शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३ - अपुताली धनमाल

भाग: साल: २०१७ महिना: असोज अंक:

निर्णय नं. ९३             ने.का.प. २०१७

सिंगल बेञ्च

का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

ठा. नं. ६९

निवेदक, प्र. : जीतबहादुर नेवार

विरुद्ध

विपक्षी, वादी : लक्ष्मीनारायण श्रेष्ठ

मुद्दा : अपुताली धनमाल

(१)   शंकाजनक भए अरू समर्थनको प्रमाण पुर्‍याउनु पर्ने । पक्का लिखत बेगर हक टुट्न नसक्ने । पास नभएको लिखतले हकवाला भन्ने नदेखिने ।

     ९५ सालको नापी मोठमा लागेको पुण्यराजको सहीछापसँग भिडाउँदा सिरमा लागेको दायाँ ल्याप्चे मसी बढ्ता भएकोले बुझिंदैन । बायाँ ल्याप्चेसँग मिल्दैन । केरेको ठाँउमा लागेको ल्याप्चे मिल्छ भनी रेखा विशेषज्ञको रिपोर्ट भएकोबाट शंकाजनक भई अरू समर्थनको प्रमाण नभएको । पुण्यराजका नाउँमा दर्ता तिरो भरो भएको जग्गा निजको हक टुटेको र रजिष्ट्रेशन पास भएको पक्का लिखत बेगर पुण्यराजको हक टुट्न नसक्नेमा पनि मुख्य सहीछाप लाग्ने ठाँउमा लागेको ल्याप्चे नबुझिने, नमिल्ने भएको र सो भरपाई शुरु प्रतिवादीमा प्रमाण दिन र पेश दाखिल गर्न नसकेको । त्यस्तो पास नभएको लिखतले जितबहादुरको हक भन्न नहुने । सो जग्गाहरूको दर्ता बुझी पाउँ भन्ने निज जितबहादुरको जिकिरमा सक्कलै मोठ र दर्ता समेत झिकाई हेरेमा आमा चिरीमायाको नाउँमा दर्ता भएको कतै कुनै पनि श्रेस्ता नभई साविक गौंडामा र हालमा समेत पुण्यराजकै नाउँमा दर्ता भएको देखिएकोले समेत इन्साफ शुरुको केही सदर गरी छिनेको अपील पहिलाको सदर गरेको प्रधान न्यायालय सिंगल बेञ्चको ०१३।२।२३ को राय मुनासिब छ ।

(प्रकरण नं. ६)

निवेदक तर्फबाट : प्लीडर मायानाथ

फैसला

            १.     यसमा दाजु पुण्यराज ८।५।२५ गते मरे । दाजुको अपुताली मेरो हुनेमा प्रतिवादीले घर समेत भत्काई धनमाल समेत लुटपीट गरी जग्गामा समेत खिचोला गरेकाले खिचोला मेटाई बिगो रु. ७९८ दिलाई पाउँ भन्ने समेत लक्ष्मीनारायणको फिराद ।

            २.    मेरा बाबु मरे । वादीको दाजु पुण्यराजको जेथा साहुले लगे । केही नभएको नङ्गा थियो । आमा चिरीमायाँको जेथा देखि आमालाई लगी आमाको रु. २००। समेतबाट खेलो गरी जग्गा जमीन जोरी बसेको पुण्यराजको सम्पत्ति केही थिएन । मेरो आमाको मेरो सम्पत्ति हो । त्यसो हुँदा वादीको हक लाग्ने होइन भन्ने समेत प्र. जितबहादुरको प्रतिवादी ।

            ३.    पुण्यराजका शेष पछि खान पाउने लिखत छ भन्न र दाखिल गर्न प्रतिवादीले नसकेकाले पुण्यराजको अपुतालीवादीले पाउने हुँदा बिगो रु. ७९८। समेत वादीले पाउने ठहर्छ भनी प. २ नं. अदालतले र इन्साफ सदर बिगो १४८। मात्र वादीले पाउने ठहर्‍याई अपील पहिलाले र सोही सदर गरी प्रधान न्यायालय सिंगल बेञ्चबाट छिनेको ।

            ४.    दोहराई पाउँ भनी प्रतिवादीले दिएको निवेदनमा शाही आदेश अन्तर्गत दोहरीई हेरिएको ।

            ५.    २००७।३।२५ गतेमा तिम्रै आमा चिरीमायाँको हकको जग्गा मेरा नाउँमा दर्ता भए पनि म दाबी गर्ने छैन भनी पुण्यराजले गरिदिएको भरपाई प्र. जितबहादुरले पेश गरेकोमा दाजुले सो भरपाई गरिदिएको होइन भन्ने वादि, गरिदिएकै हो भन्ने प्रतिवादी र साक्षी मु. भीमबहादुर सन्तमानको बयान ।

            ६.    तारिखमा रहेको निवेदक प्र. जितबहादुर र वादी लक्ष्मीनारायण राखी निवेदकको विद्वान वकिल प्लीडर मायानाथको बहस समेत सुनी यो मामिला हेर्दा वादीले दावी गरेको खेत पाखोहरू आमा चिरीमायाँको सम्पत्तिबाट आर्जन भएको भन्ने समेत वादीको मन्जुरी भएको सबूद छ भन्ने प्रमाण दिन निवेदकले नसकेको । तिम्रो आमा चिरीमायाँको हकको हो । मेरो नाउँमा दर्ता भएको भनी दावी गर्ने छैन भन्ने पुण्यराजले गरिदिएको भनेको ०७।३।२५ को भरपाई वादीले पेश गरेकोले कसो हो त ? भन्न सहीछाप दाजु पुण्यराजको होइन भन्ने वादीले बयान गरेको । ९५ सालको नापी मोठमा लागेका पुण्यराजको सहीछापसँग भिडाउँदा सिरमा लागेका दायाँ ल्याप्चे मसी बढी भएकोले बुझिंंदैन । बायाँ ल्याप्चेसँग मिल्दैन । केरेको ठाँउमा लागेको ल्याप्चे मिल्छ भनी रेखा विशेषज्ञको रिपोर्ट भएकोबाट शंकाजनक भई अरू समर्थनको प्रमाण नभएको । पुण्यराजका नाउँमा दर्ता तिरो भरो भएको जग्गा निजको हक टुटेको रजिष्ट्रेशन पास भएको पक्का लिखत बेगर पुण्यराजको हक टुट्न नसक्नेमा पनि मुख्य सहीछाप लाग्ने ठाउँमा लागेको ल्याप्चे नबुझिने नमिल्ने भएको र सो भरपाई शुरु प्रतिवादीमा प्रमाण दिन र पेश दाखिल गर्न नसकेको । त्यस्तो पास नभएको लिखतले जितबहादुरको हक भन्न नहुने । सो जग्गाहरूको दर्ता बुझी पाउँ भन्ने निज जितबहादुरको जिकिरमा सक्कलै मोठ र दर्ता समेत झिकाई हेरेमा आमा चिरीमायाँको नाउँमा दर्ता भएको कतै कुनै पनि श्रेस्ता नभई साविक गौंडामा र हालमा समेत पुण्यराजकै नाउँमा दर्ता भएको देखिएकाले समेत इन्साफ शुरुकै सदर गरी छिनेको अपील पहिलाको सदर गरेको प्रधान न्यायालय सिंगल बेञ्चको ०१३।२।२।३ को राय मुनासिब छ । निवेदकले पेश गरेको भरपाई भनेको ऐनले प्रमाण नलाग्ने कागज हुँदा त्यस तर्फ कसैलाई केही गर्नुपर्दैन । इन्साफ दोहराएमा निवेदक जितबहादुरके शुरु दण्ड मोरु ४०।९० को हा. का. ११ नं. ले १० ले मोरु ४।९ दण्ड हुन्छ । असूल गर्ने तहसिलमा लगत दिई मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

इति सम्वत् २०१७ साल भाद्र २४ गते रोज ५ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु