शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३ - जिमिदारी नामसारी

भाग: साल: २०१५ महिना: फागुन अंक:

निर्णय नं.३         ने.का.प. २०१५

(सदर अपील दोश्रा ऊपर)

डिभिजनबेञ्च

न्यायाधीश श्री तिलक शम्शेर थापा क्षेत्री

न्यायाधीश श्री उपेन्द्रराज

स.दे.ठा.नं.८९६

निबेदक      : पूर्ण गोविन्द समेत

बिरुद्ध

बिपक्षी : विज्ञानप्रसाद

मुद्दा : जिमिदारी नामसारी

(१)   जिमिदारी नाउंसारी लिखतको म्याद भित्र दर्ता नगराए साविक दर्तावाला मरे पछि दर्ता नगराए नापी सवाल बमोजिम सर्पट महाजाँचको नापीमा दर्ता नगराए दर्ता गरी नदिए ३५ दिनभित्र उजूर गरी अर्काको दर्ता बदर नगराए जग्गा पजनीको ३४ नं. आफ्नो हकको जग्गा अर्काको नाउँमा दर्ता भएको थाहा पाएको २ बर्ष भित्र नालिस दिई दर्ता बदर वातिल नगराए ७१ साल र त्यसै पछि र आखिर २००० सालमा भएको सनद ईश्तिहार र बडापत्र बमोजिम म्याद भित्र आफ्नो हक भोगको जग्गा आफ्नो नाउँमा दर्ता नगराए बटैयादारहरू पनि बिपक्षी कै जग्गा कमाएकोमा सावित भएमा हक पुग्न सक्तैन । (नजीरको रूपमा पेश गरिएका मीनबहादुर बि. सरस्वतीको मुद्दा १ गोपीलाल वि.सेवकको मुद्दा १ छट्याइयो)

            लिखतमा ७८ सालका बालीमा नाउँसारी गराई लिनु भन्ने लेखिएको । सो म्यादभित्र नामसारी गराई लिन नसकेको । सावित दर्तावाला जीतगोबिन्द ८३ सालमा मरे पछि आफ्ना नाममा नामसारी गर्न सक्नु पर्ने सो पनि नसकेको । आफ्नो हक पक्का भएका भए ८३ सालमा सपर्ट महाजाँच हुँदा सो मौजाहरू आफ्ना नाउँमा नाप जाँच गराई नापीमा दर्ता गराउनसक्नु पर्ने । नापीले बेहिसाब गरी आफ्ना नाउँमा दर्ता गरी नदिएको भए नापी सवाल बमोजिम ३५ दिन भित्र उजूर बाजुर गरी आफ्ना नाउँमा दर्ता गराउनसक्नु पर्ने । ३५ दिन भित्र उजूर नगर्नेको उजूर लाग्दैन भन्ने नापी सवालमा यस्तो महत्वपूर्ण कुरा लेखिएकोमा पनि सो कुराको बिचारै नगरी चुप लागि बस्ने वादीको हक कायम रहन कानूनले नसक्ने । त्यस पछि ८५ सालमा सो जिमिदारी जग्गा मर्ने साविक दर्तावाला जीतगोविन्दका नाउँबाट निजको हक निजका छोरा पूर्णगोबिन्द र जीतगोविन्दका भाई हरिगोबिन्दको हक निजको छोरा कीर्तिगोविन्दको नाउँमा नामसारी दर्ता भएको कुरा वादीलाई थाहा जानकारी भएको वादी लेखबाटै देखिएको । त्यस उपर जग्गा पजनीका ३४ नं.का म्याद २ बर्ष भित्र उजूर बाजर गरि बदर बातिल गराउन समेत नसकेको, आफ्नो हक भोगको जग्गा जिमिदारी आफ्ना नाउँमा नामासारी गर्नु पर्छ । नामासारी गर्न नसके उजुर लाग्ने छैन भनी ७१ सालमा र त्यसपछि पटक पटक बीचमा र आखिर २०००।८।२७ गतेमा समेत सनद इश्तिहार बण्डापत्र भएको सो सनद इश्तिहार बण्डापत्रका म्याद भित्रमा समेत आफ्ना नाउँमा नामसारी गराई लिन र साल साल तिरो भरो गरेको निस्सा पेश गर्न समेत नसकेको । बटैयादारहरूले निजै पूर्णगोविन्द कीर्तिगोबिन्द भई जग्गा कमाएमा साबित भई कागज लेखी दिएको मिसिलबाट देखिएकोले दर्तावालाहरू कै भोग देखिन आएको । दर्ता भोग बेगर वादीको दाबीको जग्गामा हक पुग्छ भन्न नहुने ।

(प्रकरण नं.९)

(२)   अ.बं.को.१०६ नं. हक नपुग्ने वादी दाबी खोरज हुने ।

            अ.बं.१०६ नं.ले हक नपुग्ने वादीको नामसारी गरी पाउँ भन्ने वादी दाबी पुग्न सक्त्तैन । खोरज गरी दिने ।

(प्रकरण नं.९)

(३)   नामसारी गरी दिनमा मन्जूर भई प्रतिवादी दिएकोमा नामसारी गरी दिनुपर्छ ।

            कीर्तिगोबिन्द तर्फ माथि लेखिए बमोजिम वादीले दर्ता भोग तिरो भरो गर्न नसके पनि नाउँ सारी गरी दिनामा मन्जूर भई प्रतिवादी दिएको र अपीलबाट इन्साफ गर्न शुरुमा पठाउने फैसला भए पछि पनि अपील उजूर केही नगरी वादीका नाममा नाउँसारी गरी दिने मन्जूर भई चित्त बुझाई बसेको देखिएको । निज तर्फका अरू कसैको नामसारी गरी दिनु नपर्ने भन्ने उजूर भएको मिसिलबाट नदेखिएको हुनाले निजको हक जति नामसारी गरी दिनु भनी कीर्तिगोबिन्दलाई जनाउ दिने र नामसारी गराई लिनु भनी वादीको सकार गर्ने पूर्णप्रसादको वारिसलाई सुनाई दिनुपर्ने ठहर्छ ।

(प्रकरण नं.९)

(४)   हा.क.को नं.१५ शुरु अपील सिंगलबेञ्चले समेत गल्ती गरेमा शुरु अपीललाई जरिवाना हुने ।

            शुरु अपील सिंगलबेञ्चले समेत केही गल्ती गरेको ठहर्छ । शुरु लाई अपीलले ऐन छाडेमा भनी जरीवाना गरी सकेकोले केही गर्नु पर्दैन । अपीललाई केही गल्ती गरेमा हा.क.७।१५ ले तजबीजी मो.रु.१। जरिवाना गर्नु ।

(प्रकरण नं.९)

निवेदक तर्फबाट : सिनियर एडभोकेट श्री गुलाबबाबु

बिपक्षी तर्फबाट      : सिनियिर एडभोकेट श्री देवनाथ प्रसाद बर्मा ।

फैसला

      १.     यसमा कीर्तिगोविन्दको जेठा बाबु पूर्णगोविन्द बद्रीगोविन्दको बाबु जीतगोविन्दबाट कं.रु. ४००१। मा सरलाही असीमौ मगरठाना जोत जिरायत समेतको जिमिदारी ७८।८।१५ मा राजीनामा र वकैनिया जिमिदारी चार आना माधवपुर सवा पांच आना समतेको जोत जिरायत समेत ७८।१२।१ मा बकसपत्र दिनु भई मेरो हक भएको । जितगोविन्द छउन्जेल निजका नाउँमा र निजको शेष पछि छोरा भतीजा कीर्तिगोबिन्द पूर्णगोविन्का नाउँमा नाउँसारी गराई उसै बखत देखि मानिस राखी काम गराई २९ ३० बर्ष अछिन्न भोग गरी आएकोमा २००८ साल माघमा बद्रीगोविन्द बद्री नाथ आई खिचोला गरे भनि मेरो गुमस्ता जिवनाथ समेतले भन्न आएको । जांदा लूटपीट समेत गर्ने गरी जवरदस्ती गरेकाले नालिश गर्न आएको छु । कीर्तिगोविन्द पूर्णगोविन्दबाट १४ नं.फारम बमोजिम लगतको जोत जिरायतको सोरह आना मगरठाना जिमिदारी १ बकैमिया माधवपुर समेतको निजहरूको नाउँ खोरज गरी ऐन बमोजिम मेरो नाउँमा दाखिल दर्ता गराई पाउँ भन्ने समेत व्यहोराको विज्ञानप्रसादको वादी रहेछ ।

      २.    लेखिएको जिमिदारी जिरायत जीतगोविन्द छउन्जेल निजले र निज पछि पूर्णगोविन्द कीर्तिगोविन्दहरूले नाउँ सारी गरी भोग चलनगरी आएको । यो बादीले पनि काम काजसम्म गरी आएको हो । राजीनामा र बकस गरी दिएको समेत मलाई थाहा छैन । मेरो सरोकारै नहुँदा मेरो ऊपर झुट्टा उजूर गरेको भन्ने समेत व्यहोराको बद्रीनाथको प्रतिवादी रहेछ ।

      ३.    जेठा बाबु जीतगोविन्दबाट ७८ सालमा वकैनिया माधवपुुर बकस र मगरठाना राजीनामा गरी दिनु भएकोले उसै बखत देखि वादीले तिरो भरो असूल तहसील गरी आएको हुँदा वादीकै हक भई मैले खिचोला गराएको थिइन । नामसारी गरी दिनामा बेमन्जूर गरेको समेत होइन । नाउँसारी गरी दिनामा मन्जूर छँदा छँदै झुठ्ठा उजूर गरेको भन्ने समेत कीर्तिगोविन्दको प्रतिवादी रहेछ ।

      ४.    वादी बाबुहरूको मानिस इलम रोजगार केही नहुँदा व्यापारमा र घरको व्यवहारमा समेत काम गराउने गरी आएको । २००५ सालमा जेठाका छोरा कान्छाका छोरा एक पट्टी भई मानु छुट्टिइ बेग्लै बसेका । श्री सम्पत्ति जिम्मा लिने कीर्तिगोविन्दले आजसम्म अंशबण्डा गरी नदिई हामीलाई अंश मार्ने नियतले वादीसंग मिली सो मौजाहरूको हक टुटाई दिने नियत गरी भएको कागज पत्र वादीलाई दिई यो नालस गराएका हुन् । बकस राजीनामा पाएको भए मौकैमा आफ्ना नाउँमा नाउँसारी गराई लिनु पर्ने । १९८५ सालमा मालबाट म्याद टाँस भई दर्ता भएको र आफ्ना आफ्ना हकको जग्गा जिमिदारी आफ्ना आफ्ना नाउँमा दर्ता गर्नु । पछि उजूर लाग्ने छैन भनी सरकारबाट ईस्तिहार जारी भएको । बादीले दर्ता गराउन नसकेको । खास हाम्रो हकको जग्गा नाउँसारी गरी दिनामा हाम्रो मन्जूर छैन भन्ने समेत व्यहोराको पूर्णगोविन्द बद्रीगोविन्द समेतको प्रतिवादी रहेछ ।

      ५.    १९७८ सालमा राजीनामा बकस भएको भनी फिरादमा लेखेको । २००९ सालमा मात्र नाउँसारी गराई पाउँ भन्ने उजूर भएको । साल सालै पोत तहसील गर्नु पर्ने जग्गा पजनीको ६ नं.ले ३५ दिन भित्र गराई लिनु पर्छ भन्ने लेखिएको । हदम्यादका हकमा ३४ नं.मा २ बर्षसम्म म्याद तोकिएको । सो म्याद भित्र दर्ता गराएको र उजूर गरेको नदेखिएको । जीतगोविन्द मरेपछि १९८५ सालमा कीर्तिगोविन्द पूर्णगोविन्दका नाउँमा दर्ता भएको वादीले पेश गरेको वहालीबाट देखिएको । सो वहालीमा म्याद टाँस हुँदा ३५ दिन भित्र कसैको उजूर नपरेको । २०००।८।२७ मा उर्दी पुर्जी हुँदा समेत चुप लागि बसेको हुँदा यो उजुर खोरज हुने ठहर्छ भन्ने समेत व्यहोराको ल.पु.अ.को फैसला रहेछ ।

      ६.    बण्डापत्र बमोजिम जिमिदारका नाउँमा भएको नभई तालुकवालाका नाउँमा भएको ऐन इश्तिहार नभई दुनियाँँलाई जानकारी हुन नसक्नाको पनि सम्भव र वादी हक देखिएका लिखत प्रमाणबाट हक पुग्ने पक्का प्रमाण भएमा नाउँसारी गर्न ढीला सुस्ती भएबाटै हक जान भन्न नमिल्ने हुँदा, हक बेहक तहकिकात गर्नु पर्ने ठहर्छ । मिसिल तहकिकात गर्न शुरु ल.पु.अदालतमा पठाई दिने भन्ने समेत व्यहोराको अपील दोश्राको फैसला रहेछ ।

      ७.    अपीलाट बद्रीनाथले २०११।११।३को तारिख गुजारी बसेकोले निजको अपील डिसमिस गरी दिनु । हाजिर हुनेहरूका हकमा लिखत बमोजिम भोग गरी आएको छ । नामसारी गराई पाउं भन्ने दावी लिएको फिराद दर्ता भई एक जना प्रतिवादी कीर्तिगोविन्दले साबिती प्रतिउत्तर समेत दिएको । यस्तो मुद्दामा जो बुझनु पर्ने बुझी ठहरे माफिक फैसला गर्नु पर्ने खोरज गर्न नमिल्ने हुनाले ल.पु.अदालतले खोरज गरेको बदर गरी ठहरे बमोजिम किनारा गरी दिनु पर्ने भनी छिनेको ईन्साफ अपील दोश्राको मुनासिब छ । अपीलबाटै किनारा गरी दिनु । शुरुमा पठाउनु पर्दैन भन्ने भू.पू.प्रधान न्यायाधीशज्जूबाट आदेश भए अनुसार तारिखमा रहेका दुवै थरी झगडियालाई अपील अड्डामा हाजिर हुने तारिख तोकी पठाई दिनु भन्ने समेत व्यहोराको ०१३।५।१२ को सिंगलबेञ्चको फैसला रहेछ ।

      ८.    डिभिजन बेञ्बाट मुद्दा दोहराई पाउँ भन्ने समेत व्यहोराको पूर्णगोबिन्द बद्रीगोविन्दले चढाएको निवेदनमा यसमा डिभिजनबेञ्चबाट दोहराई ऐन सवाल बमोजिम तुरन्तै गरी दिनु भन्ने श्री ५ महाराजाधिराबाट हुकुम बक्से बमोजिम लेख्ने काम भएको छ भन्ने प्रमुख निजी सचिवबाट ०१३।५।२८ मा तोक लागि आएको रहेछ ।

      ९.    प्रमांगी बमोजिम बादीको सकार गर्ने पूर्णप्रसादको वा. भरतप्रसाद र निज तर्फको वकील विद्वान सिनियर एडभोकेट देवनाथप्रसाद समेत र निवेदक बद्रीगोविन्द र पूर्णगोविन्दको वा.रामचन्द्र निज तर्फका वकिल विद्वान सिनियर एडभोकेट गुलाववावू समेतलाई राखी पेश गर्न ल्याएको यस मुद्दामा बुझ्दा ७८।८।१७ गतेमा जीतगोविन्दले विज्ञानप्रसादलाई रु.४००१ मा मगरठाना जोत जिरायत समेतको मौजा राजीनामा र ७८।१२।१ मा बकेनिया चार आना माधवपुर सवा पाँच आना जोत जिरायत समेत मौजा बकसपत्र गरी दिएको सो जग्गा मामाको छोरा पूर्णगोविन्द कीर्तिगोविन्दका नाममा नामसारी दर्ता गरी राखेको । मेरो नाममा नामसारी गरी पाउँ भन्ने वादी । हाम्रो हकको जग्गा हुनाले नामसारी गरी दिनु नपर्ने भन्ने जीतगोविन्दका छोरा पूर्णगोविन्द बद्रीगोविन्द समेत र नामसारी गरी दिनु पर्ने हो भन्ने जीतगोविन्दको भाई हरिगोविन्दको छोरा कीर्तिगोविन्दको प्रतिवादी भएकोले नामसारी गरी दिनुपर्ने नपर्ने के रहेछ ? भनी इन्साफ तर्फ विचार गर्दा लिखतमा ७८ सालका बालीमा नाउँसारी गराई लिनु भन्ने लेखिएको । सो म्याद भित्र नामसारी गराई लिन नसकेको । साविक दर्तावाला जीतगोबिन्द ८३ सालमा मरेपछि आफ्ना नाममा नामसारी गर्न सक्नु पर्ने सो पनि नसकेको । आफ्ना हक पक्का भएको भए ८३ सालमा सर्पट महाजांच हूँदा सो मौजाहरू आफ्ना नाउँमा नाप जांच गराई नापीमा दर्ता गराउन सक्नु पर्ने । नापीले बेहिसाव गरी आफ्ना नाउँमा दर्ता गरी नदिएको भए नापी सवाल बमोजिम ३५ दिन भित्र उजुर बाजुर गरी आफ्ना नाउँमा दर्ता गराउन सक्नु पर्ने । ३५ दिन भित्र उजुर नगर्नेको उजुर लाग्दैन भन्ने नापी सवालमा यस्तो महत्वपूर्ण कुरा लेखिएकोमा पनि सो कुराको विचारै नगरी चुपलागि बस्ने वादीको हक कायम रहन कानूनले नसक्ने । तेसपछि ८५ सालमा सो जिमिदारी जग्गा मर्ने साविक दर्तावाला जीतगोविन्दको नाउँबाट निजको हक निजका छोरा पूर्णगोविन्द र निज जीतगोबिन्दका भाई हरिगोबिन्दको हक निजका छोरा कीर्तिगोबिन्दका नाउँमा नामसारी दर्ता भएको कुरा वादीलाई थाहा जानक भएको वादी लेखबाटै देखिएको । त्यस ऊपर जग्गा पजनीका ३४ नं.का म्याद २ बर्ष भित्र उजुर बाजुर गरी बदर वातिल गराउन समेत नसकेको । आफ्नो हक भोगको जग्गा जिमिदारी आफ्ना नाउँमा नाउँसारी गर्नु पर्छ । नाउँसारी गर्न नसके उजुर लाग्ने छैन भनी ७१ सालमा र तेस पछि पटक पटक बीचमा र आखिर २०००।८।२७ गतेमा समेत सनद इश्तिहार बडापत्र भएको । सो सनद इश्तिहार बडापत्रका म्याद भित्रमा समेत आफ्ना नाउँमा नाउँसारी गराई लिन र साल साल तिरो भरो गरेको निस्सा पेश गर्न समेत नसकेको । वटैयादारहरूले निजै पूर्णगोविन्द कीर्तिगोबिन्द कै जग्गा कमाएमा साबित भई कागज लेखि दिएको मिसिलबाट देखिएकोले दर्तावालाहरू कै भोग देखिन आएको । वादी तर्फबाट छलफलमा फुलबेञ्चबाट ०१०।१०।२५ मा फैसला भएको यस मुद्दालाई नजीर लाग्ने भनी चीनबहादुरको र सरस्वती देबी समेतको लिखत बदर गरी पाउँ भन्ने मुद्दाको फैसला नक्कल देखाएको हेर्दा उक्त मुद्दा सरकारबादी गराई सरजमीन बुझी सरजमीनको बकाईबाट टुलकुमारीले नै भोग चलन गरेको रसीदहरू पनि जम्मै टुलकुमारी तर्फबाट पेश दाखिल भएको । सरस्वतीले दाखिल गर्न नसकेको । जिमिदारी साथको जग्गा जाला भनी आफ्नु थैली हाली किनी सौतेली आमा प्र.सरस्वतीका नाउँमा दर्ता गराई आफु जिमीदारनी टुलकुमारीले भोग चलन गरी आएकोले जिमिदारीसाथको जिरायत जग्गा गरी श्रेस्ता मिलाई दर्ता गर्नु भन्ने जिल्ला माललाई पुर्जी गर्नु भन्ने फैसलामा लेखिएको देखाएबाट जिरायतमा गाभिने जगासम्म आर्काका नाउँमा दर्ता हूँदैमा दर्ताको नाताबाट जान सक्दैन भन्ने फैसला भएको सम्झनु पर्ने । यसै विषयमा किटानी साथ फुलबेञ्चबाट फैसला भएको छ भनी प्रतिवादीहरूले छलफलमा पेश गरेको गोपीलालको र सेवकको जिमिदारी जग्गा मुद्दामा ०१३।६।१८ मा भएको फैसला नक्कल हेरेमा सरकारी लागेको तिरो रकम चलाउने दर्तावाला जग्गा धनीकै हक कायम मान्नु पर्ने । दर्ता तिरो बेगर जग्गाको धनी हक भोग कायम गर्न नमिल्ने भन्ने फैसला भएको देखिएकोले दर्ता भोग बेगर वादीको दावीको जग्गामा हक पुग्छ भन्न नहुने हुनाले जीतगोबिन्दको हक भाग निजका छोरा पूर्णगोबिन्दनका नाउँमा नाउँसारी भएको अ.बं.१०६ ले हक नपुग्ने । वादीको नामसारी गरी पाउँ भन्ने वादी दाबी पुग्न सक्तैन । खोरज गरी दिने ठहराई ल.पु.अदालतले गरेको इन्साफ मुनासिब छ । अब जीतगोबिन्दको भाई हरिगोबिन्दको हक भोग निजका छोरा कीर्तिगोविन्दका नाममा दर्ता भएको जग्गा तर्फ निज दर्तावाला कीर्तिगोबिन्द तर्फ माथी लेखिए बमोजिम वादीले दर्ता भोग तिरो भरो गर्न नसके पनि नाउँसारी गरी दिनामा मन्जूर भई प्रतिबादी दिएको र अपीलबाट इन्साफ गर्न शुरुमा पठाउने फैसला भएपछि पनि अपील उजूर केही नगरी वादीका नाममा नाउँसारी गरी दिने मन्जूर भई चित्त बुझाई बसेको देखिएको । निज तर्फका अरू कसैको नामसारी गरी दिनु नपर्ने भन्ने उजुर भएको मिसीलबाट नखिएको हुनाले निजको हक जति नामसारी गरी दिनु भनी कीर्तिगोबिन्दलाई जनाउदिने र नामसारी गराई लिनु भनी बादीको सकार गर्ने पूर्णप्रसादको वारीसलाई सुनाई दिनु पर्ने ठहर्छ । शुरु अपील सिंगलबेञ्चले समेत केही गल्ती गरेको ठहर्छ । शुरुलाई अपीलले ऐन छाडेमा भनी जरिवाना गरी सकेकोले केही गर्नु पर्दैन । अपीललाई केही गल्ती गरेमा हा.का.१५ नं.ले तजबीजी मो. रु.१। जरिवाना गर्नु ।

 

तपसील

वकीलहरूको फीस भराउनु पर्छ कि भन्नलाई प्र.पूर्णगोबिन्द तर्फको माथि लेखिए बमोजिम नामसारी हुने नरुक्ने खोरज हुने भएको र कीर्तिगोबिन्दतर्फको माथि लेखिए बमोजिम नामसारी हुने भएकोले दुबै तर्फका वकीलको फीस भराई रहनु नपर्ने ......................१

लेखिएबमोजिम भएकोले दुबै थर झगडियालाई केही गर्नु पर्दैन ..................२

रोक्का रहेको बालीको हकमा पूर्णगोविन्द तर्फको निज पूर्णगोबिन्द बद्रीगोविन्दलाई र कीर्तिगोबिन्द तर्फको वादीको सकार गर्नेप्रसादलाई ऐन सवालको रीत पुर्‍याई फुकुवा गरी दिनु भनी सरलाई अमीनीलाई एक प्रति फैसलाको नक्कल पठाई दिनु .....................३

केही गल्ती गरेमा अपील दोश्राका देहायका मानिस के मोरु.१। जरिवाना हुन्छ । देहाय बमोजिम गर्नु ...... ४

हाकिम नासु झपट सिंह रावल क्षेत्रीके ऐजनमा बहाल हुनेके ।५०।, अ डि.दोजराज जोशी का.ई.डिल्ली बजारके मोरु.।५।, ऐजनका बि ढुण्डीराज उपाध्याय का.ई.काठमान्डूके मोरु.।१५।

 

इति सम्बत् २०१४ साल श्रावण २३ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु