निर्णय नं. ६७९९ - अंश

निर्णय नं. ६७९९ ने.का.प. २०५६ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
संवत् २०५४ सालको दे.पु.नं. ..... ३६७०
फैसला मिति : २०५६।५।२१।२
मुद्दाः अंश ।
पुनरावेदक
प्रतिवादी : जिल्ला वर्दिया ताराताल गा.वि.स वडा नं. ६ वस्ने गंगाप्रसाद भटृराई
विरुद्ध
प्रत्यर्थी
वादीः ऐ.ऐ. वस्ने पुष्पराज भटृराई
§ प्रस्तुत मुद्दामा २०४१ सालमा मानु छुटिएको मिति कायम भए उपर वादीको निवेदन जिकिर नदेखिएपछि त्यसलाई स्वीकार गरेकै मान्नु पर्यो । ०४४।१०।२७ र ०४४।१०।१९ मा पुनर्वास कम्पनीबाट कि.नं. १२७ र १८१ को जग्गा प्रतिवादीले प्राप्त गरेको देखिन्छ । मानो छुटिएको मिति भन्दा पछि आर्जन गरेको सम्पत्तिमा अंश हक नलाग्ने भन्ने ने.का.प. २०४० अंक ४ पृष्ठ १२८ मा सिद्धान्त कायम भएको पाइन्छ । ०४१ सालमा मानो छुटिृएको मिति कायम भएको र प्रतिवादीले ती जग्गा ०४१ सालभन्दा पछि ०४४ सालमा प्राप्त गरेको र सो जग्गा १० वर्षसम्म कुनै प्रकारले हक छाडी वा अंशवण्डा गर्न नपाउने शर्त समेत रहेको स्थितिमा ती जग्गा समेत वण्डा हुने ठहर्याएको शुरु वर्दिया जिल्ला अदालतको ०५०।४।२४ को फैसला र सो फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगंजको मिति ०५१।१२।१२ को फैसला उल्टी हुने ठहर्छ । ती दुई कित्ता वाहेक अरु अचल सम्पत्ति नभएको र चल सम्पत्ति अघि नै लिई छुटृी सकेको भन्ने वादीको भनाइ देखिंदा अचल सम्पत्ति नभएको अवस्थामा वण्डा गरी दिनु अर्थहिन हुने भएबाट वादी दावी पुग्न नसक्ने ।
(प्र.नं. १२)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री युवराज भण्डारी
प्रत्यर्थी वादी तर्फबाट :
अवलम्वित नजीर : ने.का.प. २०४०, अंक ४, पृष्ठ १२८ ।
फैसला
न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत नेपालगंजको फैसला उपर मुद्दा दोहोर्याई पाउं भन्ने निवेदन परेकोमा मुद्दा दोहोर्याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
२. वाजे टिकारामबाट विपक्षी वावु गंगारामको जन्म भएको, विपक्षी वावु र आमा भिमादेवीबाट म तथा अन्य २ छोराहरु समेत जना ३ को जन्म भएको, म २०४१।४।१८ गते चल सम्पत्ति लिई छुटिएको अचल नलिएकोले अंशवण्डाको २०, २१, २२, २३ नं. वमोजिम प्रतिवादीहरुबाट फांटवारी लिई सम्पूर्ण सम्पत्तिमा ५ भाग लगाई १ भाग वण्डा छुट्याई पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. मेरो वावु टिकारामको नाउंमा कुनै जग्गा नभएकोले मैले नेपाल पुनर्वास कम्पनी तारातालबाट प्राप्त गरेको कि.नं. १८१ र १२७ समेतको जग्गा मेरो निजी आर्जनको हुंदा सो मा वादीको अंश हक लाग्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी गंगा प्रसाद भटृराईको प्रतिउतर पत्र ।
४. सगोलमा रहंदाको सम्पत्ति जुनसुकै अंशियारहरुको नाउंमा रहे पनि सगोलको हो भन्ने अनुमान गर्नुपर्ने विद्यमान प्रमाण कानूनको आधारमा सगोलको होइन भन्न मिलेन, वादी प्रतिवादीबाट पेश भएका अंशको फांटवारी वमोजिम ५ भागलगाई वादीले १ भाग अंश पाउने ठहर्छ भन्ने समेत वर्दिया जिल्ला अदालतको फैसला ।
५. अंशवण्डाको १८ नं. वमोजिम मानो छुटिृएको मिति पछि आर्जन गरेको सम्पत्ति वण्डा गर्न नपर्ने निजी आर्जनको हुनेमा मानो छुटीई सकेपछि २०४४ सालमा नेपाल पुनर्वास कम्पनीवाट प्राप्त गरेको जग्गामा विपक्षकिो अंश हक नलाग्नेमा अंश पाउने ठहरी भएको वर्दिया जिल्ला अदालतको त्रुटीपूर्ण फैसला वदर गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत नेपालगंजमा परेको पुनरावेदन पत्र ।
६. वादीले अंश पाउने ठहर्याएको शुरु वर्दिया जिल्ला अदालतको निर्णय मनासिव देखिंदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत नेपालगंजको मिति ०५१।१२।१२ को फैसला ।
७. प्रस्तुत मुद्दामा मानो छुटिृएको मिति ०४१।४।१८ लाई फिराद दावी वमोजिम कायम गरिएको छ । मेरो नाउंमा दर्ता श्रेस्ता रहेको कि.नं. १२७ र १८१ को जग्गा क्रमशः ०४४।१०।२७ र ०४४।१०।१९ मा पुनर्वास कम्पनीबाट पाएको र १० वर्षसम्म कुनै प्रकारले हक छाडी वा अंश वण्डा गर्न नपाउने गरी शर्त वन्देजमा पाएको जग्गा हो । सम्मानित सर्वोच्च अदालतवाट केशरी पाध्यानी विरुद्ध टिकानिधि पाध्या समेत भएको अंश दपोट मुद्दामा मानो छुटिृएको मिति भन्दा पछि आर्जन गरेको सम्पत्तिमा अंश हक लाग्न सक्ने कानूनी व्यवस्था नभएको भन्ने प्रतिपादित सिद्धान्त समेतबाट मैले वादी मानो छुटिृ सकेपछि आर्जन गरेको सम्पत्ति वण्डा लाग्ने गरी शुरु जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुंदा वदर गरी पाउं भन्ने समेत प्रतिवादी गंगा प्रसाद भटृराईको यस अदालतमा परेको निवेदन ।
८. पुनरावेदन अदालत नेपालगंजको फैसला मानो छुटिृएको मिति भन्दा पछि आर्जन गरेको सम्पत्तिमा अंश हक नलाग्ने भन्ने प्रतिपादित नजिरको प्रतिकुल देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (ख) वमोजिम दोहर्याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको आदेश ।
९. प्रत्यर्थी वादीको नाउंको सूचना म्याद जारी हुंदा उपस्थित नभई गुजारी बसेको ।
१०. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान अधिवक्ता श्री युवराज भण्डारीले वादीले फिरादपत्रमा २०४१ सालमा चल सम्पत्ति लिई छुटृी सकेको भनेको र त्यसैवेला कुनै अचल सम्पत्ति नभएको अवस्थामा ०४१ साल भन्दा पछि ०४४ सालमा मेरो पक्षले नेपाल पुनर्वास कम्पनीबाट प्राप्त गरेको जग्गा अंशवण्डाको १८ नं. वमोजिम वण्डा नलाग्नु पर्नेमा वण्डा लाग्ने ठहर्याएको शुरु जिल्ला अदालतको फैसला र सो फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला उल्टी हुन पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।
११. उक्त वहस समेतलाई दृष्टिगत गरी प्रस्तुत मुद्दामा ०४१ सालमा चल सम्पत्ति लिई छुटिृएको अचल सम्पत्ति नलिएकोले प्रतिवादीबाट फांटवारी लिई सम्पूर्ण अचल सम्पत्तिको ५ भागको १ भाग अंश पाउं भन्ने वादी दावी र वावुको नाउंको कुनै जग्गा नभएको र मैले पुनर्वास कम्पनीवाट प्राप्त गरेको निजी आर्जनको जग्गामा वादीको अंश हक लाग्ने होइन भन्ने प्रतिउत्तर जिकिर भएकोमा शुरु वर्दिया जिल्ला अदालतले पेश भएको अंशको फांटवारी वमोजिम ५ भाग लगाई १ भाग वादीले अंश पाउने ठहर्याएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेको छ, छैन सो सम्वन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१२. निर्णय तर्फ विचार गर्दा प्रस्तुत मुद्दामा २०४१ सालमा मानु छुटिएको मिति कायम भए उपर वादीको निवेदन जिकिर नदेखिएपछि त्यसलाई स्वीकार गरेकै मान्नु पर्यो । ०४४।१०।२७ र ०४४।१०।१९ मा पुनर्वास कम्पनीबाट कि.नं. १२७ र १८१ को जग्गा प्रतिवादीले प्राप्त गरेको देखिन्छ । मानो छुटिएको मिति भन्दा पछि आर्जन गरेको सम्पत्तिमा अंश हक नलाग्ने भन्ने ने.का.प. २०४० अंक ४ पृष्ठ १२८ मा सिद्धान्त कायम भएको पाइन्छ । ०४१ सालमा मानो छुटिृएको मिति कायम भएको र प्रतिवादीले ती जग्गा ०४१ सालभन्दा पछि ०४४ सालमा प्राप्त गरेको र सो जग्गा १० वर्षसम्म कुनै प्रकारले हक छाडी वा अंशवण्डा गर्न नपाउने शर्त समेत रहेको स्थितिमा ती जग्गा समेत वण्डा हुने ठहर्याएको शुरु वर्दिया जिल्ला अदालतको ०५०।४।२४ को फैसला र सो फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगंजको मिति ०५१।१२।१२ को फैसला उल्टी हुने ठहर्छ । ती दुई कित्ता वाहेक अरु अचल सम्पत्ति नभएको र चल सम्पत्ति अघि नै लिई छुटिृसकेको भन्ने वादीको भनाइ देखिंदा अचल सम्पत्ति नभएको अवस्थामा वण्डा गरी दिनु अर्थहिन हुने भएबाट वादी दावी पुग्न नसक्ने ठर्हछ । अरु तपसिल
वमोजिम गर्नु ।
तपसिल
शुरु वर्दिया जिल्ला अदालतको फैसला उपर प्रतिवादीले पुनरावेदन गर्दा शुरु फैसला वमोजिम प्रतिवादीले वादीलाई भराउनु पर्ने कोर्ट फि रु.४२०। वांके जिल्ला अदालतमा मिति ०५०।१२।१८ र.नं. २४४ वाट धरौट राखेको देखिंदा सो रकम प्रतिवादी गंगा प्रसाद भटृराई फिर्ता माग्न आए फिर्ता दिनु भनि वांके जिल्ला अदालतमा लेखि पठाउनु .................... १
प्रतिवादीले शुरु वर्दिया जिल्ला अदालतको फैसला उपर पुनरावेदन गर्दा राखेको कोर्ट फि रु.६३। र पुनरावेदन अदालत नेपालगंजको फैसला उपर निवेदन दिई निस्सा प्रदान हुंदा राखेको कोर्ट फि रु.६३। समेत जम्मा रु.१२६। वादी पुष्पराज भटृराईवाट भराई पाउं भनि वादीको यसै सरहदको जेथा देखाई कोर्ट फि ऐन, २०१७ को म्यादभित्र दरखास्त दिए केहि दस्तूर नलिई प्रतिवादी गंगा प्रसाद भटृरँईलाई भराई दिनु भनि शुरु वर्दिया जिल्ला अदालतमा लेखि पठाउनु ..२
शुरु वर्दिया जिल्ला अदालतको मिति ०५०।४।२४ को फैसला र पुनरावेदन अदालत नेपालगंजको मिति ०५१।१२।१२ को फैसला वमोजिम राखेको लगत कटृा गरी दिनु भनि ती अदालतहरुमा लेखी पठाउनु ........... ३
मिसिल नियमानुसार वुझाई दिनु ......... ४
उक्त रायमा म सहमत छु ।
न्या.भैरवप्रसाद लम्साल
इति संवत् २०५६ साल भदौं २१ गते रोज २ शुभम् .......................................... ।