निर्णय नं. ६७८२ - उत्प्रेषणयुक्त परमादेश

निर्णय नं. ६७८२ ने.का.प. २०५६ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा
सम्वत २०५४ सालको रि.नं. .. ३०६४
आदेश मिति : २०५५।९।२८।३
विषयः उत्प्रेषणयुक्त परमादेश ।
निवेदकः कास्की जिल्ला आर्वा विजय गा.वि.स. वार्ड नं. २ वस्ने वामदेव वराल
विरुद्ध
विपक्षी : ऐ.ऐ. वस्ने तुलसी वराल समेत
§ मुलुकी ऐन, दण्ड संजायको ४६ नं. वमोजिम निवेदकले फैसला वमोजिम पाउने अंश छुट्याई दिनु भनी पुनरावेदन अदालतको मिति २०५४।५।५ को आदेशमा प्रष्ट उल्लेख गरेको पाइन्छ । साथै अंश मुद्दामा निर्णय भै वण्डा छुटयाई पाउने अन्तिम टुंगो लागि सकेपछि कुन कानूनको आधारमा फैसला वमोजिम वण्डा छुट्याउन नमिली मुल्तविमा रहने हो, कास्की जि.अ.को ०५४।१।२० को आदेशमा नखुलेको भनि त्यस्तो हक प्रचलन गर्ने कुरामा रोकावट आउनु पर्ने कुनै कानूनी पक्ष छ कि भनि विचार पुर्याएको देखिन्छ । सोही अदालतका आदेश वमोजिम कानूनको रीत पुर्याई वण्डा मुचुल्का खडा भै आएको समेत देखिन्छ । तर पुनरावेदन अदालतले आफ्नो पूर्व आदेशको विपरीत हुने गरी २०५४।११।२१ मा आदेश गर्दा त्यस्तो आदेशबाट भएको वण्डा मुचुल्का वदर गर्नु परेको कारण पछिल्लो आदेशमा खुलेको छैन । वण्डा मुचुल्का वेरीतपूर्वक भएको अथवा पुर्याउन पर्ने रीत नपुगेको भन्ने उक्त आदेशमा उल्लेख छैन । तसर्थ पुनरावेदन अदालतवाट मिति २०५४।५।५ मा भएको आदेश वदर नभएसम्म सोहि अदालतको समान इजलासबाट अर्को आदेश गर्नु कानूनसम्मत नदेखिंने ।
(प्र.नं. २०)
§ पुनरावेदन अदालतले वण्डा मुचुल्का वदर गर्ने २०५४।११।२१ मा आदेश गर्दा तुलसी वरालको फैसला वदरतर्फ नालेस परि कारवाही चलिरहेको भन्ने समेत उल्लेख गरेको पाइन्छ । तर सोही अदालतको समान इजलासबाट २०५४।५।५ मा भएको पूर्व आदेशलाई विचार नपुर्याई आदेश गरेको देखिन्छ । अदालतबाट भएको फैसला उपर कानून वमोजिम पुनरावेदन परी वा अन्य तरिकावाट माथिल्लो तहमा विचाराधीन नभै अन्तिम रहेको स्थितिमा त्यस्तो फैसला कार्यान्वयन रोक्का राख्न सक्ने कुनै पनि व्यवस्था भएको पाइदैन । अ.वं. ८६ नं. अन्तर्गत मुद्दा परेको स्थितिमा फैसला कार्यान्वयन रोक्का राख्नु पर्छ कि भन्नलाई पनि अ.वं. ८६ नं. वमोजिम परेको मुद्दामा फैसला वदर नभएसम्म वादीको हक कायम भएको भन्न मिल्दैन । अ.वं. ८६ नं. मा भएको कानूनी व्यवस्था तर्फ हेर्दा फैसला डिसमिस मिलापत्र खारेज भएका मुद्दामा सो फैसला डिसमिस मिलापत्र खारेज भएकोले अर्काको हक समेत जाने भएको रहेछ भने जसको हक जानेछ त्यसले थाहा पाएका पैतिस दिनभित्र यसमा हाम्रो पनि हक लाग्छ यसले मात्र हारी वा डिसमिस खारेज वा मिलापत्र गराएकोले हाम्रो हक जाने होइन भनि आफ्नो हक जतिमा झगडियाको नाउंमा नालेस दिए इन्साफ गरी दिनुपर्छ भन्ने उपरोक्त कानूनी व्यवस्थाले त्यस्तो फैसलाले अर्काको हक जाने रहेछ वा रहेनछ भन्ने कुरा त्यसरी परेको फिरादबाटै एकिन हुने नभै त्यस्तो फिरादमा अदालतबाट फैसला भएपछि मात्र यकिन हुने कुरा हो । फैसलाले हकाधिकार लुप्त भएको नदखिएको भनि ठहर भएको आवस्थामा त्यस्तो व्यक्तिको हक रहेको भनि मान्न मिल्ने हुंदैन । नालेस गर्ने व्यक्तिको हक रहने हो वा होइन सोही परेको मुद्दावाट एकिन हुने कुरा हो । अड्डा अदालतबाट लामो समयको अन्तराल पश्चात निरुपित तथ्य स्थापित हकलाई व्यापक क्षेत्र रहेको अ.वं. ८६ नं. को प्रयोग भएको कारणबाट स्थगन गर्ने वा मुल्तवीमा राख्ने भन्ने कुनै प्रचलित कानूनको मनसाय र भावना होइन । न्याय दिने मात्र होइन, न्याय दिएको देखिनु पर्दछ भन्ने न्यायिक सिद्धान्तको प्रतिकूल पुनरावेदन अदालतको पछिल्लो आदेश देखिन्छ । अ.वं. ८६ नं. वमोजिम नालेस पर्ने वित्तिकै नालेसमा माग दावी भएको हदसम्म फैसला कार्यान्वयन रोक्का राख्नु पर्छ भन्ने कानून तथा न्याय दुवैको रोहबाट मिल्ने नदेखिने भनि यस अदालत पूर्ण इजलासबाट अच्यूत वल्लभ पन्त विरुद्ध शंख कुमारी पाण्डे भएको फैसला वदर हक कायम मुद्दामा २०४३।३।२७ मा सिद्धान्त प्रतिपादन भएको पाइन्छ । तसर्थः पुनरावेदन अदालत पोखराको उक्त २०५४।११।२१ को आदेश नजीर तथा कानूनको त्रुटी देखिनुका साथै सोही अदालतको ०५४।५।५ को आदेशमा उल्ल्लेखित नजीरको अवज्ञा गरेको समेत देखिंदा पुनरावेदन अदालत पोखराको उक्त मिति २०५४।११।२१ को आदेश उत्प्रेषणको आदेशद्वारा वदर हुने ।
(प्र.नं. २१)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान अधिवक्ता श्री इश्वरीप्रसाद भटृराई
विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री पुण्यप्रसाद अर्याल
अवलम्वित नजिरः अच्युत वल्लभ पन्त विरुद्ध शंखकुमारी पाण्डे, मु. फैसला वदर, पु.इ. २०४३।३।२७
आदेश
न्या.केशवप्रसाद उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) वमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ ।
२. वाजे जगन्नाथवाट जायजन्म भएका दुई सन्तानहरुमा जेठा निवेदकका पिता निलकण्ठ र काछो वालकृष्ण हुन । पिता तथा काकाको आफ्रनै कालगतिले स्वर्गारोहण समेत भइसकेकोे छ । स्व. पिताको हक खाने निवेदक तथा स्व. काका वालकृष्णको हक खाने छोरा नविनचन्द्र भएकोमा हामीहरु वीच अद्यापी अंशवण्डा नभएकोले कानून वमोजिम २ भागको १ भाग अंश पाउने ठहरी कास्की जिल्ला अदालतबाट मिति २०५२।६।२३ मा फैसला भयो । उक्त फैसला उपर नविन चन्द्रले पुनरावेदन अदालतमा पुनरावेदन गरी शुरु जि.अ.को. फैसलालाई सदर गरी २०५३।१।३१ मा फैसला भएपछि फैसला वमोजिम वण्डा छुटयाई पाउं भनि कास्की जि.अ.मा निवेदन दिई कारवाही अवस्थामा रहेको अवस्थामा नै तुल्सी वरालले निवेदक समेतलाई प्रतिवादी वनाई २०५२।६।२३ को जि.अ.को फैसला वदर गरी पाउन फिराद दायर गरी वण्डा छुट्याई पाउं भन्ने निवेदन मुल्तवी राखि पाउन निवेदन समेत गरी तहसिलदारबाट ०५४।१।२० मा मुलतवी आदेश भयो । सो उपर दण्ड संजायको ६१ नं. वमोजिम जिल्ला न्यायाधीशज्यू समक्ष निवेदन दिएकोमा कानून वमोजिम गर्नु भन्ने आदेश भयो । सो उपर निवेदकले पु.वे.अ. पोखरामा अ.वं. १७ नं. वमोजिम निवेदन गरेकोमा निवेदकको अंश मुद्दा निर्णय भै वण्डा छुट्याई पाउने अन्तिम टुंगो लागि सकेपछि कुन कानूनको आधारमा फैसला वमोजिम वण्डा छुट्याउन नमिली मुल्तवीमा रहेको हो शुरु कास्की जि.अ.को मिति २०५४।१।२० को आदेशमा नखुलेकोले कानूनसंगत नभै वेरीतको हुंदा वदर गरी दिएको छ । श्री सर्वोच्च अदालतबाट २०४२ सालको नि.नं. २०४९ मा मिति २०४३ साल आषाढ २७ गतेको फैसलामा प्रतिपादित सिद्धान्त र दण्ड संजायको ४६ नं. वमोजिम निवेदकले फैसला वमोजिम पाउने अंश छुट्याई दिनु भनि मिति २०५४।५।५ मा आदेश भयो । उक्त आदेश वमोजिम वण्डा मुचुल्का खडा भएकोमा मुचुल्का वदर गरी पाउं भनी तुल्सी वरालले जि.अ.मा २०५४।६।१४ मा निवेदन दिएकोमा प्रत्यर्थी जि.अ.बाट निवेदकले दिएको अंश फैसला वदर जालसाजी मुद्दामा सोही मुद्दाबाट ठहरे वमोजिम हुनै नै हुंदा यो मुद्दाको हकमा पु.वे.अ. पोखराको मिति २०५४।५।५ को आदेशानुसार नै दण्ड संजायको ४६ नं. अनुसार अंशवण्डा छुट्याएको देखिन आएको निवेदकको माग अनुसार वण्डा मुचुल्का वदर गर्न मिल्ने अवस्था नहुंदा प्रस्तुत मुद्दामा कानून वमोजिम गर्नु भन्ने मिति २०५४।७।८ मा आदेश भयो । उक्त आदेश वदर गराउने तुल्सी वरालले पु.वे.अ.मा अ.वं. १७ नं. वमोजिम निवेदन गरेकोमा यि निवेदिका तुल्सी वरालले यस निवेदनमा विपक्षी नविनचन्द्र उपर अंश मुद्दा दायर गरी कारवाही चलिरहेको अवस्थामा यसै निवेदकका अर्का विपक्षी वामदेव वरालले नविनचन्द्रलाई मात्र प्रतिवादी बनाई अंशको दावी गरेको र त्यसमा प्रतिवादी नविनचन्द्रले प्रतिवाद गर्दा यि निवेदिका सौतेनी आमा तुल्सी वरालको समेत उल्लेख गरेकोमा त्यसै मद्दूाबाटै देखिने यी एक अंशियार निवेदिका तुल्सी वरालको वेवास्ता गरी २०५२।६।२३ मा अंश पाउने गरी फैसला समेत भइसकेकोे र सो फैसला वदरमा यी निवेदिककाको फिराद परी कारवाही चलि रहनुका साथै निवेदिका तुल्सी वरालले नविनचन्द्र उपर दायर गरेको अंश मुद्दा चालु नै रही वामदेवको सम्वन्धमा वुझिने वा नवुझिने के हुने हो भन्ने कुराको कार्यवाही त्यसै रही रहेको अवस्थामा पनि पाइएको उता जिल्ला अदालतकै आदेशानुसार अंश मुद्दामा नविनचन्द्र समेतको सुक्रि विक्रि रोक्का रहेको र त्यो आदेश कायम रहे सम्म २०५४।६।११ को वण्डा मुचुल्का कार्यान्वयन हुन सक्ने अवस्था पनि नहुंदा यी निवेदकले दायर गरेको सवै मुद्दाहरुको अन्तिम कार्यवाही किनारा नभएसम्म वादी तुल्सी वराल वादी भै चलेको अंश मुद्दामा हुने फैसलालाई प्रत्यक्ष वा अप्रत्यक्ष असर पर्ने देखिएको हुंदा २०५४।६।११ को वण्डा मुचुल्का कायम राखि रहन नमिल्ने भएकोले त्यसलाई वदर गरि दिएको छ, कानून वमोजिम गर्नु भनि मिति २०५४।११।२१ मा आदेश भयो ।
३. प्रत्यर्थीहरुबाट भए गरिएको उपरोक्त काम कार्यवाहीहरु तथा आदेशबाट निवेदकको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) र १७ द्वारा प्रदत्त मौलिक हकमा आघात परेको र उक्त हक प्रचलन गराउने अन्य कुनै वैकल्पिक कानूनी उपचारको मार्गको विद्यमानता समेत नरहेकोले संविधानको धारा २३ अन्तर्गत सम्मानित अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गराई माग्न आएको छु ।
४. मुल पुरुष स्व. जगन्नाथबाट जायजन्म भएका अंशियारहरु स्व. पिता निलकण्ठ तथा प्रत्यर्थीहरुका पति पिता स्व. वालकृष्ण रहेकोमा विवाद छैन । मुल पुरुषको हक खाने अंशियार २ जवान मात्र रहेको भएपछि पैतृक सम्पत्ति केवल २ भाग मात्र लाग्ने पनि निर्विवाद छ । हक खाने अंशीको अन्य अंशियारहरु जे जति रहेको भएपनि माथिल्लो पुस्ताका अंशीहरु वीच मात्र वण्डा हुन सक्छ । माथिल्लो पुस्ताको २ अंशियार मध्ये एक अंशियार निवेदक रहेको भएपछि पैतृक सम्पत्ति तह तह अदालतको फैसला समेत वमोजिम २ भाग लाई वण्डा गर्नलाई खडा गरिएको वण्डा मुचुल्का वदर हुन कदापी पनि सक्दैन । प्रत्यर्थी तुल्सी वराल अंशियार नै नरहेकी प्रत्यर्थीको निवेदनपत्र ग्रहण गरी वण्डा मुचुल्का वदर गर्ने गरी भएको आदेश अंशवण्डाको ३ नं. को सर्वथा प्रतिकूल रहेको छ ।
५. प्रत्यथी तुलसी वरालको अंशियार निवेदक नरहेको यथार्थतालाई निजले स्वीकारै गरी आउनु भएको छ । अंशियार रहे भएको भए निजले नविनचन्द्र उपर दिएको अंश मुद्दामा मलाई समेत प्रतिवादी वनाउनेमा विवाद छैन । तुलसी वरालले फैसला वदर लगायतका नालेश गर्नुको कारण पनि आपसी मिलेमतो गरी वृद्ध अवस्था पुगेको निवेदकलाई अंशवाट वंचित गराउनु हो । तुल्सी वरालले केवल वालकृष्ण तर्फको मात्र अंश पाउनेमा निज वालकृष्ण तर्फको अंश यथावत नै रहेको भएपछि कानून वमोजिम स्व. पिता निलकण्ठको भाग वण्डा छुट्याएको कार्यलाई चुनौति गर्नु कदापी पनि कानूनसम्मत छैन । यस्तो निवेदनपत्र ग्रहण गरी भएको आदेश सर्वथा गैर कानूनी छ । तह तह अदालतबाट सुनिश्चित भएको अंश जस्तो नैसर्गिक हक केवल बदनियतपूर्ण तवरबाट विभिन्न मुद्दाहरु दायर गरेकै कारणबाट अन्यथा हुन कदापी पनि सक्दैन । यस्तो विवाद रहित नैसर्गिक हक उपर प्रश्न चिन्ह खडा गर्ने अधिकार प्रत्यथी पुनरावेदन अदालतलाई कदापी पनि छैन । निवेदकको निर्विवाद रुपबाट स्थापित हक उपर विवाद उत्पन्न गर्ने गरी भएको आदेश न्यायिक मनको सर्वथा अभावमा हुनुको साथै दण्ड संजायको ४६ नं. को प्रतिकूल रहेको छ । निवेदकले हालको वण्डा मुचुल्काबाट प्राप्त गरेको सम्पत्तिमा प्रत्यर्थी समेतको कुनै प्रकारको हक निहित रहेको वा भएको भन्ने प्रत्यथीको मुद्दाबाट देखिए वा ठहर भएको खण्डमा सोही फैसलाबाट तथा अन्य वण्डा मुचुल्का वदर लगायतमा नालेस गरी सार्थक उपचार प्राप्त गर्ने हक प्रत्यर्थीमा निहित रहेकोले पनि आदेश त्रुटीपूर्ण छ । समान तह र स्तरको इजलासबाट एकपटक कानून वमोजिम निरोपण भइसकेको विषयमा पुनः समानस्तरको इजलासबाट मुद्दामा वादी प्रतिवादी नै नभएकी उनाउ प्रत्यर्थी तुलसीको निवेदनपत्र ग्रहण गरी वण्डा मुचुल्का नै वदर गर्ने गरी भएको आदेशमा अधिकार क्षेत्रात्मक त्रुटी समेत भएकोले वदरभागी रहेको छ । अदालतको फैसलाबाट प्राप्त हक प्रचलन गरी पाउने दण्ड संजायको ४६ नं. निर्विवाद कानूनी व्यवस्था हो । यो एकचोटी प्रारम्भ भई सकेपछि वीचमा रोकिने तथा अन्य पूर्व शर्त पुरा भएमा मात्र कार्यान्वयन हुन सक्ने भन्ने त्यस्तो कुनै पुर्वावस्थाको गुन्जायस उक्त नं. मा नभएको प्रष्ट र विवाद रहित कानूनी प्रावधानको प्रतिकूल हुने गरी वण्डा मुचुल्कामा समावेश भएका जग्गाहरु रोक्का समेत रहेकोले कार्यान्वयन हुन नसक्ने भनि अप्रासंगिक कथनहरु उल्लेख गरी भएको आदेश उदृत र प्रेरीत रहेको प्रष्ट छ । तहतहबाट जिति पाएको फैसला कार्यान्वयनको अवस्थामा पुगेपछि कसैले वदनियत तथा दुराग्रह पूर्ण तवरबाट कुनै मुद्दा दायर गरेकै कारणबाट फैसलाको कार्यान्वयन रोकिने तथा वण्डा मचुल्का लगायत वदर हुने हो भने पक्षले न्याय पाई हकको प्रचलन हुने अवस्था नै सृजना हुंदैन । अ.वं. ८६ नं. को प्रयोग भएको झिनो कारणबाट स्थगन गर्ने मुल्तविमा राख्ने भन्ने कुनै प्रचलित नेपाल कानूनको मनसाय र भावना रहेको पनि छैन । वण्डा मुचुल्का वदर गर्ने गरी भएको आदेश अच्यूतवल्लभ पन्त, विरुद्ध शंख कुमारी पाण्डे भएको २०४२ सालको नि.नं. २००९ मा स्थापित सिद्धान्त प्रतिकूल छ । अ.वं. १७ नं. ले अन्तिम आदेश तथा फैसलालाई वदर गर्न सक्दैन र १७ नं. को अधिकार क्षेत्रबाट प्रमाण वुझ्ने कार्य र प्रमाणको मुल्यांकन हुन सक्दैन आदेश गर्नु पूर्व मलाई झिकाई वुझ्नु पर्ने वुझिएन, प्राकृतिक न्याय सिद्धान्त प्रतिकूल भएको छ । फैसला वमोजिम वण्डा छुट्याउने कार्य भएको हुंदा मैले आफ्नो अंश नपाउने र इच्छा अनुसार प्रयोग गर्न नपाउने गरी आदेश गर्नु सर्वथा मिल्दैन, मेरो हक अधिकारमा कुण्ठा हुन पुगेको छ ।
६. अतः निवेदकको उल्लेखित हकको अतिरिक्त नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) र १७ द्वारा प्रदत्त हकमा आघात परेको र उपरोक्त हक प्रचलन गराउने अन्य कुनै प्रभावकारी वैकल्पिक कानूनी उपचारको मार्गको विद्यमानता समेत नरहेकोले धारा २३(८८) २ अन्तर्गत असाधारण अधिकार क्षेत्र प्रयोग गराई माग्न आएको छु । पुनरावेदन अदालत पोखराबाट मिति २०५४।६।११ मा कास्की जिल्ला अदालतबाट कानून वमोजिम खडा भएको वण्डा मुचुल्कालाई वदर गर्ने गरी भएको मिति २०५४।११।२१ को आदेश लगायत उपरोक्त सम्वन्धमा भए गरिएका सम्पूर्ण काम कारवाही तथा निर्णयहरु उत्प्रेषणको आदेशद्वारा वदर गरी अधिकार सम्पन्न अदालतको कानून वमोजिम खडा भएको वण्डा मुचुल्काको कानून वमोजिम कार्यँन्वयन गर्नु गराउनु भन्ने परमादेश लगायतका अन्य जो चाहिने आज्ञा आदेश वा पूर्जि प्रत्यर्थीहरुको नाउंमा जारी गरी पूर्ण न्याय पाउं भन्ने रिट निवेदन ।
७. यसमा के कसो भएको हो ? प्रत्यथीहरुबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम वमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति २०५४।१२।२४ को आदेश ।
८. विपक्षी वामदेव वरालले आफ्नो पिता निलकण्ठको सम्पत्तिबाट अंश पाउने हुंदा निवलकण्ठ परलोक भएपछि अन्य छोरा कोही नभई वामदेव एकमात्र छोरा भएको हुंदा पिताको हक भोगको श्री सम्पत्ति निज वामदेवले हक कायम गरी भोग व्यवहार सुक्रि विक्रि समेत गर्न पाइरहेका छन । वामदेवसंग मैले अंश पाउने पनि होइन, मागेकी पनि छैन, मेरो पतिको श्रीसम्पत्तिबाट निज वामदेवलाई अंश दिन पर्ने पनी होइन । आफ्नो सम्पत्ति भोग विक्रि व्यवहार गरी पाइरहेको अवस्थामा विपक्षीको कुनै हक अधिकार हनन् भएको छैन, निजका नाउंमा श्रेस्ता पुर्जा भएका सम्पत्ति रोक्का पनि भएको छैन, केवल नविनचन्द्रका नाउंमा सम्पत्ति मात्र सुक्रि विक्रि गर्न नपाउने कास्की जिल्ला अदालतबाट मु.ऐन अ.वं. १७१ (क) नं. का आधारमा रोक्का भएको हो । यस्तो स्थितिमा विपक्षी रिट क्षेत्रमा प्रवेश गरी उपचार माग्नू पर्ने गरी कुनै अन्याय विपक्षी उपर भएको छैन । निलकण्ठको शेष पछि सम्पूर्ण सम्पत्ति विपक्षी वामदेवको हक भै निजले दर्ता गरी भोगचलन व्यवहार गरी वसेको अवस्थामा अंशवण्डाको ३ नं. को दुहाई दिन मिल्ने होइन, वामदेवले तथ्य लुकाई आफूले निलकण्ठको सम्पत्ति भाग वण्डा छुट्याएको भनि झुठा व्यहोरा उल्लेख गरेका छन र आफूलाई वृद्ध भनेका छन । विपक्षीले मेरो सौताने छोरा नविनचन्द्रसंग मिलेमतोे गरी म उपर अन्याय गरेको हुंदा मैले विपक्षीको उपर मुद्दा गर्नु परेको हो, मलाई मुद्दामा झुलाई अन्याय गरेपछि विपक्षी वामदेवको नाउंमा सम्पत्ति राखेपनि अन्य हकदार कोहि नभएको हुंदा निज वामदेवसंगवाट नविनचन्द्रले निजका सन्तानले प्राप्त गर्न सक्ने अवस्था हुंदा विपक्षीहरु मिली मेरो उपर षडयन्त्र गरिएको मात्र हो । वामदेव उपर कुनै अन्याय परेको छैन, कुनै संवैधानिक हक हनन् पनि नभएको र कानून वमोजिम का.जि.अ. समक्ष फैसला वदर जालसाजी अंश समेतका मुद्दाहरुको कारवाही चलिरहेको अवस्थामा न्यायिक निरोपण हुनु पूर्व विपक्षी रिट क्षेत्रमा प्रवेश गर्नुपर्ने अवस्था छैन । मिति २०५२।६।२३ को जि.अ.को फैसला र मिति २०५३।१।३१ मा भएको पु.वे.अ.को फैसलाको कार्यान्वयनको सिलसिलामा भएको मिति २०५४।६।११ को वण्डा मुचुल्काको सम्वन्धमा दायर भएको प्रस्तुत रिट निवेदन खारेजभागी छ। विचाराधीन तथ्यहरुको सम्वन्धमा रिट क्षेत्रबाट मुद्दाको तथ्य भित्र प्रवेश गरी निर्णय गर्न नमिल्ने भन्ने सम्वन्धमा विभिन्न नजिरहरु प्रतिपादन भइरहेका छन् । अतः झुठ्ठा रिट निवेदन खारेज गरी पाउं भन्ने व्यहोराको तुल्सी वरालको लिखित जवाफ ।
९. पुनरावेदन अदालत पोखराबाट निवेदन मुल्तवी नराखी निवेदन माग वमोजिम फैसला अनुसार वण्डा छुट्याई दिनु भन्ने समेत व्यहोराको आदेश भएको हुंदा सो वमोजिम विपक्षीको निवेदन मुल्तवीबाट जगाई वण्डा छुट्याई मिति २०५४।६।११ मा भएको वण्डा मुचुल्कालाई तुल्सी वरालले सो मुचुल्काबाट आफूले पाउनु पर्ने अंशको नैसर्गिक अधिकारमा मर्का पर्न जाने समेतको कारण देखाई दण्ड संजायको ६१ नं. वमोजिम वण्डा मुचुल्का वदर गरी पाउं भनि इजलास समक्ष्ँ निवेदन पेश गरेकीमा इजलासबाट पु.वे.अ. पोखराको आदेशानुसार भएको वण्डा मुचुल्का वदर गर्न नमिल्ने समेत व्यहोराको आदेश भएकोमा उक्त आदेश उपर तुल्सी वरालले अ.वं. १७ नं. वमोजिम उक्त आदेश वदर गरी वण्डा मुचुल्का वदर गरी पाउं भनि पु.वे.अ. पोखरामा निवेदन दिएकीमा मिति २०५४।११।२१ मा यि निवेदकले दायर गरेको सवै मुद्दाहरुको अन्तिम कारवाही किनारा नभएसम्म वादी तुल्सी वराल वादी भै चलेको अंश मुद्दामा हुने फैसलालाई प्रत्यक्ष वा अप्रत्यक्ष असर पर्ने देखिएको २०५४।६।११।७ को वण्डा मुचुल्का कायम राखि रहन नमिल्ने भएकाले त्यसलाई वदर गरी दिएको छ भन्ने समेत व्यहोराको आदेश भै आएकोमा सो आदेश पश्चात विपक्षीले सम्मानित अदालतमा रिट निवेदन दायर गर्नु भएको रहेछ। यसरी कानून वमोजिम आदेशानुसार भएका काम कारवाहीहरुबाट निवेदकको कुनै संवैधानिक हक हनन् नभएकोले रिट निवेदन खारेज गरी पाउं भन्ने कास्की जिल्ला अदालत तहसिल शाखाको लिखित जवाफ ।
१०. यस्मा निवेदक वामदेव वरालले २ भागको १ भाग अंश पाउने ठहरी फैसला भएपछि फैसला वमोजिम वण्डा छुट्याई पाउं भनि निजको दरखास्त परेपनि उक्त फैसला वदरमा तुल्सी वरालको मुद्दा परी वण्डा छुट्याउने कार्य रोक्का राखि पाउं भन्ने निवेदन परेकोमा कास्की जिल्ला अदालतबाट उक्त निवेदन मुल्तवी रहेकोमा निवेदकको अंश मुद्दा निर्णय भै वण्डा छुट्याई पाउने अन्तिम टुंगो लागेपछि कुन कानूनका आधारमा वण्डा छुट्याउन नमिली मुल्तवीमा रहने हो सो कुरा कास्की जिल्ला अदालतको आदेशमा नखुलेकोले उक्त आदेश वदर गरी दिएको छ, फैसला वमोजिम वण्डा छुट्याई दिनु भन्ने समेतको आदेश यस अदालतबाट भएपछि कास्की जिल्ला अदालतबाट वण्डा मुचुल्का खडा हुंदा सो मुचुल्का वदर गरी पाउं भनि प्रत्यर्थी मध्येकी तुलसी वरालको कास्की जिल्ला अदालतमा पुनः निवेदन परेपनि वण्डा मुचुल्का वदर गर्न मिल्ने अवस्था नहुंदा कानून वमोजिम गर्नु भन्ने समेतको उक्त अदालतबाट आदेश भयो सो आदेश उपर यस अदालतमा निज प्रत्यर्थी बनाइएकी तुल्सी वरालको अ.वं. १७ नं. वमोजिम निवेदन परी कारवाही हुंदा यस्मा यी निवेदिका तुल्सी वरालले यस निवेदनका विपक्षी नविनचन्द्र उपर अंश मुद्दा दायर गरी कारवाही चलिरहेको अवस्थामा यसै निवेदनका अर्का विपक्षी वामदेव वरालले नविनचन्द्रलाई मात्र प्रतिवादी वनाई अंशको दावी गरेको र त्यसमा प्रतिवादी नविनचन्द्रले प्रतिवाद गर्दा यी निवेदिका सौतेनी आमा तुलसी वरालको समेत उल्लेख गरेकोमा त्यसै मुद्दाबाटै देखिने यी एक अंशियारा निवेदिका तुल्सी वरालको वेवास्ता गरी २०५२।६।२३ मा अंश पाउने गरी फैसला समेत भइसकेकोे र सो फैसला वदरमा यी निवेदिकाको फिराद परी कारवाही चलि रहनुका साथै विवादित तुल्सी वरालले नविनचन्द्र उपर दायर गरेको अंश मुद्दा चालु नै रहि वामदेवको सम्वन्धमा वुझिने वा नबुझिने के हो ? भन्ने कुराको कारवाही त्यसै रहिरहेको अवस्था पनि पाइएको उता जिल्ला अदालतकै आदेशानुसार अंश मुद्दा नविनचन्द्र समेतको सुक्रि विक्रि रोक्का रहेको र त्यो आदेश कायम रहेसम्म २०५४।६।१ को वण्डा मुचुल्का कार्यान्वयन हुन सक्ने अवस्था पनि नहुंदा यी निवेदिकाले दायर गरेको सवै मुद्दाहरुको अन्तिम कारवाही किनारा नभएसम्म तुल्सी वराल वादी भै चलेको अंश मुद्दामा हुने फैसलालाई प्रत्यक्ष वा अप्रत्यक्ष असर पर्ने देखिएको हुंदा २०५४।६।११ को वण्डा मुचुल्का कायम राखि रहन नमिल्ने भएकाले त्यसलाई वदर गरी दिएको छ । कानून वमोजिम गर्नु भन्ने समेतको यस अदालत संयुक्त इजलासबाट मिति २०५४।११।२१ मा आदेश भएको हो । यसरी कानून वमोजिम भएको आदेशले यी निवेदक वामदेव वरालको साम्पत्तिक हकाधिकारमा कुनै आघात पुगेको देखिन नआएकोले सो निवेदन खारेज गरी पाउन अनुरोध गरिन्छ भन्ने पुनरावेदन अदालत पोखराको लिखित जवाफ ।
११. घर व्यवहार संचालन गर्दा ऋण लागेको र साहुहरुलाई सांवा व्याज वुझाउनु पर्ने स्थिति परेको अवस्थामा जेठा वावाका छोरा रिट निवेदक वामदेव वरालले ऋण तिर्न व्यहोर्न मन्जूर नगरी मेरो विरुद्ध अंश मुद्दा दायर गर्नु भएको र मैले ऋण तिर्न व्यहोर्न मन्जूर गरेमा अंश दिन मन्जूर छु भनि सम्मानित कास्की जिल्ला अदालतमा प्रतिउत्तर चढाएकोमा नविनचन्द्र वरालबाट २ भागको १ भाग अंश पाउने र ऋणका हकमा पछि ठहरे वमोजिम हुने भन्ने फैसला भएकोमा मेरो चित्त नवुझी पुनरावेदन गरेकोमा शुरु इन्साफ सदर भइ फैसला वमोजिम अंश भाग दिन म मन्जूर भएको र केहि ऋणको सांवा व्याज तिर्न व्यहोर्न रिट निवेदक वामदेव वराल समेत मन्जूर भएको हुंदा मिति २०५४।६।११ मा कास्की जि.अ.बाट विधिवत भएको वण्डा मुचुल्का वमोजिम दिन लिन मन्जूर भएको हुंदा निवेदकको कुनै हक मैले हनन् गरेको छैन । सौतेनी आमा तुल्सी वरालले लामो समयसम्म म संग कुनै किसिमको झै झगडा नगरी बसेकीमा अर्काको ललाई फकाईमा परी वहांको वारेस बनि आएकी मन्जु सापकोटालाई अनुचित फाईदा पुग्ने गरी मेरो शान्ति पूर्ण पारिवारिक स्थितिलाई विथोल्न मेरो विरुद्धमा निजले अंश जालसाजी फैसला वदर जस्ता मुद्दा कास्की जि.अ.मा दायर गरी ऋण भारको कसैलाई मतलव नहुने केवल सुख प्राप्त गर्न मात्र सवैले चाहना राख्ने भएकोले नै सवैभन्दा ठूलो अन्याय हाल म माथि परेको व्यहोरा अनुरोध गर्दछु ।
१२. पिता वालकृष्णका २ श्रीमतीहरु हुंदा सौता सौता नमिली वारंवार कल झगडा गर्ने कारणले वावाको जीवनकालमै २०१५ सालमा म र मेरो आमा समेतलाई म १५ वर्षको उमेर अवस्था हुंदा केहि संपत्ति दिई छुट्याई सौतेनी आमा तुल्सीलाई संग साथमा लिई वेग्लै छुट्टी वस्नू भएको र २०१९ सालमा मेरो उमेर पुगेपछि पिताजीले आफ्नो र सौतेनी आएको अंश भागको जग्गा जमीन घरसारमा लिनु भएको र म र मेरो आमा समेतको अंश भागको जग्गा मलाई छुट्याई दिनु भई आफ्नो र सौतेनी आमाको अंश भागको जग्गा सुक्रि विक्रि व्यवहार गरी आउनु भएकोमा सौतेनी आमा तुलसी वरालले अरुको उक्साहटमा लागि हाल आई विभिन्न मुद्दाहरु दायर गरी रहनु भएको र मुद्दा चलिरहेकै अवस्थामा विगो नखुलेको शेषपछिको वक्सपत्र तुल्सी वरालले दिने मन्जु सापकोटा लिने भै मा.पो.का. कास्कीबाट र.नं. ८५७८ मिति २०५२।२।५ मा पारीत गरी लिनु दिनु गरेका रहेछन । यसरी वारेस बनी मुद्दा दर्ता गर्ने निज वारेसले शेषपछिको वक्सपत्र पारीत गरी लिने विभिन्न षडयन्त्र गरी दुरासयपूर्ण व्यवहार गर्ने विभिन्न मुद्दा पराउने आदि काम मन्जू सापकोटावाट भै रहेको र मेरा तर्फबाट रिट निवेदकलाई कुनै दु:ख दिने तथा मौलिक हकमा हनन् हुने काम नगरेकोले र वण्डा मुचुल्का वदर गर्न मेरो कुनै संलग्नता नभएकोले मलाई विपक्षी बनाई रहनु पर्ने अवस्था समेत नहुंदा रिट निवेदन खारेज गरी पाउं भन्ने समेत व्यहोराको नविनचन्द्र वरालको लिखित जवाफ रहेछ ।
१३. नियम वमोजिम दैनिक मुद्दा पेशी सुचिमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत विषयमा रिट निवेदक तर्र्फबाट वहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री शंभु थापा तथा विद्वान अधिवक्ता श्री ईश्वरीप्रसाद भटृराईले रिट निवेदक मेरो पक्षका पिता निलकण्ठ वराल हुनुहुन्छ भने विपक्षी नविनचन्द्रका पिता तथा तुलसीका पति वालकृष्ण हुनुहुन्छ । वाजे जगन्नाथका दुई छोरामात्र हुंदा १ अंशियारका भागी मेरो पक्ष रिट निवेदक हुनु भएको र अर्को १ अंशियारामा नविनचन्द्र वराल तथा निजकी सौतेनी आमा तुलसी वराल भएकोमा कुनै विवाद छैन। अंशवण्डा हुनु पूर्व वाजे तथा पिताजी परलोक भै सकेको हुंदा मेरो पक्षले नविनचन्द्रवाट २ भागको १ भाग अंश पाउने गरी शुरु कास्की जिल्ला अदालत तथा पुनरावेदन अदालत पोखराबाट अन्तिम फैसला भइरहेको स्थिति छ । फैसला वमोजिम स्थापित हक चलन चलाई पाउनु मेरो पक्षको मौलिक हक हो । तहसिलदार तथा जिल्ला अदालतका न्यायाधीशज्यूले वण्डा छुट्याई पाउन मेरो पक्षले दिनु भएको निवेदनलाई मुल्तवी वा स्थगन गर्न कुनै पनि कानून नियमले मिल्ने हुंदैन । वण्डा छुट्याई पाउने मेरो पक्षले निवेदन दिनु भए पश्चात तहसिलदारको आदेश सदर गर्दै जिल्ला न्यायाधीशले मुल्तवी राख्ने आदेश गर्नु भए उपर मेरो पक्षको अ.वं. १७ नं. वमोजिम पुनरावेदन अदालतमा निवेदन पर्दा पुनरावेदन अदालत पोखराले निवेदकको अंश मुद्दा निर्णयले वण्डा छुट्याई पाउने अन्तिम टुंगो लागि सकेपछि मुल्तवी राख्न नमिल्ने पूर्ण इजलासबाट प्रतिपादित नजिरको समेत त्रुटी भएको भन्दै उक्त कास्की जिल्ला अदालतको मुल्तवी आदेश वदर गरी फैसला वमोजिम वण्डा छुट्याई दिने गरी २०५४।५।५ मा आदेश भइसकेकोे स्थिति छ ।
१४. त्यसरी पुनरावेदन अदालतबाट एकपटक वण्डा छुट्याई दिनु भनि आदेश गरी सकेपछि आदेश कायमै रहेको अवस्थामा कानून वमोजिम खडा भएको वण्डा वदर गरी पाउन विपक्षीले दिएको निवेदनमा पुनरावेदन अदालतले पुर्वाग्रह पूर्ण तवरबाट वण्डा मुचुल्का वदर गर्ने गरी पूर्व आदेशको विपरीत आदेश गर्नु घोर अन्यायपूर्ण छ । एउटै अदालतको आदेशले वण्डा छुट्याई दिने भनी आदेश भै सकेपछि उक्त आदेश वदर नभएसम्म अर्को आदेश गर्नु दण्ड संजायको ४६ नं. अ.वं. १७, अ.वं. ८६ नं.. प्रतिकूल छ । पुनरावेदन अदालतका माननीय न्यायाधीशज्यूहरुले २०५४।११।२१ मा गरेको आदेशमा न्यायिक मनको अभाव उक्त आदेश सरसर्ति हेर्दा नै देखिन्छ । वादी तुलसी वराल भै चलेको अंश मुद्दामा प्रत्यक्ष वा अप्रत्यक्ष असर पर्ने देखिएको भनि अन्तिम फैसला भै टुंगो लागेको इन्साफबाट वंचित हुने गरी सम्मानित अदालत पूर्ण इजलासबाट अच्यूतवल्लभ पन्त विरुद्ध शंख कुमारी पाण्डे भएको २०४३ सालमा प्रतिपादित नजिरको पूर्ण अवज्ञा हुनेगरी आदेश भएको छ । पहिलो इजलासले आदेश गर्दा उक्त नजीर समेतको उल्लेख गरेकोमा समेत पछिल्लो इजलासले आंखा चिम्ली प्रचलन भै सकेको हकमा कुण्ठित हुने गरी आदेश भएको छ । तुल्सी वरालले जुनसुकै मुद्दा गरेपनि मेरो पक्षको हकमा प्रतिकूल आदेश गर्न मिल्ने होइन । विपक्षी तुलसी वराल मेरो पक्ष अंशको हकदार नै होइनन् । मेरो पक्षलाई अंशवाट वंचित गर्ने विभिन्न चाल हो भन्ने अघिल्लो पछिल्लो अंशी हकवाला प्रष्ट देखिएबाट नै छर्लङ्ग छ । विवादरहित नैसर्गिक हकलाई प्रश्न चिन्ह खडा गर्ने अधिकार तथा झिनो आधारबाट कानून वमोजिम खडा भएको वण्डा मुचुल्का वदर गर्ने गरेको पुनरावेदन अदालतको ०५४।११।२१ को आदेश अन्यायपूर्ण भएबाट मेरो पक्षको संविधानको धारा १७(१) द्वारा प्रदत्त सम्पत्ति भोग गर्ने वेच विखन गर्ने र सम्पत्तिको अन्य कारोवार गर्ने हकबाट वंचित हुन पुगेकोले संविधानको धारा २३-८८(२) वमोजिम उत्प्रेषणको आदेशद्वारा वदर गरी कानून वमोजिम खडा भएको २०५४।६।११ को वण्डा मुचुल्काको कार्यान्वयन गर्नु गराउनु भन्ने परमादेश जारी हुनु पर्दछ भन्ने र विपक्षी तुल्सी वरालको तर्फबाट वहसको लागि उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री पुण्यप्रसाद अर्यालले पुनरावेदन अदालत पोखराले मेरो पक्षले नविनचन्द्र वराल तथा रिट निवेदक उपर समेत अंश मुद्दा तथा फैसला वदर मुद्दा दिई हाल विचाराधीन रहेको अवस्थामा मेरो पक्षको हकमा प्रत्यक्ष वा अप्रत्यक्ष असर पर्ने देखिएको कारणबाटै उक्त पु.वे.अ.को पूर्व आदेश वमोजिम खडा भएको वण्डा मुचुल्कालाई वदर गर्ने गरी आदेश भएको हो अर्को पक्षको हकमा हनन् हुन सक्छ भन्ने देखेमा पूर्व आदेशलाई वदर गरी अर्को आदेश गर्न सक्ने नै हुन्छ । रिट निवेदक तर्फका विद्वान अधिवक्ताले प्रस्तुत गर्नु भएको नजिर प्रस्तुत रिटमा आकर्षित हुन सक्दैन भनि गर्नु भएको वहस जिकिर समेत सुनियो ।
१५. प्रस्तुत रिट निवेदनमा निवेदन माग वमोजिमको आदेश जारी हुने हो होइन ? सो सम्वन्धमा निर्णय दिनु पर्ने भई इन्साफतर्फ विचार गर्दा यस्मा अंश मुद्दामा अन्तिम निर्णय भै वण्डा छुट्याई पाउने अन्तिम टुंगो लागि सकेपछि कुन कानूनको आधारमा फैसला वमोजिम वण्डा छुट्याउन नमिली मुल्तवीमा रहने हो शुरु कास्की जिल्ला अदालतको २०५४।१।२० को आदेशमा नखुलेकोले कानूनसंगत नभई वेरीतको हुंदा वदर गरी दिएको छ । २०५२ सालको नि.नं. २००९ मिति २०४३।३।२७ मा प्रतिपादित सिद्धान्त र दण्ड संजायको ४६ नं. वमोजिम निवेदकले फैसला वमोजिम पाउने अंश छुट्याई दिनु भनि पुनरावेदन अदालत पोखराबाट २०५४।५।५ मा आदेश भएको पाइन्छ ।
१६. उक्त पुनरावेदन अदालतको आदेश वमोजिम वण्डा मुचुल्का खडा भएकोमा प्रत्यर्थी तुलसी वरालले कास्की जिल्ला अदालतमा वण्डा मुचुल्का वदरको लागि निवेदन दिएकीमा कानून वमोजिम छुट्याएको वण्डा मुचुल्का वदर गर्न नमिल्ने भन्ने समेत कास्की जिल्ला अदालतबाट २०५४।७।८ मा आदेश भएको देखिन्छ । तर प्रत्यर्थी तुल्सी वरालले उक्त जि.अ.को आदेश उपर पुनरावेदन अदालतमा निवेदन गर्दा पुनरावेदन अदालतबाट पूर्व आदेशको विपरीत निम्न आदेश गरेको पाइन्छ ।
१७. यसमा यी निवेदिका तुलसी वरालले यस निवेदनका विपक्षी नविनचन्द्र उपर अंश मुद्दा दायर गरी कारवाही चलिरहेको अवस्थामा यसै निवेदनका अर्का विपक्षी वामदेव वरालले नविनचन्द्रलाई मात्र प्रतिवादी बनाई अंशको दावी गरेको र त्यसमा प्रतिवादी नविनचन्द्रले प्रतिवाद गर्दा यी निवेदिका सौतेनी आमा तुल्सी वरालको समेत उल्लेख गरेकोमा त्यसै मुद्दाबाटै देखिने यी एक अंशियार निवेदिका तुल्सी वरालको वेवास्ता गरी २०५२।६।२३ मा अंश पाउने गरी फैसला समेत भइसकेको र सो फैसला वदरमा यी निवेदिकाको फिराद परी कारवाही चलिरहनुका साथै यी निवेदिका तुल्सी वरालले नविनचन्द्र उपर दायर गरेको अंश मुद्दा चालु नै रहि वामदेवको सम्वन्धमा वुझिने वा नवुझिने के हुने हो भन्ने कुराको कारवाही त्यसै रहि रहेको अवस्था पनि पाइएको उता जिल्ला अदालत कै आदेश अनुसार अंश मुद्दामा नविनचन्द्र समेतको सुक्रि विक्रि रोक्का रहेको र त्यो आदेश कायम रहेसम्म २०५४।६।११ को वण्डा मुचुल्का कार्यान्वयन हुन सक्ने अवस्था पनि नहुंदा यी निवेदकले दायर गरेको सवै मुद्दाहरुको अन्तिम कार्यवाही किनारा नभएसम्म वादी तुल्सी वराल भै चलेको अंश मुद्दामा हुने फैसलालाई प्रत्यक्ष वा अप्रत्यक्ष असर पर्ने देखिएको हुंदा २०५४।६।११ को वण्डा मुचुल्का कायम राखि रहन नमिल्ने भएकोले त्यसलाई वदर गरी दिएको छ । कानून वमोजिम गर्नु भनि मिति २०५४।११।२१ मा आदेश भएको देखिन्छ।
१८. रिट निवेदकले मुख्यतः उपरोक्त २०५४।११।२१ को आदेशलाई वदर गर्न आउनु भएको देखिन्छ ।
१९. प्रस्तुत रिट निवेदनमा रिट निवेदकले उठाउनु भएको प्रश्न लिखित जवाफ तथा विद्वान अधिवक्ताहरुले गर्नु भएको वहस जिकिरबाट निम्न प्रश्नहरुमा रही निर्णयमा पुग्नु पर्ने देखिन आयो ।
१. पुनरावेदन अदालतबाट एक पटक वण्डा छुट्याई दिनु भन्ने भएको आदेश वदर नभएसम्म सोही अदालतबाट अर्को आदेश गर्नु कानूनसम्मत हुन्छ वा हुंदैन ?
२. फैसला वदर मुद्दामा हक स्थापित नभएसम्म अ.वं. ८६ नं. वमोजिम नालेस गर्ने वित्तिकै नालेसमा मागदावी भएको हदसम्म फैसला कार्यान्वयन रोक्का राख्नु कानूनसम्मत हुन्छ वा हुंदैन र, रिट निवेदन माग वमोजिम उत्प्रेषण, परमादेश लगायतका आदेश जारी हुने हो, होइन ?
२०. सर्वप्रथम उपरोक्त प्रश्नहरुको पहिलो प्रश्नतर्फ विचार गर्दा रिट निवेदक वादी नविनचन्द्र वराल विपक्षी प्रतिवादी भै चलेको अंश मुद्दा पुनरावेदन तहबाट फैसला भई अन्तिम रहेकोमा विवाद देखिन आएन । साथै वाजे जगन्नाथका २ छोरामा जेठा निलकण्ठका छोरा रिट निवेदक वामदेव वराल र कान्छो वालकृष्णका छोरा प्रत्यर्थी नविनचन्द्र वराल भई प्रत्यर्र्थी तुल्सी वराल निज वालकृष्णको जेठी श्रीमती भएको र रिट निवेदकले नविनचन्द्रवाट २ भागको १ भाग अंश पाउने गरी ठहर भएको कुरामा समेत कुनै विवाद देखिन आएन । रिट निवेदकले नविनचन्द्रबाट अंश पाउने ठहर भएपछि ऐन वमोजिम वण्डा छुट्याई पाउन कास्की जि.अ.मा निवेदन गरेको विपक्षी तुल्सी वरालले नविनचन्द्र उपर अंश मुद्दा दायर भएको कारण जनाई उक्त निवेदनबाट शुरु हुने कारवाई रोक्का राखि पाउन निवेदन गरेकी शुरु जि.अ.को तहसिलदारले मुल्तवी आदेश गरेकोलाई जिल्ला न्यायाधीशवाट सदर भएको देखिन्छ । अन्तिम फैसला भै सकेको कुरामा चलन चलाई दिनु पर्नेमा नगरी जिल्ला न्यायाधीशबाट मुल्तवी आदेश गरेको देखिन्छ । उक्त मुल्तवी आदेश उपर रिट निवेदकको पुनरावेदन अदालतमा अ.वं. १७ नं. वमोजिम निवेदन परेपछि पुनरावेदन अदालतबाट उक्त मुल्तवी राख्ने गरेको आदेश वेरीतको देखिएको कारणबाट प्रतिपादित सिद्धान्त समेतको आधारमा वदर गरी द.स.को ४६ नं. वमोजिम अंश छुट्रयाई दिने आदेश दिएको देखिन्छ । सो उपर कसैको चित्त नवुझेमा पुनरावेदनको रुपमा निवेदन परेको र वदर भएको भन्ने समेत देखिदैन । अदालतकै उपरोक्त आदेश वमोजिम वण्डा मुचुल्का खडा भै आएको देखिन्छ । एक पटक आदेश भै सकेपछि सो आदेशलाई असर पर्ने गरी अर्को आदेश गर्न मिल्ने हुंदैन । पुनरावेदन अदालतले २०५४।११।२१ मा आदेश गर्दा पूर्व आदेशको कुनै पालना गरेको देखिन आउदैन । सोही अदालतको समान इजलासबाट आदेश भै उक्त आदेश क्रियाशिल रहेको अवस्थामा पूर्व आदेशको विपरीत वण्डा मुचुल्का वदर गरेको देखिन्छ । त्यसरी पूर्व आदेशको विपरीत आदेश गर्दा क्षेत्राधिकारको त्रुटि हुन जान्छ । अ.वं. ८६ नं. मा अड्डामा मुद्दा परी फैसला भइसकेपछि सो फैसला उपर ऐन वमोजिमको पुनरावेदन नभई सोही मुद्दामा उसै झगडियाको नाउंमा फिराद लिई सुन्न हुंदैन भन्ने प्रँङ्गन्यायको सिद्धान्त प्रस्तुत मुद्दाको आदेशमा पनि लागु हुंदैन भन्न मिल्दैन समान इजलासबाट एकैसाथ वण्डा छुट्याई दिने र वदर गर्ने स्थिति हुन सक्ने हुंदैन । वण्डा छुट्याई हक प्रचलन गराई सकेको कुरामा वण्डा वदर गर्नु भनेको प्राप्त हकलाई प्रचलन गर्न ईन्कार गर्नु भन्ने हो । अदालतबाट अन्तिम निर्णय भइसकेकोे कुरालाई गंभीर कानूनी त्रुटी वेगर हक प्रचलन गर्ने कुरामा रोकावट आउन दिनु हुंदैन । यस्तो विषयमा अदालत सदा सजग र चनाखो हुनु पर्दछ । अंश मुद्दामा अंशवण्डा छुट्याई दिने गरी अन्तिम फैसला भैसकेपछि प्रचलन गराई दिने कुरामा ढिलाई गर्ने प्रश्न आउन सक्दैन । मुलुकी ऐन, दण्ड संजायको ४६ नं. वमोजिम निवेदकले फैसला वमोजिम पाउने अंश छुट्याई दिनु भनी पुनरावेदन अदालतको मिति २०५४।५।५ को आदेशमा प्रष्ट उल्लेख गरेको पाइन्छ । साथै अंश मुद्दामा निर्णय भै वण्डा छुटयाई पाउने अन्तिम टुंगो लागि सकेपछि कुन कानूनको आधारमा फैसला वमोजिम वण्डा छुट्याउन नमिली मुल्तविमा रहने हो, कास्की जि.अ.को ०५४।१।२० को आदेशमा नखुलेको भनि त्यस्तो हक प्रचलन गर्ने कुरामा रोकावट आउनु पर्ने कुनै कानूनी पक्ष छ कि भनि विचार पुर्याएको देखिन्छ । सोही अदालतका आदेश वमोजिम कानूनको रीत पुर्याई वण्डा मुचुल्का खडा भै आएको समेत देखिन्छ । तर पुनरावेदन अदालतले आफ्नो पूर्व आदेशको विपरीत हुने गरी २०५४।११।२१ मा आदेश गर्दा त्यस्तो आदेशबाट भएको वण्डा मुचुल्का वदर गर्नु परेको कारण पछिल्लो आदेशमा खुलेको छैन । वण्डा मुचुल्का वेरीतपूर्वक भएको अथवा पुर्याउन पर्ने रीत नपुगेको भन्ने उक्त आदेशमा उल्लेख छैन । तसर्थ पुनरावेदन अदालतवाट मिति २०५४।५।५ मा भएको आदेश वदर नभएसम्म सोहि अदालतको समान इजलासबाट अर्को आदेश गर्नु कानूनसम्मत देखिन आएन ।
२१. अव दोश्रो प्रश्न तर्फ विचार गरी हेर्दा पुनरावेदन अदालतले वण्डा मुचुल्का वदर गर्ने २०५४।११।२१ मा आदेश गर्दा तुलसी वरालको फैसला वदरतर्फ नालेस परि कारवाही चलिरहेको भन्ने समेत उल्लेख गरेको पाइन्छ । तर सोही अदालतको समान इजलासबाट २०५४।५।५ मा भएको पूर्व आदेशलाई विचार नपुर्याई आदेश गरेको देखिन्छ । अदालतबाट भएको फैसला उपर कानून वमोजिम पुनरावेदन परी वा अन्य तरिकावाट माथिल्लो तहमा विचाराधीन नभै अन्तिम रहेको स्थितिमा त्यस्तो फैसला कार्यान्वयन रोक्का राख्न सक्ने कुनै पनि व्यवस्था भएको पाइदैन । अ.वं. ८६ नं. अन्तर्गत मुद्दा परेको स्थितिमा फैसला कार्यान्वयन रोक्का राख्नु पर्छ कि भन्नलाई अ.वं. ८६ नं. वमोजिम परेको मुद्दामा फैसला वदर नभएसम्म वादीको हक कायम भएको भन्न मिल्दैन । अ.वं. ८६ नं. मा भएको कानूनी व्यवस्था तर्फ हेर्दा फैसला डिसमिस मिलापत्र खारेज भएका मुद्दामा सो फैसला डिसमिस मिलापत्र खारेज भएकोले अर्काको हक समेत जाने भएको रहेछ भने जसको हक जानेछ त्यसले थाहा पाएका पैतिस दिनभित्र यसमा हाम्रो पनि हक लाग्छ यसले मात्र हारी वा डिसमिस खारेज वा मिलापत्र गराएकोले हाम्रो हक जाने होइन भनि आफ्नो हक जतिमा झगडियाको नाउंमा नालेस दिए इन्साफ गरी दिनु पर्छ भन्ने उपरोक्त कानूनी व्यवस्थाले त्यस्तो फैसलाले अर्काको हक जाने रहेछ वा रहेनछ भन्ने कुरा त्यसरी परेको फिरादबाटै एकिन हुने नभै त्यस्तो फिरादमा अदालतबाट फैसला भएपछि मात्र एकिन हुने कुरा हो । फैसलाले हकाधिकार लुप्त भएको नदखिएको भनि ठहर भएको अवस्थामा त्यस्तो व्यक्तिको हक रहेको भनि मान्न मिल्ने हुंदैन । नालेस गर्ने व्यक्तिको हक रहने हो वा होइन सोही परेको मुद्दावाट एकिन हुने कुरा हो । अड्डा अदालतबाट लामो समयको अन्तराल पश्चात निरुपित तथ्य स्थापित हकलाई व्यापक क्षेत्र रहेको अ.वं. ८६ नं. को प्रयोग भएको कारणबाट स्थगन गर्ने वा मुल्तवीमा राख्ने भन्ने कुनै प्रचलित कानूनको मनसाय र भावना होइन । न्याय दिने मात्र होइन, न्याय दिएको देखिनु पर्दछ भन्ने न्यायिक सिद्धान्तको प्रतिकूल पुनरावेदन अदालतको पछिल्लो आदेश देखिन्छ । अ.वं. ८६ नं. वमोजिम नालेस पर्ने वित्तिकै नालेसमा माग दावी भएको हदसम्म फैसला कार्यान्वयन रोक्का राख्नु पर्छ भन्ने कानून तथा न्याय दुवैको रोहबाट मिल्ने नदेखिने भनि यस अदालत पूर्ण इजलासबाट अच्यूत वल्लभ पन्त विरुद्ध शंख कुमारी पाण्डे भएको फैसला वदर हक कायम मुद्दामा २०४३।३।२७ मा सिद्धान्त प्रतिपादन भएको पाइन्छ । तसर्थः पुनरावेदन अदालत पोखराको उक्त २०५४।११।२१ को आदेश नजीर तथा कानूनको त्रुटी देखिनुका साथै सोही अदालतको ०५४।५।५ को आदेशमा उल्लेखित नजीरको अवज्ञा गरेको समेत देखिंदा पुनरावेदन अदालत पोखराको उक्त मिति २०५४।११।२१ को आदेश उत्प्रेषणको आदेशद्वारा वदर हुने ठहर्छ । साथै पुनरावेदन अदालत पोखराको ०५४।५।५ को आदेश वमोजिम कानूनको रीत पुर्याई वण्डा मुचुल्का खडा भएको समेत देखिएको र उक्त पु.वे.अ.को आदेश यथावत रहेको स्थितिमा कानून वमोजिम खडा भएको वण्डा मुचुल्का कार्यान्वयन गर्नु गराउनु भनि प्रत्यर्थी कास्की जिल्ला अदालतको नाउंमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । सम्वन्धित अदालतको जानकारीको लागि आदेशको एक प्रति सम्वन्धित कास्की जिल्ला अदालतमा पठाई फायल नियम वमोजिम गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.राजेन्द्रराज नाख्वा
इति संवत् २०५५ साल पौष २८ गते रोज ३ शुभम् ...... ।