शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७८४ - प्राचिन मुर्ति चोरी

भाग: ४१ साल: २०५६ महिना: पौस अंक:

निर्णय नं. ६७८४    ने.का.प. २०५६ अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

संम्वत २०५१ सालको फौ.पु.नं. .... १०९०

फैसला मिति : २०५५।२।२५।२

 

मुद्दाः प्राचिन मुर्ति चोरी ।

 

पुनरावेदक

वादी : जनक के.सी.को जाहेरीले श्री ५ को सरकार

विरुद्ध

 

प्रत्यर्थी

प्रतिवादी : ल.पु.जि.ल.पु.नं.पा. वडा नं. २१ घर भई हाल भ.न.पा. वडा नं. १ सगुन धातु उद्योगमा सह लेखापाल गरी वस्ने नेमराज वज्राचार्य समेत

 

§  सामान्यतया विभिन्न धर्म र आस्थाका व्यक्तिले आफैले नित्य पुजा गर्ने आफ्नो धर्म वा आस्थाजन्य मुर्ति वेचविखन गर्छन भन्ने अनुमान गर्न नमिल्ने, सो अनुमान निवेदक जस्तो वावु वाजेका पाला देखि नै सोही मुर्ति पुजा गरी आउने व्यक्तिको पक्षमा वढी सख्ततासाथ लागु हुने स्पष्ट छ । यस्तो स्थितिमा सो प्रकृतिको अनुमान विवादित मुर्ति प्रतिवादी नेमराज वज्राचार्य काम गर्न गएको ठाउं ढलोट मुर्ति वेच्ने पसल भएपनि त्यहां सो मुर्ति निज क्यासियरको काम गर्ने कोठावाटै वरामद भएको कारणले खण्डित हुन नसक्ने । 

(प्र.नं. २३)

 

पुनरावेदक वादीतर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री नन्दवहादुर सुवेदी

विपक्षी तर्फबाट :

अवलम्वित नजिर :

 

फैसला

      न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत, पाटनवाट भएको फैसला उपर यस सर्वोच्च अदालत समक्ष पुनरावेदनको रुपमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः

      २. ल.पु.जि.ल.पु.न.पा.वडा नं. २१ भिंखावाल वस्ने नेमराज वज्राचार्यले पुरानो वुद्धको मुर्ति घरवाट भ.न.पा.वडा नं. १५ सानो औद्योगिक क्षेत्रभित्र भएको सगुन धातु उद्योगमा लगि राखी  सो मुर्ति विक्री वितरण गर्न का.जि. चितु वहाल गा.वि.स. वडा नं. १ वस्ने मिनवहादुर महर्जन र ल.पु.जि. ठेचो वस्ने हरिश्याम महर्जनलाई नेमराजले ग्राहक खोज्न लगाइएको र सिताराम दाहालले वुद्धको मुर्ति विक्री समेत गर्न र किन्ने उल्लेखित मानिसलाई पक्राउ गरी मुर्ति समेत वरामद गरी पाउं भन्ने जनक के.सी.को २०४७।५।२६ गतेको प्रतिवेदन ।

      ३.    सानो औद्योगिक क्षेत्रभित्र रहेको धातु उद्योगका क्यासिएर नेमराज वज्राचार्य समेतका जना ५ (पांच) ले वुद्धको मुर्ति छाडी भागेको हुंदा वरामद गरी दिनुहोस् भनि सोधनी हुंदा कानूनको रीत पुर्‍याई प्रवेश गरी हेर्दा वुद्धको मुर्ति आसन समेत धातुको भएको उक्त मुर्ति आसन र दायां वायां रहेको भिक्षुको मुर्ति प्रहरीले वरामद गरेको हो भन्ने समेत मिति २०४७।५।२६ गतेको वरामदी मुचुल्का ।

      ४.    वरामद हुन आएको वुद्धको आसन समेतको मुचुल्का कारवाहीको लागि पठाएको भन्ने प्र.ना.नि. विष्णुलाल श्रेष्ठ समेतको मिति ०४७।५।२६ गतेको संयुक्त प्रतिवेदन ।

      ५.    एकसय वर्ष नाघेको रु.२,५०,०००। दुईलाख पचास हजार पर्ने ढलोटको आसन प्रभा सहित ढलौटको वुद्धको मुर्ति सहित ५ पांच टुक्रा लम्य सुन जलप वुद्ध भनि पुरातत्व विभागले मिति २०४८।५।२६ गते चलानी पत्र साथ पठाएको प्रमाणित फाराम ।

      ६.    मेरो वाजे वावुको पालादेखि नै घरमा नित्य पुजा गरी आएको वुद्धको मुर्ति मेरो एक छोरा मात्र भएको सो छोरा पाटन औद्योगिक क्षेत्रमा काम गर्ने र म मेरो श्रीमती एकले ल.पु.न.पा. वडा नं. २१ घरमा वसेको मेरो कान्छा ज्वाइं छोरी भक्तपुर सगुन धातु उद्योग खोली वसेको र तहां काम गर्ने कोही नभएकोले ज्वांइ छोरीले वोलाएकोले म सो उद्योगमा क्यासियर भइ वस्दाको अवस्थामा मुर्ति समेत साथ लिई नित्य पुजा गर्ने गरेको थिए सो मुर्ति चोरीको हैन मेरो आफ्नो पुजा गर्ने मुर्ति हो सो मुर्तिलाई मैले कसैसंग विक्री गर्ने कुरा समेत गरेको छैन र सिताराम दाहाललाई चिनेको छैन र यही आएपछि मात्र चिनेको हुं मिनवहादुर महर्जनलाई यस उद्योगमा पहिले क्यासिएर काम गरी वस्ने नाम थाहा नभएको व्यक्तिसंग एक दुई पटक उद्योगमा आउंदा  देखेको मात्र हुं भन्ने मिति २०४७।६।१ गते नेमराज वज्राचार्यको प्रहरीमा भएको वयान ।

      ७.    मेरो मामाको छोरा विरामी भइ वीर अस्पतालमा भर्ना भएको हुंदा २०४७ साल भाद्र १६,१७ गते म विरामी भेटन आएका अवस्थामा सिताराम दहाललाई भेटघाट भइ कुरा गर्ने क्रममा मुर्तिहरु भेटिए मलाई भन्ने किन्ने मानिस छ भनेकोले मैले पनि मेरो परिचित साथी छ सोध्छू भेटिएमा खवर गर्छु भने र सिताराम दहालले कमिसन समेत पाइन्छ भनेकोले दुवैको आउने शुक्रवार भेटघाट गर्ने सल्लाह भइ आ-आफ्नो घरमा गयौ मिति २०४७।५।२३ गते शनिवार पुनः भेट भयो र पुनः आइतवार भक्तपुर वसपार्कमा तपाईको मानिस देखाउनु भनि लग्यो । ललितपुर जिल्ला पुल्चोक हरि फर्निचरमा काम गर्ने हरिश्याम समेत लिई भक्तपुर वस पार्कमा ओर्लि केहि छिन वस्दा सिताराम दहाल समेत आए मुर्तिको कुरा गर्दै वसेको अवस्थामा प्रहरी आइ पक्राउ गरेको हो हामी मध्ये हरिश्याम भाग्न सफल भए म हरिश्याम, सिताराम दहाल समेतले मुर्ति वेच्न सफल भएमा कमिसन पाइन्छ भन्ने आसले काम गरेको हो र मुर्ति साहुंलाई पहिला देखेको थिएन भन्ने मिति २०४७।६।१ गते मीनवहादुर महर्जनले गरी दिएको वयान ।

      ८.    मेरो गाउंले सिताराम शर्मा भएकोले २०४७ भाद्र १६,१७ गते वीर अस्पतालमा भेटन जांदा नाम थाहा नभएको ठकुरी भन्ने संग भेटको कुरा हुंदा गैडाको तर्पन दिने खगौतो कतै पाइन्छ भनि ल्याउ म किन्छू भनेका र वाजे वावुको पालाको सानो खगौता घरमा छ भन्दा ठकुरीले ल्याउ म वेचि दिन्छू भन्दा साथमा मिनवहादुर महर्जनले सुनि खगौतो भनेको हो भन्दा ठकुरी भन्नेले गैडाको हुन्छ तर्पन दिंदा पवित्र हुन्छ त्यो महंगो विक्री हुन्छ भनि भन्दा त्यसो भए मैले मुर्ति ल्याए भने वेचि दिन सक्नु हुन्छ भन्दा ठीक छ ग्राहक खोजि दिउंला भनि २०४७ भाद्र २३ गते भेटने सल्लाह भइ गयो । आइतवार भक्तपुर वसपार्कमा मिनवहादुर महर्जन र अर्को नाम थाहा नभएको व्यक्तिसंग कुरा गर्दा गर्दै प्रहरीले पक्राउ गरेका हुन यसभन्दा अघि यो मुर्ति देखेको थिइन कमिसनको लोभले मात्र कुरा गरेको हो तर वेच विखन गर्न हुदैन भन्ने थाहा थिएन भन्ने मिति २०४७।६।१ गतेको सिताराम दहालले गरी दिएको वयान ।

      ९.    हालको क्यासियर नेमराज वज्राचार्य मेरो ससुरा हुन यसभन्दा अघिको क्यासियर भ.पु.न.पा. वडा नं. ९ वस्ने प्रेम कुमार क्वाङग हो । निज पनि मेरो नाता पर्ने र असल चाल चलनका व्यक्ति हुन निजलाई क्यासियरमा राख्दाको अवस्था उद्योग त्यति राम्रोसग नचलेको हुंदा निज प्रेमकुमारले वस्न नचाहेकोले आंफै गएको हुंदा ससुरा नेमराज वज्रँचार्यलाई राखेको हो उक्त वुद्धको मुर्ति मेरो ससुरा आउंदा मुर्तिसाथ लिई यस उद्योगमा आइ काम गर्ने र मुर्तिको नित्य पुजा गर्ने गरेको निजको आफ्नो मुर्ति हो भन्ने मिति २०४७।६।४ गते सगुन उद्योगका मालिक गोपाल शाक्यले गरी दिएको कागज ।

      १०.    नेमराज वज्राचार्य केहि वर्ष अघि सगुन उद्योगमा एकाउन्टेन्ट गरेको हो निज आउंदा वुद्धको मुर्ति साथमा ल्याई उद्योगको एउटा कोठामा राखी नित्य पुजा गरेको कुरा म छिमेकीको सन्तूलित दाना उद्योगमा भएकोले आउने जाने क्रममा गफ गर्ने हुंदा राम्रो चिन्दछु र निजले राखेको वुद्धको मुर्ति निजकै हो र यो दाखिल भएका मीनवहादुर महर्जन र सिताराम दहाललाई कहिले देखेको चिनेको समेत छैन यो वरामद भइ आएको मुर्ति विक्रि गर्न लागेको भन्ने कुरा मेरो वसाई अलग भएकोले थाहा छैन उक्त मुर्ति नेमराज वज्राचार्यको हो सो मुर्ति निजले नित्य पुजा गरी आएको मलाई थाहा छ भन्ने गोपाल कृष्ण के.सी. समेत अधिकांश सरजमीनका मानिसहरुले मिति २०४७।६।२१ गतेमा गरी दिएको एकै मिलानको सरजमीन मुचुल्का ।

      ११.    संकलित सवुत प्रमाणको आधारमा प्रतिवादी नेमराज, सिताराम, मिनवहादुर, हरि श्याम र एकजना नचिनेको व्यक्तीहरु वीच मुर्ति किनवेच गर्ने कुरा भइ रहेको भन्ने कुरा देखिन आएकोले उक्त ५ जना भइ प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा १३ को कसुरमा ऐजन दफा १३(५) वमोजिम प्रतिवादीहरुलाई सजाय गरी वरामद भएको मुर्ति जफत समेत गरी पाउं भन्ने समेत अभियोग दावी ।

      १२.   प्रहरीमा भएको वयान मेरो राजीखुशीको होइन प्रहरीले आफूखुशी लेखेको कागजमा लठृीले कुटी सही गराएको हो मैले भनेको व्यहोरा नलेखेकोले वयान झुठा हो । मैले नेमराज र सिताराम समेतलाई चिनेको र मुर्ति विक्रि गर्ने समेतका कुरा केहि नगरेकोले आरोप अनुसार संजाय हुनु पर्ने होइन भन्ने प्रतिवादी मिनवहादुर महर्जनले तत्कालीन वागमती विशेष अदालतमा गरेको वयान ।

      १३.   प्रहरी समक्ष भएको वयान मेरो राजीखुशीको हो मेरो वावु वाजेको पाला देखिको पुजा आजा गरी राखेको आफ्नै मुर्ति भएको र विक्रि गर्ने कुनै उद्देश्य नगरेको हुंदा आरोपित सजाय हुनु पर्ने होइन भन्ने समेत प्रतिवादी नेमराज वज्राचार्यको विशेष अदालतमा गरेको वयान।

      १४.   प्रहरी समक्ष भएको मेरो वयान इच्छँ विरुद्धको हो नेमराज र मीनवहादुरलाई अगाडि देखि नचिनेको र मुर्ति विषयमा कसैसंग केही कुरा नभएको हुंदा अभियोग अनुसार कसुर गरेको छैन भन्ने समेत प्रतिवादी सिताराम दहालले विशेष अदालतमा गरेको वयान ।

      १५.   वरामद भएको वुद्धको मुर्ति म समेतले वरामद गरी दाखिल गरेको हो प्रतिवादीहरुले वुद्धको मुर्ति अगाडि राखी वेच विखनका कुरा गरी रहेको अवस्थामा म समेतका प्रहरीहरु पुग्दा प्रतिवादीहरु भागे भन्ने समेत प्र.ना.नि. विष्णुलाल श्रेष्ठको अदालतमा गरेको वकपत्र ।

      १६.    मिति २०४७।५।२६ गते प्रतिवादी मीनवहादुरसंग मेरो भेटघँट छैन तर निज मुर्ति किनवेच गर्ने खालका मानिस होइनन भन्ने समेत प्रतिवादी मीनवहादुरका साक्षी तिर्थ महर्जन र कुलवहादुर महर्जनको वकपत्र ।

      १७.   श्री ५ को सरकार वादीले आफूले लिएको दावी पुष्टयांई हुने प्रमाण पुर्‍याउन नसकेको देखिंदा श्री ५ को सरकारको प्रहरी प्रतिवेदन दावी पुग्न नसक्ने ठहर्छ । प्रतिवादीहरुले सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटन ललितपुरको फैसला ।

      १८.   प्रतिवादीहरुले इन्कारी वयान गरेको भन्ने आधार छ तत्सम्वन्धमा पक्राउमा परेका अभियुक्तहरुले अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादी मध्येका मुख्य नेमराज वज्राचार्यले अदालतमा वयान गर्दा स्वेच्छँले गरेको कवुल गर्दै वरामद भएको मुर्ति पाटनवाट सगुन धातु उद्योग भन्ने स्थानमा स्थानान्तरण गरेको तथ्य् सावित भइ वयान गरेका छन । उक्त  वयानबाट सावित देखिंदा देखिंदै प्रतिवादीहरु कसुरमा इन्कार रहेका भनि लिइएको आधार नितान्त हचुवा र कानून संगत नभएको हुंदा फैसला वदरभागी छ ।

      १९.    प्रस्तुत मुद्दाको अभियोग खण्डमा प्रतिवादीहरुले प्राचिन स्मारक संरक्षण ऐन, २०१३ को दफा १३ विपरीत कसुर अपराध गरेको भनि माग दावी लिइएको छ । दफा १३ अध्ययन गर्दा प्राचिन स्मारक र पुरातात्विक वस्तु वा क्युरियोको सारफेर खरिद विक्रि निकासी वा संग्रहमा प्रतिवन्ध शीर्षक अन्तरगत पुरातात्विक वस्तु सारफेर समेतमा प्रतिवन्ध लगाएको र प्रतिवादीले आफ्नो वयानमा पाटनमा प्रस्तुत वरामदी मुर्ति भक्तपुर पुर्‍याएको तथ्य अदालतमा समेत सावित हुंदा हुंदै अदालतबाट उक्त वरामद मुर्ति चोरीको नभइ आफनै भएको भन्ने आधार लिइएबाट अभियोग दावी भन्दा वाहिर गई वोलेको प्रष्टै हुन्छ जवकि यदी अभियोग दावीमा उल्लेखित ऐनको दफा १२ को दावी लिएको भए चोरीमा अदालतले वोल्नू पर्ने हुन्थ्यो तर प्रस्तुत मुद्दामा दफा १२ अर्थात मुर्ति चोरीको माग दावी लिइएको छैन अतः सो अभियोग पत्रमा प्रतिवादीहरुका विरुद्ध ऐनको समेत अध्ययन भएको देखिदैन ।

      २०.   साथै वरामदी मुर्ति पुरातात्विक वस्तु भएको तथ्य पुरातत्व विभागबाट प्रमाणित भएतापनि एक ठाउंबाट अर्को ठाउंमा सार्न वा श्री ५ को सरकारको पूर्व स्वीकृति लिइएको हुनु पर्ने प्रावधान उल्लेखित ऐनको दफा १३ ले गर्दा गर्दै प्रतिवादीहरुबाट त्यस्तो स्वीकृतिको निस्सा पेश गर्न नसकेको अवस्थामा र उक्त पुरातात्विक वस्तु (मुर्ति) ऐनको दफा (७) लाई मध्य नजर राखी दफा १३(५) वमोजिम जफत समेत गरी पाउने दावी लिइएको छ । वरामदी मुर्तिका सम्वन्धमा फैसला प्रष्ट उल्लेख हुनु पर्नेमा सो वरामदी मुर्तिका सम्वन्धमा फैसला मौन रहेको छ । यस्तो अधुरो र कानूनी त्रुटीपूर्ण फैसला वदर गरी प्रतिवादीहरुलाई शुरु अभियोग पत्र माग दावी वमोजिम हदैसम्म संजाय गरी पाउं भन्ने समेत व्यहोराको श्री ५ को सरकारको तर्फबाट यस अदालत समक्ष्ँ पर्न आएको पुनरावेदन पत्र ।

      २१.   नियम वमोजिम दैनिक पेशी सुचिमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री नन्दवहादुर सुवेदीले पुनरावेदन अदालत पाटनको फैसला वदर गरी प्र.हरुलाई शुरु अभियोग पत्र माग दावी वमोजिम सजाय गरी पाउं भनि गर्नु भएको वहस समेत सुनि मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा यसमा पुनरावेदन अदालत पाटन ललितपुरको इन्साफ मिलेको छ, छैन र पुनरावेदकको पुनरावेदन जिकिर वमोजिम गर्नुपर्ने हो होइन भन्ने तर्फ नै निर्णय दिनु पर्ने  देखियो । 

      २२.   नेमराज वज्राचार्य समेतले पुरानो वुद्धको मुर्ति विक्रि वितरण गर्न लागेको हुंदा मुर्ति किन्ने तथा वेच्ने मानिसहरुलाई पक्राउ गरी मुर्ति समेत वरामद गरी पाउं भनि परेको प्रतिवेदनमा प्रतिवादीहरुलाई कसुरदार ठहर्‍याउन नमिल्ने भन्ने समेतको पुनरावेदन अदालत पाटनबाट फैसला भए उपर वादी श्री ५ को सरकारको तर्फबाट यस अदालत समक्ष पुनरावेदन पर्न आएको देखिन्छ।

      २३.   यसमा प्रतिवादी नेमराज वज्राचार्यको वावु वाजेका पालादेखि कै पुजा गर्दै आएको वुद्धको ढलोट मुर्ति निज आफ्नो घर ललितपुरबाट भक्तपुर ज्वांईको ढलोट पसलमा क्यासियरको काम गर्ने गरी जांदा नित्य पुजाको लागि त्यहि लगेको भन्ने निज नेमराजको भनाई रहेको देखिन्छ । निजले समेत सो मुर्ति वेच विखन गर्ने प्रयास गरेको भन्ने आरोपमा प्रस्तुत मुद्दाको प्रहरी प्रतिवेदन दायर भएको देखिन्छ ।

सामान्यतया विभिन्न धर्म र आस्थाका व्यक्तिले आफैले नित्य पुजा गर्ने आफ्नो धर्म वा आस्थाजन्य मुर्ति वेचविखन गर्छन भन्ने अनुमान गर्न नमिल्ने सो अनुमान निवेदक जस्तो वावु वाजेका पाला देखि नै सोही मुर्ति पुजा गरी आउने व्यक्तिको पक्षमा वढी सख्तता साथ लागु हुने स्पष्ट छ । यस्तो स्थितिमा सो प्रकृतिको अनुमान विवादित मुर्ति प्रतिवादी नेमराज वज्राचार्य काम गर्न गएको ठाउं ढलोट मुर्ति वेच्ने पसल भएपनि त्यहां सो मुर्ति निज क्यासियरको काम गर्ने कोठावाटै वरामद भएको कारणले खण्डित हुन सक्ने  देखिदैन ।  यसको विरुद्ध वादी पक्षले मुर्ति वेचविखन गर्न लागेको भन्ने प्रमाणित गर्ने कुनै सवुत गुजार्न नसकेकोले प्रतिवादीहरुलाई सफाई दिने गरेको पुनरावेदन अदालत, पाटनको इन्साफ मनासिव ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. उदयराज उपाध्याय

 

इति संवत् २०५५ साल जेष्ठ २५ गते रोज २ शुभम् ........................................ ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु