निर्णय नं. ३६८३ - ज्यू मास्ने बेच्ने

निर्णय नं. ३६८३ ने.का.प. २०४५ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४४ सालको फौ.पु.नं. ५४२
फैसला भएको मिति : २०४५।११।१७ मा
पुनरावेदक/प्रतिवादी : बुटवल नगरपञ्चायत वा.नं. ५ बस्ने डम्बरबहादुर क्षेत्री
विरुद्ध
विपक्षी/वादी : ताराकुमारी विश्वकर्माको जाहेरीले श्री ५ को सरकार
मुद्दा : ज्यू मास्ने बेच्ने
(१) भारत बम्बईमा लगी बिक्री गरेकोमा अधिकार प्राप्त अधिकारी समक्ष साविती भएको अदालतमा आई इन्कारी रही प्रहरीमा कुटपिट गरी कागज गराएको भन्ने जिकिर लिए तापनि सो कुराको पुष्टी हुने कुनै साक्षी सबूद पेश गर्न सकेको पाइएन प्रहरीको सावितीको कागजलाई भारतीय प्रहरीद्वारा दाखिल हुन आएको ताराकुमारीले अदालतमा गरेको बकपत्र समेतबाट पुष्टी हुन आएको हुँदा शुरुले प्र.ले ज्यू मास्ने बेच्ने अपराध गरेको ठहर गरेको इन्साफलाई सदर गरेको क्षे.अ.को इन्साफ मनासिब ठहर्ने ।
(प्रकरण नं. ११)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कुलदेवराज शाही
फैसला
न्या.हरगोविन्द सिंह प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर प्रतिवादीको पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार छ ।
२. डम्बरबहादुर क्षेत्रीले मलाई विवाह गरी राख्छु भनी ०४०।३।८ गते मेरो घर खैरेनीबाट ल्याई सो दिन कृष्णनगर जाउँ भनी म साथै गएँ, सो दिन कृष्णनगर र भोलिपल्ट बम्बई जाउँ भनी ४ दिन पछि बम्बई शहरमा लगी रण्डी व्यवसायमा लागेकी सुनी तामाङनीको जिम्मा लगाई निज भागेपछि सुनी तमाङनीले तलाई रु. २०,०००।– मा खरीद गरेकी हुँ, मेरो साथमा बसी रण्डी काम गर्नु पर्छ भनी मेरो इच्छा विरुद्ध रण्डी व्यवसायमा लगाई राखेकी थिइन् । पछि सुनी तमाङनीले आफ्नो काम विशेषले काठमाडौं गएको अवस्था भारतीय प्रहरीले छापामारी पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाई दिएको हो । मलाई भा.रु. २०,०००।– मा बिक्री गरी आउने निज डम्बरबहादुर क्षेत्रीलाई कारवाही गरी पाउँ भन्ने समेत ०४०।११।१४ को जाहेरी दर्खास्त ।
३. मेरो ट्रकमा खलासी काम गर्दा ताराकुमारी संग बोलचाल चिनजान भएको र २०४० साल ज्येष्ठमा म निजको घरमा गई एकरात बसी निजलाई विवाह गर्छु भन्दा निजको मन्जूर भई ०४० साल आषाढ ७–८ गते म र मेरो साथी मनोहर बानियाँ खैरनी गयौं ताराकुमारी बाख्रा चराउन आएको अवस्थामा कुराकानी मिलाई सितल बजारमा आई बस रोकी बुटवल आयौं मनोहर घरमा गए । हामी दुवै बुटवल होटलमा बसी भोलिपल्ट तीनैजना कृष्णनगर गयौं त्यहाँबाट भारतको बम्बइमा पुग्यौं । भोलिपल्ट निज ताराकुमारीलाई वेश्यालयमा लग्यौं वेश्यालयको मालिकले केटी ल्याए वापत रु. ५००।– मलाई लिनु भनी दिए । मनोहरले के कति पैसा लिए मलाई थाहा छैन । निज ताराकुमारीलाई विवाह गर्छु भनी भारत बम्बइमा लगी बिक्री गरी दिएको हुँ भन्ने अभियुक्त डम्बरबहादुरको प्रहरीमा भएको कागज ।
४. डम्बरबहादुर साविती भएको हुँदा ताराकुमारीलाई भारत बम्बईमा लगी बिक्री गरेकोमा विश्वास लाग्छ भन्ने समेत सरजमीन मुचुल्का ।
५. प्रतिवादीहरुले मुलुकी ऐन ज्यू मास्ने बेच्नेको १ नं. को कसूर गरेको हुँदा प्रतिवादी डम्बर बहादुर क्षेत्रीलाई ऐ. को १५ नं. अनुसार सजायँ हुनको लागि र मनोहरका हकमा नाम थर पत्ता लागेको बखत कारवाहीको लागि माग गरिने भन्ने समेत प्रहरी प्रतिवेदन दावी ।
६. तारा कुमारीलाई भारत बम्बईमा लगी बिक्री गरेको होइन कसले बिक्री गरे मलाई थाहा छैन भन्ने समेत व्यहोराको डम्बरबहादुर क्षेत्रीको अदालतमा भएको बयान ।
७. डम्बरबहादुर क्षेत्रीले ताराकुमारी विश्वकर्मालाई भारतको बम्बईमा लगी वेश्यालयमा बिक्री गरेको ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतको फैसला ।
८. शुरु रुपन्देही जिल्ला अदालतको इन्साफमा चित्त बुझेन भन्ने प्र.डम्बरबहादुरको प.क्षे.अ.मा परेको पुनरावेदन ।
९. अधिकार प्राप्त अधिकारी समक्ष साविती भएको र अदालतमा इन्कार रही प्रहरीले कुटपिट गरेको भने तापनि सो पुष्टी हुन नसकेको समेत हुँदा प्र.डम्बरबहादुरले कसूर गरेको ठहर्याएको शुरु जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने प.क्षे.अ.को फैसला ।
१०. प.क्षे.अ.को इन्साफमा चित्त बुझेन भन्ने डम्बरबहादुरको यस अदालतमा परेको पुनरावेदन ।
११. निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी डम्बरबहादुरको तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री कुलदेवराज शाहीले प्रस्तुत मुद्दामा जाहेरी दर्खास्त र जाहेरवालीको कागजबाट घटनाक्रम नै मिलेको छैन जाहेरवालीले कुनै चस्मदिद गवाह प्रस्तुत गर्न सकेको छैन । सरजमीनका मानिसले केवल प्रहरीमा गराएको सावितीलाई आधार बनाई बकेका छन् अदालतबाट केवल प्रहरीमा कुटपिट गरी इच्छा विरुद्ध गराएको कागजलाई आधार बनाई मेरा पक्षलाई सजायँ गरेको इन्साफ न्यायोचित छैन प्रतिवादी निर्दोष हुँदा सफाई पाउनु पर्छ भन्ने समेत गर्नु भएको बहस र पुनरावेदन जिकिर समेतको मिसिल अध्ययन गरी प.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ भनी निर्णयतर्फ विचार गर्दा घटनामा परेकी जाहेरवाली ताराकुमारीलाई भारतीय प्रहरीले नेपाल प्रहरीलाई बुझाएको र अभियुक्त डम्बरबहादुर ताराकुमारीलाई भारत बम्बईमा लगी बिक्री गरेमा अधिकार प्राप्त अधिकारी समक्ष साविती भएका अदालतमा आई इन्कारी रही प्रहरीमा कुटपिट गरी कागज गराएको भन्ने जिकिर लिए तापनि सो कुराको पुष्टी हुने कुनै साक्षी सबूद पेश गर्न सकेको पाइएन प्रहरीको सावितीको कागजलाई भारतीय प्रहरीद्वारा दाखिल हुन आएको ताराकुमारीले अदालतमा गरेको बकपत्र समेतबाट पुष्टि हुन आएको हुँदा पुनरावेदकको पुनरावेदन जिकिर तथा विद्वान वैतनिक अधिवक्ताको बहस जिकिरसंग सहमत हुन सकिएन । शुरु रुपन्देही जिल्ला अदालतले प्र.डम्बरबहादुरले ज्यू मास्ने बेच्ने अपराध गरेको ठहर गरेको इन्साफलाई सदर गरेको प.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
प्र.डम्बरबहादुर क्षेत्रीके माथि इन्साफ खण्डमा लेखिए बमोजिम प.क्षे.अ. को इन्साफ मनासिब ठहरेकोले पुनरावेदन गरे वापत अ.बं. २०३ नं. बमोजिम शुरु फैसलाले लागेको कैद वर्ष २० को दोस्रो पुनरावेदन हुँदा सयकडा ५ ले कैद वर्ष १(एक) थप कैद हुन्छ लगत कसी असूल गर्नु भनी शुरु जि.अ.मा लगत दिनु...१
मिसिल नियम बमोजिम बुझाई दिनु...२
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४५ साल फाल्गुण १७ गते रोज ३ शुभम् ।