शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८८२५ - ज्यान मार्ने उद्योग

भाग: ५४ साल: २०६९ महिना: भाद्र अंक:

ने.का.प. २०६९,            अङ्क ५

निर्णय नं.८८२५

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

२०६६CR०२१३

फैसला मितिः २०६९।३।१४।५

मुद्दा : ज्यान मार्ने उद्योग 

पुनरावेदक वादीः जगतबहादुर रावलको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः जिल्ला कालीकोट, मान्मा गाउँ विकास समिति वडा नं. ५ बस्ने सीता चौलागाई

 

शुरु अदालतमा फैसला गर्नेः

मा.न्या.श्री ठाकुरप्रसाद शर्मा

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री केदारप्रसाद चालिसे

मा.न्या.श्री टंकबहादुर मोक्तान

 

·         ज्यान मार्र्ने उद्योग मुद्दामा पीडितलाई पर्न गएको चोट र त्यसको असरलाई मात्र ज्यान मार्र्ने उद्योग गरेको हो होइन भनी ठहर गर्ने निर्णायक प्रमाण मानिदैन, ज्यान मर्नेसम्मको कार्य गरिसकेको हो होइन भन्ने कुरा महत्वपूर्ण हुन्छ । तथापि घाउको अवस्थाले सांघातिकताको वस्तुगत रुपमा मूल्याङ्कन गर्ने आधार हुने हुँदा त्यस्तो प्रमाणलाई अदालतले महत्वपूर्ण प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने 

(प्रकरण नं.५)

·         तथ्य र प्रमाणहरूले पुष्टि नभएको, चिकित्सकले व्यक्त गरेको मनोगत रायलाई मात्र अकाट्य प्रमाण मानी पीडितको अवस्था गम्भीर र मर्नेसम्म थियो भनी निष्कर्षमा पुग्न नमिल्ने 

(प्रकरण नं.७)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता हरिप्रसाद रेग्मी

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्बित नजीरः

·         नेकाप २०५१, साउन, नि.नं.४८९०, पृ.२२६

सम्बद्ध कानूनः

·         मुलुकी ऐन अ.वं. २०२ नं.

·         सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ नं.

 

फैसला

न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

प्रतिवादी सीता चौलागाईले आफ्नो लोग्ने महेन्द्र चौलागाईलाई कर्तव्य ज्यान मुद्दामा पारेको रिसइवी लिई मिति २०६४।११।३ गतेका दिन बाटोमा गफ गरिरहेको अवस्थामा पछाडिबाट आई फलामको धारिलो दावले टाउकोमा प्रहार गरेकोमा मसँगै गफ गरिरहेका जगतबहादुर शाहीले प्रतिवादी सीता चौलागाईलाई समाती निजले अरु चोट हान्न नपाई बाँच्न सफल भएकोले प्रतिवादी सीता चौलागाईलाई मुलुकी ऐन ज्यान सम्बन्धीको महलअनुसार ज्यान मार्ने उद्योग गरेको कसूरमा कारवाही गरी सजाय गरिपाऊँ भन्ने समेत प्रहरी नायव निरीक्षक जगतबहादुर रावलको जाहेरी दरखास्त 

पूर्व मान्माबाट जीरो प्वाईन्ट जाने बाटो, पश्चिम प्रतीमा चोक जाने बाटो, उत्तर प्रतिमल खत्रीको दुई तले घर र दक्षिण नरी शाहीको खाली जग्गा यति चार किल्लाभित्र प्रतिवादी सीता चौलागाईले प्र.ना.नि. जगतबहादुर रावललाई प्रहार गर्न प्रयोग गरेको १लम्बाई २.७देखि ७.५चौडाई एवं १ के.जी. ८० ग्रामको पूरै फलामै फलामको धारिलो हतियार (दाउ) भूर्ईमा रहेको, जमीनमा ठाउँ ठाउँमा रगतका छिटा (थोपा) रहेको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का 

जाहेरवाला जगतबहादुर रावलको कारणले मेरो श्रीमान् महेन्द्रप्रसाद चौलागाई जेल गएकोमा छुटेका थिएनन् । प्रहरीले छुटाउने पहल गरी देलान् भनेको गरेनन् । श्रीमानलाई जेलमा हाल्ने मुख्य भूमिका जाहेरवालाले खेलेकोले २०६४।११।३ गतेका दिन बेलुका ६:०० बजेको समयमा आफ्नै होटलसँगै जोडिएको ध्रुवतारा होटलको साहुनीबाट धारिलो हतियार दाव मागेर ल्याई हमाल रेडियो पसल अगाडि उभिई गफ गरी रहेका जाहेरवालालाई ज्यान मार्ने नियतले एक पटक टाउकोमा प्रहार गरेकी हुँ । रावललाई नमारी हुन्न भनी अगाडिदेखि नै मौका हेरी वसेकी थिएँ । देखाएको दाव मैले मासु काट्न भनी ध्रुवतारा होटलको साहुनीबाट मागेको हुँ । जाहेरवालालाई नै मार्ने नियतले नै हतियारले प्रहार गरेकी हुँ भन्ने समेत प्रतिवादी सीता चौलागाईले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान 

२०६४।११।३ गते म घटनास्थल नजिक थिएँ । घटना घट्दाको अवस्थामा जाहेरवाला जगतबहादुर रावल र जगतबहादुर शाही कुराकानी गरिरहेका थिए । सो बेला प्रतिवादी सीता चौलागाईले दुवै काखीमा दुवै हात च्यापी जाहेरवाला समेतले गफ गरी रहेका अवस्थामा पछाडि आई एकछिन उभिइन् र त्यसपछि आफूले काखीमा च्यापी लुकाई छिपाई ल्याएको फलामको दावले जाहेरवालाको पछाडिबाट टाउकोमा प्रहार गरिन् । कति पटक प्रहार गरिन् यकीन खुलाउन सक्दिन । सो हतियार प्रहार गरी सकेपछि भूर्ईमा खसेकोले मैले टिपी पसलमा ल्याएको हुँ । जाहेरवालासँग साथमा रहेका जगतबहादुर शाहीले प्रतिवादी सीता चौलागाईलाई नियन्त्रण गर्न खोज्दा प्रतिवादीले जगतबहादुर शाहीको हात टोकी दिई भूईबाट ढुङ्गा उठाई हान्न खोजेकी हुन् । घटनाका समयमा निज प्रतिवादीले मेरो लोग्नेलाई फसाउने यही हो, यसलाई मार्छु र आफू पनि मर्छु भन्दै फलामको दाव प्रहार गरेकोले प्रतिवादीले ज्यान मार्ने नियतले प्रहार गरेकोमा विश्वास लाग्छ भन्ने समेत घटना विवरणका उदय हमाल, नानी कोइराला सिंह, बाँचु अधिकारी समेतले गरिदिएको एकै मिलानको कागज 

जाहेरवालाको टाउकोमा ३.१ से.मी. को चोट रहेको, उक्त चोट धारिलो हतियारले प्रहार गरेको देखिएको, विरामीको अवस्था नाजुक हुनुको साथै मर्नेसम्मको अवस्था रहेको भनी कालीकोट अस्पतालका डा.विनोद गिरीले गरी दिएको जाहेरवालाको घा जाँच केश फाराम 

प्रतिवादी सीता चौलागाईले जाहेरवालालाई लुकाई ल्याएको हरितयाले पछाडिबाट झुक्याई टाउकोमा प्रहार गरी ज्यान मार्नेसम्मको कार्य गरेको र तत्काल तेस्रो पक्षको उपस्थितिले गर्दा ज्यान मर्नबाट जोगिएको अवस्था हुँदा निजले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १५ नं. को कसूर गरेको देखिन आएकोले सोही नं. अनुसारको सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोगपत्र मागदावी 

जाहेरवालाले मेरो पसलमा ३/३ पटक आई जिस्काएको हुँदा दाव प्रहार गरेको हुँ । रिसको झोकमा दाव प्रहार गर्दा जाहेरवालाको शरीरको कुन कुन भागमा लाग्यो थाहा भएन । मेरो दिमागले त्यतिबेला काम गरेन । हान्नु गलत थियो । दाव देखाउँदा सनाखत गरिदिएँ । जाहेरवालासँग पूर्व रिसइवी थिएन । जगतबहादुर शाहीले यस्तो के गर्‍यौ बहिनी भनी छुट्याएका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी सीता चौलागाईले शुरु अदालतसमक्ष गरेको बयान 

२०६४।११।३ गतेका बेलुकी ६:३० बजेको समयमा म हमाल रेडियो पसल अगाडि उदय हमालसँग गफ गरिरहेको अवस्थामा जाहेरवाला आउनु भएकोले कुरा गरिरहेका थियौं । प्रतिवादीले जाहेरवालाको पछाडिपट्टि सल ओढेर आई दावले जाहेरवालाको पछाडि पट्टिबाट टाउकोमा प्रहार गरेकी हुन् । मैले प्रतिवादीलाई छुट्याउँदा दाव भूईमा खसेको हो । प्रतिवादीले जाहेरवालालाई राँडीको छोराले मेरो जिन्दगी बर्बाद गर्‍यो, श्रीमान्लाई कारागारमा पार्‍यो भनेकी थिइन । प्रतिवादीले हतियार प्रहार गरेकी हुन् । ज्यान मार्ने नियत भएको नभएको थाहा भएन । प्रतिवादीलाई जाहेरवालाले जिस्काएको भन्ने कुरा थाहा छैन भनी वादीका साक्षी जगतबहादुर शाही र उदय हमालले गरेको एकै मिलानको बकपत्र 

जाहेरवालाले प्रतिवादी र म समेतलाई बारम्बार जिस्काउँदथे । जाहेरवालाले घरमा आई जिस्काउने बाटोमा हिड्दा अनेक थरीका कुरा गर्ने र घरमा पुग्दा थुक्ने समेत गर्दथे । प्रतिवादी सीता चौलागाईले सफाइ पाउनु पर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी गीता चौलागाईले गरेको बकपत्र 

२०६४।११।३ गते बेलुका ६:३० बजे म हमाल रेडियो पसलको अगाडि उभिई रहेको अवस्थामा प्रतिवादी सीता चौलागाईले पछ्यौरीभित्र लुकाई ल्याएको फलामको दावले पछाडिबाट मेरो टाउकाको वीच भागमा प्रहार गरेकी हुन् । प्रतिवादीको लोग्ने ज्यान मुद्दामा थुनामा परेको कारण रिसइवी लिई टाउकोमा प्रहार गरेकी हुन् । शुरु जाहेरी दरखास्त मेरो हो । प्रतिवादी सीता चौलागाईले मलाई प्रहार गर्दाको अवस्थामा जगतबहादुर शाही समेत साथैमा थिए । प्रतिवादीको घरमा कहिल्यै पसेको र जिस्काएको छैन भन्ने समेत व्यहोराको जाहेरवाला जगतबहादुर रावलले गरेको बकपत्र 

जाहेरवालाले प्रतिवादीलाई जिस्काएको भन्ने कुरा प्रतिवादीबाट सुनेको हुँ । प्रतिवादीले जाहेरवालालाई हानेको कुरा थाहा पाइन, घटनाको बारेमा केही थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी विष्णु चौलागाईले गरेको बकपत्र 

वारदातको दिन प्रतिवादीले जाहेरवालाको टाउकोमा फलामको दावले हानेको देखेको हुँ । प्रहरीमा गरेको कागज र सहिछाप मेरै हो, हानेको केही बेरपछि चोट देखेको हो र घटनास्थल मै देखेको हो भन्ने समेत व्यहोराको वादीका साक्षी रमेश ढुंगानाले गरेको बकपत्र 

प्रतिवादीले जाहेरवालालाई हानेको भनेको समयमा म जिरो प्वाईन्ट भन्ने ठाउँमा थिएँ । प्रतिवादीले जाहेरवालालाई प्रहार गरेको मैले देखिन । जाहेरवालाले जिस्काउने गरेको कुरा प्रतिवादीकी छोरीले भनी थाहा पाएको हुँ । जाहेरवालालाई प्रतिवादीले प्रहार गर्नुपर्ने अरु कारण केही छैन भन्ने समेत व्यहोराको प्रतिवादीकी साक्षी लक्ष्मी चौलागाईले गरेको बकपत्र 

प्रहरीमा भएको व्यहोरा र सहिछाप मेरै हो । प्रतिवादीले जाहेरवालालाई फलामको दाव प्रहार गरी ज्यान मार्ने उद्योग गरेकी हुन् भन्ने वादी पक्षका साक्षी मोहन के.सी. ले गरेको बकपत्र 

घटनास्थलमा मौजूद व्यक्तिहरूका अनुसार प्रतिवादीले जाहेरवालालाई पूर्व रिसइवीको कारण हतियार प्रहार गरी मार्न खोजेको भन्ने कथनलाई प्रतिवादीले कुनै खण्डन गर्न सकेको पाईदैन । मौकामा कागज गर्ने व्यक्ति जगतबहादुर शाहीलगायतका मानिसहरूले पनि मौकामा व्यक्त गरेको कुरालाई अदालतमा आई बकपत्र गर्दा तेस्रो पक्षको उपस्थितिका कारण जाहेरवालाको ज्यान बच्न सफल भएको र प्रतिवादीका साक्षीहरूले प्रतिवादीको जिकीरलाई समर्थन समेत हुन नसकी रहेको स्थितिमा यी प्रतिवादी कसूरदार होइनन् भन्न मिलेन । अतः ज्यानसम्बन्धी महलको १५ नं. ले १२ वर्षसम्म कैद हुन सक्नेमा प्रतिवादीको लोग्ने जेलमा भएको प्रतिवादी महिला भै दायाँ हातको बुढी औंला समेत नभएको अवस्था देखिँदा कैद वर्ष ५ हुने ठहर्छ भन्ने शुरु कालिकोट जिल्ला अदालतको फैसला 

सर्वप्रथमतः मेरो पति प्रमाण परिवन्दले दोषी बन्न पुगी सजाय भोगी रहनु भएकोले मैले निज जाहेरवालाले मेरो लोग्ने छुटाउने आशा राखेकी पनि छैन र उनको सो सम्बन्धमा कुनै हैसियत पनि छैन । त्यसकारण मेरो र जाहेरवालाबीच कुनै पूर्व रिसइवी थिएन, जाहेरीमा लेखिएको रिसइवी सम्बन्धी कुरा सरासर झुठ्ठा मात्र हो । जाहेरवालालाई मैले मार्ने उद्देश्यले प्रहार गरेको भए जाहेरवालाको टाउकाको कुन ठाउँमा के कति घाउचोट लागेको छ, सो उल्लेख गर्न नसक्नुको साथै उक्त चोटबाट निजलाई तत्काल के असर परेको थियो, तत्काल उपचारका लागि के के गरे भन्ने कुरा समेत उल्लेख नगर्नुका साथै आफैंले जाहेरी लेखी दर्ता गराई सकेपछि मात्र घाउजाँच केश फाराम भएको अवस्था देखिँदा पनि जाहेरवालालाई मैले मार्ने मनसायले मर्नेसम्मको स्थिति हुने गरी हानेको होइन भन्ने कुरा प्रष्ट छ । निजले मलाई थप बेईज्जति शब्दहरू बोली फर्केकोमा मलाई साह्रै रिस उठी निज प्रहरीलाई सार्वजनिक रुपमै चेतावनी दिुनपर्छ भन्ने सम्झी तर्साउने उद्देश्यले दाव साथमा लगी घर बाहिर निस्की हेर्दा निज जाहेरवाला जिल्ला प्रशासन कार्यालय नजिक उदय हमालको पसल अगाडि अन्य व्यक्ति सहित ३ जना कुरा गरी रहेको देखी तत्काल रिसको झोकमा गै असचेत भै उग्र आवेशमा आई दावले प्रहार गर्दा निजलाई लागे नलागेको समेत मलाई थाहा नभै सो पछि पनि असचेत भै २ दिनपछि होसमा आएकी हुँ । यसरी म ग्रामीण अवला नारी र जाहेरवाला सक्षम प्रहरी कर्मचारी भएकोले अनुसन्धान तथा अदालत समेतमा मैले वास्तविक कुरा व्यक्त गर्ने मौका पाइन । साथै मैले दावले जाहेरवालालाई प्रहार गरेपछि दाव खसेको र फेरि उठाई हान्न लागेको र तेस्रो पक्षको उपस्थिति भै ज्यान मर्नबाट जोगिएको तथ्य कहिकतैबाट प्रमाणित नभएको अवस्था हुँदा र विभिन्न नजीरहरूको बर्खिलाप हुने गरी गरेको शुरुको फैसला बदर गरी न्याय पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी सीता चौलागाईको पुनरावेदन 

जाहेरवालाको घाजाँच केश फाराममा टाउकोमा १(एक) मात्र घा खत देखिन आएकोमा अभियोग मागदावीबमोजिम सजाय गर्ने गरेको शुरुको फैसला विचारणीय देखिँदा प्रत्यर्थी वादी नेपाल सरकारलाई पेशीको सूचना दिनु भन्ने पुनरावेदन अदालतको आदेश 

घाइतेको घाजाँच केश फारामबाट चोट गम्भीर भन्ने र मर्नेसम्मको भन्न उल्लेख भएको देखिएता पनि घाउको नाप साइज (३.१ से.मी.) हेर्दा पनि त्यस्तो प्रतीत हुँदैन । चोट त्यस्तो गम्भीर रहेको भए सोको असर देखिने किसिमका सम्बद्ध कागजातहरू अदालतमा बकपत्र गर्दा समेत घाइते जाहेरवालाले पेश गरेको हुनुपर्ने सो देखिदैन । अदालतमा भएको बकपत्रबाट निजको सो घाउको अवस्था सामान्य रहेको भन्ने देखिन्छ । अतः प्रतिवादीले घाइतेको ज्यान मार्ने नै उद्देश्यले हतियारले प्रहार गरेको मान्न सकिने स्थिति देखिन आएन । वारदात भएको र घाइतेलाई चोट लागेको कुरामा विवाद नदेखिएको हुँदा प्रस्तुत वारदात कुटपीटको वारदात देखिन आएकोले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगको कसूर कायम गरी सोहीबमोजिम सजायको मागदावी लिएको वादी नेपाल सरकारको अभियोग मागदावी मिलेको नदेखिँदा प्रस्तुत वारदातलाई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ नं. बमोजिम कुटपीटमा परिणत गर्नुपर्नेमा अभियोग पत्र माग दावीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी १५ नं. को कसूर कायम गरी सोही नं. बमोजिम प्रतिवादीलाई सजाय गर्ने गरेको शुरु कालीकोट जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जुम्लाको फैसला 

घटनाका घाइते जाहेरवाला जगतबहादुर रावलको घाउ जाँच केश फारामबाट निजको अवस्था गम्भीर भन्ने देखिएको छ । घाइते व्यक्ति प्रहरी अधिकृत भएको र दिनको समयमा अन्य साथीसगै कुरा गरी रहेको अवस्था छ । घाइते र प्रतिवादीका बीच प्रतिवादीको लोग्नेलाई ज्यान मुद्दामा यी जाहेरवालाले फसाएको भन्ने विषयमा निजहरू बीच पूर्व रिसइवी भएको भन्ने प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान तथा जाहेरवालाले दिएको जाहेरीमा उल्लिखित प्रमाण खण्डमा लेखाई पेश गरेको राष्ट्रिय मानव अधिकार आयोगमा दिएको उजूरी समेतबाट प्रष्ट भएको छ । प्रतिवादीको दाहिने हातको बुढी औला नभएको कारण सशक्त प्रहार हुन नसक्ने भन्ने तर्क आफैंमा गलत छ । अतः कालिकोट जिल्ला अदालतको फैसला उल्टी हुने गरी पुनरावेदन अदालत जुम्लाको फैसला उल्टी गरी अभियोग मागदावीबमोजिम प्रतिवादीलाई सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र 

नियमबमोजिम दैनिक पेशी सूचीमा समावेश भई पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता हरिप्रसाद रेग्मीले प्रतिवादीको लोग्नेलाई ज्यान मुद्दा लागेको सम्बन्धमा प्रतिवादीले पीडितसँग रिसइवी गरी रहेको भन्ने कुरा मानव अधिकार आयोग समेतमा दिएको उजूरीबाट प्रष्ट छ । प्रतिवादीले प्रहार गरेको फलामको दाव घातक हतियार भएको तथा पीडितको टाउकोमा लागेको चोट गम्भीर रहेको भन्ने कुरा घा जाँच केश फारामबाट स्पष्ट छ । पीडितको साथैमा भएका जगतबहादुर शाहीले नछुट्याएको भए पीडितको ज्यान जान सक्ने अवस्था थियो । यस्तो अवस्थामा अभियोग माग दावीबमोजिम प्रतिवादीलाई सजाय गर्नुपर्नेमा बारदातलाई कुटपीटमा परिणत गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा विपक्षी झिकाउने आदेश हुनु पर्छ भनी बहस गर्नुभयो 

उपस्थित विद्वान उपन्यायाधिवक्ताले गर्नु भएको बहस समेत सुनी पेश भएका मिसिल कागजात अध्ययन गरी इन्साफतर्फ विचार गर्दा प्रतिवादीलाई सफाइ दिने गरी भएको पुनरावदेन अदालतको फैसला मिलेको छ, छैन ? विपक्षी झिकाउने आदेश हुनुपर्छ पर्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो 

२. निर्णय सम्बन्धमा विचार गर्दा प्रतिवादी सीता चौलागाईले जाहेरवालालाई लुकाई ल्याएको हतियारले पछाडिबाट झुक्याई टाउकोमा प्रहार गरी ज्यान मार्नेसम्मको कार्य गरेको हुँदा निजलाई ज्यान सम्बन्धी महलको १५ नं. अनुसार सजाय गरिपाऊँ भन्ने अभियोग मागदावी भएको प्रस्तुत मुद्दामा शुरु जिल्ला अदालतबाट प्रतिवादीले अभियोग माग दावीबमोजिम कसूर गरेको ठहराई पाँच वर्ष कैद हुने फैसला भएकोमा पुनरावेदन अदालतले शुरु इन्साफ उल्टी गरी प्रस्तुत वारदातलाई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपीटमा परिणत हुने गरी भएको फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परेको रहेछ 

३. मिसिल अध्ययन गर्दा प्रतिवादी सीता चौलागाईले आफ्नो लोग्ने महेन्द्र चौलागाई कर्तव्य ज्यान मुद्दामा परेको रिसईवी लिई मिति २०६४।११।३ मा बाटोमा गफ गरिरहेको अवस्थामा फलामको धारिलो हतियार दावले टाउकोमा प्रहार गरेको र सँगै गफ गरिरहेका जगतबहादुर शाहीले प्रतिवादी सीता चौलागाईलाई समाती अरु चोट हान्न नदिएकोले बाँच्न सफल भएको भन्ने पीडित जगतबहादुर रावलको जाहेरी देखिन्छ । जाहेरवाला मेरो पसलमा तीन पटकसम्म आई मलाई जिस्काएको हुँदा रिसको झोकमा दाव प्रहार गरेको हुँ । त्यस वखत मेरो दिमागले काम गरेको थिएन । लोग्नेलाई जेल हालेको कारणले हानेको भन्ने कुरा झूठा हो भन्ने प्रतिवादीको अदालतसमक्ष बयान रहेको पाइन्छ । पुनरावेदन अदालतले प्रस्तुत मुद्दालाई कुटपीटमा परिणत गर्ने फैसला गरेको हुँदा यस मुद्दामा मुख्य गरेर घटित वारदात ज्यान मार्ने उद्योगको हो होइन भन्ने सम्बन्धमा प्रमाणहरूको मूल्याङ्कन गरी निर्णय दिनु पर्ने देखियो । सम्बन्धित कानूनी व्यवस्था हेर्दा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १५ नं. मा निम्नअनुसार कानूनी व्यवस्था रहेको पाइन्छः

 

ज्यानमार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरु जुनसुकै कुराको उद्योग गरी मार्नेसम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाँउमा गै वचन दिने वा मद्दत गर्नेलाई पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ 

 

उपरोक्त कानूनी व्यवस्थाबाट ज्यान मार्ने उद्योगको कसूर ठहर हुनलाई प्रतिवादीले ज्यान लिने मनसाय लिई मार्नेसम्मको कार्य गरी सकेको तर कुनै कारणले ज्यान सम्म मर्न नपाएको हुनुपर्ने देखिन्छ । प्रस्तुत कानूनी व्यवस्थाको अध्ययनबाट ज्यानमार्ने उद्योगको वारदात ठहर हुनलाई मुख्य रुपले निम्न तीन वटा निर्णायक तत्वहरू विद्यमान हुनुपर्ने हुन्छ, –

क)    प्रतिवादीले पीडितको ज्यान लिनेसम्मको मनसाय लिएको,

ख)    प्रतिवादीले लिएको मनसायलाई कार्यरुपमा परिणत गर्न प्रतिवादीले ज्यानमर्ने सम्मको कार्य गरेको,

ग)    तेस्रो पक्षको अप्रत्याशित हस्तक्षेपको कारण पीडितको ज्यान बच्न गएको देखिनुपर्ने हुन्छ 

 

उपरोक्त सिद्धान्तलाई यस अदालतबाट महेन्द्रराज बम विरुद्ध नेपाल सरकार (नि.नं ४८९०) मुद्दा लगायत विभिन्न मुद्दामा व्यख्या भई यस अदालतले स्थापित सिद्धान्तको रुपमा ग्रहण गरी सकेको हुँदा यस सम्बन्धमा विस्तृत विवेचना गरिरहन परेन 

४. अब उपरक्त सिद्धान्तलाई प्रस्तुत मुद्दाको वारदातको तथ्यसँग समायोजन गरी हेर्दा प्रतिवादीको ज्यान मार्नेसम्मको पूर्व रिसइवी वा मनसाय थियो थिएन भन्ने सम्बन्धमा विचार गर्नुपर्ने देखियो । सो सम्बन्धमा विचार गर्दा लोग्नेलाई ज्यान मुद्दा लगाएको र थुनामा रहेको कारणले प्रतिवादीले रिसइवी राखेको हुँदा मार्ने मनसायले प्रहार गरेको भन्ने वादी पक्षको पुनरावेदन जिकीर रहेको पाइन्छ । ज्यान मुद्दाको अनुसन्धान गर्ने तथा मुद्दा लगाउने कुरा प्रहरी अधिकृत तथा प्रहरी संगठनको नियमित कर्तव्यभित्र पर्ने विषय हुन्छ, तथा अदालतको आदेशले थुनामा रहने नरहने कुरा निर्धारण हुन्छ । यी पीडितले आफूखुशी कसैलाई ज्यान मुद्दामा फसाउने र आफ्नै स्वविवेकमा उन्मुक्ति दिने कुरा नभएकोले यी प्रतिवादीले सोही कारणले पीडितउपर व्यक्तिगत रुपमा रिसइवी राख्नु पर्ने कारण देखिदैन । प्रतिवादीले अदालतमा बयान गर्दा पटकपटक जिस्काएको कारणले रिसको आवेगमा प्रहार गरेको हो, मार्ने मनसाय थिएन भनी अदालतसमक्ष गरेको बयान व्यहोरा माथि उल्लेख भइसकेको छ 

५. प्रतिवादीले लिएको मनसायलाई कार्यरुपमा परिणत गर्न प्रतिवादीले ज्यानमर्ने सम्मको कार्य गरेका हो होइन भन्ने सम्बन्धमा विचार गर्दा प्रतिवादीले आफूले पीडितको ज्यान लिने सम्मको कुत्सित मनसायलाई कार्यरुपमा परिणत गर्न के कस्तो परिस्थितिमा, के कस्तो साधन वा विधि अपनाएर ज्यान लिने सम्मको कार्य गरेको रहेछ भनी अदालतले समग्र परिस्थिति र प्रमाणहरूलाई विश्लेषण गर्नुपर्ने हुन्छ । प्रस्तुत वारदात हुँदाको परिस्थिति हेर्दा मिति २०६४।११।३ गतेका दिन बेलुकी ६:३० बजेको समयमा हमाल रेडियो पसल अगाडि जगतबहादुर शाही र उदय हमालसँग गफ गरी रहेको अवस्थामा प्रतिवादीले पीडित जगतबहादुर रावललाई दावले टाउकोमा प्रहार गरेको देखिन्छ । प्रतिवादीले पीडितले नदेख्ने गरी पछाडिबाट प्रहार गरेको देखिन्छ तर वारदातस्थल सार्वजनिक भएको र अन्य मानिसहरूको बीचमा घटना भएको हुँदा प्रतिवादीले मार्ने नै नियतले लुकिछिपी एकान्तस्थलमा प्रहार गरेको भन्न सकिने अवस्था देखिदैन । त्यस्तो प्रहारबाट परेको चोटको गाम्भीर्यतालाई गर्दा हेर्दा पीडितको घा जाँच केश फाराममा टाउकोमा ३.१ से.मी. धारिलो हतियारले काटेको घाउ (Incised wound) रहेको र उक्त घाजाँच फारममा गम्भीर (Serious) र मर्नेसम्म (Fatel) भनी चिकित्सकले राय व्यक्त गरेको पाइन्छ । यद्यपी ज्यान मार्र्ने उद्योग मुद्दामा पीडितलाई पर्न गएको चोट र त्यसको असरलाई मात्र ज्यान मार्र्ने उद्योग गरेको हो होइन भनी ठहर गर्ने निर्णायक प्रमाण मानिदैन, प्रतिवादीले ज्यान मर्नेसम्मको कार्य गरिसकेको हो होइन भन्ने कुरा महत्वपूर्ण हुन्छ । तथापि घाउको अवस्थाले प्रतिवादीको कार्यको सांघातिकताको वस्तुगत रुपमा मूल्याङ्कन गर्ने आधार हुने हुँदा त्यस्तो प्रमाणलाई अदालतले महत्वपूर्ण प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने हुन्छ । पीडितलाई पर्न गएको घाउको नाप साईज हेर्दा टाउकोमा ३.१ से.मी. काटेको एकवटा मात्र घाउ (Incised wound) बाहेक शरीरमा अन्य कुनै गम्भीर चोट पटकहरू देखिदैनन । उक्त चोटको प्रभावले घाइतेको शरीरमा के कस्तो असर पर्नाको कारण गम्भीर (Serious) भएको हो र मर्नेसम्मको (Fatel) परिस्थिति सिर्जना भएको हो भन्ने कुरा उक्त घा जाँचलगायत पीडितको उपचार गरेका अन्य प्रमाणहरूबाट खुल्न आएको पाइएन । पीडितको उपचारसम्बन्धी अन्य प्रमाणहरूले घाइतेलाई गम्भीर चोट पुगेको वा त्यस्तो चोटको असरबाट घाइतेको अवस्था गम्भीर भएको भन्ने कुरा मिसिलबाट देखिन आएन । यसको साथै पीडितको अदालतसमक्षको बकपत्रबाट समेत निजलाई प्रतिवादीले प्रहार गरेको चोटको त्यस किसिमको गम्भीर असर परेको तथ्य प्रष्ट भएको पाइदैन । साथै प्रतिवादीको दाहिने हातको बुढी औला नभएको तथ्यमा पनि विवाद नदेखिएकोले निजले पीडितको ज्यानै लिने गरी सशक्त प्रहार गर्न सक्ने अवस्था पनि देखिदैन 

६. अतः पीडितलाई परेको चोटको गाम्भीर्यतालाई हेर्दा प्रतिवादीले मार्ने मनसायले शक्तिशाली ढंगले प्रहार गरेको नभई कुटपीटको उद्धेश्यले सामान्य प्रहार गरेको सम्म देखिन आयो । तसर्थ तथ्य र प्रमाणहरूले पुष्टि नभएको चिकित्सकले व्यक्त गरेको मनोगत रायलाई मात्र अकाट्य प्रमाण मानी पीडितको अवस्था गम्भीर र मर्नेसम्म थियो भनी निष्कर्षमा पुग्न मिलेन 

७. वारदातको समग्र परिस्थितिलाई विचार गर्दा पीडित अन्य साथीहरूसँग सार्वजनिक स्थानमा गफ गरेर बसिरहेको अवस्थामा आफूलाई पटकपटक जिस्काएको आवेग थाम्न नसकी प्रतिवादी सीता चौलागाईले आफ्नो बुढी औला नभएको हातले दाव समाती टाउकोमा सामान्य चोट प्रहार गरेको कुरा स्वयं प्रतिवादीले अदालतसमक्षको बयानमा स्वीकार गरेको भए पनि उक्त चोट ज्यान मार्ने मनसायले नै पीडितलाई प्रहार गरेको कुरा निजको कार्यबाट पुष्टि भएको नदेखिएकोले प्रतिवादी सीता चौलागाईले ज्यान मार्ने उद्योगको कसूर अपराध गरेको भनी ठहर निष्कर्षमा पुग्न मिल्ने भएन 

८. प्रतिवादीले पीडितको ज्यान लिनेसम्मको मनसाय लिएको तथा प्रतिवादीले लिएको मनसायलाई कार्यरुपमा परिणत गर्न प्रतिवादीले ज्यान मर्नेसम्मको कार्य गरेको भन्ने विवेचित प्रमाणहरूबाट नदेखिदा तेस्रो पक्षको अप्रत्याशित हस्तक्षेपको कारण पीडितको ज्यान बच्न गएको हो होइन भन्ने सम्बन्धमा विवेचना गरिरहन परेन 

९. तसर्थ प्रतिवादी सीता चौलागाईले पीडित जगतबहादुर रावललाई दावले टाउकोमा प्रहार गरेको भन्ने तथ्य स्वयं प्रतिवादीले अदालतसमक्षको बयानमा स्वीकार गरेको भए पनि वारदात हुँदाको समग्र अवस्था, परिस्थिति र पीडितलाई परेको चोटको अवस्थालाई हेर्दा प्रस्तुत वारदात ज्यान मार्ने उद्योगको नभई कुटपीटको वारदात देखिन आएकोले पुनरावेदन अदालत जुम्लाबाट शुरु फैसला उल्टी गरी प्रस्तुत मुद्दालाई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ नं. बमोजिम कुटपीटमा परिणत गर्ने गरी भएको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । सो ठहर्नाले मुलुकी ऐन अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाउने आदेश गरी रहन परेन । वादी नेपाल सरकारको पुनरावदेन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल बुझाई दिनू 

उक्त रायमा सहमत छु 

न्या.प्रकाश वस्ती

इति संवत् २०६९ साल असार १४ गते रोज ५ शुभम्

इजलास अधिकृतः कमलप्रसाद पोखरेल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु