शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १ - अंश

भाग: साल: २०१५ महिना: फागुन अंक:

निर्णय नं. १              ने.का.प. २०१५            अङ्क १

(अपिल दोश्रा उपर)

डिभिजनबेञ्च

प्र.न्या.श्री हरिप्रसाद प्रधान

न्या.श्री महेन्द्रबहादुर महत

अपील नं. ४५।२५८।२७७

 

अपिलबाट : बोध शम्शेर समेत

बिरुद्ध

रेस्पोन्डेन्ट : ज.समर शम्शेर

मुद्दा : अंश

(१)   दानदातव्यको ११२ नं. (मुलुकी ऐन भाग ३) शेष पछि को बण्डापत्र जहिले सुकै पनि बदर गर्न सकिनेशेषपछिको बोली परे तापनि मजबून शेषपछिको भए पुग्ने ।

            शेषपछिको बण्डापत्र ऐनले बदर हुने, नहुने विषयमा शेषपछिको बण्डापत्र नभनी खाली बण्डापत्र मात्र भनी रजिष्ट्रेसन पास गराउनु भएको भए खाली बण्डापत्र मात्र ठहरीने हुनाले बदर नहुने । तर शेषपछिको बण्डापत्र भन्नाले बण्डापत्रको ढाँचाबाट शेषपछिको दातव्य गर्नु भएको देखिन्छ । शेषपछिको बण्डापत्र भन्ने बोली परे तापनि तेसमा उल्लेख भएका कुराहरू हेरी बिचार गर्दा ज.समर शम्शेरले आफू मरे पछि यस रीत संग बाँडी खानु भन्ने आशयको कागज गरी दिनु भएको देखिन्छ । त्यसै कारणले बहाँले आफ्नो भागको केही उल्लेख नगर्नु भएको देखिन्छ । वस्तुतः यो कागजको मजबून चाहीं शेषपछिको बन्देज दातव्यको तौरबाट गरेको देखिन्छ र दानदातव्यको १२ नं.ऐनले जहिले सुकै पनि बदर गर्न सक्नु हुने हुनाले सो ऐनको रीत पुर्‍याइ रजिष्ट्रेसन अफिस मार्फत बदर गराउनु भएको ऐन बमोजिम नै भन्नु पर्ने ।

(प्रकरण नं.१२)

(२)   अंश बंडाको २८ र ३७ नं.छोराहरूको मन्जूरी बेगर अंशबण्डा हुनसक्ने नसक्ने के हो ? मानु छुट्टिई भिन्न बसेपछि छोरा अथवा बाबुले बण्डा गर्दिन भन्न नपाउने ।

            छोराहरूको मन्जूरी बेगर बण्डापत्र गर्न हुंदैन भन्ने अंशबण्डाको २८ नम्बरमा उल्लेख भएको । ३७ नम्बरमा मानु नछुट्टिई संग बसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन लगाएको ऋण सवै अंशियारहरूलाई भाग लाग्छ । ऐन बमोजिम अंश गरि लिनु दिनु । तर अंश नभए पनि छुट्टिई भिन्न बसेका वा खती उपती आफ्नो आफ्नो गरि आफ्नो आफ्नो हिस्सा संग मात्र राखी खानु पिउनु, एकै ठाउँमा गरेको भए पनि मानु छट्टिई भिन्न भएको ठहरर्नाले कमाएको धन लगाएको ऋण आफ्नो हुन्छ भन्ने स्पष्ट शब्दमा उल्लेख भएको र मानु छुट्टिई भिन्न भएको ठहरर्नाले भन्ने किटानी ऐन भएकाले मानु छुट्टिएकोमा सगोलै छ भन्न नमिल्ने । अंशबण्डाको २८ नम्बरमा उल्लेख भएको कुराहरू सगोल बस्नाको अवस्थालाई लिएर उल्लेख भएको स्पष्ट छ । यस मुद्धामा मानु छुट्टिई बेग्ला बेग्लै बसेको मिसिलबाट देखिन्छ । त्यसो हुनाले अब छोराहरूले म बण्डा गर्न माग्दिन भन्ने जिकिर अंशबण्डाको ३७ नम्बर ऐनले बेमुनासिब देखिन्छ ।

(प्रकरण नं.११,१२)

(३)   तायदाती अपीलले लिनु पर्ने देवानीमा पठाउनु नपर्ने । तायदाती लिने विषयमा अपील दोश्राले नै तायदाती लिई ऐन बमोजिमको बण्डापत्र खडा गरी दिनु पर्ने ।

(प्रकरण नं.१२)

 

फैसला

      १.     यस्मा जेठी रानी कृतिलक्ष्मी देवी तर्फका छोरा पुष्कर शम्शेर ८१ सालमा र निज जेठी रानी र बालकृष्ण शम्शेर २००० सालमा छुट्टिई भिन्न भएका । अरू अन्यायवालाहरू र म समेत सगोलमा बसी आएकोमा मेरो भाग नराखी मेरा शेष पछि अन्यायवालाहरूले खान लिन पाउने गरी २००० साल ज्येष्ठ २४ गते शेषपछिको बण्डापत्र खडा गरी पास समेत भएकोमा २००९ साल चैत्र ९ गते अन्यायवालाहरूले जनही मो.रु.६००० का दरले नगदी लिई मानु छुट्टिई पास समेत गरी बेग्लै बसेकामा पनि अंश छुट्याई पाउँ भनी बराबर झगडा गर्ने गरेकाले र मेरो भाग अंश नराखेको हुँदा अंशबण्डा गरी दिनै असल ठानी अंशबण्डा गरी दिन्छू, लेउ भन्दा अंश लिन नमानेकाले २०००।२।२४ को शेषपछिको बन्देजी बण्डापत्र बदर गराई पाउँ भनी रजिष्ट्रेसन अड्डामा दरखास्त गरी मैले र अन्यायवालाहरूले समेत बदर भएको जनाउ पाई सकेका । अंश लिन मन्जूर नगरेकाले मेरो पूरा भाग र अन्यायवालाहरूलयाइते स्वास्नी र निज तर्फका छोराहरू हुनाले ६ खण्डको १ खण्डका दरले निजहरूलाई अंशबण्डा छुट्याई दिई निजहरूले मबाट लिएको २००९।१२।९ गतेका लिखत बमोजिमको मो.रु.३६००० मलाई दिलाई अंशबण्डा छुट्याई पाउँ भन्ने समेत व्यहोराको ज.समर शम्शेरको फिरादपत्र ।

      २.    ०९।१२।९ मा मानु छुट्टिएको र वादीले आफ्नो आफ्नो भाग लेओ भनेकोमा म लिन मन्जुरै थिएँ तापनी मैले मात्र लिएर वादीलाई हल्का नहुने हुँदा वादी झुट्टा भन्ने समेत फूलकुमारी देवीको र २०००।२।२४ गते नै शेषपछिको वन्देजी बण्डापत्र पास भई सकेको । सो बदर गराए भन्ने वादीका हकमा शेषपछिको भन्ने लवज सम्म बदर भएको चल धनमाल बण्डा हुन बाँकी थियो तापनि बादी बुबा भएकोले शेष पछि बााकी रहेको खाऔंला भनी बसेका हौं । २००९।१२।९ गते रु.६००० का दरले लिई बेग्लै भान्सा गरी बसे तापनि छुट्टिई अंश लिन मन्जूर छैनौं भन्ने समेत व्यहोराको बोध शम्शेर समेतको प्रतिवादी ।

      ३.    वादी प्रतिवादीहरू २००० साल मै छुट्टिई भिन्न भएका । सो बण्डापत्र शेषपछिको हुँदा बदर गराई सकेको भन्ने वादी भएकाले रजिष्ट्रेसन बुझेमा शेषपछिको भन्ने लवज जति बदर भएको भन्ने जवाफ आएको । सो २००० सालको बण्डापत्रै बदर नभई शेषपछिको भन्ने लवज सम्म बदर भएकाले बण्डापत्र बदर भन्न नहुने हुनाले अंश जिम्मा लगाई पाऊँ भन्ने वादीको दाबी पुग्न सक्तैन भन्ने रा.का.देवानी दोश्रा फांटका हाकिम र विचारीको २०११ साल मार्ग १७ गते ५ को फैसला ।

      ४.    २००० सालको बन्देजी बण्डापत्र शेषपछिको हुँदा बदर भइसकेको । वादीले सो बण्डापत्रमा आफ्नो भाग राखेको पनि नदेखिएको । कर्ण शम्शेरको अंशमा नालिस परी सकेको र फूलकुमारी अंश बण्डा लिन मंजुरै भएकीले वादी दाबी बमोजिम तायदाती लिई बण्डापत्र खडा गरी बण्डा छुट्याई दिने ठहर्छ भन्ने रा.का. देवानी दोश्रा फांटका अ.डि. गुणराजको ०११।८।१७।५ को राय पर्चा ।

      ५.    २०००।२।२३ मा खडा भई ऐजन २४ गते पास भएको बण्डापत्र तोडी ०९।१२।९ मा मानु छुट्टिई वादी प्रतिवादीहरू भिन्न बसेका । सो शेषपछिको बण्डापत्र बदर गराए ऊपर प्रतिवादीहरूले उजूर गर्न नसकेका । अंशबण्डाका २८ न.ले अंश छुट्याउन नपाउने हो कि ? भन्न वादी प्रतवादीहरू सगोलमा बसेका नभई छुट्टिई भिन्न बसेकाले र प्र.कर्ण शम्शेरले अंश पाउँ भनी नालिश गरेको समेत हुँदा अंश नछुट्टिने भन्न मुनासिब नहुने हुनाले शुरु अदालतका हाकिम र बिचारीले गल्ती इन्साफ गरेका र अ.डि.ले मुनासिव इन्साफ गरेको ठहर्छ । तायदाती लिई बण्डा छुट्याई दिनु भनी मिसिल शुरु मा पठाई दिने भन्ने अपील दोश्रा फांटको ०१२।३।८।४ को फैसला ।

      ६.    हामीहरूको अचल सम्पत्तिको भाग बण्डा भई वन्देजी बण्डापत्र पास समेत भएको अंश बण्डाका २८ नं.ले छुट्टिन कर नलाग्ने हुँदा अपीलको इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको बोध शम्शेर समेतको अपील ।

      ७.    पाउने अंश भागमा पनि घटाई अपीलले फैसला गरेकाले चित्त बुझेन भन्ने समेत व्यहोराको फूलकुमारीको अपील ।

      ८.    बण्डापत्र गर्नु पर्ने ठहराई फैसला भए पछि अपीलबाटै बण्डापत्र खडा गरी फैसला गर्नु पर्नेमा शुरु मा पठाई दिने गरेकाले चित्त बुझेन भन्ने समेत व्यहोराको ज.समर शम्शेरको अपील ।

      ९.    यसमा ज.समर शम्शेरको वारिस भीमसेन थापा र फूलकुमारीको वारिस विष्णुबहादुर औ बोध शम्शेर समेतको वारिस दीपबहादुर समेत राखी पेश हुन आएको बुझ्दा ज.समर शम्शेरको २३ गुँण भएकोमा १ गुँणको सन्तानलाई अघिनै बण्डा दिई सक्नु भएको र बाँकी बण्डा दिनु पर्ने सन्तानलाई शेषपछिको बण्डापत्रको कागज गरी आफ्नु हक केही नराखी सबै सम्पत्ति स्वास्नी छोराहरूलाई दिने बन्दोबस्तको कागत रजिष्ट्रेशन समेत पास गराई राख्नु भएकोमा पछि रजिष्ट्रेशन आफिस मार्फत नै सो कागज बदर गराउनु भए पछि जनही रु.६००० दिई सबै छोरा स्वास्नीको मन्जूरी साथ मानु छुट्टिई सो विषयको कागज रजिष्ट्रेशन पास गराउनु भएको र अब वृद्धावस्था भएकाले सबै स्वास्नी छोराहरू समेतलाई रीतपूर्वकको अंशबण्डा गरी पाउँ भनी देवनीमा नालिस गर्नु भएकोमा पहिले नै अंशबण्डा गरी पास समेत भएकाले अव अंशबण्डा गरी दिनु नपर्ने भनी हाकिमको र विचारीको रायमा असिस्टेन्टले बण्डा गरी दिनु पर्छ भनी ठहराएको अपील परी आएपछि अपील दोश्राले असिस्टेन्टको राय सदर गरेकोमा यस न्यायालयमा अपील पर्न आई दुवै थर झगडियाका वारिसहरू राखी डिभिजनबेञ्चमा छलफल हुँदा यसमा ठहराउनु पर्ने :

(१)    पहिले ज.समर शम्शेरले शेषपछिको बण्डापत्र गरी दिनु भएको ऐनले बदर हुने,   नहुने के हो ?

(२)   ऐनले बदरहुने भए रीतपूर्वकको बण्डा गर्न लाई छोराहरूको वेमन्जुरीमा गर्न मिल्ने,      नमिल्ने के हो ?

(३)   मानु छुट्टिई सकेपछि छोरा अथवा बाबुले बण्डा गर्दिंन भन्न पाउने हो, होइन ?

      १०.    १ का विषयमा शेषपछिको बण्डापत्र नभनी खाली बण्डापत्र मात्र भनी रजिष्ट्रेशन पास गराउनु भएको भए खाली बण्डापत्र मात्र ठहरिने हुनाले बदर नहुने । तर शेषपछिको बण्डापत्र भन्नाले बण्डापत्रको ढाँचाबाट शेषपछिको दातव्य गर्नु भएको देखिन्छ । शेषपछिको बण्डापत्र भन्ने बोली परे तापनि त्यसमा उल्लेख भएका कुराहरू हेरी विचार गर्दा ज.समर शम्शेरले आफू मरेपछि यस रीति संग बाँडी खानु भन्ने आशयको कागज गरी दिनु भएको देखिन्छ त्यसै कारण वहाँले आफ्नो भागको केही उल्लेख नगर्नु भएको देखिन्छ । वस्तुतः यो कागजको मजबून चाहीं शेषपछिको बन्देज दातब्यका तवरबाट गरेको देखिन्छ र दानदातव्यको १२ नं.ऐनले जहिले सुकै पनि बदर गर्न सक्ने हुने हुनाले सो ऐनको रीति पुर्‍याई रजिष्ट्रेशन आफिस मार्फत बदर गराउनु भएको ऐन बमोजिम नै भन्नु पर्ने ।

      ११.    सो शेषपछिको कागज बदर भए पछि छोराहरूको मन्जूरी बेगर बण्डापत्र गर्नु हुँदैन भन्ने अंशबण्डाको २८ नं.मा उल्लेख भएको । तर मानु छुट्टिई सके पछि अंशबण्डाको २८ नं.बमोजिम छोराहरूले मन्जूर नगरेमा बण्डापत्र गर्न हुने, नहुने विषयलाई अंशबण्डाको ३७ नं.मा उल्लेख भएको कुरा विचार गर्न माथी लेखिएको ३ दफाको निर्णय गर्नु पर्ने देखिएको । सो अंशबण्डाको ३७ नं.मा मानु नछुट्टिई संग बसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ । ऐन बमोजिम अंश गरी लिनु दिनु, तर अंश नभए पनि मानु छुट्टिई भिन्न बसेका वा खती उपती आफ्नू आफ्नू गरी आफ्नो आफ्नो हिस्सा संग मात्र राखी खानु पिउनु एकै ठाउँमा गरेको भए पनि मानु छुट्टिई भिन्न भएको ठहर्नाले कमाएको धन लगाएको ऋण आफ्नो आफ्नो हुन्छ भन्ने स्पष्ट शब्दमा उल्लेख भएको र मानु छुट्टिई भिन्न भएको ठहर्नाले भन्ने किटानी ऐन भएकाले मानु छुट्टिएकोमा सगोलै छ भन्न नमिल्नेमा अंशबण्डाको २८ नं.मा उल्लेख भएका कुराहरू सगोल बस्दाको अवस्थालाई लिएर उल्लेख भएको स्पष्ट छ ।

      १२.   यस मुद्दामा मानु छुट्टिई बेग्ला बेग्लै बसेको मिसिलबाट देखिन्छ । त्यसो हुनाले अब छोराहरूले म बण्डा गर्न माग्दिन भन्ने जिकिर अंशबण्डाको ३७ नं.ऐनले बेमुनासिव देखिन्छ र अपील दोश्रा फाँटले देवानी दोश्राको असिस्टेन्टको राय सदर गरी छिनेको मुनासिव छ । तर तायदाती लिने विषयमा अपील दोश्राले नै तायदाती लिई ऐन बमोजिमको बण्डापत्र खडा गरी दिन देवानी दोश्रा फाँटमा पठाउनु । यो फैसला सहितको मिसिल अपील दोश्रा फांटमा पठाई तपसीलका कुरामा तपसीलै बमोजिम गर्नु ।

 

तपसील

वादी ज.समर शम्शेर के निजले नालिश साथ राखेकोर्को फी मो.रु.१८६२।५४ र अपील गर्दा राखेको कोर्ट फी मो.रु.१८४।२६ समेत जम्मा कोर्ट फी.मो.रु.२०४६।८० प्रतिवादी मध्येका टीका शम्शेरबाट २ भाग र फूलकुमारी १ वेदकुमारी १ कर्ण शम्शेर १ वोधशम्शेर १ समेत ४ जनाबाट बराबरका दरले ४ भाग समेत गरी प्रतिवादीहरूबाट वादीलाई भराई दिने भनी अपील दोश्राका ०१२।३।८।४ का फैसला बमोजिम ०१२।६।४।३ मा अ.त.बिगो फांटमा लगत दिएको देखिएकोमा सो कोर्ट फी र अ.दो.ऊपर अपील गर्दा लाग्ने कोर्ट फी समेत मुद्धा फैसला हुँदा जोबाट लिने ठहर्छ उसैबाट लिने गरी हाल कोर्ट फी मा पक्राउ नगरी अपील लिई दिनु भन्ने आदेश पाउं भन्ने बोध शम्शेर समेतका प्रतिवादीहरूको परेको निवेदनमा पछि मुद्दा फैसला हुँदा पाउने अंशबाट कट्टा गरी गर्ने हाल पक्राउ नगरी अपील दर्ता गरी दिनु भन्ने भएका ०१२।५।१७ को आदेश बमोजिम प्रतिवादीहरूबाट सो कोर्ट फी दाखिल भई नसकेकाले अपील दोश्रा फाँटका ०१२।३।८।४ का फैसला बमोजिम लगत काटी वादीले प्रतिवादीहरूबाट पाउने ठहरेको कोर्ट फी मो.रु.२०४६।८० मध्ये प्र.टीका शम्शेरबाट २ भाग र अरू फूलकुमारी १ वेदकुमार १ कर्ण शम्शेर १ बोध शम्शेर १ समेत ४ जनाबाट बराबरका दरले ४ भाग समेत वादी प्रतिबादीहरू को अंश छुट्याई बण्डा हुँदाका बखत प्रतिबादीहरूको अंश भागबाट कट्टा गरी वादीलाई भराई दिनु भनी अ.त.बिगो फांटमा लगत दिनु ............१

प्रतिवादी देहायका मानिस के अपील दोश्रा ऊपर अपील गर्दा राख्नु पर्ने कोर्ट फी मो रु.९२।१।३ मा पछि अंश छुट्याउँदाका बखत लिने गरी हाल कोर्ट फी मा पक्राउ नगरी अपील लिई दिनु भन्ने भएका ०१२।५।१७ का आदेश बमोजिम सो कोर्ट फी दाखिल नभएको र अपील दोश्राको इन्साफ सदर भएकाले निज प्रतिवादीहरूलाई सो कोर्ट फी लाग्ने नै हुँदा सो कोर्ट फी मो रु.९२।१३ मध्ये प्र. टीका शम्शेरबाट २ भाग र अरू प्रतिवादी ४ जनाबाट देहाय बमोजिम बराबरका दरले ४ भाग समेत असूल गर्नु भनी अ.त.बिगो फांटमा लगत दिनु .............. २

का.ई.ज्ञानेश्वर बस्ने प्र.टीका शम्शेर ज.ब.रा.के. मो.रु.३०।७१, ऐ ऐ फूलकुमारी देवी ऐ के मो.रु.१५।३५।२, ऐ ऐ बेदकुमारी देवी ऐ के मो.रु.१५।३५।२ऐ ऐ कर्ण शम्शेर ऐ के मो.रु.१५।३५।२, ऐ ऐ बोध शम्शेर ऐ के मो.रु.१५।३५।२

वादी अपीलबाट समर शम्शेर ज.ब.रा.के अपील दोश्रा ऊपर अपील गरे वापत सजाय गर्नुपर्छ कि भन्नालाई कोर्टफि राखी अपील गरेको र सो कोर्टफि फिर्ता नपाउने हुँदा केही गर्नु परेन  ........ ३

इतिसम्वत् २०१२ साल मार्ग २२ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु