निर्णय नं. ८९५१ - बहुविवाह

ने.का.प. २०७०, अङ्क १
निर्णय नं.८९५१
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
माननीय न्यायाधीश श्री भरतराज उप्रेती
संवत् २०६७ सालको ०६७–CR–०८८६
फैसला मिति २०६९।७।१६।५
मुद्दाः– बहुविवाह ।
पुनरावेदक प्रतिवादीः नवलपरासी जिल्ला, त्रिवेणी गा.वि.स. वडा नं.६ मा बस्ने रामजीप्रसाद उपाध्याय
विरुद्ध
प्रत्यर्थी वादीः सरस्वती उपाध्यायको जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्नेः
मा.न्या.श्री उदयप्रकाश चापागाईं
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री एकराज आचार्य
मा.न्या.श्री गिरीराज पौडेल
§ आफूले जेठी श्रीमतीलाई पनि अंशसमेत दिई मिलापत्र गरिराखेको छु सल्लाहले नै विवाह गरेको भने पनि दोस्रो विवाह गर्न पाउने अवस्थाभन्दा बाहिर गएर कसूर गरिसकेपछि त्यसलाई उन्मुक्ति दिन कानूनले नमिल्ने भएकोले निजले गरेको कसूरजन्य अपराधबाट सफाई पाउने आधार अंश मुद्दाको मिलापत्र हुन नसक्ने ।
(प्रकरण नं.३)
§ जिल्ला अदालतबाट फैसला भइसकेपछि पुनरावेदन अदालतमा सो शुरुको फैसला विचाराधीन रहेको अवस्थामा जाहेरीको विपरीत जाहेरवालीबाट परेको निवेदन कुनै पनि मूल्यको प्रमाण होइन । अदालतमा केवल प्रमाणको महत्व हुन्छ सिफारिशको होइन । प्रमाण पनि विधिसम्मत् प्रक्रियाबाट मिसिलमा प्रवेश गरेको भएमा मात्र अदालतले त्यसमा ध्यान केन्द्रित गर्नुपर्ने ।
§ सरकार वादी मुद्दामा जाहेरवालीको हैसियत सरकारी गवाहको भन्दा बढी केही हुँदैन । यस्तो स्थितिमा पुनरावेदन अदालतमा सरकारी गवाहको प्रतिकूल अभिव्यक्तिले कुनै प्रामाणिक हैसियत राख्न सक्दैन । यस्ता सिफारिशी कथनले न्यायिक प्रयोजनका लागि कुनै पनि महत्व र हैसियत राख्न नसक्ने ।
(प्रकरण नं.४)
पुनरावेदक प्रतिवादी तर्फबाटः
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ बिहावारीको १० नं.
फैसला
न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत हेटौडाको मिति २०६६।८।९।३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–
जाहेरवाली र विपक्षबीच २०५६ सालमा जातीय परम्पराअनुसार विवाह गरी छोरा मिलन उपाध्यायको जायजन्म भई निज छोरा ६ वर्ष भइसकेका छन् । मलाई पतिले डेरा कोठामा राखी खान लाउनसमेत नदिई कुटपीटसमेत गरी मिति २०६१।१०।२९ गते घरमा जाँदा विपक्षी पतिले दोस्रो विवाह गरी मिति २०६१।११।२६ गते ल्याई, मलाई र छोरालाई हेला गरी घर डेरामा समेत बस्न नदिएको हुँदा विपक्षी रामजीप्रसाद उपाध्याय र निजको कान्छी श्रीमती रीना अधिकारी (उपाध्याय) लाई पक्राउ गरी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको सरस्वती उपाध्यायको जाहेरी दरखास्त ।
प्रतिवादीमध्येका रामजीप्रसाद उपाध्यायलाई पक्राउ गरी दाखिला गरेको हुँदा कानूनबमोजिम होस् भन्ने प्र.स.नि. कल्पना सिलवालसमेतको प्रतिवेदन ।
म र जेठी श्रीमती जाहेरवालीबीच पहिलादेखि नै मन नमिलेको हुँदा कान्छी श्रीमती रीना अधिकारी (उपाध्याय) सँग मिति २०६१।८।२ गते दोस्रो विवाह गरेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी रामजीप्रसाद उपाध्यायको बयान ।
प्रतिवादी रीना अधिकारी (उपाध्याय) लाई खोजतलास गर्दा फेला परिनन् भन्ने समेत व्यहोराको प्र.ज.रञ्जितसिंह र प्र.स.नि.कल्पना सिलवालको प्रतिवेदन ।
प्रतिवादी रामजीप्रसाद उपाध्यायले एक छोराकी आमा जाहेरवाली सरस्वती उपाध्याय घरमा श्रीमती हुँदाहुँदै प्रतिवादी रीना उपाध्यायसँग दोस्रो विवाह गरी जाहेरवालीलाई कुटपीट गर्ने र खान लाउनसमेत नदिई डेरा कोठाबाट समेत निकालेको हुन् भन्ने समेत व्यहोराको बुझिएका मानिस बिमला बिडारीसमेत जना–३ को एकै मिलानको कागज ।
प्रतिवादी रामजीप्रसाद उपाध्यायले एक छोराकी आमा जाहेरवाली सरस्वती उपाध्याय घरमा श्रीमती हुँदाहुँदै प्रतिवादी रीना उपाध्यायसँग दोस्रो विवाह गरी मुलुकी ऐन बिहावारीको महलको ९ नं.विपरीत दोस्रो विवाहको कसूर गरेकाले निज प्रतिवादी रामजीप्रसाद उपाध्यायलाई सोही महलको १० नं. बमोजिम सजाय तथा प्रतिवादी रीना अधिकारी उपाध्यायले पनि प्रतिवादी रामजीप्रसाद उपाध्यायको घरमा एक छोराकी आमा जाहेरवाली सरस्वती उपाध्याय छ भन्ने कुरा जानीजानी मुलुकी ऐन बिहावारीको १० नं. बमोजिमको कसूर गरेकाले निजउपर सोही महलको १० नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग पत्र ।
मेरो र जाहेरवाली सरस्वती उपाध्यायको बीच मिति २०५६।३।७ गतेका दिन जातीय परम्पराअनुसार विवाह भई २०५६ सालमा एक छोराको जायजन्म भएपछि निज जाहेरवाली घरमा झै–झगडा गर्ने, घरको काम धन्दा नगर्ने, माइत मात्रै जाने, घर व्यवहारको कुरा अन्यत्र भन्दै हिड्ने गरेकीले मैले सम्झाउँदा उल्टै मउपर झम्टने गर्ने गरेकी र मेरो घरको आर्थिक अवस्थासमेत निजैको कारण दयनीय बन्दै गएकाले निज जाहेरवाली र उनका दाजु विष्णु तिमल्सिनासमेतका मानिससँग सरसल्लाह हुँदा मलाई दोस्रो विवाह गर्न मौखिक स्वीकृति दिएकाले मैले मिति २०६१।८।२२ गतेका दिन चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं.१० बस्ने रीना अधिकारीसँग विवाह गरेपछि जाहेरवालीसमेत कार्यरत रहेको स्थान हेटौडामा आएकीले निजलाई समेत डेरा कोठामा राखी छोराको पढाई शुरु गर्ने बेला भएकोले बोडिर्ङमा सम्पर्क राखी रहेको अवस्था के कुरा कारणबाट हो थाहा भएन, निजैले पकाएको खाना खाई अफीस गएकोमा सोही दिन जाहेरी दिएकी र मलाई कार्यालय समयमा कार्यालय हाताभित्रैबाट मिति २०६१।१२।१५ गतेका दिन पक्राउ गरेका हुन् । मैले जाहेरवालीलाई खान लाउन दिई डेरामा कोठामा राखेको र निजैको मौखिक स्वीकृतिबाट रीनासँग विवाह गरेको हुँदा आरोपित कसूरमा सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी रामजीप्रसाद उपाध्यायले शुरु अदालतमा गरेको बयान ।
मिति २०६१।८।२२ गते रामजीप्रसाद उपाध्यायसँग मेरो विवाह भएको हो । प्रतिवादी रामजीप्रसाद उपाध्यायले जाहेरवाली सरस्वती उपाध्यायसँग विवाह गरेको समेत मलाई थाहा थिएन । म विवाह गरेर घर जाँदा सरस्वती उपाध्याय घरमै हुनुहुन्थ्यो । उहाँ घरमा भएपछि मात्र रामजीप्रसाद उपाध्यायको पहिले नै विवाह भएको कुरा थाहा पाएँ । घरमा हामी सबै मिलेरसँगै बसेका थियौ । खान लाउन नदिएको र कुटपीटसमेत गरेको हैन । रामजीप्रसाद उपाध्यायको अर्को पनि श्रीमती छन् भन्ने मलाई विवाह भएको ४, ५ दिनपछि घरमा गै सरस्वती उपाध्यायसँग भेट हुँदा उनले नै भनेपछि थाहा भएको हो । रामजीप्रसाद उपाध्यायले सरस्वती उपाध्यायको दाजु बिष्णु तिमिल्सेना समेतको सहमतीमा दोस्रो विवाह गरेको भनेर किन लेखाउनु भयो मलाई थाहा छैन र अभियोग दावीबमोजिम रामजीप्रसाद उपाध्यायको अर्को श्रीमती छ भन्ने कुरा मलाई थाहा थिएन । जाहेरी व्यहोरा झूठा हो । अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी रीना (अधिकारी) उपाध्यायले शुरु अदालतमा गरेको बयान ।
जाहेरवाली सरस्वती उपाध्याय र मौकामा कागज गर्ने बिमला बिडारीको बकपत्र भई मिसिल सामेल रहेको ।
प्रतिवादी रामजीप्रसाद उपाध्यायले मुलुकी ऐन बिहावारीको ९ नं. विपरीत बहुविवाहको कसूर अपराध गरेको ठहर्छ । साथै प्रतिवादी रीना अधिकारीले पनि सोही महलको १० नं. बमोजिम प्रतिवादी रामजीप्रसादको अर्को श्रीमती छँदाछँदै जानी बुझी विवाह गरी उक्त बिहावारीको १० नं. बमोजिमको कसूर अपराध गरेको ठहर्छ । प्रतिवादी रामजीप्रसाद उपाध्याय तथा रीना अधिकारीलाई बिहावारीको ९, १० नं. अनुसारको कसूर अपराध गरेमा सोही बिहावारीको १० नं. बमोजिम जनही तजविजी कैद वर्ष २ र जरीवाना रु.१५,०००।– हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु मकवानपुर जिल्ला अदालतको मिति २०६३।११।२३ गतेको फैसला ।
शुरु अदालतले गरेको फैसलामा चित्त बुझेको छैन । मलाई रामजीप्रसादको अर्की श्रीमती छन् भन्ने थाहा थिएन, जाहेरी झूठा हो भनी मैले गरेको बयानलाई आधार मानी कसूरदार ठहर्याउन मिल्दैन । तथ्य स्वीकार गर्नु र अपराध स्वीकार गर्नु एउटै कुरा होइन । प्रत्यक्ष ठोस प्रमाणको अभावमा आत्मगत आधारले कसूर सजाय गर्न मिल्दैन । जाहेरवालीले भनेकीले सबै कुरा थाहा पाएको भनी वादी पक्षको सरकारी गवाह विमला विडारीको हचुवा बकपत्रलाई आधार लिई बिहावारीको १० नं. विपरीत सजाय गर्ने गरी भएको शुरु फैसला बदर गरी अभियोग दावीबाट सफाई पाउने गरी अर्को फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रीना अधिकारी उपाध्यायको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
जाहेरवाली तथा निजको दाजुसमेत सँगको मैखिक स्वीकृति लिई विवाह गरेको हो र विवाहको कुरा जाहेरवालीलाई पहिल्यै थाहा थियो । तत्कालै थाहा पाएको कुरालाई हदम्यादभित्रको पार्न झूठो मिति राखी जाहेरी गरेकी हुन् । जाहेरवालीको जाहेरी तथा निजको बकपत्रको कथन फरक रहेको छ । वादी पक्षका गवाह बिमला विडारीको बकपत्रलाई आधार लिन मिल्ने अवस्था छैन । शुरु मकवानपुर जिल्ला अदालतबाट कैद सजाय गर्दा न्यायिक मनको प्रयोगसमेत नगरी प्रमाणको अभावमा दोषी ठहर गरेको मिलेको छैन । जाहेरी र निजको बकपत्र आपसमा बाझिएको र वादी पक्षको साक्षीको बकपत्रसमेत बाझिई रहेको अवस्थामा सुनी सुनाई प्रमाण होइन भन्ने प्रमाण ऐनको सिद्धान्ततर्फ ध्यान नदिई भएको शुरु फैसला उल्टी गरी अभियोग दावीबाट सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रामजीप्रसाद उपाध्यायको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
पुनरावेदक प्रतिवादी रामजीप्रसाद उपाध्यायले आफ्नो बयानमा जेठी श्रीमतीबाट घर व्यवहार चल्नै नसक्ने भएकोबाट दोस्रो श्रीमती विवाह गरेको भनी बयान गरेको परिप्रेक्ष्यमा परिस्थितिगत विवेचना र विश्लेषण नगरी निजलाई २ वर्ष कैद र रु.१५,०००।– जरीवाना गर्ने गरी फैसला भएको र पुनरावेदक प्रतिवादी रीना अधिकारीले आफ्नो बयानमा लोग्नेको जेठी श्रीमती छ भन्ने थाहा नभएको भनी बयान गरेको अवस्थामा जेठी श्रीमती भएको निजलाई थाहा भएको भन्ने प्रत्यक्ष प्रमाणको अभावमा निज प्रतिवादीलाई कसूरदार ठहराई गरेको शुरु फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि पुनरावेदन सरकारी वकील कार्यालय, हेटौडालाई जनाउ दिई नियमानुसार पेश गर्नू भन्ने समेत व्यहोराको मिति २०६५।३।२० को आदेश ।
तहकीकातको समयमा बुझिएका प्रमाणको रूपमा रहेका गीता रायमाझी र मीना थापामगर नबुझी नहुने साक्षी देखिएकोले निजहरूलाई अ.बं.११५ नं. बमोजिम पुनरावेदन सरकारी वकील कार्यालयमार्फत झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०६५।६।२।५ को आदेश ।
प्रतिवादीमध्येका रामजीप्रसाद उपाध्याय मेरो श्रीमान् र रीना अधिकारी मेरी सौता हुनुहुन्छ । मिति २०५६।३।७ मा रामजीप्रसाद उपाध्यायसँग मेरो विवाह भएको थियो । हामीबाट एक छोराको जायजन्मसमेत भएको छ । विवाहपश्चात् म केही वर्ष श्रीमानसँगै रही दाम्पत्य जीवन बिताई आइरहेकी थिए । श्रीमानसँगै बस्ने क्रममा घरायसी व्यवहारले मनमुटाव भई मलाई एकासगोलमा बस्न ईच्छा नभई मैले आफ्नो जीविकोपार्जनका लागि श्रीमानसँग केही रकम दिन अनुरोध गरेको र उहाँसँग पटक पटक अनुरोध गर्दा पनि दिन आलटाल गर्नुभएकोले सोही रिसइवीको कारण मैले मेरो श्रीमानसमेत उपर बहुविवाहमा जाहेरी दिएकी थिएँ । सोही जाहेरीबमोजिम निजहरूलाई मकवानपुर जिल्ला अदालतबाट जनही रु.१५,०००।– जरीवाना र २ वर्ष कैद हुने ठहरी फैसला भएकोमा सो फैसलाविरुद्ध मेरो श्रीमान् समेतले यस अदालतमा पुनरावेदन गर्नु भई हाल उक्त मुद्दा कार्यवाहीयुक्त अवस्थामा रहेको छ । मैले शुरु मकवानपुर जिल्ला अदालतमा पारिवारिक मनमुटावको कारण जे जस्तो व्यहोराको बकपत्र गरे तापनि वास्तविक रूपमा जीविकोपार्जनको लागि मलाई कुनै रकम नदिनु भएको कारण मेरो श्रीमान् रामजीप्रसाद उपाध्याय विरुद्ध प्रस्तुत मुद्दा दिएकी थिएँ । साथै उहाँ विरुद्ध मैले शुरु जिल्ला अदालतमा मानाचामल मुद्दासमेत दिएकोमा मेरो श्रीमान्ले यस अदालतमा पुनरावेदन गर्नुभई उक्त मुद्दामा मानाचामलवापत मेरो श्रीमानले खाइपाई आएको मासिक तलवबाट जे जति रकम रोक्का रहेको छ, सोही रकमबाट मैले भुक्तानी पाउने गरी मिति २०६६।१।७ मा मिलापत्र गरी सो मिलापत्रमा उल्लिखित रकम मैले भुक्तानीसमेत बुझिसकेकी छु । मेरो सल्लाहबमोजिम नै उहाँले मिति २०६१।८।२२ मा प्रतिवादीमध्येकी रीना अधिकारीसँग विवाह गर्नुभएको हो । उक्त विवाहमा म पनि सहभागी रहेकी थिएँ । जाहेरी दरखास्तमा मैले मिति २०६१।१०।२९ मा मेरो श्रीमान्ले दोस्रो विवाह गरेको थाहा पाएको भन्ने लेखाई केवल मेरो तत्कालीन अवस्थामा उठेको आक्रोसको अभिव्यक्तिमात्र हो । तसर्थ निज दुबै जनालाई जाहेरी एवं अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन । अतः दुबै जनालाई प्रस्तुत मुद्दाबाट सफाई हुने गरी फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०६६।२।१४ को जाहेरवाली निवेदिका सरस्वती तिमल्सिना (उपाध्याय) ले पुनरावेदन अदालत हेटौडामा दिएको निवेदन पत्र ।
पुनरावेदक प्रतिवादी रामजीप्रसाद उपाध्यायलाई बिहावारीको १० नं.ले एक वर्ष कैद र रु.१५,०००।– (पन्ध्र हजार) जरीवाना हुने ठहर्छ । पुनरावेदक प्रतिवादी रीना अधिकारी उपाध्यायले अभियोग दावीबाट सफाई पाउने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत हेटौडाको मिति २०६६।८।९ को फैसला ।
जाहेरीवालीले विवाह गरेको कुरा निजले मिति २०६१।१०।२९ गते थाहा पाएको भन्ने कुरा झूठा हो । मैले मिति २०६१।८।२२ गते नै जाहेरवालीसमेतको सल्लाहमा रीना अधिकारीसँग विवाह गरेको हुँ । निजको स्वीकृतिमा मेरो विवाह भएकोले निजलाई तत्कालै थाहा थियो तसर्थ हदम्यादको अभावमा अभियोग दावी खारेज गर्नुपर्नेमा तथ्यमा प्रवेश गरी कैद र जरीवाना गर्ने गरेको फैसलामा प्रमाणको समुचित मूल्याङ्कन नभएको हुँदा उचित मूल्याङ्कन गरी अभियोग दावीबाट सफाई पाऊँ भन्ने समेतको प्रतिवादी रामजीप्रसाद उपाध्यायको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालतको फैसला मिलेको छ छैन तथा पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन, सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी रामजीप्रसाद उपाध्यायले प्रतिवादी रीना अधिकारीलाई दोस्रो विवाह गरेको हुँदा कारवाही गरिपाऊँ भन्ने जाहेरी भएकोमा प्रतिवादीमध्येकी रीना अधिकारी उपाध्यायले आफूलाई जेठी श्रीमती भएको थाहा थिएन भन्ने जिकीर लिएको तथा प्रतिवादी रामजीप्रसाद उपाध्यायले जाहेरवाला सरस्वती उपाध्यायको सल्लाहमा नै विवाह गरेको हुँदा निजलाई पहिले नै जानकारी भएकोले हदम्याद नाघेर दायर भएको फिराद खारेज गरी सफाई पाऊँ भन्ने जिकीर लिएको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी रामजीप्रसाद उपाध्यायको घरमा जेठी श्रीमती जाहेरवाली सरस्वती उपाध्याय हुँदाहुँदै अर्की प्रतिवादी रीना अधिकारीलाई विवाह गरेकोले बिहावारीको १० नं. अनुसार प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने अभियोग दावी रहेको पाइन्छ । प्रतिवादी रामजीप्रसाद उपाध्यायले अनुसन्धान अधिकारी र अदालतमा बयान गर्दा समेत जाहेरवाला जेठी श्रीमती र घरमा एउटा छोरा हुँदाहुँदै प्रतिवादी रीना अधिकारीलाई विवाह गरेको भनी स्वीकार गरी बयान गरेको पाइन्छ भने अर्को प्रतिवादी रीना अधिकारीले आफूलाई जाहेरवालाको घरमा जेठी श्रीमती छ भन्ने जानकारी थिएन तर विवाह गरेको हो भनी अदालतमा बयान गर्दा स्वीकार गरेको देखिन्छ । यसरी प्रस्तुत मुद्दामा जाहेरवालाले भने जस्तो दुबै प्रतिवादीहरूले जेठी श्रीमती छ भन्ने जानीजानी विवाह गरेको हो होइन भन्ने सम्बन्धमा हेर्दा कान्छी श्रीमतीलाई विवाह गर्न लाग्दा लोग्नेले घरमा जेठी श्रीमती छन् भने सम्म थाहा जानकारी हुन नसक्ने र वादी पक्षले पनि सो आधारमा जानकारी थियो भन्न नसकेको अवस्थामा अनुमानको भरमा पहिल्यै जानकारी भएको अर्थ गर्न नमिल्ने भएकोले तथा सो उपर नेपाल सरकारको पुनरावेदन नपरेकोले निजलाई सफाई दिने गरेको पुनरावेदन अदालतको फैसलामा अन्यथा गर्नुपर्ने देखिएन ।
३. अब प्रतिवादी रामजीप्रसादले आफूले जेठी श्रीमतीसँग सल्लाहले विवाह गरेको र निजलाई विवाह हुँदैको अवस्थामा जानकारी भएकोले अभियोग दावी खारेज हुनुपर्दछ भन्ने जिकीरका सम्बन्धमा हेर्दा निजले सल्लाहले विवाह गरेको भने पनि निज सरस्वतीको मञ्जूरी भएको भए जाहेरी नै दिने अवस्था पर्ने थिएन अर्कोतर्फ मिति २०६१।८।२२ मा यी पुनरावेदक प्रतिवादी रामजीप्रसाद उपाध्यायले अर्का प्रतिवादी रीना अधिकारीसँग चितवनमा विवाह गरेको कुरा निज जाहेरवालीलाई उही बेलामा थाहा थियो भन्ने जिकीर लिए पनि त्यसको वस्तुनिष्ठ आधार देखाउन सकेको पाइदैन । जाहेरवालीले अदालतमा बकपत्र गर्दा समेत मिति २०६१।१०।२९ मा छोराको जन्म दर्ता गर्ने बेलामा दोस्रो विवाह गरेको थाहा भएको हो भन्ने व्यहोरा उल्लेख गरेको पाइन्छ । पुनरावेदकले आफूले जेठी श्रीमतीलाई पनि अंशसमेत दिई मिलापत्र गरिराखेको छु सल्लाहले नै विवाह गरेको भने पनि दोस्रो विवाह गर्न पाउने अवस्थाभन्दा बाहिर गएर कसूर गरिसकेपछि त्यसलाई उन्मुक्ति दिन कानूनले नमिल्ने भएकोले निजले गरेको कसूरजन्य अपराधबाट सफाई पाउने आधार अंश मुद्दाको मिलापत्र हुन सक्ने देखिएन ।
४. जिल्ला अदालतबाट फैसला भइसकेपछि पुनरावेदन अदालतमा सो शुरुको फैसला विचाराधीन रहेको अवस्थामा जाहेरीको विपरीत जाहेरवालीबाट परेको निवेदन कुनै पनि मूल्यको प्रमाण होइन । अदालतमा केवल प्रमाणको महत्व हुन्छ सिफारिशको होइन । प्रमाण पनि विधिसम्मत प्रक्रियाबाट मिसिलमा प्रवेश गरेको भएमा मात्र अदालतले त्यसमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । त्यसमा पनि प्रस्तुत सरकार वादी मुद्दामा जाहेरवालीको हैसियत सरकारी गवाहको भन्दा बढी केही हुँदैन । यस्तो स्थितिमा पुनरावेदन अदालतमा सरकारी गवाहको प्रतिकूल अभिव्यक्तिले कुनै प्रामाणिक हैसियत राख्न सक्दैन । यस्ता सिफारिशी कथनले न्यायिक प्रयोजनका लागि कुनै पनि महत्व र हैसियत राख्दैनन् ।
५. तसर्थ, पुनरावेदक प्रतिवादी रामजीप्रसाद उपाध्यायले घरमा जेठी श्रीमती हुँदाहुँदै अर्का प्रतिवादी रीना अधिकारीलाई दोस्रो विवाह गरेको देखिँदा निज प्रतिवादी रामजीप्रसाद उपाध्यायलाई बिहावारीको १० नं. ले एक वर्ष कैद र रु.१५,०००।– (पन्ध्र हजार) जरीवाना हुने तथा अर्का प्रतिवादी रीना अधिकारी उपाध्यायले अभियोग दावीबाट सफाई पाउने ठहर्याई भएको पुनरावेदन अदालत हेटौडाको मिति २०६६।८।९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमबमोजिम अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.भरतराज उप्रेती
इति संवत् २०६९ साल कात्तिक १६ गते रोज ५ शुभम्––
इजलास अधिकृतः भोलानाथ ढकाल