निर्णय नं. ८८२१ - लिखत दर्ता बदर

ने.का.प. २०६९, अङ्क ५
निर्णय नं.८८२१
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
माननीय न्यायाधीश श्री कमलनारायण दास
मुद्दा नं. २०६७ –DF– ००१४
फैसला मितिः २०६८।११।१८।५
मुद्दा :— लिखत दर्ता बदर ।
पुनरावेदक वादीः सोलुखुम्बु जिल्ला, नेले गा.वि.स.वडा नं ४ घर भई हाल भक्तपुर जिल्ला सिरुटार गा.वि.स.वडा नं. ६ बस्ने महेन्द्रबहादुर कार्की
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः सोलुखुम्बु जिल्ला, नेले गा.वि.स.वडा नं ४ घर भई हाल भक्तपुर जिल्ला सिरुटार गा.वि.स.वडा नं. ६ बस्ने वीरेन्द्रमाया कार्की समेत
शुरु फैसला गर्ने :–
मा.न्या.श्री बिनोदप्रसाद शर्मा
पुनरावेदन फैसला गर्ने :–
मा.न्या.श्री अली अकबर मिकरानी
मा.न्या.श्री जनार्दनबहादुर खड्का
यस अदालतमा रायबाझी फैसला गर्ने :–
सं.प्र.न्या.श्री रामप्रसाद श्रेष्ठ
मा.न्या.श्री कृष्णप्रसाद उपाध्याय
§ अंश नभएको सगोलको अचल सम्पत्ति कुनै ब्यहोराले बिक्री वा हक हस्तान्तरण गर्दा अनिवार्य रुपमा अंशियारको मञ्जूरी लिनुपर्ने हुन्छ । यसरी हक हस्तान्तरण गर्दा अंशियारले साक्षी नबसेको र हक छाडी दिन मञ्जूर नगरेमा त्यस्तो अंशियारको हक जाने स्थिति नरहने ।
§ ऐनले आफूखुश गर्न पाउने सम्पत्तिको हक हस्तान्तरण गर्दा भने सँगै बस्नेको मञ्जूरी लिनु पर्ने आवश्यकता नरहने ।
(प्रकरण नं.३)
§ आफ्नो हक छाडी सकेको छोराको मञ्जूरी नलिई अर्को छोरालाई मात्र साक्षी राखी राजीनामा पारित गरेको कार्य कानूनविपरीत भन्न नमिल्ने ।
(प्रकरण नं.४)
§ अन्य अंशियारलाई बण्डा गर्नु नपर्ने आफूखुसी गर्न पाउने र बिक्री बितरण गर्दा कसैको मञ्जूरी समेत लिन नपर्ने भएकोले घरको मुख्य व्यक्तिको हैसियतले आमाले आफ्नो पालामा आर्जेको अचल सम्पत्ति राजीनामा पारित गरी हक हस्तान्तरण गरेको कार्यलाई अन्यथा भन्न नमिल्ने ।
(प्रकरण नं.५)
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताद्वय हरिप्रसाद उप्रेती तथा जगन्नाथ सिंह महतो
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल र विद्वान अधिवक्ता नमस कार्की
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ लेनदेन व्यवहारको १० नं.
§ अंशबण्डाको १८ र १९(२) नं.
फैसला
न्या.रामकुमारप्रसाद शाहः यस अदालतको संयुक्त इजलासमा रायबाझी भै सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :–
मेरो समेत हक लाग्ने सगोलको जग्गा हो भन्ने जानी जानी आमा वीरेन्द्रमाया र भाइ योगेश्वर कार्कीको मिलोमतोमा कि.नं. १८९ को ज.रो. १–०–०–० जग्गा आमा वीरेन्द्रमायाले देवकी महतलाई राजीनामा गरी दिएको हुँदा मेरो मञ्जूरी बेगर मेरो हक मार्ने नियतले गरेको उक्त राजीनामा लिखत बदर गरी पाउन मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं., जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं. बमोजिम तथा अ.बं.८२ नं.बमोजिम फिराद गर्न आएको छु । मिति २०६०।४।२३ को राजीनामामा उल्लिखित कि.नं. १८९ को क्षेत्रफल १–०–० जग्गा र सो जग्गामा बनेको घर मेरो अंश हक जति ३ भागको १ भाग लिखत दर्ता बदर गरी मेरो नाममा दर्ता समेत गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
हामी बीच मिति २०४२।७।१७ गते बण्डापत्र भै अलग बसेका छौं । सोही अवस्थामा आफ्नो मात्र हक लाग्ने, हालैदेखिको बकसपत्रवाट प्राप्त गरेको सम्पत्ति कानूनतः आफूखुश गर्न पाउने कानूनले प्रष्ट गरेकोले उक्त घर जग्गा प्रतिवादीमध्येकी देवकी महतलाई राजीनामा गरी दिएको हुँदा माग दावीबमोजिम लिखत बदर हुनुपर्ने होइन भन्ने समेत व्यहोराको वीरेन्द्रमाया कार्की समेतको प्रतिउत्तर पत्र ।
प्रमाण ऐन, २०३१ को दफा ३४ बाट विपक्षी स्वतः विवन्धित हुनु भएको हुँदा विपक्षीको झूठा फिराद खारेजभागी छ । फिरादकर्ता र मेरो दाताबीच घरसारमा बण्डा भएको पनि हुनुपर्छ । विपक्षीले विवादित जग्गा कसरी आफ्नो अंश लाग्ने हो भनी प्रष्ट पार्न समेत सक्नु भएको छैन । तसर्थ विपक्षीको हकदैयाविहीन फिराद खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको देवकी महतको प्रतिउत्तर पत्र ।
एक अंशियारबाट कुनै व्यहोराले अर्को अंशियारमा हस्तान्तरण हुँदैमा सो उपरको हक समाप्त भएको मान्न सकिने अवस्था देखिँदैन । सो सम्पत्तिमा वादीको अंश हक निहीत रहेको तथा लेनदेन व्यवहारको १० नं.बमोजिम निजको सहमति लिएको वा मञ्जूरीको लिखत भएको अवस्था नदेखिँदा दावीबमोजिम ३ खण्डको १ खण्ड लिखत तथा दर्ता बदर गरी सो बदर भए जति भाग वादीका नाममा दर्ता समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु भक्तपुर जिल्ला अदालतको मिति २०६३।४।२१ को फैसला ।
कि.नं. १८९ को घर जग्गामा विपक्षी वादीको कुनै प्रकारको अंश हक नलाग्ने भएकोले सो घर जग्गा मैले राजीनामा पारित गराई लिँदा मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं. बमोजिम विपक्षी वादीको मञ्जूरी लिनु पर्ने अवस्था छैन । यस्तो मञ्जूरी लिनु नपर्ने अवस्थामा मैले पारित गराई लिएको उक्त घर जग्गाको सम्बन्धमा ३ खण्डको १ खण्ड लिखत बदर गरिपाऊँ भनी फिराद दावी गर्ने हकदैया विपक्षी वादीलाई नहुँदा अ.बं. १८० नं. बमोजिम खारेज गर्नुपर्नेमा नगरी ३ खण्डको १ खण्ड लिखत बदर गर्ने गरेको उल्लिखित फैसला अ.बं.८२ नं.र लेनदेन व्यवहारको १० नं.को बिपरीत भई बदरभागी छ । तसर्थ शुरु भक्तपुर जिल्ला अदालतबाट भएको फैसलालाई उल्टी गरिपाऊँ भन्ने समेत व्यहोराको देवकी महतको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
यसमा प्रतिवादी वीरेन्द्रमाया कार्कीको निजी आर्जनको घर जग्गा निजले राजीनामा पारित गरी दिएको लिखतको वादी दावीअनुसार लिखत बदर हुने ठहर्याई भएको शुरु इन्साफ नमिली फरक पर्न सक्ने देखिँदा प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६३।११।१० को आदेश ।
विवादित कि.नं.१८९ को जग्गा वादी महेन्द्रबहादुर कार्की र निजकी आमा वीरेन्द्रमाया कार्कीले अंशियार भन्दा बाहिरको व्यक्तिबाट संयुक्त रुपमा मिति २०५४।१।११ मा बकसपत्रद्वारा प्राप्त गरेको देखिन्छ । वादी महेन्द्रबहादुर कार्कीले सोही जग्गा आफ्नो भाग जति पुनः मिति २०५८।९।२५ मा हालैदेखिको बकसपत्रको लिखतद्वारा आफ्नी आमा वीरेन्द्रमाया कार्कीलाई हक छाडी दिएको हुँदा उक्त जग्गा वीरेन्द्रमाया कार्कीको एकलौटी आफूखुश गर्न पाउने सम्पत्तिको रुपमा देखिएको छ । त्यस्तो आफूखुश गर्न पाउने सम्पत्तिमा वीरेन्द्रमायाले देवकी महतलाई र.नं.५०५ बाट मिति २०६०।४।२३ मा पारित गरी दिएको राजीनामा लिखत बदर गरिपाऊँ भन्ने वादीको दावी कानूनसंगत देखिन आएन । तसर्थ र.नं.५०५ बाट मिति २०६०।४।२३ मा पारित गरी दिएको राजीनामा लिखत बदर हुने ठहर्याएको भक्तपुर जिल्ला अदालतको मिति २०६३।४।२१ को फैसला उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६३।१२।२६ को फैसला ।
मानो नछुटिृई सँगै बसेका अंशियारमा जुनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढेबढाएको सगोलको आर्जनको सम्पत्तिमा सबै अंशियारलाई भाग लाग्ने कानूनी व्यवस्था रहेको र म वादी र प्रतिवादीहरू एकासगोलका अंशियार रहेको कुरामा विवाद नरहेको अवस्थामा सगोलको सम्पत्तिका रुपमा रहेको विवादको कित्ता नं. १८९ को जग्गा र सोमा बनेको घर समेतमा आफ्नो समेत हक लाग्ने निश्चित नै छ । त्यस्तो घर जग्गा आमा वीरेन्द्रमाया कार्कीले राजीनामाको लिखत पारित गरी प्रतिवादीमध्येकी देवकी महतलाई दिएकोमा पुनरावेदन अदालतले आफूखुश गर्न पाउने सम्पत्ति अन्तर्गत पारी गरेको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी शुरु भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर कायम गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदनपत्र ।
यसमा अंशबण्डा भइसकेको भन्ने नदेखिएको स्थितिमा वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको इन्साफ पूर्ण इजलासबाट सरितादेवी थपलिया वि.भगवती थपलिया भएको मुद्दा (स.अ.वुलेटिन, २०६६ बैशाख, पूर्णाङ्क ४०३, पृष्ठ ३) मा प्रतिपादित सिद्धान्तको रोहमा समेत फरक पर्न सक्ने देखिँदा छलफलका लागि प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने व्यहोराको यस अदालतको मिति २०६६।३।१४ को आदेश ।
यसमा आमा वीरेन्द्रमाया कार्कीको आफूखुशी गर्न पाउने सम्पत्तिको परिभाषाभित्र पर्ने कित्ता नं. १८९ को घर जग्गालाई वादीको समेत हक लाग्ने सम्पत्तिभित्र समावेश गर्न मिल्ने अवस्था नै नदेखिँदा त्यस्तो सम्पत्ति निज वीरेन्द्रमायाले प्रतिवादी देवकी महतलाई र.नं. ५०५ बाट मिति २०६०।४।२३ मा पारित गरिदिएको राजीनामा लिखत बदर गरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको मिति २०६३।१२।२६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय ।
मिति २०५४।१।११ र मिति २०५८।९।२५ को हालैको वकसपत्र लिखत समेतवाट प्रतिवादी वीरेन्द्रमायाले विवादित घरजग्गा सम्पूर्ण नै बकस पाई निजको निजी आर्जनको भन्ने देखिएपनि बाबु आमाको नाममा जुनसुकै स्रोतवाट प्राप्त भएको सम्पत्ति छोराछोरीहरूको लागि पैतृक नै मानिने सिद्धान्तलाई इन्कार गर्न मिल्दैन । यसै सन्दर्भमा सगोलको एक अंशियारले सगोलकै अर्को अंशियारलाई जुनसुकै व्यहोराले हक हस्तान्तरण गरी दिएतापनि सो सम्पत्ति तत्कालीन कानून अनुसार सगोलको नै मान्नु पर्ने भनी सरीतादेवी थपलिया विरुद्ध भगवती थपलिया भएको मुद्दामा( स.अ. बुलेटिन, २०६६ वैशाख, पूर्णाङ्क ४०३) यस अदालतको पूर्ण इजलासबाट प्रतिपादित नजीर सिद्धान्त समेतका आधारमा वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिँदा उल्टी भै दावीबमोजिम ३ खण्डको १ खण्ड लिखत तथा दर्ता बदर गरी सो बदर भए जति भाग वादीका नाममा दर्ता समेत हुने ठहर्याएको शुरु भक्तपुर जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । तसर्थ सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठले वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला सदर गर्ने गरी व्यक्त गर्नु भएको रायसँग सहमत हुन नसकेको हुँदा न्याय निरुपणका लागि प्रस्तुत मुद्दाको संयुक्त इजलासको लगत कट्टा गरी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (क) बमोजिम पूर्ण इजलासको लगतमा दर्ता गरी नियमानुसार पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्यायको राय ।
नियमबमोजिम पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री हरिप्रसाद उप्रेती तथा जगन्नाथ सिंह महतोले यिनै वादी प्रतिवादीबीच चलेको अंश मुद्दामा २०४२ सालमा बण्डापत्र भएको तथ्यलाई मान्यता दिइएको छैन । वादी र प्रतिवादी वीरेन्द्रमाया कार्की एकासगोलका अंशियार रहेको भन्ने तथ्यमा विवाद नभएको र प्रतिवादी वीरेन्द्रमायाले विवादको सम्पत्तिलाई निजी आर्जनको भन्ने जिकीर लिई सो कुरालाई पुष्टि गर्न सकेको अवस्था पनि छैन । विवादित जग्गा प्रतिवादीको निजी आर्जनको हो भन्ने कुरा हालैको बसकपत्र लिखतबाट समेत खुल्दैन । यस स्थितिमा पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी शुरु फैसला सदर गरेको माननीय न्यायाधीश कृष्णप्रसाद उपाध्यायको राय सदर हुनु पर्दछ भनी बहस गर्नुभयो । विपक्षी प्रतिवादी देवकी महतको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र अधिवक्ता श्री नमस कार्कीले पूर्णशंकर महर्जन समेतबाट हा.ब.को लिखतका माध्यमद्वारा प्राप्त गरे पछि वादीले आफ्नो भाग हिस्सा आमालाई नै बकसपत्रको लिखतबाट हक हस्तान्तरण गरेको हुँदा विवादको जग्गा आमा वीरेन्द्रमायाको निजी आर्जनको र आफूखुशी गर्न पाउने भन्ने प्रष्ट नै छ । यसरी निजी आर्जनको भै आफूखुशी गर्न पाउने सम्पत्ति राजीनामा पास गरी दिन नपाउने भन्ने हुँदैन, त्यसैले लिखत बदर हुनु नपर्ने पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ठहर्याएको सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
विद्वान कानून व्यवसायीहरूको बहस जिकीर सुनी पुनरावेदन पत्र सहितको सम्पूर्ण मिसिल कागजात अध्ययन गरी यस अदालतको संयुक्त इजलासमा माननीय न्यायाधीशहरूद्वारा व्यक्त राय मध्ये कुन राय सदर हुने हो तथा वादीको दावीबमोजिम लिखत बदर हुनु पर्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
वादीले आमा वीरेन्द्रमायाले मिति २०६०।४।२३ मा राजीनामा गरिदिएको जग्गा सगोलको सम्पत्ति भएकोले मेरो हक जति ३ भागको १ भाग लिखत र दर्ता समेत बदर गरी मेरो नाउँमा दर्ता समेत गरिपाऊँ भन्ने फिराद दावी गरेकोमा मिति २०४२।७।१७ मा विपक्षी र हामीबीच अंशबण्डाको लिखत समेत भैसकेकोले छुट्टी भिन्न भैसकेको व्यक्तिले मेरो सम्पत्तिमा दावी गर्न पाउने नै होइन भन्ने वीरेन्द्रमायाको र मिति २०५८।९।२५ मा फिरादीले आफ्नो हक छाडी सकेको विवादित जग्गामा विपक्षीको हक नरहने हुँदा हकदैयाविहीन फिराद खारेज गरिपाऊँ भन्ने देवकी महतको प्रतिउत्तर जिकीर रहेको प्रस्तुत मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट वादी दावीबमोजिम ३ खण्डको १ खण्ड लिखत तथा दर्ता बदर गरी वादीका नाममा दर्ता समेत हुने ठहर्याई भएको फैसला पुनरावेदन अदालत पाटनबाट उल्टी भै वादी दावी नपुग्ने ठहरेउपर वादीले यस अदालतमा पुनरावेदन गरेकोमा यस अदालतको संयुक्त इजलासमा रायबाझी भै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (क) बमोजिम पेश हुन आएको देखिन्छ ।
२. निर्णयतर्फ विचार गर्दा वादी महेन्द्रबहादुर कार्की तथा प्रतिवादीहरू वीरेन्द्रमाया कार्की र योगेश्वर कार्की आमा छोरा एवं दाजुभाइ नाताका व्यक्ति भई निजहरू अंशियार रहेको भन्ने तथ्यमा निजहरू बीच विवाद छैन । वादीले आफू एकासगोलको अंशियार भनी सगोलको सम्पत्ति प्रतिवादी बिक्री गरेको लिखत बदर गरिपाउन दावी लिएकोछ । प्रतिवादीहरूले आफू वादीसँग मिति २०४२।७।१७ मा अंशबण्डा गरी छुट्टीभिन्न भै अलग बसेको भन्ने जिकीर लिएको देखिन्छ तर यसै लगाउको वादी महेन्द्रबहादुर कार्की र वीरेन्द्रमाया कार्की समेत प्रतिवादी भएको २०६३/०६४ को ००६३/५१४ को अंश चलन मुद्दा हेर्दा प्रतिवादीले जिकीर लिएको बण्डापत्रलाई मान्यता नदिई उक्त अंश मुद्दा परेको मितिलाई मानो छुट्टिएको मिति कायम गरी वादीले प्रतिवादीबाट अंश पाउने ठहरी फैसला भएको र सोही फैसला अन्तिम रहेकोले वादी प्रतिवादीहरू एकासगोलका व्यक्तिहरू भएको भन्ने तथ्यलाई अन्यथा भन्न मिल्ने अवस्था देखिंदैन ।
३. वादीले लेनदेन व्यवहारको १० नं. लाई मुख्य आधार बनाई प्रतिवादी वीरेन्द्रमायाले प्रतिवादी देवकी महतलाई कि.नं. १८९ को जग्गा राजीनामा गरी बिक्री गरी दिएको मिति २०६०।४।२३ को लिखतलाई बदर गरिपाउन फिराद गरेको र विवादको कित्ता नं. १८९ को घरजग्गालाई प्रतिवादी वीरेन्द्रमाया कार्कीको निजी आर्जनको भई आफूखुश गर्न पाउने सम्पत्ति अन्तर्गतको हो भन्ने प्रतिवादी पक्षको जिकीर रहेको देखिन्छ । सो सम्बन्धमा हेर्दा विवादको उक्त जग्गा पुनरावेदक वादी महेन्द्रबहादुर कार्की र प्रतिवादी वीरेन्द्रमायाले पूर्ण शंकर महर्जन समेतबाट मिति २०५४।१।११ मा हालैको बकसपत्रको लिखतबाट संयुक्त रुपमा प्राप्त गरेको र सो तथ्यलाई वादी प्रतिवादी दुबैले स्वीकार गरेको देखिन्छ । यस तथ्यवाट संयुक्त नाममा रहेको विवादित जग्गाको आधा हिस्सा प्रतिवादी वीरेन्द्रमायाले आफ्ना पालामा आर्जन गरेको सम्पत्तिअन्तर्गत नै पर्ने देखिन्छ । बाँकी आधा हिस्सा पनि संयुक्त दर्तावाला यी पुनरावेदक वादी महेन्द्रबहादुर कार्कीले मिति २०५८।९।२५ मा आमा यी प्रतिवादी वीरेन्द्रमायालाई हालैको बकसपत्रको लिखतबाट हक हस्तान्तरण गरी दिएको तथ्य पनि निर्विवाद रहेको छ । वादीले आमालाई बकसपत्र गरी दिएको लिखत हेर्दा तपाईं आमा वीरेन्द्रमाया कार्कीलाई आफ्नो हकभोगको उक्त जग्गा रीझ बापत हालैदेखिको बकसपत्र गरीदिएँ भन्ने समेतको व्यहोरा उल्लेख गरेको देखिन्छ । यसरी वादीले दावीको जग्गामा रहेको आफ्नो हकको आधा भाग समेत हालैको बकसपत्र लिखतबाट प्रतिवादी वीरेन्द्रमायालाई हक हस्तान्तरण गरेपछि उक्त आधा हिस्सामा पनि आमा वीरेन्द्रमायाकै हक पुग्न गएको पाइन्छ । आफ्नो नाममा आएको सोही कि.नं. १८९ को जग्गा यी दर्तावाला वीरेन्द्रमायाले राजीनामा गरी दिएको लिखतका सम्बन्धमा लेनदेन व्यवहारको १० नं. बमोजिम बदर गर्न प्रस्तुत फिराद परेको छ । लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्था हेर्दा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुशी गर्न पाउने अरुको मञ्जूरी लिनु नपर्नेमा बाहेक अरुमा एकाघरसँगका अंशियार सबै साक्षी बसेको वा निजहरूले मञ्जूरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ । आफ्नो निजी आर्जनको भए सँग बस्नेको मञ्जूरी लिनु पर्दैन । बेचबिखन समेत गैह्र गर्न हुन्छ भन्ने प्रावधान रहेको देखिन्छ । उल्लिखित कानूनी व्यवस्थाअनुसार अंश नभएको सगोलको अचल सम्पत्ति कुनै ब्यहोराले बिक्री वा हक हस्तान्तरण गर्दा अनिवार्य रुपमा अंशियारको मञ्जूरी लिनुपर्ने देखिन्छ । यसरी हक हस्तान्तरण गर्दा अंशियारले साक्षी नबसेको र हक छाडी दिन मञ्जूर नगरेमा त्यस्तो अंशियारको हक जाने स्थिति रहँदैन । तर ऐनले आफूखुश गर्न पाउने सम्पत्तिको हक हस्तान्तरण गर्दा भने सँगै बस्नेको मञ्जूरी लिनु पर्ने आवश्यकता रहेको देखिंदैन । अंशबण्डाको १८ नं. ले ..... कुनै अंशियारले आफ्नो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको ५ नं. बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुश गर्न पाउँछ । बण्डा गर्न कर लाग्दैन भन्ने व्यबस्था गरेको देखिन्छ । उक्त कानूनी व्यवस्थाअनुसार कसैबाट निजी तवरले दान वा बकस पाएको सम्पत्ति आफूखुश गर्न पाउने र त्यस्तो सम्पत्ति अन्य अंशियारहरूलाई बण्डा गर्न नपर्ने भन्ने स्पष्ट व्यवस्था रहेको देखिन्छ । त्यसैगरी अंशबण्डाको १९ नं.को देहाय (२) मा आफ्ना पालामा आर्जेको चल अचल सबै आफ्नो खुश गर्न पाउँछ भन्ने कानूनी व्यवस्था रहेको छ । घर व्यवहार चलाउने प्रयोजनका लागि गरिएको यस किसिमको व्यवस्थाले पनि आफ्नो पालामा आर्जन गरिएको सम्पत्तिको हकमा सगोलका अन्य अंशियारको मञ्जूरी लिनुपर्ने देखिँदैन । स्त्री अंश धनको १ नं. ले पनि कन्या, सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो आर्जनको चल अचल सम्पत्ति आफ्नो खुश गर्न पाउँछन् भनी स्पष्ट कानूनी व्यवस्था गरेको समेत पाइन्छ ।
४. उपर्युक्त कानूनी व्यवस्थाहरूको परिप्रेक्ष्यमा विचार गर्दा विवादको कित्ता नं. १८९ को जग्गा मध्ये आधा हिस्सा प्रतिवादी वीरेन्द्रमायाले मिति २०५४।१।११ मा पूर्णशंकर महर्जन समेतबाट हालैको बकसपत्रको लिखतद्वारा र आधा हिस्सा मिति २०५८।९।२५ मा यिनै वादीबाट हालैको बकसपत्रको लिखतद्वारा प्राप्त गरेको भन्ने तथ्यमा विवाद नरहेको हुँदा सो सम्पूर्ण घरजग्गामा प्रतिवादी वीरेन्द्रमायाको हक रहेको भन्ने देखिन आउँछ । यसरी उक्त विवादित कि.नं. १८९ को जग्गा पिता पुर्खाका पालाको सम्पत्ति हक हस्तान्तरण भै आएको नभै प्रतिवादी वीरेन्द्रमायाले आफ्ना पालामा आर्जेको सम्पत्ति हो भन्ने कुरामा पनि विवाद छैन । प्रतिवादी वीरेन्द्रमायाले देवकी महतलाई पारित गरिदिएको राजीनामाको लिखतमा निजको कान्छो छोरा योगेश्वर कार्की साक्षी बसेको देखिन्छ । उपरोक्त कानूनी व्यवस्था समेतको विवेचनावाट वादीले हालैको बकसपत्र पारित गरी आफ्नो हकछाडी आमालाई दिई सकेको जग्गा आमाले अन्य व्यक्तिलाई हक हस्तान्तरण गर्दा निज वादीको मञ्जूरी आवश्यक पर्ने र निज साक्षी बस्नुपर्ने भन्नु कानूनसम्मत देखिंदैन । जग्गामा रहेको आफ्नो हक छाडी सकेको छोरा यी वादीको मञ्जूरी नलिई अर्को छोरालाई मात्र साक्षी राखी राजीनामा पारित गरेको कार्य कानूनविपरीत भएको भन्न मिल्ने देखिएन ।
५. यस स्थितिमा विवादको कि.नं. १८९ को जग्गा प्रतिवादीले बकसपत्रबाट प्राप्त गरेको, लेनदेन व्यवहारको १० नं. तथा अंशबण्डाको १८ र १९ नं. को कानूनी व्यवस्थाबमोजिम अन्य अंशियारलाई बण्डा गर्नु नपर्ने आफूखुसी गर्न पाउने र बिक्री बितरण गर्दा कसैको मञ्जूरी समेत लिन नपर्ने भएकोले घरको मुख्य व्यक्तिको हैसियतले आमा वीरेन्द्रमायाले आफ्नो पालामा आर्जेको अचल सम्पत्ति राजीनामा पारित गरी हक हस्तान्तरण गरेको कार्यलाई अन्यथा भन्न मिल्ने देखिँदैन ।
६. तसर्थ, विवेचित आधार कारणबाट दावीको कि.नं. १८९ को घर जग्गा यी वादी र प्रतिवादी वीरेन्द्रमाया कार्कीले संयुक्त रुपमा अन्य व्यक्तिवाट बकसपत्रबाट प्राप्त गरेपछि वादीले आफ्नो हक हिस्सा मिति २०५८।९।२५ मा प्रतिवादी वीरेन्द्रमायालाई वसकपत्र पारित गरिदिएको देखिंदा लेनदेन व्यवहारको १० नं., अंशबण्डाको १९(२) तथा अंशबण्डाको १८ नं. बमोजिम आफ्नो पालामा आर्जन गरेको र आफूखुशी गर्न पाउने र बण्डा गर्न कर नलाग्ने सम्पत्तिको परिभाषा भित्र पर्ने हुँदा सोही जग्गा निज वीरेन्द्रमायाले प्रतिवादी देवकी महतलाई र.नं. ५०५ बाट मिति २०६०।४।२३ मा पारित गरिदिएकोले सो राजीनामा लिखत बदर गरिपाऊँ भनी यी वादीले दावी गर्न नपाउने हुनाले वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको मिति २०६३।१२।२६ को फैसला सदर गरेको सम्माननीय प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठको राय मनासिव हुँदा सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छौं ।
न्या.तर्कराज भटृ
न्या.कमलनारायण दास
इति संवत् २०६८ साल फागुन १८ गते रोज ५ शुभम्
इजलास अधिकृत : कृष्णमुरारी शिवाकोटी