शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८०३ - अंश हक कायम नामसारी

भाग: ४१ साल: २०५६ महिना: माघ अंक: १०

निर्णय नं. ६८०३     ने.का.प. २०५६ अङ्क १०

 

संयुक्त इजलास

माननीय  न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री

संवत २०५१ सालको दे.पु.नं. ..... २३७४

फैसला मितिः २०५५।१२।२२।२

 

मुद्दाः अंश हक कायम नामसारी ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला रुपन्देही वभनि गा.वि.स. वडा नं. ५ अजमा वस्ने पराग अहिर

विरुद्ध

प्रत्यर्थी

वादीः  ऐ.ऐ. वस्ने रामरति अहिरनी समेत

 

§  २०३४।२।३१ को वक्सपत्रमा शेषपछिको वक्सपत्र भन्ने उल्लेख भएको र यस्तो शेषपछिको वक्सपत्रदाताको जीवनकालमा जहिले पनि वदर गर्न सक्ने हुंदा लिखतको प्रकृतिवाट नै दाताको शेषपछि क्रियाशील हुने हो । यस अदालतको झगडीया झिकाउने आदेशमा आजैका मितिदेखि भोगचलन गर्ने गरि वक्सपत्र दिएको हुंदा झगडिया झिकाउने आदेश गरेको भएतापनि भोगको अधिकार Possessory Right वाट मात्र हक हस्तान्तरण हुदैन जग्गाको स्वामित्व Ownership पनि हस्तान्तरण हुनुपर्छ साथै एक अंशियार रामरतिको स्वर्गवास भैसकेकोले दुई अंशियारका वीचमा मात्र अंशवण्डा हुनु पर्ने भन्ने हकमा रामरतिले वण्डा छुट्याई आफ्नो हक जति सर्वजित अहिरलाई हस्तान्तरण गरेको भन्ने देखिन्छ । तसर्थ अंशियारको संख्या घटबढ गर्न  मिलेन । रामरतिको अंश खाने सर्वजित भएकोले ३ भागको २ भाग वण्डा छुट्याउने ठहर्‍याएको र शेषपछिको वक्सपत्रको जग्गा वण्डा  नलाग्ने गरेको निर्णय ने.का.प. २०४१ नि.नं. २०८४ र अंशवण्डाको १८ नं. वमोजिम ०३४।२।३१ को शेषपछिको वक्सपत्रवाट ०३९।७।२ मा वादीको हक  हुन आएको सम्पत्तिमा वण्डा लगाउने गरेको हदसम्मको शुरुको फैसला मिलेको नदेखिई सो हदसम्म वदर गरी केही उल्टी हुने ठहर्‍याएको पुनरावेदन अदालत वुटवलको फैसला मुनासिव देखिदा सदर हुने ।

(प्र.नं. १२)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री श्रीकान्त वराल

प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री इश्वरीप्रसाद भटृराई, विद्वान अधिवक्ता श्री शम्भु थापा

अवलम्वित नजिरः ने.का.प. २०४१, नि.नं.. २०४८

 

फैसला

      न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत वुटवलको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अर्न्तगत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको टिपोट र ठहर यस प्रकार छः

      २.    आसरेको जेठी स्वास्नी रामरति तर्फको छोरा राम अचल कान्छी स्वास्नीको छोरा पराग हुन । आसरे र निजकी कान्छी स्वास्नी मरिसके । आसरेको नाउंमा दर्ता भएको जग्गा वादी प्रतिवादीका नाउंमा संयुक्त दर्ता भएको  छ । हामी वादी परागसंग अलग भै चुल्हो मानो अलग गरि चल सम्पत्ति हात हातमा वांडी अचल जग्गा भाग शान्ति भोग छुट्याई पांच वर्ष देखि खति उपत्ति छुट्टा छुट्टै गरि आएका छौ । म र राम अचलले सन्तराजीबाट २०३४।२।३१ मा घर जग्गा वि. १-१८-४ जग्गा हालको वकसपत्र पारीत गराई लिएको छु । छुटिृएपछि निजी कमाई र कर्जा लिई पक्कि घर वनाएको छु । वकसपत्र पाएको र पक्की घरमा कसैको अंश हक छैन । वण्डा गर्नुपर्ने सम्पत्ति संयुक्त दर्तामा भएको र जग्गाको आयस्ता विपक्षीले जालझेल गरि खान नदिएकोले रीतपूर्वकको अंशवण्डा गरौं भन्दा विपक्षीले नमानेको हुंदा हामी वादी प्रतिवादीको संयुक्त नाउंमा दर्ता भएको जग्गाहरुबाट ३ भागको २ भाग अंश दिलाई हाम्रो नाउंमा नाउंसारी समेत गरि पाउं भन्ने समेत व्यहोराको वादी रामरती अहिर्नी र राम अचल अहिरको संयुक्त फिराद ।

      ३.    फिरादी र मेरो वीच मानो छुट्याई अलग वसेको होइन चल अचल सम्पत्ति वण्डा नभएको हुंदा अचल सम्पत्ति जग्गा भाग शान्ति छुट्याउने प्रश्न आउंदैन । पक्कि घर वादी राम अचलले वनाएको होइन वावु आसरे जीवित छंदै वावुले नै वनाउनु भएको हो सन्त राजीबाट पाएको वकसपत्रको जग्गा समेत सवै अंशियारले वाडी खान पाउने भै राम अचलको नाउंमा वकसपत्र पारीत भएको हो । घरको मुख्य राम अचल भएकोले निजबाटै फिराद दर्ता भएको अघिल्लो दिनसम्मको सम्पूर्ण चल अचल सम्पत्तिको तायदाती फिरादीबाटै लिई कानून वमोजिम वण्डा गरि पाउं भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

      ४.    सम्पूर्ण सम्पत्तिको ३ खण्डाको २ खण्ड वादीहरुले अंश पाउने र सो अचल सम्पत्ति वादीहरुका नाउंमा नाउंसारी गरिदिने ठहर्छ भन्ने समेत शुरु रुपन्देही जिल्ला अदालतबाट भएको फैसला ।

      ५.    शेषपछिको वकसपत्र २०३४।२।३१ मा पारित भएपनि निज परलोक भएपछि २०३९।७।२ मा मेरो नाउंमा दर्ता हुन आएको छ । २०३४।९।२७ मा विवेचित अंशवण्डा १८ नं. संशोधन भएकोले संशोधन पछि मेरो नाउंमा शेष पछिको वकसपत्रबाट दर्ता भएको जग्गा र मेरो पक्की घर समेतमा ३ भाग लगाई वण्डा गर्ने भनी गरेको शुरुको फैसला त्रुटिपूर्ण हुंदा वदर गरी पाउं भन्ने समेत व्यहोराको वादी रामरती अहिरनी र राम अचल अहिरको तत्कालीन लुम्विनी अन्चल अदालतमा परेको पुनरावेदन पत्र ।

      ६.    मिति २०३४।२।३१ मा शेष पछिको वकसपत्र गरि लिएको भएतापनि सो वकसको सम्पत्ति मिति २०३९।७।२ मा वादीको नाउंमा दाखिल खारेज दर्ता भएको देखिंदा शुरुको निर्णय फरक पर्ने भएको भन्ने समेत पुनरावेदन अदालत वुटवलको आदेश ।

      ७.    कसैबाट निजी तवरले दान वा वकस पाएको सम्पत्ति सो पाउने अंशियारको निजी ठहरी वण्डा गर्न कर नलाग्ने कानूनी व्यवस्था अंशवण्डाको १८ नं. मा २०३४।९।२७ मा भएको मुलुकी ऐनको सातौं संशोधनबाट हुन गएको देखिन्छ । सो कानूनी व्यवस्था हुनुपूर्व २०३४।२।३१ मा शेष पछिको वकसपत्र पारीत भएपनि सो वकसपत्र गरिदिने सन्तराजीको मृत्यु पछि सो वकसपत्रको जग्गा पाउने राम अचलको नाउंमा २०३९।७।२ मा मात्र दर्ता नाउंसारी भै हक हुन आएको देखियो । उक्त २०३४।२।३१ को पारीत शेषछिको वकसपत्रको सम्पत्तिमा दाता सन्तराजीको शेषपछि मात्र सो शेषपछिको वकसपत्र कृयाशील हुने भै सो सम्पत्तिमा वादीको हक पुग्न जाने भएबाट सो सम्पत्ति वादीका नाउंमा २०३९।७।२ मा मात्र हक स्थापित भएको सो सम्पत्तिमा अंशवण्डाको १८ नं. ले वण्डा लाग्न सक्ने अवस्थाको नदेखिंदा सो २०३४।२।३१ को शेषपछिको वसकपत्रबाट २०३९।७।२ मा वादीको हक हुन आएको सम्पत्तिमा वण्डा लगाउने गरेको हदसम्म शुरुको फैसला मिलेको नदेखिंदा सो हदसम्म वदर भै केही उल्टि हुन्छ भन्ने समेत २०५०।१२।१५ को पुनरावेदन अदालत वुटवलको फैसला ।

      ८.    पुनरावेदन अदालत वुटवलको फैसलामा चित्त वुझेन २०३४।२।३१ मा पारीत भएको शेषपछिको वकसपत्रको जग्गा निजी ठहर्‍याएको अंशवण्डाको १८ एवं १८४(क) १८५ नं. को प्रत्यक्ष कानूनी त्रुटि भएको छ अंशवण्डाको १८ नं. लाई सातौ संशोधन हुनुपूर्व वकस दिएको सम्पत्ति सगोलको अंशियारले वाढी खान पाउने निजी नहुने भनी श्री सर्वोच्च अदालतबाट ने.का.प. २०४५ निर्णय न. ३५०२ प्रकाशित नजिरको समेत पालना नभै सगोलको अंशियार मध्ये कै राम अचल अहिरको नाउंमा २०३४।२।३१ मा शेषपछिको वकसपत्र पाएको वण्डा हुने ठहर्‍याएको शुरु अदालतको फैसला इन्साफ उल्टि गरि निजी ठहर्‍याएको हदसम्मको इन्साफ न्यायोचित छैन सो वदर गरि पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

      ९.    यसमा वादीले सन्तरानी अहिरनीबाट २०३४।२।३१ मा शेषपछिको वकसपत्र पाएको भन्ने भए पनि सोही वकसपत्रमा आजैका मिति देखि भोगचलन गर्ने गरी भन्ने वाक्यांशहरु उल्लेख भएको देखिंदा वादीले प्राप्त गरेको वकसपत्रबाट मुलुकी ऐन सातौं संशोधन पूर्व नै वादीले वकसपत्र वमोजिमको जग्गा भोगचलन गरि आएको भन्ने देखिएकोले मु. ऐन मा सातौं संशोधन भैसकेपछि २०३९ सालमा नामसारी भएको कारणले अंशवण्डा नलाग्ने ठहराएको पुनरावेदन अदालत वुटवलको फैसला परक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि नियम वमोजिम गरि पेश गर्नु भन्ने यस अदालतको आदेश ।

      १०.    यसमा नियम वमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी पराग अहिर तर्फबाट विद्वान अधिवक्ता श्री श्रीकान्त वरालले २०३४।२।३१ मा पारीत भएको शेष पछिको वकसपत्रको जग्गा निजी ठहर्‍याएको अंशवण्डाको १८ नं. अ.वं. १८४ क, १८५ नं. को प्रत्यक्ष गंभीर कानूनी त्रुटि हुन गएको छ । अंशवण्डाको १८ नं लाई हेरिएमा कसैले निजी रुपमा दान वा वक्स पाएको सम्पत्तिलाई वण्डा गर्न कर नलाग्ने भन्ने उल्लेख छ । २०३४।२।३१ मा दिएको शेष पछिको वकसपत्र ऐन संशोधन भएपछि नामसारी भएको कारणले निजी हुन्छ भन्न मिल्दैन । शुरु रुपन्देही जिल्ला अदालतको फैसला इन्साफ सदर हुनु पर्छ भनी गर्नु भएको वहस र प्रत्यर्थी वादी राम अचल अहिरका तर्फबाट विद्वान अधिवक्ता श्री इश्वरीप्रसाद भटृराईले २०५५।२।२० मा रामरतिको मृत्यु हुंदैमा अंशियार घटाउन मिल्दैन । शेषपछिको वकसपत्रदाताले जीवनकालमा जहिले पनि वदर गर्न पाउंछ भनी गर्नु भएको वहस र प्रत्यर्थी वादी कै तर्फबाट विद्वान अधिवक्ता श्री शम्भु थापाले भोगको कारणले मात्र स्वामित्व हस्तान्तरण भएको मानिदैन । स्वामित्व दाताको मृत्यु पछि मात्र प्राप्त हुनेछ भनी गर्नु भएको वहस समेत सुनि पुनरावेदन सहितको मिसिल अध्ययन गरि पुनरावेदन अदालत वुटवलले गरेको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनु परेको छ ।

      ११.    निर्णय तर्फ विचार गर्दा असारेको मृत्युपछि चल सम्पत्ति वांडी अचल सम्पत्ति भाग शान्ति छुट्याई भोग गरि संयुक्त दर्ता गराएकोमा जग्गाको आयस्ता विपक्षीले जालझेल गरी खान नदिएकोले र रीतपूर्वक वण्डा गर्न नमानेकोले शेषपछिको वकसपत्र पाएको जग्गा र निजी आर्जनमा मेरो मात्र हक लाग्ने भएको वाहेक संयुक्त दर्ताको अचल सम्पत्ति वण्डा गरी पाउं भन्ने समेत वादीको मुख्य दावी भएकोमा विपक्षीहरुसंग मानो छुटिएको छैन पक्की घर वावुले वनाएको हो । वकसपत्रको जग्गा सवैले खान पाउने गरि वण्डा होस भन्ने समेत प्रतिउत्तर परेको प्रस्तुत मुद्दामा सम्पूर्ण सम्पत्तिको ३ खण्डको २ खण्ड वादीहरुले अंश पाउने र नामसारी समेत गरी दिने समेत ठहर्‍याएको शुरु जिल्ला अदलतको फैसला उपर तात्कालीन लुम्विनी अंचल अदालतमा वादीहरुको पुनरावेदन परेपछि लुम्विनी अंचल अदालत विघटन भै पुनरावेदन अदालतमा मुद्दा  सरी उक्त अदालतबाट २०३९।७।२ मा मात्र हक स्थापित भएको सो सम्पत्तिमा अंशवण्डाको १८ नं. ले वण्डा लाग्न सक्ने अवस्थाको नदेखिंदा सो २०३४।२।३१ का शेषपछिको वकसपत्रबाट २०३९।७।२ मा वादीको हक हुन आएको सम्पत्तिमा वण्डा लगाउने गरेको हदसम्मका शुरुको फैसला मिलेको नदेखिंदा सो हदसम्म वदर भई केही उल्टी हुन्छ भन्ने समेतको फैसलामा चित्त वुझेन भनी प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको पाइन्छ ।

      १२.   २०३४।२।३१ को वक्सपत्रमा शेषपछिको वक्सपत्र भन्ने उल्लेख भएको र यस्तो शेषपछिको वक्सपत्रदाताको जीवनकालमा जहिले पनि वदर गर्न सक्ने हुंदा लिखतको प्रकृतिवाट नै दाताको शेषपछि क्रियाशील हुने हो । यस अदालतको झगडीया झिकाउने आदेशमा गरेको आजैका मितिदेखि भोगचलन गर्ने गरि वक्सपत्र दिएको हुंदा झगडिया झिकाउने आदेश गरेको भएता पनि भोगको अधिकार Possessory Right वाट मात्र हक हस्तान्तरण हुदैन जग्गाको स्वामित्व Ownership पनि हस्तान्तरण हुनुपर्छ साथै एक अंशियार रामरतिको स्वर्गवास भैसकेकोले दुई अंशियारका वीचमा मात्र अंशवण्डा हुनु पर्ने भन्ने हकमा रामरतिले वण्डा छुट्याई आफ्नो हक जति सर्वजित अहिरलाई हस्तान्तरण  गरेको भन्ने देखिन्छ । तसर्थ अंशियारको संख्या घटबढ गर्न  मिलेन । रामरतिको अंश खाने सर्वजित भएकोले ३ भागको २ भाग वण्डा छुट्याउने ठहर्‍याएको र  शेषपछिको  वक्सपत्रको  जग्गा वण्डा  नलाग्ने गरेको निर्णय ने.का.प. २०४१ नि.नं. २०८४ र अंशवण्डाको १८ नं. वमोजिम ०३४।२।३१ को शेषपछिको वक्सपत्रवाट ०३९।७।२ मा वादीको हक  हुन आएको सम्पत्तिमा वण्डा लगाउने गरेको हदसम्मको शुरुको फैसला मिलेको नदेखिई सो हदसम्म वदर गरी केही उल्टी हुने ठहर्‍याएको पुनरावेदन अदालत वुटवलको फैसला मुनासिव देखिदा सदर हुन्छ ।

पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसिल वमोजिम गर्नु ।

 

तपसिल

      माथि इन्साफ खण्डमा उल्लेख भए वमोजिम पुनरावेदन अदालत वुटवलको २०५०।१२।१५ को फैसलाले प्रतिवादीबाट वादीले भरि पाउने ठहरेको शुरु कोर्ट फि रु.४६४।७४ र पुनरावेदन तहको कोर्ट फि रु.२३।३५ समेत जम्मा कोर्ट फि रु.४८८।०९ पुनरावेदक प्रतिवादी पराग अहिरले पुनरावेदन गर्दा यस अदालतमा धरौटीमा राखेको देखिंदा उक्त धरौटीबाट वादीलाई भराई दिनु भनी शुरु जिल्ला अदालतमा लगत दिनु ...... १

      दायरीको लगत कटृा गरि मिसिल नियमानुसार वुझाई दिनु .....  

 

उक्त रायमा सहमत छु ।

 

न्या.गोपालप्रसाद खत्री

 

इति सम्वत २०५५ साल चैत्र २२ गते रोज २ शुभम् ....................... ।

                       

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु