निर्णय नं. ८८२२ - खानलाउन दिलाई पाऊँ ।

ने.का.प. २०६९, अङ्क ५
निर्णय नं.८८२२
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
दे.पु.नं. २०६७–CI–०९०१
फैसला मितिः २०६९।२।१४।१
मुद्दाः– खानलाउन दिलाई पाऊँ ।
पुनरावेदक प्रतिवादीः मोरङ्ग जिल्ला, केरावारी गा.वि.स.वडा नं.७ बस्ने नरबहादुर आचार्य समेत
विरुद्ध
प्रत्यर्थी वादीः ऐ.ऐ.मृगौलिया गा.वि.स.वडा नं.७ बस्ने रुकमेणीदेवी शाह
यस अघि निर्णय गर्नेः–
मा.न्या.श्री नारायणप्रसाद श्रेष्ठ
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री हरिबहादुर बस्नेत
मा.न्या.श्री डम्बरबहादुर शाही
§ सामान्यतयाः आफ्नो घर परिवारबाट मानवीय व्यवहार पाउँदापाउँदै मानाचामल माग गरी अड्डा अदालत धाउने कुरा मुद्दा गर्नकै लागि वा पति समेतका आफ्नो परिवारका सदस्यहरूलाई दुःख दिने उद्देश्यबाट गरिएको होला भनी अनुमान गर्नु स्वाभाविक हुन नसक्ने ।
§ समाजमा विद्यमान रहेको लैङ्गिक र घरेलु हिँसाको कारणबाट खास गरी महिलाहरू र त्यसमा पनि बुहारीमाथि यस प्रकारका घटनाहरू घट्ने गरेको कुरा बराबर प्रकाशमा आउने गरेकै पाइँदा सामान्यतः दावीलाई अस्वाभाविक भनी अन्यथा अनुमान गर्न नमिल्ने ।
§ शरीरमा आगो लगाइएको कारणबाट परेका भनिएका खत र चोटपटकको प्रकृतिबाट घरेलु हिंसाको शिकार भएको भन्ने देखिएको र सो तथ्य साक्षीहरूको बकपत्र समेतबाट पुष्टि भैरहेको अवस्था हुँदा अंश नलिएसम्म मानाचामल भराई लिन पाउने ।
(प्रकरण नं.३)
§ आफूले विवाह गरी ल्याएकी पत्नी तथा बुहारीप्रति मानवीय व्यवहार गर्नु सम्बन्धित परिवारको कानूनी र नैतिक दुबै प्रकारको दायित्व हो । परिवारबाट सो दायित्व पूरा गरिदैँन र त्यस्ती महिलामाथि हिंसाजन्य ब्यवहार गरी घरमा बस्न नसक्ने अवस्था सिर्जना गरिन्छ भने निश्चित् रुपमा मुलुकी ऐन अंशबण्डाको १० नं. र लोग्नेस्वास्नीको ४ नं. बमोजिम खानलाउनको लागि मानाचामल भर्नुपर्ने ।
§ कानूनविपरीतको अमानवीय र कठोर ब्यवहार गरी विवाहित महिलालाई घरमा बस्न नसक्ने वातावरण तयार पार्ने व्यक्ति वा परिवारले पछि आएर मानाचामल भर्न सक्ने आर्थिक हैसियत थिएन वा छैन भनी लिने जिकीर आधारहीन हुने ।
(प्रकरण नं.४)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता तिलबहादुर भट्टराई
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन अंशबण्डाको १० नं.
§ लोग्नेस्वास्नीको ४ नं.
फैसला
प्र.न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत विराटनगरको मिति २०६६।३।२३ को फैसलाउपर प्रतिवादी नरबहादुर आचार्य समेतको यस अदालतमा पुनरावेदन पर्न आएकोे प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :–
विपक्षीमध्येका वुद्धिबहादुर आचार्यसँग मेरो सामाजिक परम्पराअनुसार मिति २०६२।१।२१ का दिन विवाह भएकोमा पतिको नागरिकता नभएको कारणबाट विवाह दर्ता हुन वाँकी नै थियो । विवाहपछि पतिसहित घरका परिवारले केही समयसम्म राम्रै व्यवहार गर्दै आएकोमा प्रतिवादीहरूले नराम्रो व्यवहार गर्दै विभिन्न समयमा गालीगलौज गर्ने र वारम्वार कुटपीट गर्ने गरेकोमा मैले चूपचाप सहेर बसेकीमा विपक्षी पतिले मिति २०६२।६।१६ गते साँझ ७ वजेको समयमा मादक पदार्थ सेवन गरी कुटपीट गरी मेरो शरीरमा मट्टितेल समेत हाली जीउँदै जलाउनुका साथै त्यसपछि पनि विभिन्न समयमा कुटपीट गरी रहने गरेकोले म मिति २०६३।८।७ गतेदेखि माइतीमा नै बस्दै आएकी छु । यसरी आगोले जलेको उचित उपचार गर्न र वर्तमान समयमा खान लाउन वस्न समेत कुनै आधार छैन । निजहरूको परिवारमा मुलघर भएका ठाउँमा महंगो ज.वि.२–०–० जग्गा घर, याङशिलातर्फ करीव १५–०–० जग्गा रहेको छ । राम्रो उत्पादन व्यापार कारोवार पनि रहेको र पशुपालन समेतबाट वार्षिक ७/८ लाखको आयस्रोत समेत रहेको हुँदा मैले मानवीय रुपमा रहन बस्न, कोठा भाडा, लत्ता कपडा, खानाको लागि २०६३।८।२२ देखि मासिक रु.६,०००। र विशेषज्ञबाट शरीरमा उपचार गराउँदा लाग्ने खर्च समेत विपक्षीहरूबाट दिलाई भराई पाऊ भन्ने समेत व्यहोराको मिति २०६३।९।५ को फिरादपत्र ।
विपक्षी मेरो पत्नी रहेकी, निज विरामी हुँदा उपचार गरेको र अंशबण्डासम्बन्धी पारिवारिक छलफल भएको बाहेक अन्य फिराद कथन झूठा हो । मेरो घरको दाजु अशक्त भएकोले निजलाई दिनहूँ खान लाउन दिनुपर्ने, सुताउनु पर्ने दिशा पिसाव गराउनु पर्नेलगायतका काम गर्नुपर्ने भएकोले संधै झर्को फर्को गर्न थालेकोले आमा बावु र विपक्षीको सल्लाहबाट जि.मोरङ याङशिला गा.वि.स.वडा नं.५ राङचा स्थित जग्गा र सोही ठाउँमा रहेको घरमा खेती गरी म र विपक्षी बस्ने गरेका थियौं । त्यहाँ पनि वादीले विभिन्न विषयमा झगडा गर्ने गरेकी र यस्तैमा फिरादमा उल्लिखित मितिमा निज आफैंले आफ्नो जीउमा आगो लगाएको थाहा पाई मैले निभाएर उपचार समेत गराएको हो । वादीले फिरादमा उल्लेख गरे जस्तो हाम्रो आम्दानी छैन । व्यापार व्यवसाय पनि छैन । पशुपालनको नाउँमा एक हल गोरु र चार वटा बाख्रा मात्र छ । आगो लागेको घाउ हामीले उपचार गरेकोले उपचार खर्च भराउनु पर्ने होइन । फिरादमा उल्लेख गरेबमोजिम मासिक खर्च भराउन सम्भव छैन । मैले बाबुबाट अंश नलिएको हुँदा सम्पूर्ण ऋण धनबाट ७ भागको एक भागलाई दुई भाग लगाई सोको एक भाग विपक्षीलाई अंश दिन म बाबुलाई अनुरोध गर्दछु भन्ने समेत व्यहोराको प्रतिवादी उत्तम भन्ने वुद्धिबहादुर आचार्यको प्रतिउत्तर जिकीर ।
विपक्षी हाम्रो बुहारी रहेकी, निज विरामी हुँदा उपचार गरेको र अंशबण्डासम्बन्धी पारिवारिक छलफल भएको बाहेक अन्य फिराद कथन झूठा हो । हाम्रो घरमा म प्रतिवादी हरिबहादुर आचार्य अशक्त भएकोले निजलाई दिनहुँ खानलाउन दिनुपर्ने, सुताउनु पर्ने, दिशा पिसाव गराउनु पर्नेलगायतका काम गर्नुपर्ने भएकोले संधै झर्को फर्को गर्न थालेकीले हामी सवैको सल्लाहबाट जि.मोरङ याङशिला गा.वि.स.वडा नं.५ राङचीस्थित जग्गा र सोही ठाउँमा रहेको घरमा खेती गरी प्रतिवादीमध्येको बुद्धिबहादुर आचार्य र विपक्षी बस्ने गरेका हुन् । त्यहाँ पनि वादीले विभिन्न विषयमा झगडा गर्ने गरेकी र यस्तैमा फिरादमा उल्लिखित मितिमा निज आफैले आफ्नो जीउमा आगो लगाएकोले हामीले नै उपचार समेत गरेको हो । वादीले फिरादमा उल्लेख गरे जस्तो हाम्रो आम्दानी छैन । व्यापार व्यवसाय पनि छैन । पशुपालनको नाउँमा एक हल गोरु र चार वटा बाख्रा मात्र छन् । आगो लागेको घाउ हामीले उपचार गराएकोले उपचार खर्च भराउनु पर्ने होइन । फिरादमा उल्लेख गरेबमोजिम मासिक खर्च भराउन सम्भव छैन । मासिक खर्च भराउन सक्ने नसक्ने सर्जमीन बुझी फिराद दावीअनुसारको मासिक खर्च र उपचार खर्च भराउन नपर्ने ठहर्याई विपक्षीको झूठा फिराद दावीबाट अलग फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
शुरु अदालतको आदेशानुसार वादी प्रतिवादीबाट कुन कुन ठाउँमा के कति जग्गा रहेको छ भन्ने र निजहरूको पारिश्रमिक सम्बन्धमा कागज गराई वादी प्रतिवादीको मासिक र वार्षिक आम्दानी कति छ भन्ने सम्बन्धमा गराएको कागज र जग्गाको दर्ता स्रेस्ताको प्रमाणित प्रतिलिपि समेत मिसिल संलग्न रहेको ।
शुरु अदालतको आदेशानुसार वादी प्रतिवादीको साक्षीले गरेको बकपत्र मिसिल संलग्न रहेको ।
प्रतिवादीहरू नरबहादुर आचार्य, भीमकुमारी आचार्य र वुद्धिबहादुर आचार्यबाट फिराद परेको मितिदेखि फैसला हुँदासम्मको अवधिको मासिक रु.२,०००।– का दरले हुने रकम वादीले मानाचामल भराई पाउने ठहर्छ । प्रतिवादीहरू हरिबहादुर आचार्य र द्रोणकुमारी आचार्यबाट मानाचामलबापत रकम भराई विशेषज्ञबाट शरीरमा उपचार गराउँदा लाग्ने खर्च समेत प्रतिवादीहरूबाट दिलाई पाऊँ भन्ने वादीको दावी नपुग्ने ठहर्छ भन्ने समेत ब्यहोराको शुरु मोरङ्ग जिल्ला अदालतको मिति २०६४।६।२२ को फैसला ।
शुरुको फैसलामा चित्त बुझेन । फिराद परेको मितिदेखि फैसला मितिसम्मको खान लाउनबापत मात्र रु.२,०००। ले मासिक पाउने भनी भएको गोलमटोल फैसला आफैमा त्रुटिपूर्ण रहेकोले सो फैसला उल्टी गरी फिराद दावीअनुसारको मासिक रकम खानलाउनबापत विपक्षीहरूबाट दिलाई भराई मेरो शरीरको प्लाष्टिक सर्जरी गर्न लाग्ने खर्च समेत विपक्षीहरूबाट भराई पाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
शुरुको फैसलामा चित्त बुझेन । हाम्रो नाममा जग्गा दर्ता भएकै आधारमा हामी पुनरावेदकले खान लाउन खर्च भराउने गरी भएको फैसला स्वतः त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी हाम्रो प्रतिउत्तर जिकीरबमोजिम फिराद खारेज गरी विपक्षीलाई मानाचामल भराउन नपर्ने गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन जिकीर ।
यसमा वादी रुकमेणीदेवी साह र प्रतिवादी नरबहादुर आचार्य, उत्तम भन्ने वुद्धिबहादुर आचार्य र भीमकुमारी आचार्यको दोहोरो पुनरावेदन परेकोले ती पुनरावेदन एक अर्कालाई सुनाउन र प्रतिवादीमध्येका हरिबहादुर आचार्य र द्रोणकुमारी आचार्य अन्य प्रतिवादीका एकासगोलमा नै रहे भएको देखिएकोले निजहरूलाई समेत राखी छलफल गर्न विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
यसमा वादी प्रतिवादीहरू बीच नातामा विवाद नरहेको र वादीको कुनै पनि आम्दानीको स्रोत रहेको भन्ने मिसिलबाट देखिएको छैन । वादी र प्रतिवादीहरूका बीचमा कानूनबमोजिमको अंशबण्डा भएको अवस्था नभएको तथा प्रतिवादीका साक्षी रामबहादुर पिठाकोटी मगरले करीब १३ जनाको परिवारलाई साधारणतयाः खानलाउन पुग्ने आम्दानी प्रतिवादीहरूसँग रहेको भनी बकपत्र गरेको देखिएको समेतबाट प्रतिवादीहरूसँग खानलाउन पुग्ने आम्दानीको स्रोत रहेभएकै देखिएको हुँदा फिराद परेको मितिबाट फैसला मितिसम्म मात्र मासिक रु.२,०००। मानाचामल भराई लिन पाउने ठहर्याएको शुरुको फैसला केही उल्टी भई वादीले प्रतिवादीहरूउपर अंश मुद्दा दायर नगरेसम्म प्रति महिना रु.२,०००।– का दरले माना चामल भराई दिने ठहर्छ भन्ने समेत ब्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०६६।३।२३ को फैसला ।
विपक्षले मुलुकी ऐन अंशबण्डाको १० नं. बमोजिम दावी लिएको हो भने निजको पति म पुनरावेदक बुद्धिबहादुर आचार्यबाहेकका अन्य परिवारका सदस्यलाई प्रतिवादी कायम गर्न मिल्दैन । विपक्षीले आफ्नो शरीरमा आफैंले मट्टितेल खन्याई आगो लगाएको र उल्टै हामीले उपचार गराएको भन्ने रामबहादुर पिठाकोटीको वकपत्रबाट पुष्टि भैरहेको अवस्था छ । विपक्षीले आधार लिएको लोग्नेस्वास्नीको ४ नं. विपरीतको कार्य हामी पुनरावेदकहरूबाट भएको कुरा फिरादमा नै किटानी रुपमा लेख्न सकेको पाइँदैन । वादी स्वेच्छाले माइत गएको भन्ने फिरादको प्रकरण ४ मा उल्लेख भएको छ । हाम्रो घरमा दुई दुई जना अशक्त र नावालकहरू समेत रहेका छन् । खेतीबाट परिवारको गुजारा गर्न पनि मुस्किल छ । आर्थिक आम्दानी केही नभएको कुरा हाम्रो साक्षी वकपत्रबाट समेत पनि पुष्टि भएको छ । आफैं घर छाडी हिड्ने वादीलाई ऋण खोजी मानाचामल भराउनु पर्छ भन्ने पनि कानूनको मनसाय होइन । अतः शुरु तथा पुनरावेदन अदालतको फैसला उल्टी गरी फिराद खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादीहरूको यस अदालतसमक्षको पुनरावेदन पत्र ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री तिलबहादुर भट्टराईले प्रतिवादीहरूले वादीलाई खान लाउन नदिई कुटपीट गरी घरबाट निकाला नगरेको र मासिक रु.२,०००। मानाचामल भर्न सक्ने आर्थिक हैसियत समेत नरहेको हुँदा शुरु र पुनरावेदन अदालतको फैसला उल्टी गरी फिराद खारेज हुनु पर्दछ भनी गर्नु भएको बहस सुनी पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत विराटनगरको फैसला मिले नमिलेको के रहेछ र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा विपक्षी प्रतिवादीहरूले खानलाउन नदिई कुटपीट गरी निकाला गरेको हुँदा मासिक रु.६,०००। मानाचामल भराई उपचार गराउँदा लागेको खर्च समेत भराई पाऊँ भन्ने समेत फिराद माग दावीमा वादीलाई कुटपीट गरी निकालेको होइन, आफैं झगडा गरी घरबाट निस्केकी हुन्, फिरादमा उल्लेख भएबमोजिम मासिक खर्च दिन सक्ने हैसियत छैन भन्ने समेत ब्यहोराको प्रतिउत्तर जिकीर लिएको देखिन्छ । शुरुले फिराद परेको मितिदेखि फैसला मितिसम्म मासिक रु.२,०००। का दरले वादीले मानाचामल भराई लिन पाउने ठहर्याएको फैसला पुनरावेदन अदालतबाट केही उल्टी गरी वादीले प्रतिवादीहरू उपर अंश मुद्दा दायर नगरेसम्म प्रति महिना रु.२,०००। मानाचामल भराई लिन पाउने ठहर्याएको पुनरावेदन अदालतको फैसलाउपर चित्त नबुझाई पुनरावेदक प्रतिवादीहरूको प्रस्तुत पुनरावेदन परेको देखिन आयो । वादीलाई कुटपीट गरी निकाला नगरेको र मासिक रु.२,०००। मानाचामल भर्न सक्ने आर्थिक हैसियत नभएको हुँदा शुरु र पुनरावेदन अदालतको फैसला उल्टी गरिपाऊँ भन्ने नै पुनरावेदक प्रतिवादीहरूको मुख्य पुनरावेदन जिकीर रहेको पाइन्छ ।
३. यसमा प्रत्यर्थी वादी र पुनरावेदक प्रतिवादीहरू नाता सम्बन्ध रहेको तथ्यमा मुख मिलेकै देखिन आउँछ । पुनरावेदकहरूले प्रत्यर्थी वादीलाई खानलाउन नदिई बारम्बार कुटपीट गरी घरबाट निकाला गरेको भन्ने वादीको फिरादमा उल्लेख भएको पाइन्छ । पछिल्लो पटक वादीको शरीरमा मट्टितेल खन्याई आगो समेत लगाई दिएकोले घरमा बस्न नसक्ने अवस्था भई बाहिरै बसी उपचाररत् रहेको भन्ने वादीको दावी साक्षीहरूको बकपत्र समेतबाट पुष्टि भएको देखिन्छ । वादीले आफ्नो शरीरमा आफैंले मट्टितेल खन्याई आगो लगाएकी हुन् हामीहरूले त्यसो गरेको होइन भन्ने पुनरावेदक प्रतिवादीहरूको जिकीर रहेको पाइन्छ । परन्तु प्रतिवादीहरूबाट मानाचामल माग गर्न कै लागि वादीले आफ्नो शरीरमा आफैंले मट्टितेल खन्याई आफैंविरुद्ध शारीरिक हिंसा गरेको होलिन भनी प्रतिवादीहरूको जिकीरअनुरूप विश्वास गर्न मिल्ने कुनै आधार मिसिलबाट देखिन आउँदैन । सामान्यतयाः आफ्नो घर परिवारबाट मानवीय व्यवहार पाउँदापाउँदै मानाचामल माग गरी अड्डा अदालत धाउने कुरा मुद्दा गर्नकै लागि वा पति समेतका आफ्नो परिवारका सदस्यहरूलाई दुःख दिने उद्देश्यबाट गरिएको होला भनी अनुमान गर्नु स्वाभाविक हुन सक्दैन । हाम्रो समाजमा विद्यमान रहेको लैङ्गिक र घरेलु हिँसाको कारणबाट खास गरी महिलाहरू र त्यसमा पनि बुहारीमाथि यस प्रकारका घटनाहरू घट्ने गरेको कुरा बराबर प्रकाशमा आउने गरेकै पाइँदा सामान्यतः वादीको दावीलाई अस्वाभाविक भनी अन्यथा अनुमान गर्न मिल्ने देखिँदैन । शुरु मिसिल संलग्न रहेका वादीको शरीरमा आगो लगाइएको कारणबाट परेका भनिएका खत र चोटपटकको प्रकृति हेर्दा प्रस्तुत मुद्दामा पनि प्रत्यर्थी वादी घरेलु हिंसाको शिकार भएको भन्ने देखिएको र सो तथ्य वादीका साक्षीहरूको बकपत्र समेतबाट पुष्टि भैरहेको अवस्था हुँदा अंश नलिएसम्म निजले मानाचामल भराई लिन पाउने गरी पुनरावेदन अदालतबाट भएको फैसला अन्यथा देखिन आएन ।
४. आफूले विवाह गरी ल्याएकी पत्नी तथा बुहारीप्रति मानवीय व्यवहार गर्नु सम्बन्धित परिवारको कानूनी र नैतिक दुबै प्रकारको दायित्व हो । यदि परिवारबाट सो दायित्व पूरा गरिदैँन र त्यस्ती महिलामाथि हिंसाजन्य ब्यवहार गरी घरमा बस्न नसक्ने अवस्था सिर्जना गरिन्छ भने निश्चित रुपमा मुलुकी ऐन अंशबण्डाको १० नं. र लोग्नेस्वास्नीको ४ नं. बमोजिम खानलाउनको लागि मानाचामल भर्नुपर्ने अवस्था आउँछ । कानूनविपरीतको यस्तो अमानवीय र कठोर ब्यवहार गरी एकजना विवाहित महिलालाई घरमा बस्न नसक्ने वातावरण तयार पार्ने व्यक्ति वा परिवारले पछि आएर मानाचामल भर्न सक्ने आर्थिक हैसियत थिएन वा छैन भनी लिने जिकीर आधारहीन हुन जान्छ । त्यसमा पनि मिसिल संलग्न प्रमाण कागजातहरूबाट पुनरावेदक प्रतिवादीहरूको मासिक रु.२,०००। मानाचामल भर्न सक्ने आर्थिक हैसियत यत्किंचित छैन भन्ने अवस्था नहुँदा पुनरावेदन अदालतको फैसला स्वाभाविक नै देखिन आउँछ ।
५. तसर्थ उल्लिखित आधार र कारणबाट शुरुको फैसला केही उल्टी गरी प्रत्यर्थी वादीले प्रतिवादीहरू उपर अंश मुद्दा दायर नगरेसम्म प्रति महिना रु.२,०००। का दरले मानाचामल भराई लिन पाउने ठहर्याएको पुनरावेदन अदालत विराटनागरको मिति २०६६।३।२३ को फैसला मनासिव देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रकाश वस्ती
इति संवत् २०६९ साल जेठ १४ गते रोज १ शुभम् ...
इजलास अधिकृत नारायणप्रसाद सुवेदी