शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १० - राज्य उलट पुलट

भाग: साल: २०१५ महिना: चैत्र अंक:

निर्णय नं. १०       ने.का.प. २०१५

(नेपाल विशेष अदालत उपर)

डिभिजनबेञ्च

न्यायधीश श्री सिद्धिबहादुर मल्ल

न्यायाधीश श्री तीलक शम्शेर थापा क्षेत्री

फौ.अ.डि.३९०।४१०।४८४।४८५।४८७

अपिलाट : पदमसुन्दर मल्ल समेत

बिरुद्ध

विपक्षी : सरकार

मुद्दा : राज्य उलट पुलट

(१)   आफूले लगाएको अभियोगमा आफैले अदालती कारवाईमा सरिक हुनु हुँदैन कन्टेम्प्ट (मानहानी) का मामिलाहरूमा मात्र आफै बादी आफै न्यायाधीश हुनसक्ने ।

            उजुरवाला आई.जी.पी.ले अदालतको विचारासनमा बसी आफूले लगाएको अभियोगमा आफै कारवाईमा सरिक हुनु राम्रो देखिन नआई आफै वादी आफै न्यायाधीश कन्टेम्प्ट (मानहानी) मा मात्र चल्न सक्तछ । सो बाहेक अरू कलममा यस्तो हुनगर्न पाउने हाम्रो प्रचलित कानुनमा कतै व्यवस्था रहेको देखिदैन ।

(प्रकरण नं. २१)

(२)   का.म्या.सवाल नं.१ (व), २ (घ) र २ (ङ) सरकारले का.म्या.लाई मुद्दा सुम्पेको का.म्या.सवालको नं.१ (व) भित्र नपर्ने कालो बजार गरेकोमा र श्रेस्ता अड्डातर्फ सरकारी नोक्सानी परेको मुद्धा बाहेक रु.५०। सम्म दण्ड जरिवाना हुने, कैद बर्ष ३ हुने र बिगो मो.रु.५०। सम्मको मात्र हेर्न पाउने ।

            सरकारी एडभोकेट विद्धान शम्भुप्रसाद ज्ञबालीको बहसमा काठमाडैं मेजिष्ट्रेटको सवालको १ को (व) बमोजिम काठमाडौं मेजिष्ट्रेटको अधिकार क्षेत्र भित्र पर्छ भन्ने जिकिर लिनु भएकोमा सो दफा पढि हेर्दा ३ बर्षसम्म मेजिष्ट्रेटले कैद सजाय दिन सक्छ भन्ने र २ को (घ) मा सवालले हेर्न पाउने अख्तियारी भित्रको मुद्दामा पनि कालो बजार गरेमा सजाय हुने र श्रेस्ता अड्डा तर्फको सरकारी नोक्सानी परेको मुद्दा बाहेक अरूमा रु.५०। सम्म दण्ड जरिवाना र कैद बर्ष ३ हुने र बिगोमा रु.५०। सम्मको मुद्दा सम्म हेरी किनारा लगाई दिनु । सो भन्दा बढी दण्ड जरिवाना कैद बिगो भएको मुद्दाका हकमा मेजिष्ट्रेटले हेरी रहनु पर्दैन । इलाका अदालतमा बुझाई दिनु पर्छ । लेखिए बमोजिम हेर्न नभई बुझाउन ल्याएमा इलाका अदालतले पनि बुझी लिई ऐन बमोजिम कारवाई फैसला गर्नु पर्छ भन्ने र ऐजन (ङ) मा यो सवाल जारी हुनुभन्दा अघि दायर भई रहेका मुद्दाहरू मध्ये हेर्न अख्तियार पाए भन्दा बढी बिगो दण्ड कैद लाग्ने प्रमांगीले दायर भई रहेका मुद्दाहरू इलाका देवानी फौजदारी जहाँ बुझाउनु पर्छ बुझाई दिनु भन्ने लेखिएकोबाट ३ बर्ष भन्दा बढी कैद सजाय हुनसक्ने मुद्दा मेजिष्ट्रेटलाई दिन र मेजिष्ट्रेटले हेर्न हुँदैन भन्ने अर्थ आउँछ ।

(प्रकरण नं. २१)

(३)   अभियोगिलाई सजाय गर्न परेमा महल मात्र खोल्नु पर्याप्त नहुने महलको कुन ऐन अन्तर्गत कति सजाय हुने हो सो पनि खोल्नु पर्ने ।

            विशेष अदालतले मुत्यु दण्डको भागी हुनालाई तत्पर रहने छौं भन्ने वाक्य खण्डलाई आपत्तिजनक सम्झी ज्यान सम्बन्धीको महलले सजाय हुने भनी फैसलामा लेखिएको देखियो तर सो महलको कुन नम्बरको खिलाफ हो र कुन नम्बरबाट के कति सजाय हुने हो खुलाएको छैन् ।

(प्रकरण नं. २१)

(४)   लिखतको व्याख्या लिखितको लबजहरू स्पष्ट भएमा अक्षरशः जो अर्थ आउँछ सोही व्याख्या दिनुपर्दछ । देश हितको काम तनमनधनले गर्ने प्रतिज्ञालाई उच्च विचार सम्झनु पर्ने र देश हितको बाधा पारेमा मृत्यु दण्डको भागी हुन तत्पर हुनु पर्ने । कसैको अधिकार हरनगर्ने कसैको नोक्सानगर्ने र कसैको ज्यान लिने मनसाय गरेको अर्थ हुनै सक्तैन । यसको अर्थ अपहत्या गर्ने हो भन्न पनि हुँदैन । यसमा भागी हुनकालागि तत्पर रहनेछांै भनी लेखिएकोबाट हदसेहद सजाय व्यहोर्न कबुल गरेको मात्र हो । तत्पर रहनुको माने तयार रहनु हो । आफु लगायत कसै उपर हात उठाउने अर्थमा यो वाक्य खण्ड आउन सक्तैन । बिनोदचन्द्रको बयानमा यसको बर्खिलाफ काम गरेमा पार्टीको नेता र सदस्य मिली मृत्यु दण्ड दिने भनी लेखिएको भन्ने अर्थ लगाएको छ तापनि सो अर्थ यी लबजहरूबाट लाग्नु लगाउनु अनर्थ हुन्छ । लेखिएका लबजहरू स्पष्ट भएकोमा अरू अर्थ लगाउने प्रयत्नगर्नु मुनासिब पर्दैन । सायद सो बयानगर्नेको मनमा त्यस्तो विचार हुँदो हो । तर अक्षरशः सो अर्थ आउन सक्तैन । अदालतले लगाउन हुदैन ।

(प्रकरण नं. २१)

(५)   राजालाई समेत गद्दीबाट निस्कासित गर्ने अधिकार दिइएको छ भनी राजाको हुकुम नलिई लालमोहर नक्कल खेस्रा गर्नु दण्डनीय अपराध हो ।

            लालमोहर गराउन राखेको मसौदा खेस्रा नक्कलमा देशलाई सुहाउँदो पूर्ण समाजवादी व्यवस्था गर्न मन्त्रीमण्डल गठनगरी बक्सेका छौं । सो अन्तरीम मन्त्रिमण्डलले गरेको सम्पूर्ण काम कारवाईमा हामीबाट हस्तक्षेप गरिने छैन् । गद्दीको सुरक्षा राखी मन्त्रीमण्डलले पास गरी तोकी दिएको अधिकारमा हामी रही कार्य गर्न मन्जुर छौं । दिइएको अधिकारको दुरूपयोग गरे हामीलाई गद्दीबाट निस्कासीत गर्न समेतको अधिकार जनताको प्रतिनिधित्व गर्ने यो मन्त्रमिण्डललाई दिइएको छ भन्ने लेखिएको पाइन्छ । यसमा यो कागज मसौदा खेस्राको रूपमा मात्रै छ । अरू कसैसँग सल्लाह नगरी आफु एक्लैको मनसायबाट मात्र लेखाएको भन्ने र पदमसुन्दर मल्ललाई देखाउँदा लबज कडा भयो । फेर्न पर्छ भनेकाले फेर्ने भएको थियो भनी फोरमान वी.वीं राइले बयान गरेको छ तापनि राजा, जो यस मुलुकको लागि सर्वोच्च अधिकार सम्पन्न व्यक्ति होइबक्सन्छ । जसबाट आजसम्म बखत बखतमा मौका र आवश्यकता अनुसार मौसुफका इच्छा र विचारबाट मौसुफमा निहित विशेषधिकारबाट मुलुकको कामकाजको लागि खटाई बक्सेको छ । मौसुफको हुकुम बेगर दिइएको अधिकारको दुरूपयोग गरे हामीलाई गद्दीबाट निस्कासीत गर्ने समेतको अधिकार दिइएको छ भन्ने लबज अक्षरशः लेख्नु दण्डनीय अपराध होइन भन्न कुनै प्रकारबाट पनि हुँदैन । यो अपराधको दोषीलाई कानुन बमोजिम सजाय हुनैपर्छ।

(प्रकरण नं. २१)

(६)   पुलिस आफैं बयान लिने अधिकारी भई गराएको बयानमा अभियोग सावित भई बयान गरेमा पनि अरू सबुद प्रमाणबाट साविती बयान समर्थित नभएमा साविती बयान मात्रैको आधारमा कसुरको ठेगाना लाउनु मुनासिब पर्दैन ।

            फोरमान वी.वी.राई सरकार बिरुद्ध घृणा र द्वेष फैलाउने भन्ने र मे.क.कृपासुरले म पल्टन मिलाएर आउँछु भनेको र वीरगञ्ज घलले ५० नाल बन्दुक ल्याउँछु भनेको थियो भनी फोरमान वी.वी.राईको बयानमा लेखिएकोमा खानतलासीमा बरामद भएका कुनै कागजातमा पनि यी कुनै कुराको उल्लेख नभएकोले बयानगर्नेहरूको आन्तरकि विचार मात्र रहेछ या पक्राउ भई बयान गर्दा पुलिस आई.जी.पी.बयान गराउने अधिकारीको रूपमा बसेकाले बयान गरेको भन्नु पर्ने हुन आउँछ । किनभने न त यो कुरा कुनै कागजातमा देखिन्छ न त यस तर्फ कुनै चेष्टा गरेको सवुत पाइन्छ । कुने अभियोगिले साविती बयान ग¥यो भने सो साविती भएको कुराको पुष्टीको लागि प्रमाण चाहिन्छ चाहिदैन या प्रमाण नभए पनि सावित भएकोले त्यतिकैबाट निज अपराधी हुन्छ । निजले पोलेका व्यक्तिहरू इन्कार भएमा उनीहरूलाई कसुरदार ठहर्‍याउन कतिसम्म सबुदको दरकार पर्छ, यस तर्फ विचार गर्दा सबुदले पुष्टी नदिएको साविती बयानको आधारमा मात्र कसुरदार ठहर्‍याएमा एकाको अपराधमा बीचको व्यक्ति आई कसुर सकार गरी वास्तविक अपराधीलाई बचाउनसक्ने सम्भावना रहन जान्छ । त्यसकारण साविती बयानबाट मात्रै कसुरको ठेगाना लगाउन मनासिब पर्दैन ।

(प्रकरण नं.२१)

(७)   सावितीले पोलेकोमा इन्कार रहेमा इन्कारीको अभियोग सावित गर्नु पोल्नेको र वादीकै कर्तव्य । इन्कारमा रहेका व्यक्ति उपर लगाइएको अभियोग अरू सबुद प्रमाणले समर्थित नभएमा पुलिसको कर्तव्य अपराधीको खोज गर्ने र अपराध हुन नदिने । अभियोगि सावित गर्न ठोस सबुद प्रमाण पेश गर्नु पर्ने भएकोले पोलिएकै भरबाट र पुलिसको शंकाको भरमा मात्र अपराधी ठहर्‍याउनु हुँदैन ।

            सावितीले पोलेकोमा इन्कार हुनेको हकमा त्यस्तो पोलिएको व्यक्तिले गरे बिराएको सबुद बेगर पोलिएकैबाट मात्र सजाय भागी बनाउन पनि न्यायसंगत हुन जाँदैन । पोलिएको व्यक्तिले कुन बखत कसले कुन कुरामा पोल्दछ भन्ने सम्झी सबुद तयार गरी राख्न सक्दछ । घटना भएको अन्यत्र कतै भए त्यतिमात्र देखाउन सम्भव छ । सबैलाई सबै बखत त्यस्तो अवसर पर्दैन । त्यसो हुँदा पोलिएको व्यक्तिको कसुर सावित गर्न प्रमाण पोल्ने अभियोगी र वादी कै कर्तव्य हुन आउँछ । यस मुद्दामा पुलिसको रिपोर्ट र अभियोगिका बयान बाहेक षडयन्त्रको अरू कुनै सबुद पाइदैन । पुलिसको कर्तव्य अपराधीको खोज गर्ने र अपराध हुन नदिने हो । साथ साथै पुलिसले कुनै व्यक्तिलाई कुनै अपराधको अभियोगी सावित गर्न अदालतको समक्ष ठोस सबुद प्रमाण पेश दाखिल गर्नुपर्छ । पुलिसको शंकाको भरले कुनै व्यक्तिलाई अपराधी तुल्याउन हुँदैन ।

(प्रकरण नं.२१)

(८)   सभा वा संघ ऐन, २००५ को दफा ५ अबैधानिक सभा गर्ने अभियोगमा सभा हुन नपाएको देखिए अवैधानिक सभा गर्ने अभियोग लगाउन नमिल्ने ।

            सभा वा संघ ऐन, २००५ को दफा ५ को परिधि भित्र रही सभा संघ गरेमा कसैलाई बात कसुर लाग्दैन । यस मुद्दामा ४ ठाउँमा सभा भएको उल्लेख पाइन्छ । भक्तपुरमा सभा हुँदै भएन । पशुपति भण्डारखालमा स्वयम्भूमा सभा गर्ने उद्योगसम्म भयो । मानिस जम्मा हुन नसकेकोले सभा हुन सकेन भन्ने धेरैको एक मिलान बयान छ । सभा सम्पन्न भएको सबुद वादी तर्फबाट पेश दाखिल भएको छैन । पुलिसले घटनास्थलमा पक्राउ गर्न सकेको छैन । यस अवस्थामा उपरोक्त ३ ठाउँमा अवैधानिक सभा गरे वापत सजाय दिन नमिल्ने ।

(प्रकरण नं.२१)

(९)   गुप्तचरहरूको प्रोत्साहनमा अफिसर वा पल्टनियालाई राजभक्ति या कर्तव्यबाट बिचलित गराउने उद्देश्य लिई भएको सभामा प्रतिज्ञापत्रमा सही भए पनि गुप्तचर बाहेक अरू अभियोगीले उद्देश्य पूर्ति तिर काम गरेको नदेखिई सही गर्नेहरूमा गुप्तचरको संख्या बढी भएमा अबैधानिक षडयन्त्र गरेको अभियोगमा सजाय दिन नमिल्ने ।

            यस मिसिलबाट पल्टन मिलाउने। पुलिस हात लिने कुरा मुख्यतया गुप्तचर गोवरधनले कालीबहादुर, गोर्खबहादुर हात आई सकेको छ भन्यो । पुलिस पट्टी पनि हात लिन म भएँ भनी ले.हर्षबहादुरले भनेको थियो भन्ने मे.क.कृपासुर समेतको बयानबाट देखिन्छ । गुप्तचरको प्रोत्साहनहुँदा हुँदै पनि गुप्तचर बाहेकका अभियोगीले कुनै अफिसर वा पल्टनीया जवानलाई राजभक्ति या कर्तव्यबाट बिचलित गराएको वा गराउने प्रयास गरेको मिसिलबाट देखिदैन । सभा सम्पन्न भएको प्रमाण भएको वीरजंग घले समेतले सहीछाप गरेको । ले.वीरबहादुर राईको घरको मिटिंगमा भएको प्रतिज्ञापत्र हेर्दा जम्मा २३ जवानको सहीछाप परेको देखियो । त्यसमा १३ जवान सरकारी गुप्तचर ५ जवान वतन नभएकोले खोजी गर्दा पनि फेला नपरेका र बाँकी ५ जवान मध्ये धन शाह भन्ने कमलशाह कुनै मिटिंगमा पनि उपस्थित नभएको भन्ने बिनोदचन्द्रको बयानबाट देखिएकाले पछिबाट भए गरेको भनेको मनासिब मान्नु पर्नेमा ले.वीरबहादुर १ हर्षबहादुर दाज्यू भाई भई घरवेटी हुँदा बाँकी २ जवान घर बाहिरको देखिनआइो । अभियोग भन्दा गुप्तचर बेसी मात्रामा यस काण्डमा मुख बयान बाहेक अरू कुनै सबुद नदेखिनाले पनि अवैधानिक षडयन्त्र ठहर्‍याई अभियोगीहरूलाई सजाय दिन मिल्दैन ।

(प्रकरण नं.२१)

(१०)  दण्डनीय शब्द प्रयोग गरेको लाल मोहर खेस्रा गरेमा सावित भई खेस्रा बरामद समेत भएमा कागज जाँचको ऐन लाग्ने ।

            लालमोहर गराउन भनी लेखिएको खेस्रामा दण्डनीय शब्द लेखाएमा सावित भएको । उता लालमोहर गराउन भनी गरेको खेस्रा समेत खानतलासीमा निस्की सबुद पुग्न आएको । फोरमान वी.वी.राईलाई पनि कागज जाँचको ऐनले सजाय गर्नु पर्नेमा २००५ सालको सभा वा संघ सम्बन्धीको ऐनले सजाय गरेको समेत विशेष अदालतको इन्साफ गल्ती ठहर्छ ।

(प्रकरण नं.२१)

अपीलाट तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा र एडभोकेट श्री कृष्णप्रसाद भण्डारी

बिपक्षी तर्फबाट      : गभर्नमेन्ट एडभोकेट श्री शम्भूप्रसाद ज्ञबाली

 

फैसला

      १.     यसमा पुलिसलाई थाहा हुन आएको विवरण असार १२ गते पेश गरेको छु । सि.आई.डी.को खबरबाट वी.वी.राई समेत निम्न लिखित मानिसहरूले वर्तमान मन्त्रिमण्डलको सरकारलाई द्वेष र घृणा गर्दै मन्त्रिमण्डल उल्टाई आफूहरू सरकार बन्न रीटाएर भएका समेत पुलिस र राष्ट्रीय सेना समेतलाई फर्काइ बहकाई हात आएका जागीरे जवान र तिनिहरूका हतियारबाट समेत आन्दोलन गरी अरू हात हतियार हात पारी मन्त्रीज्यूहरू समेतका उच्च अधिकारी पक्री मुलुक कब्जा गर्ने र श्री ५ लाई मौसुफको अधिनायकत्वमा आफुहरू मन्त्री हुने र डिक्टेटर शासनबाट सरकार चलाउने । मौसुफलाई मजवुरन पारी लालमोहर गराउने पुर्णतया संकल्प गरी आन्दोलनगर्ने प्राइभेट खबर बुझिन आएकोले अब अविलम्ब पकडाउ नगरे खतरा हुने सम्भावना छ भनी ०१३।३।२१ को आई.जी.पी.को जाहेरीमा षडयन्त्रकारी भन्ने बुझिन आएको मानिस भनी लेखिएका फोरमान वी.वी.राई समेतका १७ लाई सार्वजनिक सुरक्षा ऐन ०७ सालको २ दफाको उपदफा एक बमोजिम तुरुन्त पक्राउ गर्ने कारवाही गरी ऐन बमोजिम गर्नु भन्ने ०१३।३।२१।४ को कमिस्नरबाट तोक भई गए पछि ।

      २.    आदेश बमोजिम पक्राउ भएका मानिसहरू मध्येको वी.वी.राईको खानतलासी गर्दा मानिसहरूको सही परेको कागज बरामत भएकाले नक्कल पठाई दिएको छु भनी प्रतिज्ञापत्र र लालमोहर, विधान खेस्रा नक्कल समेत पठाएको र ।

      ३.    यो काममा कांग्रेसको लिडरहरू पनिआउने भनेकोले सम्म लागेको पछि नआएकोले म लागिन भन्ने समेत ०१३।६।१०।को ततिम्बा समेतको ले.बीरबहादुरको बयान ।

      ४.    यो कुरा दाज्यू ले.वीरबहादुरले भन्दा सुनेको र नेपाली काँग्रेसको हात नभएको हुनाले पछि नगएको हुनाले थाहा भएन भन्ने समेत ०१३।४।४।५ को हर्षबहादुरको बयान ।   

      ५.    फोरमान वी.वी.राई काहाँ नोकरी गरी बसी रहेको । वी.वी.राईको चिठ्ठीले पद्मसुन्दरबाट देशी नोट रू.६००। ल्याई दिएको र मिटिङ्गमा भएको कुरा मलाई थाहा छैन । कृपासूरलाई नेपाली नोट २५०। वी.वी.राईका अडर बमोजिम दिन गएको हुँ भन्ने समेत ०१३।४।४।५ नवांगे दिनको बयान ।

      ६.    म यो पार्टीमा लागेको छैन । यो कुरा बुझी सरकारमा जाहेर गर्न सम्म लागेको हुँ भन्ने समेत ०१३।४।४।५ को कप.प्रेमबहादुरको बयान ।

      ७.    पक्राउ भएको कुरामा १७।१८ महिना अघिदेखि संगठन गरी आएको हो । पकडाउ हुनु १५।२० दिन अगाडिदेखि जोडतोडसँग चली आएको थियो । हाम्रो उद्देश्य श्री ५ लाई मानी वर्तमान मन्त्रिमण्डललाई हटाउन मिलिटरी र पुलिस फोर्स समेत हात लिई क्याप्चर गरी श्री ५ महाराजधिराजमा हाजिर हुने र लालमोहर गराउने विचार थियो । उक्त खेस्राहरू दाखिल भएकै छ । पुलिस फोर्स वीरजंग घलेले मिलाउँछु भनी लागिरहेको थियो ।

      मिलिटरी तर्फ कृपासुरले मिलाउने, हतियारको कुरा थाहा छैन । पद्मसुन्दरले सहयोग दिएका र सभापति मलाई र उपसभापति पदमसुन्दरलाई बनाएको थियो । मेम्बरहरू लिष्टमा सहीछाप गर्ने व्यक्ति र अरू कृपासुर १ र रामशरण थिए । कागज नमिलेबाट फेर्ने भएको थियो । नफेर्दै पकडाउ भएको । मेम्बर बाहेक अरूले सहयोग गरेको छैन । यो काममा पद्मसुन्दरले भारती रू.६००। मेरो घरमा राखेको नवांगे सेर्पालाई दिई पठाएकोमा सोही रूपैयाँबाट ले. हर्षबहादुरले भने बमोजिम संगठन मिलाउन भनी एस.सी. सुब्बालाई दिन भनी मो.रु.२००। दिई पठाएको र हर्षबहादुर, बीरबहादुर, नवांगेलाई चुरोट खान दिएको र बिनोदचन्द्रको भनाई बमोजिम कमल शाहाको आमालाई औषधी गर्न मो.रू. २७। बिनोदको हातमा दिएको । कृपासूरलाई सापटी मो.रु.२५०। दिएको निस्सा छैन । मो.रु.३०५। पकडाउ साथ दाखिल गरेको छ । मसँग बाँकी छैन । हामीहरूको मिटिङ्ग गर्छु भनी भक्तपुर, भण्डारखाल स्वयम्भूमा बोलाउँदा म र पदमसुन्दर बीरबहादुर मात्र र कहिले कृपासूर, म र गोवरधन, एच.बी.राई, नवांगे दीन जम्मा भएका थिए । मानिस जम्मा नभई फर्कि आउँदा पकडाउ भई आएको हो । कुनै प्रधानमन्त्री कुनै आई.जी.पी.हुने भन्ने कुरा भएको हो । निर्णय भएको होइन । श्री ५ बाट जसलाई बक्सिन्छ उनै हुन्छ भनी मैले भनेको थिएँ । कस कसले भनेको हो सो पनि सम्झना छैन । एस.सी.सुब्बा भन्ने र ढाक प.रत्नबहादुरको हकमा मेरो चिनाजान छैन तापनि ले.वीरबहादुर राई मार्फत यो काममा लागेका छन् भन्ने निजले भनेको थियो । कागजहरू मैले लेखाएको बिनोदचन्द्रले लेखेको हो । अरू कागज विराटनगरको नाउँ नजानेको नेवारले लेखाउन लागेको हो । निज यो काममा छैन । पदमसुन्दर र मेरो सहीछाप हामीलाई चुनेको कागज हुँदा नगरेको । एस.सी.सुब्बा र कप.रत्नबहादुरको सही नभएको मलाई थाहा छैन । वीरजंग घलेले ५० नाल बन्दुक ल्याउँछु भनेको थियो । कृपासुरले म पल्टन मिलाएर आउँछु भनेको कसरी मिलाउने हो सम्झना छैन । बी.एस.राई पहिले यो काममा थियो । पछि हटि गएका हुन् । डी.एन.प्रधान यो काममा छैन । चिया पानीको निमित्त वी.वी.राईलाई दश वारह रूपैयाँ सम्म दिएको छु । भन्ने समेत ०१३।४।५ को फोरमान बलबहादुरको बयान ।

      ८.    म सो पार्टीमा सदस्य भई धन शाहलाई मैले सरिक गराएको हुँ । भिमबहादुर ठकुरीलाई पनि पार्टीमा मैले मिलाएको हो । प्रतिज्ञापत्र मैले लेखेको हो भन्ने समेत ०१३।४।५।६को बिनोदचन्द्रको बयान ।

      ९.    सो पार्टीमा बिनोदचन्द्रले लगी मलाई मिलाएको र सही गरी दिएको हुँ । बिनोदबाट मो.रु.२७ लिएकी छु । मलाई यही पार्टी हो भन्ने थाहा छैन भन्ने समेत ०१३।४।५।६को धन शाह भन्ने कमल शाहको बयान ।

      १०.    क्रान्ति गर्ने दिन किटानभई सकेको थिएन दिन किटान भएपछि श्री ५ मा र अन्यत्र समेत जाहेर गर्ने विचारले सम्म त्यस काममा म गएको हुँ । पल्टन मिलाएको पनि छैन । कमाण्डर इनचीफ म हुने कुरा भएको समेत छैन भन्ने समेत १३।४।७।१ को कृपासूर खत्रीको बयान ।

      ११.    म त्यस काममा लागेको छैन । ले.बीरबहादुरलाई केही रूपैयाँ सापटी दिएको । मागेको रीस इबीले सम्म भुठ्ठा बयान गरेको हो भन्ने समेत ०१३।४।८।२ को शुरथचन्द्रको बयान।

      १२. ब्रिटिस हिन्दू राजुदुत मिलाउने कुरा गरेको पनि छैन । मन्त्रीमण्डल हटाउने समेत केही कुरा गरेको होइन । रु.६००।मैले दिएको पनि छैन भन्ने समेत ०१३।४।८।२ को ई.पदमसुन्दरको बयान ।

      १३.   म यो काममा लागेको पनि छैन । वी.वी. राई, कृपासुर समेत चिनेको छैन । पुलिसको रीपोर्टमा किन नाउ रह्यो थाहा छैन भन्ने समेत ०१३।४।९। ह.केशरबहादुर गुरुङ्गको बयान ।

      १४.   म यो काममा लागि रू १०। पाएको छु तापनि यो कुरा मैले जाहेर गरी सके पछि म त्यस काममा लागेको छैन भन्ने समेत ०१३।४।९।३ को क.प.रत्नबहादुरको बयान ।

      १५. प्रतिज्ञापत्रको कागजमा मलाई सहीछाप गर भनेको हुँदा सहीछाप सम्म गरेको हुँ । सो कागज बिनोदचन्द्रले देखाएको छैन । यो काममा म लागेको पनि छैन भन्ने समेत ०१३।४।१०।४ को बाबुराम भन्ने भिमबहादुरको बयान ।

      १६. म यो काममा लागेको पनि छैन मानिसहरू चिनेजानेको पनि छैन । मलाई किन बयान गरी पोलेका हुन केही थाहा छैन भन्ने समेत ०१३।४।१२।६ को जम. कुम्भबहादुरको बयान।

      १७. यो काममा म लागेको पनि छैन । वी.वी.राई समेतसँग चिनजानी समेत छैन । कृपासूरसँग घरायसको इवी छ । अरू थाहा छैन भन्ने समेत ०१३।४।१२ को कप.रामशरणको बयान ।

      १८. म त्यस काममा लागेको छैन । ०१२ साल मार्ग महिनाको आखिरमा महोत्तरी जि.सरश्वतीपुरमा मेरो नम्बरी जग्गा हुँदा म बहाँ गई ०१३ साल आश्विनसम्म बसी आश्विन ३÷४ गते नेपाल फर्केको हो । के.आई.सिंहको आन्दोलनमा वीरबहादुर समेतका रक्षादललाई थुनी सजाय दिएको इबीले समेत झुठ्ठा बयान गरेको हो भन्ने समेत ०१३।७।१५ को म.ेक.पूर्णबहादुरको बयान।

      १९.    यो काममा म लागेको छैन । के. .आई सिंहको आन्दोलनमा रक्षादलको अफिसर ३०÷३५ जना पक्री जेलखानामा लगेको इवीबाट पोलेको हो भनी समेत एस.पी.कुम्भ सिंहको ०१३।८।१३ को बयान ।

      २०.   बुझिएसम्मको र दाखिल भएको खानतलासीबाट आएको कागज समेतबाट फौजी जवानलाई राजभक्ति वा कर्तव्यबाट बिचलित गराउने औ प्रचलित शासन प्रबन्धमा खलल गर्ने समेतको ध्येय उदेश्य यस संस्थाको भएको भन्ने सिद्ध हुन आएको । सो बमोजिमको उद्देश्य लिई संस्था खडा गर्न सभा वा संघ सम्बन्धी ऐनको दफा ५ ले प्रतिबन्ध लागेको देखिएको हुनाले दफा ६ बमोजिम गैरकानुनी ठहर्छ । दफा ९ अनुसार संस्था बन्द गर्ने अडर दिएको छ । सो बमोजिम गराउनु भनी मेजिष्ट्रेट अफिसलाई लेखी पठाई दिने । उक्त ११ दफामा उल्लेख गरिएका गैर कानुनी ठहरेका सभा खडा गर्नेहरूलाई सजाय गर्ने हकमा सोही ऐनको ११ दफामा ५ दफा बमोजिम कसुरदार ठहरिएकालाई ६ महिना देखि जन्मभर वा १०० देखि २००० सम्म दण्ड हुने छ भन्ने लेखिएको । यस संस्थामा ककसले के के कामको अभिभारा लिएको कसुर रहेछ भनी विचार गर्दा कसै कसैले प्रतिज्ञापत्रमा सहि नै गरेको कसै कसैको नभए पनि पकडिएका मानिसहरूले कामको जिम्मेवारी लिने भनी लेखेकोसम्म देखिएको । अरू काम गरी सकेको भन्ने बुझिएसम्मका मिसिलबाट नदेखिए पनि सो ऐनको दफा ११ ले देहायका मानिसलाई सजाय गर्ने भनी मे.क.कृपासुर खत्री १ फोरमान बलबहादुर राई १ नवांगे दीन शेर्पा १ बिनोदचन्द्र १ कमल शाह भन्ने धन शाह १ एस.सी.सुब्बा भन्ने सुरथचन्द्र १ ई.पदमसुन्दर मल्ल १ क.प.रामशरण थापा १ क.प.रन्तबहादुर १ जम.कुम्भबहादुर शाही १ हर्षबहादुर १ समेतलाई सजाय गर्ने गरी ०१३।८।१३ मा विशेष अदालतले फैसला गरेकोमा ।

      २१.   सो इन्साफमा चित्त बुझेन भन्ने समेत मे.क. कृपासुर खत्री १ ई.पदमसुन्दर मल्ल १ क.प. रामशरण थापा १ सुरथचन्द्र १ जम. कुम्भबहादुर शाही १ क.प. रत्नबहादुर १ समेतको अपील पर्न आएकोले अपीलाट प्र.पद्मसुन्दर मल्ल १ क.प. रामशरण १ क.प. रत्नबहादुर १ मे.क.प्र.कृपासुर खत्री १ जम.कुम्भबहादुर शाही १ सुरथचन्द्र १ समेत र अपीलाट तर्फबाट रहेको सिनियर एडभोकेट देवनाथप्रसाद वर्मा १ एडभोकेट कृष्णप्रसाद भण्डारी १ आदेश बमोजिम सूचना दिई आउनु भएको गभर्नमेन्ट एडभोकेट शम्भूप्रसाद ज्ञबाली समेतको बहस सुनी बुझ्दा उजुरवाला आई.जी.पी.ले अदालतको विचारासनमा बसी आफुले लगाएको अभियोगमा आफै कारवाईमा सरिक हुनु राम्रो देखिन नआई आफै वादी आफै न्यायाधीश कन्टेम्प्ट (मानहानी) मा मात्र चल्न सक्छ । सो बाहेक अरू कलममा यस्तो हुने, गर्न पाउने हाम्रो प्रचलित कानुनमा कतै व्यवस्था रहेको देखिंदैन र सरकारले यो मुद्दा काठमाडों मेजिष्ट्रेटलाई सुम्पियो । सो सुम्पिदा कुनै कानूनको आधार देखाएन । सरकारी एडभोकेट विद्वान शम्भुप्रसाद ज्ञवालीको बहसमा काठमाडौं मेजिष्ट्रेटको सवालको १ को (व) बमोजिम काठमाडौं मेजिष्ट्रेटको अधिकार क्षेत्र भित्र पर्छ भन्ने जिकिर लिनु भएकोमा सो दफा पढि हेर्दा ३ बर्षसम्म मेजिष्ट्रेटले कैद सजाय दिन सक्दछ भन्ने र २ को (घ) मा सवालले हेर्न पाउने अख्तियारी भित्रको मुद्दामा न कि कालो बजार गरेमा सजाय हुने र श्रेस्ता अड्डा तर्फको सरकारी नोक्सानी परेको मुद्दा बाहेक अरूमा रु.५० सम्म दण्ड जरिवाना र कैद बर्ष ३ हुने र बिगोमा रु.५० सम्मको मुद्दा सम्म हेरी किनारा लगाई दिनु । सो भन्दा बढी दण्ड जरिवाना कैद बिगो भएको मुद्दाका हकमा मेजिष्ट्रेटले हेरी रहनु पर्दैन । इलाका अदालतमा बुझाई दिनु पर्छ । लेखिए बमोजिम हेर्न नभई बुझाउन ल्याएमा इलाका अदालतले पनि बुझी लिई ऐन बमोजिम कारवाई फैसला गर्नु पर्छ भन्ने र ऐजन (ङ) मा यो सवाल जारी हुनुभन्दा अघि दायर भई रहेका मुद्दाहरू मध्ये हेर्न अख्तियार पाए भन्दा बढी बिगो दण्ड कैद लाग्ने प्रमांगीले दायर भईरहेका मुद्दाहरू इलाका देवानी फौजदारी जहाँ बुझाउनु पर्छ बुझाई दिनु भन्ने लेखिएकोबाट ३ बर्ष भन्दा बढी कैद सजाय हुनसक्ने मुद्दा मेजिष्ट्रेटलाई दिन र मेजिष्ट्रेटले हेर्न हुँदैन भन्ने अर्थ आउँछ । वर्तमान मन्त्रीमण्डलको सरकारलाई द्वेश घृणा गर्दै मन्त्री मण्डल उल्टाई आफूहरू सरकार बन्न रीटायर भएका पुलिस र राष्ट्र सेना समेतलाई फकाइ बहाकाई हात आएका जागीरे र जवान र तिनीहरूको हतियारबाट समेत आन्दोलन गरी अरू हात हतियार हात पारी मन्त्रीज्यू समेतका उच्च अधिकारी पक्राउ गरी मुलुक कब्जा गर्ने र श्री ५ लाई मौसुफका अधिनायकत्वमा आफूहरू मन्त्री हुने र डिक्टेटर शासनबाट सरकार चलाउने मौसुफलाई मजबुरपारी लालमोहरहरू गराउने पुर्णतया संकल्प गरी आन्दोलनगर्ने प्राइभेट खबर बुझिन आएकोले अब अविलम्ब पक्राउ नगरे खतरा हुने सम्भावना ६ भन्ने ०१३।३।२१ को पुलिस आई.जी.पी.को रिपोर्टको आधारमा पक्राउ गरी कारवाई चलेकोमा पक्राउ भएका जवान मध्ये क.प.रामशरण १ इ.पदमसुन्दर मल्ल १ जम. कुम्भबहादुर शाही १ सुरथचन्द्र १ समेत इन्कार भएका र ले.वीरबहादुर १ हर्षबहादुर १ फोरमान वी.वी.राई १ बिनोदचन्द्र, मे.क.कृपासुर १ क.प. रत्नबहादुर समेतले द्वेश र घृणा फैलाउनेमा समेत सावित भएको देखिनआइो । अभियोगीको घर आगन खानतलासी लिंदा केही लिखतहरू बरामत हुनआइो । फोरमान वी.वी.राईको घर खानतलासी बाट जम्मा ३ थान कागज फेला प¥यो । प्रतिज्ञापत्र १ विधानको मसौदा १ र लालमोहरको मसौदा । सो प्रतिज्ञापत्रको व्यहोरामा सभापति र उपसभापतिको नेतृत्वमा बसी देश हितको काम तनमनधनले गर्ने छौं । कसैले देश हितको काममा बिघ्न बाधा पारेमा या पार्ने कुचेष्टा गरेमा मृत्यु दण्डको भागी हुनलाई तत्पर रहने छौं भन्ने लेखिएको रहेछ । विशेष अदालतले मुत्यु दण्डको भागी हुनलाई तत्पर रहने छौं भन्ने वाक्यखण्डलाई आपत्तिजनक सम्झी ज्यान सम्बन्धीको महलले सजाय हुने भनी फैसलामा लेखिएको देखियो । तर सो महलको कुन नम्बरको खिलाफ र कुन नम्बरबाट के कति सजाय हुने हो खुलाएको छैन । देश हितको काम तनमनधनले गर्ने प्रतिज्ञालाई उच्च विचार सम्झनु पर्ने र देश हितको बाधा पारेमा मृत्यु दण्डको भागी हुन तत्पर हुनु पर्ने कसैको अधिकार हरन् गर्ने कसैको नोक्शानगर्ने र कसैको ज्यान लिने मनसाय गरेको अर्थ हुनै सक्तैन । यसको अर्थ अपहत्या गर्ने हो भन्न पनि हुँदैन । यसमा भागी हुनका लागि तत्पर रहने छौं, भनी लेखिएकोबाट हद से हद सजाय व्यहोर्न कबुल गरेको मात्र हो । तत्पर रहनुको माने तयार रहनु हो । आफु लगायत कसै उपर हात उठाउने अर्थमा यो वाक्य खण्ड आउन सक्तैन । बिनोदचन्द्रको बयानमा यसको बर्खिलाफ काम गरेमा पार्टीको नेता र सदस्य मिली मृत्यु दण्ड दिने भनी लेखिएको भन्ने अर्थ लगाएको छ तापनि सो अर्थ यी लवजहरूबाट लाग्नु लगाउनु अनर्थ हुन्छ । लेखिएका लवजहरू स्पष्ट भएकोमा अरू अर्थ लगाउने प्रयत्नगर्नु मुनासिब पर्दैन । सायद सो बयानगर्नेको मनमा त्यस्तो विचार हुँदो हो । तर अक्षरस सो अर्थ आउन सक्तैन । अदालतले लगाउन हुदैंन । बिधानको मसौदामा बिशेष अदालत र सरकारी वकिलले समेत केही आपत्तिजनक कुरा पाए देखिएको छैन । पढी हेर्दा देखिन पनि आउँदैन । यसमा कसैको सहीछाप पनि देखिदैन । लालमोहर गराउन राखेको मसौदा खेस्रा नक्कलमा देशलाई सुहाउँदो पूर्ण समाजवादी व्यवस्था गर्न मन्त्रीमण्डल गठन गरीबक्सेका छौं । सो अन्तरीम मन्त्रीमण्डलले गरेको सम्पूर्ण काम कारवाईमा हामीबाट हस्तक्षेप गरिने छैन । गद्दीको सुरक्षा राखी मन्त्रीमण्डलले पास गरी तोकी दिएको अधिकारमा हामी रही कार्य गर्न मञ्जुर छौं । दिइएको अधिकारको दुरूपयोग गरे हामीलाई गद्दीबाट निस्कासित गर्न समेतको अधिकार जनताको प्रतिनिधित्व गर्ने यो मन्त्रीमण्डललाई दिइएको छ भन्ने लेखिएको पाइन्छ । यसमा यो कागज मसौदा खेस्राको रूपमा मात्रै छ । अरू कसैसँग सल्लाह मसविरा नगरी आफु एक्लैको मनसायबाट मात्र लेखाएको भन्ने र पदमसुन्दर मल्ललाई देखाउँदा लबज कडा भयो फेर्नु पर्छ भनेकाले फेर्ने भएको थियो भनी फोरमान वी.वी.राईले बयान गरेकोछ तापनि राजा, जो यस मुलुकको लागि सर्वोच्च अधिकार सम्पन्न व्यक्ति होइबक्सन्छ, जसबाट आज सम्म बखत बखतमा मौका र आवश्यका अनुसार मौसुफका इच्छा र विचारबाट मौसुफमा निहित विशेषाधिकारबाट मुलुकको कामकाजको लागि खटाई बक्सेको छ । मौसुफको हुकुम बेगर दिइएको अधिकारको दुरूपयोग गरे हामीलाई गद्दीबाट निस्कासित गर्ने समेतको अधिकार दिइएको छ भन्ने लवज अक्षरस लेख्नु दण्डनीय अपराध होईन भन्न कुनै प्रकारबाट पनि हुँदैन । यो अपराधको दोषीलाई कानुन बमोजिम सजाय हुनैपर्छ । माथि उल्लिखित ३ थान कागजात फोरमान वी.वी.राईको खानतलासीबाट निस्किएको हो । कृपासुरको घर खानतलासी हुँदा पल्टनीया जवानहरूको विषयको सेन्टरमा यो यस्तो रहेको भन्ने समेत लेखिएको इङलिश टाइपको कागज फेला प¥यो । त्यस किसिमका कागज पल्टनीया अफिसरको घरमा हुनु हुने अचम्मको कुरा होईन र ४ थान कागजात बाहेक खानतलासीमा कसैको घर जिउबाट अरू कुनै आपत्तिजनक कागजात फेला परेको र अदालतको समक्ष पेश भएको देखिदैन । बाँकी रह्यो, अभियोगीहरूको बयान । ई.पदमसुन्दर, क.प.रामशरण कुम्भबहादुर १, सुरथचन्द्र समेत इन्कार रहेको । फोरमान वी.वी.राई सरकार बिरुद्ध घृणा र द्वेष फैलाउने भन्ने र मे.क कृपासुरले म पल्टन मिलाएर आउँछु भनेको र बीरजंग घलेले ५० नाल बन्दुक ल्याउँछु भनेको थियो भनी फोरमान वी.वी.राईको बयानमा लेखिएकोमा खानतलासीमा बरामत भएका कुनै कागजातमा पनि यो कुनै कुराको उल्लेख नभएकोले बयानगर्नेहरूको आन्तरिक विचार मात्र रहेछ या पकडाउ भई बयान गर्दा पुलिस आई.जी.पी.बयान गराउने अधिकारीको रूपमा बसेकाले बयान गरेको भन्नु पर्ने हुन आउँछ । किन भने किनभने न त यो कुरा कुनै कागजातमा देखिन्छ न त यस तर्फ चेष्टा गरेको सबुद पाइन्छ । कुनै अभियोगीले साविती बयान ग¥यो भने सो साविती भएको कुराको पुष्टीको लागि प्रमाण चाहिन्छ चाहिदैन वा प्रमाण नभए पनि सावित भएकोले त्यतिकैबाट निज अपराधी हुन्छ । निजले पोलेको व्यक्तिहरू इन्कार भएमा उनीहरूलाई कसुदार ठहर्‍याउन कतिसम्म सबुदको दरकार पर्छ, यसतर्फ विचार गर्दा, सवुदले पुष्टी नदिएको । साबिती बयानको आधारमा मात्र कसूरदार ठहर्‍यायमा एकाको अपराधमा बीचको व्यक्ति आई कसूर सकार गरी वास्तविक अपराधीलाई बचाउनसक्ने सम्भावना रहन जान्छ । त्यस कारण साबिती बयानबाट मात्रै कसूरको ठेगाना लगाउन मनासिब पर्दैन । साबितिले पोलेकोमा इन्कार हुनेको हकमा त्यस्तो पोलिएको व्यक्तिले गरे बिराएको सबुद बेगर पोलिएकैबाट मात्र सजाय भागी बनाउन पनि न्यायसंगत हुन जादैन । पोलीएको व्यक्तिले कुन बखत कसले कुन कुरामा पोल्दछ भन्ने सम्झी सबुद तयार गरी राख्न सक्दछ । घटना भएको अन्यत्र कतै भए त्यति मात्र देखाउन सम्भव छ । सवैलाई सबै बखत त्यस्तो अवसर पर्दैन । त्यसो हुँदा पोलिएको व्यक्तिको कसूर सावित गर्न प्रमाण पोल्ने अभियोगी र वादी कै कर्तव्य हुन आउँछ । यस मुद्दामा पुलिसको रिपोर्ट र अभियोगीको बयान बाहेक षडयन्त्रको अरू कुनै सवद पाइँदैन । पुलिसको कर्तव्य अपराधीको खोज गर्ने र अपराध हुन नदिने हो । साथ साथै पुलिसले कुनै ब्यक्तिलाई कुनै अपराधको अभियोगी साबित गर्न अदालतको समक्ष ठोस सबूद प्रमाण पेश दाखिल गर्नुपर्छ । पुलिसको शंकाको भरले कुनै ब्यक्तिलाई अपराधी तुल्याउन हुँदैन । सभा गर्ने संघ स्थापना गर्ने अधिकार २००५ सालदेखि जनताले पाएका छन् । सभा वा संघ ऐन, २००५ को दफा ५ को परिधि भित्र रही सभा संघ गरेमा कसैलाई बात कसूर लाग्दैन । यस मुद्दामा ४ ठाउँमा सभा भएको उल्लेख पाइन्छ । भक्तपुरमा सभा हुँदै भएन । पशुपति भण्डार खालमा स्वयम्भूमा सभा गर्ने उद्योग सम्म भयो । मानिस जम्मा हुन नसकेकोले सभा हुन सकेन भन्ने धेरैको एक मिलान बयान छ । सभा सम्पन्न भएको सबुद बादी तर्फबाट पेश दाखिल भएको छैन । पुलिसले घटना स्थलमा पकडाउ गर्न सकेको छैन । यस अवस्थामा उपरोक्त ३ ठाउँमा अवैधानिक सभा गरे वापत सजाय दिन नमिल्ने । ले.बीरबहादुर राईको घरमा बसेको सभाको फलस्वरूप भएका कागज माथि प्रतिज्ञापत्रमा लेखिएको कारणबाट सभा वा संघ सम्बन्धी ऐन, २००५ को दफा ५ ले निषेध गरेको भित्रको भन्न नमिल्लने हुँदा ऐजनको दफा ४ ले प्रदत्त अधिकार भित्र कै भन्नु पर्ने भई दण्डनीय देखिएन । राजनीतिमा विचार विर्मस गर्नु आपसी भेटघाट गर्नु मन्त्रीमण्डलको लागि राजासँग माँग गर्नु वैधानिक अधिकारै हो । दण्डनीय षडयन्त्र गर्नु मात्र अपराध हुन जान्छ । यस मिसिलबाट पल्टन मिलाउने पुलिस हात लिने कुरा मुख्यतया गुप्तचर गोवरधनले कालीबहादुर गोर्खबहादुर हात आई सकेको छ भन्यो । पुलिस पट्टी पनि हात लिन म भएँ भनी ले.हर्षबहादुरले भनेको थियो भन्ने मे.क.कृपासूर समेतका बयानबाट देखिन्छ । गुप्तचरको प्रोत्साहन हुँदा हुँदै पनि गुप्तचर बाहेकका अभियोगीले कुनै अफिसर वा पल्टनीया जवानलाई राज भक्ति या कर्तव्यबाट विचलीत गराएको वा गराउने प्रयास गरेको मिसिलबाट देखिदैंन । सभा सम्पन्न भएको प्रमाण भएको बीरजंग घले समेतले सही छाप गरेकोले बीरबहादुर राईको घरको मिटिङ्गमा भएको प्रतिज्ञापत्र हेर्दा जम्मा २३ जवानको सहीछाप परेको देखियो । त्यसमा १३ जवान सरकारी गुप्तचर ५ जवान वतन नभएकोले खोजी गर्दा पनि फेला नपरेको र बाँकी ५ जवान मध्ये धनशाह भन्ने कमल शाह कुनै मिटङ्गमा पनि उपस्थित नभएको भन्ने बिनोदचन्द्रको बयानबाट देखिएकोले पछिबाट भए गरेको भनेको मनासिब मान्नु पर्नेमा ले.बीरबहादुर १ हर्षबहादुर दाजु भाई भै घरवेटी हुँदा बाँकी २ जवान घर बाहिरको देखिनआयो । अभियोगी भन्दा गुप्तचर बेसी मात्रामा यस काण्डमा मुख बयान बाहेक अरू कुनै सबूद नदेखिनाले पनि अवैधानिक षडयन्त्र ठहराई अभियोगीहरूलाई सजाय दिन मिल्दैन । लालमोहर गराउन भनी लेखिएको खेस्रामा दण्डनीय शब्द लेखाएमा सावित भएको । उता लालमोहर गराउन भनी गरेको खेस्रा समेत खानतलासीमा निस्कि सबूद पुग्न आएको । फोरमान वी.वी.राईलाई पनि कागज जाँचको ऐनले सजाय गर्नु पर्नेमा २००५ सालको सभा वा संघ सम्बन्धीको ऐनले सजाय गरेको समेत विशेष अदालतको इन्साफ गल्ती ठहर्छ । तपसील बमोजिम गर्न लगत दिई मिसिल बुझाई दिनु ।

 

तपसिल

इन्साफ खण्डमा लेखिए बमोजिम विशेष अदालतको इन्साफ केही गल्ती ठहरिएकाले देहायमा लेखिएकासम्म कलममा ०१३।८।१३।४ को विशेष अदालतको फैसला बमोजिम गर्नु पदैन देहाय बमोजिम गर्नु भनी लगत दिनु .......................१

देहायका प्रतिवादीहरूलाई देहाएको बमोजिम कैद र दण्ड समेत गर्ने गरी ०१३।८।१३।४ का विशेष अदालतका फैसलामा लेखिएकोमा हाल निम्नलिखित प्रत्येवादीहरूलाई माथि लेखिएका बुंदा प्रमाणबाट दण्डनीय कसूर गरेको नदेखिई कैद र दण्ड समेत नलाग्ने भई इन्साफ केही उल्टी भएकोले सजाय न लाग्ने हुँदा लगत काटी दिनु दण्डको हकमा पनि असुल भए फिर्ता र नभए त्यसको पनि लगत काटी दिनु भनी लगत दिने १

दैलेख डुम्री खोला बस्ने बिनोदचन्द्र थापा मगर के कैद बर्ष ३।६ तीन बर्ष छ महिनाको कलम १

का.ई.बालुबाटार बस्ने कमल शाह भन्ने धन शाहके कैद । ६ छ महिनाको कलम १

का.ई.वालुवाबार बस्ने बाबुराम भन्ने भिमबहादुर ठकुरीके कैद महिना । ६ छको कलम १

तापलेजुङ्ग सिमले बस्ने इन्स्पेक्टर एस.सी.सुब्बा भन्ने सुरथचन्द्रके कैद बर्ष १ । एकको एकको कलम १

का.ई गोकर्ण बस्ने क.प. रामशरण थापाके कैद पहिना । ६ छको कलम र दण्ड मो.रु. ५० । समेतको ऐजन  १

प.४ नं.४ हजार पर्वत बस्ने जमा.कुम्भबाहादुर शाही के कैद महिना ६ छको कलम १

प.१ नं.मैती गाउँ बस्ने कप.रत्नबहादुर अधिकारीके कैद ।६ छ महिनाको कलम १

का.ई.कलम पोखरी बस्ने ई.पद.म सुन्दर मल्ल के कैद बर्ष १। एकको कलम १

मल्ल के कैद बर्ष १। एकको कलम १

देहायका मानिसहरूको नाउँ मात्र लेखेको वतन जात बेगर बुझ्न न मिल्ने भई त्यस्ता व्यक्तिहरूको रिकर्ड पुलिस अफिसमा राखी पत्ता लागेका बखत ठहरे बमोजिम गर्ने भनी लेखिएकोमा हाल सो इन्साफ केही उल्टी फोरमाँन वी.वी.राई बाहेक अरूले सफाई पाएकाले यिनीहरूको हकमा पनि सो रिकर्ड राख्न पर्दैन भनी आई.जी.पी.अफिसमा लेखी पठाउन गृह सचिवालयमा लेखी पठाउने कलम ..............२

गणेशबहादुर १ पद्मबहादुर १ भरतबहादुर १ खेमबहादुर १ भिमबहादुर १ दलबहादुर १ मे.क.भिमबहादुर खत्री १ जी.एन्.बहादुर १ डी.एम.प्रधान १ काठमाडौंको साहू १ धनकुटाको १

छुट्टै मिसिल खडा गरी म्याद तालिम भई आएका बखत ठहरे बमोजिम गर्ने भनी रहेको पूर्व ३ नं.चिसंखु बस्ने वी.एम्.राई भन्ने बरि मान राइका हकमा पनि सो बमोजिम मिसिल खडा गरी राख्नु पर्दैन भनी विशेष खदालत समेतलाई जनाऊ दिन ....................३

देहायका मानिसले यो मुद्दामा सफाई पाएको व्यहोरा खुलाई आर्मी हेड क्बार्टरलाई जनाई दिने .............४

का.ई.वत्तीस पुतली बस्ने मे.क.कृपासूर खत्री १, का.ई गोकर्ण बस्ने कप.रामशरण थापा खत्री १

ताप्लेजुंग सिमले बस्ने इन्स्पेक्टर एस.सी.सुब्बा भन्ने सुरथचन्द्र लिम्बु १, प.१ नं.मैती गाउँ बस्ने कप.रत्नबहादुर अधिकारी १, प.४ नं.४ हजार पर्वत बस्ने जमा.कुम्भबहादुर शाही समेतलाई यो मुद्दामा सफाई दिई फैसला भएको व्यहोरा आई.जी.पी.अफिस समेत जहाँ दिनु पर्छ दिई ऐन सबालबमोजिम गर्नु गराउनु होला भनी गृह सचिवालयलाई जनाउ दिने ....................५

विराटनगर गोग्राहा बस्ने फोरमाँन वी.वी.राई भन्ने बलबहादुर राईलाई ०१३।८।१३ का विशेष अदालतका फैसलाले गर्ने गरेको कैद बर्ष ३।६ तीन बर्ष छ महिना २००५ सालको सभा वा संघ सम्बन्धी ऐन लगाई भए गरेको देखिएको हाल सो ऐन नलागि कागज जाँचको ऐन लगाई सजाय हुने भएकाले सो कैद बर्ष ३।६ तीन बर्ष छ महिनाको लगत काटी दिनु भनी लगत दिने ...................६

विराटनगर गोग्राहा बसने फोरमाँन भन्ने बलबहादुर राई माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजका घर खानतलासीबाट निस्केको लालमोहर गराउन भनी लेखाई राखेको खेस्रामा दण्डनीय शब्द लेखे लेखाई राखेको खेस्रामा दण्डनीय शब्द लेखे लेखाएमा सावित समेत भएकाले कागज जाँचको १३ नं.ले कैद बर्ष तीन हुन्छ ऐन बमोजिम गर्न लगत दिने विशेष अदालतको इन्साफ केही उल्टी भएमा केही गर्नु पर्दैन ........ ७

 

इति सम्बत् २०१४ साल फाल्गुण ३० गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु