रामे भन्ने छकबहादुर तामाङको मिति २०३९।३।२१ गतेको बयान ।

५.    जाहेरवाला वीरबहादुर तामाङको श्रीमती नमीन तामाङनीलाई क्षेत्रबहादुर छकबहादुर तामाङ समेतले ललाई फकाई गरी पिउघर बस्ने श्रीमान् तामाङको छोरा माइला तामाङको घरमा लुकाई निज समेतको सहमतिबाट विदेश बिक्री गर्न लान उद्योग गरेमा पूरा विश्वास लाग्छ भन्ने गणेशबहादुर न्यौपाने समेतका सरजमीनका मानिसहरुको भनाई लेख भएको मिति २०३९।३।३१ गतेको सरजमीन मुचुल्का ।

६.    क्षेत्रबहादुर तामाङ, छकबहादुर तामाङ, माहिला तामाङ समेतले नमीन तामाङनीलाई विदेशमा बिक्री गर्न लाने उद्योग गरी मुलुकी ऐन जिउ मास्ने बेच्ने महलको १ नं. विपरीतको अपराध गरेको देखिनाले निजहरु ३ जना उपर ऐजन ऐनको १ नं. बमोजिम सजायँ हुन र फरार रहेको खेचरे भन्ने क्षेत्रबहादुर तामाङ र माहिला तामाङ समेत २ जनाको नाममा सम्मानीत अदालतबाट समाव्हान जारी हुन समेतको माग दावी भई दायर भएको प्रहरी प्रतिवेदन ।

७.    प्रहरीमा म सावित भएको छैन । मिति २०३९।३।१३ गते म आफ्नै घरमा छु । मैले जाहेरवालाको श्रीमती नमीनलाई फकाएको होइन । क्षेत्रबहादुरले मलाई एउटा केटी लुकाई राखेको छ । तिमी र दुवैजना खर्च भए देखि भारत बम्बैमा जाउँ भनेको र मैले म संग खर्च छैन जान्न भने र सो कुरा थाहा पाएपछि मैले नमीनको दाजू, बाबु र प्रधानपञ्च समेतलाई भनी दिएको हुँ, भन्ने समेत व्यहोराको संग्रामे भन्ने छकबहादुर तामाङको अदालतमा भएको बयान ।

८.    म नभएको मौका पारी ३ जनाले मेरी श्रीमतीलाई फकाई नाम नजानेको जुवाई भन्ने मानिसको घर पिउघरमा लुकाएछन् । सो कुरा ३ दिन पछि थाहा पाई पाचौं दिनका दिन प्रधानपञ्च कहाँ लगी त्यहाँबाट केटी र छकबहादुरलाई जाहेरी साथ सपुधा गरी दिएको हो भन्ने समेत व्यहोराको जाहेरवाला वीरबहादुर तामाङको अदालतमा भएको बकपत्र ।

९.    क्षेत्रबहादुरले आफ्नी छोरीको फोटो देखाई बम्बैमा राम्रो खान लाउन दिन्छ भनी फकाई पिउघरमा लुकाई ५ दिनपछि प्रधानपञ्च कहाँ ल्याए र त्यहाँबाट चौतारा प्रहरीमा ल्याएको हो । तिनीहरुले बम्बै लाने प्रयत्न गरी मलाई ललाई फकाई गरेका हुन् । मेरो बम्बै जाने इच्छा त थिएन भन्ने समेत व्यहोराको नमीन तामाङनीले गरेको बकपत्र ।

१०.    १० वर्ष कैद हुने जस्तो कसूरमा प्रत्यक्ष प्रमाणको अभावमा कसूर गरेको भन्न नसकिने हुँदा प्रहरी प्रतिवेदन दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०४१।२।२३ गतेको फैसला ।

११.    प्रतिवादीको भनाईको आधार मात्र लिएर भएको फैसला कानून विपरीत हुँदा सो फैसला बदर गरी प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ गरिपाउँ भनी वादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

१२.    प्रतिवादीहरुलाई सफाई दिएको सिन्धुपाल्चोक जिल्ला अदालतको इन्साफ मनासिब हुँदा श्री ५ को सरकारको पुनरावेदनपत्र जिकिर पुग्न सक्दैन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।९।१० गतेको फैसला ।

१३.    प्रतिवादीहरुलाई सफाई दिएको सो फैसला न्याय र कानूनसंगत नहुँदा बदर गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्रतिवादीहरुलाई सजायँ गरी पाउँ भन्ने समेत श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदनपत्र ।

१४.    पुनरावेदकतर्फबाट बहस गर्न उपस्थित हुनु भएका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले प्रतिवादी संग्रामे छकबहादुरले वीरबहादुर तामाङको श्रीमती नमीन तामाङनीलाई विदेश बिक्री गर्न लान लुकाई राखेको कुरा मिसिल प्रमाणबाट देखि राखेको छ । छकबहादुर बाहेकका अरु प्रतिवादीहरु हाजिर भई प्रतिवाद गर्न सकेको छैन । नमीन तामाङनीलाई विदेश लान ललाई फकाई लुकाई राखेको कुरा निजको बयानबाट समेत देखिएको छ । यस्तोमा प्रतिवादीहरुलाई सफाई दिएको इनसाफ मिलेको छैन, भन्ने समेत बहस गर्नु भयो ।

१५.   प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१६.    यसमा निर्णयतर्फ हेर्दा संग्रामे तामाङ समेत ३ जनाले मेरी श्रीमती नमीन तामाङनीलाई विदेश बम्बै लान भनी लुकाई राखेकोमा संग्रामे सावित भएकोले कारवाही गरी पाउँ भनी नमीन तामाङनीको जाहेरी परी प्रस्तुत मुद्दा कारवाही भएको देखिन्छ । नमीन तामाङनीलाई विदेश बिक्री गर्न लाने उद्योग गरी जिउ मास्ने बेच्ने महलको १ नं. विपरीतको अपराध गरेको देखिँदा क्षेत्रबहादुर तामाङ, छकबहादुर तामाङ र माहिला तामाङलाई जिउ मास्ने बेच्नेको महलको १ नं. बमोजिम सजायँ गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन माग  दावी लिएको पाइन्छ । प्रतिवादी संग्रामे भन्ने छकबहादुर तामाङले प्रहरीमा कागज गर्दा क्षेत्रबहादुरले वीरबहादुरको श्रीमती नमीन तामाङनीलाई फकाइएको छ । विदेशमा छोरी कहाँ लगी राखौं भन्दा मैले जान्न भनें । मैले नमीन तामाङनीलाई फकाएको होइन भनी सोही मिलानको इन्कारी बयान गरेको देखिन्छ । अरु प्रतिवादीहरुले शुरु म्यादै गुजारी हाजिर भएको देखिँदैन । जिउ मास्ने बेच्ने महलको १ नं. मा कसैले कुनै मानिसलाई बिक्री गर्ने उद्देश्यले ललाई फकाई नेपाल सरहद बाहिर लैजान वा लगी बिक्री गर्न हुँदैन । विदेशमा बेच्न लगेकोमा बेच्न नपाउँदै पक्राउ भए बेच्न लैजानेलाई दश वर्ष र बेचिसकेको भए बीस वर्ष कैद हुन्छ । किन्ने मानिस नेपाल सरहद भित्र फेला परे निजलाई समेत बेच्नेलाई हुने सरहको सजायँ हुन्छ भन्ने उल्लेख भएको छ । यसबाट बेच्ने उद्देश्यले ललाई फकाई नेपाल सरहद बाहिर लैजान वा लगी बिक्री गर्न हुँदैन भन्ने प्रतिबन्ध लगाएको देखिन्छ । प्रस्तुत मुद्दामा निज केटी नमीन तामाङनीलाई नेपाल सरहद बाहिर लगेको भन्ने देखिँदैन । निज नमीन तामाङनीले राम्रो लाउन दिन्छ काम गर्न पर्दैन भनी संग्रामे र क्षेत्रबहादुरको छोरीको फोटो क्षेत्रबहादुरले देखाएको यो फोटोको मानिस बम्बैमा छ तिमी पनि त्यहाँ जान पर्छ भनी फकाई संग्रामेको भिनाजुले पिउघरमा लुकाएर राखे भनी र जाहेरवाला वीरबहादुरले क्षेत्रबहादुरको छोरी बम्बैमा छ त्यहाँ जाउँ भनी फकाई संग्रामे, क्षेत्रबहादुर, संग्रामेको जुवाई समेत तीन जनाले भगाई जुवाई भनेका मानिसको घर लगी लुकाइएछ भनी अदालतमा बकपत्र गरेको देखिन्छ । यसबाट प्रतिवादीहरुले प्रहरी प्रतिवेदन दावी बमोजिम जिउ मास्ने बेच्ने महलको १ नं. को आरोपित कसूर गरेको भन्ने देखिँदैन । नमीन तामाङनी लुकाई राखेको कुरा थाहा पाएपछि मैले नमीनको बाबु दाजु समेतलाई भनी प्रधानपञ्च समेतलाई भनी दिएको भनी संग्रामे भन्ने छकबहादुरले बयानमा भनेको पाइन्छ । जाहेरवालाको जाहेरीबाट पनि लुकाई राखेको कुरा संग्रामेबाट प्रकाशमा आएको भन्ने उल्लेख भएको छ । यस स्थितिमा निज केटी नमीन तमाङलाई बेच्न लगेको र बेच्न नपाउँदै पक्राउ भएको भन्ने समेत देखिन नआएको हुँदा प्रतिवादीहरुले आरोपित कसूर गरेको भन्न सकिने अवस्था रहेन । यस्तोमा प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन माग दावी अनुसारको सजायँ गरी पाउँ भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिने ठहराएको सिन्धुपाल्चोक जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन हुँदा केही गर्न परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४५ साल पौष २९ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु