निर्णय नं. ६९ - गर्भ तुहाउने उद्योग गर्यो. भन्ने

निर्णय नं. ६९ ने.का.प. २०१६
डिभिजन बेञ्च
का.मु.प्रधान न्यायाधीश भगवतीप्रसाद सिंह
न्यायाधीश पशुपतिप्रसाद उपाध्याय
फौ.अ.नं.१६
अपीलाट : मिश्रीलाल साहु कलवार
विरुद्ध
विपक्षी : कैलासपति कलवारनी
मुद्दा : गर्भ तुहाउने उद्योग गर्यो भन्ने
१. गर्भपतन गराउने उद्योग गर्नेलाई दण्डसजाय–ज्यानसम्बन्धीको गर्भपतन गराउने महलमा सो उद्योग गर्नेलाई दण्डसजाय नखुलेको भए तापनि सो महलको ६१ नं. को कसुरसँग मिल्ने हुँदा २ बर्ष कैद हुने–पोली सावित गर्न नसक्नेलाई ऐ. को ६८ नं. ले १ बर्ष कैद हुने ।
सजायका हकमा ज्यानसम्बन्धीको गर्भपतन गराउने महलमा गर्भपतन गराउने उद्योग गर्नेलाई यो सजाय गर्ने भन्या खुल्दैन तापनि ६१ नं. को अन्तिम हरफमा सो काम गर्दा गराउदा पनि तुहेन भने आधा सजाय गर्नु भन्ने लेखिएकोले यस्ता कलममा सोही ६१ नं. को अन्तिम हरफ मिल्न जाने हुँदा गर्भपतन गराई सक्यो भन्या उजुर नभएबाट सो ६१ न्ां. को अन्तिम हरफबमोजिम प्रतिवादीलाई कैद २ बर्ष हुनेमा पोलि सावित गर्न नसकेकाले ऐ.६८ नं. ले आधा कैद बर्ष १ वादीलाई हुन्छ ।
(प्रकरण नं. ९)
फैसला
१. यसमा बिरामी भएबाट यही गएको माघ महिनामा औषधी गराउन भनी मजफ्फरपुर थाना बैरगनिया मामलीमा गई औषधी गराई यही जेष्ठ १५ गते घर आउँदा भिन्न बसेकी सौतेनी विधुवा आमा प्र. कैलाशपतिलाई घरमा नदेख्ता निले प्र. सुरजलाई कारिन्दा भनी राखी निजसँग बराबर हाँस ख्याल गरी रहेको । निज सुरजको करणी बिर्यबाट कैलासपतीलाई गर्भ रहन गएकोमा प्र. हरूले सल्लाह गरी ६ महिनाको गर्भपतन गराउन भनी ०१२ साल फागुण महिना धनमाल समेत लिई निजलाई प्र. सुरज श्री किसुन २ जनाले नमालुम कुन ठाउँमा लुकाई राखी प्र. कैलासपतीको देहमा गरेको गर्भपतन गर्ने गराउने उद्योग गरेमा प्रतिवादीहरूलाई सजायँ गरी पाउँ भन्ने समेत मिश्रीलाल साहु कलबारको फिराद ।
२. कैलासपतीले सुरजलाई कारिन्दा राखी हाँस ख्याल गरे देखे जानेको छैन । गर्भपतन गराउन कैलासपतीलाई म समेतले लुकाई राखेको छैन । वादी दावी झुट्टा हो भन्ने समेत श्री किसुनको प्रतिवादी ।
३. मलाई कैलासपतीले कारिन्दा राखेको वा बसेको छैन । हाँस ख्याल गरेको पनि होइन । कैलासपतीलाई मैले करणी गरी गर्भ रहेको भए पतन गराउनको कारणै नभएको । हाम्रा जातले भाउजु राख्न हुने । ऐनले सजाय हुँने डर नभएको । कैलासपती मेरो भाउजु पर्ने हुन । वादीहरूको लाखौं जेथा भई अंश दिन परोइन भन्ने हेतुले म समेत उपर झुट्टा नालिस दिएको हो भन्ने समेत सुरज साहु कलबारको प्रतिवादी ।
४. सुरजलाई मैले कारिन्दा राखेको र हाँस ख्याल ठट्टा गरेको होइन । वादी र वादीको आमा बजैले मलाई पूरा अंश नदिई खान लाउन केही जग्गा दिएकाले अलग बसेको मेरो अंश मारी खानाका नियतले झुट्टा उजुर गरेको हो । गर्भपतन गराउन भनी धनमाल समेत लिई फागुणमा भागे भगाएको होइन । माघदेखि जेष्ठ १९ गतेसम्म म गाउँ घरमै छु । जेष्ठ २० गते माईत गएकोमा केही दिन पछि मलाई अघिदेखि बराबर हुने गरेको प्रदर रोग उठन गएबाट हिन्दुस्थान रक्सौलमा सरकारी हस्पिटलमा १३ जुन १९५६ देखी १५ अगस्त तक औषधी गराएको सर्टिफिकेट मसँग छ । हेरी पाउँ । गर्भ छँदैछ वा पतन गराईसकी लेडी डाक्रटद्वारा जाँच गरि पाएमा वादी दावी झुट्टा ठहर्ने छ भन्ने समेत कैलासपतीको प्रतिवादी ।
५. बुझिएसम्मका प्रमाणबाट वादी दावी झुट्टा ठहराई कलैया अमिनीबाट ०१४।१।२३।१ मा फैसला ।
६. सो फैसला उपर चित्त बुझेन भन्ने समेत वादी मिश्रीलालाको अपील ।
७. सुरुको सदर गरी कटरवन अपीलबाट छिनेको इन्साफमा चित्त बुझ्ने भन्ने समेत वादी मिश्रीलालको अपील ।
८. वादी मिश्री साहुको अपील परी तारेखमा रहेको अपीलाट, वादीलाई राखी अपीलाटतर्फको वकिल श्री विद्वान सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा प्लीडर हेरम्बप्रसाद उपाध्याय समेतको बहस समेत सुनी प्रस्तुत मुद्दा बुझ्दा, प्र. सुरजको करणी बिर्यबाट कैलासपतीको गर्भ रहन गएकोमा प्रतिवादीहरूले ०१२ साल फाल्गुण महिनामा सो गर्भपतन गराउने उद्योग गरेको हुँदा सजाय गरी पाउँ भन्ने समेत लेखी ०१३।३।६।३ मा वादी दर्ता भएको देखिएको । ज्यानसम्बन्धीको ७१ नं. मा कसुरदार आफैं सावित भई त्यसबाट उठेको मुद्दामा बाहेक अरुमा गर्भ तुहायो भन्ने कुरामा काम भए गरेका ३ महिना भित्रको उजुर भए लिई हेर्नु । म्याद नाघेपछिको उजुरीबाट नालिस उजुर सुन्न पर्दैन भन्ने लेखिएकोले वादी दर्ता गरी सुरु अपीलबाट तहकिकात गरेको मनासिव नभई सुरु अपीलको रायसँग सहमत भएन । झगडीया झिकाउन पर्छ कि भन्नलाई सजाय दिन नपर्ने प्रतिवादी नै जित्ने हुँदा विपक्षी, प्रतिवादी स्वास्नी मानिस समेत भएको झिकाई रहनु पर्ने जरुरत पनि नदेखिएकाले प्रतिवादीलाई झिकाई रहनु पर्दैन । त्यस्तो उजुर नलाग्ने कुरामा तहकिकात गरी ल्याएको सुरु अपीलसँग राय नमिलेकाले सर्वोच्च अदालत नियमावली नियम ३३ को (ग) अनुसार डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेश ।
९. तारिखमा रहेको अपीलाट, वादीलाई समेत राखी पेश हुन आएको प्रस्तुत मुद्दा बुझ्दा गर्भपतन गर्यो गरायो भन्या किटान नभए तापनि गर्भपतन गर्ने गराउने उद्योग गर्यो भन्ने कुराको उजुर हुनाले यस बखतमा गर्छ वा गरी सक्यो भन्ने उल्लेख नभई लुकाई दबाई राखेको छ भन्या उल्लेखले जुनसुकै बखतलाई पनि लाग्न सक्ने गरी वादी दावी लिएकोले किटानको उजुर संझी फाल्गुणको कारवाईमा आषाढमा उजुर गरेको भनी सिंगलबेञ्चले खारेज गर्ने गरी ज्यानसम्बन्धीको ७१ नं. लगाएको मनासिव देखिएन । गर्भपतन गराउने गर्ने उद्योग गरेको बुझिएसम्मका प्रमाण परिवन्दबाट नदेखिएकाले वादीले झुट्टा उजुर गरेको ठहराएको ईन्साफ सुरु अपीलको मनासिव । सजायका हकमा ज्यानसम्बन्धीको गर्भपतन गराउने महलमा गर्भपतन गराउने उद्योग गर्नेलाई यो सजाय गर्ने भन्या खुल्दैन तापनि ६१ नं. को अन्तिम हरफमा सो काम गर्दा गराउँदा पनि तुहेन भने आधा सजाय गर्नु भन्ने लेखिएकाले यस्ता कलममा सोही ६१ नं. को अन्तिम हरफ मिल्न जाँने हुँदा गर्भपतन गराई सक्यो भन्या उजुर नभएबाट सो ६१ नं. को अन्तिम हरफबमोजिम, प्रतिवादीलाई कैद बर्ष २ हुनेमा पोली सावित गर्न नसकेकाले एै ६८ नं. ले आधा कैद बर्ष १ वादीलाई हुन्छ । तपसीलबमोजिमको लगत तहसिलमा दिई मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
तपसील
वादी मिश्रीलाल साहु कलवारके माथि इन्साफ खण्डमा लेखिबमोजिम ज्यान सम्बन्धीका ६१।६८ नं. ले कैद बर्ष १। एक सुरु कैद र सुरु उपर अपील गरेमा हा.का. १० नं. ले सुरु कैद बर्ष १। को सयकडा १० ले कैद महिना ।१।६ एक महिना छ दिन, अपील उपर यस अड्डामा अपील गरे वापत ऐजन नं. ले सयकडा ५ ले कैद दिन ।।१८ अठार दिन समेत जम्मा कैद बर्ष १।१।२४ बर्ष एक महिना चौबिस दिन दं.स.का ५२ नं. बमोजिम कैद हुन्छ । रुजु हुँदा असुल गर्नु भनी अ.त.फौ.फाँटमा लगत दिनु ...........१
ऐ.ऐ.के कलैया अमिनीका ०१४।१।२३ का फै.र.१४।१।२५।३ का ल.ले गर्ने गरेको कैद बर्ष २। र क.बं.अपीलका ०१४।७।२ का फै.ले गर्ने गरेको कैद ।२।१२ समेत १ दफामा लेखिएबमोजिम कैद भएको हुँदा सो सुरु र अपीलका फैसलाबमोजिमको जम्मा कैद बर्ष २।२।१२ दुई बर्ष दुई महिना बाह्र दिनको लगत काटी दिनु भनी कलैया अमिनी तहसिललाई पुर्जी गर्न ऐजनमा लगत दिने कलम ..................२
ऐ.ऐ.के कटरवन अमिनीमा ०१४।४।१०।५ मा भा.रु.४३२ र ०१४।७।४ मा भा.रु.४२।।.।। समेत जम्मा भा.रु.४७४।।.।। चार सय चौहत्तर रुपैया आठ आना दुई पैसा कैद वापतको रुपैयाँ धरौट राखी अपील गरेको देखिएकोमा १ दफाबमोजिम कैद भएको हुँदा सो धरौटी सो सवालको रीत पुर्याई निज वादी मिश्रीलाल साहु कलवारलाई फिर्ता दिनु भनी क.वं.अमिनीलाई पुर्जी गर्न ऐजनमा लगत दिने कलम .....३
इति सम्वत् २०१६ साल आश्विन १५ गते रोज ५ शुभम् ।