निर्णय नं. ६७४७ - जोतकट्टा

निर्णय नं. ६७४७ ने.का.प २०५६ अङ्क ७
पूर्ण इजलास
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
माननीय न्यायाधशि श्री राजेन्द्रराज नाख्वा
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
संम्वत २०५३ सालको दे..पु.ई.नं. ....१२७
फैसला मिति : २०५६।२।२७।५
मुद्दा : जोतकट्टा ।
पुनरावेदक
प्रतिवादीः भक्तपुर जिल्ला बाल्कोट गा.वि.स. वार्ड नं. ३ बस्ने श्यामबहादुर बस्नेत
विरुद्ध
प्रत्यर्थी
वादीः गोर्खा जिल्ला पालुङटार गा.वि.स. वाड नं. ४ घरभै हाल का.न.पा.वार्ड नं. २९ बस्ने उपेन्द्र विक्रम शाह
§ छोरा भन्ने शव्दको उल्लेखन प्रचलित नेपाल कानूनमा विभिन्न प्रयोजनको लागि गरी विशेषतः ३ प्रकारको देखाउन खोजेको पाइन्छ । पहिलो छोरा, दोश्रो सौतेनी छोरा र तेश्रो धर्मपुत्र । यसरी छोराको प्रकृति अलग अलग देखाए पनि कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ (म) ले पुत्र (छोरा) यो शव्दले ऐनमा धर्मपुत्र राख्न पाउनेले राखेको धर्मपुत्रलाई समेत जनाउंछ भन्ने परिभाषा गरेको पाइन्छ । छोरा नहुने व्यक्तिले अरुबाट जन्म दिएको छोरालाई कानूनी रुपबाट ग्रहण गरिएको व्यक्तिलाई समेत आफ्नो छोरा (औरस पुत्र) समान नै कानून व्याख्या संबन्धी ऐनले मानेको देखिन आएबाट सो परिभाषामा सौतेनी छोरा पनि रहेको भन्ने उल्लेखन हुनु पर्ने अवस्था र कारण देखिन आउंदैन । सौतेनी छोरा र छोरामा मातृत्वको हिसावले पृथक जस्तो देखिएतापनि पितृत्वको कारणले निज छोरानै हुन जान्छ । कानूनको परिभाषा गर्दा व्यापक र वृहद रुपमा समेटिने गरी गरिएको हुन्छ । कुनै परिवार समुदायको लागि मात्र लागू हुने गरी कुनै पनि शव्द वा शव्द समुहको परिभाष गर्न व्यवहारिक रुपमा संभव हुन सक्दैन । एउटै पुरुषबाट जन्मिएको छोराको हकमा फलानो अर्थमा त्यो छोरा होइन यो अर्थमा छोरा हो भनी सो को परिभाषा खोज्नु युक्तिसंगत र न्यायसंगत हुन सक्दैन ।
(प्र.नं. १९)
§ सौतेनी छोरा बोली व्यवहारको प्रचलनबाट फरक जस्तो देखि तापनि धार्मिक रीति स्थिति पारिवारिक कानून आदिले कुनै ठाउंमा पनि निजलाई स्वास्नीमानिसले आफुले जन्माएको छोरा भन्दा पृथक रुपमा राखेको देखिन आउंदैन । धर्मपुत्रको महलको २ नं. ले छोरा हुने लोग्ने मानिसले र लोग्ने जीवित हुने वा आफ्ना वा आफ्नी सौता जो सुकै पट्टी भए पनि छोरा हुने स्वास्नीमानिसले समेत धर्मपुत्र राख्न हुंदैन भन्ने व्यवस्था गरेको पाइन्छ । अर्थात स्वास्नीमानिसले आफ्नो लोग्नेबाट जन्मेको छोरा सौतेनीकै रुपमा भए पनि रहेको छ भने त्यस्तो अवस्थामा आफ्नो तर्फबाट छोरा जन्मिएको रहेनछ भने पनि कानूनतः त्यता स्वास्नीमानिसले धर्मपुत्र राख्न नपाउने गरेको पाइन्छ । यस कानूनी व्यवस्थाले छोरा भएमा छोरा सरह मानी छोरा नहुने स्त्रीले धर्मपुत्र समेत राख्न नपाउने गरी आफुले जन्माएको छोरा र सौतेनी छोरालाई समानस्तर वा हैसियतमा राखेको देखिन आउंछ । साथै अपुतालीको १० नं. ले लोग्ने वा छोरा नहुने वा भिन्न बसेको स्वास्नीमानिसको अंश जिउनी सौतेनी छोरामा सर्ने व्यवस्था समेत गरेको देखिन्छ । आफ्नो छोरा नहुने स्वास्नीमानिसको सामाजिक रीति परंपरा अनुसार काजक्रिया वा धार्मिक संस्कार सौतेनी छोराले नै गर्नुपर्ने र गरि आएको प्रचलन पनि रहिआएको छ । कसैको एक भन्दा बढी स्वास्नी रहेछन् र ती सबैबाट सन्तान (छोरा छोरी) जन्मिएका रहेछन् भने ती सन्तानहरु सबैलाई समान हैसियत प्रदान गरेको अंशवण्डाको महलको व्यवस्था र लेनदेन व्यवहारको महलको व्यवस्थाबाट समेत देखिन आउंने ।
(प्र.नं. २०)
§ जग्गाधनी र मोहीको प्रयोजनको लागि भुमि सम्बन्धी ऐन, २०२१ ले छोरा शव्दको परिभाषा नगरेको स्थितिमा कानून व्याख्या सम्बन्धी ऐन, २०१० को परिभाषालाई मान्यता दिनुपर्ने अपरिहार्यता रहेको देखिन्छ । कानून व्याख्या सम्बन्धी ऐन, २०१० ले (पुत्र) छोराको परिभाषा गर्दा धर्मपुत्र समेतलाई जनाउंछ भनी सकेपछि त्यसमा सौतेनी छोरा परेको छैन पर्दैन भनी व्याख्या गर्नु व्याख्याको सिद्धान्तको प्रतिकूल हुनुका साथै न्यायिक दृष्टिकोणबाट समेत मिल्ने नदेखिंने ।
(प्र.नं. २२)
§ कानूनतः स्वीकार गरिएको अरुद्वारा जन्म दिएको छोराले समेत धर्मपुत्र रहेको कारणबाट मोहियानी हक प्राप्त गर्न सक्ने देखिन आउंछ । तर जसको सौतेनी आमासंग जन्मजात पारिवारिक र प्राकृतिक सम्बन्ध गांसिएको हुन्छ, जुन सम्बन्धलाई कानूनतः बदर गराउन समेत पाइदैन त्यस्तो नैसर्गिक अधिकार प्राप्त सौतेनी छोरालाई धर्मपुत्रले समेत पाउने अधिकार पाउंदैन भनि वंचित गर्नु न्यायोचित हुन नसक्ने ।
(प्र.नं. २२)
§ भुमि सम्वन्धी ऐनको प्रयोजनको लागि सौतेनी छोरालाई पनि छोरा नै मान्नुपर्ने भई आफुले जन्माइको छोरा नभएको अवस्थामा सौतेनी आमाले मोही हक प्राप्त गरी कमाई गर्दै आएको जग्गामा भुमि सम्वन्धी ऐनको अरु प्रकृयाहरु पुरा गरेको स्थितिमा सौतेनी छोरामा पनि सौतेनी आमाको मोहियानी हक सर्न सक्ने अवस्था देखिन्छ । सौतेनी छोरामा मोहियानी हक सर्न नसक्ने भन्ने प्रत्यर्थीतर्फका विद्धान कानून व्यवसायीहरुको जिकीरसंग सहमत हुन नसकिने ।
(प्र.नं. २२)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने
प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ताहरु श्री वसन्तराम भण्डारी, श्री श्यामप्रसाद पाण्डे, श्री शिव देवकोटा ।
अवलम्वित नजिर : ने.का.प. २०४८, अंक ९, पृष्ठ ४५०
फैसला
न्या.केशवप्रसाद उपाध्यायः पुनरावेदन अदालत पाटनको मिति २०५१।२।२६ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(२) को आधारमा मुद्दा दोहराउने निस्सा प्रदान भै संयुक्त इजलास समक्ष निर्णयार्थ पेश भएकोमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(घ) वमोजिम पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने संयुक्त इजलासको मिति २०५४।११।४ को निर्णयानुसार ३ सदस्यीय पूर्ण इजलासमा पेश भएकोमा सो पूर्ण इजलासवाट ३ भन्दा वढी न्यायाधीशहरुको पूर्ण इजलासमा पेश गर्नु भन्ने मिति २०५५।११।२० को आदेश अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यस प्रकार छ ।
२. भ.पु.जि. दिव्यश्वरी गा.वि.स. वडा नं. १(ख) कि.नं. १५३ को रो ४(६(२ जग्गाको जोताहा सुर्य कुमारी वस्नेत करिव ९ वर्ष अगाडि परलोक भएको निजको सहोदर व्यक्ति भए नाता प्रमाणित गराई मौकामा नै जोत कायमको हकदावी लिनुपर्ने हाल सम्म दावी नभएको, कुतवाली लिनुदिनु भएको छैन, जग्गाको आयस्ता घटाई लापरवाही भएको सम्वन्धमा उजुर र क्षतिपुर्ति माग वा रिट गर्न समेत कानूनी प्रक्रिया अपनाई हकदावा गर्ने व्यक्ति हालसम्म कोही नभएको हुंदा मृतक सुर्य कुमारीको नाम जोताहावाट हटाई जोत पोत नै जग्गाधनी कायम गरी पाउं भन्ने समेत व्यहोराको उपेन्द्र विक्रम शाहको निवेदन ।
३. सुर्य कुमारी वस्नेत मेरा सहोदर एकाघरसंगको सानी आमा हुन निज २०४० सालमा परलोक हुनु भएको र पिता कृष्ण वहादुर वस्नेत २०२८ सालमा परलोक हुनु भएको, उक्त कि नं. १५३ को जग्गा मेरो स्वर्गीय पिता कृष्ण वहादुर वस्नेतको नाउंमा जोत कायम भई जोताहाको निस्सा समेत पाउनु भएको छ । वास्तविक जोताहा भै मैले भोगचलन गरी आएको छु। मेरो नाउंमा जोत कायम गरी पाउं, विपक्षीले मैले जोती आएको जग्गालाई हकदार कोही नभएको भनि जाल परपंच रची मोही हटाउन खोज्ने जग्गाधनीलाई सजाय समेत गरि पाउं भन्ने समेत व्यहोराको श्याम वहादुर वस्नेतको निवेदन ।
४. भ.पु.जि. दिव्यश्वरी गा.वि.स. वडा न. १(ख) कि. नं. १५३ को ४-६-२ जग्गाको जोताहा परलोक भएको हो, निजका हकदार एकै वावुका छोरा श्याम वहादुर १,वलराम १ अर्जुन वस्नेत समेत ३ जना भएकोमा ३ भाग वण्डा गर्दा श्याम वहादुरको भागमा परी ०३२ सालदेखि हालसम्म श्याम वहादुर वस्नेतले नै जोत भोग गरी आएको भन्ने समेत सर्जमिन मुचुल्का ।
५. विवादित जग्गामा कृष्ण वहादुर वस्नेत मोही कायम भई मोहियानी प्रमाण पत्र समेत पाइसकेको समेत देखिन आयो, यस अवस्थामा जोताहाको प्रमाण पत्र पाई सकेको मोहीलाई मोही होइन भन्न नसकिने हुंदा सो प्रमाण पत्र प्राप्त मोहीलाई मान्यता दिई मा.पो.का. को श्रेस्तामा समेत मोही अद्यावधिक हुनु पर्ने समेत भएकोले प्रस्तुत मुद्दामा पक्षका तर्फवाट पेश भएको सौतेनी छोराको नजिर लगाई निर्णयगर्न मिल्ने देखिएन । तसर्थ प्रस्तुत मुद्दामा जोताहा मोहीमा कृष्ण वहादुर वस्नेत कायम गरि श्रेस्ता अद्यावधिक राखी दिने ठहर्छ, सुर्य कुमारी बस्नेत मोहीमा नै कायम हुन नसक्ने भएको हुंदा पक्षको माग बमोजिम लगत कट्टा नहुने ठहर्छ भन्ने समेत व्यहोराको भुमिसुधार कार्यालय भक्तपुरको मिति २०४७।३।१७ को निर्णय ।
६. ०४० सालमा स्वर्ग भएको सुर्यकुमारी बस्नेतको नाम कट्टा गरी कृष्ण बहादुर बस्नेतका नाउंमा कायम हुने ठहराएको निर्णय भु.सु.ऐन, ०२१ को दफा २६(१)२(ख) को प्रत्यक्ष त्रुटि पूर्ण हुंदा मिति ०४७।३।१७ मा भु.सु.का भक्तपुरले गरेको निर्णय बदर गरी पुनरावेदन जिकिर अनुरुप न्याय पाउं भन्ने समेत व्यहोराको वादी उपेन्द्र विक्रम शाहको तत्कालीन वागमती अंचल अदालतमा परेको पुनरावेदन ।
७. विपक्षी श्याम बहादुरका नाउंमा मोहियानी कायम हुनु पर्ने हो होइन भन्ने सम्बन्धमा निर्णय गर्नुपर्नेमा सो निर्णय नगरी मरीसकेको व्यक्तिका नाउंमा लगत अद्यावधिक राख्ने गरेको निर्णय विचारणीय हुंदा अ.वं. २०२ नं. अनुसार विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने आदेश ।
८. विवादित कि.नं.१५३ को जग्गाको जग्गाधनीमा शुरुमा पूर्ण चन्द्र शाह र उपेन्द्रविक्रम शाह भन्ने लेखिन गई जग्गाधनी द.प्र.पु समेत पेश भएको देखिन्छ, तर जोते कट्टाको लागि जग्गाधनीको हैसियतले उपेन्द्र विक्रम शाहको मात्र निवेदन परेको देखिंदा जग्गाधनी भन्ने पूर्णचन्द्रलाई बुझ्नु पर्नेमा सो नबुझिएको र श्यामबहादुर बस्नेतले पेश गरेको ४ नं. अस्थायी निस्सा वादीलाई सुनाउनु पर्नेमा सो कार्य पनि नगरी गरेको भु.सु.का भक्तपुरको मिति २०४७।३।१७ को निर्णय त्रुटिपूर्ण हुंदा बदर गरी दिएको छ । अतः उल्लेखित बुंदाहरुको साथसाथै जो जे बुझ्नु पर्छ बुझी खास जग्गाधनी को हो सो को यकिन गरी मोहियानी हक सम्बन्धमा समेत कानून बमोजिम कारवाही किनारा गर्न पक्ष विपक्षलाई तारेख तोकी मिसिल समेत भु.स.का. भक्तपुरमा पठाई दिनु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति ०४९।१।२१ को फैसला ।
९. विपक्षीबाट पेश हुन आएको प्रमाणहरुबाट विपक्षी सौताको छोरा देखिएको छ भुमि सम्बन्धी ऐन,२०२१ को दफा २६(१) अनुसार पति, पत्नि र छोराहरु बाहेक अरु मोहीको हकदारमा नआउने भएकोले सौताको छोरा हकदार नहुने र निज तारेखमा समेत नरहेको पाइएबाट प्रतिवादी जिकिरसंग सहमत हुन नसकी वादी दावी बमोजिम साविक मोहीको नाम हटाई दिने ठहर्छ भन्ने समेत व्यहोराको भुमिसुधार कार्यालय भक्तपुरको मिति २०४९।९।१३ को फैसला ।
१०. शुरु भुमिसुधार कार्यालयले मोही निष्काशन हुने ठहराई गरेको फैसलामा चित्त बुझेन । शुरुको फैसला वदर गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
११. यसमा कृष्णबहादुरको नाममा ४ नं. अस्थाई निस्सा भएको पुनरावेदक श्याम बहादुर कृष्ण बहादुरको छोरा होइन भन्न नसकेको स्थितिमा शुरुको फैसला विचारणीय हुंदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५०।८।११को आदेश ।
१२. भुमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने कानूनी व्यवस्था भएकोले सौतेनी आमाको मृत्यु पश्चात सौतेनी छोरो मोहियानी हक प्राप्त गर्ने भन्न मिलेन त्यसैगरी पुनरावेदकले मोहीका रुपमा जग्गा कमाई आएको र त्यसरी मोही भै कमाई आएको निस्सा प्रमाण रहे भएको कुरालाई पुनरावेदकले पुष्टि गर्न सकेको पनि देखिदैन । यी पुनरावेदक प्रतिवादी सुर्यकुमारीको सौतेनी छोरा भएको कुरामा कुनै विवाद नदेखिंदा सौतेनी छोराले मोहियानी हक प्राप्त गर्ने कानूनी व्यवस्था समेत नभएको कारण प्रमाण र शुरुको फैसलामा उल्लेखित अन्य बुंदा प्रमाण समेतबाट शुरुले वादी दावी बमोजिम मोही लगत कट्टा हुने ठहर्याई मिति २०४९।९।१३ मा गरेको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५१।२।२६ को फैसला ।
१३. मोहीको मुलप्रमाण २ नं. अनुसुची दिव्येश्वरी गा.वि.स.मा आगलागी हुंदा नष्ट भएको सोही अनुसुची भुमि सम्बन्धी नियमहरुको कार्यविधि पुरा गरी प्रकाशित भै कसैको उजुर नपरी सोही आधारमा जोताहाको निस्सा दिएको र सो निस्सालाई विपक्षीले समेत स्वीकार गरेको अवस्थामा विवादित कि.नं. १५३ मा पिता कृष्णबहादुर मोही हो भन्ने कुरा निर्विवाद छ । भुमि सम्बन्धी ऐन, २०२१ को दफा ३६(१) बमोजिम हालसम्म अद्यावधि खनजोत गर्ने म निवेदक छोरामा मोहियानी हक हस्तान्तरण हुनेमा विवाद छैन । पुनरावेदकका नाममा नामसारी नहुने गरी गरेको निर्णय भुमि सम्बन्धी ऐन, २०२१ को दफा २६क अ.वं. १८४ क र १८५ प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा ने.का.प. २०४८ पृष्ठ ४५०, ने.का.प. २०५०, पृष्ठ ७२, ने.का.प. २०२३ पृष्ठ १५७ ने.का.प.२०२८, पृष्ठ २२९ मा कायम भएको सिद्धान्त समेतको विपरीत हुंदा उक्त पु.वे.अ. पाटनको मिति २०५१।२।२६ को फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान भएकोले सो फैसला दोहोर्याई हेरी भु.सु.का. भक्तपुरको मिति ०४९।९।१३ को निर्णय सदर गर्ने गरी गरेको पु.वे.अ. पाटनको मिति २०५१।२।२६ को समेत दुवै फैसला वदर गर्न मोही कायम गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी श्याम बहादुर बस्नेतको यस अदालतमा पर्न आएको निवेदन ।
१४. यसमा भुमि सम्बन्धी ऐन,२०२१ को दफा २६(१) मा वावु वा आमा मोही भएकोमा निजहरु मरेपछि जग्गाधनीले रोजेको छोरामा मोही सर्ने व्यवस्था भएको पाइन्छ । सौतेनी छोरामा मोही सर्दैन भन्ने उल्लेख भएको पाइदैन । छोरा शव्दको विशेष रुपले परिभाषित भएको अवस्था नदेखिंदा कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(म) अनुसार अर्थ गर्नुपर्ने हुन आउंछ । सौतेनी छोराले मोहियानी हक नपाउने भनी भुमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) को त्रुटिपूर्ण व्याख्या भएको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) को आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५२।१२।८ को आदेश ।
१५. कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ को खण्ड (म) को पुत्रको परिभाषा खण्ड, ने.का.प.२०४८ अंक ९ पृष्ठ ४५० मा यस अदालतबाट प्रतिपादित सिद्धान्त तथा मुलुकी ऐन धर्मपुत्रको महलको कानूनी व्यवस्था समेतले भुमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) को छोरा शव्दभित्र सौतेनी छोरा पर्दैन भन्न मिल्ने अवस्था भएमा पुनरावेदक प्रतिवादी श्यामबहादुर बस्नेतले निजले सौतेनी आमाको मृत्युपश्चात मोहीको हक प्राप्त गर्न सक्ने नै देखिंदा शुरु भुमिसुधार कार्यालय भक्तपुरको निर्णयलाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी हुन्छ । दर्तावाला मोहीको आफ्नो छोरा नभएको अवस्थामा सौतेनी छोराले ऐन बमोजिम मोही हक प्राप्त गर्न सक्छ भन्न मिल्ने देखिंदैन । (ने.का.प.२०४२ नि.नं. २३५७, पृष्ठ ४४१) भनी यस अदालत संयुक्त इजलासबाट प्रतिपादित नजीरसंग यो इजलास सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(घ) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५४।११।४ को फैसला ।
१६. यसमा संयुक्त इजलासबाट दर्तावाला मोहीको आफ्नो छोरा नभएको अवस्थामा सौतेनी छोराले ऐन बमोजिम मोही हक प्राप्त गर्न सक्छ भन्न मिल्ने देखिदैन । (ने.का.प.२०४२, नि.नं. २३५७, पृष्ठ ४४१) भनी भएको निर्णयसंग संयुक्त इजलास सहमत हुन नसकेको भनी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत पुला ३ जना भन्दा वढी न्यायाधीशहरुको इजलासमा पेश गर्न उचित हुंदा सम्माननीय प्रधान न्यायाधीश समक्ष पेश गरी नियमानुसार गर्नु भन्ने समेत व्यहोराको यस अदालत तीन सदस्यीय पूर्ण इजलासको मिति २०५५।११।२० को आदेश ।
१७. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले सौतेनी छोराले मोहियानी हक प्राप्त गर्न नसक्ने भन्ने कानूनी व्यवस्था रहेको पाइदैन । धर्मपुत्रले समेत मोहियानी हक प्राप्त गर्न सक्ने अवस्था रहेको छ । सौतेनी छोरा हुने ले धर्मपुत्र समेत राख्न नसक्ने कानूनी व्यवस्था रहेको हुंदा सौतेनी छोरामा मोहियानी हक प्राप्त हुन नसक्ने भन्न मिल्दैन । संयुक्त इजलासले लिएको आधार मिलेकै छ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नुभयो । प्रत्यर्थी वादी उपेन्द्र विक्रमको तर्फबाट रहनु भएका विद्वान अधिवक्ताहरु श्री बसन्तराम भण्डारी, श्री श्यामप्रसाद पाण्डे र शिव देवकोटाले अदालतले कानूनको व्याख्या गर्ने हो । विद्यायिकाको ठाउं ग्रहण गर्ने होइन, धर्मपुत्रको नजिर सौतेनी छोराको केसमा लागू हुदैंन । सौतेनी छोराले मोहियानी हक प्राप्त गर्न सक्ने कानूनी व्यवस्था देखिदैन । कानून व्याख्या सम्बन्धी ऐन २०१०को दफा २(म) ले सौतेनी छोरालाई जनाउंदैन, मोही लगत कट्टा गर्ने गरेको निर्णय मिलेको छ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नु भयो ।
१८. आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा संपूर्ण कागजातहरु अध्ययन गरी हेर्दा देहायका विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
(१) दर्तावाला मोहीको मृत्युपछि सौतेनी छोरामा मोहियानी हक सर्न सक्छ वा सक्दैन।
(२) वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ छैन? संयुक्त इजलासको राय मिलेको छ छैन ?
(१) सर्वप्रथम पहिलो विषयतर्फ हेर्दा कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(म) ले सौतेनी छोरालाई छोरा मानेको छैन, ने.का.प. २०४२ नि.नं. २३५७, पृष्ठ ४४१ मा प्रतिपादित सिद्धान्तले समेत सौतेनी छोराले मोहियानी हक प्राप्त गर्न नसक्ने भन्ने रहेको, ने.का.प.२०४८ अंक ९ पृष्ठ ४५० मा प्रतिपादित सिद्धान्त धर्मपुत्रसंग सम्बन्धित रहेको त्यसमा सौतेनी छोराको विवाद रहेको छैन । तसर्थ सौतेनी छोरामा मोहियानी हक सर्नसक्छ भन्न मिल्दैन भन्ने प्रत्यर्थी वादी तर्फका विद्वान कानून व्यवसायीहरुको जिकिर रहेको पाइन्छ । यस परिप्रेक्षमा भुमि सम्बन्धी ऐन, २०२१ ले व्यवस्था गरेको जग्गाधनी र मोही हकको प्रयोजनको सन्दर्भमा स्वास्नीमानिसको लागि छोरा (आफुले जन्माएको औरसपुत्र) सौतेनी छोरा र धर्मपुत्रका वीचमा के कति भिन्नता रहेको र के कति रुपमा तादाम्यता रहेको छ भन्ने सन्दर्भमा प्रचलित कानूनी व्यवस्था यस अदालतलबाट प्रतिपादित सिद्धान्तहरु र हाम्रो परम्परागत रहनसहन रीति स्थितिहरु समेतलाई मध्यनजर गरी हेर्नु पर्ने अवस्था प्रस्तुत विवादमा रहन गएको पाइन्छ ।
१९. छोरा भन्ने शव्दको उल्लेखन प्रचलित नेपाल कानूनमा विभिन्न प्रयोजनको लागि गरी विशेषतः ३ प्रकारको देखाउन खोजेको पाइन्छ । पहिलो छोरा, दोश्रो सौतेनी छोरा र तेश्रो धर्मपुत्र । यसरी छोराको प्रकृति अलग अलग देखाए पनि कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(म) ले पुत्र (छोरा) यो शव्दले ऐनमा धर्मपुत्र राख्न पाउनेले राखेको धर्मपुत्रलाई समेत जनाउंछ भन्ने परिभाषा गरेको पाइन्छ । छोरा नहुने व्यक्तिले अरुबाट जन्म दिएको छोरालाई कानूनी रुपबाट ग्रहण गरिएको व्यक्तिलाई समेत आफ्नो छोरा (औरस पुत्र) समान नै कानून व्याख्या संबन्धी ऐनले मानेको देखिन आएबाट सो परिभाषामा सौतेनी छोरा पनि रहेको भन्ने उल्लेखन हुनु पर्ने अवस्था र कारण देखिन आउंदैन । सौतेनी छोरा र छोरामा मातृत्वको हिसावले पृथक जस्तो देखिएतापनि पितृत्वको कारणले निज छोरानै हुन जान्छ । कानूनको परिभाषा गर्दा व्यापक र वृहद रुपमा समेटिने गरी गरिएको हुन्छ । कुनै परिवार समुदायको लागि मात्र लागू हुने गरी कुनै पनि शव्द वा शव्द समुहको परिभाषा गर्न व्यवहारिक रुपमा संभव हुन सक्दैन । एउटै पुरुषबाट जन्मिएको छोराको हकमा फलानो अर्थमा त्यो छोरा होइन यो अर्थमा छोरा हो भनी सो को परिभाषा खोज्नु युक्तिसंगत र न्यायसंगत हुन सक्दैन ।
२०. सौतेनी छोरा बोली व्यवहारको प्रचलनबाट फरक जस्तो देखिएतापनि धार्मिक रीति स्थिति पारिवारिक कानून आदिले कुनै ठाउंमा पनि निजलाई स्वास्नीमानिसले आफुले जन्माएको छोरा भन्दा पृथक रुपमा राखेको देखिन आउंदैन । धर्मपुत्रको महलको २ नं. ले छोरा हुने लोग्ने मानिसले र लोग्ने जीवित हुने वा आफ्नो वा आफ्नी सौता जो सुकै पट्टी भए पनि छोरा हुने स्वास्नीमानिसले समेत धर्मपुत्र राख्न हुंदैन भन्ने व्यवस्था गरेको पाइन्छ । अर्थात स्वास्नीमानिसले आफ्नो लोग्नेबाट जन्मेको छोरा सौतेनीकै रुपमा भए पनि रहेको छ भने त्यस्तो अवस्थामा आफ्नो तर्फबाट छोरा जन्मिएको रहेनछ भनेपनि कानूनतः त्यस्ता स्वास्नीमानिसले धर्मपुत्र राख्न नपाउने गरेको पाइन्छ । यस कानूनी व्यवस्थाले छोरा भएमा छोरै सरह मानी छोरा नहुने स्त्रीले धर्मपुत्र समेत राख्न नपाउने गरी आफुले जन्माएको छोरा र सौतेनी छोरालाई समान स्तर वा हैसियतमा राखेको देखिन आउंछ । साथै अपुतालीको १० नं. ले लोग्ने वा छोरा नहुने र भिन्न बसेको स्वास्नीमानिसको अंश जिउनी सौतेनी छोरामा सर्ने व्यवस्था समेत गरेको देखिन्छ। आफ्नो छोरा नहुने स्वास्नीमानिसको सामाजिक रीति परंपरा अनुसार काजक्रिया वा धार्मिक संस्कार सौतेनी छोराले नै गर्नुपर्ने र गरिआएको प्रचलन पनि रहि आएको छ । कसैको एक भन्दा बढी स्वास्नी रहेछन् र ती सबैबाट सन्तान (छोरा छोरी) जन्मिएका रहेछन् भने ती सन्तानहरु सबैलाई समान हैसियत प्रदान गरेको अंशवण्डाको महलको व्यवस्था र लेनदेन व्यवहारको महलको व्यवस्थाबाट समेत देखिन आउंछ ।
२१. भुमि सम्बन्धी ऐन, २०२१ को दफा २ को खण्ड (ग) मा कुनै व्यक्तिको सम्बन्धमा परिवार भन्नाले सो व्यक्ति र निजको देहायको अवस्थाका नातेदारसम्म सम्झनु पर्दछ भन्ने उल्लेख भै देहाय (१) र (२) मा क्रमशः अंश छुट्टिएको वा नछुट्टिएको जे भएतापनि पति वा पत्नि बावु वा आमा जीवित छउन्जेल अंश छुट्टिएको वा नछुट्टिएको जे भएतापनि १६ वर्ष उमेर नपुगेका छोरा भन्ने उल्लेख भएको पाइन्छ । सोही ऐनको दफा ७ (१) ले कुनै व्यक्ति वा निजको परिवारले जग्गावालाको हैसियतले राख्न पाउने जग्गाको अधिकतम हद र दफा ८(१) ले मोहीको हैसियतले कुनै व्यक्ति वा निजको परिवारले मोहीको हैसियतले कमाउन पाउने जग्गाको अधिकतम हद तोकेको पाइन्छ । यसमा सौतेनी छोरालाई परिवार भित्र पर्दैन भनी भनेको पाइदैन र सोही ऐनको दफा २ (ख) ले आफु र आफ्नो परिवारको श्रमले खेती गरी आउनेलाई मोही मानी आएको पाइन्छ ।
२२. जग्गाधनी र मोहीको प्रयोजनको लागि भुमि सम्बन्धी ऐन, २०२१ ले छोरा शव्दको परिभाषा नगरेको स्थितिमा कानून व्याख्या सम्बन्धी ऐन, २०१० को परिभाषालाई मान्यता दिनुपर्ने अपरिहार्यता रहेको देखिन्छ । कानून व्याख्या सम्बन्धी ऐन, २०१० ले (पुत्र) छोराको परिभाषा गर्दा धर्मपुत्र समेतलाई जनाउंछ भनी सकेपछि त्यसमा सौतेनी छोरा परेको छैन पर्दैन भनी व्याख्या गर्नु व्याख्याको सिद्धान्तको प्रतिकूल हुनुका साथै न्यायिक दृष्टिकोणबाट समेत मिल्ने देखिदैंन । धर्मपुत्रले समेत मोहीयानी हक प्राप्त गर्न सक्ने भन्ने सिद्धान्तहरु (ने.का.प. २०४८, अंक ९, पृष्ठ ४५० समेतका मुद्दाहरुमा) यस अदालतबाट प्रतिपादन भइरहेका छन । प्रतिपादित उक्त सिद्धान्तबाट कानूनतः स्वीकार गरिएको अरुद्वारा जन्म दिएको छोराले समेत धर्मपुत्र रहेको कारणबाट मोहियानी हक प्राप्त गर्न सक्ने देखिन आउंछ । तर जसको सौतेनी आमासंग जन्मजात पारिवारिक र प्राकृतिक सम्बन्ध गांसिएको हुन्छ, जुन सम्बन्धलाई कानूनतः बदर गराउन समेत पाइदैन त्यस्तो नैसर्गिक अधिकार प्राप्त सौतेनी छोरालाई धर्मपुत्रले समेत पाउने अधिकार पाउंदैन भनि वंचित गर्नु न्यायोचित हुन सक्दैन । यस पृष्ठभुमिमा भुमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा सौतेनी छोरा भन्ने उल्लेखन नभएको भन्ने आधारमा सौतेनी छोराले मोहियानी हक प्राप्त गर्न सक्दैन भन्न मिल्ने अवस्था देखिएन । भुमि सम्वन्धी ऐनको प्रयोजनको लागि सौतेनी छोरालाई पनि छोरा नै मान्नु पर्ने भई आफुले जन्माएको छोरा नभएको अवस्थामा सौतेनी आमाले मोही हक प्राप्त गरी कमाई गर्दै आएको जग्गामा भुमि सम्वन्धी ऐनको अरु प्रकृयाहरु पुरा गरेको स्थितिमा सौतेनी छोरामा पनि सौतेनी आमाको मोहियानी हक सर्न सक्ने अवस्था देखिन्छ । सौतेनी छोरामा मोहियानी हक सर्न नसक्ने भन्ने प्रत्यर्थी तर्फका विद्धान कानून व्यवसायीहरुको जिकीरसंग सहमत हुन सकिएन ।
२३. (२) अब दोश्रो विषय तर्फ बिचार गर्दा मृतक सुर्य कुमारी वस्नेत विवादित जग्गाको मोही रहे भएकोमा विवाद छैन । मृतक सुर्य कुमारीको पुनरावेदक प्रतिवादी श्याम बहादुर बस्नेत सौतेनी छोरा हो भन्नेमा पनि विवाद देखिदैन । निज श्याम बहादुरले भुमि सम्बन्धी ऐन, २०२१ को अन्य प्रकृयाहरु पुरा गरेको अवस्थामा माथि प्रकरण (१) मा गरिएको विश्लेषण अनुसार निजमा मोहियानी हक सर्न सक्ने नै देखियो र तसर्थ पुनरावेदक प्रतिवादी सौतेनी छोरा भएकोले निजमा मृतक सुर्य कुमारीको मोहियानी हक सर्न नसक्ने भन्ने आधारमा मोही लगत कट्टा गर्ने गरेको शुरु भुमिसुधार कार्यालयको निर्णय सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिन आएन । शुरु सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी हुन्छ । ने.का.प. २०४२, नि.नं. २३५७, पृष्ठ ४४१ मा यस अदालतबाट प्रतिपादित सिद्धान्तसंग असहमत भै शुरु सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी हुने ठहराएको यस अदालत संयुक्त इजलासको मिति २०५४।११।४ को इन्साफ मिलेकै देखिंदा परिवर्तन गरिरहन परेन । सदर हुन्छ।पुनरावेदन दस्तुर राखी पुनरावेदन गरेको देखिंदा केहि गरिरहन परेन नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उपर्यूक्त रायमा हामी सहमत छौं ।
न्या. हरिप्रसाद शर्मा
न्या. कृष्णकुमार वर्मा
न्या. राजेन्द्रराज नांख्वा
न्या. केदारप्रसाद गिरी
इति संवत् २०५६ साल जेष्ठ २७ गते रोज ५ शुभम् ...................................... ।