निर्णय नं. ३४ - सुन बिदेश निकासी

निर्णय नं. ३४ ने.का.प. २०१६
डिभिजन बेञ्च
(वीरगञ्ज गोश्वारा उपर)
प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह
न्यायाधीश श्री सिद्धिबहादुर मल्ल
फौ.डि.अ.नं. १८१
अपीलाट : रामदास राजभण्डारी
विरूद्ध
रेस्पोण्डेण्ट : पूर्णरत्न बज्राचार्य
मुद्दा : सुन बिदेश निकासी
(१) २०१०।३।२३ मा गजेटमा प्रकाशित सुनचाँदिको र जवाहरात जडान भएको माल निकासी गर्ने सवालको दफा २ र निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ७।०१० सालको सवालको दफा २ को रीत नपुर्याई सुन बिदेशतर्फ लैजान लागेको बयान र अरू स्थितिबाट देखिन आएमा–कानून बर्खिलाफ बिदेश निकासी गर्न लागेको ठहर्ने ।
रक्सौल जाने गाडीमा वीरगञ्जमा गिरफ्तार भएपछि वीराटनगर वा सप्तरी राजवीराजमा पुर्याउन लैजान लागेको हुँ भन्ने बयानबाट पनि सो सुन वीरगञ्जमा रहने राख्ने नभई बिदेशतर्फ लैजान लागेको देखिन आउँछ । निकासी पैठारी विषयमा ‘निकासी प्रठारी (नियन्त्रण) ऐन, २०१३’ माघ २२ गतेको गजेटमा प्रकाशित भएको छ । सो ऐन लागू भईसकेपछि २०१०।३।२३ को सवालको दफा २ को रीत पुर्याउनु पर्दैन कि भन्नलाई निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ७ यस प्रकार छ, “यो ऐन जारी हुनु भन्दा अगावै सरकारले कुनै वस्तु वा वस्तुहरूमा लगाई राखेका प्रतिबन्धको खारेजी वा संशोधनको सूचना नभएसम्म कायम रहनेछ ।” यस कारणले वीराटनगर वा राजवीराज लैजान निमित्त पनि ०१०।३।२३ को सवाल दफा २ को रीत पुर्याउनु पर्ने आवश्यकै थियो । तर पक्राउ भईसकेपछि मात्र “वीराटनगर वा राजवीराज लैजान लागेको हुँ” भनी बयान हुनुबाट त सजायबाट बच्नलाई मात्र सो कुराको आधार लिनु भएको देखिन आउँछ । माथि लेखिएका प्रमाण परिबन्दबाट रामदासले सो सुन कानून बर्खिलाफ बिदेश निकासी गर्न लाग्नु भएको ठहर्छ ।
(प्रकरण नं. ८)
(२) हुँदै नभएको ऐन लगाई सजाय तोक्नु गम्भीर लापरवाही हो ।
हुँदै नभएको ऐन लगाई मेरो पक्षलाई गोश्वाराले सजाय तोकेको रहेछ भन्ने वकिलको जिकिरबमोजिम ०१०।५।२३ मा यस विषयको कुनै कानून प्रकाशित भएको छैन । गोश्वाराले ०१०।५।२३ को गजेटको उल्लेख गरी सजाय तोक्नु गोश्वाराको एक गम्भीर लापरवाही देखिन आएको छ । यस किसिमबाट सजाय तोक्दा कुनै पनि अभियुक्त आफ्नो सफाई निमित्त पैरवीको कारवाइमा अलमलिनु सम्भव हुन्छ ।
(प्रकरण नं. ९)
(३) निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ५ र नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० को दफा ४ को उपदफा (ख)–कैद वा बिगोबमोजिमसम्म दण्ड वा दुवै हुन सक्ने । बिगो जफत नहुने ।
यो वारदात २०१५।६।२१ मा भएकोले ‘नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० को दफा ४ को उपदफा ख’ ले ‘निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३’ बमोजिम सजाय हुन्छ । निम्नलिखितानुसार गर्नु ।
अपीलाट प्रतिवादी रामदास राजभण्डारी का.ई. असन बहाल घर भई हाल वीरगञ्ज जेलमा बन्दी भईरहेका के ‘निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३’ को दफा ५ ले १ बर्षसम्म कैद वा बिगोबमोजिमसम्म दण्ड वा दुवै हुन सक्ने हुँदा बिगोबमोजिम भा.रू. २८९१। अठ्ठाइस सय एकानब्वे चार आना दण्ड र कैद महिना ।७ सात हुने ठहर्छ ।
निज रामदासलाई वीरगञ्ज गो.ले.जफत गर्ने गरेको बिगो माथि इन्साफ खण्डमा लेखिएबमोजिम जफत नहुने ठहरेकोले लिनु नपर्ने हुँदा जफत गर्नुपर्दैन ।
(प्रकरण नं. १०)
फैसला
१. ०१५ साल आश्विन २१ गते दिनको १ बजेका टायममा रक्सौल जान भनी भनी रहेको रामदासलाई सोद्दा यहाँ जान भनी भन्न नसकेकोले पक्राउ गर्दा निजबाट सुन तोला ३२ निस्केकाले जाहेर गरेको छु भन्ने समेत कं.पूर्णरत्नको रिपोर्र्ट ।
२. स्वास्नी मर्ने बेलामा यो सुन छोरीलाई दिने भनेकीले वीराटनगर वा राजवीराजमा रहेकी छोरीकहाँ पुर्याउन लागेको हुँ, भन्सार जाँच गरी ल्याएको छैन भन्ने समेत रामदासको मौका कागज बयान ।
३. बुझीएसम्मबाट सुन बिदेश निकासी गर्न लगेको ठहरेकोले बिगो जफत गरी बिगोबमोजिम दण्ड र कैद महिना ७ गर्ने समेत ठहराई वीरगञ्ज गोश्वाराबाट ०१५।६।२३।५ मा फैसला भएको रहेछ ।
४. एउटै कुरामा ३ सजाय नहुने र १० सालको गजेट खारेज भई ०१३ सालमा प्रकाश भएका गजेटले बिगोबमोजिम दण्ड कैदसम्म हुने बिगो जफत नहुने भन्ने समेत रामदासको अपील ।
५. सो ०१० सालको गजेट खारेज भई ‘निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३’ १६ को दफा ५ ले बिगो जफत नहुने भन्ने समेत श्री मा.न्या. तिलक शम्शेर थापाज्यूको सिंगलबेञ्चबाट १५।१०।२७।२ मा राय आदेश भएको छ ।
६. यसमा पूर्णरत्नको वा.शेषनाथ र रामदासको वा.सत्यदास तथा रामदासको तर्फबाट बहस निमित्त उपस्थित हुनु भएको विद्वान वकिल श्री नारायणप्रसाद समेतलाई राखी बुझ्दा अम्लेखगञ्जबाट रक्सौल जाने मुसाफिर गाडीमा रामदास सफर गरी रहनु भएको थियो । वीरगञ्ज स्टेशनमा गाडी रोकेको अवस्थामा रामदास सुन सहित पक्राउ हुनुभयो । सो सुन निजले बिदेश निकाशी गर्न लागेको भन्ने कुराको अभियोग निजमाथि लागेकोमा बचाव पक्षका वकिल श्री नारायणप्रसादले आफ्नो बहसमा के जिकिर लिनुहुन्छ भने वीरगञ्ज रेलवे स्टेशन देखि दक्षिण वीरगञ्ज बजारमा पनि त कैयौंले सुन राखेका छन के त तिनीहरूले कानून विरूद्ध काम गरेका छन र सजायका भागी छन ? तिनीहरू जब सजायका भागी छैनन भने रामदास कसरी कुन कानूनको आधारमा दोषी ठहर्न सक्छ ? नेपाल भारत सिमाना नगीच रामदास पक्राउ भएको होइन । रामदास निर्दोष छ । गोश्वाराले गैर– कानूनी तरिकाबाट निजलाई कैद समेतको सजाय तोकेकोले सफाई पाउनुपर्छ ।
७. मिसिल कागजात र वकिलको बहस समेत विचार गरी हेरेमा माथि लेखिएबमोजिम रामदास रक्सौल जाने गाडीमा वीरगञ्जमा गिरफ्तार भएपछि वीराटनगर वा सप्तरी राजवीराजमा मेरो छोरी छ, छोरी वीराटनगर वा सप्तरी राजवीराज जहाँ छ सोही ठाउँमा छोरीलाई नै पुर्याउनलाई लैजान लागेको हुँ भनी रामदासको बयान रहेछ । रामदासकै बयानबाट पनि सो सुन वीरगञ्जमा रहने राख्ने नभई बिदेशतर्फ लैजान लागेको देखिन आउँछ । २०१०।३।२३ मा प्रकाशित भएको सुन चाँदिको र जवाहरात जडान भएको मालमा देहायबमोजिम निकासी गर्ने सवालको दफा २ प्रकार छ :
(२) हाम्रो एक जिल्लाबाट अर्को जिल्लामा लैजाने सुन चाँदिको र जवाहरात जडान भएको मालमा महसुल नलिने, तर देहायको नियमबमोजिम गर्ने ।
(क) निकासी गर्ने जिल्लाका बजार भन्सार अड्डाले मालधनीको सरहद भित्रकै फलाना भन्सार बजार इलाकामा लग्ने भन्ने खुलाई कागज गराई दरवन्दीबमोजिमको महसुल धरौटी लिई सो कागजको १ प्रति नक्कलमा निस्सा लगाई सो र धरौटी रसिद समेत लिनेदिने ।
(ख) सो माल लगिने जिल्लाका भन्सार बजारमा सो निस्सा लागेको कागज रसिद र सो बमोजिमको माल समेत २ महिना भित्र लगी जँचाई निस्सा लिनेदिने गर्नुपर्छ । अड्डाबाट निस्सा दिंदा हाकिम साक्षीको समेत सहिछाप गर्नु गराउनुपर्छ ।
(ग) सो बमोजिम जाँची निस्सा लगाई दिएको कागज धरौटी राखेको मितिले ६ महिनाभित्र धरौटी रहेको अड्डामा पेश गरी धरौटी राखेको रूपैयाँ फिर्ता लिनेदिने गर्नुपर्छ ।
(घ) दफा (ख) मा लेखिएको म्याद भित्र जँचाउनसकेको निस्सा ल्याउँन नसकेकोमा र दफा (ग) बमोजिमको म्याद भित्र फिर्ता लिन नआएमा समेत धरौटी फिर्ता हुँदैन । धरौटी रहेका अड्डाले म्याद नाघ्नासाथ सदर स्याहामा आम्दानी बाँध्ने ।
(८) उक्त सवालको रीत पुर्याई रामदासले सुन लैजान लाग्नु भएको छैन । निकासी पैठारी विषयमा ‘निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३’ माघ २२ गतेको गजेटमा प्रकाशित भएको छ । सो ऐन लागू भईसकेपछि २०१०।३।२३ को सवलाको दफा २ को रीत पुर्याउनु पर्दैन कि भन्नलाई निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ७ यस प्रकार छ : “यो ऐन जारी हुनभन्दा अगावै सरकारले कुनै वस्तु वा वस्तुहरूमा लगाई राखेका प्रतिबन्धको खारेजी वा संशोधनको सूचना नभएसम्म कायम रहनेछ ।” यस कारणले वीराटनगर वा राजवीराज लैजान निमित्त पनि ०१०।३।२३ को सवाल दफा २ को रीत पुर्याउनु पर्ने आवश्यकै थियो । तर पक्राउ भईसकेपछि मात्र ‘वीराटनगर वा राजवीराज लैजान लागेको हुँ’ भनी बयान हुनुबाट त सजायबाट बच्नलाई मात्र सो कुराको आधार लिनु भएको देखिन आउँछ । माथि लेखिएको प्रमाण परिबन्दबाट रामदासले सो सुन कानून बर्खिलाफ बिदेश निकासी गर्न लाग्नु भएको ठहर्छ ।
९. सजायको हकमा गोश्वाराले २०१० साल भाद्र २३ गतेमा प्रकाशित अर्थको गजेटको दफा ८ को (ख) अनुसार भनी बिगो जफत गरी बिगोबमोजिम दण्ड र ७ महिना कैद गर्ने गरी सजाय तोकेको रहेछ । बचाउ पक्षका वकिलले आफ्नो बहसमा यो पनि देखाउनु भएको छ कि सो मितिमा यस विषयको कुनै कानून बनेको वा गजेटमा प्रकाशित भएको छैन । हुँदै नभएको ऐन लगाई मेरो पक्षलाई गोश्वाराले सजाय तोकेकोको रहेछ । त्यसतर्फ विचार गरी हेरेमा माथि जिकिर गरिएको ०१०।३।२३ मा यस विषयको सवाल प्रकाशित भएको रहेछ । वकिलको जिकिरबमोजिम ०१०।५।२३ मा यस विषयको कुनै कानून प्रकाशित भएको छैन । गोश्वाराले ०१०।५।२३ को गजेटको उल्लेख गरी सजाय तोक्नु गोश्वाराको एक गम्भीर लापरवाही देखिन आएको छ । यस किसिमबाट सजाय तोक्दा कुनै पनि अभियुक्त आफ्नो सफाई निमित्त पैरवीको कारवाइमा अलमलिनु सम्भव हुन्छ ।
१०. यो वारदात २०१५।६।२१ मा भएकोले ‘नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१०’ को दफा ४ को उपदफा (ख) ले ‘निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३’ बमोजिम सजाय हुन्छ । निम्न लिखितानुसार गर्नु :
तपसील
अपीलाट प्रतिवादी रामदास राजभण्डारी का.ई. असन बहाल घर भई हाल वीरगञ्ज जेलमा बन्दी भईरहेका के ‘निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३’ को दफा ५ ले १ बर्षसम्म कैद वा बिगोबमोजिमसम्म दण्ड वा दुवै हुन सक्ने हुँदा बिगोबमोजिम भा.रू. २८९१।.अठ्ठाइस सय एकानब्वे चार आना दण्ड र कैद महिना ।७ सात हुने ठहर्छ । माथि ठहर भएबमोजिम कैद महिना ।७ सात भुक्तान भईसकेकोले कैदबाट अब तुरून्त मुक्त गरी दिने र उक्त बिगोबमोजिम दण्ड असुल गर्नु भनी वीरगञ्ज गोश्वारालाई पूर्जी लेखी पठाउन अ.त.फौ.फाँटमा लगत दिने ..........................१
निज रामदासलाई वीरगञ्ज गो.से.जफत गर्ने गरेको बिगो माथि इन्साफ खण्डमा लेखिएबमोजिम जफत नहुने ठहरेकोले लिनु नपर्ने हुँदा जफत गर्नु पर्दैन । ऐनका म्याद भित्र दर्खास्त पर्न आए बिगो फिर्ता दिनु, तर बिगोबमोजिम निजलाई लागेको दण्ड असुल नभएसम्म फिर्ता गर्नु पर्दैन भनी वीरगञ्ज गो.लाई ऐजन ऐजन ..........................२
इति सम्वत् २०१६ साल बैशाख २४ गते रोज ५ शुभम् ।