निर्णय नं. ६७५८ - नागरिकता किर्ते ।

निर्णय नं. ६७५८ ने.का.प. २०५६ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
सम्वत् २०५१ सालको फौ.पु.नं. .. ८८०
फैसला मितिः २०५५।१०।१८।२
मुद्दाः नागरिकता किर्ते ।
पुनरावेदक
वादी : जिल्ला कार्यालय लमजुङको पत्रले श्री ५ को सरकार
विरुद्ध
विपक्षी
प्रतिवादीः लमजुङ जिल्ला वाग्लुङपानी गा.वि.स. वडा नं. ९ वस्ने ज्ञानमाया घर्ती समेत
§ किर्ते कागजको १ नं. को व्यवस्था हेर्दा कस्तो अवस्था पर्दा किर्ते गरेको ठहर्ने हो भनि स्पष्ट व्यवस्था भएको पाइन्छ । हस्ताक्षर वा औंलाको ल्याप्चे सही निशाना र छाप इत्यादि झुठा गरी बनाई सकेको भन्ने तथ्य स्थापित हुनु पर्दछ । जसको सही किर्ते भएको भनिएको हो निज व्यक्तिको सनाखत गराइएको छैन । अड्डाको छाप किर्ते गरेको भन्ने तर्फ त्यस्तो झुठा छाप वरामद भएका छैन । के कुन आधारबाट किर्ते गरेको भन्ने हो सो तर्फ अनुसन्धान अवस्था मै तहकिकात गरी स्पष्ट आधार प्रमाण पुर्याउन सक्नु पर्छ । सर्जमीनका व्यक्तिले ज्ञानमाया किर्ते गर्न सक्ने व्यक्ति होइन भनी लेखाई दिए तर्फ समेत वादी पक्षबाट खण्डन हुन सकेको स्थिति छैन । गोपीप्रसाद गुरुङ भन्ने मानिस भारतमा वसी काम गर्ने व्यक्ति भन्ने देखिन्छ र निज घरमा आएको अवस्था पारी के कुन रीतबाट किर्ते गरेका हुन खुल्दैन । यस्तो अवस्थामा शुरुले सफाइ दिएका प्रतिवादीहरु ज्ञानमाया घर्ती र गोपी प्रसाद गुरुङको सम्वन्धमा कुनै परिवर्तन गरिरहनु परेन । शुरु सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला मिलेकै देखिने ।
§ जहांसम्म नागरिकता सम्वन्धी ऐन, २०२० को दफा १५ को प्रश्न छ त्यसतर्फ विचार गर्दा दफा १५ को अध्ययन गरिनु पर्ने हुन आउंछ । उक्त दफा १५ हेर्दा झुटृा विवरण वा वयान दिई नेपालको अंगिकृत नागरिकता वा जन्म वा वंशजको नाताले नागरिकता प्राप्त गर्ने गराउने व्यक्ति वा सो गर्ने गराउने उद्देश्य जानी जानी झुटृो विवरण वा वयान दिई सिफारिश गर्ने व्यक्ति वा सो गर्ने उद्देश्यले झुटृो विवरण वा वयान दिई आवेदन पत्र दिने नै व्यक्तिलाई गरिने सजायको व्यवस्था भएको पाइन्छ । वादी दावीमा सो अनुसार झुठोे विवरण वा वयानको आधारमा नागरिकता प्राप्त गरेको भन्ने नभई प्र.जि.अ. को किर्ते सही र कार्यालय समेतको किर्ते छाप कटाई किर्ते गरेको भन्ने वादी दावी रहेको छ, झुठृो विवरण पेश गर्नु र सहीछाप नै किर्ते गर्नु अलगअलग विषयवस्तु देखिन आउने हुन्छ । वादी स्वयंले झुटृो विवरण वा वयान दिएको भनि कस्तो झुठृो विवरण र वयान पेश गरी आफ्नो भनाइको पुष्टि गर्न सकेको देखिदैन । प्रमाण पुर्याई दावी लिन नसकेको अवस्थामा सजाय गर्न मिल्ने नदेखिंदा प्रतिवादी पदमराज घले तथा गोपी प्रसाद गुरुङ समेत उपरको नागरिकता ऐन, २०२० वमोजिम सजाय गरी पाऊ भन्ने वादी दावी पुग्न सक्ने नदेखिदा प्रतिवादीहरुलाई सफाइ दिने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिई मुनासिव ठहर्ने ।
(प्र.नं. २२)
पुनरावेदक वादी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री दिनेशहरी अधिकारी
विपक्षी प्रतिवादी तर्फबाटः
अवलम्वित नजिर :
फैसला
न्या.केदारनाथ आचार्यः शुरुको इन्साफ केही उल्टी गर्ने गरी गरेको पुनरावेदन अदालतको फैसला उपर पर्न आएको पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
२. मेरो लोग्ने विन वहादुर मरेका हुंदा पेन्सनको लागि नागरिकता चाहिएकोले फोटो लगी पदमराजलाई दिएको निजले कसरी बनाए निजै जानुन् भन्ने ज्ञानमायाले जि.का. लमजुङमा गरेको वयान ।
३. ज्ञानमाया, गोपी प्रसाद, पदमराज मिली ज्ञानुमायाको नागरिकता किर्ते गरी बनाएकोले ज्ञानुमाया र किर्ते नागरिकता पेश गरेको छु । पदमराजलाई पक्राउ गरी कारवाही गरी पाउं भन्ने समेत जिल्ला कार्यालय लमजुङको पत्र ।
४. लोग्ने विन वहादुर परलोक भएकोले पेन्सन खान नागरिकता आवश्यक परेका, गोपी गुरुङले पदमराज कहां जाउं भनेकाले फोटो र कार्ड पदमराजलाई दिए निजले कहांबाट कसरी बनाए मलाई थाहा छैन भन्ने समेत ज्ञानुमायाले जि.प्र.का. लमजुङमा गरेको कागज ।
५. ज्ञानुमाया घर्ती किर्ते नागरिकता बनाउन सक्ने व्यक्ति होइन । पदमराजले कहां कसरी बनाए भन्ने समेत व्यहोराको सर्जमीन ।
६. ज्ञानमाया मेरै गाउंकी मानिस भएकीले नाता प्रमाणित निवेदन लेखी दिएको हुं सो वाहेक किर्ते नागरिकता सम्वन्धमा मलाई केही थाहा छैन भन्ने समेत गोपी गुरुङले जि.प्र.का. लमजुङमा गरेको कागज ।
७. ज्ञानमाया घर्तीको पेन्सनको पटृाको आधारमा गेनमाया भनी सिफारिश गरेको हुं नागरिकताको लागि सिफारिस गरेको होइन भन्ने समेत श्री प्रसाद गुरुङले जि.प्र.का. मा गरेको कागज ।
८. ज्ञानुमाया, पदमराज घले, गोपी गुरुङ समेतले मु.ऐन किर्ते कागजको १ नं. विपरीत अपराध गरेकाले ज्ञानमायालाई किर्ते कागजको १२ नं. वमोजिम र पदमराज, गोपी प्रसाद गुरुङ कार्यालयको छाप किर्ते गराई किर्ते नागरिकता बनाएमा किर्ते कागजको १२ नं. र नेपाल नागरिकता ऐन, २०२० को दफा १५ वमोजिम संजाय गरी पाउं भन्ने समेत प्रहरी प्रतिवेदन दावी।
९. मेरो पति विनवहादुर भर्ती हुंदा घर्तीलाई गुरुङ लेखाउनु भएको र मेरो नाम गेन कुमारी लेखाउनु भएको पेन्सनको लागि गुरुङ भनी नागरिकता चाहिएको पदमराजले बनाई ल्याई दिएको हो के कसरी बनाए मलाई थाहा छैन भन्ने समेत ज्ञानुमायाले अदालतमा गरेको वयान ।
१०. ज्ञानुमाया घर्ती हुन । जिल्ला कार्यालयका तत्कालीन प्र.जि.अ.को विरुद्ध सर्वोच्च अदालतमा रिट हालेको रिसइवीले पोल गरेको हो । मैले कुनै नागरिकता किर्ते गरेको होइन, छैन भन्ने समेत पदमराज घलेले अदालतमा गरेको वयान ।
११. ज्ञानुमाया एकै गाउंकी हुंदा चिन्दछु । पदमराजलाई चिन्दिन कसले कसरी नागरिकता किर्ते गरे म जान्दिन । ज्ञानुमाया प्रहरीमा वयान गर्दा मलाई किन पोल गरीन् म जान्दीन मेरो कुनै रिसइवी छैन । मैले किर्तेमा संजाय पाउनु पर्ने होइन । प्रहरी प्रतिवेदन दावी झुठृा हो भन्ने समेत गोपीप्रसाद गुरुङले अदालतमा गरेको वयान ।
१२. ज्ञानुमाया घर्ती हुन । आफ्नो लोग्नेको पेन्सन खान गुरुङ भन्ने नामको नागरिकता निकाली दिनुस भनी म संग भनेकी थिइन् । मैले प्र.जि.अ. सोम वहादुरसंग सल्लाह गर्दा मन्त्रालयबाट आदेश आएपछि वनाउंला भनेका थिएं । पेन्सन पटृामा भरेको आधारबाट गुरुङ भनी सिफारिश गरी दिएको हुं । मैले किर्ते नागरिकता बनाई दिएको होइन भन्ने समेत श्री प्रसाद गुरुङको अदालतमा भएको वयान ।
१३. ज्ञानुमायाको वयानबाट निजले किर्ते नागरिकता वनाउन दिएको नदेखिंदा निजले सफाइ पाउने ठहर्छ । प्र. गोपी प्रसाद गुरुङले भारतीय मेल्ट्रीको भएको नेपाली नागरिकता सम्वन्धमा आफुलाई केही थाहा नभएको भनी वयान गरेको देखिंदा निजले पनि सफाइ पाउने ठहर्छ । प्र. पदमराज अदालतमा कसुरमा इन्कार गरी वयान गरे पनि ज्ञानुमायाबाट हस्ताक्षर गरी लिएको निजको हस्ताक्षर जांच गर्न पठाउंदा कारणीको मुल स्वभावसंग समानता पाइएको भन्ने विशेषज्ञको राय भएको समेत पदमराज घलेले प्र.जि.अ. को सही र कार्यालयको छाप किर्ते गरेको ठहर्छ भन्ने समेत लमजुङ जिल्ला अदालतको फैसला ।
१४. प्र. ज्ञानु माया र प्र. गोपी प्रसाद गुरुङलाई सफाइ दिने गरेको सम्म लमजुङ जिल्ला अदालतको फैसला मिलेन । सो हदसम्म फैसला वदर गरी प्रहरी प्रतिवेदन दावी वमोजिम संजाय गरी पाउं भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन ।
१५. मैले प्र.जि.अ. को सही र कार्यालय छाप किर्ते गरेको ठहराएको शुरु लमजुङ जिल्ला अदालतको फैसलामा चित्त वुझेन । सो फैसला वदर गरी अभियोगबाट सफाइ पाउं भन्ने समेत प्र. पदमराज घलेको पुनरावेदन जिकिर ।
१६. यसमा हस्ताक्षर विशेषज्ञलाई जिरह गर्ने मौका नै नदिई निजको राय प्रमाणमा ग्रहण गरी गरेको लमजुङ जिल्ला अदालतको निर्णय त्रुटीपूर्ण देखिंदा अ.वं. २०२ नं. वमोजिम प.क्षे.स.अ. कार्यालयलाई सूचना वन्द सवालद्वारा विशेषज्ञ वुझी पेश गर्नु भन्ने पुनरावेदन अदालत पोखरा संयुक्त इजलासको आदेश ।
१७. प्रतिवादीहरु ज्ञानमाया घर्ती, गोपी प्रसाद गुरुङलाई आरोपित कसुरबाट र प्रतिवादी पदमराज घलेलाई नागरिकता ऐन, २०२० को दफा १५ को कसुरमा सफाइ दिएको समेत शुरु लमजुङ जिल्ला अदालतको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । प्रतिवादी मध्येका पदमराज घलेका हकमा किर्तेको कसुरमा समेत सफाइ दिनुपर्नेमा संजाय गरेको नमिलेको हुंदा उक्त हदसम्म शुरु लमजुङ जिल्ला अदालतको फैसला उल्टी हुन्छ । प्रतिवादी पदमराज घलेले किर्ते गरेको भन्ने आरोपबाट समेत सफाइ पाउने ठहर्छ । प्रतिवादीहरु ज्ञानमाया, गोपी प्रसाद र पदमराज घलेलाई नागरिकता ऐनको दफा १५ वमोजिम समेत संजाय गरी पाउं भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत पोखराको मिति २०५०।१०।२४।१ को फैसला ।
१८. उक्त पु.वे.अ.ले प्रतिवादीहरुलाई सफाइ दिने गरी गरेको फैसला त्रुटीपूर्ण हुंदा वदर गरी प्रतिवादीहरुलाई अभियोग पत्र दावी वमोजिम नै संजाय गरी पाउं भन्ने वादी श्री को सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।
१९. यसमा विवादित किर्ते भनिएको नागरिकताको सक्कल प्रमाणपत्र प्रतिवादी पदमराजको अदालतबाट लिइएको नमुना हस्ताक्षर र विशेषज्ञले दिएको राय समेतका सक्कल कागजात पुनरावेदन अदालत पोखराबाट मिति २०४९।५।२९ मा काठमाण्डौ जिल्ला अदालतमा पठाएको भनेको कागज मध्ये विशेषज्ञको नामको म्याद र वन्द सवाल मात्र प्राप्त भएको भन्ने काठमाण्डौ जिल्ला अदालतको अर्दली सानुमाया महर्जनले दिएको प्रतिवेदनबाट देखिन्छ । यसरी सक्कल लिखतहरु सवै गायव गरे गराएकोबाट न्याय संपादन कार्यमा प्रतिकूल असर पर्ने मात्र नभई अडृाखानामा रहेका सक्कल कागज गायव हुंदै गएमा न्याय प्रशासन प्रति जनआस्थामा आंच आउने समेत हुंदा कसले यस्तो कार्य गरेको हो छानविन गरी त्यस्तो कार्य गर्ने उपर कानून वमोजिम कारवाही गर्नुपर्ने देखिएकोले सम्माननीय प्रधान न्यायाधीश समक्ष यो विषय प्रस्तुत गरी निकासा भए वमोजिम गर्नु भन्ने यस अदालतको संयुक्त इजलासको मिति २०५४।४।२२।४ को आदेश ।
२०. यसमा विवादित किर्ते नागरिकताको प्रमाणपत्रमा लेखिएको अक्षर र प्रतेवादी पदमराजको नमुना हस्तलिपीसंग भिडेको भन्ने रेखा विशेषज्ञको रायको ओ.सि. कपीको फोटोकपीबाट देखिएकोले निजलाई सफाइ दिने गरेको पुनरावेदन अदालत पोखराको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको सोही मितिको सोही इजलासको आदेश ।
२१. यसमा पदमराज घलेको नाममा २०५४।७।१७ मा तामेल भएको म्याद अ.वं. ११० नं. अनुसार साक्षी समेत नराखी तामेल भएको समेतबाट वेरीत देखिएकोले सो तामेली म्याद वदर गरी दिएको छ । यस्तो लापरवाहीयुक्त तामेली गर्ने कर्मचारीलाई कारवाही समेत गरी त्यसको नतिजा सहित पुनः रीतपुर्वकको म्याद पठाई तामेली भै आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको संयुक्त इजलासको मिति २०५५।५।१५।२ को आदेश ।
२२. नियम वमोजिम दैनिक मुद्दा पेशी सुचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल एवं कागजात समेत अध्ययन गरी हेर्दा यसमा प्र. ज्ञानमायाले स्वर्गीय लोग्ने विन वहादुरको पेन्सन लिने उद्देश्यले पदमराज घले तथा गोपीप्रसाद गुरुङलाई हात लिई नेपाली नागरिकताको प्रमाण पत्र किर्ते गर्नेमा निज ज्ञानमायाको सहमती भएकोले तीन जनाले किर्ते कागजको १ नं. को विपरीतको अपर।ध गरे वापत ऐ. किर्ते कागजको १२ नं. अनुसार कारवाही हुन र गोपीप्रसाद पदमराज घलेलाई नागरिकताको प्रमाणपत्रमा झुठो विवरण लेखी नागरिकता ऐन, २०२० को दफा १५ अनुसार अपराध गरेको देखिएको हुंदा संजाय हुन माग दावी लिई प्रहरी प्रतिवेदन परेकोमा जिल्ला अदालतवाट प्र. ज्ञानमाया घर्ती र गोपीप्रसाद गुरुङलाई आरोपित कसुरबाट सफाइ दिएको र प्रतिवादी पदमराज घलेलाई किर्ते तर्फको अभियोग ठहरेको नागरिकता सम्वन्धमा कसुर गरेको नठहरी सफाइ दिएको पाइन्छ । जिल्ला अदालतको उक्त फैसला उपर वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन पर्दा प्रतिवादीहरु ज्ञानमाया घर्ती, गोपीप्रसाद गुरुङलाई आरोपित कसुरबाटै र प्रतिवादी पदमराज घलेलाई नागरिकता ऐन, २०२० को दफा १५ को कसुरमा सम्म सफाइ दिएको मिलेकै भई लमजुङ जिल्ला अदालतको फैसला सो हदसम्म सदर भएको र प्र. पदमराज घलेलाई अभियोग दावीबाट सफाइ दिनुपर्नेमा शुरु लमजुङ जिल्ला अदालतबाट किर्तेतर्फ नीजलाई संजाय गरेको मिलेको नहुंदा सो हदसम्म उल्टी हुने ठहराई पु.वे.अ. पोखराबाट नीज प्र. पदमराज घलेले किर्तेतर्फ समेत सफाइ पाएको देखिन्छ । पुनरावेदन अदालतको इन्साफमा चित्त नवुझी वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ । वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री दिनेशहरी अधिकारीले गर्नु भएको सोही मिलानको वहस समेत सुनी पु.वे.अ. पोखराको फैसला मिले नमिलेको के रहेछ भन्ने तर्फ विचार गर्दा वादी श्री ५ को सरकारको पुनरावेदन हेर्दा प्रतिवादीहरु पदमराज घले ज्ञानमाया घर्ती र गोपीप्रसाद गुरुङको हकमा किर्ते कागजको १२ नं. वमोजिम संजायको दावी र प्रतिवादीहरु पदमराज घले तथा गोपीप्रसाद गुरुङको हकमा किर्ते कागजको १२ नं. का साथै नागरिकता ऐन, २०२० को दफा १५ वमोजिम संजायको दावी देखिन्छ । ज्ञानमाया घर्ती र गोपीप्रसाद गुरुङलाई आरोपित कसुरबाट शुरु एवं पुनरावेदन तहवाट सफाइ दिएको स्थितिमा पुनरावेदन दावी लिंदा वादी पक्षले आफ्नो आधार प्रमाणबाट अदालतको निर्णय त्रुटीयुक्त भएको स्पष्टतः उल्लेख गर्नु पर्दछ । त्यसप्रकार खण्डन हुन सक्ने आधार प्रमाणको अभावमा पुनरावेदन जिकिर लिएकै भरले दुवै प्रतिवादीहरु ज्ञानमाया घर्ती र गोपी प्रसाद गुरुङले वादी दावी वमोजिमको कसुर गरेको रहेछ भनि भन्न मिल्ने हुंदैन । किर्ते कागजको १२ नं. हेर्दा सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको छाप दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई संजाय गर्ने व्यवस्था रहेको पाइन्छ । किर्ते कागजको १ नं. को व्यवस्था हेर्दा कस्तो अवस्था पर्दा किर्ते गरेको ठहर्ने हो भनि स्पष्ट व्यवस्था भएको पाइन्छ । हस्ताक्षर वा औंलाको ल्याप्चे सही निशाना र छाप इत्यादि झुठा गरी बनाइसकेको भन्ने तथ्य स्थापित हुनु पर्दछ । जसको सही किर्ते भएको भनिएको हो निज व्यक्तिको सनाखत गराइएको छैन । अड्डाको छाप किर्ते गरेको भन्नेतर्फ त्यस्तो झुठा छाप वरामद भएको छैन । के कुन आधारबाट किर्ते गरेको भन्ने हो सो तर्फ अनुसन्धान अवस्था मै तहकिकात गरी स्पष्ट आधार प्रमाण पुर्याउन सक्नु पर्छ । सर्जमीनका व्यक्तिले ज्ञानमाया किर्ते गर्न सक्ने व्यक्ति होइन भनी लेखाई दिएतर्फ समेत वादी पक्षबाट खण्डन हुनसकेको स्थिति छैन। गोपी प्रसाद गुरुङ भन्ने मानिस भारतमा वसी काम गर्ने व्यक्ति भन्ने देखिन्छ र निज घरमा आएको अवस्था पारी के कुन रीतबाट किर्ते गरेका हुन खुल्दैन । यस्तो अवस्थामा शुरुले सफाइ दिएका प्रतिवादीहरु ज्ञानमाया घर्ती र गोपी प्रसाद गुरुङको सम्वन्धमा कुनै परिवर्तन गरि रहनु परेन । शुरु सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला मिलेकै देखिन्छ ।
अर्का प्रतिवादी पदमराज घलेको हकमा विचार गर्दा जहांसम्म किर्ते कागजको १२ नं. वमोजिम संजायको दावी छ । त्यसतर्फ वादी पक्षले स्पष्ट आधार प्रमाण लिई आफ्नो दावी समर्थन गराउन नसकेको स्थितिमा शुरुबाट सो हदसम्म गरेको फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको इन्साफ मिलेकै देखिन्छ । अव जहांसम्म नागरिकता सम्वन्धी ऐन, २०२० को दफा १५ को प्रश्न छ त्यसतर्फ विचार गर्दा दफा १५ को अध्ययन गरिनु पर्ने हुन आउंछ । उक्त दफा १५ हेर्दा झुठो विवरण वा वयान दिई नेपालको अंगिकृत नागरिकता वा जन्म वा वंशजको नाताले नागरिकता प्राप्त गर्ने गराउने व्यक्ति वा सो गर्न गराउने उद्देश्य जानी झुठो विवरण वा वयान दिई सिफारिश गर्ने व्यक्ति वा सो गर्ने उद्देश्यले झुठो विवरण वा वयान दिई आवेदन पत्र दिने नै व्यक्तिलाई गरिने संजायको व्यवस्था भएको पाइन्छ । वादी दावीमा सो अनुसार झुठो विवरण वा वयानको आधारमा नागरिकता प्राप्त गरेको भन्ने नभई प्र.जि.अ.को किर्ते सही र कार्यालय समेतको किर्ते छाप कटाई किर्ते गरेको भन्ने वादी दावी रहेको छ, झुठो विवरण पेश गर्नु र सहीछाप नै किर्ते गर्नु अलग अलग विषयवस्तु देखिन आउने हुन्छ । वादी स्वयंले झुठो विवरण वा वयान दिएको भनि कस्तो झुठो विवरण र वयान पेश गरी आफ्नो भनाइको पुष्टि गर्न सकेको देखिंदैन । प्रमाण पुर्याई दावी लिन नसकेको अवस्थामा संजाय गर्न मिल्ने नदेखिंदा प्रतिवादी पदमराज घले तथा गोपी प्रसाद गुरुङ समेत उपरको नागरिकता ऐन, २०२० वमोजिम संजाय गरी पाउं भन्ने वादी दावी पुग्न सक्ने नदेखिंदा प्रतिवादीहरुलाई सफाइ दिने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिई मुनासिव ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.इन्द्रराज पाण्डे
इति संवत २०५५ साल माघ १८ गते रोज २ शुभम् .................................... ।