निर्णय नं. ९२ - खाद्यान्न इस्टक राखे

निर्णय नं. ९२ ने.का.प. २०१७
डिभिजन बेञ्च
का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
अ. डि. नं. ११६
अपीलाट, प्रतिवादी : चन्द्रकुमारी श्रेष्ठनी
विरुद्ध
विपक्षी, वादी : सरकार
मुद्दा : खाद्यान्न इस्टक राखे
१. बढी अन्न छँदै थिएन भन्न र सो यो काममा खर्च हुने भन्ने समेतको प्रमाण मौकैमा विवरण सहितको सूचना नदिएमा बढी अन्न राखेको ठहर्ने ।
बस्तु नियन्त्रण अल्पकालिन ऐन, २०१२ को दफा ४। नियन्त्रण गर्नको लागि व्यवस्था मिलाउने सम्म सरकारलाई अधिकार दिएको । आदेश बर्खिलाप गरेमा सो ऐनको दफा ७ लाग्ने ।
बढी अन्न छँदै थिएन भन्न र सो यो यो काममा खर्च हुने भन्न समेत अपीलाटले मौकामा विवरण सहितको सूचना दिन नसकेकोले समेत बढी अन्न राखेको ठहराएको सम्म का. मजिष्ट्रेटको राय सदर गरेको सिंगल बेञ्चको मुनासिव । जफत गर्ने गरेको सम्बन्धमा बस्तु नियन्त्रण अल्पकालिक ऐन, २०१२ को दफा ४ को (ज) बमोजिम जफत गर्ने भनी का. मजिष्ट्रेटको फैसलामा र उक्त दफा ४ को (घ) प्रयोग गर्नु पर्ने देखिन्छ भन्ने सिंगल बेञ्चको रायमा उल्लेख भएको हकमा उक्त दफा ४ नियन्त्रण गर्नको लागि व्यवस्था मिलाउने सम्म सरकारलाई अधिकार दिएको देखिएकोले सो दफा यस मुद्दामा अदालतले लगाउन उपयुक्त नदेखिने भई आदेश बर्खिलाफ गरेमा सो ऐनको दफा ७ लाग्ने ठहर्छ । सो बमोजिम बढी भएको अन्न जफत गर्ने गरेको समेत का. मजिष्ट्रेटको राय मुनासिब छ ।
(प्रकरण नं. १०)
सरकार तर्फबाट : सरकारी एडभोकेट वेदप्रसाद धिताल
फैसला
१. यसमा खाद्य बिभागको विज्ञप्ती अनुसार आफूलाई चाहिने भन्दा बढी अनाज राख्नुृ परेमा आफूसँग फाजिल रहेको अनाज लेखाउनु भएको छ, छैन भनी सोद्धा धान मुरी अन्दाजी ५०।, कोदो मुरी ४।१० निस्केको ठिक साँचो हो । यो बाहेक अरू राखेको ठहरे ऐन सवाल बमोजिम बुझाउँला भन्ने चन्द्रकुमारीको छोरी सूर्यकुमारीको कागज ।
२. श्री बद्रीनारायण जान इन्द्रचोक बस्ने सिद्धिबहादुर सँग रु. ७००। लिई रु. ३०। का दरले धान पठाउने गरी ०१२।२।१२ मा गई ऐ आषाढ ३० गते घर आए । ऐ आषाढ २७ गते पुलिस समेत पसी खानतलासी गरी छोरीको सही गराई लगेछन् । आषाढ ६ गतेको गजेट प्रकाश नहुँदै बद्री गएको हुँदा साहुलाई दिई, तीर्थ भोग गरी बाँकी गाउँमा जो भएको भाउले बेच्नु भन्ने समेत जो हुकुम भन्ने चन्द्रकुमारीको निवेदनमा ऐन सवाल बमोजिम गर्नु भन्ने श्री ५ महाराजधिराजका निजी सचिवबाट लेखि पठाउनु भएको ।
३. बद्री गएको निस्सा प्रमाण दाखिल गर्न नसकेको । ०११।८।२८ मा पनि विज्ञप्ती प्रकाश भएको । सो बमोजिम जाहेर नगरेको । निजका परिवार जवान ८ लाई तलासी भएका मितिदेखि ०१२ साल कार्तिक मसान्त तक ४ महिना ५ दिनलाई ०१२।३।६ मा प्रकाश भएको खाद्य बिभागको विज्ञप्ती बमोजिम महिनाको जवानको ।१५ पाथीका दरले जम्मा धान मुरी २५। खान निमित्त र घर व्यवहारलाई राख्न पाउने कोदो पाथी ।१० कटाउँदा धान मुरी २५। कोदो मुरी ३।१० जाहेर नगरी राखेको ठहर्छ ।
४. ०१२ सालको ऐन नं. ७ को वस्तु नियन्त्रण अल्पकालिन अधिकार ऐन, ०१२ को ४।२ ज. दफा बमोजिम जफत गर्ने भन्ने का. मे. अ. को ०१३।४।२२।२ को फैसला ।
५. बद्री गएको निस्सा चिसापानी गडी बुझियोस् । म फर्की नआउँदै बुहारी पनि मरिछ । ४५ दिनको कामलाई कति खर्च लाग्छ । कतैबाट नआउने । ज्यामी ज्याला र बस्तुभाउ समेतलाई चाहिने हुँदा चित्त बुझेन भन्ने समेत चन्द्रकुमारीको अपील ।
६. बढी अन्न राखेको ठहराएको मुनासिबै छ । जफत गर्ने भन्ने तर्फ तोकिएका व्यक्तिलाई तोकिएका भाउले विक्री गर्न बाध्य गराउने भन्ने समेत उक्त ऐन दफा ४ (घ) मा प्रष्ट हुँदा उक्त दफा (घ) प्रयोग गर्नु पर्ने देखिन्छ । का. मे. अ. को फै. सँग राय नमिलेकोले डिभिजन बेञ्चमा पेश गर्ने भन्ने समेत ०१३।१०।१४ को सिंगल बेन्चको आदेश ।
७. फु. पु. पुरुषोत्तम १, स. ई. कालिकाप्रसाद १, रामप्रसाद १। टेकबहादुर राई समेतलाई झिकाई कस्का अर्डरले खानतलासी गरेको रहेछ बुझी पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०१३।११।१०को आदेश ।
८. गोकर्ण चौकीबाट स. ई. कालिकाप्रसादका साथमा गए अर्डर पूर्जी मसँग छैन । धान मुरी ५० भन्थे भन्ने समेत रामप्रसादको बयान ।
९. पुलिस इन्सपेक्टर भई खाद्यमा काज खटी खानतलासीमा साक्षी बसेको अर्डर फु. पु. पुरुषोत्तम सँग थियो भन्ने समेत कालिकाप्रसादको बयान । अरू हाजिर नभएको ।
१०. यसमा अपीलाट चन्द्रकुमारीको वा. विष्णुराजलाई राखी पेश हुन आएको यो मुद्दामा सरकारी एडभोकेट वेदप्रसाद धितालको बहस समेत सुनी हेरी बुझ्दा बढी अन्न छदैं थिएन भन्न र सो यो यो काममा खर्च हुने भन्ने समेत प्रमाण अपीलाटले मौकामा विवरण सहितको सूचना दिन नसकेकोले समेत बढी अन्न राखेको ठहराएको सम्म का. मजिष्ट्रेटको राय सदर गरेको सिंगल बेञ्चको मुनासिब । जफत गर्ने गरेको सम्बन्धमा बस्तु नियन्त्रण अल्पकालिन ऐन, २०१२ को दफा ४ को (ज) बमोजिम जफत गर्ने भनी का. मजिष्ट्रेटको फैसलामा उक्त दफा ४ को (घ) प्रयोग गर्नु पर्ने देखिन्छ भन्ने सिंगल बेञ्चको रायमा उल्लेख भएको हकमा उक्त दफा ४ नियन्त्रण गर्नको लागि व्यवस्था मिलाउने सम्म सरकारलाई अधिकार दिएको देखिएकोले सो दफा यस मुद्दामा अदालतले लगाउन उपयुक्त नदेखिने भई आदेश बर्खिलाप गरेमा सो ऐनको दफा ७ लाग्ने ठहर्छ । सो बमोजिम बढी भएको अन्न जफत गर्ने गरेको समेत का. मजिष्ट्रेटको राय मुनासिब छ । अपील गरे वापत शुरु दण्ड १०। को हा. का. नं. १० ले पहिलो अपील हुँदा सयकडा १० ले लाग्ने दण्ड मोरु १। एक अपीलाट चन्द्र्रकुमारीलाई हुन्छ । वारिस हुँदा असूल गर्न लगत दिई, नियम बमोजिम मिसिल बुझाई दिनु ।
इति सम्वत् २०१७ साल आषाढ २३ गते रोज ४ शुभम् ।