निर्णय नं. ३६७१ - करकाप
निर्णय नं. ३६७१ ने.का.प. २०४५ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४५ सालको फौ.पु.नं. ६४९
फैसला भएको मिति : २०४५।११।१०।३ मा
पुनरावेदक/वादी : दमक नगरपञ्चायत वा.नं. ३ बस्ने पद्मसिंह आँगदम्बेसमेत
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : दमक न.पं. वा.नं. ३ बस्ने धर्मानन्द बजगाई
मुद्दा : करकाप
(१) जबरजस्ती तवरले कागज गरे गराए होलान् भन्न केवल वादी समर्थित साक्षीकै बकपत्रको आधारमा मिल्ने नदेखिने ।
(प्रकरण नं. १२)
(२) केवल अदालतमा आई दावीको समर्थन गरी बकी लेखाई दिँदैमा वादी दावी कानूनसंगत रहेछ भन्न मान्न न्यायिक दृष्टिबाट नमिल्ने ।
(प्रकरण नं. १२)
(३) करकापको वारदातमा देखि जान्ने साक्षीको रहन हुन जाने भूमिकालाई विशेष मनन् गरी मात्र तिनीहरुको भनाईलाई प्रमाणिक रुपमा ग्रहण गर्नुपर्ने ।
(प्रकरण नं. १२)
(४) करकाप जस्तो सुक्ष्म र जटिल फौज्दारी प्रकृतिको अपराधजन्य कार्यको पुष्टि गर्ने जति साक्षी सबूद प्रमाणहरुको भूमिका अपरिहार्य हुन्छ त्यति नै भूमिका वारदातको स्थिति अवस्था या परिस्थितिहरुले पनि निर्वाह गर्ने हुँदा वारदातको स्थिति परिस्थितिका अवस्था लगायत दावी पुष्टि गर्ने साक्षी सबूद प्रमाण समेतको एक रुपतामा मात्र करकापको अपराध प्रमाणित हुन सक्ने ।
(प्रकरण नं. १३)
पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादी पक्षबाट यस अदालतमा पर्न आएको अनुमति निवेदनमा अनुमति प्राप्त भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ ।
२. २०३९।१०।२९ गतेका दिन विहान ७ बजेको समयमा विपक्षी धर्मानन्दले चिनेको ५ जना रोल खुकुरी लिई आई हामीलाई घेरा दिई तेरो जीउ धन भन्न पाउँदैनस् भनी पक्राउ गरी थानामा लगी २।४ वर्ष कैद गराउँछौं, जेलमा हाल्छौं भनी नाना तरहको डर त्रास देखाई के के व्यहोरा लेखेको १ थान कागज, विपक्षी धर्मानन्दले कोटको गोजीबाट छापदानी कलम कागज निकाली झिकी सही गर भनेबाट मार्छन होला भन्ने त्रासबाट लिखित र ल्याप्चे सहिछाप ठाउँ ठाउँमा गराएपछि मात्र पद्मसिंलाई फड्केमा थिचाई कागज लिई गराएकाले बेमन्जूरी करकापसंग कागज गराउने, विपक्षी धर्मानन्द उपर कानून बमोजिम सजायँ गरी पाउँ भन्ने समेत वादीको फिराद दावी रहेछ ।
३. प्र.ले शुरु अदालतबाट जारी भएको समाव्हान २०३९।१२।१४ गतेको म्याद गुजारी प्रतिउत्तर नदिई बसेका रहेछन् ।
४. करकापसंग कागज गराए भन्ने वादीको दावी पुग्न नसक्ने ठहर्छ भन्ने शुरु झापा जिल्ला अदालतको २०४०।१०।१५ को फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको वादीको मेची अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
६. झापा जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ, पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मेची अञ्चल अदालतको २०४१।२।१० को फैसला । उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको पु.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।
७. मेची अञ्चल अदालतको फैसला कानून र सबूद प्रमाणको मूल्यांकन सम्बन्धी त्रुटि देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको पू.क्षे.अ.को अनुमति आदेश ।
८. वादीका बाबु र प्रतिवादीका बीच जग्गा सट्टापट्टाको व्यवहार भएको कुरामा मुख मिलेको देखियो भन्ने झापा जिल्ला अदालतले यिनै वादी प्रतिवादी भएको घरबाट उठाई चलन पाउँ भन्ने मुद्दाको फैसलामा निर्णय गरे उपर यस मुद्दाका प्रतिवादीले पुनरावेदन नगरेबाट उक्त तथ्य निर्विवाद नै देखियो । सोही सिलसिलामा दुवै बीच भएको कागजलाई नै वादीले करकापद्वारा भएको भन्न खोजेको देखिन्छ । वादीका ७ जना देखि जान्ने साक्षी भएको र दमक न.पं. मा विहान ७ बजे वृछक प्रतिवादी समेत ५ जनालाई सबैका सामु जबरजस्ती कागजातमा बाबु छोराको सही ल्याप्चे गराएका होलान् भन्ने कुरानै पत्यारजनक देखिँदैन र एउटा मिसिलबाट भएको घटनालाई अर्कै रुप लिन खोजिएको प्रतित पनि देखिँदा वादी दावी नठहर्याएको सुरु झापा जिल्ला अदालतको फैसलालाई सदर गरेको मेची अञ्चल अदालतको इन्साफ मनासिब देखिँदा कुनै परिवर्तन गर्नु परेन भन्ने समेत व्यहोराको पू.क्षे.अ.को मिति २०४३।११।८।६ को फैसला ।
९. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादी पक्षबाट यस अदालतमा पर्न आएको निवेदन पेश हुँदा यसमा “वादीका साक्षी महेशकुमार लिम्बू, गंगाप्रसाद समेतले विपक्षीले डर त्राश देखाई वादीबाट करकापसंग कागज गराएको हो भनी किटानी साथ बकपत्र गरेका र ती साक्षीहरुले गरेको बकपत्रलाई कसूर जालसाजबाट गरेको भनी विपक्षीले वादी उपर दिएको मुद्दामा पू.क्षे.अ. समेतबाट वादी दावी नपुग्ने गरी ठहर भई सकेको समेत देखिँदा वादीका साक्षीका त्यस्तो बकपत्र तथा उक्त घुस जालसाज मुद्दा समेतलाई प्रमाणमा लिई निर्णय गर्नु पर्नेमा सो नगरी पू.क्षे.अ.बाट वादी दावी पुग्न नसक्ने ठहर्याएको फैसलामा प्रमाण एन, २०३१ को दफा ५४ को त्रुटि देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ” भन्ने समेत व्यहोराको यस अदालतबाट मिति २०४५।१।३।६ मा भएको अनुमति आदेश ।
१०. यसरी नियम बमोजिम पेश हुन आएकोमा पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले र वादी विपक्षी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो । मुख्यतः क्षेत्रीय अदालतको इन्साफ कानूनसंगत छ छैन भनी निर्णय दिन पर्ने देखिन आयो ।
११. प्रस्तुत मुद्दामा मिति २०३९।१०।२९ गते विहानी ७ बजेको समयमा वादीको घरमा आई प्र.धर्मनन्दले करकापसंग कागज गराएकोले सो कागज बदर गरी पाउँ भनी मुख्यतः फिराद दावी केन्द्रीत रहे भएको पाइन्छ । यस सम्बन्धमा प्रतिवादी पक्षबाट प्रतिउत्तर परी आएको पाइँदैन । यिनै प्र.धर्मानन्दले दिएको उजूरीको आधारमा दमक प्रहरी थानाबाट मिति २०३९।१०।२८ गते हामी वादीलाई बेमन्जूरी साथ कागज गराइएको भन्ने कुरा पनि फिराद लेखमा उल्लेख भएको देखिन्छ । तत्सम्बन्धमा उक्त प्रहरी थाना बुझ्दा यी वादीहरुलाई कुनै पनि प्रकारको कागज नगराएको भन्ने जवाफ मिसिल संलग्न रहेको र सो सम्बन्धमा यी वादीले कुनै प्रमाण पेश दाखिला गर्न सकेको पनि देखिँदैन ।
१२. यसरी उठान भएको प्रस्तुत मुद्दाको सम्बन्ध विशेषतः यिनै पक्ष विपक्ष बीच चलेको घरबाट उठाई चलन मुद्दासंग देखिन्छ । जसबाट यी वादी प्रतिवादी बीच मधेश र पहाडको जग्गा सट्टापट्टा भएको सो अनुसार प्र.धर्मानन्दले वादी पद्म सिं नाम दर्ताको मधेशको जग्गा आफ्नो नाम दर्ताको पहाडको जग्गा दिएर सट्टापट्टा गरेको भन्ने पाइन्छ । यसरी प्र.धर्मानन्दले मधेशको जग्गा प्राप्त गरी सो जग्गामा घर समेत बनाई बसेको तर सोही जग्गा पद्म सिंका छोरा वीरबहादुरका नाउँमा दानबक्स गरी दिएबाट, जग्गामा प्र.धर्मानन्दले हक स्थापित गरी नसकेको भन्ने आधारमा उक्त मुद्दा निर्णय भएको देखिन्छ । यद्यपी यी वादी प्रतिवादी बीच जग्गा सट्टापट्टा नभएको भन्ने कुरा कहीं कतैबाट प्रमाणित हुन सकेको पाइँदैन । मिति २०३९।९।२ गते मेरो घरमा चोरी भएको कारण सट्टापट्टाको लिखत पनि हराएको भन्ने कुरा यी प्र.धर्मानन्दले उक्त मुद्दाको प्रतिउत्तर पत्रमा उल्लेख गरेको पाइन्छ । तत्पश्चात प्रस्तुत मुद्दाको उठान हुनुबाट पनि फिराद दावीको सत्यतामा केही अनपत्यारिला प्रश्नहरुको सिर्जना भएको देखिन्छ किनकी वादीले आफ्नो फिराद लेखमा दर्शाइएको वारदातको स्थिति र अवस्था, यी वादी प्रतिवादी बीचको पारस्परिक सम्बन्धको अप्ठ्यारोपनबाट पनि यी वादीले प्रतिवादी उपर लिएको दावीप्रति सत्यताको स्थिति प्रतितलायक पाइँदैन । जहाँसम्म वादीका साक्षीरुको वादी दावीलाई समर्थन गरेको बकपत्र रहेको भन्ने जिकिर छ, त्यसतर्फ प्रतिवादीको प्रतिउत्तर नपरेबाट साँचो सत्य हो कि भन्नेतर्फ हेर्दा, यी वादी बाबु छोरा भएको प्रतिवादीले र (वादी) यिनैको घरमा गई यस प्रकारबाट जबरजस्ती तवरले कागज गरे गराए होलान् भन्न केवल वादी समर्थित साक्षीकै बकपत्रको आधारमा मिल्ने देखिँदैन । किनकी वादीको दावी समर्थित गर्ने ७ जना साक्षीहरु देखि जान्नेको रुपमा रहेका र प्र.धर्मानन्दले वादीकै घरमा आई करकापसंग बलजफ्ती कागज गराई लग्दाका अवस्थासम्म देखि जान्ने साक्षी भनिएको व्यक्तिहरुको भूमिका के कस्तो हुन्छ र ती देखि जान्ने व्यक्तिहरु के कस्तो किसिमको प्रतिकृया त्यस वारदात अवस्थामा देखाउनु दर्शाउनु पर्ने हो ? सो को मूल्यांकन विशेष रुपमा हेरिनु पर्ने हुन्छ । यस्तो स्थिति र अवस्थामा केवल अदालतमा आई दावीको समर्थन गरी बकी लेखाई दिँदैमा वादी दावी कानूनसंगत रहेछ भन्न मान्न न्यायिक दृष्टिबाट मिल्ने पनि होइन । यसर्थ करकापको वारदातमा देखी जान्ने साक्षीको रहन हुन जाने भूमिकालाई विशेष मनन् गरी अनि मात्र तिनीहरुको भनाइलाई प्रमाणिक रुपमा ग्रहण गर्नु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा विहान ७ बजेको समयमा ७ जनादेखि जान्ने साक्षीहरु लगायत बाबु छोरालाई निजैको घरमा यी प्रतिवादी गई करकापसंग कागज गराएको भन्ने दावी, साथै ७ जना साक्षीको उक्त फिराद दावीलाई समर्थन गरेको भनाइकै आधारमा कानूनसंगत देखिन आएन ।
१३. यसर्थ करकाप जस्तो सुक्ष्म र जटिल फौज्दारी प्रकृतिको अपराधजन्य कार्यको पुष्टि गर्न जति साक्षी सबूद प्रमाणहरुको भूमिका अपरिहार्य हुन्छ, त्यति नै भूमिका वारदातको स्थिति अवस्था या परिस्थितिहरुले पनि निर्वाह गर्ने हुन्छ । वारदातको स्थिति परिस्थितिहरुका अवस्था लगायत दावी पुष्टि गर्ने साक्षी सबूद प्रमाण समेतको एकरुपतामा मात्र करकापको अपराध प्रमाणित हुन सक्ने हुँदा सोको विद्यमानता प्रस्तुत मुद्दामा रहे भएको नपाइँदा, प्र.धर्मानन्दले वादी दावी खण्डन गर्ने प्रतिउत्तरपत्र नफिराउँदैको आधारमा फिराद दावी कानूनसंगत मान्न मिल्ने होइन । अतः वादी दावी नै पुग्न नसक्ने भनी ठहर गरेको शुरु झापा जिल्ला अदालतको फैसलालाई सदर गरेको मेची अञ्चल अदालतको फैसला र सो फैसलालाई सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानूनी त्रुटि देखिन नआएकोले इन्साफ मनासिब ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी रहेको कारण मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४५ साल फाल्गुण १० गते रोज ३ शुभम् ।