निर्णय नं. ५९ - थैली तिर्न पर्ने नपर्ने यकीन गरी पाउँ

निर्णय नं. ५९ ने.का.प. २०१६
फुल बेञ्च
का.मु.प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय
फु.ठा.नं. ८
निवेदक, प्रतिवादी : देविदास मानन्धर
विरुद्ध
विपक्षी, वादी : ब्रहृमदेवप्रसाद रौनियार
मुद्द : थैली तिर्न पर्ने नपर्ने यकीन गरी पाउँ
(१) वादीमा दुई कुरा गरी दावी लिएकोमा निश्चयरुपले दावी लिन सकेको नदेखिने ।
वादी हेर्दा पटक–पटक भएका इस्तिहार जग्गा पजनीका ६।३४ नम्बर घर बनाउनेका २१ नं. का ऐन समेतले साहुको घरमा हक दैयापुग्न सक्तैन । यदि हक ठहर्ने भए पनि उल्लिखित ऐन इस्तिहारले भोगबन्धकी नै कायम हुने हुनाले सो भोगबन्धकी थैली तिरेपछि निखनी पाउने गरी पाउँ भन्ने समेत वादी दावी भएकोले वादीले नै निश्चित कुराको आधार लिई वादी दिन नसकी पहिले तिर्नै नपर्ने भनी आखिर ल्याएर तिर्नै पर्ने ठहर्छ भने भोगबन्धकी कायम हुने थैली तिरे पछि निखनी पाउने गरी पाउँ भनी दुई कुरा गरी दावी लिएको हुँदा आफैंले पनि निश्चयरुपले दावी लिन सकेको नदेखिएको ।
(प्रकरण नं. १४)
(२) जग्गा पजनीको ६ नं.–साहुले दाखिल खारेज नगरे जरिवाना गरी दाखिल खारेज गरी दिनुपर्ने । हक साहुकै देखिने ।
जग्गा पजनीको ६ नं. मा आफूले लिएका जग्गा जमिन गैह्र कुरा गरी हक छोडी लिनु दिनु गर्दा साहुले दाखिल खारेज नगरे आसामीकै हक पक्का ठहर्छ वा बदरै गरी दिनु भन्ने उल्लेख भएको नभई सो बमोजिम नभएकोमा जरिवाना गरी दाखिल खारेज गरी दिनुपर्ने साहुकै हक हुने देखिएको ।
(प्रकरण नं. १४)
(३) जग्गा पजनीको ३४ नं. म्याद भित्र झगडा परी कारवाई चलाएमा–म्याद भित्र नालिस गरेको देखिने ।
३४ नं. का ऐनका म्याद २ बर्ष भित्र साहुले नालिस गर्न नसकेको र तिरो पनि आसामीबाटै बुझाएको भन्ने जिकिर भएकोले कसो हो भन्न बहाल भराई पाउँ घर चलन चलाई पाउँ भन्नेतर्फ ९१ साल देखि नै झगडा परी साहु तर्फबाट नासिल दिई कारवाई चलाई राखेको चलन पाउँना साथ यो उजुर परी खड्गनिशाना भई दर्ता तिरो गरेकै देखिएको ।
(प्रकरण नं. १४)
(४) रजिष्ट्रेशनको ३१ र ४५ नं. र जग्गा पजनीको ६ नं.–दाखिल खारेज नगरेकोबाट साहुको हक नटुट्ने–जरिवानासम्म गरी जुनसुकै बखत पनि दर्ता गर्न पाउने ।
रजिष्ट्रेशनका ३१ नं. बमोजिम दाखिल खारेज नगरेकोबाट साहुको अलि फर्छ्या कायम हुन्न कि भन्नालाई उक्त जग्गा पजनीको ६ रजिष्ट्रेशनको ४५ नं. ले जरिवानासम्म गरी जुनसुकै बखत पनि दर्ता गर्न पाउने बदर बातिल गर्न नमिल्ने ऐनमै व्यवस्था भईरहेकोले प्रतिवादीको झगडा परेका घरमा हक दावा टुटी सकेको भन्न नहुने ।
(प्रकरण नं. १४)
(५) घर बनाउनेका २१ नं.–लिखत भएमा लिखतैबमोजिम हुने ।
लिखत भएमा लिखतैबमोजिम हुन्छ भन्ने सोही २१ नं. मा किटानीसाथ लेखिएको देखिनाले प्रतिवादीको लिखत भैरहेका घरमा प्रतिवादीको हक नभएको भन्न नमिल्ने ।
(प्रकरण नं. १४)
(६) साहु आसामीको ३३ (२) नं.–लिखतमा यही मोलले अली फार्छ्या भयो भन्ने स्पष्ट लेखिएकोमा–त्यसै लिखतले अली फार्छ्या हुने । अर्को कागज गराई रहन नपर्ने ।
साहु आसामीका ३३ नम्बरका २ दफा अन्तर्गत यसै मोलमा यसै कागजले भन्ने शब्द पर्नु पर्ने लिखतमा सो दुवै शब्द नभै यही मोलले भन्ने शब्द मात्र देखिनाले सो दुवै शब्द नभएबाट बदरै हुने हो कि भन्न पनि यही मोलले सुक्री बिक्री फरी फार्छ्या भयो बजार अड्डामा दाखिला खारेज गरी लिनु भन्ने र भाखासम्म बन्धकी र भाखा नाघेपछि अलि फार्छ्या भयो भनी आसामीका मन्जूरिसाथ अलि फार्छ्याको लिखत भएकोले अर्को कागज गराई रहनु पर्ने अवस्था नदेखिएको ।
(प्रकराण नं. १४)
(७) साहु आसामीको ३३ (४) नं–साहुको हक कच्ची गराउनलाई आसामीले ऐनको म्याद भित्र कारवाई चलाउनुपर्ने ।
लेखिएबमोजिम प्रष्ट देखिने गरी किटानीसाथ लेखिई रहेको ऐनबमोजिम सो कागजका म्याद भित्र थैली तिरी लिन र त्यसतर्फ कारवाई चलाउन साहुलाई भन्दा आसमीलाई जरुरत भएको र साहु आसामीको ३३ नं. को मन्साय पनि साहुलाई भन्दा आसामीलाई बढ्ता सुविधा दिने भएको हुनाले सो ३३ नं. को देहाय ४ दफामा ८९ साल श्रावण १ गतेदेखि अघिको जतिको अड्डा अदालतमा नालिस परी नरहेको भए तापनि लिखतको भाखा करार नाघेको ३५ दिन नगुज्रेको जतिका हकमा पनि आसामीले थैली बुझाउन भन्ने वा लेखिएकै कुरा बढी बढाउनको म्याद टाँसी लिलाम गराई भर्ना गराई पाउँ भन्नेमा समेत लिखतको भाखा खिलाफ भएमा ३५ दिन भित्र सो दुई कुरामा जुन कुरा गराई माग्नु पर्छ सो कुराको इलाका अदालतमा दर्खास्त दिनु भन्ने समेत उल्लेख भएको सो ऐनका म्याद भित्र ऐनबमोजिम उजुरी नगरी १२ बर्ष पछि नालिस आएको देखिएको ।
ऐनका म्यादसम्ममा आसामीले कुनै कारवाई चलाउन नसकेको र साहुले नालिस उजुर गरी आफ्नु हक पक्का गराउनु पर्छ । नालिस उजुर गरी आफ्नु हक पक्का नगराए साहुको बन्धकी सरहमात्र हुन्छ भन्ने सो ऐनमा नदेखिई आसामीले रुपैयाँ तिर्नु पर्छ वा लिलाम गराई भर्ना गराई पाउँ भन्ने दरखास्त दिनुपर्छ भन्ने शब्दहरू सो ३३ नं. का दफा दफामा उल्लेख भईरहेकोमा सो बमोजिम भए गरेको नदेखिएको ।
(प्रकरण नं. १४)
(८) खड्गनिशाना–खड्गनिशाना फैसलाबाट अन्तिम टुंगो लागिसकेको मुद्दालाई राजनीतिक रंग दिइएमा–फैसलाबमोजिम दाखिल दर्ता भई सो सम्पत्ति उपरको स्वामित्त तह तह भई सर्दै गएकोमा–त्यस्तो फैसला बदर गर्दा समाजमा खलवली हुन जाने हुनाले बदर बातिल गर्न नहुने ।
त्यस्तो अन्तिम रुपको फैसलालाई राजनैतिक रंग दिई फेरी हेरिने प्रबन्ध गराउने चेष्टा गरेको देखिन्छ । खड्गनिशाना सदर भई साहुले आफ्ना नाउँमा दाखिल दर्ता गरी कारणबस सो सम्पत्ति बिक्री गरी सम्पत्ति उपरको स्वामित्व तह–तह भई सर्दै गएकोमा धेरै समय पछि बदर बातिल गर्ने गर्दा समाजको व्यवहार खलबलिन जान्छ ऐन र न्यायकर्ताहरूको उद्देश्य समाजिक र आर्थिक स्थिति खलबल्याउने होइन दुनियाको हक बेहकको निश्चित रुपले टुंगो लगाउने हो । उपरोक्त कारणहरूले गर्दा आसामी राधाकृष्ण मरी मुद्दा सकार गर्ने ब्रम्हदेवप्रसादले गरेको दावी गल्ती ठहराई भारदारी तेश्रा प्रधान न्यायालय पहिला फाँटले गरेको इन्साफ सदर गरी खड्गनिशाना भएको मनासिव ठहराई सर्वोच्च अदालत डिभिजन बेञ्चले २०१३।१२।८।४ मा ठहराएको इन्साफ मनासिव ।
(प्रकरण नं. १४)
निवेदक तर्फबाट : एडभोकेट श्री कृष्णप्रसाद भण्डारी, एडभोकेट श्री पद्मबहादुर विष्ट र प्लीडर श्री कृष्णबहादुर
विपक्षी तर्फबाट : सिनियर एडभोकेट श्री देवनाथप्रसाद वर्मा, प्लीडर श्री पुरेन्द्रकुमार र प्लीडर श्री नारायणप्रसाद
साहु तर्फबाट : प्लीडर श्री मीन मर्दन
फैसला
१. यसमा बाबु लक्ष्मीराम र मेरा नाउँमा दर्ता भएको वीरगञ्ज बजारको १६९ नं. को बिगहा ।.। को रु.५। तिरो लागेको जग्गामा बनेको घर पसल समेत ९ बर्षसम्मलाई भोगबन्धक भाखा नाघेपछि अलिको तमसुक अन्यायवालाहरूको बाबु भाई सुब्बा रत्नदासहरूसँग ८१।२।२ मा मोरु.२७००१। कर्जा लिई लेखिएकै मितिदेखि साहुले भोग गर्न पाउने गरी लेखी दिएकोले मेरा भिन्न भएका भाइ गोपीकृष्णको बहाल कबुलियत गराई लिएको ९० सालमा भुकम्पले घर भत्कँदा साहुले नबनाएको, भाई गोपीकृष्ण पनि सो घरमा नबसी छाडी गएबाट आफैंले कं.रु.५००० र ९८ सालमा आगलागी भई बिग्रँदा रु.१००० खर्च गरी मैले नै बनाएकोमा निज गोपीकृष्ण उपर बहाल दिएन । दिलाई घर चलन चलाई पाउँ भनी दिएका नासिलबाट निज साहुहरूले गोपीकृष्णबाट बहाल भराई घर चलन चलाई पाउने भई प्रधान न्यायालय लगायतका फैसलाले खाली बहाल र घर चलन पाउनेसम्मको हक सो फैसलाबाट हुन गएकोमा हाल अन्यायवालाहरूले २००१।१२।१५ का दिन मलाई पक्री अलीको लिखतबाट घर हाम्रो हुने भएकाले अब दर्ता तालुक अड्डामा गई हाम्रो नाउँमा दाखिल दर्ता गर्न मन्जूरीको कागज गरी देउ भनी जोर जुलुम गरेकाले नालिस दिएको छु । लिखतको भाखा ९० सालमै खिलाफ भईसकेकोले अली फार्छ्या सदर भएको भन्ने निजको पक्राउ जिकिरलाई आफ्नु हक भोगको आफ्ना नाउँमा दर्ता गराई लिनु भन्ने पटक–पटक इस्तिहार जारी हुँदा दर्ता र ९० सालमा भुकम्पले भत्कँदा ९८ सालमा आगलागी हुँदा समेत बनई भोग गरी बस्न नसकेको बन्धकीको साल गुज्रेपछि अलीत तर्फबाट दाखेल खारेज दर्ता तिरो भोगसमेत गराई लिन नसकी तिरो मैले नै तिरी रसिद लिएकोले जग्गा पजनीका ६।३४ घर बनाउनेका २१ नं. का ऐनले समेत सो घर जग्गा पतालमा निजको हक दावा नरहने ८९ साल श्रावण १ गते देखी रैकर घर जग्गा फार्छ्या लिनु दिनु हुँदैन गरे बदर हुन्छ भन्ने साहु आसामीका ३३ नं. को दफामा लेखिएको ८९ साल श्रावण १ गते भाखा करार भुक्तान भई अली सदर भई भोग गरेको नभै तमसुकको करार ९० जेष्ठ २० गते मात्र भुक्तान हुने भएकोले सोमिति देखी अगाडिको बन्धकी मात्र कायम हुने भई अलीबाट भोग भएको नठहर्नेमा दाखिल खारेज गरी देउ भनी मलाईपक्रन नहुने प्रमाण परिबन्दले निजहरूको थैली तिर्नै नपर्ने ठहर्छ भने सो बमोजिम गरी र तिर्ने पर्ने ठहरे बन्धकी ठहर्छ भने थैली तिरेपछि निखनी पाउने गरी पाउँ भन्ने समेत व्यहोराको वादी राधाकृष्णको फिराद ।
२. वादी दावीको घर जग्गा अलीफार्छ्या गरी दिएमा वादी सावित भएको सो बमोजिम अलि फार्छ्या गरी लिई सकेपछि वादीको भाई गोपीकृष्णलाई कबुलियत गराई बहालमा बस्न दिएकोमा दिनुपर्ने बहाल पुरा नबुझाएकोले बाँकी बहाल भराई घरबाट उठाई पाउँ भनी ९१ सालमा हामीहरूले नालिस दिँदा बाँकी बहाल भराई दिने गरी फैसला भएको जुनाफ लगायतबाट सदर भएबमोजिम घरबाट उठी नदिएमा उजुर परी उठाई दिनु भन्ने निकासाबमोजिम २ साल जेष्ठ २६ गतेमा वीरगञ्ज अमिनी मार्फत उठाउन लगायो भने इबीले बन्धकी भनी झुट्टा उजुरी गरेको हो साहु आसामीका ३३ नं. का ऐनले भाखा करार नाघेका ९०।२।२० गतेका मितिले ३५ दिन भित्र थैली बुझाउन पाउँ भनी नालेस दिन सक्नुपर्ने नसकेकोले सो घर ऐनले हाम्रो अली सदर भईसकेकोले त्यस बारेमा यो वादी लाग्नै नसक्ने । ८९ साल श्रावण १ गते देखी अलि फार्छ्यागरी लिन दिन हुँदैन भन्ने साहु आसामीको ३३ नं. को ऐन जारी नहुँदै अघि भएको ऐनबमोजिम काम कारवाई भएकोमा पहिलेकै ऐनबमोजिम हुन्छ भन्ने समेत भईरहेको र सो साहु आसामीका ३३ नं. ले पनि ८९ श्रावण १ गते देखी पछीलाई मात्र लिखत गर्न हुदैन अघिको भाखा करार भई लिनु दिनु गरिसकेको सदरै छ भन्ने र भाखा करार नपुगेकालाई पनि भाखा करार नाघेका मितिले ३५ दिन भित्र आसामीले उजुर दावी नगरे फाछर्या सदर भई आसामीको उजुरै नलाग्ने र भुकम्पले भत्केकै नहुँदा बनाउनु पर्ने आवश्यकै नभएको आगलागीमा परेको भनेको पनि बिलकुलै झुट्टा हो साल सालको तिरो पोत हामीले बुझाई राखेको २००० सालमा रसिद लिई श्रेस्ता गर्न मु.चक्रमान मरेको मौका पारी २०००।२००१ सालको तिरो वादीले बुझाए पनि अर्काका हक भोगको घरको पोत बुझायो भन्दैमा ऐनले बुझाउनेको सदर नहुने दर्तातर्फ हाल सदर भएको फैसलाबमोजिम चलन पाई सकेपछि पनि दाखिल खारेज गरी नदिएकाले न्यायालय मार्फत हामीले बिन्तिपत्र दिएको त्यसबाटै कारवाई हुने हुनाले ऐन र तमसुकले वादीको हक छुटी घरको अली करार नाघी हाम्रो हक भएकोमा ऐनका म्याद भित्र उजुर गर्न नसकी नालिस लिनै नहुने बेहिसाबले नालिस लिएको बदर गरी झुट्टा फरेब गरेमा सजाय गरी पाउँ भन्ने समेत व्यहोराको प्र. सु.गणेशदासको र सोही मिलानको ना.सु.कृष्णदासको समेत पृथक–पृथक प्रतिउत्तर परेको ।
३. सु. गणेशदासका बिन्तिपत्रमा भएका प्रमांगीबमोजिम वीरगञ्ज अमिनीबाट यो मुद्दाको मिसिल भारदारी तेश्राले झिकाई कारवाई गरी तहकिकात गर्दा बुझिएसम्मका प्रमाण परिबन्दबाट ८९ साल श्रावण १ गते अघिको लिखत हुँदा साहु आसामीका ३३ नं. का ३ दफाले अलिफार्छ्या गरी लिन दिन हुने अवस्थाको लिखत सोही नम्बरका २ दफाले लिखतबमोजिम हुने र प्रधान न्यायालयबाट समेत अघि छिनिएको मिसिलबाट सु.गणेशदास रत्नदासले गोपीकृष्णलाई बहालमा राखेको ठहरी साहुको भोग भएको देखिएको साहु आसामीका ३३ नं. का ४ दफाले भाखा नाघेका मितिले ३५ दिनसम्म आसामीले निखन्न पाउँ भन्ने उजुर गर्ने म्याद भएको सो म्यादमा उजुर नगरी गुजारेपछि सोही ३३ नं. का ४ दफाले उजुरै लाग्न पुग्न नसक्ने सो ३३ नं. का २।३।४ दफाका ऐनले आसामीको हक टुटी साहुको फार्छ्या कायम भईसकेकोबाट साहुले दर्ता दाखिल गर्न पाउँदैन भन्न नहुने हुनाले समेत राधाकृष्णले गरी दिएको अलिफाछर्याका लिखतबमोजिमको घर जग्गाको विगहाको दुवै थरबाट दशौंद बिशौंध अ.त.बिगो फाँटले असुल गरी वीरगञ्ज बजार अड्डाबाट दर्तावालाको नाम खारेज गरी सु.गणेशदास कृष्णदासका नाउँमा दर्ता दाखिल गरी चलन चलाई दिनु भनी अ.त.बिगो फाँटमा लगत दिने समेत ठहराई २।७।३०।५ मा भारदारी तेश्रा फाँटले जाहेरी फैसला गरेकोमा प्रधान न्यायालय पहिला फाँटका तालुकवाला मे.ज. बसन्त शम्शेर ज.ब.रा.बाट ०३।१।२५।३ मा सोही इन्साफ सदर गरी तोक फैसला भएको ।
४. सो इन्साफ दोहर्याई पाउँ भनी राधा कृष्ण मरी मुद्दा सकार गर्ने ब्रम्हदेवप्रसाद रौनियारको बिन्तिपत्रमा बक्सेका हुकुम प्रमांगीबमोजिम भनी प्रधान न्यायालय पहिला फाँटले जाहेर गरेकोमा इन्साफ प्रधान न्यायालय पहिला फाँटले ०३।१।२५ गते तोक फैसला गरेको सदरै छ । दोहरायमा ब्रम्हदेवलाई मो.रु.१ दण्ड गर्नु भनी ०३।५।२४।२ मा खड्गनिशाना तोक सदर भएको ।
५. सदरै नहुने अलिको लिखत सदर गरी भारदारीबाट जाहेरी फैसला भएको र ०३।५।२४ गतेमा ठाडै खड्गनिशाना भएकोले यस बारेको मिसिल तलव गरी जाहेर गर्नु भन्ने आदेश पाउँ भन्ने समेत व्यहोराको ब्रम्हदेवप्रसादको निवेदनपत्र परी कारवाई भएको साधारण राज्य व्यवस्थाबाट टिप्पणी पेश हुँदा श्री प्रधान न्यायाधीशले दोहर्याई दिने गरी गृह न्याय बिभागमा पठाउन जो आदेश भनी श्री सेक्रेटरीको राय समेत भई पेश हुँदा श्री प्रधान शाही परामर्शदाता केशर शम्शेरज्यूबाट सदर भई प्रधान न्यायालयमा आई हेरिंदा ।
६. सो अलिफार्छ्याको म्याद पुने ९०।३।२२ गतेमा ९ बर्ष पुगेपछि सो लिखतबमोजिमको साँवा ब्याज आसामीले नबुझाई तमसुक फट्टा नगराएको भएपछि लिखतबमोजिमको घर जग्गा आफ्ना नाउँमा दर्ता दाखिल गराउन र आफैंले बिटौरी तिरो गर्न नसकी आसामीबाट तिरी आएको लिखतमा पनि यही कागजले फार्छ्या भयो भन्ने व्यहोरा पनि नपरेको ९० सालमा भत्कँदा मैले बनाएको भनी साहुले भन्न नसकेकोले आसामी तर्फैबाट बनाएको देखिने हुँदा प्रतिवादीले अलिफार्छ्याबाट आफ्नो हक गराई भोग गरी आएको भन्न नभई बन्धकी सो बहाल लिई आएको देखिएकोले आसामीको हक राखी बन्धकीबाटै भोग गरी रहेको देखिने साहु आसामीको ३३ नं. को ३ दफामा ८९ साल श्रावण १ गते देखि अघिकोमा लिखतको भाखा करार खिलाफ भई साहु तर्फबाट भोग चलन गरी खानु खुवाउनु गरिसकेको नालिस उजुर केही नपरेको जति खाए चलन गरेको सदरै हुन्छ भन्ने लेखिएको यो व्यवहारमा सो ऐनमा लेखिए माफिक ८९ साल श्रावण १ गतेदेखि अघि भाखा करार खिलाफ भई साहु तर्फबाट भोग चलन गरी खानु खुवाउनु गर्ने अवस्थै नभै ऐन जारी भएपछि ९०।३।२२ गते मात्र भाखा पुगेकोले सो ऐनले पनि साहुको हक पुग्न नसक्ने ऐनज ४ दफामा ८९ साल श्रावण १ गतेदेखि अघिको जतिको अड्डा अदालतमा नालिस परी नरहेको भए पनि लिखतको भाखा करार नाघेको ३५ दिन गुज्रेको जतिका हकमा आसामीले थैली तिर्ने र लिलाम गराई माग्ने दावा गर्न पाउने गरी लेखेको यसमा सो ऐन जारी हुँदा ३५ दिन नाघेको नभई ऐन जारी भईसकेपछि ९०।३।२२ गते मात्र भाखा पुग्ने भई सो ३५ दिन नाघेको म्याद भित्र आसामीको दरखास्त नपरेको भन्न पनि नहुने ऐन जारी भईसकेपछि मात्र आसामीले रुपैया बुझाउने भाखा पुग्ने व्यवहार भएको र भोगबन्धकी सो सरह साहुले भोगबन्धकीमासम्म चलन गरेको हुनाले सोही ४ दफामा लेखिए माफिक साहुको मेरो फार्छ्या भईसकेको भन्ने उजुर लाग्नै नसक्ने ६ दफाबमोजिम आसामीको निखनी लिने र लिलाम गरी पाउँ भन्ने नालिस लाग्नै सक्नेमा सुरु अड्डामा परेको मुद्दा खिची ऐनबमोजिमको तह कटाई ठाडै खिची भारदारी तेश्राले जाहेर गरी लेखिएको ऐनहरू काटिने गरी अलि फर्छ्या कायम गरी घर जग्गा सु.गणेशदास ना.सु.कृष्णदास समेतका नाममा दर्ता गर्ने र आसामीले लिखत नपाउने गरी न्यायको अन्याय गर्ने गरी ठाडै खड्गनिशाना भएको न्यायोचित नदेखिएकोले समेत वादीले अर्थात आसामीले निखन्न पाउने ठहराई खड्गनिशाना उल्टाई ०१२।१२।१४।३ मा प्रधान न्यायालय डिभिजन बेञ्चको फैसला ।
७. सो इन्साफमा चित्त बुझेन दोहराई पाउँ भन्ने समेत व्यहोराको सु.गणेशदास मरी मुद्दा सकार गर्ने देबीदासले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तिपत्रमा व्यहोरा साँचो भए मुद्दा दोहर्याई दिनु भन्ने ०१३।२।२९।२ को बक्स भएको हुकुमको प्रमांगी ।
८. वादीले नालिस गर्दा थैली धरौट राख्न नसकी बन्धकी थैली तिरेपछि निखनाई पाउने गरी पाउँ भन्ने दावा लिएको लिखत नक्कल हेर्दा भाखा नाघ्यो भन्ने लेखिएको घरजग्गा यही मोलले सुक्री बिक्री फरी फछर्या भयो भन्ने बोली परेको र साहु आसामीका ३३ नं. का ऐनबमोजिम रुपैया तिर्नेतर्फ कारवाई गराउन नसकेको यसै कागजले भन्ने लिखतमा बोली नपरे पनि यसै मोलले भन्ने बोली परेकै हुँदा साहु आसामीका ३३ नं. का २ दफाले बन्दकी भन्न नमिल्ने फछार्ये गराई लिनु वा लिन हुन्छ भन्ने बोली परेकोमा बन्धकी सरह हुन्छ भन्ने उक्त १ दफामा लेखिएको सो लिखतमा सो बोली नपरी यसै मोलले फाछर्यै भयो भन्ने बोली परेकोमा फाछ्र्ये कायम देखिएको र ०३ सालमा खड्गनिशाना फैसला भएको त्यसै घरको यिनै वादीका भाई गोपीकृष्णबाट बहाल पाउने चलन पाउने फैसला पनि भएको खड्गनिशाना फैसला भएपछि फाछर्या जानी तह–तह बन्धकी फार्छ्याबाट साहुको चलन भईसकेको देखिनाले समेत ०१२।१२।१४ गतेमा भएका डिभिजन बेञ्चका फैसलासँग राय नमिलेकाले छलफलमा ब्रम्हदेवलाई झिकाई पेश गर्नुभन्ने ०१३।८।८।६ को डिभिजन बेञ्चको आदेश ।
९. प्रमांगीबमोजिम भारदारी तेश्राले मिसिल झिकी हेरी अलि फार्छ्या ठहराई छिनेकोमा ब्रम्हदेवको बिन्तिपत्र परेकोबाट दोहरिंदा पनि अड्डाहरूले ऐन मिलाई फैसला गरेको इन्साफ मनासिव ठहराई खड्गनिशाना भएकाले तह काटी इन्साफ भयो भन्न नहुने र दण्डसजायका १९ नं. ले अघिका प्राईमिनिस्टरले छिनेको मुद्दा पछि भएका ऐनले उल्टाई हेर्न हुदैन भन्ने लेखिएको परामर्शदाताबाट दोहर्याई दिने निकासा भएको मेमो टिप्पणीमा पनि उक्त ऐन उल्लेख भएको नदेखिनाले दोहर्याई दिई ३ सालमा भएको खड्गनिशाना बदर गर्न पनि मनासिव नपर्ने झगडा परेको घर जग्गाको बहाल पाउँ भनी ९१ सालमा उजुर परेको मुद्दामा बहाल पाउने डिग्री फैसला भएको खड्गनिसानाले जिती पाएपछि ३ सालमा महादेशप्रसादलाई ०६ सालमा मखनलाई फाछर्या दिई तह तह साहुहरूले भोग गरेको समेत देखिनाले ०१३।८।८ को डिभिजन बेञ्चको राय मनासिव देखिकाले ०३।५।२४ गतेका खड्गनिशाना बदर गरी ०१२।१२।१४ गते डिभिजन बेञ्चले फैसला गरेको उचित नदेखिएकाले रुलिंगसँग सहमत भएको हुँदा नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने ०१३।१२।२८।४ को डिभिजन बेञ्चको आदेश ।
१०. निवेदक देवीदासले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको निवेदनपत्रमा प्रधान न्यायालयबाट १५ दिने म्याद आउदा म बिदेश गैरहेको थिएँ । बिदेशमा छँदै विपक्षीले निखन्न पाउने फैसला भयो भन्ने सुनेको र ०१२।१२।२८ मा प्लेनबाट नेपाल आई बुझ्दा भन्ने लेखिएको र निज देवीदास बिदेश गएको नभई यसै सरहद वीरगञ्जमा तारिख लिएको र वीरगञ्ज बजारको वतन कायम गरी निजले वारेसनामा दिएको समेत प्रमाण छ भनी विपक्षी ब्रम्हदेवको विद्वान वकील एडभोकेट देवनाथप्रसादजीले छलफलमा जिकीर लिई प्रमाण पेश गर्नु भएको र रक्सौलमा घर भएको हुँदा रक्सौलबाट वीरगञ्जको तारेख लिई रक्सौल आफ्नो घर जाने गरेको भनी निवेदकको विद्वान वकील एडभोकेट पद्मराजजीले बहसमा जिकीर लिई रक्सौलमा घर भएको प्रमाण पेश गुर्न भएको छ तापनि निवेदनबाट बहसमा जिकीर लिए बमोजिम लेखिएको नदेखिएको र विपक्षीबाट यसै सरहदमा रहे भएको अड्डाको प्रमाण दाखेल गरेको वीरगञ्ज बजारको वतन कायम गरी वारेसनामा दिई तारेखमा रहे बसेकोमा निवेदकको वकील सावितै हुनु भएको बक्स भएको प्रमांगीमा व्यहोरा साँचो भए दोहर्याई दिनु भन्ने भएकाले माथि लेखिए बमोजिम म्याद तामेल हुँदा देखी फैसला हुँदासम्म बिदेशमै रहेको भन्ने कुरा साँचो नठहरेकोले निवेदनमा लेखिएको व्यहोरा उक्त व्यहोरा प्रमाणले झुट्टा सावित हुन आएको हुँदा यो बिन्तपत्र खारेज हुने ठहर्छ भनी ०१४।९।२२।१ मा फुल बेञ्चबाट फैसला भएको ।
११. सो इन्साफमा चित्त बुझेन दोहर्याई पाउँ भनी श्री ५ महाराजाधिराजका हजुरमा देवीदासले चढाएको बिन्तिपत्रमा ब्रम्हदेवप्रसादसँगको थैली तिर्न पर्ने नपर्ने यकिन गरी पाउँ भन्ने मुद्दामा अघिका हुकुम प्रमांगी बमोजिम दोहर्याई पाउँ भन्ने देवीदासको बिन्तिपत्र र सो बारे त्यस अड्डाबाट लेखी पठाउनु भएको २०१४।११।१३।२ को आ.फु.नं. ९४८ का पत्रको व्यहोरा समेत श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा यसमा अघि ०१३।२।२९ मा भई गएको हुकुमको प्रमांगी बमोजिम यो एकपटक दोहर्याई दिनु भन्ने हुकुम प्रमांगी बक्से बमोजिम निजको नं. ११७६ कोर्ट फि रु. १। भएको बिन्तिपत्र समेत राखि सूचीत गरेको छु भन्ने श्री ५ महाराजाधिराजका निजी सचीवबाट ०१५।६।१२।१ मा लेखी आएकोमा सो ११७६ नं. को बिन्तिपत्रको पिठमा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्नु भन्ने ०१५।६।१५।४ को श्री माननीय प्रधान न्यायधीसको आदेश ।
१२. दुवै थर झगडीया राखी पेश गर्न विपक्षी ब्रम्हदेवप्रसाद रौनियारलाई ७ दिन म्याद पठाई झिकाई आएपछि पेश गर्नु भन्ने ०१५।११।२७।३ को फुल बेञ्चको आदेश ।
१३. यो घर जग्गा देवीदाससँग मेरो बाबु मखन लालले भा.रु. ८५००१ मा रजिष्ट्रेशन पास गरी लिएको निज बाबु मरी मेरो हक भएको भन्ने का. इन्द्रचोक बस्ने राधेश्याम मारवाडीको तो.नं. ६७६५ को निवेदन परेको मिसिलबाट देखिएकोले निज राधेश्यामका नाममा ऐन बमोजिम ७ दिने म्याद दिई झिकाई पेश गर्नु भन्ने ०१६।५।९।३ को फुल बेञ्चको आदेश ।
१४. उक्त ०१५।६।१२।१ मा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा तारिखमा रहेका निवेदक देवीदास मानन्धरको वारिस पुष्पराज र निजतर्फका विद्वान वकील एडभोकेट कृष्णप्रसाद, पद्मराज, प्लीडर कृष्णबहादुर र झिकाई आएको विपक्षी ब्रम्हदेवप्रसाद र निजतर्फको विद्वान सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा, प्लीडर पुरेन्द्रकुमार, नारायणप्रसाद, झिकाई आएको साहु राधेश्याम र निजतर्फका विद्वान वकील प्लीडर मीनमर्दनलाई समेत राखी उक्त दुवै पक्षको र वकिलहरूको बहस समेत सुनी बुझ्दा मुख्य राधाकृष्णले दिएको वादी हेर्दा पटक–पटक भएको इस्तिहार जग्गा पजनीका ६।३४ नम्बर घर बनाउनेका २१ नं. का ऐन समेतले साहुको घरमा हकदैया पुग्न सक्दैन यदि हक ठहर्ने भए पनि उल्लिखित ऐन इस्तिहारले भोगबन्धकी नै कायम हुने हुनाले सो भोगबन्धकी थैली तिरेपछि निखनी पाउने गरी पाउँ भन्ने समेत वादी दावी भएकोले वादीले नै निश्चित कुराको आधार लिई बादी दिन नसकी पहिले तिर्नै नपर्ने भनी आखिरी ल्याएर तिर्ने पर्ने ठहर्छ भने भोगबन्धकी कायम हुने थैली तिरेपछि निखनी पाउने गरी पाउँ भनी दुई कुरा गरी दावी लिएको हुँदा आफैले पनि निश्चयरुपले दावी लिन सकेको नदखिएको जग्गा पजनीका ६।३४ र घर बनाउनेका २१ नं. ले वादीले थैली तिर्नै नपर्ने हरेछ कि भनी उक्त ऐनले हेर्दा ६ नम्बरमा आफूले लिएका जग्गा जमीन गैह्र कुरा गरी हक छोडी लिनु दिनु गर्दा साहुले दाखिल खारेज नगरे असामिकै हक पक्का ठहर्छ वा बदरै गरी दिनु भन्ने उल्लेख भएको नभई सो बमोजिम नभएकोमा जरिवाना गरी दाखिल खारेज गरी दिनुपर्ने । साहुकै हक हुने देखिएको उक्त ३४ नं. हेर्दा हदम्यादको कुरा उल्लेख भएको प्रस्तुत मुद्दामा उक्त ३४ नं. का ऐनका म्याद २ वर्षभित्र साहुले नालिस गर्न नसकेको र तिरो पनि आसामीबाट बुझाएको भन्ने जिकीर भएकोले कसो हो भन्न बहाल भराई पाउँ घर चलन चलाई पाउँ भन्नेतर्फ ९१ साल देखि नै झगडा परी साहु तर्फबाट नालिस दिई कारावाई चलाई राखेको चलन पाउनासाथ यो उजुर परी खड्गनिशाना भई दर्ता तिरो गरेकै देखिएको र मौकैमा रजिष्ट्रेशनका ३१ नं. बमोजिम दाखिल खारेज नगरेकोबाट साहुको अलि फाछर्या कायम हुन्न कि भन्नालाई उक्त जग्गा पजनीको ६ रजिष्ट्रेशनको ४५ नं. ले जरिवानासम्म गरी जुनसुकै बखत पनि दर्ता गर्न पाउने बदर बातिल गर्न नमिल्ने ऐनमै व्यवस्था भईरहेकोले प्रतिवादीको झगडा परेको घरमा हक दावा टुटीसकेको भन्न नहुने अब घर बनाउनेका २१ नं. ले बादीको दावी ठीक ठीक हो कि भन्नलाई पनि लिखत भएमा लिखतै बमोजिम हुन्छ भन्ने सोही २१ नं. मा किटानी साथ लेखिएको देखिनाले प्रतिवादीको लिखत भईरहेको घरमा प्रतिवादीको हक नभएको भन्न नमिल्ने लिखतै कच्चा हो कि अथवा साहु आसामीका ३३ नं. ले अली फार्छ्या भन्ने शब्द परे पनि बन्धकी नै हुन आउने हो कि भनी लिखत हेर्दा भाखा नाघ्यो भने लेखिएको घर जग्गा यही मोलले सुक्री बिक्री फरी फार्छ्या भयो बजार अड्डामा दाखिल खारेज गरी दिनु भनी अलि फार्छ्याको लिखत भएको लिखत देखिनाले उक्त साहु आसामीका ३३ नम्बरका २ दफा अन्तर्गत यसै मोलमा यसै कागजले भन्ने शब्द पर्नुपर्ने लिखतमा सो दुवै शब्द नभई यही मोलले भन्ने शब्द मात्र देखिनाले सो दुवै शब्द नभएबाट बदरै हुने हो कि भन्न पनि यही मोलले सुक्री बिक्री अली फाछर्या भयो । बजार अड्डामा दाखिल खारेज गरी लिनु भन्ने र भाखासम्म बन्धकी र भाखा नाघेपछि अलि फार्छ्या भयो भनी आसामीका मञ्जुर साथ अलिफछर्याको लिखत भएकोले अर्का कागज गराई रहनु पर्ने अवस्था नदेखिएको लेखिए बमोजिम प्रष्ट देखिने गरी किटानी साथ लेखिए रहेको ऐनबमोजिम सो कागजका म्याद भित्र थैली तिरी लिन र त्यसतर्फ कारवाई चलाउन साहुलाई भन्दा आसामीलाई जरुरत भएको र साहु आसामीको ३३ नं. को मनसाय पनि साहुलाई भन्दा आसामीलाई बढ्ता सुविधा दिने भएको हुनाले सो ३३ नं. को देहाय ४ दफामा ८९ साल श्रावण १ गते देखि अघिको जतिको अड्डा अदालतमा नालिस परी नरहेको भए तापनि लिखतको भाखा करार नाघेको ३५ दिन नगुज्रेको जतिका हकमा पनि आसामीले थैली बुझाउन पाउँ भन्ने वा लेखिएकै कुरा बढी बढाउको म्याद टाँसी लिलाम गराई भर्ना गराई पाउँ भन्ने समेत लिखतको भाखा खिलाफ भएका ३५ दिन भित्र सो दुई कुरामा जुन कुरा गराई माग्नु पर्छ, सो कुराको इलाका अदालतमा दर्खास्त दिनु भन्ने समेत उल्लेख भएको सो ऐनका म्याद भित्र ऐन बमोजिम उजुर नगरी १२ वर्षपछि नालिस दिन आएको देखिएको । घर भत्केको समेत बनाई बादी अर्थात् आसामी तर्फबाटै बनाएको हुनाले समेत प्रतिवादी अर्थात् साहुको घरमा हक नपुग्ने बन्धकी नै ठहर्ने भन्ने बादीको जिकीरलाई प्रतिवादीले बन्धकी रहेको सम्पत्ति अलि फार्छ्याको बोली राखि त्यसमा रहेको व्यक्तिबाट बहाल भराई चलन चलाउनेतर्फ र साथै सम्पत्ति आफ्नु हक गराउनेतर्फ कारवाई गरेको देखिन्छ । घरमा वादीतर्फकै भाई नातादार बाहालमा रहेको देखिएबाट केही भत्के बिग्रेमा बनाउने काम प्रतिवादीले गरेनन् भन्ने कुनै कानूनी महत्वको बुँदा भन्न नहुने ऐनका म्यादसम्ममा आसामीले कुनै कारवाई चलाउन नसकेको साहुले नालिस उजुर गरी आफ्नु हक पक्का गराउनु पर्छ । नालिस उजुर गरी आफ्नु हक पक्का नगराएमा साहुको बन्धकी सरह मात्र हुन्छ भन्ने सो ऐनमा नदेखिई आसामीले रुपैयाँ तिर्नु पर्छ वा लिलाम गराई भर्ना गराई पाउँ भन्ने दर्खास्त दिनुपर्छ भन्ने शब्दहरू सो ३३ नं. का दफा–दफामा उल्लेख भईरहेकोमा सो बमोजिम भए गरेको नदेखिएको राजकाजसम्बन्धी अभियोग रिसराग तथा बदला लिने भावको वा ऐन सवाल नियम काफि ठाडै हुकुम मर्जिबाट तोक फैसला भएको नभई शुद्ध लेनदेनको व्यवहारको जरीयाबाट उठेको तेरो मेरोमा अदालका विभिन्न तहहरूबाट निर्णय हुँदै गई आखिर इन्साफमा चित्त बुझेन दोहर्याई पाउँ भनी राधाकृष्ण मरी मुद्दा सकार गर्ने ब्रम्हदेवप्रसाद रौनियारको बिन्तिपत्रमा भएको हुकुम प्रमांगी बमोजिम प्रधान न्यायलय पहिला फाँटले जाहेर गरेकोमा इन्साफ प्रधान न्यायालय पहिला फाँटले ०३।१।२५ गते तोक फैसला गरेको सदरै छ । दोहर्याएमा ब्रम्हदेवलाई रु. १। दण्ड गर्नुभन्ने ३।५।२४।२ श्री महाराज पद्म शम्शेर ज.ब.रा. का पालामा खड्ग निसान तोक सदर भई अन्तिम तहबाट टुङ्गो लागि सकेको कुरामा मोहन शम्शेर चीफ महाराजा पद्म शम्शेर भएपनि जम्मै काम मोहन शम्शेरबाटै भई गरी आएको मोहन शम्शेरको जिन्दगी भर चकडी गरी बसेको देवीदासलाई चाकडी गरे वापत आफूले दिनुपर्ने मेरो सरबस्वबाट चाकरीको ऋण चुकाएँ भन्ने समेत व्यहोरा दर्साई त्यस्ता अन्तिमरुपको फैसलालाई राजनीतिक रङ्ग दिई फेरि हेरिने प्रबन्ध गराउने चेष्टा गरेको देखिन्छ । खड्गनिशाना सदर भई साहुले आफ्ना नाउँमा दाखिल दर्ता गरी कारणबस सो सम्पत्ति बिक्री गरी सम्पत्ति उपरको स्वामित्व तह–तह भई सर्दै गएकोमा धेरै समयपछि बदर बातिल गर्ने गर्दा समाजको व्यबहार खलबलीन जान्छ ऐन र न्याय कर्ताहरूको उद्देश्य सामाजिक र आर्थिक स्थिति खलबल्याउने होइन । दुनियाँका हक बेहकको निश्चित रुपले टुंगो लगाउने हो । उपरोक्त कारणहरूले गर्दा आसामी राधाकृष्ण मरी मुद्दा सकार गर्न ब्रम्हदेवप्रसादले गरेको दावी गल्ती ठहराई भारदारी तेश्रा प्रधान न्यायालय पहिला फाँटले गरेको इन्साफ सदर गरी खड्गनिशाना भएको मनासिव ठहराई सर्वोच्च अदालत डिभिजन बेञ्चले २०१३।२३।२८।४ मा ठहराएको इन्साफ मनासिव प्रधान न्यायालय डिभिजन बेञ्चको ०१२।१२।१४।३ को फैसला गल्ती ठहर्छ । सो ठहर्नाले तपसीलका कलममा तपसील बमोजिम गरी तहसीलमा लगत दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु।
तपसील
का.ई. इन्द्रचोक बस्ने ब्रम्हदेवप्रसाद रौनियारके प्रधान न्यानयलय डिभिजन बेञ्चका ०१२।१२।१४।३ का फैसला र ०१३।१।८।६ का.अ.त. बिगो फाँटका तलगतले सु. गणेशदास ना.सु. कृष्णदासको थैली रु. २७००१। धरौट राखी वा थैली तिर्न सावगास छैन लिलाम गरी साहुको थैली भर्ना गरी बढी फिर्ता पाउँ भनी साहु आसामीका ३३ नं. का ६ दफा बमोजिम उजुर पर्न आएमा आसामीको उजुरीबाट साहुले पाउने भएमा सहुको थैली भर्ना गरी लिलाम गर्दा बढी आएको आसामीले पाउने रुपैयाँको साहु आसामीका ३३ नं. को ८ दफा बमोजिम आसामीबाट दसौद लिनु भन्ने भएकोमा हाल इन्साफ उल्टिएकोले सो बमोजिम गर्नु पर्दैन लगत काटी दिनु भनी अ.त. बिगो फाँटमा लगत दिनु .............१
वीरगञ्ज बजार बस्ने लक्ष्मी राम रौनियार राधाकृष्ण रौनियारका नाउँमा १६९ नं. मा दर्ता भएको वीरगञ्ज बजारको सडकदेखि पश्चिम समेतका ४ किल्ला भित्रको पोता रु. ५। लागेको घर जग्गा बगैंचा समेत सु. गणेशदास ना.सु. कृष्णदास का.ई. मरुबाट बिगो मोरु. २७००१। को दशौद प्र. राधाकृष्णबाट बिसौंद अ.त.बिगो काटी असुल गरी वीरगञ्ज बजार अड्डाबाट दर्तावालाको नाउँ खारेज गरी सु. गणेशदास ना.सु. कृष्णदासका नाउँमा दर्ता दाखिल गरी चलन चलाई दिने गरी भारदारी तेश्राको २।७।३०।५ का फैसला बमोजिम अ.त. बिगो फाँटमा ०३।२।१८ गते लगत दिएकोमा प्र. न्या. डिभिजन बेञ्चका ०१२।१२।१४।३ के र ०१३।१।८।६ का अ.त. बिगो फाँटका लगतले सो बमोजिम गर्नु नपर्ने हुँदा दशौंद असुल भए फिर्ता र नभए लगत कट्टा गर्ने गरेकोमा हाल सो बमोजिम गर्नु नपर्ने हुँदा प्र.न्या. प डिभिजन बेञ्चका फैसाल बमोजिमको लगत काटी भारदारी कै फैसला लगत कायम गर्नु भनी अ.त. बिगो फाँटमा लगत दिने .....................२
भारदारी तेश्रा फाँटका लगत बमोजिम लक्ष्मीराम राधाकृष्णका नामको १६९ को घर जग्गा सु. गणेशदास ना.सु. कृष्णदासका नाउँमा दर्ता गर्ने भनी भारदारी तेश्रा फाँटका फैसला बमोजिम अ.त. बिगो फाँटमा लगत दिएकोमा सो बमोजिम दर्ता गरेको भए सो नाउँ काटी ब्रम्हदेवप्रसाद रौनियारका नाउँमा सो ४ किल्ला भित्रको घर जग्गा दर्ता गरी दिने गरी प्र.न्या. डिभिजन बेञ्चका फैसला र ऐजन मितिमा अ.त. बिगो फाँटको लगत भएकोमा हाल सो बमोजिम गर्नु पर्दैन साविक भारदारी तेश्रा फाँटका फैसला बमोजिम लगत कायम गरी ऐन सवाल बमोजिम गर्नु भनी अ.त. बिगो फाँटमा लगत दिन.................३
सु. गणेशदास ना.सु. कृष्णदास मानन्धरके प्र.न्या. डिभिजन बेञ्चका ०१२।१२।१४।३ का फैसला र १३।१।१५।२ का अ.त. बिगो फाँटका लगतले लिने गरेको दण्ड मोरु १०। दश हाल नलाग्ने हुँदा असुल भए फिर्ता र नभए व्यहोरा जनाई लगत काटी दिनु भनी अ.त. बिगो फाँटमा लगत दिनु ...............४
ब्रम्हदेवप्रसाद रौनियार के ०३।५।२४।२ का फैसला खड्गनिशाना र अ.त.दे. फाँटको ०३।१०।११।६ को लगतले गर्ने गरेको दण्ड मोरु १। एक प्र. न्या. डिभिजनबेञ्का ०१२।१२।१४।३ का फैसला अ.त.दे. का ०१३।१।१५।२ का लगतले नलाग्ने गरेकोमा हाल सो बमोजिम गर्नु पर्दैन उक्त प्र. न्या. डिभिजन बेञ्चको लगतकाटी साविकै लगत कायम गर्नु भनी ऐजन ऐजन ...................५
का.ई. इन्द्रचोक बस्ने ब्रम्हदेवप्रसाद रौनियारके खड्गनिशाना भई छिनीएको इन्साफ दोहर्याएमा हा.क. १ ले मोरु १। एक जरिवाना हुन्छ रुजु हुँदा असुल गर्नु भनी ऐजन ऐजन ..............६
इन्साफ उल्टिमा प्र.न्या. डिभिजन बेञ्चलाई केही गर्न पर्दैन ...................... ७
इति सम्वत् २०१६ साल आश्विन १६ गते रोज ६ शुभम् ।