शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६८२ - कर्तव्य ज्यान

भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२

निर्णय नं. ३६८२     ने.का.प. २०४५                 अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४४ सालको फौ.पु.नं. ४७४

फैसला भएको मिति : २०४५।११।१७।३

 

पुनरावेदक/वादी : पुलराम पन्थीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.अर्घाखाँची छत्रजंग गा.पं. वडा नं. ५ बस्ने झविन्द्र आले मगर

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)                कुटपिटको अभियोग लागेको मुद्दामा झुण्डी मरेको संभावना भन्ने डाक्टरको राय विरोधाभाष रहेको तथा मृतकलाई कुटपिट गरी मारेको देख्ने चस्मदिद साक्षी तथा अन्य निश्चित सबूद प्रमाणको समेत अभाव रहेको स्थितिमा केवल शंकामा पक्राउ भई अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती बयानको भरमा मात्र अभियुक्तलाई दोषी ठहर्‍याउन नमिल्ने ।

(प्रकरण नं. १६)

 

वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला

 

फैसला

न्या.हरगोविन्द सिंह प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।१२।१८।४ को फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    शिवलाल पन्थी २०४०।१२।२८ गतेका दिन अन्य परिवार घरमा नभएको अवस्था दिनको २:३० बजेको समयमा झविन्द्र आलेको वारीमो सुर्कामा आफ्नो शरीरमा मट्टितेल हाली जली आत्महतया गरी मरेको हुँदा लाश जाँच समेत गरिपाउँ भन्ने समेत मृतकका भाइ पुनाराम पन्थीको ०४०।१२।२९ को जाहेरी दर्खास्त ।

३.    नाक कान, मुखबाट रगत बगेको झुन्डीई मरेको संभावना भन्ने समेत व्यहोराको लाश जाँच प्रतिवेदन ।

४.    करिब १४ वर्ष भयो लोग्ने संग बोलचाल नभएको ०४०।१२।२८ गते काम विशेषले जाहेरवालाको घरमा आएको अवस्था पति दिनको अं. २ बजे आफ्नो घरभित्र पसेको देखेको हुँ, एकछिन पछि आफ्नो जिउमा मट्टितेल खन्याई जली मरेको सुनी हेर्न जाँदा आगो बली रहेको देखेकी हुँ, भन्ने समेत मृतककी कान्छी श्रीमतीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज ।

५.    २०४०।१२।२८ गते दिनको अं. २ बजेको समयमा हिरासिंको श्रीमतीले भने अनुसार आगोको ज्वाला देखि हेर्न जाँदा एकजना मानिसको शरीरमा आगो बली रहेको देखेको हुँ र मैले हल्ला गर्दा गाउँका मानिसहरु जम्मा भए शिवलालको कर्तव्यबाट मृत्यु भएको होइन । आत्महत्या गरी मरेको हुनुपर्छ भन्ने समेत व्यहोराको तुलबहादुर रायमाझीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज ।

६.    २०४०।१२।२५ गते झविन्द्र आले मगरको घरमा आगोलागी हुँदा मेरो लोग्नेलाई झविन्द्र आलेले कुटपिट गरी नाथ्रो फुटी कमिजमा रगत समेत लागेको छ सोही कुटाईका पिरले मट्टितेल खन्याई मरेको हुनु पर्छ अरु कारण खुलाउन सक्दिन भन्ने समेत मृतककी जेठी श्रीमती धनकला पन्थीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज ।

७.    म गाई वस्तु चराउन गएका अवस्था ०४०।१२।२८ गते दिनको अं. २ बजे तीर घटनास्थल देखि १५०। गज मुनी म गएको अवस्था मेरो कटेरा नजिक आगो बलेको देखी आगो मेरो कटेरामा आउला भनी देवीतुला बहादुरलाई लिई घटनास्थलमा गएपछि अरु गाउँले जम्मा भएका हुन त्यसपछि मृतकका छोरा पनि आई पुगे मृतक शिवलाल आफैं आत्महत्या गरी मरेको हुनुपर्छ भन्ने समेत जमुना थापाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज ।

८.    मृतकको छोरी सरस्वतीले ०४०।१२।२५ गते मेरो घरमा आगो लगाई दिएको हुँदा आगलागी भएको ठाउँमा मृतकलाई मैले धक्याई दिएको हुँ । नाथ्रो फुटी रगत आएको थियो ऐ. २७ गतेका दिन निज सरस्वतीलाई प्रेमनारायणको घरमा लगी सोधपुछ गर्दा पञ्च समाजका अगाडि आगो लगाई दिएमा सावित भएकी हुँदा सो रात सरस्वतीलाई प्रेमनारायणको घरमा राखियो भोलिपल्ट मृतक शिवलाल दिनको २ बजेतिर प्रेमनारायणको घरबाट आफ्नो घरतर्फ गए अरु मानिस प्रेमनारायणका घरमा थिए । म पनि भान्जीको जुत्ता माग्नु पर्‍यो भनी कसैसंग नसोधी मेरो आगोलागी भएकै घरको बाटो आउँदै थिए र गहुँ हेरी जानु पर्‍यो भनी वारीको डिलतर्फ गइरहेकोमा शिवलाल पन्थी पनि आफ्नो घरबाट मेरो बारीमा आई मलाई किन पिटिस भनी समातेकोले मैलेपनि समाती ७, ८ मुक्का हान्दा निज शिवलालको मृत्यु मेरो वारीमा भयो अनि पल्टाई दिएर शिवलाल पल्टी मरेको कुरा भन्न निजको घरमा जाँदा कोही नभएको हुँदा घरभित्र पसी मट्टितेलको ग्यालेन झिकी मृतकको शरीरमा मट्टितेल खन्याई दिएको हुँ भन्ने समेत व्यहोराको झविन्द्र आले मगरले अधिकार प्राप्त अधिकारी समक्ष गरेको २०४१।१।८ को कागज ।

९.    प्र.झविन्द्रको कञ्चटमा चौडाई १/६ लम्बाई १ इन्च भएको कुनै वस्तुले चिरेको घाउ भएको भन्ने समेत व्यहोराको ०४१।१।८ को अर्घाखाँची हेल्थपोष्टको राय ।

१०.    ०४१।१।८ मा जि.प्र.का. अर्घाखाँचीमा साविती बयान दिएको हुँदा झविन्द्र आले मगरले शिवलाल पन्थीलाई कर्तव्य गरी मारेमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको समस्त सरजमीनका व्यक्तिहरुले गरेको सरजमीन मुचुल्का ।

११.    आत्महत्याको रुपदिन आगो लगाई दिएकोमा साविती भएकोले शिवलाल पन्थीलाई निज झविन्द्र आलेले मारेका शंका लाग्छ भनी सरजमीनका समस्त मानिसहरुले लेखाई दिएको समेतबाट प्र.झविन्द्र आलेको साविती कागज भएको हुँदा सरस्वतीले घरमा आगो लगाई दिएको अवस्था देखि रीसइवी भएको भन्ने स्पष्ट देखिएको र सोही रीसइवीबाट मुड्कीले हानी शिवलालको मृत्यु भएको सिद्ध हुन आएको हुँदा म झविन्द्र आले मगरले ज्यानसम्बन्धीको १ नं. को कसूर गरेको हुँदा ऐ. १३(३) बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको ०४१।१।१९ को प्रहरी प्रतिवेदन ।

१२.    मृतककी छोरी सरस्वतीले मेरो घरमा २०४०।१२।२० गते दिनको १:३० बजे भएको चोरीमा चोर भन्यो भन्ने रीसले आगो लगाएकोमा शंका लागी शिवलाललाई बोलाउन प्रधानपञ्चले पठाएका थिए । मृतकको भाई पुनाराम र उप प्र.पं. पदमलालले ज्यानसम्बन्धीमा र मैले आगलागीमा जाहेरी दिएको हो । शिवलाललाई मैले कुटपिट गरेको होइन, अरु कसैले कुटपिट गरेका पनि होइनन् मृतक र मेरो बसउठ राम्रो थियो । मृतकलाई कसैले कर्तव्य गरी मारेमा शंका गर्न सक्दिन भन्ने समेत प्र.झविन्द्र आलेले अदालतमा गरेको बयान ।

१३.    प्रस्तुत मुद्दामा प्रहरी प्रतिवेदन माग दावी अनुसार ज्यानसम्बन्धीको १३(३) बमोजिमको सजायँ गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन दावी नपुग्ने ठहर्छ भन्ने समेत शुरु अर्घाखाँची जिल्ला अदालतको २०४२।२।२४।५ को फैसला ।

१४.    उक्त फैसलामा चित्त नबुझी वादी श्री ५ को सरकारतर्फबाट प.क्षे.अ.मा परेको पुनरावेदनमा निश्चित सबूत प्रमाणको अभावमा केवल प्रहरीको सावितीलाई मात्र भर गरी यि प्रतिवादीको कर्तव्यबाट मृतक शिवलालको मृत्यु भएको भनी ठहर्‍याउन नसकिने हुँदा प्र.झविन्द्र आले मगरलाई आरोपित कसूरबाट सफाई दिएको शुरु जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको प.क्षे.अ.को ०४३।१२।१८।४ को फैसला ।

१५.   पश्चिमाञ्चल क्षेत्रीय अदालतको उक्त फैसला सबूत प्रमाणहरुको सहिढंगबाट मूल्यांकन नगरी प्रतिवादीलाई सफाई दिएको शुरुकै इन्साफ सदर गरेको कानूनी त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई शुरु दावी अनुसार नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारतर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन ।

१६.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादीतर्फका विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइरालाले गर्नु भएको बहस जिकिर सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ भनी निर्णयतर्फ विचार गर्दा मृतकका सहोदर कान्छा भाइ पुनाराम पन्थीले आफ्नो जाहेरी दर्खास्तमा मृतक शिवलाल पन्थीले शरीरका कपडा सहित आङ शरीरमा मट्टितेल खन्याई आफैं आगो लगाई आत्महत्या गरी मृत्यु भएको लाशजाँच समेत गरी सदगत गर्ने पुर्जी पाउँ भन्ने उल्लेख गरी प्रहरीद्वारा शंकाको आधारमा पक्राउ भएका प्रतिवादीलाई प्रतिवादीको घरमा मृतककी छोरी सरस्वतीले आगो लगाई दिएको कारण मृतक र प्रतिवादी बीच कुटपिट हुँदा सोही कुटपिटको कारणले मृत्यु भई सो दबाउन आत्महत्या  गरेको भन्ने पार्न आगो लगाई दिएको भन्ने प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान कागजका आधारमा प्रतिवादी उपर ज्यानसम्बन्धीको १३(३) नं. को दावी लिई मुद्दा चलेको देखिन्छ । प्र.झविन्द्र आले मगरले अदालत समक्ष प्रहरीमा भएको उक्त कागज आफ्नो इच्छा विरुद्ध कुटपिट गरी गराएको हो मैले शिवलाललाई कुटपिट गरी मारेको होइन भनी पूर्ण इन्कारी गरेको बयानलाई निजका साक्षीहरुले पनि समर्थन गरेको, सरजमीनका शिवलाल पोखरेल समेत तथा जाहेरवालाले अदालतमा आई बकपत्र गर्दा मृतकले आफैं आफ्नो शरीरमा मट्टितेल खन्याई आगो सल्काई आत्महत्या गरेका हुन् प्रतिवादीले कर्तव्य गरी मारे मराएको होइन भन्ने समेत व्यहोरा व्यक्त गरेका र मृतककी श्रीमती जमुनादेवीले पनि मृतकलाई प्रतिवादीले नै मारेको हो भनी भन्न सक्दिन भन्ने समेत बकपत्र गरेको देखिन्छ । लाशजाँच प्रतिवेदनमा मृत्युको कारण झुण्डी मरेको सम्भावना व्यक्त गरेको देखिन्छ, कुटपिटको अभियोग लागेको प्रस्तुत मुद्दामा झुण्डी मरेको सम्भावना भन्ने डाक्टरको राय विरोधाभाष रहेको तथा मृतकलाई कुटपिट गरी मारेको देख्ने चस्मदिद साक्षी तथा अन्य निश्चित सबूद प्रमाणको समेत अभाव रहेको यस स्थितिमा केबल शंकामा पक्राउ भई अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती बयानको भरमा मात्र अभियुक्तलाई दोषी ठहर्‍याउन नमिल्ने हुनाले शंकाको सुविधा अभियुक्तले पाउने सिद्धान्त मुताविक प्रतिवादी झविन्द्र आले मगरलाई आरोपित कसूरबाट सफाई पाउने ठहर्‍याएको शुरुको फैसला सदर गरेको प.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई   दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४५ साल फाल्गुण १७ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु