निर्णय नं. ५४ - खुन

निर्णय नं. ५४ ने.का.प. २०१६
फुल बेञ्च
का.मु.प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री रङ्गनाथ उप्रेती
न्यायाधीश श्री मीनबहादुर थापा
न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय
फु.नं. २
वादी : महगी केवटनी
विरुद्ध
प्रतिवादी : पार्वती केवटी
मुद्दा : खुन
१. ज्यानसम्बन्धी ३७ नं.– ज्यान जाने खत स्वास्नीमान्छेले गरेमा – ज्यान सजायको दामल हुने ।
ज्यानसम्बन्धीका २५ नं. ले लोग्नेमानिस स्वास्नीमानिस जो हवस् ज्यान जाने खत गरे सो ऐनले ज्यान सजाय हुनेमा स्वास्नीमानिसले सो खत गरे सोही महलको ३७ नं. मा ज्यान नलिनु दामल गर्नु भन्ने किटानी साथ उल्लेख भईरहेको ।
(प्रकरण नं. ९)
२. दण्डसजाय २ नं.–स्वास्नीमानिसलाई सजाय गर्दा–ऐनमा लेखिए जतिमा ऐनबमोजिम ऐनमा नलेखिएमा लोग्नेमानिसलाई हुने सजायको आधा गर्नु ।
दण्डसजायको २ नं. मा स्वास्नीमानिसलाई सजाय गर्दा ऐनमा लेखिएबमोजिम गर्नु । ऐनमा नलेखिए जति गैह्र कुरामा लोग्नेमानिसलाई हुने सजायको आधा सजाय गर्नु । लोग्ने मानिसले खत गर्दा ज्यान जाने भए सो खत स्वास्नीमानिसले गर्दा दामल गर्नु । दामल हुने र जन्म कैद हुने खत गरे १२ बर्ष कैद गर्नु ।
(प्रकरण नं. ९)
३. दण्डसजाय ९० नं.–चलिरहेको ऐनले ज्यान सजाय हुने कसूर ब्राहृमण सन्यासी स्त्री जातिहरूले गरेमा दामलसम्म अरुले गरे ज्यानै सजाय हुने भएको भन्ने समेत उल्लेख भईरहेको ।
(प्रकरण नं. ९)
४. दण्डसजायको ९० नं. र ज्यानसम्बन्धीको ३७ नं.–दण्डसजायको ९० नं. ले ज्यानसम्बन्धीको ३७ नं. खारेज भएको नभई स्त्रीजातिले ज्यान मारेकोमा दामल हुने ।
ज्यानसम्बन्धीको ३७ नं. उक्त दण्डसजायको ९० नम्बरले खारेज भएको नभई कायम नै रहेको देखिन आउँछ । दण्डसजायको २ नम्बरमा स्वास्नीमानिसलाई सजाय गर्दा ऐनमा लेखिए जतिमा ऐनबमोजिम गर्नु भन्ने प्रष्ट किटान साथ उल्लेख भईरहेकै र उक्त लेखिएबमोजिम ज्यानसम्बन्धीको ३७ नम्बर खारेज भएको नभई बहालै रहेको हुँदा १२ बर्ष कैद गर्न मिल्दैन । दामलै हुने ठहर्छ ।
(प्रकरण नं. ९)
फैसला
१. छोरो सिवामन्दरलाई गए आषाढ ३० गते स्वास्नी पार्बतीले भातमा विष हाली खुवाईछ । सो रात छोरो मरेकाले पार्वतीलाई सपुर्द गरेकी छु । सजाय गराई पाउँ भन्ने महगी केवटनीको दरखास्त उजुरी बयान ।
२. लोग्ने सिवा सानो र म तरुणी हुँदा पुलकितसँग पोइल गई छोरो जन्मे पछि मधुरी केवट समेतले विवाहितेकै साथ लगाईदिएका । मधुरीले करणी गरी यो औषधी भातमा हाली सिवालाई खान देउ । चित्त मिल्छ भनी ३ चक्की औषधी दिएको । २ चक्की भातमा हाली खुवाई दिएको थिएँ । झाडावान्ता गर्दै मरे । १ चक्की बिजोलाई दिएको छु भन्ने प्र. पार्वतीको ठाडो बयान ।
३. औषधी १ टुक्रा मसँग छ । दाखिल गरेको छु भन्ने विजो राउत र पार्वतीले सिवालाई छाडी पुलकितसँग पोइल गएकोमा पञ्चायत गरी सिवाकै घरमा ल्याई दिएँ । सो रिसले पोलेकी हो भन्ने मधुरीको बयान ।
४. बिजो राउतबाट दाखिल भएको विष वीर हस्पिटलबाट मात्रा नपुगेकाले जाँच हुन सक्तैन भनी वापस आएको । आफू पोईल गएको लोग्नेबाट छुटाई ल्याउने मधुरी उपर दोषारोपण गरेको र सिवालाई पार्वतीले आफ्नै खुसी भातमा विष हाली खुवाएकोबाट सिवा मरेको ठहर्छ । पार्वतीलाई दामलमा हाली जेल सुधार योजना मुताबिक २० बर्ष कैद गर्ने भन्ने जलेश्वर अमिनीको १३।३।३२ को फैसला ।
५. शुरुको इन्साफमा चित्त बुझेन भन्ने पार्वतीको अपील परेकोमा पुर्पक्षलाई थुनामा रहेको मधुरीलाई छाडि दिने इन्साफ मनासिव छ भन्ने महोत्तरी अपीलको १३।८।११।२ को फैसला ।
६. इन्साफ अपील अमिनीको मनासिव । दण्डसजायको ९० नं. ऐनले ज्यानको बदला ज्यान लिने कुरा खण्डित हुन गई दं.स.का २ नं. ले दामल हुनेमा स्वास्नी मानिसलाई १२ बर्ष कैद गर्नुपर्नेमा दामल हुने भनी बढी सजाय गरेको ठहर्छ भन्ने १४।४।१५।३ को सदर अमिनी गोस्वाराको जाहेरी फैसला ।
७. अपीलको इन्साफमा चित्त बुझेन भन्ने प्र. पार्वतीको अपील परेकोमा दण्डसजायको २ नम्बरमा लोग्ने मानिसले खत गर्दा ज्यान जाने भए सो खत स्वास्नी मानिसले गर्दा दामल गर्नु । दामल हुने र जन्मभर कैद हुने खत गरे १२ बर्ष कैद गर्नु भन्ने भएकोबाट लोग्ने मानिसको ज्यान जाने बाहेकको अरु कुनै अवस्थामा पनि स्वास्नी मानिसलाई दामलको सजाय गर्न मिल्दैन । दण्डसजायको ९० नं. ले यस्तो मुद्दामा लोग्ने मानिसको ज्यान जाने अवस्था नै छैन । दामलसम्म हुन्छ । लोग्ने मानिसले ज्यान जाने खत गरेमा पनि दामलसम्म हुने भएकोबाट ज्यान जाने खत र दामल हुने खतमा सजाय तोक्दा कुनै किसिमको अन्तर रहेन । अतः शुरुले दामल गर्ने ठहराएको बेमनासिव छ । सदर अमिनी गोस्वाराले दाइजो पेवा सर्वस्व गरी १२ बर्ष कैद गर्ने ठहराएको मनासिव ठहर्छ भन्ने १५ साल आषाढ २५ गते ४ को सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।
८. पार्वती केवटनीको र महगी केवटनीको ज्यान मुद्दा श्री माननीय प्रधान न्यायाधीशज्यू श्री माननीय रत्नबहादुरजीको डिभिजन बेञ्चमा पेश हुँदा पार्वती केवटनीलाई स्वास्नी मानिस हुँदा दाइजो पेवा सर्वस्व गरी १२ बर्ष कैद गर्ने गरी १५।३।२५।४ मा र पद्मबहादुरको र नन्दमाया समेतको ज्यान मुद्दा श्री माननीय न्यायाधीश मीनबहादुरजीको र श्री माननीय न्यायाधीश हेरम्बराजजीको डिभिजन बेञ्चमा पेश हुँदा नन्दमाया बुद्धमायालाई दामल गर्ने गरी फैसला भएको देखिनाले डिभिजन बेञ्चको रुलिङ बाझिएको हुँदा उक्त दुवै मुद्दा फुल बेञ्चमा पेश गर्नु भन्ने ०१५ साल श्रावण ६ गते २ को भूतपूर्व प्रधान न्यायाधीश अनिरुद्धप्रसादसिंहको आदेश ।
९. यसमा भू.पू.प्रधान न्यायाधीश अनिरुद्धप्रसाद सिंहका १५।४।६।२ का आदेशअनुसार रुलिङ नमिलेको भनी पेश हुन आएको प्रस्तुत मुद्दामा कानूनको निर्णय दिनुपर्ने भई विचार गर्दा, ज्यानसम्बन्धीको २५ नं. ले लोग्नेमानिस स्वास्नीमानिस जो हवस ज्यान जाने खत गरे सो ऐनले ज्यान सजाय हुनेमा स्वास्नी मानिसले सो खत गरे सोही महलको ३७ नं. मा ज्यान नलिनु । दामल गर्नु भन्ने किटानी साथ उल्लेख भईरहेको र स्वास्नी मानिसको निमित्त मात्र उसै बखतदेखि बनिरहेको दण्डसजायको २ नं. मा स्वास्नी मानिसलाई सजाय गर्दा ऐनमा लेखिए जतिमा ऐनै बमोजिम गर्नु । ऐनमा नलेखिए जति गै¥ह कुरामा लोग्ने मानिसलाई हुने सजायको आधा सजाय गर्नु । लोग्ने मानिसले खत गर्दा ज्यान जाने भए सो खत स्वास्नी मानिसले गर्दा दामल गर्नु । दामल हुने र जन्मभर कैद हुने खत गरे १२ बर्ष कैद गर्नु भन्ने लेखिएको र ज्यानसम्बन्धीको २५ नम्बरले ज्यान सजाय हुने लोग्नेमानिसलाई पनि दण्डसजायको ९० नम्बरले ज्यान जाने नभई दामल हुने भईरहेकोले भने स्वास्नी मानिसलाई उक्त दण्डसजायका २ नम्बरमा लेखिएबमोजिम १२ बर्ष मात्र कैद हुने हो कि भन्ने केही शंका उठ्न सक्छ । तर दण्डसजायको ९० नम्बरमा हाम्रो चलिरहेको ऐनले ज्यान सजाय हुने कसूर ब्राम्हण सन्यासी स्त्रीजातीहरूले गरेमा दामलसम्म अरुले गरे ज्यानै सजाय हुने भएको भन्ने समेत उल्लेख भईरहेकोबाट ज्यानसम्बन्धीको ३७ नम्बर उक्त दण्डसजायको ९० नम्बरले खारेज भएको नभई कायम नै रहेको देखिन आउँछ । दण्डसजायको २ नम्बरमा स्वास्नी मानिसलाई सजाय गर्दा ऐनमा लेखिएजतिमा ऐनबमोजिम गर्नु भन्ने प्रष्ट किटान साथ उल्लेख भईरहेकै र उक्त लेखिएबमोजिम ज्यानसम्बन्धीको ३७ नम्बर खारेज भएको नभई बहालै रहेको हुँदा १२ बर्ष कैद गर्न मिल्दैन । दामलै हुने ठहर्छ । प्रस्तुत मुद्दामा डिभिजनबाट पार्वती केवटनीले ज्यान मारेको ठहराई १५ साल आषाढ २५ गतेमा फैसला भईरहेकै हुनाले उक्त निर्णयबमोजिम दामल हुने हुँदा प्र. पार्वती केवटनीलाई सर्वोच्च अदालत डिभिजन बेञ्चका १५ साल आषाढ २५ गतेमा भएको फैसला बमोजिमको कैद बर्ष १२ को लगत र अमिनी गोश्वाराले शुरु अमिनी अपीललाई गर्ने गरेको जरिवानाको लगत दिएको नदेखिनाले सो नलाग्ने हुँदा लगत दिनु पर्दैन भनी यो फैसला सहितको मिसिल अमिनी गोश्वारामा पठाई रेकर्ड मिसिल बिभागमा बुझाई दिनु ।
इति सम्वत् २०१६ साल भाद्र २३ गते रोज ३ शुभम् ।