निर्णय नं. २६४२ - लिखित बदर

निर्णय नं. २६४२ ने.का.प. २०४३ अङ्क - २
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४२ सालको दे.पु. नं. ४८७
फैसला भएको मिति : २०४३।२।२८।४ मा
पुनरावेदक/प्रतिवादी : सिद्धार्थ नगर न.पं.वडा नं.८ भैरहवा बस्ने खिलप्रसाद तिमील्सीना
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ.समेलार आदर्श गा.पं.वडा नं.८ बस्ने पद्मनाथ उपाध्याय
मुद्दा : लिखित बदर
(१) वादीले गरी लिएका ०२४ सालको राजीनामामा उल्लिखित जग्गामा वादीले चलन समेत पाउने गरी शुरुले गरेको इन्साफ मनासिब ठहराई गरेको इन्साफमा कानुनी त्रुटि देखिन नआउने ।
(प्रकरण नं. १६)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल
फैसला
न्या.हरगोविन्द सिंह प्रधान : प्रस्तुत मुद्दा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको निर्णय उपर प्रतिवादीको चित्त नबुझी पुनरावेदन गर्ने अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्राप्त भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यर प्रकार छ : विपक्षी मध्येका सर्वजित गुरुङ्गले ज.वि.४–०–० साविक र हाल सर्भे नापीबाट ०–३–१२ नापी नहुँदैको अवस्थामा म बाट रु.६०००।– लिई घरसारमा राजीनामा गरी दिई पारीत गरिपाउँ भनी उजूर परी अदालतबाट सो लिखत पारीत हुने ठहरी फैसला भएकोले ०३१।४।१५ मा पारीत गर्ने पुर्जी लिई भू.प्र. का रुपन्देहीमा जाँदा पुर्जी अनुसारको जग्गा बिक्री भई गएको हुँदा थैली पारीत भनी लेखी पारीत भयो । कसलाई पारीत गरी दिएछ भनी नक्कल सारी हेर्दा सर्वजित दिने खिलप्रसाद लिने गरी २०२८।६।२४ मा राजीनामा पारीत गरी दिएछन् मुद्दा परी कार्यबाही चल्दाचल्दैको अवस्था दोहरी लेनदेन गरेको लिखित बदर गरी चलन चलाई पाउँ भन्ने समेत व्यहोराको २०३२।१।१७ को वादीको फिराद ।
३. सर्वजित गुरुङ्गका नाउँमा दर्ता भएको रुपन्देही आनन्द वन गा.पं.वडा नं.९(क) को कित्ता नं. ५२ को जग्गा विगहा ०–३–१५ थैली रु.१६०००।– मा ०२८।६।२४ गते राजीनामा पारीत गरी लिएको हो जानी जानी दोहोरो पारी लिएको होइन । भू.प्र.का.बाट थैली पारीत गराई लिएको मन्जूरी गरी बस्ने वादीले मेरो राजीनामाको दर्ता र भोगचलनको जग्गामा मुलुकी ऐन रजिष्ट्रेशनको ९ नं. को दावा गर्न हक नै पुग्न सक्दैन भन्ने प्रतिवादी ।
४. लेनदेन व्यवहारको २७ नं. को म्यादभित्र वादीको नालेश परेको नदेखिएको वादीको नालेश खारेज हुने ठहर्छ भन्ने ०३२।१०।२३ को रुपन्देही जिल्ला अदालतको फैसला ।
५. वादीको नालेश लेनदेन व्यवहारको २७ नं. को म्यादभित्रको नदेखिनाले खारेज हुने ठहर्छ भन्ने रु.जि.अ.को फैसला उपर पुनरावेदन परेकोमा खारेज गरेको मिलेन ठहर निर्णय गर्नु भन्ने प.क्षे.अ.डि.वे.को ०३४।६।२३ को फैसला ।
६. अदालतमा मुद्दा पर्दापर्दै अन्तिम छिनोफानो नहेरी रजिष्ट्रेशन गरी लिनु दिनु गरेको प्र.खिलप्रसाद तिमील्सीनालाई गरी दिएको ०२८।६।२४ को राजीनामा लिखत एवं दर्ता बदर गरी वादीले चलन पाउने समेत ठहर्छ भन्ने रुपन्देही जिल्ला अदालतको फैसला ।
७. उक्त फैसलामा चित्त नबुझी प्रतिवादीको लु.अं.अ.मा परेको पुनरावेदन ।
८. घरसारको अगिको लिखत पारीत मुद्दा चल्दाचल्दै उही दाताले सोही जग्गा रजिष्ट्रेशन पारीत गरी दोहरा पारी दिए लिएको राजीनामालाई मान्यता दिन नमिल्ने त्यस्तो राजीनामा सदर पक्का नहुने देखिएकोबाट समेत वादी पद्मनाथले सर्वजित गुरुङ्गबाट २०२४।३।१६ मा घरसारमा गराई लिएको राजीनामा लिखत फैसलाद्वारा ०३१।५।१ मा पारीत भएको लिखत कायम रहने र पुनरावेदक प्रतिवादी खिलप्रसादले ०२८।६।२४ मा रजिष्ट्रेशन पारीत गराई लिएको लिखत राजीनामा र सो को आधारमा गरेको दर्ता बदर हुने र वादीको हकमा चलन चलाई दिने समेत ठहराएको शुरु जिल्ला अदालतको इन्साफ मनासिब ठर्हछ भन्ने लुम्बिनी अञ्चल अदालतको ०३७।८।९ को फैसला ।
९. लु.अं.अ. को फैसलामा प्रत्यक्ष कानुनी त्रुटि भएकोले पु.वे.अ.पाउँ भन्ने प्रतिवादीको निवेदनमा दोहोरो लिखत गरी दिएमा सजायँ गरिपाउँ भनी लेनदेन व्यवहारको २८ नं. अन्तर्गत समेत दावी लिएकोबाट दोहोरो लिखत गरिदिने भनेका विपक्षी सर्वजितलाई लेनदेनको २८ नं. बमोजिम रु.१६०१७। जरिवाना समेत हुन सक्ने मुद्दा देखिई अनुमति दिइएको छ भन्ने प.क्षे.अ.को आदेश ।
१०. दोहोरो लिखत गरी दिएमा सजायँ गरी लिखत बदर गरिपाउँ भनी लेनदेनको २८ नं. अन्तर्गत दावी लिएकोबाट सो दोहोरो गरी लिएको भनेको लिखत हेर्दा सो लिखतको बिगो रु, १६०१७।– भएको र लेनदेन व्यवहारको २८ नं. बमोजिम वादी दावी स्थापित भएमा रु.१६०१७।– जरिवाना हुन सक्ने देखिएको सो जरिवानाको हिसाबबाट क्षेत्रीय अदालतको अधिकार क्षेत्रभित्रको पुनरावेदनमा कारवाही किनारा गर्ने अधिकार लुम्बिनी अञ्चल अदालतलाई नभएकोमा उक्त अदालतले क्षेत्रात्मक त्रुटि गरी अनाधिकार फैसला गरेकोले सो फैसला बदर हुने ठहर्छ । अतः लु.अं.अ.मा परेको पुनरावेदनलाई नै यस अदालतमा दर्ता गरी पेश गर्नु भन्ने यस अदालतको २०४०।३।६।२ को फैसला ।
११. यसमा वादीले ०–३–१२ जग्गा खरीद गरी लिएको प्रतिवादीले ३–१५–३ खरीद गरेकोमा समुच्चा लिखत बदर गर्ने गरेको शुरुको इन्साफ फरक पर्ने भएबाट अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाउने ०४१।७।१।४ को आदेश ।
१२. यसमा पुनरावेदकलाई ०२८ सालमा तथा वादीलाई ०२४ सालमा सर्वजित गुरुङ्गले गरिदिएको राजीनामा लेखत हेरेमा एकै जिमिदारीको ४ विगहा जग्गा उल्लेख भएको देखिन्छ । वादीले दावी गर्दा आनन्द वन गा.पं.वार्ड नं. ९(क) को कि.नं.५२ को जग्गा ०–३–१२ भन्ने उल्लेख गरेको प्रतिवादीले सोही कि.नं. ५२ को ३–१५–३ उनै दाताबाट लिएको भनी प्रतिवाद गरेको देखिन्छ । वादीले ०२४ सालमा राजीनामा लिंदा सर्भे नभएको प्र.ले लिंदा सर्भे भई कि.नं. र क्षेत्रफल समेत निकाली सकेकोबाट प्रतिवादीको लगतमा सर्भे कि.नं. प्रष्ट उल्लेख भएको पाइन्छ । वादीले दाता सर्वजित उपर पारीतमा नालेश परी ०३१ सालमा पारीत हुने ठहरेको प्रमाण मिसिलबाट देखियो । उक्त मुद्दा चलिरहेको अवस्थामा प्र.खिलप्रसादले सोही जग्गा सर्वजितबाट दोहोरो पारी लिएको देखिँदा प्रतिवादीको लिखत बदर भई निजका नाउँमा दर्ता भएको जग्गा वादीको नाउँमा दर्ता हुने ठहराई वादीले चलन पाउने ठहराएको शुरुको फैसला मनासिब ठहर्छ । प्र.खिलप्रसादको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने ०४२।१।१०।२ को पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१३. प.क्षे.अ.को इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी परेको निवेदनमा वादीले कि.नं.५२ को ३ कठ्ठा १२ धुर जग्गाको दर्ता लिखत बदर गरिपाउँ भनी दावी गरेकोमा वादी दावी भन्दा बढी ज.वि. ३–१५–३ समुच्चै जग्गा वादीको नाउँमा दर्ता हक कायम हुने गरी अ.बं.१८४(क) को प्रत्यक्ष कानुनी त्रुटि गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय गरेको देखिन आयो सो त्रुटि सार्वजनिक महत्वको पनि विषय हुँदा न्या.प्र.सु.ऐन बमोजिम पुनरावेदन गर्ने अनुमति दिएको भन्ने स.अ. डिभिजनबेञ्चको आदेश ।
१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले मेरो पक्षले सर्वजित बाट राजीनामा पारीत गरी लिएको हो जानी जानी दोहोरो पारी लिएको होइन भन्ने र विपक्षी वादीतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री चुडामणी राज सिंह मल्लले मेरो पक्षले नापी नहुँदैको अवस्थामा घरसारमा राजीनामा गरी दिई लिखत पास गराई अदालतबाट पुर्जी समेत लिई आउँदा पुर्जी बमोजिमको जग्गा बिक्री भइसकेको भनी भनेबाट पास मुद्दा परेको हो तसर्थ प.क्षे.अ.को इन्साफ सदर होस् भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१५. पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला ठीक बेठीक के रहेछ भनी निर्णय दिनु परेको छ ।
१६. यसमा सर्वजित गुरुङ्गले वादीलाई वादी दावी बमोजिम ०२४ सालमा हक छाडी गरी दिएको राजीनामा लिखतको र प्रतिवादीलाई निजै सर्वजित गुरुङ्गले नै २०२७।१२।२६ मा घरसारमा राजीनामा गरी ०२८।६।२४ गते पारीत गरी दिएको लिखतको जग्गा एउटै भएकोमा विवाद देखिँदैन । केवल ०२४ सालमा वादीले राजीनामा लिंदाको अवस्थामा सर्भे नापीको नम्बर नभएको र प्रतिवादीले ०२८ सालमा पारीत गरी लिंदा सोही वादीका राजीनामाकै जग्गाको कि.नं.५२ को क्षेत्रफल ३–१५–३ जग्गा भन्ने सम्म देखिएको र उनै दाता सर्वजितबाट उही वादीकै राजीनामाकै जग्गा लिखत गराई लिएको देखिन्छ । प्रतिवादीले विवादीत लिखत पारीत गरेको अवस्थामा वादीले तत्कालीन प्रचलित ऐन बमोजिम ०२४।३।१६ मा गरी लिएको घरसारको लिखत पारीत गरिपाउँ भनी अदालतमा कानुनका म्यादभित्रै लिखत पारीत मुद्दा दायर गराइसकेको पाइन्छ । वादीको ०२४।३।१६ को घरसारको राजीनामा लिखत पारीत हुने ठहरी ०३०।९।१६ गते लुम्बिनी अञ्चल अदालतबाट अन्तिम फैसला भई ०३१।५।१६ गते पास पूर्जी लिई पारीत गर्न जाँदा थाहा भई ०३१।६।९ गते प्रतिवादीले ०२८।६।२४ गते पारीत गरेको लिखतको नक्कल सारी ०३२।१।१७ मा वादीको फेराद दर्ता गरी प्रस्तुत मुद्दा चलेको पाइन्छ यस्तो स्थितिमा मुद्दा परिरहेकै अवस्थामा प्रतिवादी खिलप्रसादले एकै दातासँग एकै जग्गाको दोहरा लिखत गराई लिएको प्रष्ट देखिएको समेतका प्रमाणित आधारबाट र वादीले दावी गर्दा फिराद खण्डमा ३ कठ्ठा मात्र भन्ने उल्लेख नगरी आनन्द वन गा.पं.वडा नं.९(क) कि.नं.५२ को जग्गा ०–३–१२ भन्ने उल्लेख गर्नुको साथै ०२४।३।१६ को राजीनामा कायम गरिपाउँ भनी भनेको हुँदा प्रतिवादीको उक्त उल्लिखित ०२८।६।२४ गते पारीत भएको राजीनामा लिखत र सो लिखतका आधारबाट भएको दर्ता समेत बदर गर्ने र वादीले गरिलिएका ०२४ सालको राजीनामामा उल्लिखित जग्गामा वादीले चलन समेत पाउने गरी शुरुले गरेको इन्साफ मनासिब ठहराई पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा कुनै वादी दावी बाहिर गई गरेको भन्ने प्रतिवादी जिकिर अनुसार कानुनी त्रुटि भए गरेको अवस्था विद्यमान रहे भएको देखिन नआएकोले इन्साफ पश्चिमाञ्चल क्षेत्रीय अदालतको मनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी राखी दायर भएकोले केही गर्न परेन । मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४३ साल ज्येष्ठ २८ गते रोज ४ शुभम् ।