शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५० - लेनदेन किर्र्ते जालसाजी

भाग: साल: २०१६ महिना: भाद्र अंक:

निर्णय नं. ५०       ने.का.प. २०१६

फुल बेञ्च

(कटरवन अपील उपर)

प्रधान न्यायाधीश श्री अनिरुद्रप्रसाद सिंह

न्यायाधीश श्री मीनबहादुर थापा

न्यायाधीश श्री तिलक शम्शेर थापा (छुट्टैराय)

दे.ठा.नं. ५

निवेदक      : महावीर पंजियार सुदी समेत

विरूद्ध

विपक्षी : बद्री साहु तेली

मुद्दा : लेनदेन किर्र्ते जालसाजी

(१)   ०७ सालमा खड्गनिसान भई छिनीएका मुद्दाको सम्बन्धमा ०१०।४।५।३ मा श्री ५ बाट सदर गरी बक्सेको निर्णय ०७।०१२ सम्म छिनिएका मुद्दा दोहोराई हेर्ने ०१४।१।१० मा गजेटमा प्रकाशित भएको शाही आदेश०७ साल भन्दा अघि छिनेको मुद्दा दोहराई हेर्न नमिल्ने ठहरी सर्वोच्च अदालत फुल बेञ्चबाट भएको फैसला (लोकनाथ कालू टमोटा)०७ सालमा खड्गनिशाना भई छिनिएको मुद्दा दोहराई हेर्न मिल्ने ।

     ०७ सालमा खड्गनिशाना भई छिनीएका मुद्दा भू.पु.प्रधान न्यायाधीशज्यूले इन्साफ जाँच गर्न आदेश दिई कुनै मुद्दा हेरी छिनी सकेको र कुनै दायरै रहेको अवस्था के अख्तियारीको आधारमा हेरिएको भन्ने विषय सोधनी भई त्यस सम्बन्धमा भए गरेको कारवाई समेतको विवरण खुलाई गृह बिभागबाट रहेको प्रस्ताव पेश हुँदा २००९ चैत्र २६ गते परामशदातृ मण्डलबाट पास भई ०१०।४।५।३ मा श्री ५ महाराजाधिराजबाट सदर गरी बक्सेको भनी एटर्नी जनरलले प्रधान न्यायालयलाई लेखेको मिति ०१०।८।१२ को नं. ३२५।४०२ को पत्रबाट ०७ सालमा खड्गनिशाना भईसकेकोमा दोहराई हेरीए जतिलाई हेर्न मिल्दैन । खारेज गर्नु भन्ने निकासा नभई सा.हिरण्य विक्रमको अंश मुद्दा र महेन्द्र चौधरीको कुलो पानी मुद्दाको हकमा भू.पु.प्रधान न्यायाधीशज्यूको फैसला बदर भई अघि छिनिएकै कायम भएको र खड्गनिशाना उल्टि वा केही उल्टि भई छिनीएको जती फुल बेञ्चमा र फैसला नभई कारवाई चली रहेको जति डिभिजन बेञ्चमा राखी ऐन सवाल बमोजिम गरी किनारा लाईदिनु भन्ने दिनु भन्ने उक्त निर्णय भईसकेको । सोही निर्णय अनुसार दामु कार्की, दामु जैसी समेतको जग्गा मुद्दा २०१४ साल श्रावण ३१ गतेमा डिभिजन बेञ्चबाट र ०७ सालसम्ममा छिनीएका मुद्दा मात्र हेरी आएकाले ०७ साल भन्दा अघि छिनेको मुद्दा दोहर्‍याई हेर्न नमिल्ने ठहरी लोकनाथको र कालो टमोटको जग्गा मुद्दा ०१४ साल माघ २ गते ४ मा सर्वोच्च अदालत फुल बेञ्चबाट फैसला भएको ०७ साल बैसाख १ गते देखि ०१२ साल चैत्र मसान्तसम्म छिनिएका मुद्दा दोहराई हेर्ने विषय ०१४।१।१० मा शाही आदेश गजेटमा प्रकाश भएको हुनाले समेत ०७ सालमा खड्गनिशाना भई छिनीएको मुद्दा दोहराई हेर्न भू.पु.प्रधान न्यायाधीशज्यूले दिनु भएको आदेबाट दायर भएको यो मुद्दा उसै बखत प्रधान न्यायालयले दोहराई हेरी छिनिए उपर रिभ्यू निमित्त पेश हुँदा रूलिङ्ग बाझिएको भनी पेश हुन आएको देखिएको । उपरोक्त श्री ५ महाराजाधिराजबाट सदर गरीबक्सेको निर्णय शाही आदेश र प्रधान न्यायालय फुल बेञ्च तथा सर्वोच्च अदालत फुल बेञ्चको निर्णय समेतबाट हेर्न मिल्ने देखिन्छ ।

(प्रकरण नं. १५)

(२)  कर्जाको लिखतको आकृति सामान्य दृश्य चलन चल्ती रूल कायदा माफिकको देखिन नआएमाहुनु पर्ने तरिकाबाट र ठाउँमा सहीछाप नभई अस्वाभाविक तवरले लिखत भएको देखिएमात्यस्तो लिखतको कागजलाई मान्यता दिन नमिल्ने ।

     सक्कल लिखत हेर्दा लिखतको आकृति सामान्य दृश्य नै त्यतिका रूपैयाँ कर्जा दिंदा गरिने चलनचल्ती रूल कायदा माफिकको देखिन नआई कारणीले सहीछाप गर्नुपर्ने ठाउँ कागजको व्यहोराको सिर हरफको छेउ उठानमा छाडिने किनाराको कागज तोडमा व्यहोरातर्फको पहिलो अक्षरले टेकी त्यसैको सिलसिलामा अरू अक्षर लेखि सो तोड्कै किनारा सिधासाधा हरफ उठान हुँदै जानु स्वाभाविकै कुरा थियो । उक्त लिखतमा त्यसो नभई व्यहोरा लिखतलाई तोडिएको तोड भन्दा भित्रपट्टी कारणीको सहछिाप परेको सो सहीछापबाट हटाई पहिला हरफको व्यहोराको अक्षर उठान भई क्रमैसँग सहीछापका अक्ष्रहरूलाई छाडी घुमाउदै लगी त्यस पछिका हरफहरूमा तोडतर्फ बढाउँदै ल्याई खडा गरेको व्यहोरा र दुई जना अन्तरसाक्षीको सहीछापको हरफको उठान सिलसिला भित्रसम्म हटेको र लेखक साक्षीको नाम लेखि सहीछाप परेको हरफ चाहिं अरू साक्षीको नाम सहीछापको लाईन भन्दा धेरै नै बाहिर निस्की कारणीको सहीछापको लाईनसम्म अस्वाभाविक तवरले आएको पूरा बन्दको तोडाई पुगेको कागज पनि नभएको समेतबाट सानो टुक्रा कागजमा परेको प्रतिवादीको सहीछापको लिफा हात लगाई त्यसैबाट खडा गरेको रहेछ भन्ने प्रष्ट हुन आउने र त्यस्तो लिखत रूपैंया लिनु दिनु गरेका साँचो व्यवहारको हो भनी मान्यता दिन नमिल्ने ।

(प्रकरण नं. १५)

(३)  किर्ते कागजको १ नं.एउटा कामलाई भनी दिएको लिफामा अर्को लिखत खडा गर्नुकिर्ते ठहर्ने ।

     किर्ते कागजको १ नम्बरले पनि एउटा कामलाई भनी दिएको लिफा सो काममा नलगनाई अरू व्यहोराको लिखत खडा गर्नु जोहो किर्ते ठहर्ने ।

(प्रकरण नं. १५)

(४)  किर्ते कागजको ३ नं. नभए नगरेको काम कुरामा खडा गरेको कागज जालसाजी ठहर्ने ।

     ऐजन (किर्ते कागजको) ३ नं. ले नभए नगरेको काम कुरामा खडा गरेको कागज जालसाजी हुने ।

(प्रकरण नं. १५)

यसमा उल्लेख भएका फैसलाहरू :

(नोरचन्द्र वि.नरोत्तम, सर्वोच्च अदालत फुल बेञ्च, सा.हिरण्य विक्रमको अंश मुद्दा, महेन्द्र चौधरीको कुलो पानी मुद्दा, दामु कार्की वि.दामु जैसी समेतको जग्गा मुद्दा, लोकनाथ वि.कालो टमोट, सर्वोच्च अदालत फुल बेञ्च)

निवेदक तार्फबाट : सिनियर एडभोकेट श्री देवनाथप्रसाद वर्मा

विपक्षी तार्फबाट : सिनियर एडभोकेट श्री राधाकृष्ण विहारी

 

फैसला

      १.     यसमा अन्यायवालाले ९८।१।१४ मा कपाली तमसुक गरी मबाट कं.रू. ३३०१ कर्जा लिएको । नदिएकोले साँवा व्याज दिलाई पाउँ भन्ने समेत व्यहोराको महावीर पंजियारको वादी

      २.    तहविल मसौट मुद्दामा गोरखपुरी मालको तारेखमा बिरामी भई हाजीर हुन नसकेकाले अर्जी लेखी दिन सादा कागजको पुछार ४ अड्डुलमा सही गरी दिएको । अर्जी लागेन च्याती दिएँ भनी मिठुलालले भनेकोले चुप लागि बसेका थिएँ । सोही कागजमा वा अर्कैमा के कस्तो परिबन्दबाट हो । मिठुलाल यो वादी र साक्षी समेत मिली लिखत किर्ते जालसाजी गरी मिठूले वादीलाई अघि सारी यो मुद्दा दिन लगाएको हो । मैले कर्जा नलिएकोले लिखत देख्न पाएमा उजुर गर्नेछु भन्ने समेत व्यहोराको बद्री साहु तेलीको प्रतिवादी ।

      ३.    मैले अर्जीलाई भनी सही गरेको कागज यो होइन किर्ते हो भन्ने समेत व्यहोराको बद्री साहु तेलीको बयान ।

      ४.    लिखत सद्दे हो, किर्ते गरेको होइन भन्ने समेत व्यहोराको महावीर समेतको बयान ।

      ५.    अर्जीलाई सादा कागजमा सही गरी दिएकोमा बनाएको भन्ने कुरै नलेखिदिएकाले अर्को बयान गराउनु पर्ने भए गराई र नपर्ने भए मेरो अर्जीको निमित्त लिएको लिफामा लिखत बनाएको किर्ते जालसाजी मुद्दा कायम गरि इन्साफ पाउँ भन्ने समेत व्यहोराको बद्री साहु तेलीको बिन्तिपत्र ।

      ६.    प्रतिवादीका जिकिरबमोजिम लिफामा लिखत खडा गरेको नभए व्यहोराबाटको मसीसँग आसामीको सहीको मसी मिल्नु पर्ने । नमिली फरक परेको, ल्याप्चे सही नभएको र पुच्छे«मा समेत सही नभएकोबाट समेत वादीले झुठ्ठा उजुर गरेको ठहर्छ भन्ने सर्लाही अमिनीको ०३।२।१८।६ को फैसला ।

      ७.    प्रतिवादी बद्री लेखपढ गर्न नजान्ने नहुनाले अर्जी लेखी लेखाई सही गरी पठाए हुने । सो अनुकुल नभई लिफामा सही गरी पठाउनु पर्ने भए अर्जीको मुनी सही गरी दिए पनि हुने। सो बमोजिम नगरी खाली कागजमा सही गरिदिए भन्ने पत्यारै नपर्ने अर्जी लागेन भन्न आएपछि सो लिफा वापस लिनु पर्ने सो नलिएको समेत भए उजुर गरी लिनु पर्ने सो समेत केही नभएकाले लिनु दिनु गरेको सद्दे तमसुक ठहर्न आएकाले अमिनीले गल्ती गरेको ठहर्छ भन्ने कटरवन अपीलको ०३।७।५।२ को फैसला ।

      ८.    इन्साफ शुरू अमिनीको मनासिव छ भन्ने प्रधान न्यायालय तेश्रा फाँटको ०६।२।४।२ को फैसला ।

      ९.   कटरवन अपीलको इन्साफ मनासिव छ भन्ने ०७।८।६।३ को खड्गनिशाना फैसला ।

      १०.    प्रधान न्यायालय तेश्रा फाँटले गरेको इन्साफ मनासिव भन्ने ०१०।८।१९।६ को प्रधान न्यायालय डिभिजन बेञ्चको फैसला ।

      ११.    मलाई ०१० साल मार्ग ५ गतेको तारेख प्रधान न्यायालयबाट दिएको । सोही मार्ग ५ गते सर्लाही अमिनीमा पनि तारेख भएकाले सो अमिनीमा हाजिर भई प्रधान न्यायालयको तारेखमा हाजिर हुन जान नसक्ने व्यहोराको दर्खास्त दिएकोमा ऐजन पौष ४ गते प्रधान न्यायालयमा हाजिर हुन जाने गरी सो अमिनीबाट मलाई तारेख तोकी दिएकाले हाजिर हुन आउँदा तारेख गुज्रेबाट भनी ०१०।८।१९ गते मलाई हराई फैसला भएछ, त्यसो हुँदा निवेदन गर्न आएको छु, व्यहोरा साँचो रहेछ भने बुझी फेरी हक इन्साफ गरी दिनु भन्ने आदेश पाउँ भन्ने समेत व्यहोराको मिठुलालको निवेदनमा व्यहोरा साँचो भए एक पटकलाई अपीलाट बद्रीलाई झिकाई बिन्तिपत्रवालालाई समेत राखी रिभ्यूको निमित्त डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०१०।१०।१२।२ को प्रधान न्यायालय डिभिजन बेञ्चको आदेश ।

      १२.   प्रधान न्यायालय ऐनको दफा २१ मा मुद्दा फेरी हेर्ने अख्तियार पनि भएकै र त्यसमा रिभ्यूको छुट्टै निस्सा गरी दिनुपर्ने लेखिएको नदेखिएकोले सो बिन्तिपत्रमा दिएकै आदेशबाटै रिभ्यू गरी दिनुपर्ने देखिने । अब यो मुद्दा रिभ्यूको लागि कजलिष्टमा चढाई पेश गर्नु भने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१३।२।१६ गतेको आदेश ।

      १३.   कटरवन अपील र खड्गनिशाना फैसला भई छिनेको इन्साफ मनासिव छ । अगाडिको डिभिजन बेञ्चसँग राय नमिलेकोले फुल बेञ्चमा पेश गर्न श्री माननीय प्रधान न्यायाधीशज्यू छेउ पेश गर्नु भनी रजिष्ट्रारलाई पठाउने भन्ने डिभिजन बेञ्चको ०१४।७।३।२ को फैसला ।

      १४.   कजलिष्टमा चढाई यो मुद्दा फुल बेञ्चमा पेश गर्नु भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यूको ०१४।८।१७।२ को आदेश ।

      १५.   यसमा निवेदक मिठुलाल र महावीरको वारिस महेश तथा निजहरूको तर्फबाट रहेका विद्वान सिनयर एडभोकेट देवानाथप्रसाद वर्मा औ विपक्षी वद्री साहु तर्फबाट रहेका विद्वान सिनियर एडभोकेट राधाकृष्ण विहारीलाई राखी पेश हुन आएको बुझ्दा ०७ सालमा खड्गनिशाना फैसला भई छिनिएका मुद्दा भू.पू.प्रधान न्यायाधीशज्यूका आदेशले दोहोराई हेर्न नरोत्तम नोरचन्द्रको ठेक्का हरहिसाब मुद्दा ०१३।८।१२।३ मा सर्वोच्च अदालत फुल बेञ्चबाट भएको निर्णयको प्रतिकुल हुन जान्छ र एक पटक किर्ते भन्ने बयान गरी पछि फेरी लिफा हो भनी बयान सच्याई बिन्तिपत्र दिएको मान्यता दिन नहुने भन्ने समेत वादीतर्फका विद्वान सिनियर एडभोकेट देवनाथप्रसाद बर्माले र ०६ सालसम्मको खड्गनिशाना फैसला मात्र नहेरिने । ०७ साल बैसाख १ गते देखि छिनीएका मुद्दा प्रधान न्यायालय फुल बेञ्च समेतबाट र ०१४ साल बैशाखमा गजेट प्रकाशित शाही आदेशबाट समेत दोहराई हेर्न बाधा नपर्ने र वादीले प्रमाणमा पेश गरेको लिखतको स्वरुपबाटै लिफा भन्ने देखिएकै छ भन्ने समेत प्रतिवादीतर्फका विद्वान सिनियर एडभोकेट राधाकृष्ण विहारीले बहसमा भन्नु भएको व्यहोरा समेत बुझ्दा प्रधान न्यायालय वा सर्वोच्च अदालतबाट छिनीएका मुद्दा दोहराई पाउँ भनी निवेदन परेकोमा इन्साफ जाँची दिनु भन्ने वा दोहराई हेरी दिनु भन्ने किटान नभएको जति हेर्न नमिल्ने भनी नरोत्तम नोरचन्द्रको ठेक्का हरिहसाब मुद्दा फुल बेञ्चबाट निर्णय भएको त्यस मिलानको यो विषय नभई अन्तिम निर्णय भई छिनी सकेको उसै मुद्दाका झगडीयाले निवेदन चढाउँदा किटानी प्रमांगी नभएकोमा फेरी मुद्दा दायर गरी हेरी इन्साफ जाँच गर्न नमिल्ने भन्ने उक्त विषयको मुद्दामा ठहर भएको र ०७ सालमा खड्गनिशाना भई छिनीएका मुद्दा भू.पु.प्रधान न्यायाधीशज्यूले इन्साफ जाँच गर्न आदेश दिई कुनै मुद्दा हेरी छिनी सकेको र कुनै दायरै रहेको अवस्था के अख्तियारीको आधारमा हेरिएको भन्ने विषय सोधनी भई त्यस सम्बन्धमा भए गरेको कारवाई समेतको विवरण खुलाई गृह बिभागबाट रहेको प्रस्ताव पेश हुँदा २००९ चैत्र २६ गते परमार्शदातृ मण्डलबाट पास भई ०१०।४।५।३ मा श्री ५ महाराजाधिराजबाट सदर गरी बक्सेको भनी एटर्नी जनरलले प्रधान न्यायालयलाई लेखेको मिति ०१०।८।१२ को नं. ३३५। ४०२ को पत्रबाट ०७ सालमा खड्गनिशाना भईसकेकोमा दोहोराई हेरिए जतिलाई हेर्न मिल्दैन । खारेज गर्नु भन्ने निकासा नभई सा.हिरण्य विक्रमको अंश मुद्दा र महेन्द्र चौधरीको कुलो पानी मुद्दाको हकमा भू.पु.प्रधान न्यायाधीशज्यूको फैसला बदर भई अघि छिनिएकै कायम भएको र खड्गनिशाना उल्टि वा केही उल्टि भई छिनीएको जती फुल बेञ्चमा र फैसला नभई कारवाई चली रहेको जती डिभिजन बेञ्चमा राखी ऐन सवालबमोजिम गरी किनारालाईदिनु भन्ने उक्त निर्णय भईसकेको । सोही निर्णय अनुसार दामु कार्की, दामु जैसी समेतको जग्गा मुद्दा २०१४ साल श्रावण ३१ गतेमा डिभिजन बेञ्चबाट र ०७ सालसम्ममा छिनीएका मुद्दामात्र हेरी अएकाले ०७ सालभन्दा अघि छिनेको मुद्दा दोहोराई हेर्न नमिल्ने ठहरी लोकनाथको र कालो टमोटको जग्गा मुद्दा ०१४ साल माघ २ गते ४ मा सर्वोच्च अदालत फुल बेञ्चबाट फैसला भएको ०७ साल बैशाख १ गते देखि ०१२ साल चैत्र मसान्तसम्म छिनिएका मुद्दा दोहोराई हेर्ने विषय ०१४।१।१० मा शाही आदेश गजेटमा प्रकाश भएको हुनाले समेत ०७ सालमा खड्गनिशाना भई छिनीएको मुद्दा दोहोर्‍याई हेर्न भू.पु.प्रधान न्यायाधीशज्यूले दिनु भएको आदेशबाट दायर भएको यो मुद्दा उसै बखत प्रधान न्यायालयले दोहोराई हेरी छिनीए उपर रिभ्यू निमित्त पेश हुँदा रूलिङ्ग बाझिएको भनी पेश हुन आएको देखिएको उपरोक्त श्री ५ महाराजाधिराजबाट सदर गरी बक्सेको निर्णय शाही आदेश र प्रधान न्यायालय फुल बेञ्च तथा सर्वोच्च अदालत फुल बेञ्चको निर्णय समेतबाट हेर्न मिल्ने देखिन्छ । प्रतिवादीलाई सद्दे किर्र्तेमा लिखत सुनाउदा गरेको बयान र त्यस पछि दिएको निवेदनपत्रमा कुरा फरक परेको भन्नेतर्फ प्रतिउत्तरपत्र र निवेदनपत्रको व्यहोरा मिलेकै र बयानमा पनि लिखत व्यहोरा सद्दे हो तिर्न बुझाउन मञ्जुर छु भनी बयान गरेको नभई किर्त हो भन्ने बयान गरेको कर्जा लिएको होइन तिर्न बुझाउन नपर्ने हो । लिखत किर्र्ते हो भन्ने कुरा प्रतिउत्तर बयान निवेदन समेतमा मिलेकै हस्ताक्षरको सहीछापलाईसम्म फरक परेको । त्यसबाट साहु आसामीको ऐन र किर्र्ते कागजको १ नं. समेत उही उही महलका ऐन भित्रको मुद्दा हुन आई इन्कारी प्रतिउत्तरकै सिलसिलाको कारवाई मिल्ने हुँदा वास्तविक इन्साफमा फरक पर्ने गरी कुरा बदलेको नदेिखई लिखत सद्दे भन्ने वादी किर्र्ते भन्ने प्रतिवादीको भनाई कुन साँचो हो भन्ने इन्साफको लक्ष्य उही मिल्न आउने हुनाले त्यसतर्फ पनि विशेष शंका गरी रहन पर्ने आवश्यक नदेखिएको अब २ डिभिजन बेञ्चको फैसला रूलिङ्ग बाझिएकोतर्फ प्रतिवादीले रूपैयाँ कर्जा लिई लिखत गरी दिएको हो, होइन भन्ने मुख्य ठहर गर्नुपर्ने हुन आएबाट पेश भएको सक्कल लिखत हेर्दा लिखत लिखतको आकृति सामान्य दृश्यनै त्यतिका रूपैयाँ कर्जा दिंदा गरिने चलन चल्ती रूल कायदा माफिकको देखिन नआई कारणीले सहीछाप गर्नु पर्ने ठाउँ कागजको व्यहोराको सिर हरफको छेउ उठानमा छाडीने किनाराको कागज तोडमा व्यहोरातर्फको पहिलो अक्षरले टेकी त्यसैको सिलसिलामा अरू अक्षर लेखि सो तोडकै किनारा सिधासिधा हरफ उठान हुँदै जानु स्वभाविकै कुरा थियो । उक्त लिखतमा त्यसो नभई व्यहोरा लिखतलाई तोडिएको तोडभन्दा भित्र पट्टी कारणीको सहीछाप परेको सो सहीछापबाट हटाई पहिला हरफको व्यहोराको अक्षर उठान भई क्रमैसँग सहिछापका अक्षरहरूलाई छाडी घुमाउँदै लगी त्यस पछिका हरफहरू तोडतर्फ बढाउँदै ल्याई खडा गरेको व्यहोरा र २ जना अन्तरसाक्षीको सहीछापको हरफको उठान सिलसिला भित्रसम्म हटेको र लेखक साक्षीको नाम लेखी सहीछाप परेको हरफ चाहीं अरु साक्ष्ीको नाम सहीछापको लाईन भन्दा धेरै नै बाहिर निस्की कारणीको सहीछापको लाईनसम्म अस्वभाविक तवरले आएको पूरा बन्दको चौडाई पुगेको कागज पनि नभएको समेतबाट सानो टुक्रा कागजमा परेको प्रतिवादीको सहीछापको लिफा हात लगाई त्यसैबाट खडा गरेको रहेछ भन्ने प्रष्ट हुन आउने । त्यसो नभई असली व्यवहार गरी त्यतिको रूपैयाँ दिएको भए कपाली तमसुकको छोटकरी व्यहोराको सो लिखत सवै कारणीकै हस्ताक्षरकै पनि हुन सक्ने । सिरमा सहीछाप गरे अनुसार मिति पुच्छरमा पनि गराउनु पर्ने लिखत सहिछाप भन्दा पक्का सम्झी रजिष्ट्रेशनका ऐनले अड्डाबाट सही गराउँदा हस्ताक्षरको सही गर्नेको ल्याप्चे पनि गराउनु भन्ने ऐन भएको जाने बुझेकै साहुले त्यसै गरी ९८ सालका समयमा कपालीमा अरूहरूलाई कर्जा दिन सकेको सबुद समेत नआएको र कानून विरूद्ध सयकडा २५ व्याजसमेत लिने भनी लेखिएको त्यस्तो लिखत रूपैयाँ लिनु दिनु भई गरेको साँचो व्यहोराको हो भनी मान्यता दिन नमिल्ने र किर्ते कागजको १ नम्बरले पनि एउटा कामलाई भनी दिएको लिफा सो काममा नलगाई अरू व्यहोराको लिखत खडा गर्नु जो हो । किर्ते ठहर्ने ऐजन ३ नं. ले नभएको नगरेको काम कुरामा खडा गरेको कागज जालसाजी हुने हुनाले समेत लिखत सद्दे हो रूपैयाँ साँवा व्याज पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने ठहराई सर्लाही अमिनी प्रधान न्यायालय तेश्रा फाँटले छिनेको सदर गरी ०७।८।६ गतेको खड्गनिशाना फैसला उल्टाई ०१०।८।१९ गते प्रधान न्यायालय डिभिजन बेञ्चबाट छिनेको इन्साफ मनासिव छ यसबेञ्चको माननीय न्यायाधीश श्री तिलक शम्शेरज्यूले छुट्टै राय गर्नु भएपनि सर्वोच्च अदालत नियमावली, २०१३ को दफा ३१ ले बहुमतको फैसला मान्य हुने हुनाले यही फैसला कार्यान्वित गर्न तपसीलबमोजिम लगत दिई मिसिल बुझाई दिनु ।

 

तपसील

निवेदक मिठुलालके प्रधान न्यायालय डिभिजन बेञ्चको इन्साफ सदर भई छिनिएकोले मुद्दा दोहराएमा शुरू दण्ड कं.रू. ४१२।।= को हाकिमका नाममा कराउनेका ११ नं. बमोजिम सयकडा १० ले कं.रू. ४१।.। दण्ड हुन्छ रूजु भई कं.रू. १ सयको मोरू. ५२।८२ दाखिल गरेकाले अ.त.देवानी फाँटमा लगत दिने ............१

निवेदक महावीर पंजीयार के शुरू कं.रू. ११६०।= को हाकिमका नाममा कराउनेका ११ नं. बमोजिम सकयडा १० ले कं.रू. ११६क।।।.एकसय सोह्र रूपैया तीन पैसा दण्ड हुन्छ । वारेस भई बेरूजु हुँदा ऐनबमोजिम असुल गर्नु ऐ ऐ ..................... २

सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१४।७।३ गतेको फैसला बदर भएकोले सो फैसलाबमोजिमको लगत दिनु पर्दैन .................. ३

प्रतिवादी बद्री साहु तेली के निज तर्फबाट रहनु भएको विद्वान सिनियर एडभोकट राधाकृष्ण विहारीको फी मो.रू. ३० रूपैयाँ देहायको निवेदक वादीहरूबाट भराई पाउँ भनी दं.स.का ३६ नं. का म्याद ५ बर्ष भित्र जिनजहरूको जथा देखाई दर्खास्त गरेका बखत दस्तुर केही नलिई निज निवेदकहरूबाट बराबरका दरले निज प्र. बद्री साहु तेलीलाई भराई दिनु भनी अ.त.बिगो फाँटमा लगत दिने ..................... ४

मिठुलाल प्रजियार सुदी १ महावीर ऐ.१ ।

 

माननीय न्यायाधीश श्री तिलक शम्शेर थापाज्यूको राय :

(यस रायमा मुद्दाको उतार बहुमतको फैसलाबमोजिम भएको हुनाले उतार नदोहाराई रायमा दिइएको छसं.)

            १५.   यसमा निवेदक मीठुलाल र महावीरको वारिस महेश पंजियार तथा निजहरूको वकिल विद्वान सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा र विपक्षी बद्री साहुको तर्फबाट रहेका विद्वान सिनियर एडभोकेट राधाकृष्ण विहारीलाई समेत राखी पेश हुन आएको बुझ्दा खड्गनिशाना भई छिनिएका मुद्दाहरू प्रधान न्यायालयबाट दोहोराई हेरिने गरेको भन्ने भूतपूर्व प्रधान न्यायाधीशज्यूको पत्रबारे बुझ्दा ४३ मुद्दा दोहोरीएको रहेछ । का.मु.प्रधान न्यायाधीश र प्रधान न्यायाधीशज्यूका नामको लालमोहर अख्तियारी नक्कल मगाई हेरेमा शुरू अपीलबाट जिति न्यायालयबाट हराएको भए दोहोराई हेर्नु भन्ने का.मु.प्रधान न्यायाधीशका नाममा ०७।१२।२६ मा गृह मन्त्रिज्यूका आदेश र अन्तरिम विधान र मुलुकी ऐन सवालबमोजिम काम गर्नु भन्ने प्रधान न्यायाधीशका नाममा ०८।४।२८ मा लालमोहर भएको रहेछ बिना कुनै अख्तियार र आदेशले प्रधान न्यायाधीशले दोहोेराई हेरी फैसला समेत गरेका मुद्दा सदर गर्ने भन्न पनि हिरण्य विक्रमको अंश मुद्दा र महेन्द्र चौधरीको कुलो पैनी मुद्दा प्रधान न्यायालय ऐन जारी नहुँदै बेगर अख्त्यारले मुद्दा हुँदा दाहोरिएका पनि अघिकै फैसला सदर छ । सो बाहेक अघिको इन्साफ उल्टि वा केही उल्टि भए जति फुल बेञ्चमा राख्ने र फैसला नभई कारवाई चली राखेको डिभिजन बेञ्चमा राखी ऐन सवालबमोजिम गरी किनारा लगाई दिनु होला भनी प्रधान न्यायलयलाई लेखी पठाउने गरी प्रस्ताव पेश गर्न परामर्श दाताज्यूका आदेशानुसार पेश गरेको छु भनी गृह मन्त्रालयको ०९।१२।२३ मा पेश गरेको ०९।१२।२६ मा परामर्शदातृ मण्डलबाट पास भई ०१०।४।५।३ मा श्री ५ महाराजधिराजबाट पनि स्वीकृत भएकोले र सो माइनुटमा ठाडै गृह मन्त्रालयले त्यस विषयमा प्रधान न्यायालयमा लेखापढी गर्न उचित नभएकोले गृह सेक्रेटरीले प्रस्ताव गरे अनुसार एटर्नीजरलरले प्रधान न्यायालयमा लेखापढी गर्नु होला भनी लेखिएकाले उचित कारवाइको निमित्त यो पत्र प्रधानमन्ययालयमा पठाई रहेको छु भन्ने एटर्नी जनरलबाट लेखी आएको देखिएको वीराटनगर बजार बस्ने नोरचन्द्र उपाध्याको र ऐजन ऐजन बस्ने नरोत्तमको ठेक्काको हिसाब मुनाफा दिलाई पाउँ भन्ने मुद्दामा एकपटक फुल बेञ्चबाट हेरी ऐन सवालबमोजिम किनारा गर्नु भन्ने हुकुम प्रमांगी भई आई सर्वोच्च अदालत फुल बेञ्चमा पेश हुँदा प्रमाणबाट मुद्दा दोहराई दिनु भन्ने वा इन्साफ जाँच दिनु भन्ने किटानी साथको प्रमाण नभई एकपटक फुल बेञ्चबाट हेरी ऐन सवालबमोजिम किनारा गराइदिनु भन्नेसम्म भएकाले दोहराई इन्सफा जाँची हेर्न नमिल्ने भनी १३।८।१२।३ मा फैसला भएको औं तप्पे नवलपुर मौजे कारिकोट बस्ने मुनीलाल थारुको र ऐजन पुरानी वेल्हानी बन्ने टंकबहादुर घर्ती क्षेत्रीको हकसफा मुद्दा सर्वोच्च अदालत डिभिजन बेन्चमा पेश हुँदा २००७ सालमा खड्गनिशाना फैसला भईसकेको मुद्दा अधिकार बेगर दोहराउने आदेश दिएको हुनाले सो आदेश खारेज गरी दिनु भन्ने १३।२।२४।४ मा फैसला भएको देखिएको मुद्दा दोहराई दिनुभन्ने वा इन्साफ जाँची दिनु भन्ने किटानीसाथको प्रमांगी नभई फुल बेञ्चबाट हेरी ऐन सवालबमोजिम किनारा गरी दिनु भन्ने भएकोले दोहराई इन्साफ जाँची हेर्न नमिल्ने भन्ने नोरचन्द्र समेतको मुद्दामा फुल बेञ्चबाट फैसला भईसकेको एटर्नी जनरलबाट १०।८।१२ मा लेखी आएको पत्रमा पनि खड्गनिशाना भई छिनिएको मुद्दाहरू दोहरिने आदेश भई हेरिएकोमा उल्टि वा केही उल्टि भएजति फुल बेञ्चमा राखी र कारवाई भईरहेका जति डिभिजन बेञ्चमा राखी ऐन सवालबमोजिम किनारा लगाई दिनु भन्ने मात्र लेखिएको इन्साफ जाँची ऐन सवालबमोजिम किनारा गर्नु भन्ने किटानी नभएको र मुनीलाल थारुको र टंकबहादुरको हकसफा मुद्दामा पनि ०७ सालमा खड्गनिशाना भई छिनिएको मुद्दा अधिकार बेगर दोहराउने आदेश दिएकाले सो आदेश खारेज गरी दिने भन्ने डिभिजन बेञ्चको फैसला भईसकेको सो फुल बेञ्चको र डिभिजन बेञ्चको फैसला सिद्धान्तको रुपमा खडा भईसकेका यस मुद्दामा पनि ०७।८।६ गते खड्गनिशाना फैसला भईसकेको र त्यसपछि ०८।९।२६ गते मात्र प्रतिवादी बद्रीसाहु तेलीको निवेदनमा दोहराई दिने आदेश भएकाले माथि लेखिएइका फुल बेञ्च र डिभिजन बेञ्चका सिद्धान्त ओ एटर्नी जनरलबाट लेखी आएको पत्रबमोजिम यो मुद्दामा भूतपूर्व प्रधान न्यायाधीशज्यूले बेगर अख्तियारले दिनु भएको आदेशबमोजिम हेरी इन्साफ गर्न नमिल्ने उसमा पनि प्र. बद्री साहु तेलीले दिएका निवेदनमा खड्गनिशाना भई छिनिएको मुृद्दा दोहोराई पाउँ भन्ने नलेखी ज.हरि शम्शेरबाट छिनेको मुद्दा दोह¥राई पाउँ भन्ने लेखेको र बव्यहोरा साँचो भए दोहर्‍याई दिनु भन्ने आदेश भएको मिसिल हेर्दा खड्गनिशाना भई छिनिएको देखिएकाले व्यहोरा साँचो नदेखिई झुठ्टा व्यहोरा देखिएकाले सो आदेशले समेत दोहरिन नसक्ने अब हिरण्य विक्रम र महेन्द्र चौधरीको मुद्दा दोहरिएको पनि अघिकै फैसला सदर छ भनी र अरुका हकमा त्यसो नभनेबाट खड्गनिशाना भई छिनिएका अरु मुद्दा जतिमा इन्साफ गर्नुपर्छ कि भन्नलाई हिरण्य विक्रमको र महेन्द्र चौधरीको मुद्दा प्रधान न्यायालय ऐन जारी नहुँदै बेगर अख्तियारले दोहराएको हुँद अघिकै फैसला सदर छ भनी र अरुका हकमा सो नभनेबाट समेत हेरिने भन्नलाई फुल बेञ्च र डिभिजन बेञ्चमा राखी ऐन सवालबमोजिम किनारा लगाई दिनु भन्नेपत्रमा लेखिएको ऐन सवाल भन्नाले खड्गनिशाना भई छिनिएका मुद्दाहरू देहोराई हेर्न भईहेको प्रचलित ऐन सवालमा व्यवस्था गरिएको पनि नदेखिएको कुनै अधिकार पाएका अड्डा अदालतबाट फैसला भई त्यस उपर अपील उजुर गर्ने कानूनी म्याद नाघी सकेपछि चेख जाँचबाट झिकिएको हद मुनीको मुद्दा र हुकुमबाट दोहराई हेरी दिनु इन्साफ जाँची दिनु भन्ने प्रमांगी भई आएका बाहेक अरु मुद्दा दोहराई हेर्न इन्साफ जाँच गर्न डं.स.को १९ नं. प्रधान न्यायालय र सर्र्वोच्च अदालत ऐनहरूबाट अधिकार दिएको देखिंदैन अब १४।१।१० का शाही आदेश बमोजिम दोहर्‍याई हेर्नु पर्ने हो कि भन्नालाई उक्त शाही आदेशको आधारबाट यो मुद्दा चलेको नभई ०८।९।२६ का भू.पू.प्रधानन्यायाधीशज्यूका आदेशबाट दोहरिएकोले सो शाही आदेश यसमा लागू हुन नसक्ने हुकुमबाट दोहराई इन्साफ जाँची दिनु भन्ने प्रमांगी भएको भए मात्रै इन्साफ जाँची दिन मिल्ने । यसमा हुकुम प्रमांगी नभई भू.पू.प्रधानन्यायाधीशज्यूको आदेश देखिएकाले उक्त एटर्नी जनरलबाट लेखी आएको पत्र र फुल बेञ्च तथा डिभिजन बेञ्चका सिद्धान्त फैसालले यो मुद्दामा इन्साफ जाँच गर्ने तर्फ हेर्न मिल्दैन श्री माननीय प्रधान न्यायाधीशज्यू र श्री मा.न्या. मीनबहादुरजीसँग मेरो सहमत नभएकाले आफ्नो राय लेखी दिएको छु ।

 

इति सम्वत् २०१४ साल माघ २३ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु