शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६८५ - दर्ता बदर दर्ता कायम

भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२

निर्णय नं. ३६८५     ने.का.प. २०४५                 अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४४ सालको दे.पु.नं. ७०४, ७०५

फैसला भएको मिति : २०४५।११।४।४ मा

 

पुनरावेदक/प्रतिवादी : काठमाडौं न.पं. वा.न. ३ बस्ने चन्द्रकलादेवी बस्नेत

विरुद्ध

विपक्षी/वादी : का.न.पं. वा.नं. ३ बस्ने तारादेवी बस्नेतसमेत

 

पुनरावेदक/प्रतिवादी : जि.धनकुटा जितपुर गा.पं. वा.नं. १ बस्ने पद्मकुमारी खड्का

विरुद्ध

विपक्षी/वादी : का.न.पं. वडा वा.नं. ३ बस्ने प्रल्हाद बस्नेसमेत

 

मुद्दा : दर्ता बदर दर्ता कायम

 

(१)                सगोलमा रहँदाको अवस्था सगोलका अंशियारको नाउँमा आर्जन गरिएको सम्पत्तिमा सबै अंशियारको अंश भाग लाग्ने ।

(प्रकरण नं. १५)

(२)               आफूले दिएको तायदातीमा देखाउनु पर्ने नदेखाएबाट त्यस्तो सम्पत्ति अंश हक मेट्न दवाई छपाई राखेको होइन भन्न नमिल्ने ।

(प्रकरण नं. १५)

(३)               छोडपत्र गरी दिएकोमा आफ्नो हक बदर गरी पाउँ भन्ने फिरादै नपरी प्रतिउत्तर दिँदा पुनरावेदकले नै निजको हकमा समेत भनी छोडपत्र गरेको कुरा सकारी प्रतिउत्तर दिएको देखिन आएको हुनाले निजहरुको वादी बेगर निजहरुको हक पनि बदर हुने भन्न कानूनले नमिल्ने ।

(प्रकरण नं. १६)

 

पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव

प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर प्रतिवादीको पुनरावेदनको अनुमति पाउन परेको निवेदनमा अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ :

२.    पति इन्द्रमानको २ श्रीमतीमा जेठी म फिरादी र कान्छी विपक्षी चन्द्रकलादेवी भन्ने चन्द्र हुन् म तर्फबाट १ छोरा प्रल्हाद र कान्छी तर्फका छोरा विपक्षी विनोद बस्नेत हुन् । हामीहरुको बाबु पति स्वर्गे हुनु भयो । घरको मुख्य विपक्षी चन्द्रा भएकी र अंश पाउँ भनी का.जि.अ.मा मुद्दा चलाउँदा लोग्ने इन्द्रमानको आर्जनको सम्पत्ति मध्ये आधा अंश पाउने ठहरी मिति २०३६।३।१८ मा फैसला भई बण्डा छुट्याई पाउन दर्खास्त गर्दा छुट्याउनु पर्ने जग्गा सुनसरी जिल्ला अन्तर्गतको भई तायदातीमा देखाएको जग्गाको श्रेस्तामा हेर्दा पतिका नाउँको जग्गा नामसारी गरी बिक्री वितरण गरेको जस्तो पारी आफन्तका नाउँमा राखेको थाहा पाएकोले आ.व.गा.पं. वडा नं. ५ कि.नं. ७८ को ११५, कि.नं. ७९ को ०१११० समेत ज.बि. २१० जग्गा छिपाएको रहेछ । चन्द्रकला बस्नेले हक छाडी आफ्नी आमा पदमकुमारीलाई बाबु पतिले २०२६ सालमा खरीद गरी विपक्षीका नाउँमा दर्ता गरी राखी भोगी आएको जग्गा २०३४।११।१० मा पास गरी दिएको थाहा भयो अंश मुद्दा परेपछि सो मुद्दामा तायदातीमा समेत नदेखाई दवाई छपाएको देखिँदा छिपाउनेको हक समाप्त भई उजूरवालाले पाउने हुँदा पदमकुमारीले छोडपत्र गराई लिएको २०३४।११।९।२ को लिखत २०३४।११।१० मा पास गराएको लिखत बदर गरी दवाए छपाएको जग्गा अंश बण्डाको २७ नं. बमोजिम एकलौटी हामी फिरादीले पाउने हुँदा हाम्रो  नाउँमा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.    कि.नं. ७८ र ७९ को जग्गा इन्द्रमानको निजी आर्जन नभई चन्द्राको निजी आर्जन हुँदा निजले आफूखुसी गर्न पाउने हो बण्डा गर्न कर नलाग्ने हुँदा मलाई गरी दिएको छोडपत्र लिखत र त्यसको आधारमा भएको दर्ता बदर हुने होइन भन्ने समेत पदमकुमारीको प्रतिउत्तर ।

४.    वादीको दावीको जग्गा मेरा बाबु माइतीले दिएको निजी रुपैयाँ मध्ये ५०००।५००० को दरले नरवदालाई रुपैयाँ बुझाई छुट्टा छुट्टै राजीनामा गराई लिएको निजी आर्जनको जग्गा हुँदा आफ्नु मन्जूरीले रिजगुन समेतबाट २०००।मूल्य लिई पद्मकुमारीलाई हक छाडी दिएको छु । विपक्षीको हक दावी पुग्ने अवस्था छैन भन्ने समेत चन्द्रकला देवीको प्रतिउत्तर ।

५.    प्रल्हाद बस्नेतको हकमा फिरादपत्र दायर गर्न वारेसलाई अधिकार नै प्राप्त भएको नदेखिएबाट निज प्रल्हादको हकमा समेत निर्णय गर्न मिल्ने देखिएन चन्द्रा बस्नेतले पद्मकुमारीलाई २०३४।११।९ मा छोडपत्र गरी दिएको दावीको जग्गा निजको निजी आर्जन भनी प्रमाणित हुन नसकेकोले यस फिरादबाट कायम भएका वादी तारादेवीको हकमा मात्र निर्णय दिन मिल्ने भई निजको हक लाग्ने दावीको आधा जग्गासम्म चन्द्रा बस्नेत र पद्मकुमारी बीच भएको छोडपत्र लिखत बदर हुन्छ तारादेवीले एकलौटी दर्ता गरी भोगचलन गर्न पाउने ठहर्छ भन्ने शुरु सु.जि.अ.को फैसला ।

६.    उक्त इन्साफमा चित्त बुझेन भन्ने पद्मकुमारी चन्द्रादेवी बस्नेत समेतको कोशी अञ्चल अदालतमा परेको पुनरावेदन ।

७.    पु.वे.चन्द्रकला देवीले पदमकुमारीलाई यो विवादको जग्गा छोडपत्र गरी दिएको देखिएकोले वादी तारादेवीको हकलाग्ने वादी तारादेवीको वादी दावीको आधा जग्गासम्म प्र.चन्द्रा बस्नेत र पदमकुमारीको बीच भएको छोडपत्र बदर गर्ने र सो बदर भएको हदसम्मको जग्गा वादी तारादेवीले एकलौटी दर्ता गरी भोगचलन गर्न पाउने ठहराएको शुरुको इन्साफ मनासिब छ भन्ने कोशी अञ्चल अदालतको फैसला ।

८.    उक्त इन्साफमा प्रत्यक्ष गम्भीर कानूनी त्रुटि भएको हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने चन्द्रकला देवी बस्नेत र पदमकुमारी खड्काको छुट्टा छुट्टै निवेदन ।

९.    दपोट ठहराएको कोशी अञ्चल अदालतको फैसला प्रत्यक्ष विवादरहित कानून त्रुटिपूर्ण देखिनाले न्या.प्र.सू. ऐन, २०३१ को दफा १३(३) खण्ड (ख) र (घ) अनुसार पुनरावेदनको लागि अनुमति प्रदान गरिएको छ भन्ने समेत पू.क्षे.अ.को आदेश ।

१०.    विवादको जग्गा मेरो निजी आर्जनको नरमदा कुमारीबाट २०२६।२।३ र २०२८।७।८ मा पारित गराई लिएको राजीनामा लिखतको जग्गा अरुको हक नलाग्ने स्त्री अंश धनको १ र ४ नं. बमोजिम एकलौटी हक भन्ने जिकिर लिएकोमा पुनरावेदक चन्द्रादेवी बस्नेतबाट एकलौटी हक हुने सबूद पेश हुन नआएबाट विवादको जग्गा सगोलकै मान्नु पर्ने । आफ्नो नाममा आर्जन भएको सगोलको सम्पत्तिमा अंशियारको हक मेटाई दबाउने छपाउने उद्देश्यले पुनरावेदक चन्द्रादेवी बस्नेतले तायदातीमा नदेखाई आफ्नो आमा पदमकुमारीको हक देखाई छोडपत्र गरी दिएको देखिँदा वादी तारादेवीको दावी बमोजिम २०३४।११।१० मा भएको छोडपत्र लिखत बदर हुने ठहर्छ । अंशबण्डाको २७ नं. मा नदबाउने अरु अंशियारले ऐन बमोजिम अंश गरी खान पाउँछ भन्ने लेखिएबाट २०३४।११।१० मा छोडपत्रमा लेखिएको कि.नं. ७८।७९ को जग्गा तारादेवी, निजको छोरा प्रल्हाद चन्द्रादेवीको छोरा विनोद बस्नेत समेत ३ अंशियारले जनही ०१५१० का दरले अंश गरी खान पाउने ठहर्छ । ०३४।११।१० का लिखत आंशिक रुपमा बदर गरी बाँकी जग्गा पदमकुमारीको हक कायम राखी १५ जग्गा फिरादीको नाममा एकलौटी दर्ता गरी  भोगचलन गर्न पाउने ठहर गरेको शुरुको इन्साफ सदर गरेको कोशी अञ्चल अदालतको फैसला केही उल्टी हुन्छ भन्ने पू.क्षे.अ.को फैसला ।

११.    पू.क्षे.अ.को इन्साफ त्रुटिपूर्ण हुनाले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्र.चन्द्रादेवी र प्र.पद्मकुमारीको छुट्टा छुट्टै निवेदनपत्र ।

१२.    वादी प्रतिवादीको बीचमा अंश मुद्दा परी २०३४।३।२८।४ मा वादीले अंश नपाउने गरी पू.क्षे.अ.बाट फैसला भइसकेपछि विवादको जग्गा २०३४।११।१० मा बिक्री भएको त्यसपछि स.अ.बाट २०३५।८।१९ मा तायदाती माग भएको देखिन्छ । तायदाती माग हुनु भन्दा अगावै छोडपत्र भइसकेको सम्पत्ति तायदातीमा पर्ने स्थिति नहुँदा सो जग्गा दपोट गरेको ठहर्‍याएको पू.क्षे.अ.को फैसला मुलुकी ऐन अंश बण्डाको २७ नं. को व्याख्याको त्रुटि देखिँदा न्या.प्र.सु. ऐन, २०३१ संशोधन ऐन, २०४३ को दफा १३(५)(ख) को प्रश्नमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने सर्वोच्च अदालत संयुक्त इजलासको आदेश ।

१३.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट बहसको लागि उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव र प्रत्यर्थीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले गर्नु भएको बहस सुनी पुनरावेदन जिकिर सहितको मिसिल अध्ययन गरी पू.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ भनी इन्साफतर्फ विचार गर्दा तारादेवी र प्रल्हाद बस्नेत वादी भनी देखाई वारेसद्वारा फिराद दिएको भए पनि प्रल्हाद बस्नेतको कानून बमोजिमको वारेसनामा नभएको वा शुरु जि.अ.ले निजको वादी कायम नगरी वारेसनामा दिएका तारादेवीको हकमा मात्र वादी कायम गरी फैसला भएकोमा वादी भनिएका प्रल्हाद बस्नेतको सो फैसला उपर पुनरावेदन नपरेको र तारादेवी १ जना मात्र वादी कायम गरी दावीको जग्गा दवाए छिपाएको ठहर्‍याए पनि वादीले आधी मात्र पाउने भनी सोही हदसम्म मात्र लिखत बदर गरेकोमा निज तारादेवीको पनि पुनरावेदन नपरेको बाट प्रस्तुत मुद्दामा परेको यो फिराद पुनरावेदनको जिकिर बमोजिम हदम्याद भित्रको हो, होइन ? दपोट ठहर्‍याई लिखत बदर गरेको मनासिब छ, छैन भन्नेसम्मको प्रश्नको इन्साफ दिन पर्ने देखियो ।

१४.    सर्वप्रथम प्रस्तुत फिराद म्याद नाघी परेको भन्ने हकमा पुनरावेदक तर्फबाट क्षेत्रीय अदालतबाट वादीले अंश नपाउने ठहरी फैसला भई सकेपछि पुनरावेदकले पद्मकुमारीलाई छोडपत्र गरी दिएको हुँदा क्षेत्रीय अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गर्ने अनुमति पाउँ भनी निवेदन दिएकै भए पनि क्षेत्रीय अदालतबाट अन्तिम फैसला भइसकेको हुँदा मुद्दा पर्दा पर्दैको अवस्था छोडपत्र गरी दिएको भन्न नमिल्ने भई हदम्याद नलाग्ने भन्न नमिल्ने । अंश मुद्दाकै नाताबाट लिखत बदर गरी पाउँ भन्ने दावी लिएको हुँदा तायदाती दिँदा दबाए छपाई राखेको भन्ने आधारमा पनि लिखत बदरमा उजूर गर्न हदम्याद नलाग्ने भन्ने मुख्य जिकिर लिएको देखिन आउँछ । मिसिल अध्ययन गर्दा प्रस्तुत मुद्दाको वादीले आफ्नु फिरादमा सर्वोच्च अदालतबाट तायदाती लिई अंश पाउने ठहरिए बमोजिम अंश छुटयाई पाउन दर्खास्त दिने अवस्था दावीको जग्गा तायदातीमा देखाउनु पर्ने नदेखाई अर्काको नाउँमा छोडपत्र गरी लुकाई दबाई राखेको देखिएकोले सो लिखत बदर गरी लिखतको जग्गामा एकलौटी हक कायम गरी दर्ता समेत बदर गरी पाउँ भन्ने समेत व्यहोराको दावी देखिएबाट प्रस्तुत मुद्दामा वादीले दावीको लिखत बदर गरी पाउँ भनी अंश मुद्दा परेको नाताबाट दावी लिएको नदेखिई मुद्दाबाट अंश पाउने ठहरी तायदाती लिई वा तायदातीमा देखाउनु पर्ने जग्गा तायदातीमा नदेखाई अरुको नाममा छोडपत्र गरी दवाई छपाई राखेको भनी लिखत बदर गरी पाउँ भन्ने दावी लिएको देखिन आएको ।  यस्तो तायदातीमा दिनुपर्ने नदिएको कुरामा अंशियारको जिय जियसम्म उजूर लाग्ने अंशबण्डाको ३५ नं. मा व्यवस्था भएको देखिन आएबाट प्रस्तुत फिराद म्याद नाघी परेको भन्ने पुनरावेदकतर्फका जिकिर मनासिब देखिन आएन ।

१५.   अरु दावी बमोजिम तायदातीमा नदेखाई दबाई छपाई राखेको ठहर्ने नठहर्ने के हो भन्ने तर्फ विचार गरेमा अंश मुद्दामा मिति २०३०।६।१७ सम्मको बण्डा गर्नुपर्ने सम्पत्तिको तायदाती लिई बण्डा गरी दिनु भन्ने सर्वोच्च अदालतबाट फैसला भई रहेबाट प्रतिवादीले सो मितिसम्म आफ्नो जिम्मामा रहेको सम्पत्ति तायदातीमा देखाउनु पर्ने बाध्यता भएको यदि सो मितिसम्म आफ्नो जिम्मामा रहेको सम्पत्ति फैसला अनुसार तायदाती दिँदा सम्ममा हस्तान्तरण या अरु कुनै व्यहोराबाट अरु कसैको नाममा गइसकेको भए सोही व्यहोरा देखाई तायदातीमा दिनु पर्नेमा तायदाती दिँदा सो व्यहोरा समेत नदेखाई तायदाती दिएको देखिन आएको । जहाँसम्म दावीको जग्गा २०२२ सालमा प्रतिवादीको नाममा राजीनामा लिई हक भएकोबाट बण्डा दिन नपर्ने स्त्री अंश धन अन्तर्गत पर्ने जग्गा हो भन्ने जिकिरको हकमा सो जग्गा राजीनामा लिँदा दाइजो पेवाबाट लिएको हो भन्ने कुरा राजीनामा छोडपत्रमा किटानी साथ लेखिएको नदेखिएको र पुनरावेदक २०३०।६।१७ सम्म वादीसंग सगोलमा रहेको कायम भएकोले सगोलमा रहँदाको अवस्था सगोलको अंशियारको नाउँमा आर्जन गरिएको सम्पत्तिमा सबै अंशियारको अंशभाग लाग्ने नै हुँदा त्यस्तो सम्पत्ति माथि लेखी देखाइए बमोजिम गरी आफूले दिएको तायदातीमा देखाउनु पर्ने नदेखाएबाट त्यस्तो सम्पत्ति वादीको अंश हक मेट्न दवाई छपाई राखेको होइन भन्न नमिल्ने हुँदा अंश बण्डाको २७ नं. बमोजिम दवाई छपाई राखेको ठहर्‍याएको शुरु अञ्चल अदालतको इन्साफ मनासिब ठहर्‍याएको क्षेत्रीय अदालतको इन्साफ मनासिबै देखिन्छ ।

१६.    वादीको जग्गा दवाई छपाई राखेको ठहरेकोले त्यस्तो जग्गाको छोडपत्र गरी दिएको लिखत के कति हद सम्म बदर हुने हो भनी विचार गरिएमा अंश मुद्दाबाट जम्मा ४ अंशियार देखिएको र सो मुद्दामा पुनरावेदक चन्द्रा देवीले सम्म तायदाती दिई सोही तायदातीमा नदेखाई दबाए छपाएको भन्ने कुरा हुँदा अरु बाँकी ३ अंशियारले कानून बमोजिम गरी बण्डा गरी खान पाउने अंशबण्डाको २७ नं. मा भएको व्यवस्थाबाट देखिन्छ । तर त्यसरी अंशबण्डा गरी खान पाउने अंशियार मध्ये वादी मध्येको प्रल्हाद बस्नेतको कानून बमोजिमको वारेशनामा नभएकोबाट निजको फिराद कायमै नभएको र अंशियार मध्येको विनोद बस्नेतको पुनरावेदक चन्द्रादेवीले छोडपत्र गरी दिएकोमा आफ्नो हक बदर गरिपाउँ भन्ने फिराद नपरी प्रतिउत्तर दिँदा पुनरावेदकले नै निजको हकमा समेत भनी छोडपत्र गरेको कुरा सकारी प्रतिउत्तर दिएको देखिन आएको हुनाले निजहरुको वादी बेगर निजहरुको हक पनि बदर हुने भन्ने कानूनले नमिल्ने हुँदा दावीको जग्गा मध्ये विपक्षी वादीले पाउने ३ खण्डको १ खण्ड सम्म दावी बमोजिम लिखत बदर भई वादीले एकलौटी खान पाउने भनी ठहर गर्नु पर्नेमा सम्पूर्ण लिखत बदर गरी दावीको जग्गा ३ जनालाई बराबरका दरले बण्डा गर्ने गरेको सम्म पु.क्षे.अ.को इन्साफ बदर हुने ठहर्छ अरुमा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले पूर्वाञ्चल क्षेत्रीय अदालतको २०४३।५।२९ को फैसलाको तपसील खण्डमा लेखिए बमोजिम लगत राख्न नपर्ने हुँदा सो लगत कट्टा गरीदिन सुनसरी जि.अ.मा लगत दिनु...१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले मिति २०३४।११।१० को छोडपत्रको जग्गाको ३ खण्डको १ खण्ड वादी तारादेवीले एकलौटी खान पाउने हुँदा वादी दावीको कि.नं. ७८, कि.नं. ७९ को जग्गाबाट ३ खण्डको १ खण्ड जग्गा वादी तारादेवीको नाउँमा दर्ता गरिपाउँ भन्ने दर्खास्त परेका बखत कानून बमोजिम दर्ता गरी  दिन पुर्जी गरी दिनु भनी सुनसरी जि.अ.मा लगत दिनु.....१

वादी तारादेवी बस्नेतके माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले वादीले दर्ता गर्दा राखेको कोर्टफी १२०।मध्ये ३ खण्डको १ खण्ड रु. ४०।प्रतिवादीबाट भरी पाउने हुँदा कानूनको म्याद भित्र दर्खास्त परे केही दस्तूर नलिई प्रतिवादी चन्द्रकला भन्ने चन्द्रदेवी र पदमकुमारीबाट बराबरका दरले भराई दिन लगत राख्नु भनी शुरु सुनसरी जिल्ला अदालतमा लगत दिनु...४

 

उक्त रायमा म सहमत छु ।

न्या.बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४५ साल फाल्गुण ४ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु