निर्णय नं. ३७ - बेरीतसँग थुने

निर्णय नं. ३७ ने.का.प. २०१६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
न्यायाधीश भैरवराज पन्तोपाध्या
न्यायाधीश श्री महेन्द्रबहादुर महत क्षेत्री
न्यायाधीश श्री भगवतीप्रसाद सिंह
ठा.नं. २१
निवेदक : ले.ज.मृगेन्द्र शम्शेर ज.ब.रा.
विरूद्ध
विपक्षी : काठमाडौं मैजिष्ट्रेट
मुद्दा : बेरीतसँग थुने
(१) व्यक्तिगत स्वतन्त्रता ऐनको दफा ४ सार्वजनिक सुरक्षा ऐनबमोजिम मैजिष्ट्रेटले कारवाई गरी सकेकोमा–गरेको कारवाई ऐन सवालबमोजिम भएको छ, छैन भन्ने प्रश्न उठेमा–व्यक्तिगत स्वतन्त्रता ऐनको दफा ४ अन्तर्गत अदालतले विचार गर्न हुने ।
मैजिष्ट्रेटको कारवाई ऐन सवालबमोजिम भएको छ, छैन भन्ने विषयमा व्यक्तिगत स्वतन्त्रताको ऐन ४ दफा अन्तर्गत यस न्यायालयले मैजिष्ट्रेटको कारवाई कानूनी बेकानूनी के हो त्यसको विचार गर्नमा कुनै ऐन सवालले बाधा दिएको देखिंदैन ।
(प्रकरण नं. ७)
(२) ने.सा.सु.ऐन प्रयोग गरी नजर बन्द राख्न परेमा प्रयोग गर्नुपर्ने कारण खोली पक्राउ गरी कारण सहितको आज्ञापत्र दिनुपर्ने भएको कारवाई यस्तो नदेखिएमा कारवाई बेहिसाव र लापरवाहिसँग भएको मानिने ।
ने.सा.सु.ऐन प्रयोग गरी नजरबन्द राख्न पर्दा पहिले पक्राउ गर्ने र त्यसपछि थुनामा राख्ने ठहर पर्चा गर्नुपर्ने उक्त ऐनमा उल्लेख नभएकोले सो ऐन प्रयोग गर्नुपर्ने अवस्था परे प्रयोग गर्नु परेको अवस्था कारण देखाई पक्राउ गरी सो कारण खोली अज्ञापत्र दिए पुग्नेमा माथि उल्लेख गरिएबमोजिम बेहिसाव लापरवाहीसँग कारवाई गरेको ।
(प्रकरण नं. ९)
(३) का. मै.सवाल नं. १ (ह) ने.सा.सु.ऐन प्रयोग गर्ने अख्तियार अशिष्टेन्ट मैजिष्ट्रेटलाई नभएको अख्तियार प्रयोग गरी भएको कारवाई कायम गर्ने प्रयास भएको देखिए गल्ती देखिने ।
मैजिष्ट्रेट सवालको १ नं. (ह) दफाले ने.सा.सु. ऐन प्रयोग गर्न अशिष्टेण्ट मैजिष्ट्रेटको अधिकार नभएकोमा जेष्ठ १६ गते उक्त ऐन प्रयोग गरी पर्चा गर्ने काम अशिष्टेण्ट मैजिष्ट्रेटबाट भएको समेत हुँदा सो बेहिसाब कारवाई कायम गराउन न्यायालयमा उजुर परी लेखापढी चलेपछि मात्र जेष्ठ २८ गते फेरि अर्को पर्चागरी सो पर्चामा सुरक्षा भङ्ग गर्ने संभावना देखिएको भन्ने लवज भएको पनि देखिने हुँदा आइन्दा यस्तो नहोस भन्ना निमित्त गल्ती देखिएका कुराको उल्लेख गरी नसिहत दिनुपर्ने ।
(प्रकरण नं. ९)
(४) नेपाल सार्वजनिक सुरक्षा ऐन नं. २, ५ (क) र मै. सवाल नं. १ (८) सुरक्षा र सर्वजनिक स्थिति कयम रहेकोमा बाधा पुर्याउने सम्भावना भएका लगाइन सकिने नजरबन्द राख्न परेमा नजरबन्द राख्न परेको कारण खुलाई सूचना दिनुपर्ने इलाका पुलिस वा अन्यत्रबाट रिपोर्र्ट आएमा मैजिष्ट्रेटले प्रयोगगर्न पाउने भईसकेको घटनालाई उल्लेख गरी आएको रिपोर्र्टमा–मुलुकी ऐन सवालबमोजिम कारवाई हुनुपर्ने सार्वजनिक सुरक्षा ऐन लगाइएमा मनासिव भन्न नहुने ।
ने.सा.सु. ऐनको २ दफामा राष्ट्रको सुरक्षा वा सार्वजनिक स्थिति कायम राख्न कुनै कामबाट रोक्न जरुरी सम्झे देहायबमोजिम आज्ञा निकाल्न सक्दछ भन्ने र ५ (क) दफाले नजरबन्द राखेमा त्यसको आज्ञा निकाल्न परेको कारण खोली सूचना दिनेछ भन्ने लेखिएको मैजिष्ट्रेट सवालको १ नं. (८) दफामा ने.सु. ऐनको प्रयोग गर्नै पर्यो भन्ने इलाका पुलिसको रिपोर्र्ट आएमा र अन्यत्रबाट खबर आएमा प्रयोग गर्नसक्ने छन भन्ने लेखिएको समेतबाट राष्ट्रको सुरक्षा वा सार्वजनिक स्थिति कायम रहेकोमा बाधा पुर्याउने सम्भावना देखियो भने उक्त व्यक्तिलाई नजरबन्द राखी नजरबन्द राख्नको कारण देखाई सूचना दिनुपर्ने ।
पुलिस रिपोर्र्टबाट इँटा ढुड्डा हानी हुल हुज्जत गरी शान्ति भङ्ग गरे भनी घटना भईसकेको कुरा देखाई रिपोर्र्ट गरेको देखिँदा प्रचलित मुलुकी ऐन सवालबमोजिम जो कारवाई हुनुपर्ने हो सो बमोजिम कारवाई चलाई सभा जुलुसमा भाग लिन मनाही भएका व्यक्तिले पनि भाग लिई शान्ति भङ्ग गरेको देखिन ठहर्न आएमा ऐन सवालबमोजिम जो हुने सजाय दिन पर्ने मा सो नगरी मैजिष्ट्रेटले सार्वजनिक सुरक्षा ऐन लगाएको मनासिव भन्न नहुने ।
(प्रकरण नं. १० र १२)
काठमाडौं मैजिष्ट्रेट तर्फबाट : एटर्नी जनरल
फैसला
१. यसमा हिजो जेष्ठ १६ गते मेरा छोरा भरत शम्शेर, जगदीस शम्शेर जना २ लाई भेट्न पुलिस आएका उनीहरू बाहिर थिए फर्केपछि के कुरालाई हो भनी हाजीर हुन गएका दुवैलाई थुनुवा पुर्जी समेत नदिई बिना कारण बेइज्जतिका साथ नखु जेलमा लगी थुनेको छ रे भन्ने बुझिनाले निवेदन गरेको छु । व्यक्तिगत स्वतन्त्रताका ऐनबमोजिम के आरोप लगाई थुनेको रहेछ ? त्यस्तो गैरकानूनी तरिकाले थुनेमा ऐनबमोजिम गरी छुटाई पाउँ भन्ने ले.ज. मृगेन्द्र शम्शेरका निवेदनपत्रमा कुन अपराधमा के कारणले कुन व्यहोरासँग थुनेको हो । काठमाडौं मैजिष्ट्रेटको कैफियत लिई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०११।२।१७ मा आदेश भएको ।
२. ०११ साल जेष्ठ १५ गतेकादिन भारतीय शिष्टमण्डल अतिथिरूपमा नेपाल काठमाडौं आउनु भएको अवस्था जुत्ता, ईंटा, ढुंगा हानी बेइज्जती गरी घृणा पैदा गरी दुवै सरकारको मैत्री भावना समेत खलल गर्ने गरी शान्ति सुरक्षा भङ्ग गर्ने भनी लेखी आएको मध्ये श्री भरत शम्शेर, जगदीस शम्शेर देखिएको र सो मध्ये श्री भरत शम्शेरलाई पूर्व १ नं.को ध्वंसात्मक आन्दोलनको अभियोगमा ४ भञ्ज्याङ्ग बाहिर जान र भाषण जुलुसमा भाग दिन नपाउने रोक लगाई राखेको व्यक्तिले लेखिएबमोजिम सुरक्षा भङ्ग गर्ने जगदीस शम्शेरलाई समेत मैजिष्ट्रेट सवालको १ नं. (८) ड,ष, दफा र ने.सा.सु. ऐन ०७ साल २ नं. बमोजिम पक्राउ गर्ने समेत यस अफिसबाट ०११।२।१६।७ मा पर्चा भई पक्राउ गर्न स.पु.गो.लाई लेखी गइरहेको छ उक्त लेखिएका मानिस पक्राउ भई आई यस अफिसमा बुझाएको नहुँदा लेखी पठाएको छु भन्ने ०११।२।२५ को काठमाडौं मैजिष्ट्रेटको जवाफ ।
३. काठमाडौं मैजिष्ट्रेटका ०११।२।१६ का पत्रबमोजिम पक्राउ भई ऐजन २६ गतेका मैजिष्ट्रेटमा बुझाएको देखिन्छ भन्ने ०११।३।१ मा स.पु.गो.ले लेखेको चिठ्ठी ।
४. नखुजेल बुझ्ने ०११।२।३२ का डिभिजन बेञ्चका आदेशले बुझिंदा उक्त जवानहरू राजकाज सम्बन्धमा पक्राउ गरी स.पु.गो.बाट ०११।२।१६ मा यस जेलमा बुझाउन ल्याएकोले बुझी थुनामा राखेको भन्ने ०११।३।१ मा नखुजेलबाट लेखी आएको ।
५. व्यक्तिगत स्वतन्त्रता ऐनबमोजिम कारवाई चलेको मानिस थुनामा रहेका भई अत्यन्त जरूरी हुँदा बहसलाई एटर्नी जनरल पठाई दिनु भनी गृह मन्त्रालयलाई लेखी पठाई पेश गर्नु भन्ने ०११।३।४ मा आदेश भएको ।
६. न.सा.सु.ऐन बडा हाकिमहरूले प्रयोग गर्ने अधिकार ८।३।१३ पछि अरू केही आदेश दिएको छ भने सो र ने.सा.सु.ऐनको अंग्रेजी प्रति समेत तारिखका दिन ल्याउनु होला भनी एटर्नी जनरललाई लेखी पठाई ०११।३।१७ मा यो मुद्दा फुल बेञ्चमा पेश गर्नु भन्ने ०११।३।११ मा डिभिजन बेञ्चबाट आदेश भएको ।
७. सार्वजनिक सुरक्षा ऐनबमोजिम मैजिष्ट्रेटले कारवाई गरी सकेपछि सो विषयमा सो ऐनको १२ दफाबमोजिम मैजिष्ट्रेटले अदालतमा सवाल जवाफ गर्नु पर्दैन भन्ने उल्लेख भएकोले व्यक्तिगत स्वतन्त्रताको ऐनबमोजिम कारवाई हुन सक्तैन भन्ने एटर्नी जनरलको जिकीरलाई मैजिष्ट्रेटको कारवाई ऐन सवालबमोजिम भएको छ, छैन भन्ने विषयमा व्यक्तिगत स्वतन्त्रताको ऐन ४ दफा अन्तर्गत यस न्यायालयले मैजिष्ट्रेटको कारवाई कानूनी बेकानूनी के हो त्यसको विचार गर्नमा कुनै ऐन सवालले बाधा दिएको देखिदैन ।
८. एटर्नी जनरलले बहस दिनु भएको व्यहोरा बुझी भरत शम्शेर, जगदिश शम्शेरलाई थुनामा राखे बारे कारवाई चलाएको काठमाडौं मैजिष्ट्रेट आई.जि.पी. पुलिस गोश्वार समेतबाट आएका मिसिल कागज हेर्दा भारतीय संसदीय शिष्टमण्डल नेपाल सरकारको अतिथिको रूपमा आउनु भएकोलाई बेइज्जती गरी जुत्ता ईंटा, ढुंगा हानी हुल हुज्जत गरी शान्तिसुरक्षा भङ्ग गर्ने निम्न लिखित व्यक्तिहरू भएकाले उचित कारवाईको लागि सूचित गरेको छु भन्ने जेष्ठ १५ गते आई.जी.पी बाट लेखी आएकोमा भरत शम्शेर, जगदीस शम्शेरको समेत नाम लेखिएको उक्त रिपोर्र्ट नक्कल राखी कमिश्नर अफिसबाट मैजिष्ट्रेटमा आई भरत शम्शेरलाई पूर्व १ नं. को ध्वंसात्मक आन्दोलनको अभियोगमा ४ भञ्ज्याङ्ग बाहिर जान र भाषण जुलुसमा भाग लिन मनाही भएको व्यक्तिले शान्ति भङ्ग गरेको भन्ने समेत लेखी अरूका हकमा पुलिस रिपोर्र्टको आधार लिई सुरक्षा ऐन ०७ सालको २ नं. बमोजिम पक्राउ गर्न स.पु.गो.मा लेखी पठाउने भनी जेष्ठ १६ गते असिस्टेन्ट मैजिष्ट्रेटबाट पर्चा गरी सो पर्चाबमोजिम स.पु.गो.मा लेखी पठाउँदा पर्चामा नलेखिएको शान्ति सुरक्षामा बाधा पर्ने सम्भावना भएको तथा स्थिति कायम राख्न निमित्त भन्ने लवज थपी लेखिएको थुना तर्फबाट दाखिल भएको स.पु.गो.बाट जेष्ठ १६ गते जगदीस शम्शेरका नाउँमा लेखी गएको पुर्जीमा तपाँईसँग केही कुरा सोध्नु बुझ्नु पर्दा यस गोश्वारामा आउनु होला भनी लेखिएको मैजिष्ट्रेट अफिसबाट लेखी आएको वारेन्ट चिठ्ठीबमोजिमको कुरा नलेखिएको आई.जि.पी अफिसबाट आएका फाइलसाथ रहेको भरत शम्शेर, जगदीस शम्शेरलाई पक्राउ गर्ने स.पु.गो.बाट लेखेको वारेन्ट नक्कलमा शान्ति सुरक्षा खलल गर्ने नियत गरेको भन्ने र मिति जेष्ठ १८ गते लेखिएको नखुजेल समेतका जवाफबाट जेष्ठ १६ गते नै पक्राउ परी सकेका व्यक्तिउपर १८ गते वारेन्ट पठाउनु पर्ने अवस्था नदेखिएको स.पु.गो.ले जेष्ठ १६ गते नै पक्राउ गरेको व्यक्तिलाई जेष्ठ २४ गते कागज गराई २६ गते मैजिष्ट्रेट अफिसमा अफिसमा बुझाएको, मैजिष्ट्रेटसवालका २ नं. (ख) दफाले पुलिसले ३ दिन भित्रमा बुझाउनु पर्ने जेष्ठ १६ गते पक्राउ गरी ठाडो कागजै नगराई तरुन्त नखुजेलमा लगी गुनी २४ गते ठाडो कागज गराई २६ गते मात्र मैजिष्ट्रेट अफिसमा बुझाउनाको मनासिव कारण केही नदेखाएको जेष्ठ २६ गते मैजिष्ट्रेट अफिसमा बुझाए पछि उक्त व्यक्तिको बयान लिई जेष्ठ १५ गते दिनभर घरैमा छु । अन्यत्र गएको छैन भन्ने भरत शम्शेर ११।। बजे गौचर हवाई ग्राउण्डतिर गए तापनि आफ्नो कार्यबस १२ बजे फिरी आएको भारतीय शिष्टमण्डल आएको बेला हवाई गौचरमा छैन भन्ने जगदीस शम्शेरको बयान इन्कारी भएपनि ढुङ्गा,ईँटा जुुत्ता हानी नारा लगाई अतिथि शिष्टमण्डलको बेइज्जती गरी सुरक्षा भङ्ग गरको भन्ने आई.जी.पी.को रिपोर्र्ट पर्न आएकोले शान्ति सुरक्षा कायम भईराखेको ठाउँमा अशान्ति हुने गरी शान्ति भङ्ग गरेको भन्ने पुलिस रिपोर्र्टबाट देखिएको वैधानिक तवरबाट बिरोध गर्ने भन्ने जिकिर भए पनि पुलिस रिपोर्र्टबाट इंटा ढुङ्गा जुत्ता हानेको देखिन आएबाट हालै छाडी दिंदा शान्ति सुरक्षा भङ्ग भई अशान्ति गरी गराई सुरक्षा भङ्ग गर्ने सम्भावना देखिएकोले का. मैजिष्ट्रेट सवालका १ नं. (८) दफा र ने.सा.सु.ऐन.७ साल २ नं. १ (क) दफाबमोजिम नजरबन्द राख्ने भनी जेष्ठ २८ गते पर्चा गरी भरत शम्शेर जगदीस शम्शेरलाई आज्ञापत्र दिएको भरत शम्शेर जगदीस शम्शेरलाई आज्ञापत्र दिएको भतर शम्सेरबाट दाखिल भएको आज्ञापतमा सोपत्र लेखिएको मिति र आज्ञापत्र निकाल्ने पर्चा भएको मिति समेत नखुलेको आई.जी.पी. अफिसका फाइलमा रहेको आज्ञापत्रको नक्कलका पेट व्यहोरामा पर्चा भएको मितिसम्म रहेकोमा पनि भरत शम्शेरका नाउँकोमा जेष्ठ १६ गते जगदीस शम्शेरका नाउँकोमा जेष्ठ २८ गतेको पर्चा भनी लेखिएको समेत देखियो ।
९. ने.सा.सु. ऐन प्रयोग गरी नजरबन्द राख्नु पर्दा पहिले पक्राउ गर्ने र त्यसपछि थुनामा राख्ने ठहर पर्चा गर्नुपर्ने उक्त ऐनमा उल्लेख नभएकोले सो ऐन प्रयोग गर्नुपर्ने अवस्था परे प्रयोग गर्नु परेको अवस्था कारण देखाई पक्राउ गरी सो कारण खोली आज्ञापत्र दिए पुग्नेमा माथि उल्लेख गरिएबमोजिम बेहिसाब लापर्वाहीसँग कारवाई गरेको र मैजिष्ट्रेट सवालका १ नं. (ह) दफाले ने.सा.सु. ऐन प्रयोग गर्न असिस्टेन्ट मैजिष्ट्रेटको अधिकार नभएकोमा जेष्ठ १६ गते उक्त ऐन प्रयोग गरी पर्चा गर्ने काम असिस्टेन्ट मैजिष्ट्रेटबाट भएको समेत हुँदा सो बेहिसाब कारवाई कायम गराउन न्यायालयमा उजुर परी लेखापढी चलेपछि मात्र जेष्ठ २८ गते फेरी अर्को पर्चा गरी सो पर्चामा सुरक्षा भङ्ग गर्ने सम्भावना देखिएको भन्ने लवज थपेको भनी देखिने हुँदा आइन्दा यस्तो नहोस भन्ना निमित्त गल्ती देखिएका कुराको उल्लेख गरी नसिहत दिनपर्ने ।
१०. थुनामा राखेको मनासिव बेमनासिवतर्फ हेर्दा ने.सा.सु. ऐनको २ दफामा राष्ट्रको सुरक्षा वा सार्वजनिक स्थिति कायम राख्न कुनै कामबाट रोक्न जरूरी सम्झे देहायबमोजिम आज्ञा निकाल्न सक्दछ भन्ने र ५ (क) दफाले नजरबन्द राखेमा त्यसको आज्ञा निकाल्न परेको कारण खोली सूचना दिनेछ भन्ने लेखिएको मैजिष्ट्रेट सवालका १ नं. (८) दफामा ने.सु. ऐनको प्रयोग गर्नै पर्यो भन्ने इलाका पुलिसको रिपोर्र्ट आएमा र अन्यत्रबाट खबर आएमा प्रयोग गर्न सक्ने छन भन्ने लेखिएको समेतबाट राष्ट्रको सुरक्षा वा सर्वाजनिक स्थिति कायम रहेकेमा बाधा पुर्याउने सम्भावना देखियो भने उक्त व्यक्तिलाई नजरबन्द राखी नजरबन्द राख्नका कारण देखाई सूचना दिनुपर्नेमा भरत शम्शेर, जगदीस शम्शेर उपर माथि उल्लेख गरिएबमोजिम जेष्ठ १५ गते भारतीय शिष्टमण्डल आउँदा जुत्ता, ईंटा, ढुङ्गा हानी हुल हुज्जत समेत गरेबाट शान्ति सुरक्षा भङ्ग गर्ने व्यक्तिहरू भएकाले उचित कारवाईको लागि सूचित गरेको छु भन्ने भईसकेको कुरा लिई पुलिस रिपोर्र्ट आएकोमा सुरक्षा कानून लगाई पक्राउ गर्ने र थुनामा राख्ने पर्चा गरी कानूनको विचारै नगरी थुनामा राखेको पुलिसको जेष्ठ १५ गतेका रिपोर्र्टबाट थाहा हुन्छ कि पुलिसलाई यस्तो घटना हुन्छ भन्ने अघि नै थाहा रहेछ । त्यस्तो थाहा भएकोमा सो घटना हुन नपावस् भनी तुरून्तै खबर दिई त्यस्तो बेकानूनी कारवाई गर्न खोज्नेहरूलाई सार्वजनिक सुरक्षा ऐन प्रयोग गरी थुनामा राख्नु पर्ने । कदाचित त्यस्तो गरेको भए यस्तो नराम्रो घटना शायद हुने थिएन होला । मौकामा सार्वजनिक सुरक्षा ऐन प्रयोग नगरी घटना भईसकेपछि मात्र सो घटनाको उल्लेख गरी सो सार्वजनिक सुरक्षा ऐन प्रयोग गर्नु सो ऐनको दुरूपयोग भएको जस्तो देखिन्छ ।
११. घटना भईसकेपछि सो घटनामा झगडा गर्ने अपराधीहरूलाई पुलिसले मौकैमा पक्री कारवार्इं गर्नुपर्ने सो केही नगरेको ।
१२. पुलिस रिपोर्र्टबाट ईंटा, ढुंङ्गा हानी हुल हुज्जत गरी शान्ति भङ्ग गरे भनी घटना भईसकेको कुरा देखाई रिपोर्र्ट गरेको देखिँदा प्रचलित मुलुकी ऐन सवालबमोजिम जो कारवाई हुनुपर्ने हो सो बमोजिम कारवाई हुनुपर्ने हो सो बमोजिम कारवाई चलाई सभा जुलुसमा भाग लिन मनाही भएका व्यक्तिले पनि भाग लिई शान्ति भङ्ग गरेको देखिन ठहर्न आएमा ऐन सवालबमोजिम जो हुने सजाय दिन पर्नेमा सो नगरी मैजिष्ट्रेटले सार्वजनिक सुरक्षा ऐन लगाएको मनासिव भन्न नहुने ।
१३. मैजिष्ट्रेटबाट जेष्ठ २८ गतेमा भएका पर्चा र जेष्ठ १६ गते स.पु.गो.लाई लेखेका चिठ्ठीमा शान्ति भङ्ग गर्ने सम्भावना देखिएको भनी लेखिएको यो यसबाट यो यस्तो जाहेरी रिपोर्र्ट सूचना आएको वा यो यो कारणको सम्भावना भएको भन्ने केही उल्लेख नभएको पुलिस रिपोर्र्ट जेष्ठ १६ गतेको पर्चामा सो कुरै नलेखिएको हुँदा आधार कारण बेगरै सम्भावना देखाई थुनामा राख्न पाउने ने.सा.सु.ऐन मैजिष्ट्रेट सवालमा उल्लेख भएको नभई माथि उल्लेख गरिएबमोजिम सुरक्षा ऐन ५ (क) दफा र मैजिष्ट्रेट सवाल १ नं. (८) दफाले पुलिस रिपोर्र्ट खबर आउनु र कारण देखाउनु पर्ने देखिएको ।
१४. माथि उल्लेख गरिएबमोजिम पुलिस मैजिष्ट्रेटको कारवाई शुद्ध भन्न नमिल्ने र शान्ति भङ्ग गरेमा भनी भईसकेको कुरालाई लिई उचित कारवाईको लागि रिपोर्र्ट आएकोमा मुलुकी ऐन सवालबमोजिम कारवाई चलाउनु पर्नेमा सो बमोजिम नगरी बिना आधारको सम्भावना भनी लेखी सुरक्षा ऐनको प्रयोग गर्नु नै निजहरूलाई थुनामै राख्ने नियतले नेपाल सार्वजनिक सुरक्षा ऐनको प्रयोग गरेको देखिन्छ ।
१५. थुनामा रहेका भरत शम्शेर, जगदीस शम्शेरलाई थुनाबाट छाडी निजहरूलाई मैजिष्ट्रेट अफिसमा हाजिर हुन तारिख तोकी पठाई नसिहत निमित्त र पुलिस रिपोर्र्टबमोजिम ऐन सवालले जो जे कारवाई चलाउनु पर्छ, चलाई ऐन सवालबमोजिम गर्नु भनी झिकाई आएका मिसिल र यो फैसलाको नक्कल समेत काठमाडौं मैजिष्ट्रेट सदर पुलिस गोश्वारमा पठाई दिनु ।
इति सम्वत् २०११ साल आषाढ ३१ गते रोज ५ शुभम् ।