निर्णय नं. ३३ - दोहरा लिखत

निर्णय नं. ३३ ने.का.प. २०१६
डिभिजन बेञ्च
(सप्तरी अपील ऊपर)
न्यायाधीश श्री सिद्धिबहादुर मल्ल
न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री
डि.नं. ३३१
अपीलाट, वादी : शशिकला देवी ब्राम्हणी
विरूद्ध
रेस्पोण्डेण्ट, प्रतिवादी : रामदेनी तिवारीनी समेत
मुद्दा : दोहरा लिखत
(१) अदालतीको बन्दोबस्तको ८४ नं.–हाकिमका नाउँमा कराउनेको ९ नं. बमोजिम छलफलमा झिकाएका अर्जी खबरसम्म गर्न नपाउने झगडीया म्याद भित्र हाजिर हुन नआएमा–अदालती बन्दोबस्तको ८० नं. ले छिन्न अड्काउ नहुने मुद्दा नछिनिई बाँकी रहेमा – गुज्रेको म्याद थाम्न हुने ।
हा.क.९ नं. ले छलफलमा झिकाएका झगडीयाले अर्जी खबरसम्म गर्न नपाउने र छलफलको म्याद टाँसिएको म्याद भित्र झगडीया हाजिर हुन नआएमा अ.वं.८० नं. ले छिन्न अड्काउ नहुने मुद्दा नछिनिई बाँकी रहेमा गुज्रेका मितिले म्याद भित्र थमी पाउँ भनी अ.बं.८४ नं. को म्याद भित्र निवेदन परेमा थामिदैन भन्ने ऐन सवाल नभएकोले झिकाएका हकमा हरदेवले गुज्रेको म्याद थामी पाउँ भनी पहिला पटक ५० दिन भित्रै दिएका निवेदनमा ऐन सवालबमोजिम गर्नु भन्ने तोक लागि म्याद तारिख नथामिएको मनासिव नदेखिएकोले सो व्यहोरा रजिष्ट्रार अफिसमा सूचना दिनु ।
(प्रकरण नं. १३)
(२) अघिल्लो पास नभएको लिखतको आधारमा उजुर पर्नु भन्दा अगावै पास भईसकेका लिखत भएमा–पास नभएको लिखत किर्र्ते हो भनी जिकिर लिएको भई सो प्रतित लायकको देखिएमा–पास भईसकेको लिखत बदर र पास नभएको लिखत सदर भन्न नमिल्ने भई पास नभएको लिखत जालसाजी ठहर्ने ।
वादीको लिखत अघिल्लो मितिको भए पनि मौकैमा पास नभएको प्रतिवादीहरूको लिखत वादीको लिखत पास गराई पाउँ भन्ने उजुर पर्नु भन्दा पहिले नै ०६ साल भाद्र आश्विनमा लिखत रजिष्ट्रेशन पास भईसकेको । श्यामावतीसँग मुद्दा पर्दा जयनारायणलाई यिनै वादीको ससुराले वारिस गराई दिएको बखत लिफा लिएको भन्ने सद्दे किर्र्तेको बयानमा प्रतिवादी रामदेनीले जिकिर लिएकी । सो मुद्दामा जयनारायण वारिस बसेको पनि देखिएको र सक्कल लिखतमा परेको । सिरको ल्याप्चेमा दायाँले अक्षरै नछोएको र बायाँ सिरभन्दा केही पछि हटाई लागेको र पुछारमा परेको दायाँ बायाँ दुवै सहीले मितिको हरफ नछोई केही तलै ल्याप्चे परेको लिखत साक्षी बाहेक अरू साक्षी पनि आसामीको गाउँको र साहुको गाउँको समेत नभई बेगल गाउँका भएका, सो तमसुकमा साहुकै लोग्ने कृष्णचन्द्रको रु.३८१३ तिर्न लिएको भन्ने बोली परेको । कष्णचन्द्र साहु भएको ०१ साल जेष्ठ १ गतेको तमसुक पनि एउटैले लेखेको र ०५ सालमा श्यामवतीसँग आसामी रामदेनीको कं.रू. १४५०० को लिखत पास मुद्दामा आसामी इन्कार भई यिनै वादीको गाउँको जयनारायण वारिस बसी मुद्दा चलेको भएपछि त्यसमा आसामीसँग मौकैमा लिनुदिनु गरेको भए यी वादीले पनि शंका गरी मौकैमा पास गराई हाल्नु पर्ने नगरेकोबाट पनि मोकैमा लिखत भएको भन्न मनासिव नपरेको र मौकैका कागज आसामीको भए तिनै आसामीले आफ्नु नातीलाई २ महिनापछि दानपत्रको लिखत गरी नदिई वादीको लिखत भन्दा पहिले कै मिति राखी लिखत गरी दिनुपर्ने अवस्था थियो । वादीको भन्दा पछिकै मिति देखिन आएकाले आसामीले जानीजानी दोहोरो लेखेको भन्ने देखिन नआएकाले वादीको लिखत सद्दे ठहराएको सिंगलबेञ्चको राय पनि झगडीया झिकाउन नपर्ने हुँदा मनासिव नभई लिखत जालसाजी ठहराएको इन्साफ सप्तरी अपीलको मनासिव छ ।
(प्रकरण नं. १३)
(३) हाकिमका नाउँमा कराउनेको १० नं. अपीलाट अपील गरी हारेमा–दशौंद थप दण्ड हुने ।
इन्साफ पारी छिन्ने हाकिम ऊपर अपील गरेमा अपीलाट शशिकला देवीकै शुरू दण्ड कं.रू. ६१४=।२ को पहिलो अपील हुँदा हा.क.१० नं. ले दशौंद थप दण्ड कं रू. ६१।।।। हुन्छ । सो र जी.सप्तरी प्र. पकरी मौजे तिलाठी बस्ने को–को लालदास कायस्थ र ऐजन प्र. जगदर मौजे बरही टोल वीरपुर बस्ने फनिलाल मण्डल ग्वार के शुरु दण्डक कं रू. १० को दरले भएकोमा जनही दशौंद थप दण्ड कं रू. १ का दरले कं रू. २। दण्ड हुन्छ ।
(प्रकरण नं. १३)
अपीलाट तर्फबाट : वकील श्री हेरम्बप्रसाद उपाध्याय
रेस्पोण्डेण्ट तर्फबाट : सिनियर एडभोकेट श्री देवनाथप्रसाद वर्मा
फैसला
१. यसमा रामदेनीले ०६।४।२७ मा मबाट कं रू. ४९१३ लिई नवनगरको जग्गा विगहा ३।।। राजिनामा गरी दिएकी । सो लिखत पास गराई पाउँ भनी मैले नालिस गरेकोमा मेरो लिखत मध्येको १।२।।३ जग्गा जयनारायणलाई ०६।५।१५।४ मा भोग र २।२।२ जग्गा रामनारायणलाई ०६।६।२४ मा दानपत्र दिएको बयान सुनाउदा थाहा पाएँ । जानी जानी दोहोरो लिखत गर्ने गराउनेलाई कसूर अनुसार सजाय भई निजहरूको लिखत बदर बातिल गरी पाउँ भन्ने समेत शशिकलाको फिराद ।
२. रामदेनीबाट ०६।५।१४ मा कं रू. २१०१ मा जग्गा विगहा १।२।।३ बन्धकी लिई पास गराई ०६ साल देखी बाली खाएको छु । वादी झुट्टा हुन भन्ने समेत जयनारायणको प्रतिवादी।
३. वादीलाई जग्गा राजिनामा गरी दिएको छैन । श्यामावतीसँग मुद्दा पर्दा वादीको ससुरो जोगानन्दले कारवाई गरी दिन्छु भनी पटक–पटक सही गराएको थियो । सोही सही गराएको कागजमा राजिनामा खडा गरेको हो । वादीको लिखतको जग्गा जयनारायणलाई बन्धक र रामनारायणलाई दानपत्र दिएको छु भन्ने समेत रामदेनी समेतको प्रतिवादी ।
४. मेरा ऊपर उजुर गर्नुपर्ने कारण नभएकोले वादी झुट्टा हुन भन्ने समेत सरदेवको प्रतिवादी ।
५. बुझिएसम्मबाट लिखत पास मुद्दामा वादीको लिखत पास हुने ठहरी फैसला भएकोले वादीलाई जग्गा लेखी दिएपछि प्रतिवादीलाई दोहरो पारी लिखत गरी दिएको देखिएकोमा म्याद भित्रै वादीको उजुर पर्न आएकोले दोहरो पारी प्रतिवादीलाई लेखी दिएको ठहर्छ भन्ने समेत ०९।२।२२ को हनुमाननगर अमिनीको फैसला ।
६. चित्त बुझेन भन्ने समेत रामनारायण समेतको अपील ।
७. पास गरी पाउँ भन्ने ०६।११।२६।५ मा वादीको नालिस परेको । सो भन्दा अगावै ०६।५।१५ मा र ०६।६।२५ मा प्रतिवादीहरूको लिखत पास भईसकेको र घरसारमा वादीको लिखत मिति खाली गरी वा अघिल्लै मिति पारी पनि हुनसक्ने हुनाले पास भईसकेको लिखत बदर र पास नभएको वादीको लिखत सदर भन्न नमिल्ने हुनाले वादीको दावी पुग्दैन । शुरूले गल्ती गरेको ठहर्छ भन्ने समेत १०।३।३२ को सप्तरी अपीलको फैसला ।
८. इन्साफमा चित्त बुझेन भन्ने समेत शशिकला समेतको अपील ।
९. श्यामावतीको र रामदेनीको लिखत पास जालसाजी मुद्दा झिकाई पेश गर्नु भन्ने समेत १३।२।१६ को सिंगलबेञ्चको आदेश ।
१०. प्रतिवादीहरूको लिखत वादीको पास गराई पाउँ भन्ने उजुर पर्नु भन्दा पहिले पास भईसकेकोले लिखत बदर नहुने ठहराएको इन्साफ अपीलको मनासिव वादीको लिखत पास हुने ठहरी ह.अमिनीबाट फैसला भएकोमा आसामीको अपील नपरेको लिखतै जालसाजी ठहराएकोमा राय नमिलेकोले छलफलमा रामदेनीलाई झिकाउन डिभिजन बेञ्चमा पेश गर्नु भन्ने समेत १३।१०।३ को सिंगलबेञ्चको आदेश ।
११. जैनारयण रामनारायणलाई समेत छलफलमा झिकाई पेश गर्नु भन्ने समेत १३।१०।१८ को डिभिजन बेञ्चको आदेश ।
१२. शशिकला रामदेनीको लिखत पास मुद्दामा रामदेनीका नाउँमा अपीलको म्याद तामेल भए नभएको एक्किन गरी जवाफ झिकाई पेश गर्नु भन्ने समेत ०१४।२।६ को डिभिजन बेञ्चको आदेश ।
१३. पेश हुन आएको यो मुद्दामा अपीलाटको वा.राम अनुप्रहलाई राखी अपीलाटतर्फका विद्वान वकिल प्लीडर हेरम्बप्रसाद उपाध्यायको बहस समेत सुनी बुझ्दा हा.क.९ नं. ले छलफलमा झिकाएका झगडीयाले अर्र्जि खबरसम्म गर्न नपाउने र छलफको म्याद टाँसिएको म्याद भित्र झगडीया हाजिर हुन नआएमा अ.बं.८० नं. ले छिन्न अड्काउ नहुने मुद्दा नछिनिई बाँकी रहेमा गुज्रेका मितिले म्याद भित्र थामी पाउँ भनी अ.बं.८४ नं. को म्याद भित्र निवेदन परेमा थामिदैन भन्ने ऐन सवाल नभएकोले झिकाएका रामनारायणका हकमा जयनारायण समेतका हकमा हरदेवले गुज्रेको म्याद थामी पाउँ भनी पहिला पटक ५० दिन भित्रै दिएका निवेदनमा ऐन सवालबमोजिम गर्नु भन्ने तोक लागि म्याद तारिख नथामिएको मनासिव नदेखिएकोले सो व्यहोरा रजिष्ट्रार अफिसमा सूचना दिनु । झिकाएका रामनारायण समेतका हकमा तारिख नथामिएबाट अब झिकाउन पर्छ कि भन्न वादीको लिखत अघिल्लो मितिको भएपनि मौकैमा पास नभएको, प्रतिवादीहरूको लिखत वादीको लिखत पास गराई पाउँ भन्ने उजुर पर्नु पर्ने भन्दा पहिले नै ०६ साल भाद्र आश्विनमा लिखत रजिष्ट्रेशन पास भईसकेको र श्यामावतीसँग मुद्दा पर्दा जयनारायणलाई यिनै वादीको ससुराले वारिस गराई दिएको बखत लिफा लिएको भन्ने सद्दे किर्र्तेको बयानमा प्रतिवादी रामदेनीले जिकिर लिएको सो मुद्दामा जयनारायण वारिस बसेको पनि देखिएको र सक्कल लिखतमा परेको सिरको ल्याप्चेमा दायाँले अक्षरै नछोएको र बायाँ सो भन्दा पनि केहीपछि हटाई लागेको र पुछारमा परेको दायाँ बायाँ दुवै सहीले मितिको हरफ नछोई केही तलै ल्याप्चे परेको लिखत साक्षी बाहेक अरू साक्षी पनि आसामीको गाउँको र साहुको गाउँको समेत नभई वेगल गाउँका भएका सो तमसुकमा साहुकै लोग्ने कृष्णचन्द्रको रू. ३८१३। तिर्न लिएको भन्ने बोली परेको, कृष्णचन्द्र साहु भएको ०१ साल जेष्ठ १ गतेको तमसुक पनि एउटैले लेखेको र ०५ सालमा श्यामवतीसँग आसामी रामदेनीको कं रू. १४५००। को लिखत पास मुद्दामा आसामी इन्कार भई यिनै वादीको गाउँको जयनारायण वारिस बसी मुद्दा चलेको भएपछि त्यसमा आसामीसँग मौकैमा लिनुदिनु गरेको भए यी वादीले पनि शंका गरी मौकैमा पास गराई हाल्नु पर्ने, नगरेकोबाट पनि–मौकैमा लिखत भएको भन्न मनासिव नपरेको र मौकैको कागज आसामीको भए तिनै आसामीले आफ्नु नातीलाई २ महिनापछि दानपत्रको लिखत गरी नदिई वादीको लिखत भन्दा पहिलेकै मिति राखी लिखत गरी दिनुपर्ने अवस्था थियो । वादीको भन्दा पछिकै मिति देखिन आएकाले आसामीले जानी–जानी दोहरोलेखेको भन्ने देखिन नआएकाले वादीको लिखत सद्दे ठहराएको सिंगलबेञ्चको राय पनि झगडीया झिकाउन नपर्ने हुँदा मनासिव नभई लिखत जालसाजी ठहराएको इन्साफ सप्तरी अपीलको मनासिव छ । इन्साफ पारी छिन्ने हाकिम उपर अपील गरेमा अपीलाट शशीकलादेवी के शुरू दण्ड कं.रू. ६१४=।२ को पहिलो अपील हुँदा हा.क.१० नं. ले दशौंद थप दण्ड कं.रू. ६१।=।।। हुन्छ । सो र जी.सप्तरी प्र. पकरी मौजे तिलाठी बस्ने को–को लालदास कायस्थ र ऐजन प्र. जगदर मौजे वरही टोल वीरपुर बस्ने फनीलाल मण्डर ग्वारके शुरू दण्ड कं.रू. १० को दरले भएकोमा जनही दसौंध थप दण्ड कं.रू. १ का दरले कसुर दण्ड हुन्छ निजहरू सवैको वारिस हुँदा लगत कसी असुल गर्नु भनी शुरूमा लेखी पठाउन तहसीलमा लगत दिई मिसिल बुझाई दिनु ।
इति सम्वत् २०१४ साल आषाढ १२ गते रोज ३ शुभम् ।