निर्णय नं. ३० - बेरीतसँग थुने

निर्णय नं. ३० ने.का.प. २०१६
डिभिजन बेञ्च
प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
न्यायाधीश श्री भैरवराज पंतोपाध्या
न्यायाधीश श्री महेन्द्रबहादुर महत क्षेत्री
न्यायाधीश श्री भगवतीप्रसाद सिंह
फौ.ठा.नं. २५
निवेदक : श्री ले.ज.मृगेन्द्र शम्शेर ज.ब.रा.
विरूद्ध
विपक्षी : आई.जी.पी.
मुद्दा : बेरीतसँग थुने
राजकाजको ऐन ४३ दफा अन्तर्गत १।२ दफा लगाइएको अभियोग निम्न अवस्थामा नलाग्ने ।
(१) जिल्ला कब्जा गर्ने उद्देश्य लिई अशान्ति मच्चाई पुलिस माथि गोली चलाएकोमा सहयोगी भन्ने अभियोगमा, मुद्दा अदालतलाई सुम्पी सकेपछि अदालतबाट कारवाई ठहर नहुँदै ।
(२) नेपाल घुम्न आएका भारतीय शिष्टमण्डलका सदस्यहरूको बेइज्जति अवहेलना इत्यादी गर्नेमा सहयोगी भन्ने अभियोगमा कागज गराई ऐन सवालबमोजिम गर्ने भनी छाडी सकेपछि बिना कारवाई तहकिकात फेरी दोषारोपण गरेमा ।
(३) खानतलासीबाट बेपासको हातहतियार बरामद भयो भन्ने अभियोगमा बरामत भएको हातहतियार भू.पु.मिनिष्टरको नाउँमा दर्ता भई खर्च भई बाँकी रहेको अभियोगीकै जिम्मा छोडिएको देखिएमा अडरबमोजिम तोकिएको ठाउँमा दाखिल गरेको भर्पाई समेत दाखिल भई लाईसेन्सको लागि पनि कारवाई भईरहेको देखिएमा ।
(४) मनाही भएको माल झिकायो भन्ने अभियोगमा, आएको माल भईराखेको सनद सवालको मनाही भएको मालको लिष्ट भित्रको नभएमा, केही बाहेक अरू सवै जाँची रहनु पर्दैन । छोडी दिनु भन्ने मेमो सदर समेत भएकोमा, रोकिएका माल जँचाउने कारवाई भईरहँदा थुनामा राख्नु भन्ने कुनै ऐन नभई दिइएको थुनुवा गर्ने बोधार्थमा पनि यो यो अपराधमा यो यो एन अन्तर्गत थुनामा राखेको भन्ने नखुलेकोमा ।
राष्ट्रवादी गोरखा परिषदको सदस्य र संचालक समेत हुनु भएको पूर्व १ नं. मा गोर्खा परिषदका सदस्यहरूले उक्त जिल्ला कब्जा गर्ने उद्देश्य लिई अशान्ति मच्चाई पुलिस माथि गोली चलाएकोमा उहाँको सहयोग भन्ने लेखिएको । उक्त मिसिल श्री माननीय गृह मन्त्रिज्यूका आदेशबमोजिम भनी उचित कारवाईको लागि ११।१।२९ गते विशेष अदालतमा गई कारवाई चलाउने भईरहेको हुँदा गृह मन्त्रालयबाटै ऐन सवालबमोजिम कारवाई चलाउने गरी मिसिलै अदालततर्फमा आएको । सो अदालतबाट कारवाई ठहर, तहकिकात हुन बाँकी छँदै उहाँको सहयोग भएको भनी किटानी साथ लेखेको कुरा ठीक नदेखिएको ।
नेपाल घुम्न आएका भारतीय शिष्टमण्डलका सदस्यहरूको बेइज्जति अवहेलना इत्यादी गर्ने काममा उहाँको सहयोग र हात भएको भन्नेतर्फ मैजिष्ट्रेट अफिसबाट ११।२।२२ गते कागज गराई मिसिल साथ राखी ऐन सवालबमोजिम गर्ने भनी सिरमा लेखी मृगेन्द्र शम्शेरजीलाई छाडी सकेकोमा अरू प्रमाण कारवाई तहकिकात बेगर फेरी दोष आरोप गरी पुर्पक्षलाई थुन्न ऐनले नमिल्ने ।
बबरमहल खानतलासी गर्दा बेपासको हातहतियार खरखजाना बरामत भएको भन्नेतर्फ आई.जी.पी.बाट आएको फाइलबाट खानतलासीमा निस्केको खरखजाना ज्येष्ठ १८ मृगेन्द्र शम्शेरजीकै जिम्मा छाडी आएका । कमिश्नर अफिसबाट आएका उतार फाइल समेतबाट भू.पु.मिनिष्टर बब्बर शम्शेरका नाउँमा बन्दुक पेस्तोल गोली गठ्ठा आएको र ०७ सालसम्म खर्च भएको फाँटवारी र बाँकी तेरिजमा बन्दुक पेस्तोल गरी थान ५२ टोटा ६१९७ र अरू बारूद समेतको कच्चावारी खुली किताब दर्ता भएको उतार, आई.जी.पी.का अडर बमोजिम नारायणहिटी गारतमा बुझाउँदा गारतबाट दिएको भर्पाईमा नम्बर जात खुलेको किताब दर्ताको नम्बरमा भिडाउँदा प्राय मिल्न आउने । कुनै नमिल्ने भएमा पनि कमिश्नर अफिसबाट कारवाई गरी ठहरेबमोजिम उसै बखत गर्नुपर्ने । लाईसेन्स नाउँसारी बारे १० साल जेष्ठमा दर्खास्त परी कमिश्नर अफिसबाट कारवाई चली रहेको हुँदा मृगेन्द्र शम्शेरजीले बेपास खरखजाना राख्यो, जम्मा गरेको भनी थुनामा राखेको, ऐन मिलाई राखेको भन्न नहुने ।
उहाँको नाउँमा भन्सारमा आएको मनाही भएको अमेरिकन जंगी रिसिभर एन्ड ट्रान्समिटर पुलिसले पक्राउ गरी दाखेल गरेको भन्नेतर्फ भन्सारबाट आएका सवाल सनदको उतार नक्कलहरूबाट मनाही भएको मालका लिष्ट भित्र ट्रान्समिटर नपरेको । भन्सारले नै दिन हुने नहुने नखुलेको भनी लेखी पठाएको । बिजुलीको समानतर्फ भन्सारलाई भएका सवालले भन्सारले छाडी दिन हुने मालसामान बाहेक अरू मालसामान बिजुली अड्डामा पठाई चीफ इन्जिनियरले जाँच्ने । सो जाँच्न पठाएको रेडियो बिजुली समेतको माल मध्ये कुनै कुनै माल पास गर्न नहुने किसिमको देखियो भने तालुकवालासँग सो माल समेत देखाई शंका लागेको कुरा समेत जाहेर गरी तालुकवालाको राय समेत लिई जो मनासिव देखिन्छ, सो बमोजिम गर्ने गर्नु भन्ने ९३।७।२० को दस्तखत र ट्रान्समिटर बाहेक अरू बिजुलीको सामान बिजुली अड्डा पास गराउनु पर्दैन । भन्सारले नै छाडी दिने मेमो सदरबमोजिम भनी अर्थ मन्त्रालय आय बिभागबाट ०९।३।१९ मा भन्सार गोशवारालाई लेखी गएकोबाकट ट्रान्समिटर बिजुली अड्डा जँचाई सो बमोजिम गर्नुपर्ने । सो भईनसकेको । सो कुरामा थुन्नु भन्ने ऐन नभएको । आई.जी.पी.बाट आएको फायल मिसिलबाट ले.ज.मृगेन्द्र शम्शेरलाई जेष्ठ २२ गते पक्राउ गरी रिसिभर एण्ड ट्रान्समिटर बारे ठाडो कागज गराई पक्राउ भई आएको ले.ज.मृगेन्द्र शम्शेरलाई पठाई दिएको छ । उहाँ उपर मुद्दा कारवाई भईरहेकोले अर्को आदेश नआएसम्म स.पु.गो.मै थुनुवा गरी राख्नु भनी आई.जी.पी.बाट सदर पुलिस गोश्वारामा लेखी पठाएको । त्यसको बोधार्थ मृगेन्द्र शम्शेरजीलाई दिई थुनामा राखेकोसम्म देखियो । सो बाहेक यो यो ऐन सवाल सनदले यो यो अपराधमा कारवाई चलाई यो ऐनले थुनामा रखेको भन्ने केही नलेखिएको । राजकाजको ४३ दफामा उल्लेख गरिएका अपराधसँग सो माथि पुलिसले लगाएको अभियोग मिल्न नआएकोले उत्तिकैबाट र स्पष्ट रूपबाट पनि राजकाज मुद्दा भन्न नमिल्ने हुँदा थुनामा रहनु भएको ले.ज.मृगेन्द्र शमशेरलाई थुनाबाट छाडि दिने ।
(प्रकरण नं. १४, १६)
आई.जी.पी. तर्फबाट : एटर्नी जनरल
फैसला
१. यसमा २०११ साल जेष्ठ २२ गतेका दिन मैजिष्ट्रेटका पूर्जीबमोजिम हाजिर भई सोधिएका कुराको जवाफ दिई फुर्सद दिए पछि फर्की घर पुगेको करिव १ घण्टाको बाद आई.जी.पी.अफिसको लेफ्टेन र पुलिसहरू आई पहिले श्रीमहल जानु पर्यो भनी जाँदा मुद्दामा कारवाई हुँदै रहेकोले थुनामा राख्नु भनी स.पु.गो.लाई पुर्जी लेखि मलाई बेहकमा सो दिन देखि थुनी राखेका छन । बुझ्दा मैले खेलौना किसिमको आफ्नै घरमा राख्ने रिसीभिङ र ट्रान्समिटिङ सेट कम्वाईन्ड अर्थात रेडियो बजाउन पनि हुने १।२ माइलसम्म कुरा गर्न हुने आफू जाँदा कम्पनीमा अडर दिई आएको थिएँ । कम्पनीले मेरो नाम वि.फाराम भई नेपाल आई खुलेआम भन्सार खुलाउन मानिस पठाई दिएँ । भन्सारले खोली यो माल जाहेर गरिकन मात्र पाउनु हुन्छ भनी राखे । सो माल मनाही भएको झिकाएमा भनी सोही आरोप लगाई ईज्जतदारलाई बेईज्जतीका साथ थुनी राख्नु भयो । आरोप लगाईएको मुद्धै पनि अदालतबाट हेरियोस र मलाई जमानत लिई तारेखमा छाडी दिनु भन्ने आदेश पाउँ भन्ने ले.ज.मृगेन्द्र ज.ब.रा. का हकमा सागर शमशेर ज.ब.रा. को निवेदन परी यसमा व्यहोरा साँचो भए कुन अभियोगमा के व्यहोरासँग कहिले देखि कुन ऐनले थुनामा राखेको ? ऐन समेत खुलाई पठाउनु भनी पुलिस गोश्वाराको कैफियत लिई चाँडै जाहेर गर्नु होला भन्ने २०११।२।२४ मा आदेश भएको ।
२. प.न.१६८४ मिति २०११।२।२५ को प्रधान न्यायालयबाट लेखेको पत्र यसै साथ पठाएको छु । उक्तपत्रको मनासिव जवाफ अनुरोध गर्दछु भनी ०११।२।२६ मा स.पु.गो.बाट श्री आई.जी.पी.मा लेखेको चिठ्ठीको बोधार्थ आएको ।
३. श्री ले.ज.मृगेन्द्र शम्शेरलाई कुन अभियोगमा किन के व्यहोरामा कहिले देखि कुन ऐनले थुनामा राखेको हो ? भनी सोधनी गरी पठाउनु भएकोमा पुलिसको उक्तसम्बन्धी जाँच पड्ताल अझ जारी नै भएकोबाट सो जाँच तहकिकात पूर्ण रूपमा सकिए पछि ऐन सवालबमोजिम जो जहाँ बुझाउनु पर्ने हो बुझाउने भएकोले निवेदन गरेको छु भनी ०११।३।२ मा आई.जी.पी.बाट लेखी आएको ।
४. व्यक्तिगत स्वतन्त्रता ऐनबमोजिम कारवाई चलेका मानिस थुनामा रहेको भई अत्यन्त जरूरी हुँदा बहसलाई ०११।३।७ गते एटर्नी जनरललाई पठाई दिनु होला भनी गृह मन्त्रालयलाई लेखी पठाउनु भन्ने ०११।३।४ मा डिभिजन बेञ्चबाट भएको आदेश श्री भरत शम्शेर जगदीस शम्शेरलाई बेरीतसँग थुने भन्ने ठा.नं. २१ को मिसिल साथ रहेको ।
५. उजुरीको नक्कल एटर्नी जनरल अफिसमा पठाई थुनामा रहेका ले.ज.मृगेन्द्र शम्शेरलाई मुद्दा छलफल हुँदा रोहवरमा राख्न ०११।३।१० गते प्रधान न्यायालयमा उपस्थित गराई दिनु भनी लेखी पठाउनु भन्ने आदेश ०११।३।७ मा भयो ।
६. श्री ले.ज.मृगेन्द्र शम्शेरका हकमा उहाँ राष्ट्रवादी गोर्खा परिषदका कार्यकारिणी सदस्यमात्र नभई सञ्चालक समेत हुनुभएको र पूर्व १ नं. मा गोर्खा परिषदका सदस्यहरूले उक्त जिल्ला कब्जा गर्ने उद्देश्य लिई अशान्ति मच्चाएकोमा शान्ति स्थापना गर्न जाने । पुलिस माथि गोली चलाएकोमा उहाँको सहयोग भएको र हालै नेपाल बुझ्न आएका मित्र राष्ट्र भारतीय शिष्टमण्डलका सदस्यहरूको बेइज्जती अवहेलना इत्यादी गर्ने काममा समेत उहाँको सहयोग र हात भएको । मैजिष्ट्रेट अफिसका आदेशबमोजिम १८।२।०११ मा बव महल खानतलासी गर्दा बेपास हात हातियार खरखजाना बरामद भएको । २१।२।०११ मा उहाँको नाममा भन्सारमा आएको मनाही भएको अमेरिकन जंगी रिसिभर एण्ड ट्रान्समिटर पुलिसले पक्राउ गरी दाखिल गरेको । उपरोक्त अभियोगहरूबाट उहाँको उद्देश्य र नीति राष्ट्रको शान्ति भङ्ग गर्ने र राजकाजको खलल पार्ने प्रकारको देखिएकोले अदालती बन्दोबस्तको दफा १४७ बमोजिम उहाँलाई पक्राउ गर्ने काम भएको हो । थुनुवा पुर्जी दिई, भर्पाई भएको छ भनी श्री आई.जी.पी.बाट श्री एटर्नी जनरललाई ०११।३।६ मा विषय बहस गर्ने बारे लेख्नु भएको चिठ्ठी छलफलमा एटर्नी जनरलले दाखिल गर्नु भयो ।
७. पूर्व १ नं. मा गोर्खा परिषदले गडबड गरेको आरोपमा कारवाई भएको । रिसिभर एण्ड ट्रान्समिटर, गौचर हवाई अड्डामा भारतीय शिष्टमण्डल आउँदाको गोलमाल, बबरमहल खानतलासीमा बेपास खरखजाना निस्के समेत विषय कारवाई भएको जम्मै मिसिल, अमेरिकाबाट रिसिभर एण्ड ट्रान्समिटर मगाएको विषयमा परराष्ट्र मन्त्रालयबाट लेखापढी भएको र जवाफ समेत आएको भए त्यसको नक्कल र भारतीय शिष्टमण्डल आएको बेला गौचर हवाई अड्डामा भएको घटना विषय भारतीय राजदूतबाट केहीपत्र आएको भए त्यसको नक्कल समेत पठाई दिनु भनी र राजकाजको ऐन नक्कल १ प्रति न्यायालयको लागि र यस मुद्दामा प्रयोग गरिएको नम्बरको १ प्रति थुनुवाको वारिसलाई दिई सो ऐनको नक्कल छलफलमा लिई आउनु होला भनी एटर्नी जनरललालई समेत लेखी पठाई ०११।३।१७ गते मुद्दा फुल बेञ्चमा पेश गर्नु भन्ने ०११।३।१० मा आदेश भयो ।
८. नेपाल ४ भन्ज्याङ्गभित्र माल झिकाउन मगाउन मनाही भएको मालसामानको लिष्ट, मनाई भएका माल चोरीबाट र गाडी भन्सारकै बाटोबाट झिकाएमा र वि.फारामबाट भगाएकोमा के कसो गर्ने ऐन सवाल छ ? भन्सारबाट झिकाउने लाईसेन्स भएका खरखजाना भन्सारद्वारा आएकोमा के हुने सवाल छ ? ले.ज.मृगेन्द्र शम्शेरका नाममा अरू सरह रिसिभर एण्ड ट्रान्समिटरहरू अरूका नाममा अघि आएको थियो कि ? आएको भए सो मालहरूमा के के कारवाई भई के भएको छ ? जवाफ दिनु भनी भन्सार गोश्वारालाई र भू.पु.श्री मिनिष्टर बब्बर शम्शेर ज.ब.रा. का नामममा अघि लाईसेन्स हुँदा दर्ता भएका बन्दुक गोली गठ्ठाको फाँटवारी र लाईसेन्स रिन्यू गर्ने विषय दिएका निवेदनबाट कारवाई भएको मिसिल पठाई दिनु भनी कमिश्नर अफिसमा लेखी पठाउनु भन्ने ११।३।१८ मा फुबेञ्चबाट आदेश भयो ।े
९. उपरोक्त दुवै कुरामा यस मन्त्रालयबाट कोहीसँग केही लेखापढी नभएकोले सूचना गरेको छु भनी ०११।३।१५ मा परराष्ट्र मन्त्रालयबाट लेखी आएको ।
१०. पूर्व नं. १ मा गोर्खापरिषदले गडबड गरेको आरोपमा कारवाई भएको विशेष अदालतबाट आएको मिसिलमा बलवीर शाही समेतले धाक रवाफ देखाई जवरजस्ती चन्दा भनी रूपैंया लिई लुटी अड्डाखाना कब्जा गर्नु पर्छ भने भन्ने समेत मानबहादुर महत समेतका रैतीको उजुरी दर्खास्त पञ्चायतमा परेको र बलवीर शाही, केदारनाथ खर्याल पक्राउ परेको समेत देखिएको कागज मिसिल ऐन सवालबमोजिम उचित कारवाईको निमित्त मिसिल विशेष अदालत पश्चिम फाँटमा गृह मन्त्रालयको चिठ्ठी साथ गएको ।
११. आइ.जी.पी.अफिसबाट आएको मिसिलमा बबरमहल खानतलासी गर्ने ०११।२।१८ मा काठमाडौं मैजिष्ट्रेटबाट स.पु.गो.लाई लेखी गई खानतलासी हुँदा गारतबाट जात जातको गोली राउण्ड ५५२० पेस्तोल ११ भरूवा बन्दुक नाल ७ अरू जात जातका नाल २९ बारूद अ.पाथी १२ को तीन ३ केप भरी भएको बट्टा ५ बन्दुक बाहेकको संगिन २५ हावादारी खेलौना नाल ७ र अरू घर कोठा खानतलासी हुँदा गोलोवाल हावादारी लाईसेन्स नभई गारतमा रहेको बन्दुक १ पेस्तोल ७०६५ को र.नं. १९५६६२ को मेकजिन नभएको लाईसेन्समा नम्बर नमिलेको १ नं. ११६ को गालोवाल पेस्तोल नाल १ फेला नपरेको तर लाईसेन्समा लेखिएको १ गोर्खा परिषदको कागजपत्र समेत खानतलासीमा लेखिएको मुचुल्का र सो बन्दुक खरखजाना नारायणहिटी गारतमा बुझाएको भर्पाई र श्री मृगेन्द्र शम्शेरका नाममा आएको माल सवालले छाड्न हुने नहुने केही नभएको हुनाले साथै पठाएको छु । उक्त माल छाडन हुने नहुने तुरून्त सूचना पाउँ भनी भन्सार गोश्वाराबाट ०११।२।२१ मा लेखेको चिठ्ठीसमेत पठाई यसमा आवश्यकीय कारवाई अती तुरून्त गर्न श्री माननीय प्रधानमन्त्रिबाट ०११।२।२२ मा लेखी आएकोले रिसिभर ट्रान्समिटर समेतको माल देखाई सोधनी हुँदा म अमेरिका जाँदा मौले अडर गरेको हुँ । वि.फारामबाट खुलम खुल्ला कलकत्ता इत्यादीमा पनि जाँची आएको छ भनी वि.फाराम समेत दाखिल गरी ०११।२।२२ मा ले.ज.मृगेनद्र शम्शेरले कागज गरी दिएको । पक्राउ भई आएका ले.ज.मृगेन्द्र शम्शेर ज.ब.रा. लाई पठाई दिएको छ । उहाँ उपरको मुद्दा कारवाई हुँदै रहेकोले अर्को आदेश नआएसम्म स.पु.गो.मै थुनुवा गरी राख्नु भनी सोही मितिमा आई.जी.पी.बाट स.पु.गो.लाई लेखेको चिठ्ठीको नक्कल समेत कागज देखियो ।
१२. कमिश्नर अफिसबाट आएको जवाफ फाइलबाट लगतमा छुटेको लाईसेन्सबाट देखिन आएको बन्दुक थान ४ लगतबमोजिम थान ४८ समेत जम्मा थान ५२ मध्ये गृह मन्त्रलाईको पत्रअनुसार बंगलौर लैजान लाईसेन्स भई गएको नाल २ कट्टी गरी बाँकी बन्दुक थान ५० मा कारवाई भएको फाइल पठाई दिएको छ भन्ने ०११।३।२० का कमिश्नर अफिसका चिठ्ठीमा भू.पु.मिनिष्टर बब्बर शम्शेरका नाममा भएका लगत किताबबमोजिमको उतार भनी बन्दुक गोली गठ्ठा बारूद आए गएको आम्दानी खर्च लेखी बाँकी तेरीज भनी बन्दुक नाल ४१ पेस्तोल ११ टोटा ६१९७ भनी लेखिएको र श्री बब्वर शम्शेर ज.ब.रा. का लिखतबमोजिम हामीले पाएका बन्दुक खजानाको नामसारी लाईसेन्स पाउँ भन्ने दर्खास्त परी कारवाई चलेको विषय कमिश्नर अफिस मार्फत टिप्पणी भएको समेत देखियो ।
१३. मनाही भएका मालसामानको विषय र वि.फारामबाट आएको माल बारे भएका सवाल सनदको नक्कल पठाई दिएको छु । लाईसेन्स भएका खरखजाना भन्सारद्वारा आएमा खोली जाँची कमिश्नर अफिसमा बुझाई अफिसबाट छाडी दिनु भन्ने आदेश आएपछि महसुल लिई छाड्ने गरी आएको छ । ले.ज.मृगेन्द्र शम्शेरको नाममा आए सरह रिसिभर एण्ड ट्रन्समिटरहरू अघि अरूका नाममा आएको र कारवाई भएको समेत नदेखिएको भन्ने ०११।३।२२ को भन्सार गोश्वाराको चिठ्ठीसाथ सनद सवालको उतार नक्कल पठाई दिएको ।
१४. उपर्युक्त मुद्दातर्फ ऐन सवालबमोजिमकै अड्डाबाट शुरू तहकिकात हुने हुनाले यस मिसिलबाट हाल कारवाई चली रहेका अवस्थामा थुनामा राखेकोसम्म ठिक बेठीक के हो ? भन्नेतर्फ ठेगाना लगाउनु पर्ने भई झिकाई आएका मिसिल कागज र एटर्नी जनरलले बहस दिनु भएको व्यहोरा समेत बुझी हेर्दा ले.ज.मृगेन्द्र शम्शेरलाई कुन अभियोगमा कुन ऐनले थुनामा राखेको भनी सोधिएकोमा पुलिसको उक्तसम्बन्धी जाँच पड्ताल अझ जारी नै भएको भन्ने आई.जी.पी.बाट जवाफ दिनु भएको । बहसलाई एटर्नी जनरल पठाउन न्यायालयबाट लेखी गएपछि बहस गर्ने बारे एटर्नी जनरललाई आई.जी.पी.बाट लेखी आषाढ ६ गतेको पत्र बहसमा एटर्नी जनरलले दाखिल गर्नु भएकोबाट निम्न लिखित ४ अभियोग लगाइएको देखियो ।
(१) राष्ट्रवादी गोरखा परिषदको सदस्य र संचालक समेत हुनु भएको पूर्व १ नं. मा गोरखा परिषदका सदस्यहरूले उक्त जिल्ला कब्जा गर्ने उद्देश्य लिई अशान्ती मच्चाई पुलिस माथि गोली चलाएकोमा उहाँको सहयोग भन्ने लेखिएको । त्यस्तो जिल्ला कब्जा गर्ने उद्देश्य लिई अशान्ति मच्चाएकोमा श्री ले.ज.मृगेन्द्र शम्शेरको सहयोग भएको । उजुरी रिपोर्ट आएको भए ऐन सवालबमोजिम हेर्न बुझ्न अख्तियार पाएका अड्डामा लेखी पठाउनु र उक्त अड्डाले पनि ऐन सवालबमोजिम कारवाई चलाउनु पर्नेमा सो बमोजिम कारवाई चले चलाएको देखिन नआएको । सो पूर्व १ नं. को घटना विषय कारवाई चलेको मिसिलमा मृगेन्द्र शम्शेरजीका उपर उजुर परेको र उहाँको नामसम्म लेखिएको पनि देखिन नआई उक्त मिसिलको व्यहोराबाट गोरखा परिषदका बलवीर शाहीले धाक रवाफ लगाई जवरजस्ती चन्दा लिई लुटपिट गर्ने उद्देश्य लिएको भन्ने समेत लेखाई भएको । उक्त मिसिल श्री माननीय गृह मन्त्रिज्यूका आदेशबमोजिम भनी उचित कारवाईको लागि ०११।१।२९ गते विशेष अदालतमा गई कारवाई चलाउने भईरहेको हुँदा गृह मन्त्रालयबाटै ऐन सवालबमोजिम कारवाई चलाउने गरी मिसिलै अदालततर्फमा आएको । सो अदालतबाट कारवाई ठहर तहकिकात हुन बाँकी छँदै उहाँको सहयोग भएको भनी किटानी साथ लेखेको कुरा ठिक नदेखिएको ।
(२) नेपाल घुम्न आएका भारतीय शिष्टमण्डलका सदस्यहरूको बेइज्जती अवहेलना इत्यादी गर्ने काममा उहाँको सहयोग र हात भएको भन्नेतर्फ मैजिष्ट्रेट अफिसबाट आएको कागजमा रहेको जेष्ठ १५ गतेको पुलिस रिपोर्र्टबाट शिष्टमण्डलको बेइज्जती अवहेलना गर्ने व्यक्ति भनी लेखि आए मध्ये मृगेन्द्र शम्शेरजीको पनि नाम लेखिएकोबाट पक्राउ गर्न स.पु.गो.लाई लेखि पठाएको र त्यसपछि मैजिष्ट्रेट अफिसबाट ०११।२।३२ गते कागज गराई मिसिल साथ राखी ऐन सवालबमोजिम गर्ने भनी सिरमा लेखी मृगेन्द्र शम्शेरजीलाई छाडी सकेकोमा अरू प्रमाण कारवाई तहकिकात बेगर फेरी दोषरोपण गरी पुर्पक्षलाई थुन्न ऐनले नमिल्ने ।
(३) बबरमहल खानतलासी गर्दा बेपासको हातहतियार खरखजाना बरामद भएको भन्नेतर्फ बुबा भूत पूर्व मिनिष्टर बब्बर शम्शेरका नाममा लाईसेन्स भएका खरखजाना हुन । उक्त लाईसेन्स देखाउँदा खानतलासीका दिन मेरा जिम्मा छाडी गएका भन्ने समेत बहस दिएका । आई.जी.पी बाट आएको फाइलबाट खानतलासीमा निस्केको खरखजाना जेष्ठ १८ मृगेन्द्र शम्शेरजीकै जिम्मा छाडी आएका । कमिश्नर अफिसबाट आएका उतार फायल समेतबाट भू.पु.मिनिष्टर बब्बर शम्शेरका नाममा बन्दुक पेस्तोल गोली गठ्ठा आएको र ०७ सालसम्म खर्च भएको फाँटवारी र बाँकी तेरीजमा बन्दुक पेस्तोल गरी थान ५२ टोटा ६१९७ र अरू बारूद समेतको कच्चावारी खुली किताब दर्ता भएको उतार, लाईसेन्स बारे कारवाई चलेको देखियो । बेपास खरखजाना पक्री कारवाई चलेको नदेखिएको । आइ.जी.पी.बाट आएका मिसिल फायलबाट खानतलासीमा हावादारी खेलौना नाल बाहेक बन्दुक पेस्तोल गरी थान ४८ जात जातको गोली राउण्ड ५५२० समेत निस्केको । थान गन्तीमा दर्तामा भन्दा बरामदमा बढी भएको नदेखिएको । खानतलासी मुचुल्कामा यो नम्बर जातको बन्दुक पेस्तोल भन्ने नखुलेको । सो बन्दुक खजाना आई.जी.पी.का अडरबमोजिम नारायणहिटी गारतमा बुझाउँदा गारतबाट दिएको भर्पाइमा नम्बर जात खुलेका किताब दर्ताको नम्बरमा भिढाउँदा प्राय मिल्न आउने । कुनै नमिल्ने भएमा पनि कमिश्नर अफिसबाट कारवाई गरी ठहरेबमोजिम उसै बखत गर्नुपर्ने र लाईसेन्स नामसारी बारे १० साल जेष्ठ देखि दर्खास्त परी कमिश्नर अफिसबाट कारवाई चली रहेको हुँदा मृगेन्द्र शम्शेरजीले बेपासको खरखजाना राख्यो जम्मा गरेको भनी थुनामा राखेको ऐन मिलाई राखेको भन्न नहुने ।
(४) उहाँका नाममा भन्सारमा आएको मनाही भएको अमेरिकन जंगी रिसिभर एण्ड ट्रान्समिटर पुलिसले पक्राउ गरी दाखिल गरेको भन्नेतर्फ आई.जी.पी.बाटै आएका मिसिलमा श्री ले.ज.मृगेन्द्र शम्शेरका नाममा आएको माल सवालले छोड्न हुने नहुने केही नभएको हुनाले साथै पठाएको छु भनी ०११।२।२२ मा भन्सार गोश्वाराका चिठ्ठी साथ अर्थ मन्त्रालयमा गएको आवश्यकीय कारवाई अति तुरून्त गर्न श्री माननीय प्रधानमन्त्रिबाट लेखी आएको भई ले.ज.मृगेन्द्र शम्शेरलाई सो मालसामान देखाई कागज गराउँदा म अमेरिका जाँदा कम्पनीमा अर्डर दिई आएको । सो माल वि.फारामबाट आई कलकत्ता इत्यादीमा पनि जाँच भएको छ भनी, वि.फाराममा रेडियो शेट र व्याटरी भन्ने उल्लेख भएको । भन्सारबाट आएका सवाल सनदको उतार नक्कलहरूबाट मनाही भएको मालका लिष्ट भित्र ट्रान्समिटर नपरेको भन्सारले नै दिन हुने नहुने नखुलेको भनी लेखी पठाएको । बिजुलीको सामानतर्फ भन्सारलाई भएका सवालले भन्सारले छाडी दिन हुने मालसामान बाहेक अरू मालसामान बिजुली अड्डामा पठाई चिफ इन्जिनियरले जाँच्ने । सो जाँच्न पठाएको रेडियो बिजुली समेतको माल मध्ये कुनै कुनै माल पास गर्न नहुने किसिमको देखियो भने तालुकवालासँग सो माल समेत देखाई शंका लागेको कुरा समेत जाहेर गरी तालुकवालाको राय समेत लिई जो मनासिव देखिन्छ, सो बमोजिम गर्ने गर्नु भन्ने ९३।७।२० को दस्तखत र ट्रान्समिटर बाहेक अरू बिजुलीको मालसामान बिजुली अड्डा पास गराउनु पर्दैन । भन्सारले नै छाडी दिने मेमो सदरबमोजिम भनी अर्थ मन्त्रालय आय बिभागबाट ०९।३।१९ मा भन्सार गोश्वारालाई लेखी गएकोबाट ट्रान्समिटर बिजुली अड्डा जँचाई सो बमोजिम गर्नुपर्ने सो भईनसकेको । सो कुरामा थुन्नु भन्ने ऐन नभएको । श्री माननीय प्रधानमन्त्रिका चिठ्ठीमा र भन्सारलाई भएका सवालमा समेत थुनामा राखी कारवाई गर्नु भन्ने नलेखिएको । आइ.जी.पी.बाट आएको फायल मिसिलबाट ले.ज.मृगेन्द्र शम्शेरलाई जेष्ठ २२ गते पक्राउ गरी रिसिभर एण्ड ट्रान्समिटर बारे ठाडो कागज गराई पक्राउ भई आएको ले.ज.मृगेन्द्र शम्शेरलाई पठाई दिएको छ । उहाँ उपर मुद्दा कारवाई हुँदै रहेकोले अर्को आदेश नआएसम्म स.पु.गो.मै थुनुवा गरी राख्नु भनी आई.जी.पी.बाट सदर पुलिस गोश्वारामा लेखि पठाएको । त्यसको बोधार्थ मृगेन्द्र शम्शेरजीलाई दिई थुनामा राखेकोसम्म देखियो । सो बाहेक यो यो ऐन सवाल सनदले यो यो अपराधमा कारवाई चलाई यो ऐनले थुनामा राखेको भन्ने केही नलेखिएको ।
१५. आई.जी.पी.बाट एटर्नी जनरललाई लेखी आएको चिठ्ठीमा माथि उल्लेख गरिएका अभियोगबाट थुनामा राखेको भनी एटर्नी जनरलले बहसमा भन्नु भएको । पूर्व नं. १ मा अशान्ति मच्चाएकोतर्फको कागज मिसिल विशेष अदालतमा गईसकेको । सो विषय आई.जी.पी.मा मिसिल कागज नभएको । शिष्टमण्डलको बेइज्जतीतर्फ हुलउज्जत गर्नेमा नै श्री ले.ज.मृगेन्द्र शम्शेरको नाम लेखि आई.जी.पी.बाटै रिपोर्र्ट गई मैजिष्ट्रेटबाट कारवाई चली जेष्ठ २२ गते कागज गराई छाडेको । बबरमहलमा बेपासको धेरै खरखजाना छ भन्ने तपाइको रिपोर्र्ट आएकोले खानतलासी गरी सोबाट आएको खरखजाना कागजपत्र सन्देह लागेमा सख्त गरी कारवाई निमित्त यस अफिसमा बुझाउनु भनी मैजिष्ट्रेट अफिसबाट सदर पुलिस गोश्वारालाई लेखि पठाएबमोजिम खानतलासी भएकोमा बेपासको हातहतियारहरू निस्केको भए सो हातहतियार खरखजाना कारवाईलाई बुझाउन पर्नेमा खानतलासीमा निस्केका बन्दुक खजाना सो दिन श्री ले.ज.मृगेन्द्र शम्शेरकै जिम्मा लगाई पछि मात्र नारायणहिटी गारत दाखेल गराई सो बन्दुक खजाना पास बेपास के हुन ? सो कुराको पनि केही निर्णय नभई थुनामा राखेको ।
१६. माथि उल्लेख गरिएबमोजिम उपरोक्त अभियोगहरूबाट उहाँको उद्देश्य र नीति राष्ट्रको शान्ति भङ्ग गर्ने र राजकाजको खलल गर्ने प्रकारको भनी आई.जी.पी.बाट एटर्नी जनरलमा लेखि पठाउनु भएको र राजकाजको ऐन ४३ दफा अन्तर्गत १।२ दफामा उल्लेख भएको अपराध भित्र परी थुनामा राखेको भन्ने एटर्नी जनरलको जिकिर भएकोमा यो कारवाईमा पेश भएसम्मका मिसिल कागजहरू हेर्दा, राजकाजको ४३ दफामा उल्लेख गरिएका अपराधसँग सो माथि पुलिसले लगाएको अभियोग मिल्न नआएकोले यत्तिकैबाट र स्पष्टरूपबाट पनि राजकाज मुद्दा भन्न नमिल्ने हुँदा थुनामा रहनु भएको श्री ले.ज.मृगेन्द्र शम्शेरलाई थुनाबाट छाडि दिई फैसलाको नक्कल समेत राखी ऐन सवालबमोजिम कारवाई गर्न बाँकी भए काठमाडौं मैजिष्ट्रेटमा पठाउनु भनी आई.जी.पी.बाट आएको मिसिल आई.जी.पीं.अफिसमै पठाई दिई श्री ले.ज.मृगेन्द्र शम्शेर जंगबहादुर राणलाई काठमाडौ मैजिष्ट्रट अफिसमा हाजिर हुन जानु भनी तारिख तोकी पठाई र अरू मिसिल जुन जुन अड्डाबाट आएका हुन उसै उसै अड्डामा ऐन सवालबमोजिम गर्नु गराउनु भनी पठाई दिनु । अब यस्तो नहोस भनी आई.जी.पी.लाई नसिहत दिनु ।
१७. एटर्नी जनरल मार्फत पेश भएका राजकाज ऐन सक्कल नक्कलमा हेर्दा उक्त ऐनमा उल्लेख भएका कुरा मध्ये कति विषयहरू अरू ऐन सवालमा गाभिसकेको र कुनै कुनै दफाहरू श्री ५ का अधिकार खलल हुने देखिएको हुनाले उक्त ऐन अविलम्ब संशोधन हुनु पर्ने दखिन्छ भनी सरकारको ध्यान त्यसतर्फ आकर्षित गरिन्छ ।
इति सम्वत् २०११ साल आषाढ ३१ गते रोज ५ शुभम् ।