निर्णय नं. ३१ - ज्यान

निर्णय नं. ३१ ने.का.प. २०१६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह
न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय
न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय
फौ.ठा.नं. ४३
निवेदक, प्रतिवादी : पद्मबहादुर दाहाल खत्री क्षेत्री
विरूद्ध
विपक्षी, वादी : सेम्वो थामी
मुद्दा : ज्यान
(१) परिस्थितिबाट वारदात परिचयवाला व्यक्तिबाटै भएको देखिई त्यस्तो अपराधीहरू एकमुख भई अरूलाई समेत अड्डाली पैले सावित भएमा कुटी सिकाई सावित गराएको उजुर भई दोहार्याई भएको सरजमिनबाट पनि कुटपिट वा सिकाई झुट्टा सावित गराएको नदेखिएमा अपराध गरेको ठहरिने ।
यस मुद्दामा पनि निज मेजर्नीका घरमा गई खुन गर्ने मानिसहरू अन्तै गाउँका अरू हुन भन्ने विशेष शंकासम्म पनि कतैबाट नदेखिई कुनै किसिमको हल्ला र कुकुरसम्म पनि भुक्न कराउन नपाउने प्रवन्ध मिलाई जानेबुझेको समेत त्यस घरको परिचयवाला व्यक्तिबाटै घटना घट्न आएकोमा गोपिलाल, पद्मबहादुर, अम्बरबहादुरहरू सारा गाउँ घरका सामुन्नेमा वारदातको परिबन्द पुर्याई राधाकृष्णलाई अड्डालो हाली एकमुख भई सावित भएका वीरबहादुरले कुटी सिकाई सावित गराएको भन्ने उजुर गरे पनि दोहार्याई सरजमिन हुँदा समेत कुटपिट वा सिकाई झुठ्ठा सावित गराएको नदेखिएको । नोकर्नी असारमाया समेत विशेष त्यस घटनामा सहमतै ठहरी अपीलले सजाय गरेमा निजले अपील उजुर गर्न पनि नसकेकी र वास्तविक गाउँ घरमा भएको घटना जतिसुकै कसूर छिपाउन खोजे पनि यस्तो अपराधको कुनै न कुनै छिद्रबाट प्रकाश हुन धेरै सम्भव हुने भएकोमा उसै बखत मौकामै स्वयमेव एकमुख भई ३ जना सावित भई राधाकृष्णलाई समेत पोल गरेको । अरू बुझिएको यावत् प्रमाणबाट पनि उक्त मेजर्नी हरिकुमारीका घरमा हरिकुमारी समेतको खुन गर्नुपर्ने मुख्य राधाकृष्णलाई कारण परी निजै र निजको सल्लाहबाट मारी धनमाल लिन खान लेखिएबमोजिम पद्मबहादुर, अम्बरबहादुर गोपिलालले समेत खुन गरेको सिद्ध देखिएको कुरामा प्रमाण बेगर धेरै दिन पछि कुटेर सावित गरेको भन्ने कुरालाई साँचो सम्झी साविती र सबुदले कुसुरदार ठहरेको व्यक्तिले रिहाई पाउन सक्छन भन्न नभई अपील र सर्वोच्च अदालत डिभिजन बेञ्चका फैसलामा लेखिएका बुँदा प्रमाणबाटसमेत इन्साफ मनासिव ठहर्छ ।
(प्रकरण नं. २७)
२. सावितीहरूले एकमुख भई कसैलाई पोलेमा प्रमाणबाट पनि पोलिएकै मानिसबाट कसुर गर्नुपर्ने देखिएमा सो पोलिएको व्यक्तिले रिहाई पाउन सक्छ भन्न नहुने ।
मौकैमा स्वयमेव एकमुख भई ३ जना सावित भई राधाकृष्णलाई समेत पोल गरेको । अरू बुझिएका यावत् प्रमाणबाट पनि उक्त मेजर्नी हरिकुमारीको घरमा हरिकुमारी समेतको खुन गर्नुपर्ने मुख्य राधाकृष्णलाई कारण परी निजै र निजको सल्लाहबाट मारी धनमाल लिन खान लेखिएबमोजिम पद्मबहादुर अम्वरबहादुर गोपिलालले समेत खुन गरेको सिद्ध देखिएको कुरामा प्रमाण बेगर धेरै दिन पछि कुटेर सावित गरेको भन्ने कुरालाई साँचो सम्झी साविती र सबुदले कसूरदार ठहरेका व्यक्तिले रिहाई पाउन सक्छन भन्न नभई अपील र सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसलामा लेखिएका बुँदा प्रमाणबाट समेत इन्साफ मनासिव ठहर्छ ।
(प्रकरण नं. २७)
फैसला
१. यसमा मेरा जिम्माको रैती मेजर्नी हरिकुमारीको घरबारी वीरबहादुरले किनेको । सो घरमा हरिकुमारी वीरबहादुरले घर कुरूवा राखेको । अम्बरबहादुर १ मेजर्नीको साथी असारमाया थपेनी १ समेत ३ जनामा मेजर्नी माथि तला चोटामा र असारमाया छिंडीमा अम्बरबहादुर बाहिर दलानमा सुतेको । ०६।४।१५ को राती नमालुम को चोर आई ढोका फोडी भित्र पसी चोटामा सुतेको । मेजर्नी बाहिर दलानमा सुतेको । अम्बरबहादुर समेत २ जनालाई सुतेकै ठाउँमा मारेकाले निज मेजर्नीको हकदारलाई खबर पठाई घरमा निजको कोही नभएको । के कती धनमाल थियो ? लग्यो लगेन थाहा छैन । म तालुकदार भएकोले लास कुरूवा राखी जाहेरी फिराद दिन आएको छु । लासजाँची ज्यान लिनेहरूको पत्ता लागेमा सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी तेम्बा थामिको जाहेरी फिराद ।
२. माहिली आमा मेजर्नी हरिकुमारी र अम्बरबहादृुर समेत २ जना कर्तव्य परी मरेबाट वीरबहादुरले लिन पठाएकोले २० गते आई सोधपुछ गर्दा पक्राउ भई आएको । जबरजंग भन्ने अम्बरबहादुर १ सद्दे भन्ने बाहुन १ काले बाहुन १ समेत राधाकृष्ण १ न्यौपाने गोपिलाल १ समेत श्रावण १५ गते माथिबाट तल ओर्लदा देखें भनी असारमायाले भनेको र अम्बरबहादुरलाई मार्दा निजको घरको तल शुरूमा बसे । चोटामा मेजर्नीलाई मार्दा कोठा बाहिर कुकुर रूड्डि बसेको । जबरजंग भन्ने अम्वरबहादुर, पद्मबहादुर पं.राधाकृष्णहरू गई मारेका हुन भनी गोपिलालले भनेको र सो बमोजिम अम्बरबहादुर, पद्मबहादुर सावित भएका । पं.राधाकृष्ण भने इन्कार रहेका । म टाढाको मानिस हुँदा कसले के गरी मारेका हुन ? निजैहरूबाट खुलाई पाउँ । पद्मबहादुर गोपिलाल जबरे भन्ने अम्बरबहादुर सावित भई राधाकृष्णले काटी मारेका हुन भनेकाले निजै ४ जना उपर शंका लाग्छ । माहिली आमाले लाउने गरेको सुन तोला २८ को चुरा समेत हाल नभएको र खेत पाखो बिक्री गरेको नगद र सुनको चुरा समेत नभई चोरी भएको थाहा भएको बिगो रू. ७५६५ क कस्ले कति कति लिए खाएको ठर्हछ ? त्यसबाट ऐनबमोजिम गरी दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको मर्ने मेजर्नीको हकदार बृषबहादुरको बयान ।
३. मेजर्नी मर्नु भन्दा ४ दिन अगाडि मकै भाँच्न आउ बस भनेकाले गई बसेको । ४ दिनका रात बेलुका छिंडी अड्डेनाको छेउमा सुतेको राती बिउँझदा वीरे भन्ने जवरेले ट्रंक काखी च्यापी र पं.राधाकृष्णले बत्ती देखाई झरेको । पछि न्यौपाने बाहुन १ काले बाहुन १ सद्दे बाहुन १ समेत निस्केको देखें । यो बेला बाजेहरू किन आएको भनी भन्दा वीरे भन्ने जवरले कसैलाई नभन्नु, फरिया दिउँला भनी गयो । भोलिपल्ट बिहान बाहिर निस्की हेर्दा पिंडीमा सुतेको भण्डारी बोलाउदा नबोलेको । भित्तामा रगत भएको । मेजर्नीको कोठाको ढोकामा कुकुर बाँधी राखेको भई डरले वरबाटै बोलाएँ, बोलिनन् र निजको दिदी सुवेदारनीलाई भन्न गएँ । अनी पण्डितलाई बोलाउन लगाई सुवेदार्नी पण्डित २ जना गई हेरर मरेको देखी गाउँले र तालुकदार खबर गरी अड्डामा जाहेर गर्न पठाई गाउँका भलाद्मीहरूले मलाई सोधे । मैले देखेको कुरा सवै भनें । सद्दे, काले बाहेक जवरे, न्यौपाने सावित भई पद्मबहादुर र पण्डितलाई पोलेको र पद्मबहादुर सावित भएको । निजहरूले पण्डितले समेत मारेको भनेको र रातीमा पण्डितले हातमा लाईट बत्ती लिएको हुँदा निज लेखिएका मानिस समेत भई कर्तव्य गरी मारेको हो कि भन्ने लाग्छ । यस यस्ले यस किसिमसँग मारेका हुन भनी यकिन गरी भन्न सक्तिन भन्ने समेत व्यहोराको असारमया थपेनीको बयान ।
४. म समेत भई मेजर्नी हरिकुमारी अम्बरबहादुरहरूलाई कर्तव्य गरी मारी धनमाल चोरी गरेको हैन । न्यौपाने भन्ने गोपिलाल पद्मबहादुर जवरेहरू सावित भई ३ जनाले पं.राधाकृष्णलाई पोलेको र पं.राधाकृष्ण इन्कार छन तापनि निज समेत ४ जनाले नै कर्तव्य गरी मारी मेजर्नीको धनमाल चोरी गरेको हुन भन्ने ठहराएको छु । अरू उपर शंका छैन । म समेत भई कर्तव्य गरी मारी चोरी गरेको हैन । म निर्दोषी वारदातमा नजानेलाई देखें भन्ने असारमायाको बयान झुट्टा हो भन्ने समेत व्यहोराको सद्दे भन्ने सदानन्द उपाध्यायको इन्कारी बयान ।
५. सो १५ गते पदमबहादुरको घरमा निजको बाबुले रूद्री गरेकाले मलाई समेत निम्ता गरेको भई जाँदा राधाकृष्णलाई भेटेको थियो । अरूसँग भेट भएको छैन । म भात खाई गोठ गएको हुँदा निजहरूसँग कुराकानी भएन । लेखिएबमोजिम मैले कर्तव्य गरी चोरी गरेको समेत छैन भन्ने समेत व्यहोराको प्र. अड्डीरथको इन्कारी बयान ।
६. ०६ साल श्रावण १५ गतेका दिन साँझको टायममा बवरे भन्ने अम्बरबहादुर मेरो घरमा आई तल दोबाटोसम्म जाउँ हिंड भनी भनेकाले निजसँग आई दोबाटोमा पुगेपछि पद्मबहादुर पं.राधाकृष्णसमेत बसेका थिए । हामी समेत ४ जना जम्मा भए पछि आज बेलुका मेजर्नी र अम्बरबहादुर २ जनालाई मारी धन ल्याई बाँडी खाउँला । राधाकृष्ण पद्मबहादुर अम्बरसमेतले मलाई हिंड कुकुरसम्म समती देउ भनी जिकिर गरेकाले हुन्छ भनी म समेत ४ जना गई पद्मबहादुर र राधाकृष्णले मलाई र जवरजंग भन्ने अम्बरबहादुरलाई जस्केलो ढोकामा बस भनी अ¥हाएकाले सो बमोजिम बसेको । राधाकृष्ण पद्मबहादुर पिंढीको अम्बर बहादुर काटी मार्न भनी गएका । एक छिन पछि मारी सकें माथि हिंड । मेजर्नीलाई काट्ने भनी पण्डितले भनेकाले हामी चारै जना माथि गई मलाई कुकुर समाती बस भनेकाले समाएको थिएँ । अम्बरबहादुर कोठाको ढोकामा उभिएको थियो । पद्मबहादुर पण्डित २ जना मेजर्नी भएमा गई १ घडी पछि बाहिर आई मेजर्नी मारी सकें हिंड भनेकाले चारै जना बाहिर निस्की मेजर्नीको अर्को घरमा पिंढीमा बसी राधाकृष्णले ट्रंक खोली हेर्दा रू. २०० र सुनको बाला १ पनि थियो । पछि बाँडुला भनी पण्डितले भनेका । सो ट्रंक बोकी चारै जना हिंडी म बाहेक ३ जना धारामा हात खुट्टा खुकुरी धुन गई फर्की हामी चारै जना आफ्ना घरतर्फ गएको । सो वारदातमा हामी ४ बाहेक अरू कोही आएका थिएनन । चारै जना माथि गई मलाई कुकुर समा भनी राधाकृष्ण, पद्मबहादुरले भनेकाले समातेको थिएँ र कुकुरलाई झ्याल बाहिर पालीमा राखी झ्याल ढोका थुनी म पनि भित्र कोठामा गएको । अम्बरबहादुर पनि भित्र कोठैमा आई पद्मबहादुर, राधाकृष्ण, अम्बरबहादुर ३ जनाले सुतेको मेजर्नीलाई खाटबाट झारी सकेपछि निजको दायाँ खुट्टामा मैले र बायाँ खुट्टामा अम्बरबहादुरले समातेको र पदमबहादुरले एक हातले लाईट बालेको । एक हातले छातीमा थिचेको । राधाकृष्णले मेजर्नीको चुल्ठो समाती घाटीमा खुकुरीले रेटी मारेको हो । कसूरबाट बचौंलाकी भन्ने आशाले यो कुराको बयान नगरेको हुँ । कर्तव्य गरी मारेको कुरामा सद्द,े काले आएका थिएनन् भन्ने समेत व्यहोराको प्र. गोपिलाल पाध्याको साविती बयान ।
७. सो श्रावण १५ गतेका दिन रूद्री गराउने काम भई रूद्री सकिएपछि निम्ता दिएको । पं.राधाकृष्ण अरू गाउँले सद्दे, अड्डीरथ समेतका मानिस भेला भई सवैले भात खाई सकेपछि जबरजङ्ग अघि बाटै गए । राधाकृष्ण जाने बेलामा एकछिन पछि तिम्रो घरमाथिको बाटोमा देखा पर्नु । म घर पुगी आउँछु भनी गएको । एक छिन पछि पुग्दा राधाकृष्ण, जवर जङ्ग, गोपिलाल समेत बसी रहेको देखी किन बोलाएको भनी राधाकृष्णलाई भन्दा आज हामी चारै जना मेजर्नीको घरमा चोर्न जाउँ भनी भनेको र जवरजङ्ग गोपिलाल समेतले मञ्जुर गरेकाले म पनि मञ्जुर भई मेजर्नीको घर आँगनमा पुगेपछि मूल ढोकामा अम्बरबहादुर सुतेको छ । ढोका खोल्दा निजले थाहा पाउँछ । यिनलाई पहिले काट्नु पर्छ भनी राधाकृष्णले भनेकाले म समेत मञ्जुर भई पहिले म र जबरजङ्ग गोपिलाल समेत गई मैले गोडामा जवर जङ्गले छातीमा थिचेको । गोपिलालले कोही मानिस आउला भनी घरको शुरमा गई बसेको । त्यस्तैमा राधाकृष्णले भिरेको खुकुरी झिकी बायाँ हातले टाउको समाई सेरी त्यहाँबाट हामी चारैजना जस्केलो ढोका उघारी भित्र पसी पहिले गोपिलाल माथी गई कुकुर समाती पालीपट्टी निकाली झ्याल लगाई दिएपछि माथि गई मेजर्नी सुतेको ढोका खोली पसेको । गोपिलाल झ्यालमा कुकुर रूड्डी बसेको । सुतेको मेजर्नीलाई हामी तिनै जनाले डसना सिरक समाइ खाटबाट झारी जवरजङ्गले छातीमा दुवै हातले र मैले गोडा पट्टी बायाँ हातले थिची दायाँ हातले बत्ती बाले पछि राधाकृष्णले खुकुरीले सेरी मारेपछि धनमाल हेर्दा ट्रंक बाकस र मर्नेको हातमा लाएको ५।६ तोला सुनको चुरा मैले फुकाई समाएको । अन्दाजी १ पाथी जाने मकैको डालो राधाकृष्णले बोकी ल्याएपछि मकैको डालो गोपिलालले ट्रंक राधाकृष्णले सुनको बाला मैले लिई बाहिर निस्की मेजर्नीको अर्को घरमा गई राधाकृष्णले ढोकाको खैमल भाँची माथी गई केही छैन भनी निस्केबाट ट्रंक खोली हेर्दा त्यसभित्र सेतो रूमालमा अन्दाजी ६।७ बीस रूपैयाको पोको भएको । कालो किनार जनानी धोति १ नैनसुतको पटुका १ रंगी चंगी सारी १ समेत भएको । लुगा जति छिडिमै राखी सुनको चुरा रूपैयाँको पोको बाकस भित्र राखी खुकुरी र लुगामा लागेको रगत पखाल्न राधाकृष्ण खोलामा गई फर्की आई यो कुरा कसैलाई थाहा दिन हुँदैन । रूपैयाँ र सुनको चुरा समेत म लगी राख्छु भनी राधाकृष्णले भनेबाट हुन्छ पछि बाँडौंला भनी हामीहरू आफ् आफ्ना घर गएको हो । लेखिएका ४ जना भई मेजर्नी र अम्बरबहादुरलाई कर्तव्य गरी मारेको हो । हामी ४ जना देखि बाहेक अरू मद्दती छैन । अड्डीरथ सदानन्द उस बखत हामीहरूका साथमा आएको हैन भन्ने समेत व्यहोराको शम्शेर हटोंग्रे भन्ने पद्मबहादुरको साविती बयान ।
८. श्रावण १५ गते दिउँसो पद्मबहादुरको घरमा रूद्रीको निम्तामा गएको । भात खाँदा पद्मबहादुरले भरे एकछिन आउँनु भनेको थियो । बेलुका जाँदा पदमबहादुर पण्डित पिंडीमा बसेका रहेछन । पण्डितले न्यौपानेलाई बोलाई ल्याउ भनेकाले म गई बोलाई ल्याएँ । ४ जना जम्मा भई राधाकृष्णले मेजर्नीको घरमा चोर्न जाउँ भनेकोले गयौं । मेजर्नीको घर पुगी बाहिर पिंडीमा अम्बरबहादुर भण्डारी सुतेको रहेछ । पंडितले यसलाई सिध्याउँ अनि ढोका खोली भित्र जाउँला भनेकोले मैंले छाती पद्मबहादुरले गोडा थिची अँठ्याई न्यौपाने टाउको पट्टी बसेको थियो । समात्यो समातेन थाहा भएन । राधाकृष्णले खुकुरीले रेटी मारे । त्यसपछि जस्केला ढोका उघारी भित्र पसी पहिले न्यौपाने राधाकृष्ण गए । न्यौपानेले कुकुर झ्यालबाट निकाली दिए । अनि राधाकृष्ण, शम्शेर २ जना गई मेजर्नीलाई खुट्टा र डसनामा समाती तानी लडाई मैले खुट्टा र शम्शेरले छातीमा समाती बत्ती देखाई दिएँ । राधाकृष्णले खुकुरी झिकी घाटीमा रेटे । न्यौपानेले पनि ढोका निर बसी मेजर्नीको खुट्टा समातेको थियो । लेखिएबमोजिम मारे पछि मर्नेले लगाएको सुनको चुरा १ राधाकृष्णले झिकी पद्मबहादुरलाई दिए । भित्रबाट एउटा ट्रंक मलाई दिए र मैले बोकें । गोपिलालले मकैको डालो बोकी निस्की मेजर्नीको अर्को घरमा गई राधाकृष्ण शम्शेर २ जना चोटामा गई आई केही रहेनछ भन्थे । ट्रंक खोली हेर्दा सानु थैलीमा अंदाजी सय छ बिस जति रूपैयाँ रहेछ । सो रूपैयाँ र सुनको चुरा समेत ट्रंकमा हाली भोली पर्सी बाडौंला भनी राधाकृष्णले ट्रंक बोकी लगे । हामीहरू आफ् आफ्नो घर गयौं । अम्बरबहादुर र मेजनीलाई मार्ने मुख्य राधाकृष्ण र अरू मद्दती म र न्यौपाने गोपिलाल शम्शेर भन्ने पद्मबहादुर मात्र हुँ । अरू मद्दती मतियार कोही छैन भन्ने समेत व्यहोराको वीरे जबरे भन्ने अम्बरबहादुरको बयान ।
९. मेजर्नी र अम्बरबहादुर भण्डारीलाई अम्बरबहादुर पद्मबहादुर गोपिलाल समेतले म समेत भई कर्तव्य गरी मारेको हो भनी डोरमा मेरै सामुन्नेमा सावित भए पनि म समेत भई कर्तव्य गरी मारेको हैन । पद्मबहादुर अम्बरबहादुर गोपिलाल ३ जना सावित भएकोले निजैहरूले कर्तव्य गरी मारी धनमाल समेत चोरी गरी लगेका होला । म समेत भई कर्तव्य गरी मारी धनमाल चोरी गरी ल्याएको हैन । सो रात आफ्नै घरमा बसेको । १६ गतेको बिहान निजहरू कर्तव्यबाट मरेको देखि यसले मारेको भन्ने थाहा नभएको । असारमायालाई सोध्दा निजले पनि थाहा छैन भनेकोले गाउँ घरका मानिस जम्मा भई लास रूड्डि बसेको । १६ गते बेलुका वीरबहादुर खड्का आई भोली पल्ट असारमायालाई सोध्दा म समेतलाई पोलेको । गोपिलाल अम्बरबहादुर पद्मबहादुर डोरमा सावित भई पोले पनि म समेत भई मारेको हैन । मुल सावित हुनेहरूले मारेको होला । १५ गते पद्मबहादुरले रूद्री गरेको मलाई निम्ता गरेकोले गई खाई आफ्नो घर गएको हुँ । पद्मबहादुरलाई भरे बाटामा आउँनु भनी भनेको समेत हैन । मेजर्नीको घरमा ९४ साल देखि बसी आएको थिएँ । मेजर छँदै ९९ सालमा बाँचुन्जेल पालन पोषण मरेपछि काजक्रिया समेत गर्नु भनी बुधे भन्ने खेत र घाउ भन्ने बारी अरू भाँडा बर्तन समेत खानु भनी पास गरी दिएको । ५ सालमा लाटुमा घर १ मेरा बाबुले किनेकोले मेजर्नीका मञ्जुरीले सो घरमा गई बसेको । बराबर हेरचाह गर्ने गरी आएको । निजको अन्दाजी २०।२२ तोला सुनको चुरा १ र ८।९ तोलाको जोर १ सम्म देखेको हुँ । बकसपत्र दिएको खेतबारी मैंले नै खाएको छु । अरू शेष पछि खानु भनेको । केही बिक्री गरेको छ भन्ने समेत व्यहोराको पं.राधाकृष्णको इन्कारी बयान ।
१०. पद्मबहादुर समेतले चढाएको निवेदनपत्रमा मिसिल झिकाई जाहेर गर्नु भन्ने श्री माननीय प्रधान न्यायाधीशको आदेशबमोजिम प्रधान न्यायालयबाट मिसिल झिकाई पेश हुदाँ उजुरीमा लेखिएबमोजिम नौसिन्दाले लासजाँच मौका तहकिकात मुचुल्का गराएको ऐनले सदर नहुने हुँदा बदर गरी पाउँ भनेमा नौसिन्दाले गराएको देखिएको हुनाले त्यसतर्फ समेत अदालतलाई कैफियत तलब गरी बुझी ऐन सवालबमोजिम जो गर्नु पर्ने गरी जालसाज कूटपीट शासन गरे भन्नेतर्फ समेत जो बुझ्नु पर्ने बुझी ऐन सवालबमोजिम चाँडो किनारा लगाई नतिजा जाहेर गर्नु भन्ने ०८।११।६।२ को आदेश ।
११. मेरो १२ बर्षको उमेर हुँदा मेजर गंगाराज मेजर्नी हरिकुमारीले डाकी पुरोहित पनि तिमीलाई मान्दछौं । हाम्रो हेर विचार गर्नु । छोरा पनि तिमीलाई गराउँछौ भनेकाले सो बखतदेखि उनीहरू कहाँ कामकाज गर्न बस्ने गर्दथे । म १९ बर्षको उमेर हुँदा चौतारा माल रजिष्ट्रेशन मार्फत बाँचेसम्म हेर विचार, मरे काजक्रिया गरी बाँकी शेष तिमीले खानु भनी बकसपत्र पास गरी दिएको । २ सालमा मेजर परलोक भएकोले ब्राम्हणद्वारा क्रिया गराएको । ०६ साल श्रावण १४ गतेसम्म बाह्रबिसे बुद्धिबहादुर कहाँ गरूड पुराण भनी १५ गतेका दिन नागपञ्चमी हुँदा नाग लिई मेजर्नी कहाँ गएँ । परसुरामले मेरो घरमा रूद्री गरी दिन पर्यो भनेको र मेजर्नीले पनि जाउ । भोलि सवैरै म कहाँ आउनु भनेबाट रूद्री गर्न गई भात खाई आफ्ना घर गई सुतें । भोलीपल्ट बिहान सुवेदारनी टहलकुमारी आई हिंड भनेकीले मेजर्नी कहाँ जाँदा बाहिर पिंडीमा सुतेको । भण्डारी र भित्र चोटामा सुतेको । मेजर्नी कर्तव्य परी मरी रहेको देखिएको र भित्र भरेङ्गनिर सुतेको । थपेनी केही भएको नदेखिएकोले निज थपेनीको पनि सहमत हुनुपर्छ । अड्डामा जाहेर गर्न जान्छु भनी मैले भन्दा पख भदाहा वीरबहादुर नआई अड्डामा लान हुँदैन भनी सुवेदार्नीले असारमायालाई निकाली दिएकोले वीरबहादुरलाई बोलाउन पठाएँ । निज १६ गते आई असारमायालाई सोधपुछ गर्दा केही थाहा छैन भनी र हामी लास कुरी बसेको असारमायालाई टहलकुमारीको जगेसालामा राखेको रातमा वीरबहादुर खड्का थपिनी राखेको जगेसालामा बत्ती बाली निसान वीरबहादुर र जयनारायण ओहोर दोहर गरी राखेका । १७ गते बिहान मिशर तेम्बा र बहिदार हिरालाललाई जाहेर गर्न पठाएँ । सो १७ गते ९।१० बजेको टाइममा मेजर्नीको घर पछाडी वनमा असारमाया १ सु.टहलकुमारी १ वीरबहादुर खड्का १ निजको भाई जनके १ साहिलो खड्का १ निसान वीरबहादुर १ जयनारायण १ समेत जम्मा भई २ घण्टा जति बसी हिंडे । अन्दाजी ४ घडीमै दिन बाँकीमा वीरबहादुर र निजका साथमा आएका २०।२५ जनाले मलाई पक्री डोरमा बुझाई दिई सि.पा.अ.मा दाखिल गरेका हुन । त्यसो हुँदा निज असारमायालाई सिकाई लेखिएका मानिसले जालसाज गरी मलाई ज्यानमा पोलाएका हुन । श्रावण १७ गते पक्राउ गरी डोर आई पुगेपछि ऐजन २५ गतेका दिन थुनाबाट बाहिर आई वीरबहादुरले चिनीबहादुर बहीदारलाई लौ गएर कुट भन्यो । निज चिनीबहादुरले टाङ फटाउन लगाई १ घण्टा उभ्याई लुगा फुकाली पानी सिस्नाको अंठाले कुटे काठको चेपुवा लगाए । वीरबहादुरले गालामा पिट्यो । जमदार नरबहादुरले काढाँ भएको लठ्ठीले कुटे । म सावित भईन र २६ गते त्यताबाट हिंडाई २९ गते सिं.पा.जेलमा पुर्याई राखे । ३१ गते अड्डामा लगी वि.अम्बिकाले पिटे, हात गोडामा चेपुवा सिस्नु लगाए फेरी ३२ गते अड्डामा ल्याई चेपुवा लगाई हाकिम डिठ्ठासित सोधी वीरबहादुरले अड्डा भित्रै गोठमा हतकडीको साङ्गलोले बाँधी उँधोमुन्टो लगाई झुण्ड्याई राखे । त्यसपछि म बेहोस भएँ । पछि के गरे मलाई थाहा भएन । लेखिएबमोजिम जालसाल गरी पोले पोलाएमा र कुटपिट सास्ती सासना गरेमासमेत लेखिएका मानिसलाई सजाय गरी पाउँ भन्ने समेत व्यहोराको पं.राधाकृष्णले अपीलमा गरेको बयान ।
१२. ०६ साल श्रावण १५ गतेका दिन घरमा रूद्री लगाएको थियो । भात खाई बेलुका सुतें । बिहान उठेको मात्र थिए । अम्बरबहादुर आई सुवेदारनीले तँलाई मलाई डकेकी छन भनेबाट निज र म दुवै जना मेजर्नी कहाँ पुग्दा राधाकृष्ण सुवेदारनी चोटामा मेजर्नीलाई चोरले काटे भनी कराउन लागेका रहेछन । हामी र गाउँले जम्मा भई वीरबहादुरलाई बोलाउन पठाएँ । १६ गते बेलुका वीरबहादुर आएपछि हामी भात खान घर गएको १०।११ घडी रात गएको बखत असारमाया रहेको जगेसालामा वीरबहादुर आई थामी जयनारायण पदमबहादुरसमेत वहर–दोहर गरेका थिए । भोलिपल्ट तेम्वा थामी र हिरालाललाई जाहेर गर्न पठाएँ । मेजर्नीको कटेरामा वीरबहादुर, जयनारायण बसी असारमायासँग कुरा गरी रहेका मलाई देखि वीरबहादुरले यो थपेनीले अड्डीरथ सदानन्द, गोपिलाल, अम्बरबहादुर, राधाकृष्णलाई पोल्छे । कहिले ढ्वाचलीका थामी पनि भन्छे । के होला ? भन्दा म के जानु ? भनी जवाफ दिए । त्यसपछि थपेनीलाई वीरबहादुरले माथिल्लो घरमालगी अड्डीरथ सदानन्द, राधाकृष्ण, गोपिलाल अम्बरबहादुरलाई पक्री बाँधी कोठामा थुने । १९ गते वीरबहादुरले मलाई बोलाई पक्रिएका । ५ जनाले त्यहीं रू. १०० दिन्छन भने छाडी दिने । यो कुरा मिलाउ भनी मलाई भनेबाट सो कुरा निजहरू कहाँ गई भन्दा दिदैनौं भनी जवाफ दिएका कुरा आई भनें । २० गते वीरबहादुर जयनारायण निसान वीरबहादुर र अरू ४।५ जना समेत आई मलाई पक्री तिमीसमेत भई वारदात गरेको भनी गोपिलालले पोलेको छ भनी बाँधे । अड्डाबाट डोर आएपछि २४ गतेको दिउँसो अम्बरबहादुर गोपिलालले मेजर्नी काट्न तँसमेत आएको भनी पोलेको छ । तँ के भन्छस भनी निज वीरबहादुरले र जम्दार रत्नबहादुरले गालामा पिटी लुगा फुकाल्न लगाई सिस्नुले जिउभर कुटे । जनकेले जुंगा उखेल्यो चिनीबहादुरले समेतले पिटी सास्ती सासना दिई बहीदार त्रिभुमान लेख्ने वीरबहादुर भन्ने गरी के–के कागज लेखी मेरो सहीछाप गराई तहाँबाट हिंडाई २९ गते सिं.पा.जेलमा लगी थुने । भोलिपल्ट अड्डामा लगी डी.स्यामकृष्णले सोद्धा मैले केही गरेको छैन भन्नासाथ निज डिठ्ठाले र वीरबहादुरले कुटे । व.चिनीबहादुर सुवेदार रंजनबहादुरले हात गोडाको बुढी औंठामा चेपुवा लगाए । म लडेपछि डिठ्ठाले भने कि सरजमिनमा भनेबमोजिम मिलाई बयान गराइदेउ भनेपछि मलाई केही नसोधी सहीछाप हाल्न लगाई मलाई जेलमा राखेकोले लेखिएबमोजिम कुटपिट सास्ती सासना दिई जालसाज गरी पोल्नु पोलाउनु गरेका हुन भन्ने समेत व्यहोराको पद्मबहादुरले अपीलमा गरेको इन्कारी बयान ।
१३. ऐजन श्रावण १६ गते बिहान पद्मबहादुरको घर जानलागेको बाटामा सुवेदारनी र राधाकृष्ण भई मेजर्नी कहाँ भण्डारी रगत छादेको छ । पद्मबहादुरलाई लिई तिमी पनि आउ भनेबाट पद्मबहादुरलाई बोलाई म पनि गएँ । मेजर्नीको माथि चोटामा राधाकृष्ण रून लागेको देखि के भयो भन्दा मानिस काटेको रहेछ भनेबाट गाउँले जम्मा भई वीरबहादुरलाई बोलाउन पठाई निज बेलुका २५।३० जना मानिस लिई आयो । सो टायममा असारमायालाई सुवेदार्नी बसेको जगेसालामा राखेको । राती वीरबहादुर खड्का निसान वीरबहादुर जयनारायण जडेथामी नाम नजानेको १ जनासमेत वहर–दोहर गरी रहेका । १७ गते बिहान तेम्वा थामीलाई अड्डामा जाहेर गर्न पठाएँ । दिउँसो असारमाया वीरबहादुर खड्का निसान वीरबहादुर सु.टहलकुमारी जयनारायण र अरू नचिनेका ४।५ जना समेत भई मेजर्नीको घर पछाडी डेढ घण्टासम्म बसी फर्की आई अड्डीरथ सदानन्द गोपिलालले मलाई र राधाकृष्णलाई समाई बाँधी मेजर्नीको अर्को घरमा राखे । १९ गते जयनारायण वीरबहादुरले हेर् राधाकृष्णले कसूर गरेको हो भनी पोलिदे । तँलाई म छुटाएर ल्याईहाल्छु । तैंले कमाएको मेजर्नीको बारी दिन्छु भनी फकाएकोमा मैले कसूर गरेको छैन भन्दा यसलाई माथि लैजा भनी भनें । श्रावण २४ गते अड्डाका कर्मचारीले तल ल्याई व.चिनीबहादुरले सोधे । मैले केही गरेको छैन भन्नासाथ कुट्न थाले । जमादार नरबहादुर वीरबहादुरले लातले हिर्काए । मेजर्नीको करासामा लगी गोडा लडाई चिनीबहादुरले लात्तिले जमादार नरबहादुरले सिस्नु लठ्ठीले हिर्काउने गरी म बेहोस भई लडेपछि पानी खुवाए । सो टायम वीरबहादुरले कागज लिएको थियो । गोपिलाल मिलान बयान गराई भन्थ्यो । मैले कसूर नगरेको हुँदा के बयान गर्नु ? भनेपछि मलाई फेरी बाँधी माथि राखे । त्यताबाट २६ गते हिंडाई २९ गते चौतारा जेलमा पुर्याई ३१ गते अड्डामा लगी डिठ्ठा र वीरबहादुरसँगै बसेका रहेछन । कसूर गरेको छैन भनी मैले भन्नासाथ कुट्छु भनी डिठ्ठा उठे । वीरबहादुरलेमै कुट्छु भनी निजले गालामा पिटी लात्तले हिरकाई निज वीरबहादुर र चिनीबहादुरले चेपुवा लगाई थिची नरबहादुरले लात्ती मुडकीले पिटी मुर्छा पारे । बेहोस अवस्थामा के–के गरे थाहा छैन । असारमाया, वीरबहादुर खड्का, वीरबहादुर अधिकारी, सुवेदारनी, टहलकुमारी जयनारायण समेतले जालसाज पोल्नु पोलाउनु गरी लेखिएका मानिसले कुटेमा निजहरूलाई सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको अम्बरबहादुरले अपीलमा गरेको इन्कारी बयान ।
१४. मेरो व्यहोरा अदालतमा बयान गरी दिएको छु । म समेत भई राधाकृष्ण अम्बरबहादुरलाई पोले पोलाएको छैन । मलाई वीरबहादुर समेतले राधाकृष्णलाई ज्यानमा हाल भनी सिकाएको र सिकावट मानी पोलेको हैन । कर्तव्य परी मर्ने हरिकुमारीको लोग्ने छँंदै मेरा लोग्नेसँग मुद्दा परेको थियो । सो मुद्दा पर्दा निज राधाकृष्णलाई मेजर मेजर्नीले धर्मपुत्र छोरो बनाई पालेको हुँदा राधाकृष्ण मेजर्नीकै घरमा थिएँ तापनि निजसँग रिसइवी थिएन । मलाई निसान वीरबहादुर समेतका मानिसले खारखेर गर्दा मैले ढुंगाथलीको मेरा लोग्ने पहलमानसमेत ४ जना भनी भनेको हैन । नभएको कुरा टहलकुमारीले सरजमिनमा किन लेखिन ? थाहा छैन भन्नेसमेत व्यहोराको असारमायाको बयान ।
१५. अम्बरबहादुर, पद्मबहादुर, गोपिलाल डोरमा सावित भईल्याएको । राधाकृष्ण इन्कार भएको । मानिस र सरजमिन मुचुल्का दाखिल गरेकोले सावितिको सावित र इन्कारीको इन्कारी बयान गरे गराएको । अड्डा भित्र उँधो मुन्टो पारी झुन्डाउने ठाउँ छैन । निजहरूले भनेबमोजिम लेखेको नभए सहीछाप गर्नै नपर्ने । राधाकृष्णको हस्ताक्षरको सहीछाप भएको भई मन्जुरिसाथ सही गरेको देखिएको । लेखिएबमोजिम केही गरेको नहुँदा उजुर झुठ्ठा हो भन्नेसमेत व्यहोराको डि.श्यामकृष्णको रिपोर्र्ट ।
१६. कर्तव्यको जाहेरी पर्न आएकोले मलाई र नौ.त्रिभुमान साक्षी मद्दतसमेत डोर खटाएकोले गएको । लासजाँच गर्दा कर्तव्यबाट मरेको देखि गाउँले तालुकदारहरूले पक्राउ गरी राखेकोहरूलाई सोधेमा पद्मबहादुर, अम्बरबहादुर, गोपिलाल सावित भएका । राधाकृष्ण इन्कार भएकोले पक्राउ भईरहेकाहरूलाई र कारवाई गरेको । मिसिल अड्डामा ल्याई दाखेल गरेको र भनेबमोजिम अड्डाबाट बयान भएको हो । निजहरूका बयानबमोजिम कूटपिट सास्ती सासनासमेत गरेको हैन भन्नेसमेत नौ.चिनीबहादुरको रिपोर्र्ट ।
१७. लासजाँच मौका तहकिकात गर्नलाई म र सु.रन्जनबहादुर सिपाहीसमेत खटाएकोले गएको । लासजाँच गर्दा कर्तव्यबाट मरेको देखिन आई तालुकदारहरूले पक्राउ गरी राखेकोलाई सोधेमा पद्मबहादुरसमेत ३ जना सावित, राधाकृष्ण इन्कारी भएकोले पक्रिएको र कारवाई भएको । मिसिल समेतअड्डामा दाखेल गरेको । सो दाखिल गरेपछि जंगी परेडामा हाजिर भएको छु । डोरमा र अड्डामा मसमेत भई उजुरी बयानबमोजिम कूटपिट सास्ती सासनासमेत गरेको हैन भन्नेसमेत सुवेदार नरबहादुर, रन्जनबहादुर नौ.त्रिभुमानको रिपोर्र्ट ।
१८. अम्बरबहादुर, पद्मबहादुरको साविती बयान भएको । कूटपिट बेहोस गराई साविती बयान गराएको होइन । राधाकृषणलाई मैले केही गरेको छैन । निजको बयान पनि मैले गराएको छैन । उजुरीबमोजिम कुटपिटसमेत केही गरेको छैन भन्नेसमेत वि.अम्बिकाप्रसादको रिपोर्र्ट ।
१९. म समेत भई राधाकृष्ण, गोपिलाल, पद्मबहादुरलाई जालसाजीबाट पोले पोलाएको र कुटपिटसमेत गरेको छैन । श्रावण १६ गतेको दिन गोपिलाल बोलाउन आएको । किन भन्दा मेजर्नी अम्बरबहादुरलाई चोरले काटे भन्छन्, बोलाउन पठाएको भनेकोले बेलुका ७।८ बजे जाँदा मेजर्नी कर्तव्य परी मरेको कुरा सुनें । १७ गते बिहान मानिसजम्मा गरी असारमायालाई सोद्धा भित्र पसेको र मारेको देखिन । बाहिर निस्कँदा राधाकृष्णले बत्ती बालेको । अम्बरबहादुरले ट्रंक बोकेको । गोपिलालले डालो बोकेको । काले सद्देसमेत निस्केको देखें भनेकीले निज ५ जनालाई सोद्धा काले इन्कारी, गोपिलाललाई सोद्धा पदमबहादुर, राधाकृष्ण, अम्बरबहादुर, म समेत ४ जना भई मारी चोरी गरेको हुँ । काले सद्दे हैनन् भनी सावित भएकोले डोरमा बुझाई दिंदा डोरले सोधपुछ खारखेर गरेका थिए । अम्बरबहादुरलाई गोपिलाल मिलान बयान गरिदे भनेको हैन । कागज गरेको छैन । डोरले मद्दत देउ भनेकोले थुनवा फुकाउन गएको । जेलमा हुलिसकेपछि फर्की आएको हुँ । अरू उजुरीबमोजिम मैले कुटपिट गरेको र रू. १०० का दरले उठाए भनी पठाएकोसमेत कुनैकुरा हैन । उजुरी बयान झुठ्ठा हो भन्ने समेत व्यहोराको वीरबहादुरको बयान ।
२०. मर्ने मेजर्नी बहिनी हुन । १६ गते श्रावण बिहान असारमाया आई दलानमा सुतेको । भण्डारीले रगत छादेको छ भनी भन्न आएकीले झारफुक गर्न जान्ने राधाकृष्णलाई बोलाउन गई ल्याई अम्बरबहादुर भण्डारीलाई बोलाउँदा बोलेन । कर्तव्य परी मरेको लागि म र बाहुन गई बहिनी सुतेको कोठा बाहिर चोटामा कागजपत्र छरी राखेको । बहिनी भनी ढोकाबाट हेर्दा, खाटमा नभई भुइँमा डसना बढाई राखेको । टाउकोनिर रगत देखें । चोरले कोटेको शंकाले गाउँलेलाई बोलाई तालुकदारसमेत आई हेर्दा कर्तव्य परी मरेको यकिन भई निसान वीरबहादुर आई असारमायालाई सोधेमा माथि गएको देखिंन । ओर्लदा गोपिलाल, जवरजङ्ग, अम्बरबहादुर, राधाकृष्णलाई चिनें । जम्मा ६ जना छन भन्थ्यो । १७ गते न्यौपाने राधाकृष्ण अम्बरबहादुरलाई समाती बाँधी मेजर्नीको माथिल्लो घरमा थुनी डोर आउँदा बुझाई दिएँ । बहीदार, सुवेदारहरूले हप्काई खारखेर गरेका थिए । कुटपिट गरेको देखिंन । म समेत भई जालसाजबाट पोले पोलाएको हैन भन्ने समेत व्यहोराको सु.टहलकुमारीको बयान ।
२१. म १६ गते राती टहलकुमारीको जगेसालामा असारमाया राखेको ठाउँमा वहर–दोहर गरेको हैन । १७ गते म समेत भई सल्लाह गरेको समेत हैन । अम्बरबहादुरलाई वीरबहादुरले राधाकृष्णलाई पोलिदे भनेको हैन । गोपिलालले हरिकुमारी अम्बरबहादुर मार्दा पद्मबहादुर समेत भई मारेको भनी सावित भएकोले म समेत भई पक्राउ गरेको मैले बाँध्नु कुट्नु गरेको र अरूले कुटे बाँधेको समेत देखिंन । रिसले पोले पोलाएको हैन । उजुर झुठ्ठा हो भन्ने समेत व्यहोराको जयनारायणको बयान ।
२२. मेजर्नीसमेत मारी चोरी गरेमा सुकुमान सावित भएकोले ले.पूर्णबहादुर मार्फत सदरजेल चलान गरेको । के.आई सिंहको आन्दोलनमा जेलबाट भागी आई मलाई पक्राउ गर्ने मानिसहरू नमारी छाड्दिन भनी गाउँघरमा बसेका हुँदा पक्राउ गरी पाउँ भन्ने समेत व्यहोराको दानबहादुरसमेतको बिन्तिपत्र बयान ।
२३. मौका तहकिकात साक्षी सरजमिन समेत बुझिएको यस मुद्दामा बुझिएसम्मका प्रमाण परिबन्दबाट यही वारदातमा सावित हुने लेखेको सुकुमान तामाङ्गका हकमा फेला परे पक्राउ भएका बखत ठहरेबमोजिम गर्ने राधाकृष्ण, अम्बरबहादुर, पद्मबहादुर ३ जनाको आदेशबमोजिम बयान हुँदा हामीलाई कुटपीट गरी जालसाजीबाट पोले पोलाएको समेत हो भनी बयान गराएको जालसाजीतर्फ निजहरूलाई कुटपिट गरी जालसाजीबाट पोले पोलाएको र सावित गराएको भए पक्राउ भए मध्येकाले सद्दे राधाकृष्णको पनि सावित गराउने निजहरूको इन्कारी नै बयान भएको । कुटपीट गरेको भए घा–चोट हुन र जँचाएको छु भनी लेख्न नसकेको । सावितीमध्ये गोपिलालले उजुर गरेको नदेखिएको । आदेशबमोजिम सरजमिन बुझिँदा सावित हुनेहरू मौका सरजमिन डोरमै सावित भई राधाकृष्णलाई पोलीरहेका थिए भन्ने सरजमिनले लेखीदिएको हुनाले अदालतमा बयान हुँदा इन्कारीलाई साविती बयान गराएको भन्ने र राधाकृष्णलाई झुठ्ठा जालसाजबाट पोलाएको भन्ने कुराको झुठ्ठै उजुर गरेको ठहर्ने । हरिकुमारी, अम्बरबहादुर २ जनालाई कर्तव्य गरी मारी चोरी गरेमा पद्मबहादुर गोपिलाल ३ जनाको साविती बयान हुँदा निजहरूका हकमा विचार गरीरहन नपर्ने । राधाकृष्णको हकमा सावित हुने ३ जनाले वारदात गर्दा अरू समाउने थिच्ने गर्यो । राधाकृष्ण आफूले खुकुरीले रेटे मारेको र चोरी गरेको धनमाल निजैले लगेको छ भनी पोलेको । लास प्रकृतिबाट वारदात अवस्था मिल्न आएको । वारदात गरी फर्कदा असारमायाबाट पनि राधाकृष्ण देखिएको हुनाले समेत राधाकृष्ण समेत वारदातमा ठहर्ने र सद्दे भन्ने सदानन्द, काले भन्ने अड्डीरथका हकमा सरजमिनले निजहरू उपर शंका लाग्दैन भनी लेखेको । सावितीबाट निजहरू वारदातमा नदेखिएको हुनाले समेत निजहरूले कर्तव्य गरी मारी चोरी गरेको ठहर्दैन । चोरीतर्फका हकमा चोरीको हकमा सो चोरीको धनमाल राधाकृष्णले लगेको भन्ने हुनाले ८ तोलाको सुन र मो.रू. २०० को बिगो चोरीको धनमाल राधाकृष्णबाट भरी पाउने ठहर्छ । ज्यान मार्ने ठहरिएको राधाकृष्ण, गोपिलाल, पद्मबहादुर, अम्बरबहादुरलाई दामल गर्ने ठहराई ११।७।१९ मा अपील दोश्राबाट जाहेरी फैसला गरेको ।
२४. सो इन्साफमा चित्त बुझेन भन्ने पं.राधकाष्ण पद्मबहादुर, अम्बरबहादुर, गोपिलाल पाध्यासमेतको प्रधान न्यायालयमा अपील परेको ।
२५. इन्साफ सजाय अपील दोश्रा फाँटको मनासिव ठहराई २०१३ साल कार्तिक २४ गते ६ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएको ।
२६. पद्मबहादुरको आमचा चन्द्रमाया दहाल्नीले चढाएको तो.नं. ३६०।३९५ को निवेदनपत्र हुकुम बक्सेबमोजिम श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भए निवेदकका छोरालाई मौकामा नपोलेको ज्यान मार्नेले सावित भई बयान गरेको मिसिल पु.२ नम्बर अदालतमा छ भन्ने समेत निवेदकको जिकिर हुनाले सो समेत जो बुझ्नु पर्ने बुझी यो मुद्दा १ पल्ट सर्वोच्च अदालत फुल बेञ्चले दोहराई हेरी ऐनबमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजको १३।१०।२९ को हुकुमको प्रमांगी ।
२७. रिभ्यू गरी पाउँ भनी पं राधाकृष्णकी ब्रम्हणी भगवती उपाध्यायनीले दिएको निवेदनपत्रमा पं.राधाकृष्ण जेलखानाबाट छुटी तारिखमा रहेकोले निजलाई र थुनामा रहेका पदमबहादुर, अम्बरबहादुर गोपिलाल समेतलाई थुनाबाट झिकाई छलफलमा राखी पेशहुन आएको यो मुद्दा बुझ्दा बक्सेका हुकुम प्रमांगीबमोजिम पू.२ नं. अदालतमा परेको सुकुमान तामाङ्ग सावित भएको मुद्दा झिकाई हेर्दा निवेदकवालाका निवेदनमा लेखिएबमोजिम सो मुद्दा मेजर्नी हरिकुमारी मारिएका कुरामा कुनै उल्लेख भएको नदेखिएको र यस मुद्दामा पनि निज मेजर्नीका घरमा गई खुन गर्ने मानिसहरू अन्तै गाउँका अरू हुन भन्ने विशेष शंकासम्म पनि कतैबाट नदेखिई कुनै किसिमको हल्ला र कुकुरसम्म पनि भुक्न कराउन नपाउने प्रबन्ध मिलाई जाने बुझेको समेत त्यस घरको परिचयवाला व्यक्तिबाट घटना घट्न आएकोमा गोपिलाल, पदमबहादुर, अम्बरबहादुर सारा गाउँघरका सामुन्नेमा वारदातको परिबन्द पुर्याई राधाकृष्णलाई अड्डालो हाली एकमुख भई सावित भएका वीरबहादुरले कुटी सिकाई सावित गराएको भन्ने उजुर गरेपनि दोहर्याई सरजमिन हुँदा समेत कुटपिट वा सिकाई झुठ्ठा सावित गराएको नदेखिएको, नोकर्नी असारमाया समेत विशेष त्यस घटनामा सहमतै ठहरी अपीलले सजाय गरेमा निजले अपील उजुर गर्न पनि नसकेको र वास्तविक गाउँ घरमा भएको घटना जतिसुकै कसुर छिपाउन खोजे पनि यस्ता अपराधको कुनै न कुनै छिद्रबाट प्रकाश हुन धेरै सम्भव हुने भएकोमा उसै बखत मौकामै स्वयमेव एकमुख भई ३ जना सावित भई राधाकृष्णलाई समेत पोल गरेको अरू बुिझएका यावत प्रमाणबाट पनि उक्त मेजर्नी हरिकुमारीका घरमा हरिकुमारी समेतको खुन गर्नुपर्ने मुख्य राधाकृष्णलाई कारण परी निजै र निजको सल्लाहबाट मारी धानमाल लिन खान लेखिएबमोजिम पद्मबहादुर, अम्बरबहादुर गोपालीले समेत खुन गरेको सिद्ध देखिएको कुरामा प्रमाण बेगर धेरै दिनपछि कुटेर सावित गरेको भन्ने कुरालाई साँचो सम्झी सावित र सबुदले कसुरदार ठहरेका व्यक्तिले रिहाई पाउन सक्छन भन्न नभई अपील र सर्वोच्च अदालत डिभिजन बेञ्चका फैसलामा लेखिएका बुँदा प्रमाणबाट समेत इन्साफ मनासिव ठहर्छ । राधाकृष्ण टी.वी.समेत भएकोले श्री ५ महाराजधिराजको २०१५ सालका शुभजन्मोत्सवमा माफ पाई छुटी सकेको भन्ने मिसिलबाट देखिएकोले ऐन सवालबमोजिम गर्नु भनी यो मिसिल भईरहेका नियमबमोजिम गरी बुझाईदिनु ।
इति सम्वत् २०१५ साल भाद्र ६ गते रोज शुभम् ।