निर्णय नं. १६ - अंश

निर्णय नं. १६ ने.का.प. २०१६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह
न्यायाधीश श्री मुक्तिकान्त मैनाली
न्यायाधीश श्री हेरम्म्बराज
फु.नं. ३
निवेदक : इन्दु शम्शेर
विरूद्ध
विपक्षी : ज्यानी राणाजीनी समेत
मुद्दा : अंश
(१) २००७ सालभन्दा अघिको १।२ छापे खड्गनिशाना–ऐन आदेश नियमले दोहराई हेर्न नमिल्ने।
२००७ सालभन्दा अघि १।२ छोप खड्गनिशाना भएको कुरा ऐन आदेश नियमले दोहराई हेर्न नमिल्ने ।
(प्रकरण नं. ९)
(२) अंशबण्डाको ६१ नं.–बण्डा हुन बाँकी रहेकोमा–भिन्न हुनेको दुई जीउ जीउसम्म मात्र उजुर लाग्ने– तायदाती लिई बण्डा छुट्याई दिनु पर्ने ।
सो २ छापे सदर भएको बण्डापत्रमा गोश्वारा अंशबण्डा रहेको बण्डा गर्नुपर्ने, बाँकीमासम्म अंशबण्डाको ६१ नम्बरले भिन्न हुनेको जीउ जीउसम्म उजुर लाग्ने हुँदा अंशबण्डाको २।४।६ नं. का ऐनबमोजिम वादीहरूले अंश पाउने देखिंदा सो बण्डापत्रमा गोश्वारा रहेको बण्डा गर्न बाँकी रहेको अबण्डा मात्रबाट ऐनबमोजिम पाउने अंशमा ऐनबमोजिम प्रतिवादीबाट तायदाती लिई बण्डा छुट्याई दिनुपर्ने ।
(प्रकरण नं. ९)
(३) हाकिमका नाउँमा कराउनेको १० नं.–मुद्धा दोहर्याउने बिन्तिपत्र दिएमा–भएको इन्साफ सदर भएमा–दण्ड हुने ।
मुद्दा दोहर्याउने बिन्तिपत्र दिएमा का.ई. लालदरबार बस्ने मे.ज. इन्दु शम्शेर ज.ब.रा. के अघि प्रधान न्यायालयबाट दण्ड नभए पनि त्यसै छाड्न मनासिव नहुँदा हाकिमका नाउँमा कराउनेका १० नं. ले. तजविजी–मोरू १। दण्ड हुन्छ ।
(प्रकरण नं. ९)
वकिलहरू : श्री बलभद्र मिश्र र सि.ए. श्री देवनाथप्रसाद वर्मा
फैसला
१. यसमा म समन लामाको छोरी सरस्वती र सुन्दर खत्रीको छोरी म ज्यानी दुवै जना साना हजुर तेज शम्शेर कहाँ बसेकोमा निज तेज शम्शेरले हामीहरूलाई स्वास्नी तुल्याई म सरस्वतीबाट १ छोरा शाम शम्शेर र म ज्यानी तर्फबाट १ छोरी अन्तरी मैया जायजन्म भएकोमा छोरीलाई उहाँहरूले नै तारक जंगसँग विवाह गरी दिएको र अंशबण्डा गर्दा छोरालाई अंश दिएको, हामीहरूलाई अंश नदिएकोले अंश दिलाई पाउँ भन्ने समेत ०८।६।४ को ज्यानी सरस्वतीको फिराद ।
२. खड्गनिशाना भईसकेकोमा फेरी तायदाती लिई अंश गर्न नमिल्ने हुँदा सो खड्गनिशाना बमोजिम खाईपाई रहेमा वादीहरू सावीतै रहेका । चित्त नबुझे म्याद भित्र उजुर गर्नुपर्नेमा उजुर समेत गर्न नसकेकोबाट खारेज हुनु पर्ने भन्ने समेत ०८।८।१२।३ को इन्दु शम्शेरको प्रतिवादी परेकोमा ।
३. खड्गनिशाना भईसकेकोमा फेरी तायदाती लिई अंश गर्न नमिल्ने हुँदा खारेज गर्ने ठहराई ०९।४।२६ मा देवानी दोश्राले फैसला गरेकोमा चित्त बुझेन भन्ने ज्यानी समेतको अपील परेकोमा ।
४. वादीहरूले ६ खण्डको एक खण्ड अंश पाउने ठहरेकाले खड्गनिशाना बदर हुने भएकाले जाहेर गरेको छु भनी ०९।१०।१९ मा अपील पहिलाले जाहेरी फैसला गरेको र ।
५. सो इन्साफमा चित्त बुझेन भन्ने समेत ज्यानीको अपील र इन्दु शम्शेरको उजुर बिन्तिपत्र समेत परेकोमा ।
६. १९९९।११।५ मा अंशबण्डा भएको । उस बखतको सरकारले २०००।७।२९ मा सनद सदर गरी दिएको । अघी बण्डा भईसकेको सम्पत्तिबाट वादी सरस्वती ज्यानीहरूले अंश पाउन सक्नु हुन्न । अघी बण्डा हुँदा बण्डापत्रबाट गोश्वारा रहेको र बण्डा गर्न बाँकी रहेको अबण्डामात्रबाट वादीहरूले अंशबण्डाका ६ नं. का ऐनले विवाहिताले पाउने भाग २० को वादी सरस्वतीले ७ भाग को १ भाग र ज्यानीले २० को १९ भाग अंश पाउनु हुन्छ । प्रतिवादीहरूले दिनुपर्ने ठर्हछ भनी समेत ०१०।१०।९।६ मा प्रधान न्यायालय डिभिजन बेञ्चबाट फैसला भए पछि।
७. उक्त इन्साफमा चित्त बुझेन । दोहराई पाउँ भन्ने मे.ज. इन्दु शम्शेरको बिन्तिपत्रमा यसमा इन्साफ जाँची हेरी ऐन सवालबमोजिम किनारा गरी दिनु भन्ने हुकुम बक्सेको छ भन्ने श्री ५ महाराजाधिराजका प्रमुख सचीवालयबाट ०१४।११।१।४ मा लेखि आई पेश हुँदा ।
८. उस बखतका सरकारले इज्जत आमदहरूको सवै विवेक विचार गरी बुझी व्यवस्था मिलाई यस यसले यो यति विवाह खर्च घर जेथा ज्यूताभर यति लिनु दिनु भनी प्रत्येक कुरा खुलाई बण्डापत्र गराई सनदबाट समेत सदर गरी सो बमोजिम सवै अंशीले यतिका बर्ष भोग चलन भईसकेकोमा उक्त बण्डापत्र सनदबमोजिम भएन भन्ने उजुर बेगर डिभिजन बेञ्चका ०१०।१०।९।६ का फैसलाले सो बण्डापत्र खड्गनिशाना सनद केही कायम गरी केही बेकायम गर्दा उसबखतको बण्डापत्र तथा सनद र कानून व्याख्या ऐन समेतको मर्यादा नरहने र अरूहरूमा पनि उजुर पर्न जाने र हदम्याद तथा अंशबण्डाका ऐनमा बिरोध पर्ने हुँदा बण्डापत्र पास गर्नु पर्दैन भन्ने २०००।७।२९।१ को खड्गनिशाना समेत सदर गर्ने गरी देवानीले गरेको इन्साफ मनासिव छ । अपीलको गल्ती ठहर्ने हुँदा डिभिजनमा मा.न्या. पशुपतिप्रसादज्यूसँग राय नमिलेकाले यो मुद्दा र यसको लगाएको अर्को डिभिजनका फैसलाबमोजिम बण्डा गर्ने गरेको मुद्दा समेत वादी सरस्वती ज्यानीहरूको नाउँमा ऐनबमोजिम म्याद पठाई झिकाई फुल बेञ्चमा पेश गर्नु भन्ने ०१५।३।९ मा श्री मा.न्या. भैरवप्रसादज्यूको राय र ।
९. अंश पाउँ भन्ने वादी सरस्वती र ज्यानी समेतको खड्गनिशानाको बण्डापत्रमा सहीछाप परेको पनि नदेखिएको र अंश नपाउने भन्ने कारण सबुद पनि केही प्रतिवादीले पेश गर्न नसकेको हुँदा ऐनले अंश पाउने मानिसको अंश हरण गर्न मनासिव नहँदा ०१०।१०।९।६ का डिभिजन बेञ्चका फैसलाबमोजिम अबण्डा रहे जती बण्डा गरी दिने ठहराएको डिभिजनको फैसला मनासिव । खड्गनिसान सदर गर्नु भएको मा.न्या. भैरवप्रसादज्यूसँग राय नमिलेकाले नं. १०९४ को अपील समेत साथ राखी फुल बेञ्चमा पेश गर्नु भन्ने ०१५।३।९।२ को श्री मा.न्या. पशुपतिप्रसादज्यूको राय भएकोमा आदेश अनुसार झिकाई आउनु भएको शाम्व शम्शेरको वारिस रामप्रसाद शर्मा ज्यानी राणाजीनी १ सरस्वती राणाजीनीको वारिस देवमणी बदली रहेको वारिस लेखनाथ मे.ज. इन्दु शम्शेरको वारिस विष्णुदास समेत राखी विद्वान वकिल बलभद्र मिश्र र विद्वान सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा समेतको बहस सुनी बुझ्दा प्रधान न्यायालय डिभिजन बेञ्चबाट ०१०।१०।९।६ मा भएको इन्साफ प्रमाड्डी बमोजिम दोहराइ हेर्दा डिभिजन बेञ्चमा श्रीमान न्यायाधीशज्यूहरूमा राय फरक भई नियम बमोजिम पेश हुन आएको यस मुद्दामा ७ साल भन्दा अघि १।२ छापे खड्गनिशाना भएको कुरा ऐन आदेश नियमले दोहराई हेर्न नमिल्ने भई सो २ छापे भईसकेको अघि बण्डा भईसकेको कुरा बाहेक सो २ छापे सदर भएको बण्डापत्रमा गोश्वारा अबण्डा रहेको बण्डा गर्नुपर्ने बाँकीमासम्म अंशबण्डाको ६१ नम्बरले भिन्न हुनेको जीउ जीउसम्म उजुर लाग्ने हुँदा अंशबण्डाको २।४।६ नं. का ऐनबमोजिम वादीहरूले अंश पाउने देखिँदा सो बण्डापत्रमा गोश्वारा रहेको बण्डा गर्न बाँकी रहेको अबण्डा मात्रबाट ऐनबमोजिम पाउने अंशमा ऐनबमोजिम प्रतिवादीबाट तायदाती लिई बण्डा छुट्याइ दिनुपर्ने ठहराएको इन्साफ ०१०।१०।९।६ का डिभिजन बेञ्चको मनासिव छ । सो डिभिजन बेञ्चका फैसला कार्यान्वित गर्न भएका कारवाइमा पछी भएका पर्चा फैसला उपर परेको १०९४ नं. को अपील किनारा गर्न नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु । मुद्दा दोहराउने बिन्तिपत्र दिएमा का.ई. लालदरवार बस्ने मे.ज. इन्दु शम्शेर ज.ब.रा. के अघी प्रधान न्यायालयबाट दण्ड नभए पनि त्यसै छाड्न मनासिव नहुँदा हाकिमका नाउँमा कराउने का १० नं. ले तजविजी मोरू. १।– एक दण्ड हुन्छ । वारिस हुँदा ऐनबमोजिम असुल गर्नु भनी लगत दिई मिसिल बुझाई दिनु ।
इति सम्वत् २०१५ साल फाल्गुण २८ गते रोज ४ शुभम् ।