निर्णय नं. ५१ - दर्ता बदर

निर्णय नं. ५१ ने.का.प. २०१६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री अनिरुद्रप्रसाद सिंह
न्यायाधीश श्री रंगनाथ उप्रेती
न्यायाधीश श्री शेरशंकर
दे.अ.फु.नं. ६
अपीलाट : दुर्गाबहादुर राना मगर
विरुद्ध
रेस्पोण्डेण्ट : करवीर गोदार क्षेत्री समेत
मुद्दा : दर्ता बदर
१. आवाद जग्गाको दर्ता सदर भएमा नापी गरी चारकिल्ला छुट्ट्याई दर्ता कायम गरी दिनुपर्ने ।
आवादी जग्गाको दर्ता कायम गर्ने विषयमा दुवै न्यायाधीशजीहरूको राय मिलेकै हुनाले तीन खण्डको १ खण्ड जग्गा छुट्याउन लाई नै नापी गर्नुपर्ने । सो बमोजिम नभएमा ३ खण्डको १ खण्ड यति हो भनी नछुट्टिने भएबाट सामान्य रुपबाट नै नापी गर्नुपर्ने देखिँदा सर्वोच्च अदालत डिभिजन बेञ्चका ०१३।११।२८।२ का तोक आदेशबमोजिम भईरहेको दर्ता कायम गर्न गोश्वाराको दर्जा पुगेको कर्मचारी साक्षी लिई मालको दर्जा पुगेको कर्मचारी खटाई पठाई नापी गरी माटोमुरी अंक र ४ किल्ला समेत खुलाई आइन्दा अरु सन्धी सर्पनको जग्गा चाप्न नपाउने गरी दर्ता गरी दिनु ।
फैसला
यसमा झगडा परे मध्ये नक्सामा आवाद भईसकेको भनी जनिएको ३ तीन खण्डको १ खण्ड जग्गा दर्ता कायम गरी सो बाहेक अरु सन्धीसर्पनको जग्गा प्रतिवादीले चाप्न नपाउने व्यवस्था गर्नालाई पाखो जग्गा हुनाले पक्की ४ किल्ला हाली दर्ता गरेको सदर गर्ने भन्ने श्री मा.न्या. रत्नबहादुरजीको र आवाद गरेको जग्गा यत्ति हो भन्ने यकीन गरी नदिए सन्धीसर्पन रहेको बाँकी जग्गा पनि मिच्ने मासिने हुन जाने हुनाले सो गर्न नपावस् भन्नाको लागि जंजीर हाली नापि गरी छुट्याई दिने भन्ने श्री मा.न्या. तिलक शम्शेरजीको रायबाझी भई नियमबमोजिम पेश हुन आएको बुझ्दा आवाद भईसकेको भनी जनिएको तीन खण्डको एक खण्ड जग्गा दर्ता कायम गर्न भनी एक न्यायाधीशबाट तोक बोल्नु भएकोमा अर्को न्यायाधीशबाट त्यति होइन नभनी आवाद भएको जग्गा यति हो भनी यकिन गरी दिनुपर्ने भनी राय लेख्नु भएकोबाट आवादी जग्गा दर्ता कायम गर्ने विषयमा दुवै न्यायाधीशजीहरूको राय मिलेकै हुनाले तीन खण्डको १ खण्ड जग्गा छुट्याउनालाई नै नापी गर्नुपर्ने । सो बमोजिम नभएमा ३ खण्डको १ खण्ड यति हो भनी नछुट्टिने भएबाट सामान्यरुपबाट नै नापी गर्नुपर्ने देखिँदा सर्वोच्च अदालत डिभिजन बेञ्चका ०१३।११।२८।२ का तोक आदेशबमोजिम भईरहेको दर्ता कायम गर्न गोश्वाराको दर्जा पुगेको कर्मचारी साक्षी लिई मालको दर्जा पुगेको कर्मचारी खटाई पठाई नापी गरी माटो मुरी अंक र चार किल्ला समेत खुलाई आइन्दा अरु सन्धीसर्पनको जग्गा चाप्न नपाउने गरी दर्ता कायम गरी दिनु भनी इलाका मालमा लेखी पठाउन मिसिल स्याङ्गजा अदालतमा पठाई अपीलाट दुर्गाबहादुरको धरौटी अपील परेको देखिँदा जनाउ दिनु ।
इति सम्वत् २०१३ साल चैत्र २० गते रोज ३ शुभम् ।