निर्णय नं. ५७ - जग्गा बाली

निर्णय नं. ५७ ने.का.प. २०१६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री अनिरुद्धप्रसाद सिंह
न्यायाधीश श्री मीनबहादुर थापा
न्यायाधीश श्री शेरशंकर दीर्घ सेवापट्ट
दे.अ.नं. १०४५
अपीलाट : रामजीत राउत अहीर
विरुद्ध
रेस्पोण्डेन्ट : सिशरण महतो
मुद्दा : जग्गा बाली
(१) रजिष्ट्रेशनका ३ नं. र ७ नं–पास गर्नुपर्ने लिखत ऐनका म्यादभित्र पास नगराए सो लिखत रजिष्ट्रेशनका ७ नं. ले कपाली हुन जाने ।
सो ०६ सालमा भएको लिखत रु.५९९ को भोगबन्धकी देखिएको रजिष्ट्रेशनका ३ नं. ले पास गर्नुपर्ने पास नभएको लिखत रजिष्ट्रेशनका ७ नं. ले कपाली हुने भएबाट सो कागजका नाताले वादीको जग्गामा अब प्रतिवादीले भोग चलन गरी खान नपाउने ।
(प्रकरण नं. ११)
(२) हुन्डा बटैयामा कमाउन दिएको खेतको बाली नतिरेकोले भराई पाउँ भनी उजुर गरेमा–हुन्डा बटैयामा खेत कमाउन दिएको सबुद वादीले नै गुजार्न पर्ने ।
हुन्डा बटैयामा कमाउन दिएको प्रतिवादीको लिखत वादीले पेश दाखिल गर्न सक्नु पर्ने सो नसकेबाट बाली भराई साँवामा कट्टा मट्टा गराई पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने ठहराएको कटरबन अपीलको इन्साफ मनासिव छ ।
(प्रकरण नं. ११)
(३) हाकिमका नाउँमा कराउनेका १० नं. अपीलाट अपील गरी हारेको दशौंद दण्ड हुने ।
इन्साफ पारी छिन्ने हाकिम उपर अपील गरेवापत रामजित राउत अहीरके निजलाई कटरबन अपीलबाट गरेको दण्ड कं.रु ४।।३।। को पहिला अपील हुँदा हाकिमका नाउँमा कराउनेका १० नं. बमोजिम सयकडा १० ले कं.रु. आठआना दण्ड हुन्छ ।
(प्रकरण नं. ११)
फैसला
१. यसमा मेरा बाबु राजकुमारका नाउँमा जग्गा विगहा १।३।१ दर्ता भएकोमा भाई घना महतो, दाजु शकुन महतो, बुहारी उदेसिया, आमा जीउनी र म समेतले अन्यायवालाबाट ८२।८५ सालमा गरी जिन्सी कर्जा लिई सो जग्गा भोगबन्धक लेखी दिएकोमा निजबाट मैले बटैया कागज गरी लिएको जग्गा आवाद गर्न जाँदा आवाद गर्न नदिएकाले सो बटैया कागज फिर्ता गराई पाउँ भनी ०६ साल आश्विनमा नालिस दिएमा बटैया कागज गराएको होइन यसको दाजु भाइ बुहारी र यही वादीको समेत ४ कित्ताको लिखतको अघिको भोगबन्धकको जिन्सी थैलीको कं रु. ५९९ मा नं १०४।१०५ को जग्गा विगाहा १।३।१ मध्ये कित्ता समेत र उत्तरतर्फको विगाहा १ को भोगबन्धकीको कागज गरी दिएको भन्ने निज अन्यायवालाले प्रतिउत्तर दिएको । सो मुद्दा डिसमिस भएको र साविक थैली गाँसी पछि ०६ साल जेष्ठमा भोगबन्धक लिखत गराए पछि अघिको लिखत कायम नगरहेकोले सो जग्गाको ०६।०७ सालको बाली प्रतिवादीले आधि दिएको ०९।०१० सालको सो जग्गाको आधी बाली नदिएकाले बिगो कं.रु.४०० मा आमा भाई दाजु बुहारी म समेतको भोगबन्धकीको जिन्सीको कं.रु. १६६ कटाई फाजिल सो ठहर्छ बिगो भराई दिलाई जग्गामा टंटा छुटाई पाउँ भन्ने समेत व्यहोराको सिशरण महतो धानुकको वादी ।
२. वादी दावीबमोजिम वादी समेतको अघि भोगबन्धकी थैली गाभी ०६।२।१४ मा भोगबन्धक लिखत भएको होइन । बेग्लै व्यवहारको लिखत हो । साविक भोगबन्धकी लिखतबाट जग्गा मैले भोग गरी आएकै छु । वादीको आमाको जग्गा सुक्री बिक्री भई मेरा नाउँमा दर्ता समेत भईसकेको छ । त्यसो हुँदा वादी झुट्टा हो भन्ने समेत व्यहोराको रामजित राउत अहीरको प्रतिवादी ।
३. जिउनीका नाउँको जग्गा ।४ साल ८८।२।२ गतेका फैसलाले प्र. रामजितको भईसकेकोले भोगबन्धक भन्न नहुने ०६ सालको लिखतमा अघिको थैली गाभिएको बोली नपरेको जग्गा प्रतिवादीले नै भोग गरी आएको भन्ने कुरामा वादी सावितै भएको र अघिका लिखत फट्टा समेत नभएकाले सो अघिका लिखतबाट सो जग्गा प्रतिवादीले भोग गरी रहेकै हुँदा वादी दावी झुट्टा ठहर्छ भन्ने वीरगञ्ज अमिनीको ०११।२।२१।१ को फैसला ।
४. जिउनीका नाउँको जग्गातर्फ सुरुको इन्साफ मनासिव छ । रु.५९९ को हकमा लिखत फिर्ता बदर मुद्दामा यहि प्रतिवादीले प्रतिउत्तर दिंदा अघिका थैलिको हिसाब गर्दा कं.रु. ५९९ पुगेको भन्ने किटानीसाथ लेखेकोले अघिको थैली गासिएको होईन भन्न नहुने अघिका लिखतको थैली गभाएबाट अघिका लिखत फट्टा भएमा र रु. ५९९ को लिखत पास नभएपछि जग्गामा हक पुग्छ भन्न नहुने हुँदा वादीको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने कटरबन अपीलको ०१२।६।१४।६ को फैसला ।
५. अघिको थैली गाभी रु.५९९ को लिखतभए पनि अघिका तमसुक फट्टा नभई मैसँग रहेको जग्गा अघि देखी मैले भोग गरेकाले पास नगराएको हुँ ।३०।३१ बर्षसम्म भोग गरेको जग्गाको लिखत अब कपाली हुनु पर्ने होइन भन्नेसमेत व्यहोराको रामजितको अपील ।
६. ८२।८५ सालका लिखतको थैली छुट्टै र रु. ५९९ को थैली छुट्टै हो भन्ने प्रतिवादी जिकिर नपुग्ने र पुरानो गाभी एउटै रु.५९९ लिखत ०६।२।१४ मा भएको ठहराएतर्फको इन्साफ अपीलका मनासिव छ र सो लिखत पास भएको नदेखिएकाले जग्गामा दावी नपुग्ने भन्न सुद्ध नयाँ व्यवहारको लिखत भए गरेको ठहर नभई वादी दावीको जग्गा प्रतिवादी साहुले ८२।८५ साल देखि बन्धकी लिखत गराई भोग गरी आएको सोही लिखितको थैली गाभी एउटै रु.५९९ को लिखत भएको ठहर भएको अघिका फट्टा वादी ऋणीसँग नभई प्रतिवादी साहुसँग भएको र सो लिखतहरू यिनै वादी प्रतिवादीहरूको झगडा परी ०६।२।१४ मा मिलापत्र र ०७।४।२१ मा डिसमिस भएको मिसिलहरूबाटै सो लिखत सदर भईसकेको जग्गामा प्रतिवादीले नै भोग गरी आएको देखिनाले अब सो जग्गा हक पुग्न सक्दैन भन्ने मनासिव नभएकाले सो रु.५९९ नतिरेसम्म जग्गा प्रतिवादीले नै साविक बमोजिम भोग गर्न पाउनु पर्ने देखिएको र सुरु र अपीलसँग राय नमिलेकाले यो मुद्दा डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सिंगलबेञ्चको ०१३।१।१८।२ को आदेश ।
७. वादी सिसरणलाई छलफल निमित्त झिकाई आएपछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०१३।६।५।५ को आदेश ।
८. ८२।८५ सालका तमसुकहरू र ०६ सालको लिखतमा सम्बन्धै नदेखिएकाले वादीको दावी बमोजिम प्रतिवादीको जग्गामा भोग पुग्छ भन्ने मनासिव नपर्ने र तर यिनै वादी प्रतिवादीको बटैयाको कागज दिलाई पाउँ भन्ने मुद्दामा अघिका लिखतहरूको अंक गभाई अर्को कागजसम्म गराएको हुँ । बटैयाको कागज गराएको होइन भनी लेखेबाट यस मुद्दाको प्रतिवादी रामजितले पछिल्लो तमसुक सकार गरेकाले ८२।८५ सालका लिखतहरू फट्टा गरेको हो कि भन्नालाई ती कागजहरू सद्दे साबुतै दाखिल भएको र ०६ सालको लिखत पास नभएको हुँदा पास भएपछि वा रुपैयां बुझाएपछि मात्र रामजितको ८२।८५ सालका लिखतहरूबाट निजको भोगबन्धकी हक टुट्न जानेमा थैली बुझाएको फट्टा लिएकोमा पछिल्लो तमसुक पास समेत कुनै काम भएको नदेखिएकाले प्रतिवादीको ८२।८५ सालको लिखतहरूबाट भोगको हक टुट्यो भन्ने नहुने ।
९. बटैया कागज वारेको मिसिलमा ०६ सालको कागज ८२।८५ सालका तमसुकहरूको रुपैया गभाई एकमुष्ट गरेको भनेबाट यस मुद्दामा सो प्रतिवादी प्रमाण लाग्छ कि भन्नालाई ८२।८५ सालमा भएको तमसुकहरू हेर्दा नगदीको व्यवहार नभई जिन्सीको व्यवहार भएको देखिएको र सो कुनै कुरा ०६ सालको तमसुकमा लेखिएको नदेखिएकाले सो प्रतिवादी प्रमाणै लागेमा पनि ०६ सालको तमसुकबमोजिम रामजितले दावी गर्न आएका बखत सो तमसुकी लेनामा प्रमाण लाग्न सक्ने हुनाले यस मुद्दामा माथिल्लो दफाबमोजिम गर्न उचित देखिँदा श्री माननीय प्रधान न्यायाधीशजीसँग राय नमिलेकाले यो मुद्दा फुल बेञ्चमा पेश गर्नु भन्ने डिभिजन बेञ्चका श्री माननीय न्यायाधीश तिलक शम्शेरज्यूको राय ०१३।९।२४।२ को ।
१०. वादीका दावीबमोजिम ८२।८५ सालको अंक गभाई ०६ सालमा लिखत भएको हो होइन भनी विचार गर्दा, ८२।८५ सालमा भएको लिखतको अंक ०६ सालमा भएको लिखतमा गभाएको र सो लिखतको बोली समेत नपरेकोले भनी अघिको लिखत र पछि भएको लिखत फरकै रहेछ कि भन्ने जस्तो देखिन्छ । तर अरु प्रमाण हेरिएमा यिनै वादीले प्रतिवादीका उपर बटैयाको कागज दिलाई पाउँ भनी नालिस दिएकोमा बटैयाको कागज गराएको छैन । अघि ८२।८५ सालमा भएका कागजको अंक गभाई ०६ सालमा अर्को कागजसम्म गराएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी दिएको । सो मुद्दा डिसमिस भएको देखिनाले यो मुद्दा पर्नु भन्दा अगावै यिनै प्रतिवादीले अड्डामा दिएको प्रतिवादीमा नै अघिको रुपैयाँ गभाई एक मुष्ठ ०६ सालमा लिखत गराएको हुँ भन्ने प्रतिवादी दिएको देखिएपछि सो कुरालाई कायम नमानी उनीहरूको घरायसी कुरालाई साँचो मान्न न्यायोचित नपर्ने हुँदा अघि ८२।८५ सालमा भएका लिखतको अंक गभाई ०६ सालमा अर्को लिखत भएको ठहर्ने । सो लिखतले प्रतिवादीले जग्गा अब भोग गर्न पाउने नपाउने के हो भनी विचार गरी ०६ सालमा भएको लिखत हेर्दा, रु.५९९ को भोगबन्धकीको लिखत देखिएको । रजिष्ट्रेशनका ३ नं. ले सो लिखत पास गर्नुपर्ने पास भएको नदेखिएको । त्यस्तो पास नभएको कागज रजिष्ट्रेशनका ७ नं. का ऐनले कपाली हुने भएबाट सो कागजका नाताले वादीको जग्गामा अब प्रतिवादीले भोग चलन गरी खान नपाउने र आफुले रुपैयाँ लिई कागज गरी दिएमा वादी सावितै भएको । त्यसबाट के देखिन आउँछ भने व्याज वापतमा जग्गा प्रतिवादीलाई राजीखुशीले भोग चलन गर्न दिएको देखिन आउने । सो बमोजिम व्याज वापतमा भोग चलन गर्न नदिएको भए हुँदा बैटैयामा कमाउन दिएको । प्रतिवादीको लिखत वादीले पेश दाखिल गर्न सक्नुपर्ने, सो नसकेबाट बाली भराई साँवामा कट्टामट्टा गराई पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने ठहर्छ । श्री माननीय न्यायाधीश तिलक शम्शेरजीसँग राय नमिलेकाले यो मुद्दा फुल बेञ्चमा पेश गर्नु भन्ने डिभिजन बेञ्चका श्री माननीय प्रधान न्यायायधीसको १३।९।२४।२ को आदेश ।
११. यसमा रामजितको धरौटी अपील परेको र झिकाई आएको सिसरणको वारेस रामराजलाई राखी पेश हुन आएको बुझ्दा यिनै प्रतिवादीको उपर बटैयाको कागज दिलाई पाउँ भनी नालिस दिएकोमा बटैयाको कागज गराएको छैन । अघि ८२।८५ सालमा भएका कागजको अंक गभाई ०६ सालमा अर्को कागजसम्म गराएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी दिएको । यो मुद्दा पर्नु भन्दा अगावै यिनै प्रतिवादीले अड्डामा दिएको प्रतिवादीमा नै अघिको रुपैयाँ गभाई एक मुष्ट ०६ सालमा लिखत गराएको हुँ भन्ने प्रतिवादी दिएको देखिएको । वादीको सवै दाजु भाइको तमसुकीको कं.रु. जोड गर्दा कं.रु. ५९९ मा नं. १०४।१०५ को जग्गा विगाहा १।३।१ मध्ये कित्ताको र उत्तरतर्फको विगाहा १ भोगबन्धकी दिएको भन्ने लेखिएको । सो कुरा हालका प्रतिउत्तरमा छिपाई बेग्लै व्यवहार भन्ने झुट्टा प्रतिउत्तर दिएको प्रष्ट देखिन आएको छँदै अघिको र हालको व्यवहार छुट्टै हो भन्दा आसामीलाई दोहरा थैली तिर्न पर्ने हुन आउने हुनाले ८२।८५ सालमा लिखतको मिति ०६ सालमा गभाएकै ठहर्ने । सो ०६ सालमा भएको लिखत रु. ५९९ को भोगबन्धकी देखिएको । रजिष्ट्रेशनका ३ नं. ले पास गर्नुपर्ने पास नभएको लिखत रजिष्ट्रेशनका ७ नं. ले कपाली हुने भएबाट सो कागजका नाताले वादीको जग्गामा अब प्रतिवादीले भोग चलन गरी खान नपाउने र आफूले रुपैयाँ लिई कागज गरी दिएमा र जग्गा अहिलेसम्म प्रतिवादीलाई भोग चलन गर्न दिएमा वादी सावितै भएकोबाट व्याज वापतमा जग्गा प्रतिवादीलाई राजीखुशी भोग चलन गर्न दिएको देखिन आउने । सो बमोजिम व्याज वापतमा भोग चलन गर्न नदिएको भए हुँडा बटैयामा कमाउन दिएको प्रतिवादीको लिखत वादीले पेश दाखिल गर्न सुक्नुपर्ने सो नसकेबाट बाली भराई सावाँमा कट्टामट्टा गराई पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने ठहराएको कटरवन अपीलको इन्साफ मनासिव छ । डिभिजन बेञ्चका श्री माननीय न्यायाधीश तिलक शम्शेरजीको रायबमोजिम गर्नु पर्दैन । इन्साफ पारी छिन्ने हाकिम उपर अपील गरे वापत अपीलाट रामजित राउत अहीरके निजलाई कटरबन अपीलबाट गरेको दण्ड कं.रु. ४। ।।। को पहिला अपील हुँदा हाकिमका नाउँमा कराउनेका १०नं. बमोजिम सयकडा १० ले कं.रु. ।। आठ आना दण्ड हुँन्छ सो दण्ड तारेखमा रहन नपर्ने गरी ०१२।१०।२२।१ मा कटरबन अमिनीमा धरौट रहेको देखिएकाले सो धरौटी सदर स्याहा गर्नु भनी कटरबन अमिनीलाई लेखी पठाउन अ.त.देवानी फाँटमा लगत दिई मुद्दा छिनिएको व्यहोराको जनाउ अपीलाटलाई पठाई दिनु ।
इति सम्वत् २०१३ साल फाल्गुन १५ गते रोज ३ शुभम् ।