निर्णय नं. ४९ - लिखत बदर गरी पाउँ

निर्णय नं. ४९ ने.का.प. २०१६
फुल बेञ्च
(महोत्तरी अपील उपर)
माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
माननीय न्यायाधीश श्री महेन्द्रबहादुर महत क्षेत्री
माननीय न्यायाधीश श्री भैरवराज पन्तोपाध्याय
ठा.नं. ४३९
वादी, अपीलाट : चिनबहादुर गिरी सन्यासी
विरूद्ध
प्रतिवादी, रेस्पोण्डेण्ट : सरस्वतीदेवी समेत
मुद्दा : लिखत बदर गरी पाउँ
(१) जिरायतमा गाभिने जग्गा अर्काका नाउँमा दर्ता हुँदैमा–आफैंले भोग गरेको र भोग चलनको रसिदहरू जम्मै आफैंसँग भएकोमा–दर्ताको नाताबाट सो जग्गा जान सक्तैन ।
मधेश मालको सवालको १८ दफाले म्यादभित्र साविक जिमिदारले बाँकी नबुझाए त्यस्ता जिमिदारका नाउँमा दरिएको जिमिदारी मौजा जोत जिरायत नम्बरी खेत र नातेदार नोकर चाकरहरूका नाउँमा दराई आफूले भोग चलनगरी राखेको दिगर मौजाको नम्बरी समेत कबुल गर्नेहरूका नाउँमा चलन पुर्जी भई जाने भएकोले झगडा परेको जग्गामा भई आएको सरजिमिन मुचुल्का हेर्दा टुनकुमारीले थैली हाली प्र. सरस्वतीका नाउँबाट खरीद गरी लिई ९४ साल देखि २००२ साल तक टुनकुमारीले नै भोग चलन गरी आएकी छ भनी जम्मा बिक्री गर्ने र सुलमियां समेत २८२ जनाले सरजमिन मुचुल्का गरी दिएको र प्र. सरस्वतीले दिएकी हुलीया दर्खास्तबाट समेत जग्गा टुनकुमारीको भोग रहेछ भन्ने प्रष्ट देखिन आएको अर्काको हकको जग्गा आफ्नो गराउना निमित्त आफ्नै भाइलाई जग्गा बिक्री गर्दैमा टुनकुमारीको हक जान नसक्ने ।
(प्रकरण नं. ८)
(२) अदालती बन्दोबस्तको २२१ नं. र मधेश मालको सवाल १८ दफा सवालको १८ दफाबमोजिम जिरायत हुन जाने जग्गाको सरकारवादी हुने मुद्दामा सरजमिन बुझ्न हुने ।
जिमिदारले आफ्नो नातेदारका नाउँमा दराई भोग चलन गरी आएको जग्गा माथि लेखिएका सवालले जिमिदारी साथ रही जिरायत हुन जाने भएबाट सरकारवादी हुने देवानी मुद्दामा अ.ब.को २२१ नं. ले सरजमिन बुझ्न हुने ।
(प्रकरण नं. ८)
फैसला
१. यसमा मेरो भिन्न भएको सहोदर जेठी आमा टुनकुमारी देवीले आफ्ना सौतेनी आमा प्र. सरस्वती देवीका नाउँबाट रसुल मियाँसँग मौजेनौवा खोर परसाहीको जग्गा विगाहा १२।।२।।।४ खरीद गरी लिई प्र. सरस्वती देवीका नाउँमा दर्ता गरी भोग तिरो टुनकुमारीले नै गरी आएको थियो । जेठी आमा टुनकुमारी २००३।३।२ गते परलोक हुनु भएको र जेठी आमाको सन्तान कोही नभई म समेतको हक हुन आएकोमा २००३।२।२९ गते थैली लिई लिनु दिनु केही नगरी मेरा भाई कृष्णबहादुर समेतलाई साक्षी राखी सो १२।।२।।।४ जग्गा मध्ये जग्गा विगाहा २ कं. रु. २५०१ मा प्र. मी. श्री देवीलाई र जग्गा विगाह १०।।२।।।४ टुनकुमारीको र प्र. सरस्वतीकै भोगको १३।।।३।१ जग्गा समेत कं.रु. २५००१ मा प्र. दुर्गा भारतीलाई प्र. सरस्वतीदेवीले राजिनामा गरी दिएकोले सो लिनु दिनु गरेको बदर गरी टुनकुमारीको जग्गा मेरो हक सदर गरी पाउँ भन्ने २००३।७।२८ गतेको चिनबहादुरको वादी रहेछ ।
२. वादीले दावी गरेको जग्गा रसुल मियाँसँग कं.रु १८०१ मा रजिष्ट्रेशन पास गरी ९४।२।२० गते राजिनामा गरी लिई मेरै नाउँमा दर्ता गरी तिरो भरो समेत मैले नै गरी आएको मेरो हक भोगको जग्गा हुँदा प्र. मिश्रीदेवी प्र. दुर्गा भारतीलाई मैले राजिनामा गरी दिएको हुँ टुनकुमारीको जग्गा नहुँदा वादी झुठ्ठा हो भन्ने समेत २००३।९।१० गतेको सरस्वतीदेवीको प्रतिवादी रहेछ ।
३. प्र. सरस्वतीकै हक भोग दर्ताको जग्गा हामीलाई राजिनामा गरी दिएको हो हामीहरू पूरा हैसियतवाला मानिस हुँदा वादी झुठ्ठा हो भन्ने समेत २००३।९।१० गतेको मिश्रीदेवी दुर्गा भारतीको प्रतिवादी रहेछ ।
४. प्र. सरस्वतीका नाउँमा दर्ता भएको नम्बरी जग्गाको प्र. सरस्वतीले पेश गरेको रसिदबाट वादीका जेठी आमा टुनकुमारीले हस्तक्षेबाट तिरो तिरेको देखिन नआएकोले समेत प्र. सरस्वतीका नाउँमा दर्ता भएको जग्गा टुनकुमारीको भन्न नहुने हुनाले वादीले झुठ्ठा उजुर गरेको ठहर्छ भनी २००३।११।१६ गते जलेश्वर अमिनीले फैसला गरेको रहेछ ।
५. प्र. सरस्वती टुनकुमारीको सौतेनी आमा भएको र टुनकुमारीको नाउँमा जिमिदारी समेत दर्ता भएको मालपोत बाँकीमा जिमिदारी लिलाम भएको खण्डमा खरिदी जग्गा समेत जाला भनी सौतेनी आमाका नाउँमा दर्ता गराई राख्ने पुरा सम्भव भएकोले दर्ताको नाताबाट जग्गा प्र. सरस्वतीको भन्न नहुने प्र. सरस्वतीका कारिन्दा मायानाथले दिएको हुलिया दर्खास्तबाट समेत भोग चलन टुनकुमारीको देखिन आएकोले टुनकुमारीको अपुताली जग्गा वादी चिनबहादुरले पाउने देखिएकोले टुनकुमारीको जग्गा प्रतिवादीहरूले लिनु दिनु गरेको बदर हुने हुँदा थैली कपाली ठहर्छ भनी २००७।६।२५ गते महोत्तरी अपीलबाट फैसला गरेको रहेछ ।
६. दर्ता प्र. सरस्वतीकै नाउँमा रही रसुल मियाँले गरी दिएको ९४ सालको लिखत र मालपोत तिरेको रसिद समेत प्र. सरस्वतीले पेश गरेकोले वादीको उजुर झुठ्ठा ठहराएको इन्साफ शुरु जलेश्वर अमिनीको मनासिव महोत्तरी अपीलले गल्तीगरेको ठहर्छ भनी प्रधान न्यायालय तेस्रा फाँटबाट ०७।१२।२६ गते फैसला गरेको रहेछ ।
७. भोग चलन जेठीआमा टुनकुमारीको हुँदा न्यायालय तेस्रा फाँटबाट गरेको इन्साफमा चित्त बुझेन भनी वादी चीनबहादुरको बिन्तिपत्रमा मिसिल झिकी इन्साफ जाँची ऐन सवालबमोजिम गर्नु भन्ने ०८।१।९ गतेको कायम मुकायम प्रधान न्यायाधीश बल्लभ शम्शेरको आदेश रहेछ ।
८. यसमा ०९।२।२ गतेको प्रधान न्यायाधीशका आदेशबमोजिम बुझिएका सरजमिन मुचुल्कामा र तारिख भर्पाईमा समेत प्र. सरस्वती र प्र. मिश्रीदेवी रूजु हाजिर रही सहीछाप नगरेको भनी जनिआएको निज २ जना प्रतिवादीले आजसम्म तारिख नथमाई म्यादै गुजारी बसेको र प्र. दुर्गा भारतीले गुज्रेको म्याद तारिख थामी पाउँ भनी बिन्तिपत्र दिएकोमा मुद्दा जाहेर हुँदा बिन्तिपत्रको व्यहोरा समेत जाहेर गर्नु भन्ने प्रधान न्यायाधीशको आदेश भई ताखिमा रहेको वादी चिनबहादुर छलफलमा हाजिर भएको प्र. दुर्गा भारती समेतलाई राखी बुझ्दा जेठीआमा जिमिदारनी टुनकुमारीले थैली हाली सैतेनीआमा प्र. सरस्वतीका नाउँबाट खरिद दर्तागरी जेठीआमा टुनकुमारीले भोग चलन गरी आएको भनी वादी चिनबहादुरको दावी भएको मधेश मालका सवालको १८ दफाले म्याद भित्र साविक जिमिदारले बाँकी नबुझाएमा त्यस्ता जिमिदारका नाउँमा दरिएको जिमिदारी मौजा जोत जिरायत नम्बरी खेत र नातेदार नोकर चाकरहरूका नाउँमा दराई आफूले भोग चलन गरी राखेको दिगर मौजाको नम्बरी समेत कबुल गर्नेहरूका नाउँमा चलन पुर्जी भई जाने भएकोले झगडा परेको जग्गा टुनकुमारी प्र. सरस्वती कसले भोग चलन गरीरहेको छ भनी भई आएको सरजमिन मुचुल्का हेर्दा टुनकुमारीले थैली हाली प्र. सरस्वतीका नाउँबाट खरिद गरी लिई ९४ साल देखी २००२ साल तक टुनकुमारीले नै भोग चलन गरी आएकी छ भनी जग्गा बिक्री गर्ने रसुलमिया समेत २८२ जनाले सरजमिन मुचुल्का गरी दिएको र प्र. सरस्वतीको घरमा ०३।७।२३ गते चोरी भयो भनी निजको मानिस मायनाथले दिएको ०३।७।२६ गतेको हुँलिया दर्खास्तमा झगडा परेको जग्गाको टुनकुमारीले गरी दिएको साल बसाली कबुलियत र ०१।०२ साल को रसिद समेत चोरी भयो भनी लेखिएको सो दर्खास्त मैले दिन पठाएको छु भनी ०३।७।२७ गते सरजमिन हुँदा प्र. सरस्वतीले सकार मुचुल्का गरी दिएकी देखिनाले प्र. सरस्वतीले दिएकी हुलिया दर्खास्तबाट समेत जग्गा टुनकुमारीको भोग रहेछ भन्ने प्रष्ट देखिन आएको प्र. सरस्वतीको जग्गा टुनकुमारीले बटैयामा कमाएको हो कि भन्नालाई जिमिदारजस्तो भएकी टुनकुमारीले प्र. सरस्वतीको जग्गा बटैयामा कमाई होली भन्न पत्यार नपर्ने देवानी मुद्दामा सरजमिन बुझ्न नहुने भन्ने प्र. दुर्गा भारतीको जिकीरलाई जिमिदारले आफ्नो नातेदारका नाउँमा दराई भोग गरी चलन गरी आएको जग्गा माथि लेखिएको सवालेले जिमिदारिसाथ रही जिरायत हुन जाने भएबाट सरकारवादी हुने देवानी मुद्दामा अ.बं.को २२१ नं. ले सरजमिन बुझ्न हुने हुँदा सरजमिन बुझ्न नहुने भन्ने प्र. दुर्गाको जिकिर मनासिव भन्ने नहुने । प्रं सरस्वतीले ०१।०२ सालको रसिद पनि पेश गर्न नसकेकी पटवारी बुझ्दा सो २ वर्षको पोत प्र. सरस्वतीले बुझाएकी नहुँदा रसिद दिएको छैन भनी खाली फाराम दाखिल गरेको सो सालको रसिद प्रतिवादीसँग भए २००३।२।२९ गते प्र सरस्वतीले जग्गा विक्री गरेकै मौका किन्ने दुर्गा भारती समेतले सो रसिद दिन लिन समेत नपर्ने । नसकेकोले जग्गै आफ्नै हकबाट गईसकेपछि रद्दी भईसकेको रसिद समेत ०३।७।२३ गते चोरी भयो भनी झुट्टा हुलिया दिएको रहेछ भन्नु पर्ने अर्काको हकको जग्गा आफ्नो गराउनानिमित्त आफ्नै भाई प्र. दुर्गा भारती समेतलाई जग्गा बिक्री गर्दैमा टुलकुमारीको हक जान नसक्ने हुँदा प्रतिवादीहरूको थैली कपाली हुने र माथि लेखिएका सवालबमोजिम टुनकुमारीले जिमिदारी साथको जिरायत जग्गा हुन जाला भनी आफूले थैली हाली किनी सौतेनी आमा प्र. सरस्वतीको नाउँमा दर्ता गराई आफू जिमिदारनी टुनकुमारीले भोग चलन गरी आएको झगडा परेको जग्गा अघि टुनकुमारीका नाउँमा दर्ता भई हाल पटवारीका रिपोर्र्टबाट वादी चिनबहादुरका नाउँमा दर्ता कायम रही वादी चिनबहादुरले भोग चलन गरी आएको मौजे तौवाखोर परसाहीको जिमिदारी साथ रहने जिरायत जग्गा ठहर्छ । सो ठहर्नाले तपसीलका मानिसलाई तपसीलमा लेखिएबमोजिम गर्न तहसिलमा लगत दिई जिमिदारि साथको जिरायत जग्गा जानी भोग चलन गर्नु भनी वादी चिनबहादुरलाई सुनाई दिई जिमिदारी साथको जिरायत जग्गा गरी श्रेस्ता मिलाई दर्ता गर्नु भनी जिल्ला माललाई पुर्जी गर्न समेत मिसिल जलेश्वर अमिनीमा पठाउन मिसिल फाँटमा बुझाई दिनु।
तपसील
प्र. सरस्वती देवी सन्यासिनी के महोत्तरी अपीलका फैसलाले टुनकुमारीको हकको जग्गा मेरो भनी प्र. दुर्गा भारती मिश्री देवीलाई बिक्री गरेमासा.अका ५४ नं. ले तजबिजी कं रू. ३० दण्ड हुनेमा स्वास्नी मानिस हुँदा दं.स.का २ ले आाधी कं रू. १५ गर्ने गरेकोमा प्रधान न्यायालय तेस्रा फाँटको फैसलाले नलाग्ने भनी फिर्ता दिने गरेकोमा हाल लाग्ने नै ठहरेकाले न्यायालय तेस्रा फाँटका फैसलाले फिर्ता दिने गरेको लगत कट्टा गरी महोत्तरी अपीलका फैसलाबमोजिम कं.रु. १५ पन्ध्र रुपैयाँ रुजू नहुँदा असुल गर्ने भनी तहसिलमा लगत दिनु ......................१
प्र. दुर्गा भारती १ मिश्री देवी १ समेत के निजहरूको थैली कपाली ठहरेकोले प्र. सरस्वतीले मेरा भनी राजिनामा गरी दिएबाट लिएको हुँदा केही गर्नु पर्दैन ....................२
वादी चिनबहादुर गिरिके महोत्तरी अपीलका फैसलाले कं. रू. १ सलामी नलाग्ने भनी अपील गरे वापत लाग्ने दण्ड कं रू. १ मा कट्टी गर्ने गरेको हाल न्यायालयमा अपील गरे वापतको दण्ड नलाग्ने भनी महोत्तरी अपीलका फैसलाबमोजिम सलामी कं.रु. १ लाग्ने ठहरेकोमा न्यायालय तेश्रा फाँटका फैसलाले फिर्ता दिने गरेको नभई कट्टी गर्ने गरेको फिर्ता भई नसकेको हुँदा केही गर्नु परेन .......................३
निज वादी चिनबहादुरके जलेश्वर अमिनीका फैसलाले कं.रु. १० दण्ड गर्ने गरेकोमा महोत्तरी अपीलका फैसलाले नलाग्ने भनी फिर्ता दिने गरकोमा न्यायालय तेश्रा फाँटका फैसलाले लाग्ने नै ठहराई असुल गर्ने गरेकोमा हाल नलाग्ने ठहराएकोले असुल भए फिर्ता नभए व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी तहसीलमा लगत दिनु .................४
प्र. सरस्वतीका नाउँमा दर्ता भएको झगडा परेको मौजे तौवाखोर परसाहीको जग्गा विगाहा १२।।२।।४ सरस्वतीले प्र. दुर्गा भारती प्र. मिश्री देवीलाई रजिष्ट्रेशन पास गरी ०३।२।२९ गते राजिनामा गरी दिएको बदर गरी सोही मौजे तौवाखोर परसाहीको टुनकुमारीका नाउँमा दर्ता भई हाल वादी चिनबहादुरले भोगी आएको जिमिदारी साथ रहने जिरायत जग्गा गरी श्रेस्ता मिलाई दर्ता गर्नु भनी जिल्ला माललाई पुर्जी गर्न समेत मिसिल जलेश्वर अमिनीमा पठाउन मिसिल फाँटमा बुझाई दिनु .......................५
महोत्तरी अपीलका देहायका मानिसके गल्ती इन्साफ गरेमा भनी न्यायालय तेश्राका फैसलाले गर्ने गरेको देहायबमोजिमको जरिवाना नलाग्ने हुँदा असुल भए फिर्ता नभए व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी तहसीलमा लगत दिनु ....................... ६
सुव्वा खिमानन्द उपाध्याय के कं.रु. ।।।, वि.चिनियालाल प्रधानके कं.रु.. ।।, इन्साफ उल्टिमा सुरु जलेश्वर अमिनी र प्रधान न्यायालय तेश्रा फाँटलाई केही गर्नु पर्दैन ।
इति सम्वत् २०१० साल माघ २५ गते रोज १ शुभम् ।