शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६ - विना कसूरमा जागिर खोसी भ्रष्टाचार लगाए

भाग: साल: २०१६ महिना: कार्तिक अंक:

निर्णय नं. ६६       ने.का.प. २०१६

फुल बेञ्च

फौं.अ.नं. ७६१

प्रधानन्यायाधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश श्री भैरबराज पन्त पाध्याय

न्यायाधीश श्री महेन्द्रबहादुर महत

न्यायाधीश श्री भगवतीप्रसाद सिंह

अपीलाट : पिताम्बरप्रसाद मुडवरी

विरुद्ध

रेस्पोण्डेण्ट : ऋद्धि विक्रम समेत

मुद्दा : विना कसूरमा जागिर खोसी भ्रष्टाचार लगाए

(१)  भ्रष्टाचार निवारण ऐनको १० नम्बरकस्तो काम गरेमा सरकारी कर्मचारीलाई बात लाग्ने ?

     भ्रष्टाचार निवारण ऐनको १० नम्बर हेर्दा सरकारी कर्मचारीले जानी जानी गर्न पर्ने काम नगरी या गर्न नहुने काम गरी या एक थोक लेख्नु पर्ने अर्को कुरा लेखी सरकार या कसैलाई नोक्सान पार्न या त्यस्तो नियत लिनेलाई बात लाग्छ ।

(प्रकरण नं. ६)

(२)  सरकारी काज खटिएकोमासंकटकालिन अवस्था परीजान नसक्ने भई रिपोर्र्ट गरेकोमा अनुशासन भङ्ग गर्‍यो भनी भ्रष्टाचार ऐन लगाई सजाय गर्न नमिल्ने ।

     सरकारीया काजमा खटिएपछि काजमा जानै पर्नेमा नगई बिरामी कुरुवाको रिपोर्र्ट दिएकाले अनुशासनहिनताको कसूर गरेको भनी सजाय गर्नलाई पनि अवस्था विचार गर्दा, डाक्टरले गर्भवती छन । महिना पुरा भए जस्तो लाग्छ भनी रिपोर्ट लेखि दिएकै र वर्षाकाल परदेश कैलाली जस्तो ठाउँ भाषपूर्ण भईसकेकी गर्भवती स्त्री भई उनको संरक्षक आफु बाहेक अरु कोही नभएको भन्ने हुँदा संकटकालिन कै अवस्था देखिएकोबाट ऐनले लिन पाउने बिरामी कुरुवाको रिपोर्ट दिएकोमा अनुशासन भङ्ग गरेको भनि सजाय दिन ठीक मनासिव नपर्ने हुनाले निज मु. पिताम्बरप्रसादलाई कैलाली कञ्चनपुर गोश्वाराले भ्रष्टाचारको ऐन लगाई सजाय गर्ने गरेको इन्साफ मनासिव ठहर्दैन ।

(प्रकरण नं. ६)

फैसला

      १.     यसमा ठेक्दार गणेशदासले पाएको सुखड् लकडी नपाई जँचाई जिम्मा लगाउन जानु भनी आफ्नै अड्डाको मु. पिताम्बरप्रसाद मुडभरीलाई काज खटाएको कैलाली कञ्चनपुर गोश्वाराको २०।१२।२।३०।२ को आदेश सोही मितिमा मु. पिताम्बरप्रसादले बुझी लिएको । सो आदेश बुझी लिई जाँन लाग्दा २०१२।२।३१।३ देखि जाहानलाई मलेरिया ज्वरो र मुटु दुख्ने समेत बेमार भई आजसम्म पनि निको हुन नसकेकाले २०१२।२।३१।३ देखि तलबी बिदा दिन १५ बिरामी कुरुवा बिदाको निकासा पाउँ । सो लकडी जिम्मा लगाउन अर्को जागिरदार पनि खटियोस् भन्ने मु. पिताम्बरप्रसादको २०१२।३।२।५ को रिपोर्ट रहेछ ।

      २.    गोश्वाराका अर्डर बमोजिम मु. पिताम्बरप्रसाद कि ब्राम्हणीको बेमारी जाँची कैलाली अस्पतालको डाक्टरले अंग्रेजी हरफमा लेखेको रिपोर्ट रहेछ ।

      ३.    मु. पिटाम्बरप्रसादले दिएको बिरामी कुरुवाको रिपोर्ट हुलाकबाट आएको । निज मु. पिताम्बरप्रसादलाई खनाखत गराउन सोद्धा यो रिपोर्ट मैले पठाएको हुँ । तर सनाखत कागज गरी दिन्न भन्ने जवाफ दिएको ठीक हो भन्ने माल अमिनी थाना डिभिजन समेतका इन्चार्जहरूको २०१२।३।३।६ को कागज रहेछ ।

      ४.    मु. पिताम्बरप्रसादलाई काज खटाई २०१२।२।३०।२ मा पुर्जी बुझाएको । माल २०१२।३।२।५ को रिपोर्ट हुलाकबाट पठाएको । आज दाखिल हुन आएकोले अडरबमोजिम नगर्ने नियत लिएको शंका लागि अस्पतालको डाक्टरलाई रिपोर्टबमोजिम बिरामी भए परको हो होईन जाँची पठाउनु भनी लेखी पठाउँदा अहिले ज्वरो छैन र शरिरमा कुनै तकलिफ देखिंदैन । सिर्फ गर्भवती छन । महिना पुरा भएजस्तो लाग्छ भन्ने रिपोर्ट पर्न आएकाले निज पिताम्बरलाई झिकाई रिपोर्ट मैले पठाएको हो भनी कागज गरी नदिएकाले माल अमिनी थाना डिविसमेतका अफिसरहरूलाई झिकाई कागज नगरी नदिएको ठीक हो भन्ने कागज भएकोले मु. पिताम्बरलाल प्रसादले सरकारको नोक्सान पार्ने नियतसम्म गरेको ठहर्छ । भ्रष्टाचार निवारण ऐनको १० नम्बरमा लेखिको कसुर मिल्न आएकाले कं.रु. ५० दण्ड कैद महिना १ समेत हुन्छ । जागिरबाट बर्खास गरी जन्मभर र अरु सरकारी काम पञ्चायत म्यून्सिपल्टि संसदको सदस्य समेत हुन नदिने ठहराई २०१२।३।३।६ मा कैलाली कञ्चनपुर गोश्वाराले पर्चा गरेको रहेछ ।

      ५.    बडा हाकिमले बेहिसाब र जागिरदारलाई कुटपिट भ्रष्टाचार गरेको समेत लेखी म समेतले २०१२।३।१ गते भारतीय डाकद्वारा श्री ५ सरकारका हजुरमा राज्य व्यवस्थामा भ्रष्टाचार निवारण अफिसमा समेत जाहेरी पठाउने थाहापाई रिस फेर्नाका लागि मेरी पत्नी गर्भवती भई मास पुरा भईसकेको बुझी मलाई खटाई बिरामी कुरुवाको रिपोर्ट दिने उपर आफूलाई अधिकार नभएको, नलाग्ने भष्टाचारको ऐन प्रयोग गरी पर्चा गरेकाले निजलाई साजाय गरी मलाई बर्खासी सुनाएका दिन देखि बहाल गर्न पाएका अघिल्ला दिनसम्मको तलब दर्माहा र आउँदा जाँदाको बाटो खर्च रेल भाडा समेत भराई नोकरी बहाल गरी पाउँ भन्ने मु. पिताम्बरप्रसादको अपील परेको रहेछ ।

      ६.    यो मुद्दा तारिखमा रहेका अपीलाट मु. पिताम्बरप्रसाद मुडभरीलाई राखी आदेश बमोजिम पेश हुन आएको बुझ्दा, निज मु. पिताम्बरप्रसादले काज खटिने पूर्जी बुझी लिई सकेपछि काजमा नगई बिरामी कुरुवाको रिपोर्ट दिएको । डाक्टरका रिपोर्टबाट निजकी पत्नी बिरामी नभएकी समेतबाट सरकारको नोक्सान पार्ने नियतसम्म गरेको ठहर्छ । भ्रष्टाचार निवारण ऐनको १० नम्बरमा लेखिएको कसूर मिल्न आएको भन्ने कैलाली कञ्चनपुर गोश्वाराको पर्चामा लेखिएको । भ्रष्टाचार निवारण ऐनको १० नम्बर हेर्दा सरकारी कर्मचारीले जानीजानी गर्न पर्ने काम नगरी या गर्न नहुने काम गरी या एक थोक लेख्नु पर्ने अर्को कुरा लेखी सरकार या सकैलाई नोक्सान पार्न या त्यस्तो नियत लिनेलाई बात लाग्छ भन्ने लेखिएको । यस मुद्दामा निज मु. पिताम्बरप्रसादले उक्त ऐनमा लेखिएबमोजिमको कसुर गरेको भन्ने मिसिलबाट नदेखिएकोले सो १० नम्बरमा लेखिएको कसुर मिल्न नआएको र सरकारिया काजमा खटिएपछि काजमा जानै पर्नेमा नगई बिरामी कुरुवाको रिपोर्ट दिएकोले अनुशासनहिनताको कसुर गरेको भनी सजाय गर्नलाई पनि अवस्था विचार गर्दा, डाक्टरले गर्भवती छन । महिना पुरा भए जस्तो लाग्छ भनी रिपोर्र्ट लेखी दिएकै र वर्षाकाल परदेश कैलाली जस्तो ठाउँ मासपूर्ण भईसकेकी गर्भवती भई उनको संरक्षक आफुबाहेक अरु कोही नभएको भन्ने हुँदा संकटकालिन कै अवस्था देखिएकोबाट ऐनले लिन पाउने बिरामी कुरुवाको रिपोर्ट दिएकोमा अनुशासन भङ्ग गरेको भनी सजाय दिन ठीक मनासिव नपर्ने हुनाले निज मु. पिताम्बरप्रसादलाई अनुशासनहिनता गरेको कसुरदार ठहराउन र सजाय दिन पनि नहुने भएकाले कैलाली कञ्चनपुर गोश्वाराले भ्रष्टाचारको ऐन लगाई सजाय गर्ने गरेको इन्साफ मनासिव ठहर्दैन बिरामी कुरुवाको रिपोर्ट आई पत्नी गर्भवती भई मास पूर्ण भएकी प्रसुती हुने आखिर अवस्था भईसकेकी र कैलाली जस्तो ठाउँमा त्यस्तो अवस्थामा निज पिताम्बरप्रसाद बाहेक अरु संरक्षक नभएकाले संकटकालिन अवस्थाको भएको भन्ने थाहा भएपछि त्यस कुराको विवेक विचार राखी निज मु. पिताम्बरप्रसादको सट्टामा अर्कै कारिन्दा खटाई दिए पनि हुनेमा अर्को कारिन्दा नखटाई नलाग्ने भ्रष्टाचारको ऐन लगाई गरेको कैलाली कञ्चनपुर गोश्वाराको इनसाफ गल्ती भएकोले सो कैलाली कञ्चनपुर गोश्वाराका २०१२।३।३।६ का पर्चाले मु. पिताम्बरप्रसादलाई लागेको दण्ड कं.रु. ५० र कैद १ एक महिना समेतका हकमा सो दण्ड कंरु ५० र कैद महिना १ को कंरु १ को कंरु १८ समेत जम्मा कंरु ६८ अठसठ्ठी रुपैयाँ २०१२।३।३।६ कै मितिमा कैलाली कञ्चनपुर गोश्वारामै बुझाई सो गोश्वाराबाट गरी दिएको रसिदको नक्कल समेत मिसिलमा पेश भएको देखिएको, हाल यस फुल बेञ्चबाट सो दण्ड कैद नलाग्ने ठहरेकाले माथि लेखिए बमोजिमका दण्ड कैद समेतको कसुर भई आम्दानी बाँधिएको देखिएको जम्मा कंरु ६८ अठसठ्ठी रुपैयाँ निज मु. पिताम्बरप्रसाद मुडभरी हस्ते ऐन सावालको रीत पुर्‍याई फिर्ता खर्च लेखी दिनु भनी जिल्लालाई पुर्जी गर्न तहसिलमा लगत दिनु । सो इन्साफ गल्ती गरेमा कैलाली कञ्चनपुर गोश्वाराका बडाहाकिम ऋद्धिबिक्रम राणा का.ई. लगन टोल के हा.क. १० नं. बमोजिम कंरु १ एक रुपैयाँ जरिवाना हुन्छ । निज बेरुजु हुँदा ऐन बमोजिम गरी असुल गर्नु भनी तहसिलमा लगत दिनु । अब मलाई बर्खासी सुनाएको दिन देखि बाहाल गर्न पाएको अघिल्ला दिनसम्मको मेरो तलब दर्माहा पाउने गरी आउँदा जाँदाको बाटो खर्च रेल भाडा समेत भराई नोकरी बाहाल गरी पाउँ भन्ने मु. पिताम्बरप्रसादको अपील जिकीरलाई बाटो खर्च रेल भाडाको तर्फ यसबाट विचार गरी रहन नपर्ने भई तलब दर्माहा नोकरी तर्फका हकमा निज मु. पिताम्बरप्रसाद कसुरदार नठहरेकाले निजका जागिर जान्छ भन्ने न्यायोचित नहुने हुँदा नोकरीको बाहाल टुट्न सक्तैन । जागिर थामी दिई कैलाली कँञ्चनपुर गोश्वाराबाट पर्चा गरी खोसुवा सुनाएको २०१२ साल आषाढ ३ गते देखिकै अविछन्न नोकरी कायम राखी ऐनका म्याद भित्र हाजिर हुन आएका अघिल्ला दिन सम्मको तलब भत्ता पनि खान पाउने गरी हाजिर भएको दिनदेखिको हाजिर गरी काम लगाउनु भनी कैलाली कञ्चनपुर गोश्वारालाई लेखी पठाई दिई सो बमोजिम ऐनका म्यादभित्र हाजिर हुन जानु भनी मु. पिताम्बरप्रसादलाई सुनाई दिनु र सो गोश्वाराबाट आफूले पठाएको रिपोर्ट देखाई सनाखत गराउँदा सनाखत गरी सहीछाप गरी दिनुपर्नेमा गरी नदिएको भन्ने देखिएको हुनाले आइन्दा यस्तो नगर्नु भनी निज मु. पिताम्बरप्रसादलाई नसिहद पनि दिनु ।

 

इति सम्वत् २०१२ साल आश्विन २३ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु