शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०० - ज्यान

भाग: साल: २०१७ महिना: कार्तिक अंक:

निर्णय नं. १००                  ने.का.प. २०१७

डिभिजन बेञ्च

न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

डि. अ. नं. ४०/४५ ४१/९७

वादी, अपीलाट : रेशमलाल म्याकजु श्रेष्ठ

विरुद्ध

विपक्षी, प्रतिवादी : प्यारेलाल माडबारी समेत

मुद्दा : ज्यान

(१)   अपहत्या गरी मर्नु एउटा असाधारण कुरा । ठूलो मानसिक स्थिति नियन्त्रणमा नरहेको अवस्था वा शारिरीक वेदना वा चोट परेमा मात्र सम्भव ।

     मर्ने व्यक्ति धुलीखेल बस्ने साहु रेशमलालको छोरा जनकलाल हो भन्ने कुरा निर्विवाद छ । लास पनि फेला परेकै छ । अब विचार गर्नुपर्ने मुख्य कुरा जनकलालको लास रानी पोखरीमा पाइयो । कर्तव्यबाट मरेको हो वा आफैं आई हामफाली मरेको के हो ? पहिले लास फेला पारेको १३ साल जेष्ठ ७ गतेका दिन रानी पोखरीमा भएको मौका तहकिकात लासजाँच मुचुल्का हेरौं । दुबै आँखा केही खुलेको, दुबै गोडा खुम्चिएको, मुखबाट पानी निस्केको, हातगोडा धारीईमारी परेको, दुबै हातको मुठी केही खुलेका शरीरमा कतै घाउ चोटपटक केही नदेखिएको । लास देखाई सोद्धा कर्तव्यको शंका सम्म पनि नगरी आफैं अपहत्या गरी मरेको जस्तो लाग्छ भन्ने भोटाहिटी बस्ने मोहनलाल कुसुले, चिकंमुगल बस्ने रामबहादुर रंजितकार र वानेश्वर व्यारेक बस्ने सि. केन्तबहादुर समेत ९ जना र हाम्फाली मरेको हो भनी किटान गरी बक्ने प्याफल टोल बस्ने नारन भक्त श्रेष्ठसमेत ६ जना र मलाई काटी भाग्ने यही हो । काटी मार्न नसकेकोले पक्राउमा परिन्छ भन्ने डर र त्रासले यहाँ आई हाम्फाली मरेछ भन्ने इन्द्रचोक बस्ने प्यारेलालको भनाई भएको र मानिस केही बाह्रमासे खेल्ने धनी भएको र ३ जना डाक्टरहरूबाट हाल जेष्ठ ८ गते भएको लासजाँच रिपोर्टमा सास रोकिनाले मृत्यु भएको बुझिन्छ । तर सास रोकिनाको कारण भन्न सकिन्न भन्ने लेखिएको देखिएबाट भने प्यारेलालको बयान बमोजिम प्यारेलाललाई काटी मार्न नसकेबाट पक्राउमा परिन्छ भन्ने डरत्रासले नै जनकलाल रानी पोखरीमा आई हाम्फाली मरेको हो कि जस्तो देखिन्छ । तर अपहत्या गरी मर्नु भनेको एक साधारण काम कुरा होइन । ठूलै असह्य मानसिक वा शारिरीक वेदना वा चोट पर्नुपर्छ । मानसिक स्थिति ठिक नियन्त्रणमा नरहेको अवस्थामा मात्र त्यस्तो सम्भव हुन्छ । प्यारेलाललाई काटी मार्न असफल भएको हुनाले नै जनकलालले मर्नु पर्ने सम्मको स्थिति आईपर्‍यो भन्ने कुरा विचारणीय छ ।

(प्रकरण नं. ७१)

(२)  लास कहिलेसम्म पानीमा डुबेर तलै रहने ? ७ जना डाक्टरहरूको बोर्डले दोस्रो पटक लासजाँच गरी एक मत रिपोर्ट गरेकोमा मृत्युको कारण सास रोकिनाले नै भएको हो । लासजाँचबाट पत्ता लागेको कुराहरू र त्यो व्यक्ति गायब भएको र उसको लास पाइएको सम्भावित समय र लास किनारामा झिक्दा लासको दरोपनाको अवस्था बारे र पुलिसले दिएको खबर समेतको विचारबाट लास पानीमा पाइए तापनि लास पानीमा डुबेर मरेको होइन । सास रोकिनाको कारण भने यकिन गर्न सकिंदैन भन्ने लेखिएकोबाट उक्त ११।१२ गतेको सरजमिनको लेखाई बकाई समर्थित हुन्छ । अन्दाजी १२।१३ घण्टा भित्र लास उत्रेको नै देखिएको छ । प्यारेलालको तर्फबाट डाक्टरहरूलाई गरिएको १२ सवालको जवाफमा शरिरको स्पेसिफिक ग्राभिटी पानीको भन्दा हलुका भएको हुनाले मानिस पानीमा पर्दा फोक्सोको हावा बाहिर निस्किसके पछि मात्र माथि नउत्रने गरिकन तल डुब्दछ र लास कुहिई भएको ग्याँस लासलाई पानी भन्दा हलुका पारी सके पछि मात्र माथि उत्रन सक्छ । पानी बाहिर मरेको लास पानीमा परेमा तलसम्म नडुबी उत्रेकै हुन्छ भनिएको छ । पानीमा डुबेर मरेको लास कति समय पछि पानी माथि उत्रन सक्छ ? भन्ने प्रष्ट किटानको जवाफ छैन तापनि लास कुहिई भएको ग्याँस लासलाई पानी भन्दा हलुका पारी सकेपछि मात्र माथि उत्रन सक्छ भने पछि लास सड्न केही समय अवस्य लाग्छ र त्यस्तो नसडेसम्म त लास पानीमा डुबेर तलै रहने देखियो ।

(प्रकरण नं. ७१)

(३)  पानीमा हाम्फाली मरेका मानिसमा पाइने चिन्हहरू, फिंज पानीबाट लास उतार्दा पखालिए पनि फेरि फिंज आउने (मेडिकल जुरिसप्रुडेन्स, लेखक मोदी) उपरोक्त तथ्यको अभावमा लास पानीमा पाइए तापनि डुबेर मरेको भन्न नमिल्ने ।

     पानीमा डुवी मरेको चिन्हहरूमा नाकबाट साबुनको फिंज जस्तो (केही रगत पनि मिसिएको) आउनु र नाक मुख वरिपरि जम्मा हुनु, हातको मुठी कसिएको हुनु र नङ भित्र माटो वा हात भित्र मुठीमा केही घाँस वा अरू केही चीज हुनु, पेटमा पानी हुनु, हात खुट्टा ढाडिई चाउरी परेको हुनुपर्ने देखिन्छ । यी सब चिन्हहरू मध्ये केही रगतको छिटाछिटी भएको साबुनको फिंजजस्तो बाक्लो फिंज नाकबाट आउनु र नाक मुख वरपर जम्मा हुनु एक प्रमुख चिन्ह हो, जसको आधारमा यो मानिस पानीमा डुवी मरेको हो भन्ने अनुमान गरिन सकिन्छ भनी मेडिकल जुरिसप्रुडेन्सका किताबहरूमा पाइन्छ । प्रस्तुत केसमा यी कुनै पनि चिन्हहरू देखा परेका छैनन् । धेरै ढिला लासजाँच भएकोले फिंज र अरू पनि चिन्हहरू हराएर जाने सम्भव हुन्छ । फिंजको हकमा पानीबाट लास उतार्दा पखालिन सक्छ भन्ने प्यारेलाल तर्फका विद्वान सिनियर एडभोकेट देवनाथप्रसाद वर्माले बहस गर्नु भएकोलाई फिंज पानीबाट लास झिक्दा पखालिए पनि पछि फेरि आउने किसिमको हो । लासजाँच पनि भोलि पल्टै भएको देखिएको छ । लास पाखामा झिकेपछि पनि फिंज नाकबाट आउँछ भनी मोदी भन्ने लेखकको मेडिकल जुरिसप्रुडेन्सको किताबमा लेखेको छ । रानी पोखरीको लासजाँच मुचुल्कामा घाउ चोटपटक थिएन । हुनसक्छ, साना साना घाउ भएकोले नाङ्गो आँखाले देख्न सकिएन होला । तर रानी पोखरीको बगैंचा बनाउने म्याक्लर साहेबले बाँसको टुप्पामा तारको चक्का बनाई लास तान्न खोज्दा ति घाउहरू भएको हुनुपर्छ, भन्ने विद्वान वकिलको बहस थियो । तारको चक्का बनाई लास तान्न खोज्दा त्यतिका ६,७ ठाँउमा जस्तो घुँडामा, कुइनामा घाउ हुन सक्छ भनी विश्बास गर्न सकिन्न र पिसावको थैलीमा पिसाव नहुनु, मगज फियो, कलेजो र मृगौलामा रगत जमेको देखिनु, जनकलाल गायब भएको ६ गते राती पौने बाह्र, बाह्र बजेको समयदेखि रानी पोखरीमा लास उत्रेको समय ७ गते दिउँसो १ बजेतिर अन्दाजी १२।१३ घण्टामा लास पानीमा उत्रेको देखिएको हुनाले लास पानीमा पाइए तापनि पानीमा डुबेर मरेको होइन, भन्ने डाक्टरहरूको रायमा यो बेञ्च पूर्ण रूपमा सहमत हुन्छ । उपरोक्त कारणहरूले जनकलाल अपहत्या गरी पानीमा डुवी मरेको नदेखिई कर्तव्यबाट निजको ज्यान गई लास रानी पोखरीमा फालेको फाल्न लगाएको देखिन्छ ।

(प्रकरण नं. ७१)

(४)  अभियुक्त दोषी हुने गरी कुनै मतियार सरहको सहयोगी अभियुुक्तले बयान गरेमा सो कुरालाई अरू स्वतन्त्र प्रमाणद्वारा समर्थन भएमात्र कसूर वारदात एकिन हुन सक्ने । कारण, प्रमाण परिबन्धबाट जसको कर्तव्यबाट मारेको ठहर्छ सो नै अपराधी ठहर्ने ।

     शंकाको फाइदा अभियुक्त प्यारेलालले पाउँछन् कि भन्नलाई प्यारेलालको धेरै वर्षदेखिको पुरानो नोकरले किन त्यस्तो बयान गर्‍यो ? कसैको लोभ लालच वा वहकावटमा लागि त्यस्तो बयान गर्‍यो वा भएको यथार्थ कुरा नै बतायो ? यो कुरा विचारणीय छ । लालबहादुरको उपरोक्त बयानमा कतिसम्म सत्यता छ ? त्यो अरू स्वतन्त्र प्रमाणबाट समर्थित हुन्छ, हुँदैन ? सो विचार गर्नु अति जरुरी हुन आउँछ । अभियुक्त दोषी हुने गरी कुनै मतियार सरहको सहयोगि अभियुक्तले बयान गरेमा सो कुरालाई अरू स्वतन्त्र प्रमाणद्वारा समर्थन भएमात्र कसुर वारदात एकिन हुन आउँछ भन्ने सर्वमान्य कानूनी सिद्धान्त हो । यसै सिद्धान्तका आधारमा लालबहादुरको बयान कतिसम्म अरू स्वतन्त्र प्रमाणबाट समर्थित हुन्छ ? विचार गरी हेरौं ।

(प्रकरण नं. ७२)

     सर्वप्रथम यो कुरा आउँछ कि लालबहादुर प्यारेलालको एक विश्वासी पुरानो महिनाबारी रु. ५० रूपैंया तलब दिई राखेको नोकर हो । निजले अरूको बहकावटमा लागि यस्तो बनावटी कुराको बयान दिएको हो कि भनैं भने सो कुरा कतैबाट प्रमाणित हुन सकेको छैन । न त प्यारेलालले नै लालबहादुरले घुस खाई त्यस्तो झुठ्ठा बयान दिएको हो भनी सावित गर्ने कोशिस गर्नुभएको छ । उल्टो प्यारेलालले नै लालबहादुरलाई घुस दिई आफ्नो पक्षमा ल्याउने प्रयास गर्नुभएको छ । लालबहादुर, रामबहादुर र जितबहादुरलाई जनही ३।३ रूपैंयाँका दरले घुस कं. तेजबहादुर मार्फत पठाउनु भएको मिसिलबाट देखिएको छ । लालबहादुर, रामबहादुर मेरो नोकर भएका र हामीलाई सरकारी सिधाले नपुगी भाँडा बन्धक राखेका छौं । केही खर्च पाउँ भनी खबर पठाएकोले रु. ९। दिएको हुँ । अरू कारणले होइन भन्ने प्यारेलालको भनाई छ । तर लालबहादुर, जितबहादुर र रामबहादुर थुनामा रहेको वखतमा नै बन्धकी निखन्ने उपयुक्त बेला थियो । फेरि लालबहादुर, रामबहादुर त प्यारेलालकै नोकर भएकोले बन्धकी रहेको भाँडा निखन्न दियो भन्ने सम्झौं । तर जितबहादुर त प्यारेलालको कोही होइन । उसको भाँडाको बन्धकी निखन्न प्यारेलाललाई के मतलब ? लालबहादुर, रामबहादुर र जितबहादुर सबैको भाँडा बन्धकमा पर्नु र सबैको यसैबेला निखन्ने भन्ने कुरा पनि मिल्दो कुरा भएन । यसबाट यही प्रष्ट हुन्छ कि प्यारेलालले यी तिनै जना अभियुक्तलाई आफ्नो पक्षमा बकाउने कुप्रयास गरेको हो । तर कं. तेजबहादुरको इमान्दारीताबाट यो काम उद्देश्य केही हदसम्म सफल हुन पाएन । यस्तो पुरानो विश्बासी नोकरले प्यारेलाललाई बनाबटी कुराले फसाउनु पर्ने कुनै कारण पनि देखिंदैन । फेरि लालबहादुरको बयानलाई ७ जना डाक्टरहरूको बोर्डको रायले समर्थित हुन्छ । डाक्टरहरूको रिपोर्ट छ, लास पानीमा पाइए तापनि पानीमा डुबेर मरेको हैैन । जब पानीमा डुबेर मरेको प्रकृति देखिंदैन, तब लास लालबहादुरको बयान बमोजिम नै फालिएको हो भनी विश्बास गर्न नपर्ने कुनै पर्याप्त कारण छैन । जनकलाल एक लायक हट्टाकट्टा देखिएको युवकले प्यारेलाललाई काटी मार्ने नियत भएको भए रेटेर मार्न पर्ने थिएन । १।२ चोटमा नै प्यारेलालको ज्यान जान सक्थ्यो । प्यारेलाललको भनाई बमोजिम प्यारेलालले सेफमा दाम थन्काएको जनकलालले देखेको हुनाले सोही दामको लोभले प्यारेलाललाई काट्न खोजेको हो कि त भनौं भने पनि रेशमलाल ठूलै काँटको व्यापारी देखिएको छ । यस्तो हैसियतदारको छोराले त्यती दाम ने. रु. ७५२५।३४ भा. रु. ७९८८। (जुन पसल जाँचबाट सेफ कन्तुरमा रहेको देखिएको छ) को लोभमा परी मानिस काटी मार्न सम्भव देखिंदैन । यदि प्यारेलालकै भनाई बमोजिम काटी मार्न नसकेको भएपनि त्यतिकैबाट मानिस रानी पोखरीमा फाल हाल्छ भनी भन्न कुनै तर्फबाट पनि मिल्ने देखिंदैन । प्यारेलालसँगै व्यापारिक कारोवार भएको व्यक्तिले प्यारेलाललाईनै काटी मार्न पनि केही कारण र नियत देखिंदैन । अब प्यारेलालको शरीरको घाउहरू विचार गरौंं । घाँटी तिर घाउ लागेको जस्तो लागि बिउझिएँ, देब्रे हात छातीदेखि केही माथि घाटीनिर राखी सुतेको बेलामा हातमा घाउ भएको । बायाँ हातबाट हतियार पक्रिंदा खुकुरी रहेछ । उठी खुकुरी समाती खोसाखोस भयो भन्ने, कठालो पनि समातेको भन्ने प्यारेलालको भनाई छ । खुकुरी समाती सकेपछि प्यारेलालको घाँटीमा कसरी आठवटा घाउ पर्न गयो । खुकुरी खोसाखोस हुन थालीसक्यो । आठवटा घाउ हुन्जेलसम्म प्यारेलाल निद्रामा भएको भन्नु पर्‍यो । काट्नेले पनि एकै चोटी नकाटी साना साना आठवटा घाउहरू बनाईरहन पर्ने कारण छैन । घाउ लाग्नासाथ बिउझें भनेपछि घाँटीमा आठवटा घाउ लाग्न सक्ने अवस्था नै परेन । त्यसको साथ साथै दाहिने हातमा पनि घाउ देखाईएको छ । दाहिने हातमा घाउ हुनु पनि नमिल्ने कुरा छ । खोसाखोस गर्दा खुकुरी ढोकानिर खस्यो भन्ने प्यारेलालको भनाई बायाँ हातले खुकुरी समाती खोसाखोस भएको फेरि कठालो पनि समातेको भने पछि दाहिने हातले नै समातेको भयो । यसरी दाहिने हातमा घाउ हुने खण्ड परेको देखिंदैन । तर प्यारेलालको घाउ जाँचको केश फारमबाट दाहिने हातमा घाउ देखाएको छ । प्यारेलाल नाङ्गो खुकुरी लिई पुलिस सेन्ट्री बसेको ठाउँमा पुगेको देखिएको छ । कं. दिलबहादुर बुढाथोकीले प्यारेलालले नाङ्गो खुकुरी लिएर हिँडेको देखि नाङ्गो खुकुरी लिई हिँड्न हुन्न भनी मैले खुकुरी खोसी सेन्ट्रीमा नै राखेको हुँ भनी भनेको छ । प्यारेलाललाई काटी जनकलाल भागेको भए काटी भाग्ने मानिस समात्ने कोशिस पट्टी नलागी नाङ्गो खुकुरी लिइ गुहार गुहार गरी हिँड्ने काम स्वभाविक देखिंदैन । काट्न लागेको अवस्थामा गुहार माग्नु स्वभाविक कुरा हो । तर काट्ने मानिस भागेपछि भाग्ने मानिस समात्न खोज्नु नै पहिला काम हुन्छ । तर प्रस्तुत केशमा मानिस भरखरै भागेको छ तापनि त्यसपट्टी ध्यान नगई खाली गुहारमा लागिएको छ । काट्ने मानिस कता भाग्यो ? समात्न पर्‍यो भनी अ. स. ई. हेमप्रसादले प्यारेलालसँग भन्दा अहिले मलाई डाह भएको छ । चिनेकै मानिस हो । त्यो कहाँ जान्छ ? पक्री हालिन्छ भनी प्यारेलालले भने भनी अ. स. इं. हेमप्रसादले बयान गरेकोबाट प्यारेलालको काटी भाग्ने मानिस तत्काल पक्राउ गर्ने अभिप्राय नभई भाग्ने मानिस पक्राउ गर्न खोज्दा लालबहादुर फेला पर्ला भन्ने डरले भाग्ने मानिस समात्ने पट्टी हटक गरेको देखिन्छ । जनकलाल भागेको भनी जनकलालको स्थान लिन खोज्ने लालबहादुर भागेकोले नै काटी भाग्ने मानिस पक्रन पट्टी छेका हालेको हो भन्ने कुरालाई उपरोक्त अ. स. ई. हेमप्रसादको बयानबाट पुष्टी मिल्छ । यी सब कुरा अपराध गरेको अवस्थामा प्रकट हुने चिन्हहरू हुन् । किनभने त्यस्तो अपराध भए गरेको छ । त्यस्ता अवस्थामा कुनै पनि मानिसको मानसिक स्थिति ठिक रहन्न । यो मनोबैज्ञानिक कुरा हो । घाउ बनाउँदा बेठाममा पनि घाउ बन्न जानु, काटी भाग्ने मानिस पट्टी विचारसम्म पनि नहुनु, आफूलाई घाउ पनि लगाई सोही नाङ्गो खुकुरी हातमा लिई बनावटी प्रकृति देखाउनु, यी सब कुराहरू साधारण अवस्थामा अर्थात मानसिक स्थिति ठिक भएको अवस्थामा हुने कुरा होइनन् । आफूलाई खुकुरी लागिसकेकोले होस ठेगानमा नभई समात्ने विचारै आएन भन्ने प्यारेलालको भनाई छ । आफूलाई काट्ने मानिस जसको कठालो समेत समाती सकेको र बाहिर कुसुले पूर्णप्रसाद पनि गुहारमा आइसकेको छ भने पछि त्यस्तो मानिसलाई समात्न नसक्ने कुनै कारण देखिँदैन । लास रानी पोखरीमा फाली सकेपछि प्यारेलालको पसलमा आई प्यारेलालको ललाबहादुरको लालबहादुरसंग खुकुरीले आफ्नो शरिरमा आफैंले घाउ लगाई काट्यो, मार्यो भनि कराउँछु, तँ भागे जस्तो गर्नु भन्ने सल्लाह अनुसार म भागें भन्ने जुन कथन छ, त्यस कुरालाई यी माथिका कुराहरूले गहिरो तरिकाले समर्थन गरेको देखिन्छ । खुकुरी हेर्दा पनि चलन व्यवहारमा नआएको बिल्कुल नयाँ खुकुरी छ । फेरी जनकलाल खुकुरी भिरी हिँड्ने किसिमको मानिस हो भन्ने कुरा कतैबाट देखिदैंन । अर्को मुख्य प्रमाण लाग्ने कुरा प्यारेलालको पसलबाट बरामत भएको ३ गजको स्वदेशी कपडा छ । मर्ने जनकलालको मुखमा कपडा कोची राखेको रहेछ भन्ने लालबहादुरको भनाई छ । कपडामा रातो रातो दाग हुनुको साथै चिउराको टुक्राहरू पनि देखिएको छ । प्यारेलाल तर्फको भनाईमा यो कपडा २।३ महिना अघि प्यारेलालको छोरा भर्‍याङबाट लडी विरामी हुँदा अस्पताल लैजाँदा छोरालाई बेर्ने काममा प्रयोग भएको हो र त्यसै बेला छोराले वान्ता गरेको दाग हो भन्ने जिकिर छ । त्यति लामो समयसम्म ग्राहकहरू आउने जाने पसलमा यस्तो कपडा रही रहन सक्छ भन्ने अनप्रतितको कुरा हो ।

(प्रकरण नं. ७३)

     यी सब कारणहरूले गर्दा प्यारेलालको पसलबाट जनकलाल भागेको नभई लालबहादुर नै जनकलाल बनी भागेको रहेछ भन्ने कुरा सिद्ध हुन आएको छ । प्यारेलालले नै त्यस्तो जघन्य अपराध गरी कसूर छिपाउन त्यस्तो रचना गरेको प्रष्ट देखिएको छ । उपरोक्त कारण प्रमाण परिबन्दबाट प्यारेलालकै कर्तव्यबाट जनकलालको ज्यान मरेको ठहर्नाले तपसिलमा लेखिएको विषयमा तपसिलमा लेखिए बमोजिम गर्ने गरी अरू विशेष अदालतको फैसलामा लेखिएको बुँदा प्रमाणबाट समेत इन्साफ उक्त विशेष अदालतको मनासिब ठहर्छ ।

(प्रकरण नं. ७४)

(५)  लासजाँच गराउँदा ज्यान सम्बन्धका ३ नम्बर बमोजिम रीत पुर्‍याई खुलाउनु पर्ने कुराहरू खुलाई लास जाँच नगरेको देखिएमा ज्यान सम्बन्धीका ४६ नं. बमोजिम हदैसम्मको दण्ड जरिवाना हुने ।

     देहायका मानिस के रानी पोखरीमा मौकाको लासजाँच गराउँदा ज्यान सम्बन्धीका ३ नम्बर बमोजिम रीत पुर्‍याई खुलाउनु पर्ने कुराहरू खुलाई लासजाँच गरेको नदेखिँदा ज्यान सम्बन्धीका ४६ नं. बमोजिम विशेष अदालतका ०१४।४।१६।६ का फैसलाले देहाय बमोजिम गर्ने गरेको जरिवानाले नपुग्ने भई उक्त ऐन बमोजिम हदैसम्मको देहाय बमोजिका दरले जरिवाना हुन्छ ।

(प्रकरण नं. ७६)

(६)   लासजाँच गर्दा डाक्टरहरूले लासजाँच गर्न ल्याएको समय र लासजाँच भएको समय लेख्नुपर्ने । मृत्युको कारण पत्ता लाग्न गाह्रो भएमा पेटमा पाईएका पदार्थहरू रासयनिक जाँचको निमित्त बचाएर राख्नुपर्ने । प्रचलित कानून र मेडिकल जुरिसप्रुडेन्समा देखाउनु खुलाउनु पर्ने कुरा विवरण सहित खुलाई जाँच गर्नु पर्ने ।

     प्रस्तुत केसमा डाक्टरहरूबाट भएको लासजाँचमा जो जति कुराहरू खोल्नु खुलाउनुपर्ने थियो यथार्थ खुलेको देखिएन । लासजाँच गर्न ल्याएको समय र लासजाँच भएको समय लेख्नु पर्ने साथै मृत्युको कारण पत्ता लाग्न गाह्रो भई शंका उत्पन्न भएमा लासजाँच गर्दा पेटमा पाईएको पदार्थहरू रासयनिक जाँचको निमित्त बचाएर राख्नु पर्छ भन्ने मेडिकल जुरिसप्रुडेन्सका किताबहरूमा लेखिएको देखिन्छ । आईन्दा हुने लासजाँचमा मर्नेको कुन किसिमबाट मृत्यु भएको छ, त्यसको सिलसिलामा प्रचलित कानून र मेडिकल जुरिसप्रुडेन्सका किताबहरूबाट के कति कुरा देखाउनु खुलाउनु पर्छ ? त्यसको ख्याल राखी देखिएसम्मको विवरण खुलाई जाँच गर्नु भनी डाक्टरहरूलाई सूचना दिन स्वास्थ्य मन्त्रालयलाई लेखी पठाइदिनु ।

(प्रकरण ७७)

(७)  लासजाँच मौका तहकिकात गर्दा प्रचलित कानूनको आधारमा रही ज्यान सम्बन्धीका ३ नं. बमोजिम खुलाउनुपर्ने कुराहरू खुलाई, पाएसम्म सरजमिनका धेरै मानिसहरू राखी मौका तहकिकात लासजाँच गर्नुपर्ने ।

     प्रस्तुत केसमा भएको मौका तहकिकात लासजाँचमा ज्यान सम्बन्धीका ३ नं. को रीत पुर्‍याई पुलिसबाट खुलाउनुपर्ने कुराहरू खुलाई कारवाई गरेको नदेखिएकोले आयन्दा पर्न आउने यस किसिमका मृत्युका लासजाँच मौका तहकिकात गर्दा प्रचलित कानूनको आधारमा रही ज्यान सम्बन्धीका ३ नं. बमोजिम खुलाउनु पर्ने कुराहरू खुलाई पाएसम्म सरजमीनका धेरै मानिसहरू राखी मौका तहकिकात लासजाँच गर्नु भनी पुलिसहरूलाई सूचना दिन गृह मन्त्रालयलाई लेखी पठाई दिनु ।

(प्रकरण ७८)

अपीलाट तर्फबाट : प्ली. बलभद्र मित्र

विपक्षी तर्फबाट      : सि. एडभोकेट देवनाथ प्र. वर्मा

फैसला

      १.     यसमा आज दिनको १ बजे दानबहादुर वडा घुम्दै जाँदा रानी पोखरीमा मानिस डुवी रहेको देखेको जाहेर गरेकोले जाहेर गरेको छु भन्ने समेत स. इ. तिलकबहादुरको जाहेरी र २०१३।२।७ को दिन १ बजेको टायममा कं. दानबहादुर वडा घुम्दै जाँदा रानी पोखरीको उत्तर पट्टीको छेउमा पानीमा मानिसको टाउको देखि जाहेर गरेको छु भन्ने असन चौकीको जाहेरी आएबाट काठमाण्डू मजिष्ट्रेटको साक्षी समेत लिई तपाईहरूलाई समेत सामेल गराई पानीमा टाउको मात्र देखिने गरी अरू सबै पानीमा डुबेको लास झिक्न लगाई किनारामा राखी हेर्दा डोरे कमीज सेतो फाटेको सुरुवाल लगाएको दुबै आँखा केही खुलेको मुखबाट पानी निस्केको हात गोडा ढारी माडी परेको दुबै गोडा खुम्चेको उत्तानो पारी सो लास उल्टाई हेर्दा अन्त घाउ चोटपटक केही देखिएको । सो लास कसको हो ? निजसँग कसैको झैझगडा भई कसैले कर्तव्य गरी मारी फालेका हो कि ? आफै आई हाम्फलेको हो । सबै व्यहोरा लेखी देउ भनी सोधनी हुँदा चित्त बुझ्यो । लास हेर्दा पू. १ नम्बर धुलिखेल बस्ने रेशमलालको छोरा जनकलालको हो । हिजो रात अन्दाजी ११ बजे निज र म पसलमै सुतेकोमा ११।। का टायममा साहु तपाई कुन टायममा सुत्नु हुन्छ भन्दा मैले १२।१ बजे सुत्छु भने म उत्तानो परी बायाँ हात छाती निर राखी म निन्द्रामा पर्न गएछु । त्यसै अवस्थामा हिजो नयाँ दाप समेतको खुकुरी किनेको थियो । सो खुकुरीले मेरो घाँटीमा सेर्न खोज्दा देब्रे हातको औंलामा काटी घाउ लाग्दा निंद खुली सो खुकुरी समाउँदा कुस्ता कुस्ती भई निज भागेको थियो । निजको कोट खुकुरी जुत्ता समेत डि. एस. पि. अफिसमा दाखिल गरी निजको खोजतलास गर्दै थिएँ । पक्राउ खाई सजाय पाउला भनी डरत्रासबाट निजले अपहत्या गरी यो रानी पोखरीमा आई हामफाली मरेको हो भन्ने समेत प्यारेलाल माडबारी र लासको प्रकृति लेखिए बमोजिम थिएछ । कसैले कर्तव्य गरी मारी फालेको होइन । प्यारेलालका भनाईबाट डरत्रासले नै फालहानेको होलान् भन्ने समेत जयनारायण समेतको ०१३।२।७ को सरजमिन मुचुल्का ।

      २.    सास रोकिनाले मृत्यु भएको बुझिन्छ । सास रोकिनाको कारण भन्न सकिंदैन भन्ने समेत जनकलालको पोष्टमार्टम उल्था ।

      ३.    जनकलालको लासजाँच भएकोमा कर्तव्य भवितव्य वा आत्मघातबाट मृत्यु भएको ? राम्रो नखुलेको भन्ने बुझिएकोले साँचो भए डा. प्रकाशबहादुर समेतको अध्यक्षतामा बोर्ड बसी तथ्य यथार्थ गर्ने कोशिस गर्नुहोला भन्ने समेत स्वास्थ्य मन्त्रालयबाट श्री डा. प्रकाशबहादुरलाई लेखेको चिठ्ठी ।

      ४.    प्यारेलालको पसलमा जाँच बुझ गर्दा ढोका खापामा रगत थोपा चुइएको । थाममा रगतका छिट्टाहरू देखिएको र पुरानो काठको बाकस खोली हेर्दा अं. ३।। गज लामो स्वदेशी नयाँ कपडा खुचमुच परेको । केहीं रगत वा हडिलो पानी जस्तो टाटा टुटी देखिने । भात वा चिउराको जस्तो दाग लागेको । पट्याई राखेको छ भन्ने समेत ०१३।२।१० को सरजमिन मुचुल्का ।

      ५.    जनकलाल कर्तव्यबाटै मरेको जस्तो लाग्छ भन्ने समेत लालसिंह महर्जनको र काल कर्तव्य छुट्टयाउन सक्दैनौ । प्यारेलालको चाल चलन बेसै छ भन्ने समेत लक्ष्मी दासमानन्धर समेतको सरजमीन मुचुल्का भएको ।

      ६.    प्यारे समेत साहु महाजनसँग लेनदेन व्यवहार थियो । जेठो छोरो जनकलाल श्री ५ महाराजधिराजको राज्याभिषेक हेर्न वैशाख १९ गते घरबाट शहर आएको थियो । बैशाख २६ गते घर फर्की मो. रु. ३१२५। लिई सहर आएको । ०१३।२।७ गतेका दिन १२ बजेका टायममा जनकलालले प्यारेलाललाई हतियार चलाई काटी बेपत्ता भयो भन्ने उमरलालले सुनाएकोले सहर आएको । ४ बजे साँगा पुग्दा सहरबाट प्यारेको दाजु भन्ने समेत र पुलिस इन्सपेक्टर समेत मोटरमा बसी आएको भेटी तिम्रो छोराले प्यारेलाई काटी भागी गएकोले तिम्रो घरमा खानतलासी गर्न आएको भनी मलाई फर्काई खानतलासी गरी आएँ । म पनि निजहरूकै साथमा आएको । बनेपा पुगे पछि अरूनलालले तिम्रो छोरा मरिसकेको छ । लास रानी पोखरीमा फेला पर्‍यो भनी सुनाएकोले राती ८ बजे सहर आईपुगें । लास अस्पताल लगिसकेको रहेछ । छोरा जनकलालको लासजाँचमा घाउ चोटपटक देखिएको र निज छोरा प्यारेका पसलमा सुतेको र त्यहाँ वारदात भएमा र छोराको कोट जुत्ता समेत त्यहाँबाट वरामद भएकोमा प्यारे नै सावित भएको । हत्यारा मर्नुपर्ने सम्भव कारण केही नभएको । प्यारेका खानतलासी गर्दा निजका दुकानबाट मुखमा कोचिएको लुगामा खाएको पदार्थ समेत टाँसी कक्क्रक्क परेको कपडा सेतो मोजा माथि रगतको थोपा भएकोले निज प्यारे अघिदेखि कारोबार भएको साहु हुँदा निज कहाँ बस्न गएको मौका कुनै कुराका कारणबाट वादविवाद उठी झगडा हुँदा प्यारेले बोल्न नसक्ने गरी मुखमा कपडा कोची कर्तव्य गरी मारी निज छोरा जनकलालको लास रानी पोखरीमा लगी फाली सो कुरा छिपाउनका लागि मात्र जनकलालले मलाई काटी भाग्यो भनी हल्ला फिंजाई षडयन्त्र रचेको हो । को को भई के गरी मारे ? पत्ता लगाई पाउँ भन्ने समेत रेशमलालको बिन्तिपत्र ।

      ७.    शुक्रबारका दिन अं ११ बज्न ५।७ मिनट बाँकीमा आई म यही सुत्छु भनेबाट जनकलालको बाबु रेशमलाल समेतसँग मेरो कारोवार बसाउठ भइरहेको मानिस हुँदा सुत्न दिएको थियो । रातको अं. ३ बजे जनकलाल उठी मेरो छेउमा आएबाट पिसाब फेर्ने भए ढोका छेउमा प्वाल छ त्यहीं फेर्नुहोस भने पछि गएको थियो । शनिवारको बेलुका ८।८ मा कुरा हुँदै थियो । जनकलाल आई मेरो हिसाब गरी दिनुहोस भन्दा तिम्रो हिसाब थाहा छैन । आज मलाई २८००। नाफा भयो भनी जनकलालले भनेको थियो । त्यसपछि ११ बज्न ५।७ मिनेट बाँकीमा जनकलाल आइपुगेपछि १।१ चुरोट खाई सुतें । ऊ केही बेर पछि निदाई बसेको अवस्था घाँटीतर्फ हतियार लागेको जस्तो लागि बिउँझिदा घाँटी माथि हात राखेको हातमा घाउ भई हतियार पक्रदा खुकुरी रहेछ । खोस्न खोज्दा २।३ मिनेटसम्म खोसाखोस भयो । त्यसै बेला म कराएको । म सँगैको लुगा सिउने कम्पनीले के भयो ? साहु भन्दा खुकुरी खस्यो । पसलको ढोका खोल्न निजलाई घच्याउ भन्दा निजले घच्याउदा ढोका खुल्न गएको हो । ढोका ख्ुलेपछि सोही ढोकाबाट निज जनकलाल दक्षिण तर्फ भई फसिकेब जाने गल्ली तर्फ भागी गयो । म कराउँदै थिएँ । जानकी समेत आइपुगेर परोपकारमा औषधी राख्न गएको । डाक्टर नभएबाट मोटरमा म पुलिस समेत बसी अस्पतालमा पौने १ मा पुगी डाक्टरले औषधी गरी दिएपछि फर्की आएँ । खुकुरी, कोट, जुत्ता समेत वारदातकै दिन पुलिसले ल्याई सकेको थियो । ३ गजको स्वदेशी कपडा शिवरात्री पछि मेरो छोरा भर्‍याङबाट खसेको बोकी अस्पताल लाँदा छोराले वान्ता गरेको लागेको हो । भुवादारी मोजाहरूमा लागेको रगत मेरै हो । रूपैंयाको लालचले हतियार चलाएको हुनुपर्छ । निज जनकलाल मेरो पसलमा मरेको होइन । रानी पोखरीमा लास देखि मुचुल्कामा लेखी दिएकै छु । घरमा काम गर्ने नोकर कान्छी कान्छा र दोकानमा लालबहादुर छ भन्ने समेत प्यारेलालको मौका कागज ।

      ८.    रानी पोखरी भित्र माहादेव गणेश भैरवका जेष्ठ महिनामा पूजा गर्ने मेरो पालो थियो । जेष्ठ ७ गते बिहान अं. ७।८ बजे साँचो मेकलर साहेबसँग भएकोले ढोकामा पूजा गरी सो बखत रानी पोखरीमा लास भए नभएको मलाई केही याद भएन ? भन्ने समेत पूर्णप्रसादको ठाडो कागज ।

      ९.    जेष्ठ ६ गते राती पौने एक घण्टा बसी पौने नौ बजे प्यारेको दोकानबाट उठी गएँ । त्यस बखत हिसाब गरी देउ भन्न आउने मानिस मैले देखें । जनकलालको लास रानी पोखरीबाट निस्क्यो भन्ने सुनें । हेर्न गईन । त्यसकारण जनकलालको मृत्यु के भई भयो ? म जान्दीन भन्ने समेत रहीम खाँको कागज ।

      १०.    गहना आफ्नै हस्ताले रिपोर्ट गरी प्यारे कहाँ जिम्मा दिएको हो । नाम नामेसी भन्न सक्दिन । जनकलाल के भई मरे ? थाह छैन भन्ने समेत नारायणप्रसाद उपाध्यायको ठाडो कागज ।

      ११.    ०१३।२।६ का दिन राती अं. १२।१२।। का टायममा म रतिरामको दोकानमा सुतेका ठाउँमा प्यारे, रत्न सुब्बा समेतका मानिस आई आई. जी. पी. मा समेत फोन गरेका थिए । प्यारेको पसलमा बस्ने मानिसले प्यारेलाई काटे भन्थे । भोलिपल्ट दिउँसो प्यारेलाललाई काटी भाग्नेको लास रानी पोखरीमा निस्क्यो भन्ने सुनें । कर्तव्य अकर्तव्य के हो ? भन्न सक्तिन भन्ने समेत विरबलप्रसाद माडबारीको ठाडो कागज ।

      १२.   ०१३।२।६ को बेलुका १० बजे निस्की प्यारे कहाँ जाँदा बसी रहेको रहेछ । १५। मिनेटबाद महावीर आएपछि कुरा गरी पौने ११ बजेसम्म बसी आएको हौं । म आउँदा प्यारे मात्र थियो । भोलिपल्ट प्यारेको पसलमा सुत्ने जनकलालले काटी भाग्यो भन्ने सुनें । दिनको अं. ३ बजे प्यारे समेत मेरो कारमा बसी रानी पोखरीमा गए म बार बाहिर नै बसें । प्यारे समेत अरू मानिस बार भित्र गए । निज मर्ने जनकलालको लास रानी पोखरीमा टाउको सम्म देखिएको राम्रो नहेरेकोले काल कर्तव्य के भई ? मरेको हो म जान्दीन भन्ने समेत रतिरामको ठाडो कागज ।

      १३.   जेष्ठ ६ गते रतिराम कहाँ सुतेको थिएँ । रातको १२।। का टायममा खलबलले बिउझँे । ३।४ जना माडबारीले प्यारेलाललाई जनकलालले काटी भाग्यो भन्ने कुरा गरेको सुनें । दिउँसो ४ बजे रानी पोखरीमा जनकलाल मरेको खबर सुनी हेर्न जाँदा धेरै भिड थियो । डरले धेरै बेरसम्म नहेरी फर्कें । काल कर्तव्य भन्न सक्तिन भन्ने समेत रत्मान श्रेष्ठ र वीरवल माडबारीका मिलानसँग लेख्न लक्ष्मण खड्काको मौका कागज ।

      १४.   ६ गते रतीरामकहाँ सुतेको थिएँ । फोनमा क कस्ले कुरा गरे थाहा छैन ? भोलिपल्ट विहाँन जनकलालले प्यारेलाई काटी भाग्यो भन्ने सुनी घरतर्फ गयौं । अरू थाहा छैन भन्ने समेत वैजनाथ श्रेष्ठको ठाडो कागज ।

      १५.   प्यारेकहाँ महिनाको रु. ५०। खाने पुरानो नोकर हुँ । पसलमा काम गरी घरमा सुत्ने गरी आएको । ०१३।२।६ का दिन अघिपछि जस्तै सबेरै पसलमा गई खोली काम गरें । हिजो जनकलाल पसलमा सुत्न आएको पोका राख्न दिएको फुकाई हेर्दा ५।६ रूपैंयाँ र कागज खेश्रा रहेछ भनी प्यारेले भन्थे । त्यस पछि रामेश्वर माडबारी अं. ७ बजे आउँदा हिजो जनकलाल उठी बत्ती बाली म सुतिरहेको ठाउँतरि उभियो । शंका लाग्यो भनी रामेश्वरलाल र १२ बजेको बखत हिजो बेलुका म मात्र बसेको कोठामा जनकलाल पस्न आयो । निजको नियत खराब रहेछ भनी जहानले भन्थी । म एक्लै पसलमा सुत्ने हुनाले बचाउको निमित्त एक थान खुकुरी किनेर ल्याउ भनी मो. रु. पाँच दिएकोले रु. ४।५० मा खुकुरी किनी ल्याई दिएँ । बेलुका जनकलाल साहुसँग हिसाब गर्नुछ । एकछिनपछि आउँछु भनी गए । अं. ८ बजे साहुसँग विदा भई कान्छा भन्ने रामबहादुर र म डेरा महाबौद्धमा आई भात खाई सुती बसेको बखत ११।। बजेको टायममा ढोका घच्घचाई उठाएबाट हेर्दा प्यारे देखि किन साहु भन्दा जनकलालसँग लेनदेन हिसाबको कुरामा मुखामुख भई हातपात हुँदा जनकलाल मर्न गयो । तिमीलाई १०००।१२०० पनि दिन्छु । महिनाको रु. १०० पाउने गरी तलब पनि बढाइ दिन्छु भनेकोले सालो जितबहादुर रामबहादुरलाई उठाई साथ साथ प्यारेको दोकानमा पुगेपछि पसलको ढोका बन्द गरी लास पसलको दक्षिण तर्फमा कपडाले छोपी राखेको । मुखमा कपडा कोची राखेको लास बोरामा कसी म रामबहादुर जितबहादुर समेत भई रानी पोखरीमा लगी हाली कपडा बोरा चौरमा फ्याँकी म प्यारे कहाँ फर्की गएँ । प्यारे बसी रहेको रहेछ । निज जनकलाल यहाँ सुत्न आइरहेको अरूले थाहा पाएको छ । जाहेर नगरे म पर्छु । तिमी भागे जस्तो गर । म जनकलालले काटी भाग्यो भनी हल्ला गर्छु भन्यो । खुकुरी झिकी दिन लागेको मैंले काट्दा धेरै घाउ लाग्छ भन्दा आफूलाई आफैंले कहाँ कहाँ हो ? काटी पसलमा बसी चिच्याई कराएको बखत पसलसँगको कस्ले के भयो ? भन्दै आएको बखत म भागी गएँ । भोलिपल्ट लास निस्केपछि प्यारे समेत गई फर्की आएपछि वि. देवराज आई कर्तव्य हो भनी जनता कराउँदै छ । डाक्टरले जाँच्दा राम्रो हुनुपर्छ भने । अं. ४ बजे रतिराम रघुनाथ गोपी सोहनलाल जयनारायण समेत बसी डाक्टर हात लिई आफैं डुबी अपहत्या गरी मरेको गराउन त्रिरत्नलाई बोलाई ल्याउ भनेकोले बोलाई ल्याएँ । के के गरे थाहा छैन ? जनकलाल पसलबाट भागेको हैन । काल कर्तव्यका हकमा प्यारेका भनाई बमोजिम हातपात भई मृत्यु भएको हुँदा कालले मरेको हैन । अरू को को थिए ? भन्न सक्तिन भन्ने समेत लालबहादुरको ठाडो कागज ।

      १६.    जेष्ठ ७ गतेका बिहान ८।। बजे प्यारेलाई हेरी दिन पर्‍यो भनी बोलाएकोले गई हेरी फर्कें । जनकलाल मरेको काल कर्तव्य के हो ? म भन्न सक्तिन भन्ने समेत डा. चटर्जीको ठाडो कागज ।

      १७.   जेष्ठ ६ गते अ. १२। बजे हल्ला भएकोले सुन्दा धुलीखेलका साहुका छोराले प्यारेलाललाई काटी भागे भनेको र मेरो जीपमा चडी अस्पताल लगी औषधी गरी फर्केको हो । रानी पोखरीमा डुबेको अस्पताल ल्याएको लास हेर्दा कर्तव्यबाटै मरेको जस्तो लाग्छ । यसको कर्तव्य भन्न सक्तिन भन्ने समेत हर्षनारान मानन्धर र जीपको किलन्दर म हुँ । रानी पोखरीबाट निस्केको लासको काल कर्तव्य के हो ? थाह छैन भन्ने समेत राम खड्काको ठाडो कागज ।

      १८.   म प्यारेकहाँ नोकरी गर्ने गर्थें । जेष्ठ ६ गतेको रात म पनि भिनाजु लालबहादुरसँग माहाबौद्धमा सुतेका । जितबहादुर पनि थियो । भिनाजुले प्यारेले बोलाएको छ भनी गयांै । दोकानमा नचिनेको १ जना माडबारी पनि थियो । मुखमा कपडा कोचिई मरी रहेको जनकलाललाई पूर्णप्रसादले बाटो देखाई म समेत ४ जनाले रानी पोखरीमा लगी फालेको हो । जो ठहर्छ भन्ने समेत रामबहादुर भन्ने जितरामको ठाडो कागज ।

      १९.    जेष्ठ ६ गतेका राती ११।१२ बजे फोनबाट के के कुरा गरे ? भोलिपल्ट बिहान जनकलालले प्यारेलाललाई काटी भाग्यो भन्ने र जनकलाल मरेकोमा प्यारेलाललाई शंका गरेका छन् भन्ने पनि सुनें भन्ने समेत रतिरामको नोकर टेकबहादुरको ठाडो कागज ।

      २०.   जेष्ठ ६ गते लालबहादुरको डेरा महाबौद्धमा सुतेको । लालबहादुरले प्यारेले बोलाएको भनेकाले जितराम लालबहादुर समेत र म गयौं । प्यारेको दोकानमा मुखमा कपडा कोची मरी रहेको जनकलाललाई पूर्णप्रसादलेबाटो देखाई चारैजना भई रानी पोखरीमा लगी फालेको हौं । जो ठहर्छ भन्ने समेत जितबहादुरको मौका कागज । जेष्ठ ६ गते रतिरामकहाँ सुतेको । राती १ बजे विहारीलाल समेत आई कुरा गरें । भोलिपल्ट जनकलालको लास रानी पोखरीमा निस्क्यो । के भई मरेको हो ? थाह छैन भन्ने समेत लिलानाथको ठाडो कागज ।

      २१.   मलाई कसैले डाक्टरसँग राम्रो लास जंचाई दिनु भनी अराएको र मैले डाक्टरलाई भनेको समेत छैन भन्ने समेत त्रिरत्न गुभाजुको ठाडो कागज ।

      २२.   म प्यारेका नोकर हुँ तापनि जेष्ठ ६ गते तमाखु भरी डेरामा सुत्न गएँ । भोलिपल्ट धुलीखेले साहुले प्यारेलाई काटी भागे भन्ने सुनें । रानी पोखरीबाट निस्केको लास कस्को हो ? के भई मर्‍यो ? थाहा छैन भन्ने समेत भक्तबहादुरको ठाडो कागज ।

      २३.   म प्यारेका नोकर हुँ तापनि जनकलाल मरे विषयमा मलाई केही थाह छैन ? भन्ने समेत कृष्णमान श्रेष्ठको ठाडो कागज ।

      २४. जेष्ठ ६ गते राती १२। बजे सडकमा मानिस खलबल गरेकोले बिउँझी हेर्दा प्यारेले चोरले काटी भाग्यो । गुहार भनी कराएकाले गई हेर्दा त्यहाँ २ जना पुलिस र विहारी माडबारी समेत थियो । प्यारेको हात रगताम्मे थियो । परोपकारमा लाँदा डाक्टर नभएकोले वीर हस्पीटल पठाई भाग्नेलाई पक्रन फोन गर्नुपर्‍यो भनेकोले रतिरामको फोनमा गई आइ. जी. पी. लाई खबर गरिदिएँ । भोलीपल्ट रानी पोखरीमा निस्केको लास के भई मरेको हो ? थाह छैन भन्ने समेत सु. रत्नलाल श्रेष्ठको ठाडो कागज ।

      २५.   म प्यारेलालकहाँ भाडा चुलो गर्ने हुँ तापनि रानी पोखरीमा निस्केको लाश के भई मरेको हो ? थाहा छैन भन्ने समेत कान्छी भन्ने ठूलीको ठाडो कागज ।

      २६.   जेष्ठ ६ गते राती रतिरामकहाँ सुतेको थिएँ । राती सुब्बा भन्ने समेत आई फोन गरे । भोलिपल्ट रेशमलाललाई भेटी तिम्रो छोराको लास रानी पोखरीमा निस्क्यो भनी दिएँ । अरू कुरा थाहा छैन भन्ने समेत अमृतलालको ठाडो कागज ।

      २७.   जेष्ठ ६ गतेका राती १२ बजे नयाँ सडकमा हल्ली खल्ली छ भनेकोले गई हेर्दा प्यारेले मलाई चोरले काटी भाग्यो भन्थे । अस्पताल लगी जंचाई जाँचेकोमा मैले पनि सही गरें । जनकलाल काल कर्तव्य के भई मरेको हो ? थाह छैन भन्ने समेत खड्गबहादुर श्रेष्ठको ठाडो कागज ।

      २८. प्यारेको पसलमै लुगा सिउने काम गरी त्यहीँ सुत्थें । जेष्ठ ६ गते अं. १२। बजे प्यारेले मलाई चोरले काटे गुहार भनी कराउँदा ढोका खुल्लै रहेछ । १ जना भागे जस्तो पनि लाग्यो । मैले जनकलालको लास बोकाई लगी रानी पोखरीमा फालेको र मैले सहमती दिई मारे मराएको हैन । जनकलाल के भई मरे थाहा छैन ? प्यारेले भाई भाई भन्ने सिमन्टी घर भरी लगाएको १ जना माडबारीले प्यारेका घरबाट मानिस निस्की भागेको देखें भनी भन्नु भनी सिकाएको थियो । अरू थाहा छैन भन्ने समेत पूर्णप्रसादको ठाडो कागज ।

      २९.   रानी पोखरीमा १ जना मानिस मर्‍यो भन्ने सुनें । के भई मरेको हो ? थाह छैन भन्ने समेत तुलसीमाया कृष्णप्रसादको ठाडो कागज ।

      ३०.   मर्ने जनकलालको डाक्टर जाँचमा पेटमा पानी छैन भन्ने सुनकोले कर्तव्यबाटै मरेको शंका लाग्छ भन्ने समेत उमरलालको ठाडो कागज ।

      ३१.   जेष्ठ ६ गतेका रात अं. १२।। को टायममा हल्ला भई हेर्न आउँदा धुलीखेले जनकलालले मलाई काटी भाग्यो भनी प्यारेलाल भन्थे । भोलिपल्ट रानी पोखरीमा प्यारेकहाँ सुत्नेको लास छ भन्ने सुनें कर्तव्य जस्तो लाग्छ, भन्ने समेत जानकीप्रसाद प्रधानको ठाडो कागज।

      ३२.   महिना दिन जति भयो डाक्टरको पूर्जी हेरी प्यारेलाई पेन्सिलिन इन्जेक्सन दिएको छु । अरू कुरा थाह छैन भन्ने समेत कम्पाउण्डर इन्द्रप्रसादको ठाडो कागज ।

      ३३.   जनकलाल के भई मरेको हो ? थाहा छैन भन्ने समेत शिवचरनर सिंहको ठाडो कागज ।

      ३४.   निज राम तामाङ्ग मेरो छिंडिमा डेरा गरी बसेको हो । जेष्ठ ६ गते रात कहाँ थियो ? थाह छैन भन्ने समेत नरेन्द्रनाथको ठाडो कागज ।

      ३५.   जेष्ठ ६ गते मेरो घरबाट निज जितराम निस्केको । भोलिपल्ट आएकाले सोद्धा भिनाजुको डेरा महाबौद्धमा सुतें भन्थ्यो । अरू कुरा थाहा छैन भन्ने समेत काले तामाङ्गको ठाडो कागज ।

      ३६.   सरकारको निर्णय बमोजिम यो मुद्दा हेर्न विशेष अदालतलाई सौंपेको छ भन्ने समेत काठमाडौं मजिष्ट्रेटको चिठ्ठी ।

      ३७.   प्यारेसँग अघि देखिको कारोबार गरिराखेको । निज कहाँ बस्ने गरेको मौका कुनै कारण वादविवाद उठी झगडा हुँदा मुखमा कपडा कोची जनकलाललाई कर्तव्य गरी मारी रानी पोखरीमा लास फाल्न लगाई सो कुरा छिपाउनको लागि जनकलालले मलाई काटी भाग्यो भन्ने हल्ला फिंजाएको देखिएकोले निज प्यारेको कर्तव्यले मेरो छोरा मरेको हो । जेष्ठ १५ गतेमा बिन्तिपत्र दिए बमोजिम गरी पाउँ भन्ने समेत रेशमलालको बयान ।

      ३८.   सबै कुरा मौका कागजमा लेखी दिएको छु । लास रानी पोखरीमा फाल्न जाँदा पूर्णप्रसाद पनि गएको हो । प्यारेले रु. १०००।१२०० दिन्छु भनेको दिएको छैन । लास फालेको कुरा कुनै अड्डामा जाहेर गरेको छैन भन्ने समेत लालबहादुरको बयान ।

      ३९.   जेष्ठ १२ गते मलाई पुलिसले पक्री लगी कुटपीट गरी प्यारे कहाँबाट लास लगी रानी पोखरीमा फालेको भन्नु । तिमी छुट्छौ भनी सिकाएकाले कागज गरेको हुँ । कुटेको खत नहुँदा अड्डामा उजुर गरेको छैन । प्यारेलाई चिनेकै छैन भन्ने समेत जितबहादुर तामाङ्गको इन्कारी बयान ।

      ४०. जेष्ठ १० गते पुलिसले पक्री ऐ २८ गते सम्म कुटी लालबहादुरले सिकाएको समेत मौका कागजमा लेखेको हुँ । मैले लास देखेको छैन । बाहिर खत नभएकोले मैले घाउ जँचाएको छैन । जेष्ठ ६ गते बागबजार डेरामै छु भन्ने समेत रामबहादुर भन्ने जितरामको इन्कारी बयान।

      ४१.   जितबहादुर लालबहादुर, रामबहादुरलाई रु. ३ का दरले खर्च दिनुहवस भनी प्यारेले दिएको रु. ९। यसै साथ दाखेल गरेको छु भन्ने समेत कं. तेजबहादुरको रिपोर्ट ।

      ४२. लालबहादुर, रामबहादुर मेरो नोकर भएबाट हामीलाई सरकारी सिधाले नपुगी भाडा बन्धक राखेका छौं । केही खर्च पाउँ भनी खबर पठाएकोले रु. ९। दिएको हुँ भन्ने प्यारेलालको कागज र मौका कागजमा ३ मिनेट कुस्ता कुस्ती भनेकोमा ३० मिनेट लेखिन गएछ । जनकलाल रेशमलालसँग रीस इवी केही छैन । निजहरूसँग लेना छ । जेष्ठ ५।६ गते मात्र जनकलाल सुत्न आएको हो । निजले रूपैंया लिई आएको छैन । निजले गरेका वारदात र भागी गएको समेत मौका कागजमा लेखाएको छु । लालबहादुरले लोभमा परी कागज गरेका हो । यस विषयमा वि. देवराज समेत कसैसँग केही कुरा भएन । रामबहादुर जितबहादुरले ठाडो कागजमा त्यस्तो किन लेखे ? निजै जान्लान भन्ने समेत प्यारेलाल माडबारीको बयान ।

      ४३.   मौकामा कागज गरेकोमा १ जना मानिस भागेका जस्तो लागेको थियो भन्ने र प्यारेले भाइ भाइ भन्थ्यो १ जना माडबारीले सिकाएको भन्ने लवजहरू मैले नभनेको । पछि लेखिन गएछ । सो बाहेक अरू मौका कागज ठिक छ । लालबहादुर, जितबहादुर, रामबहादुरहरूले किन त्यस्तो लेखे ? निजहरू नै जानुन भन्ने समेत पूर्णप्रसाद कुस्लेको इन्कारी बयान ।

      ४५. सबै व्यहोरा मौका कागजमा लेखी दिएको छु । डाक्टर चिनेको र आवतजावत समेत छैन भन्ने समेत त्रिरत्न गुभाजुको बयान ।

      ४६.   प्यारेसित जनकलालले बारमासे खेल्छ भन्ने कुरा गरेको थिएन । मौका कागज भने बमोजिम लेखिएको हो भन्ने समेत अमृतलालको बयान ।

      ४७. जेष्ठ ७ गतेको ४ बजे हामीहरू डुल्न जाँदा जनकलाल श्रेष्ठ रानी पोखरीमा मरीरहेको लास देखेको हुँ । प्यारेलाललाई राती काटी भाग्यो भन्ने हल्ला सुनेको हुँ । आफैं डुबी मरेको वा कसैले मारी फालेको हो ? थाह छैन । लालबहादुरले डाक्टर मिलाउने भनी म समेत उपर किन लेखे जान्दीन भन्ने समेत मोहनलालको बयान ।

      ४८. डाक्टरलाई जाँचमा राम्रो गरी जँचाउन पर्छ भन्ने कुरा मैले कौने मत सल्लाह गरी भनेको छैन । लालबहादुरले टुक्रा टुक्री कपडा लिने गरेमा मैले गाली गर्ने गरेको थिएँ । त्यसैको रिस इवीले पोलेको हो भन्ने समेत रघुनाथ माडबारीको बयान ।

      ४९. जेष्ठ ७ गते बिहान प्यारेलाललाई जनकलालले काटी मार्‍यो भन्ने हल्ला सुनें । दिउँसो २।।। ३ बजे जनकलालको लास निस्क्यो भन्ने सुनी हेर्न गएँ । मुचुल्कामा सही गरेको छु । म समेतले डाक्टर मिलाउन त्रिरत्नलाई डाक भनेको छैन भन्ने समेत जयनारायणको बयान ।

      ५०. ज्येष्ठ ७ को दिनको ४ बजे प्यारेकहाँ गएकै छैन र डाक्टर मिलाउन कुरा गरेकै छैन । लालबहादुरले म समेत उपर किन त्यस्तो बयान गर्‍यो ? निजै जान्लान भन्ने समेत रतिराम माडबारीको बयान ।

      ५१.   ०१३।२।६ को रातीको कुरा सरजमिनमा लेखी दिएको छु । त्रिरत्नलाई बोलाई डाक्टर मिलाउने कुरा गरेको छैन । लालबहादुरले किन त्यस्तो लेखे ? निजै जान्लान भन्ने समेत गोपीराम घिरैयाको बयान ।

      ५२.   प्यारे लोग्ने हुन् । जनकलाल रानी पोखरीमा डुबी मरे भन्ने हल्ला सुनेको हुँ । जनकलाललाई नचिनेकोले म एक्लै भएको बेला कोठामा आएको छैन । निजको नियत खराब भनी मैले लोग्नेसँग भनेको पनि छैन । लालबहादुर ठूलीले किन त्यस्तो बयान गरे ? निजहरू जान्लान् भन्ने समेत चन्द्रावति मारवाडीनीको बयान ।

      ५३.   ज्येष्ठ ६ को राती अं. १२।। को टायममा हल्ला भई जाँदा धुलीखेलेले मलाई काटी भाग्यो भनी प्यारेले भने । रतिरामको फोनबाट आइ. जी. पी. सँग कुरा भयो । जनकलाल के भई मरेको हो ? थाह छैन भन्ने समेत बिहारीलाल माडबारीको बयान ।

      ५४. ६ गतेको बिहान घरै छु । प्यारसँग भेटघाट छैन । लालबहादुरले मलाई जनकलाल उपर शंका लाग्छ । राती उभों हेरिरहेको थियो भनी मलाई भनेको कौने कुरा होइन । जनकलालको लास ७ गते निस्केको हो । के भई मर्‍यो ? थाह छैन भन्ने समेत रामेश्वर मारवाडीको बयान ।

      ५५.   ६ गतेको राती अं. १०।११।। मा हरी किर्तनबाट फर्की घर आउँदा प्यारेको दोकान खुला थियो । बसी चुरोट खाई घर आयौं । जनकलाल के भई मरेको हो ? थाहा छैन भन्ने समेत अमीलाल माडबारीको बयान ।

      ५६.   प्यारेकहाँ कपडा किन्ने गरेकोले जेष्ठ ७ गते प्यारेकहाँ गएको । ४ बजे गएकै छैन । तन्नाहरू उठाउँने बारे सोधेको । अवस्थाले अड्डाले जाँच गर्न आउनुपर्ने हुनाले आफूले थाह पाएँ । जानेको कुरा जवाफ दिएको हुँ । अरू कारण केही छैन भन्ने समेत वि. देवराजको बयान ।

      ५७.   जेष्ठ ७ गते बिहान प्यारेलाई धुलीखेलेले काटी भागे भन्ने सुनेकोले जाँदा धुलीखेलसम्म गईदिनु पर्‍यो भनी प्यारेले भनेकोले गई बेलुकी ९ बजे इन्द्रचोक आएको हुँ । जनकलालका लास रानी पोखरीमा निस्क्यो भन्ने सुनें । अरू थाह छैन भन्ने समेत तेकचन माडबारीको बयान ।

      ५८. ७ गते जनकलालले प्यारेलाई काटी भागेको उजुर आएको छ । पक्रन जाउँ भनी एस. पी. हर्कबहादुरले भनेकाले गई निजलाई नभेटी फर्की आएको हुँ । लिखित अडर छैन भन्ने समेत इ. पद्मबहादुरको बयान ।

      ५९.   जेष्ठ ६ गते राती इन्द्रचोकमा पालो थियो । रातमा हल्ला भयो । गई हेर्दा प्यारेको हातमा घाउ थियो । जनकलालले काटी भागेको भनेको र निजले छाडेको खुकुरी जुत्ता समेत भनी दाखिल गरेकोले डि. एस. पी. अ. मा बुझाएको हो । औषधी गर्न प्यारेलाललाई अस्पताल पनि लगेको हो भन्ने समेत अ. स. इ. हेमप्रसाद सिं दिलबहादुरको बयान ।

      ६०.   दानबहादुरलाई वडा घुम्न पठाउँदा रानी पोखरीमा लास देखेँ भनेकोले जाहेरी लेखी पठाएँ भन्ने समेत अ. स. ई. निलबिक्रमको बयान ।

      ६१.    जेष्ठ ७ गते रानी पोखरीमा लास देखी जाहेर गरेको हुँ भन्ने समेत सी. दानबहादुरको बयान ।

      ६२.   सबै कुरा मौका कागजमै लेखी दिएको छु । प्यारेले छाडेको माल यही हो भनी जुत्ता कोट समेत देखाएकोले भाग्नेले छाडेको माल लान पर्छ कि भनी पुलिसले भन्दा लानु पर्लासम्म भनेको हुँ । अरू अडर गरेको छैन भन्ने समेत सु. रत्नलालको बयान ।

      ६३.   लास पानीमा पाइए तापनि मृत्युको कारण डुबेर भएको हो भन्ने देखिंदैन । सास रोकिएको कारण पत्ता लगाउन सकिदैन भन्ने समेत ७ जना डाक्टरहरूको बोर्डको राय ।

      ६४.   बुझिएसम्मबाट जनकलालसँग वारदात भएमा प्यारेलाल सावित देखिएको । घाउ जाँच पोष्टमार्टमबाट मर्नेको निधार नाक समेतमा घाउ चोट परेको । पेटमा पानी नभएको भन्ने समेत र सास रोकिनाले मृत्यु भएको भन्ने लेखिएको देखिएको । धेरैजना सरजमिनले प्यारे उपर शंका गरेको । प्यारेलालकहाँबाट लास बोकी रानी पोखरीमा लगी फालेमा समेत लालबहादुर यस अड्डामा समेत र जितबहादुर जितराम पुलिसमा सावित हुनाले र साहुनीको कोठामा गयो भन्ने र लेनदेनको कुरामा झगडा भयो भनी प्यारेले मलाई भन्थ्यो भन्ने समेत लालबहादुरको कागज बयानबाट देखिन आएको । मर्नेको ठाउँ ठाउँ चोटपटक । नाकको प्वाल रगतले रंगिएको । गिद्दीको पर्दा दायाँ बायाँ फियो कलेजो मृगौलामा रगत जमेको भन्ने ७ जना डाक्टरहरूको बोर्डले लेखी दिएकोले जनकलालसँग प्यारेको झगडा भई प्यारेले जनकलाललाई मुक्काले हानी रनथन्याए पछि आफूलाई कुटपीट गर्ला भन्ने हेतुले जनकलालको नाक मुखमा कपडा कोचि प्यारेलालको कर्तव्यबाट जनकलाललको मृत्यु भएको र प्यारेको भनाई लालचमा लागि लालबहादुर समेतलाई रूपैंयाँ पैसा दिई लास रानी पोखरीमा फाल्न लगेलगाएको समेत ठहर्छ । डाक्टर मिलाई अपहत्या गरी मरेको गराउन खोजे भने तर्फ उपरोक्त लेखिए बमोजिम प्यारेलालले आफ्नै मनासिबले आफैले आफूलाई बनाएको घाउ चोट भन्ने देखिएको । त्यसरी आफूले गरेको कर्तव्यको लास आफ्ना विश्वासी नोकर लालबहादुरलाई दिनु रखाउनु गरी रानी पोखरीमा फाल्न लगाई सकेपछि जयनारायण समेतले डाक्टर मिलाउने कोशिस गरेको र लासजाँच गराएको ठहर्दैन भन्ने समेत ०१४।४।१८।६ को बिशेष अदालतको फैसला रहेछ ।

      ६५.   मुद्दै उलटपुलट पर्ने गरी लासजाँच गरेमा पुरै सजाय हुनुपर्ने र रूपैंया समेत दिलाई पाउनु पर्नेमा सो नभएबाट चित्त बुझेन भन्ने समेत वादी रेशमलालको अपील ।

      ६६.   मलाई खुकुरीले हानेबाट मलाई मार्ने भयो भनी हंसले ठाउँ छोडी पक्रने साहस नभएकोले भागी गएको हो भनी देसीलाई दामल गर्ने गरेमा चित्त बुझेन भन्ने समेत प्यारेलालको अपील जिकिर ।

      ६७.   १ महिना भित्र मुद्दा छिनी छाडी दिनु भन्ने गरी पाउँ भन्ने चन्द्रावतीको निवेदनमा चाँडो फैसला गरी जाहेर गर्नु भन्ने समेत हुकुम प्रमांगी ।

      ६८.   प्रमाणहरू बुझि पेश गर्न पटक पटक भएको डिभिजन बेञ्चको आदेश ।

      ६९.   पेश हुन आएको प्रस्तुत मुद्दामा थुनामा रहेका अपीलाट प्यारेलाल र धरौटी अपील गर्ने रेशमलालको उपस्थितिमा अपीलाट प्यारेलालको तर्फबाट विद्वान सिनियर एडभोकेट देवनाथ बर्मा र रेशमलालको तर्फबाट विद्वान प्लीडर श्री बलभद्र मिश्रको बहस भएको सुन्यौं । श्रीदेवनाथको गम्भिर बहस र श्री बलभद्र मिश्रबाट मुद्दामा जो प्रकाश दिनुभयो, त्यसबाट बेन्चलाई यस मुद्दा निर्णय गर्न धेरै मद्दत भएको छ । बहसको सिलसिलामा देवनाथजीले भन्नु भयो : मानिस मार्नु भनेको कुनै साधारण कुरा होइन । इन्द्रचोक जस्तो चल्ती फिर्तीको ठाउँमा मानिस मार्नु, वरपर कसैलाई थाह नहुनु, वादविवाद भनौं भने कसैले सुनेको छैन । अर्थात् मार्नु पर्ने किसिमको वादविवाद त्यस अवस्थामा उठेको देखिंदैन । खाली टिनको मात्र बार भएको अर्को कवलमा कुसुले सुजिकार मौजुद छ । निजले समेत थाहा नपाउनु, राज्याभिषेकको समयमा खुलेको प्रदर्शनी हेर्ने मानिसको आवतजावत हुने समय छ । वारदात भएको स्थान अघिल्तिर टेक्सीका ड्राइभरहरू छन् । त्यसको अलावा हरएक अपराधमा अपराध गर्ने मनसाय हुनु पर्छ । प्यारेलालको जनकलालसँग कुनै रिसइवी थिएन भन्ने कुरा जनकलालको पिता रेशमलालजीको बयानबाट सिद्ध हुन्छ । लेनादेना भएको साहु उल्टो प्यारेलालकै जनकलालसँग ३।४ हजारको हिसाब बाँकी छ । यस्तो अघिदेखि सम्बन्ध भएको जनकलाललाई मार्न पर्नेसम्म रिसइवी के थियो ? वादविवादको आवाज कसैले सुनेको होइन । आवाजको कुरामा खाली प्यारेलालको आवाज सबैले सुनेका छन् । घटनास्थलमा सवभन्दा पहिले कुसुले आई पुगे । प्यारेलालको पसलबाट मानिस भागेको निजले देखे । अनि जानकी आइ पुगे । अरूको भनाईबाट पनि मानिस केही लम्केर हिंडेको जस्तो देखें भन्ने भनाई । एंव रीत प्यारेलालकै आवाज सुनेर मानिस जम्मा भएका छन । अर्को कुरा जनकलाल नावालक नभई एक हट्टाकट्टा लायक युवक हुनुहुन्छ । एक जना प्यारेलालले त्यत्रो जवान व्यक्तिलाई एक्लै कसरी मार्न सक्ला । लासजाँचबाट कुनै घातक किसिमको ठूलो घाउ देखाएको छैन । मामुली छाला खुइलेका जस्ता साना साना घाउहरू छन् । जुनबाट ज्यान जान सक्तैन । एक जनाले एक जनालाई मुख थुनेर मार्नु असम्भव छ । मुखमा कपडा कोचेको भनौं भने मुखमा घाउ छैन । मानिस केही खराब चरित्रको थियो भन्ने कुरा वारदात भएको राती रतिरामको घरमा सुतिरहेका धुलीखेले मध्येको १ जनाले जनकलाल लखपति साहुको छोरा हो । त्यस्तो गर्न त नपर्ने हो । अलि खेलबाड गर्ने ल्याकत हो । चालचलन पनि राम्रै हो भन्ने कुरा गरेको थिए, भनी रत्नलाल श्रेष्ठले बयान गरेका छन् । कालुराम माडबारीले पनि सरजमिनमा सोही भनेको छ । यि सब कारणहरूले प्यारेलाल एक्लैले जनकलाललाई मार्न नसक्ने हुनाले प्यारेलालले जनकलाललाई मार्‍यो भन्ने कुरा असम्भव छ । खास प्यारेलाल साहुलाई काटन खोज्दा सफल हुन नसकी भागी डरका मारे रानी पोखरीमा हामफाली मरेको हो । पानीमा डुवी मरेको प्रकृति पनि मिल्छ । पानीमा डुबेर मरेकोमा पेटमा पानी नहुन पनि सक्छ । कहिलेकाँही पानीमा हाम्फाल्ने बित्तिकै अचानाकसँग हृदयको गति बन्द भई प्राण जान सक्छ र प्राण गई सकेपछि पानी पेट भित्र पस्ने खण्डै पर्दैन । फेरि डुबेर मरेकोमा आँखा बन्द वा केही खुलेको हुन्छ । प्रस्तुत मुद्दामा आँखा बन्द पाइएको छ । कपडा कोचेर मारेका भए आँखा खुलेको हुनुपर्छ । डुबेर मरेकोमा नाक र मुखबाट रगत लागेको जस्तो फिंज आउँछ । तर लाश जाँच ढिला गरी गरिएको हुनाले त्यो डुबेर मरेको चिन्ह अर्थात् प्रकृतिहरू हराएर पनि जान सक्छ । लासजाँच रिपोर्टमा लासजाँच गर्न ल्याएको समय लेखिएको छैन । चाहिने भन्दा बढी समय लगाई यो ढिला हुन गएकोले डुबेर मरेको अरू प्रकृतिहरू पाउन सकिएन । हराएर जान सक्छ । नाक मुख वरिपरिको फिंज पानीबाट लास बाहिर ल्याउँदा धोइएर पनि जाने हुँदा नदेखिएको हो । जनकलालको मुखमा कोचेको कपडा भनेको जुन प्यारेलालको पसलबाट निस्क्यो, त्यो प्यारेलालको छोरा बिरामी भई अस्पताल लगेको बेलामा बेरेको कपडा हो । त्यो कपडामा भएको पहेँलो रातो दागहरू प्यारेलालको छोराले वान्ता गरेको पदार्थ हो । सास अवरुद्ध नभई मानिस मर्दैन । सास रोकिएर मरेपछि पेटको पदार्थ माथि आउन सक्दैन । यदि जनकलालको लासजाँच गर्दा लासको पेटमा पाइएको पदार्थ र उक्त कपडामा लागेको पदार्थहरू रासयनिक जाँच (केमिकल एनालीसीस) भएको भए यथार्थ कुरा पत्ता लाग्ने थियो । सो भएको छैन । मेडिकल जुरिसपु्रडेन्सको किताबहरूमा लासजाँच गर्दा पेटको पदार्थ जाँच्न जँचाउन करै लाग्छ भनी लेखिएको छ । शंका लागेमा लासको पेटमा पाइएको पदार्थहरू जाँचको निमित्त बँचाएर राखिन्छ । डाक्टरहरूले गर्न पर्ने काम नगर्दा मेरो पक्षलाई सजाय हुनपर्ने होइन । शंका लागेमा शंकाको फाइदा अवस्य अभियुक्तलाई मिल्नुपर्छ । कारवाइमा ज्यादै ढिलाई भएको छ । कमिश्नर बसी कारवाई गर्ने कानूनी व्यवस्था छैन । त्यस जाँचको निमित्त दोस्रो ७ जना डाक्टरहरूको बोर्ड बस्यो । मन्त्रालयलाई त्यो अधिकार कहाँ छ ? अमृतलालबाट लुगा किन आएन ? रानी पोखरीमा भएको सर्जमीनमा जस्तो देखिएको छ, त्यस्तै हुन पर्ने । घाउ देखिएको छैन । पछि लासजाँचमा देखिएको घाउ म्याकलर साहेबले बाँसको टुप्पामा तारको चक्का बनाई लास झिक्न लागेको बेलामा लागेको हुनुपर्छ । लालसिं महजर्नको बयानबाट म्याकलर साहेबले लास झिक्न लागेको थियो भनी भनेको छ । पानी मुखबाट बगेको छ । गोडा खुम्चिएको देखिएको छ । यि सब कारणहरूले गर्दा जनकलाल डुबेरै मरेको हुनुपर्छ । प्यारेलालले मार्न पर्ने कारण पनि छैन । मारेको होइन । मौकाको सरजमीनमा एक थोक, लासजाँचमा अर्कै कुरा देखिने । यता प्यारेलालको पसलमा सुतेको बखत काटेर जनकलाल भाग्ने, जनकलालको लास भोलिपल्ट रानी पोखरीमा पाइने । एक जनाले उस्तै अर्को लायक जवानलाई मार्न नसक्ने हुँदा शंकाको फाइदाको सुविधा अभियुक्तले पाउनुपर्छ भनी भन्नुभयो ।

      ७०.   श्री रेशमलाल तर्फको विद्वान प्लीडर श्री बलभद्र मिश्रले आफ्नो बहसको सिलसिलामा जेष्ठ ७ गते राती जनकलालले काटेर भाग्यो भन्ने हल्ला भयो । मानिस आउन थाले । भोलिपल्ट खानतलासी गर्न पुलिस धुलिखेलमा पुग्यो । तर दिउँसो ठिक १ बजे तिर रानी पोखरीमा जनकलालको लास फेला पर्‍यो । चिनियाँलालको घरमा नून लिन जाँदा हल्लाको कुरा आयो । रक्षा केन्द्रको जनरल सेक्रेटरी कैलाशराम श्रेष्ठ पनि रानी पोखरीमा हेर्न गयो । लास पाखामा उतारेर राखेको देखियो । ढोकामा ताल्चा मारेर राखेको रहेछ । म पनि हेर्न गएको थिएँ । यही अदालतको सुब्बा त्रिलोकीलाई पनि भित्र पस्न दिएनन् । आइ. जी. पी. गोपाल शम्सेरलाई यहाँ कारवाइमा बेकाइदा गरेको जस्तो छ । आउन पर्‍यो भनी फोनमा भन्दा म विरामी छु । एस. पी. मानबहादुरलाई पठाउँछु भनी भन्नुभयो । ३ जना डाक्टरको रिपोर्टमा शंका लागि जनताले आवाज निकाल्यो । तत्कालिन प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, श्री ५ को तत्कालिन सेक्रेटरी श्री लोकदर्शन समेत आउनु भई ७ जना डाक्टरको बोर्ड बसी जाँच्ने कुरा सुनाएपछि हुल शान्त भएर गयो । ७ जना डाक्टरले पानीमा लास पाइए तापनि पानीमा डुबेर मरेका होइन भन्ने राय गरे । १२, १३ घण्टा पछि लास पानीमा उत्रेकोछ । पानीमा डुबेर मरेकोमा यति चाँडो लास पानी माथि उत्रदैन । पिसाबको थैली खाली देखिन्छ । रगत मगज र शरीरमा ठाउँ ठाउँमा जमेको देखियो । हाम्रो कानून बमोजिमको पानीमा डुबेको कुनै पनि प्रकृतिमा प्रस्तुत केस मिल्न आउँदैन । भनेको शरीरमा लागेका घाउ पनि नमर्दैको अवस्थाको हो भनी डाक्टरहरूले भनेका छन् । तसर्थ प्यारेलालको नोकर लालबहादुरले भने बमोजिम प्यारेलालले नै जनकलाललाई कर्तव्य गरी मारेको देखिन्छ । प्यारेलालले थुनिएको अवस्थामा लालबहादुर, रामबहादुर, जितबहादुरलाई रु. ३।३ का दरले दिनुभनी कं. तेजबहादुर मार्फत पठाएको पनि देखिएको छ । लालबहादुर, रामबहादुर, जितबहादुरले आफ्नो बिरुद्ध केही नबोलुन् अर्थात कसुर नखोलुन् भन्ने मुरादले घुस दिएको हो । रानी पोखरीमा मौका सर्जमीन हुँदा किन तेत्तीका माडबारी भेला भएका ? यत्रा ठूला व्यापारी यस्तो काममा कसरी अग्रसर भएका हुन् ? प्यारेलालको स्वास्नी समेत किन यस्तो हुलमा हेर्न आएको ? कसुर गरेको थियो र सबै चिन्तित भई आएका हुन् । सब प्रमाण परिबन्दबाट प्यारेलालले जनकलाललाई मारेकै हो भन्ने समेत बहस गर्नुभयो ।

      ७१.   यस बेञ्चका सामुन्ने निर्णय दिनुपर्ने देहायका २ प्रश्नहरू उपस्थित भएका छन् :

(१)   जनकलाल कसैको कर्तव्यबाट मरी लास रानी पोखरीमा फाल्न लगाएको हो वा जनकलाल आफैं रानी पोखरीमा हाम्फाली डुबी अपहत्या गरी मरेको हो ?

(२)   यदि कर्तव्यबाट मरेको हो भने कस्का कर्तव्यबाट मरेको हो ?

      ७२.   मर्ने व्यक्ति धुलीखेल बस्ने साहु रेशमलालको छोरा जनकलाल हो भन्ने कुरा निर्विवाद छ । लास पनि फेला परेकै छ । अब विचार गर्नुपर्ने मुख्य कुरा जनकलाल, जसको लास रानी पोखरीमा पाइयो, कर्तव्यबाट मरेको वा आफैं आई हाम्फाली मरेको के हो ? पहिले लास फेला परेको १३ साल जेष्ठ ७ गतेका दिन रानी पोखरीमा भएको मौका तहकिकात लासजाँच मुचुल्का हेरौं । दुबै आँखा केही खुलेको, दुबै गोडा खुम्चिएको, मुखबाट पानी निस्केको, हात गोडा धारिई भारी परेको, दुबै हातको मुठी केही खुलेको, शरीरमा कतै घाउ चोटपटक केही नदेखिएको । लास देखाई सोद्धा कर्तव्यको शंकासम्म पनि नगरी आफैं अपहत्या गरी मरेको जस्तो लाग्छ भन्ने भोटाहिटी बस्ने मोहनलाल कुसुले, चिकमुंगल बस्ने रामबहादुर रंजितकार र बानेश्वर ब्यारेक बस्ने सिं. केन्तबहादुर समेत ९ जना र हाम्फाली मरेको हो भनी किटान गरी बक्ने प्याफल टोल बस्ने नारानभक्त श्रेष्ठ समेत ६ जना र मलाई काटी भाग्ने यही हो, काटी मार्न नसकेकोले पक्राउमा परिन्छ भन्ने डरत्रासले यहाँ आई हाम्फाली मरेछ भन्ने इन्द्रचोक बस्ने प्यारेलालको भनाई भएको र मानिस केही बाह्रमासे खेल्ने पनि भएको र ३ जना डाक्टरहरूबाट हाल जेष्ठ ८ गते भएको लासजाँच रिपोर्टमा सास रोकिनाले मृत्यु भएको बुझिन्छ तर सास रोकिनाको कारण भन्न सकिन्न भन्ने लेखिएको देखिएबाट भने प्यारेलालका बयान बमोजिम प्यारेलाललाई काटी मार्न नसकेबाट पक्राउमा परिन्छ भन्ने डरत्रासले नै जनकलाल रानी पोखरीमा आई हाम्फाली मरेको हो कि जस्तो देखिन्छ । तर अपहत्या गरी मर्नु भनेको एक साधारण काम कुरा होइन । ठूलै असह्य मानसिक वा शारीरिक वेदना वा चोट पर्नुपर्छ । मानसिक स्थिति ठिक नियन्त्रणमा नरहेको अवस्थामा मात्र त्यस्तो सम्भव हुन्छ । प्यारेलाललाई काटी मार्न असफल भएको हुनाले नै जनकलालले मर्नुपर्ने सम्मको स्थिति आईपर्‍यो भन्ने कुरा विचारणीय छ । इन्द्रचोकमा भएको सर्जमीनमा १२ बजे सिंहदरबार जान लाग्दा टुंडिखेल पुग्दा मानिस एक जना रानी पोखरीमा मरेको छ भन्ने हल्ला सुनेर त्यहाँबाट आई लास हेर्न जाँदा बाहिरबाट सो लास जनकलालको भन्ने चिनें देखें । सरजमीन गरे नगरेको मलाई थाहा छैन । रानी पोखरी भित्र पस्न देउ भनी पालेलाई भन्दा मुख हेर्नेले अस्पताल हेर्न जानु भनी भनेकोले लास लगेपछि लासको साथ गएर भित्र मुर्दाघरमा राख्दा म पनि सो घरमा पसें । कपडा उघारी मैले नै हेर्दा मुख र नाकबाट रगत निस्केको, पेट पनि नफुलेको, हात खुट्टा कक्क्रक्क परी खुम्चिएको, पुर्परोमा घाउको चोट र गर्धनमा निल डाम समेत देखेकोले पानीमा डुबेर मर्नेको प्रकृति यो हुन नपर्ने ? प्यारेले नै कर्तव्य गरेको शंका लाग्छ । तर कुन किसिमको कर्तव्यबाट मरेको हो भन्न सक्तिन भन्ने समेत का. इ. यतखा बस्ने बालकृष्ण श्रेष्ठ, मुर्दाघरमा गै हेर्दा लास डुबेर मारकोमा हुनु पर्ने प्रकृति नदेखेको । र निधारमा घाउ भएको, मुख र नाकबाट रगत निस्केको, हात खुट्टा खुम्चेको, पेट नफुलेकोले हाम्फाली मरे भन्नमा शंका लागेकोले यताउता बुझ्दा प्यारेले कर्तव्य गरेको शंका लाग्छ भन्ने समेत सागरकुमार नेपाली, खुट्टा खुम्चिएको, हातको औंला खुम्चिएको, मुठ्ठी पारेजस्तो भएको, कुहिना खुम्ची हात उठाई राखेको टाउको माथि उठेको र पेट नफुलेको, मुखबाट हंडिलो र्‍याल रातो रङ्गको दुबै गालामा बगीरहेको र नाकबाट पनि रातो रातो हंडिलो रगतजस्तो बगीरहेको, निधारको दाहिने कुनामा चोटको चिन्ह देखेको । सो मानिस प्यारेलाललाई काट्ने भन्ने सुनेको र निज मर्ने कर्तव्यले नै मरेजस्तो लाग्छ । कर्तव्य गर्ने मानिस यो हो भन्न सक्तिन । अरू कुरा थाह छैन भन्ने लाल सिं महर्जन, र सोही मिलान गरी सदरकुमार श्रेष्ठ, गोपाल श्रेष्ठ र गम्भिरमान श्रेष्ठ र रामबहादुर क्षेत्री समेत ११।१२ गते भएका । धेरै सरजमीनले लेखी दिएका र ३ जना डाक्टरहरूको लासजाँच रिपोर्टमा सास रोकिनाको कारण पत्ता लगाउन नसकेता पनि छाला खुइलेका घाउहरू देखाउनुका साथै नाकबाट हुंडिलो पानी आएको देखाएको छ । इन्द्रचोकमा बकेको सरजमीनको भनाई डाक्टरहरूको लासजाँच रिपोर्टबाट समर्थित हुन आउँछ । किनभने रानी पोखरीको मौका तहकिकातमा प्यारेलाल, सोहनलाल, जयनारायणहरू भित्र पस्न पाउनु, अरू स्वतन्त्र दर्शकहरू भित्र पस्न नपाउनु र रानी पोखरीमा भएको लासजाँच मुचुल्कामा घाउसम्म पनि नदेखाई साराका साराले डुबेर मरेको भनी भनेको देखिंदा रानी पोखरीमा भएको लासजाँच मुचुल्कामा भर गर्न हुने देखिएन । उक्त सरजमीनले मुलुकी ऐन ज्यान सम्बन्धिको ३ नम्बरको देहाय ३ बमोजिमको अवस्था देखिने गरी कारवाई गरेको पनि देखिंदैन । तसर्थ यो रानी पोखरीमा भएको लासजाँच मौका तहकिकात बिल्कुल मुद्दा नै उलटपुलट हुने गरी भएको देखिन्छ । यो कुरा जनकलालको लासजाँच भएको कर्तव्य भवितव्य वा आत्महत्याबाट मृत्यु भएको राम्रो नखुलेको भन्ने बुझिएकोले साँचो भए डा. प्रकाशबहादुरको अध्यक्षतामा ६ जना डाक्टरुहरूको तुरुन्त बोर्ड बसी तथ्य यथार्थ गर्न कोशिस गर्नु भन्ने समेत स्वास्थ्य मन्त्रालयको आदेशानुसार ७ जना डाक्टरहरूको बोर्डले दोश्रो पटक लासजाँच गरी एकमत रिपोर्ट गरेकोमा मृत्युको कारण सास रोकिनाले नै भएको हो । लासजाँचबाट पत्ता लागेको कुराहरू र त्यो व्यक्ति गायब भएको र उसको लास पाइएको सम्भावित समय र लास किनारमा झिक्दा लासको ठर्रोपनाको अवस्थाबारे र पुलिसले दिएको खबर समेतको बिचारबाट लास पानीमा पाइए तापनि लास पानीमा डुबेर मरेको होइन । सास रोकीनाको कारण भने यकिन गर्न सकिदैन भन्ने लेखिएकोबाट उक्त ११।१२ गतेको सरजमीनको लेखाई बकाई समर्थित हुन्छ । अन्दाजी १२।१३ घण्टा भित्र लास उत्रेको नै देखिएको छ । प्यारेलालको तर्फबाट डाक्टरहरूलाई गरिएको १२ सवालको जवाफमा पूरा शरीरको स्पेसिफिक ग्राभिटी पानीकोभन्दा हलुका भएको हुनाले मानिस पानीमा पर्दा फोक्सोको हावा बाहिर निस्की सकेपछि मात्र माथि नउत्रने गरिकन तल डुब्दछ र लास कुहिई भएको ग्याँस लासलाई पानी भन्दा हलुका पारी सकेपछि मात्र माथि उत्रन सक्छ । पानी बाहिर मरेको लास पानीमा परेमा तलसम्म नडुबी उत्रेकै हुन्छ भनिएको छ । पानीमा डुबेर मरेको लास कति समय पछि पानी माथि उत्रन सक्छ ? भन्ने प्रष्ट किटानको जवाफ छैन तापनि लास कुहिई भएको ग्याँस लासलाई पानी भन्दा हलुका पारी सकेपछि मात्र माथि उत्रन सक्छ भनेपछि लास सड्न केही समय अवश्य लाग्छ र त्यस्तो नसडेसम्म त लास पानीमा डुबेर तलै रहने देखियो । यस विषयमा विद्वान सिनियर एडभोकेटको भनाइमा पानीमा हाम्फाल्नासाथ डरत्रास वा तोड परेर कहिलेकाहिँ ह्दय गति बन्द भई प्राण जानसक्छ र त्यस अवस्थामा पेटमा पानी पनि हुँदैन र लास तल नगै माथि उत्रेर बस्न सक्छ भन्ने तर्क पेश गर्नुभएको थियो । तर हिँउ जस्तो चिसो पानीमा झम्म हाम्फाल्दा त्यस्तो हुन सक्ला भनौं भने पनि प्रस्तुत केसको घटना ज्येष्ठ महिनामा भएको हो । पानीमा डुबी मरेको चिन्हहरूमा नाकबाट साबुनको फिंज जस्तो (केही रगत पनि मिसिएको) आउनु र नाक मुख वरिपरि जम्मा हुनु, हातको मुठी कसिएको हुनु र नङ भित्र माटो वा हात भित्र मुठीमा केही घाँस वा अरू केही चिज हुनु, पेटमा पानी हुनु, हात खुट्टा ढाडिई चाउरी परेको हुनपर्ने देखिन्छ । यी सब चिन्हहरू मध्ये केही रगतको छिटाछिटी भएको साबुनको फिंज जस्तो बाक्लो फिंज नाकबाट आउनु र नाक मुख वरपर जम्मा हुनु एक प्रमुख चिन्ह हो । जसको आधारमा यो मानिस पानीमा डुबी मरेको हो भन्ने अनुमान गरिन सकिन्छ भनी मेडिकल जुरिसपु्रडेन्सका किताबहरूमा पाइन्छ । प्रस्तुत केशमा यी कुनै पनि चिन्हहरू देखा परेको छैन । धेरै ढिला लासजाँच भएकोले फिंज र अरू पनि चिन्हहरू हराएर जाने सम्भव हुन्छ । फिंजको हकमा पानीबाट लास झिक्दा पखालिन सक्छ भन्ने प्यारेलाल तर्फका विद्वान सिनियर एडभोकेट देवनाथ बर्माजीले बहस गर्नु भएकोलाई फिंज पानीबाट लास उतार्दा पखालिए पनि पछि फेरि आउने किसिमको हो । लासजाँच पनि भोलिपल्टै भएको देखिएको छ । लास पाखामा झिकेपछि पनि फिंज नाकबाट आउँछ भनी मोदी भन्ने लेखकको मेडिकल जुरिसप्रुडेन्सको किताबमा लेखेको छ । रानी पोखरीको लासजाँच मुचुल्कामा घाउ चोटपटक थिएन । हुन सक्छ, साना साना घाउ भएकोले नाङ्गा आँखाले देख्न सएिकन होला । तर रानी पोखरीको बगैँचा बनाउने म्याकलर साहेबले बाँसको टुप्पामा तारको चक्का बनाई लास तान्न खोज्दा ति घाउहरू भएको हुृनुपर्छ भन्ने विद्वान वकिलको बहस थियो । तारको चक्का बनाई लास तान्न खोज्दा त्यतीका ६।७ ठाउँमा जस्तो घुँडामा, कुइनामा घाउ हुन सक्छ भनी विश्बास गर्न सकिन्न र पिसाबको थैलीमा समेत पिसाब नहुनु, मगज, फियो, कलेजो र मृगौलमा रगत जमेको देखिनु, जनकलाल गायब भएको ६ गते राती पौनेबाह्र, बाह्र बजेको समयदेखि रानी पोखरीमा लास उत्रेको समय ७ गते दिउँसो १ बजेतिर अन्दाजी १२।१३ घण्टामा लास पानीमा उत्रेको देखिएको हुनाले लास पानीमा पाइए तापनि पानीमा डुबेर मरको होइन, भन्ने डाक्टरहरूको रायमा यो बेञ्च पूर्ण रूपले सहमत हुन्छ । उपरोक्त कारणहरूले जनकलाल अपहत्या गरी पानीमा डुबी मरेको नदेखिई कर्तव्यबाट निजको ज्यान गई लास रानी पोखरीमा फालेको, फाल्न लगाएको देखिन्छ ।

      ७३.   अब हामी दोश्रो प्रश्नको विचार गरौं । यो घटना १३ साल जेष्ठ ६ गते राती १२।१५ मा चोरले काट्यो, ए पुलिस ए छिमेकीहरू हो बचाओ बचाओ भन्ने प्यारेलालको गुहारबाट शुरु भएको छ । पुलिसबाट दाखिल हुन आएको जुत्ता टोपी समेत मैले देखेँ । सो जुत्ता कोट टोपी समेत लगाई शनिवार हो गतेको याद भएन सोही राती निज जनकलालले मलाई खुकुरीले रेटी भागी गएको दिन हो । सो दिन भन्दा अघि शुक्रबारका दिनमा राती अन्दाजी १२ बज्न ५।७ मिनेट बाँकीमा आई म यही सुत्छु भनेबाट निज जनकलालको बाबु रेशमलाल समेतसँग मेरो अघि देखिको लेनदेन कारोबार भई बसउठ भईरहेको मानिस हुँदा त्यस बखतसम्म इमान्दारी साथ काम कारवाही गरिरहेको निजसँग राम्रो याद रहेन तापनि करीब ३ हजार ३५ सय मेरो रूपैंयाँ लिन बाँकी रहेको मानिस हुनाले सुत्छु भन्दा हुन्छ सुत्नु होस भनी सुत्न दिएको थिएँ । म आफ्नो दिनभर काम गरिरहेकोले रेकर्ड मिलाउन पाएको थिइन । कपडा किन्न गाहकी नभएका टायम सुत्ने बेलामा रेकर्ड मिलाउने हुनाले शुक्रबारको राती ९।। बजे देखिनै रेकर्ड मिलाई रहेको थिएँ । शनिवार पनि यहीँ सुत्छु भनी म एक्लै भई रेकर्ड मिलाउन किताब लिई हेर्न आँटेको बखत अं. ११ बजे र ५।७ मिनेट बाँकीमा निज जनकलाल आई पुगेपछि अं. ११ बजेको टायममा पसलको ढोका बन्द गरी माथि तलाको झ्यालबन्द गरी जनकलाल र मैंले एक एक चुरोट खाई बसी रहेको बेला मलाई सुत्न गरम लाग्छ बत्ती निभाइदेउ भन्दा बिजुली बलिरहेको निज जनकलालले नै निभाएपछि माथि लेखिए बमोजिम मेरो ठाउँमा म र जनकलाल १५।२० मिनेटको बाद माथि के को आवाज आएको भनी जनकलालले मलाई सोद्धा घरबेटीहरू बसेको छ । निजहरू हिंडेबाट आवाज आएको हुनपर्छ भनें । त्यसपछि १५।२० मिनेट बाद साहु तिमी सुत्यौ सुतेनौ ? भनी सोधेपछि त्यहँीँ सुत्नुहोस् । मलाई आफ्नु टायममा निद्रा लाग्छ भनेपछि म केहीबेर निदाई बसेको अवस्थामा मेरो घाँटीतर्फ हतियार लागेको जस्तो लागि म बिउँझिदा मेरो हात छाती देखी केही माथि घाँटीनिर हात राखी सुतेबाट हातमा घाउ भई सो घाउ भएको बायाँ हातबाट हतियार पक्रिंदा खुकुरी रहेछ । सो खुकुरीमा मेरो हात परी खोस्न खोज्दा २।३ मिनेटसम्म खोसाखोस भयो । त्यसै बेला म कराएको आवाजबाट मेरो सँगको लुगा सिउने कुसुले कम्पनीले के भयो साहु ? भन्दै निजको नाउँ मलाई थाहा छैन, निजको आवाज मैले सुनेपछि जनकलाल र मैले समाती खोसाखोस भैराखेको खुकुरी ढोकानिर खस्यो । त्यस बेला म आफैंले मेरो पसल ५ कबलमध्ये कुसुलेको पसलसँगको १ कबल छाडी दोश्रो कबलको ढोका खोल्न आएँ र सो ढोका खोल्न निजलाई घच्याउ भन्दा निजले घच्याउँदा ढोका खुल्न गएको हो । सो ढोका खोलिएपछि सोही ढोकाबाट पनि जनकलाल दक्षिणतर्फ भई फसिकेव जाने गल्लीबाट भागी गएर कराउँदै थिए । अरू मद्दत्गार नभएबाट सो भाग्ने जनकलाललाई कुसुले कम्पनीले पक्रेन वा पक्रन सकेन । त्यसको वाद इन्द्रचोक जुद्धसडक रोडमै बस्ने जानकी आई पुगेर निजले के भयो ? भन्दा मानिस भागेको मैले देखें भन्थ्यो । त्यस बाद स. पु. गो. का सुब्बा रत्नलाल आई पुगेको देखि मैले भन्दा हुन्छ भागेको मानिस पक्राउ गर्न कोशिस गरिने छ र केही धन्दामान्नु पर्दैन । तिम्रो औषधी उपचार गर्न यो बेला जम्मा भएका सबै मानिस भई पुलिस समेत साथ लिई परोपकारमा औषधी राख्न गएको थिएँ । डाक्टर भेट नभएकोले फर्की अस्पताल गएको । मेरो पसल तलासी हुँदा आएको ३ गजको स्वदेशी कपडाको हकमा शिवरात्रीपछि मेरो छोरा घरको भर्‍याङ्गबाट खसेबाट निज छोरालाई बोक्न सोधिएको सोदेशी कपडा मेरोकुमार निज छोरालाई छोप्न समेत राखेको हुँदा सो कपडामा छोराले वान्ता गरेको र र्‍यालहरू लागेका चिन्हदाग हो । अरू कुनै किसिमको होइन । सो कपडा अस्पतालबाट फर्काई ल्याएपछि पसलमै बेठनको थुप्रोमा राखेबाट रहेको हो । खुकुरीको हकमा मेरो होइन । निज जनकलाल सुत्न आउँदा मलाई याद भएन । माथि लेखिए बमोजिम जनकलाल सुत्न आई भागेबाट निजै जनकलालले लिई आएको हो । सो खुकुरीमा लागेको रगतको हकमा निज जनकलालले मलाई माथि लेखाई दिए बमोजिम खुकुरी लगाएपछि मैले खुकुरी समाई उठी निजलाई कठालो समाई निजलाई गाली गर्दा केहीबेरपछि मात्र खुकुरी निजका हातबाट छुट्टीएपछि मेरो हातमा लागेकोबाट सो देखाएको खुकुरीमा रगत लागेको हो । मलाई हतियार चलाएको अघिल्लो दिन शुक्रबारको गते याद भएन, सो दिन मेरो पसलमा जनकलाल सुत्दा मैले रुपियाँ थन्क्याएको देखेको थियो । सोही रूपैंयााको लालचबाट भोलिपल्ट शनिवारका दिन हतियार चलाएको हुनपर्छ । मलाई जनकलालले मार्नु पर्ने सम्मको रीस इबी अदावत केही थिएन । निजलाई पक्रन पक्राउन मलाई हतियार चलाई सकेकोले मैले निजलाई पक्रने आँट आएन र मैले पक्रन नसकेको हो । अरूले किन पक्रेन ? म जान्दीन । वारदातको अवस्थामा माथि लेखाईदिए बमोजिम वारदात जुद्धरोड नयाँ सडक इन्द्रचोकको पसलमा भएको हो । अन्त ठाउँमा होइन । मृत्युका हकमा मेरो पसलबाट भागी गएको साँचो हो । निज जनकलाल मेरो पसलमा मरेको होइन भन्ने समेत प्यारेलालको मौका कागज छ । यसको ठिक बिपरित प्यारेलालको पसलमा १५।१६ वर्ष काम गरेको पुरानो नोकर लालबहादुरले बयान गरेको छ । लालबहादुरको मौका कागजमा भनाई छ :

      ७४.   प्यारेलालको घरमा महिनाको ५० रूपैंयाँ खाने पुरानो नोकर हुँ । कपडा पसलमा काम गर्न बन्द नभएसम्म पसलमा बसी काम गर्न बन्द भएपछि आफ्नु डेरामा सुत्ने गरी आएको थिएँ । ०१३ साल जेष्ठ ६ गतेका दिन अघिपछि जस्तै बिहान सबेरै पसलमा गई पसल खोली काम गरी पसलमा आउँदा हिजो धुलिखेले साहु जनकलाल पसलमै सुत्न आएको थियो । पसलमा सुत्नुभन्दा अघि यो राख्नु भनी रुमालमा पोका पारेको दिंदा सो पोका कन्तुरमा राख्न खोज्दा सेपमा राखी देऊ भनेबाट सेपमा राखेको । सो पोका के रहेछ ? भनी फुकाई हेर्दा ५।६ रूपैंयाँ मात्र र अरू कागज खोष्टा मात्र रहेछ भनी प्यारेलालले मलाई भन्थे । त्यस पछि रामेश्वर माडबारी बिहान अं. ७ बजे आउँदा हिजो जनकलाल पसलमा सुतेको आधा रातका बखत जनकलाल उठी म सुती बसेका ठाउँनिर उभी रहेको देखि किन उभेको ? पिसाब फेर्न उठेको भए ढोका खोली राख्न पर्दैन । त्यहीँ ढोकानेर पिसाब फेरे हुन्छ भनें । मलाई हेरीरहेकोले शंका लाग्यो भनी रामेश्वरलाई भन्दा तिमीलाई शंका लागेपछि सोधेनौं र भन्थ्यो । त्यसपछि केही बेर बसी म भात खाई पसल आई केही बेर पछि अं. १२ बजेको बखत जनकलालले हिजो बेलुका मेरो घरमा भातखान गएको थियो । त्यस बखत म मात्र बसेको कोठामा जनकलाल पस्न आयो । निजको नियत खराब रहेछ भनी जहानले भन्थी । राती निज साहु उठी हेरिरहेको बिहान रामेश्वरलाई भनेको तिमीले सुनेकै छ । म एक्लै पसलमा सुत्ने हुनाले बचाउको निमित्त एक थान खुकुरी किनेर ल्याउ भनी मो. रु. ५। दिँदा ४।५० मा दाप सहितको खुकुरी किनी साहुलाई ल्याई दिएँ । त्यसै दिन बेलुका प्यारे भात खान गएको अवस्था जनकलाल आई साहु कहाँ गयो ? भनी मसँग सोध्दा भात खान जानुभएको छ । अहिले आउनुहुन्छ भनी मैले भनेपछि साहुसँग हिसाब गर्नुछ । कागज एक टुक्रा देउ भन्दा कागज दिएपछि के के हो ? लेखी अहिले म जान्छु एकछिनपछि आउँछु भनी गए । केहीबेरपछि प्यारेलाल आएपछि जनकलालको कुरा भन्दा आज सुत्न आइहाल्छ भनेपछि अं. ८ बजेका टायममा साहुसँग विदा भई रामबहादुर र म समेत मेरो डेरा महाबौद्धमा आई बेलुका भात खाई सुती बसेका बखत साहु प्यारेलाल आई अन्दाजी ११।। बजेको टायममा ढोका घच्घचाई उठाएबाट म उठी हेर्दा साहु प्यारेलाल देखेबाट किन साहुजी ? भन्दा जरुरी काम पर्‍यो तिमी उठ्नु पर्यो भनेबाट के काम पर्यो ? भन्दा हडबड् गरी कुरा गथ्र्यों । त्यस बेला मेरो डेरामा कान्छा भन्ने रामबहादुर, सालो जितबहादुर समेत सुती बसेको थियो । निज साहुले मलाई बोलाई आज सुत्न आएको धुलीखेले साहु जनकलालसँग मेरो र निजसँगको लेनादेना हिसाबको कुरामा मुखामुख भई हातपात हुँदा निज साहु जनकलाल मर्न गयो । आज जनकलालको लास १ नफ्याकिएको खण्डमा म ज्यानमारामा पर्दछु । तिमी मेरो घरमा १५।१६ वर्षसम्म बसेको मानिस मेरो विश्बासको हुँदा यो कुरा खोली तिमीलाई भनेको छु । तिमीलाई १०००।१२०० रूपैयाँ पनि दिन्छु । महिनाको रु. १००।१०० पाउने गरी तलब समेत बढाइदिन्छु भनेबाट जितबहादुर, रामबहादुरलाई उठाई साथमा लिई साहुकै साथसाथ प्यारेको दोकान पुगेपछि पसलमा पसेर हामीलाई बोलाएपछि साहसले पसलको ढोका बन्द गरी सो लास पसलको दक्षिण तर्फ छेउमा कपडाले छोपी राखेको कपडाहरू उठाउँदा दक्षिणपट्टी कोल्टो परी खुम्ची, पूर्व सिरान भई, लास परी रहेको देखाई दिएपछि हेर्दा, सो लासको मुखमा स्वदेशी बेठन कपडा मुखमा बुजो लगाई कोची राखेको रहेछ । सो कोची राखेको कपडा झिकी अरू कपडाहरू समेत पन्छाई लास बोरामा राखी स्वदेशी कपडाको नाम्लो बनाई लास बोकी पसलको दक्षिणतर्फ भई ६।७ घर नाघेपछि आउने गल्लीबाट पसी नभुङ्गलको दोबाटो भई रामबहादुर जितबहादुर समेत भई रानी पोखरीमा लगी लास घच्याटी पोखरीमा राखी, लास डुबेपछि फर्क्यौ । मलाई फर्की आउनु भनेबाट जाँदा प्यारे बसी रहेको रहेछ । निज जनकलाल पसलमा सुत्न आइरहेको अरूहरूले थाहा पाएको छ । जाहेर नगरे म पर्छु । त्यस उसले तिमी भागेजस्तो गर्नु म जनकलालले काटी भाग्यो भनी हलखल गर्छु भन्दा खुकुरी झिकी मलाई दिन लाग्दा मैंले काट्दा धेरै घाउ पर्छ भन्दा हो नी भनी सो खुकुरीले आफैंलाई आफैंले कहाँ कहाँ हो ? काटेपछि साहु प्यारेलाल पसलमा बसी चिच्याई कम्पनी मलाई ज्यानमारे ग्वाहार ग्वाहार भनी कराएका बखत कम्पनीले ढोका घचेटेपछि म भागी डेरामा आई सुतें । निज जनकलाल प्यारेलालको साथमा ६ गते राती सुती बसेको मानिस मरेको लास साहुले भनेबाट म समेत भई बोकी रानी पोखरीमा लगी फालेबाट जनकलाल पसलबाट भागेको छैन । प्यारेका भनाई बमोजिम हत्या नभई मृत्यु भएको हुँदा कालले मरेको हैन । आकस्मिक मृत्यु भई दवाउन खोजेको जस्तो लाग्छ । अरू को को थियो ? भन्न सक्तिन भन्ने समेत लालबहादुरले विशेष अदालतमा आएर पनि मौका कागजलाई नै समर्थन गरेको छ । पछि अदालतमा आई इन्कार गरेका छन् । तापनि ठिक लालबहादुरकै मिलानको रामबहादुर र जितबहादुरको मौका कागज छ ।

      ७५.   लेनदेन कारोबारको व्यवहार भएको जनकलालसँग प्यारेलालको इवी अदावत पनि केही भएको नदेखिएको । प्यारेलाल एक्लैले हट्टा कट्टा लायक युवक जनकलाललाई कसरी मार्न सम्भव हुन्छ ? प्यारेलाललाई काटी भागी बाह्रमासे खेल्ने आदत पनि भएको भन्ने भनाई भएकोले अन्यत्र कतै गई बाह्रमासे खेल्दा कसैको कर्तव्यबाट मर्न गएछ कि प्यारेलालको जनकलाललाई मार्न पर्ने सम्मको रिसइवी पनि केही भएको नदेखिएकोले शंकाको फाइदा अभियुक्त प्यारेलालले पाउँछन कि भन्नलाई प्यारेलालको धेरै वर्षदेखिको पुरानो नोकरले किन त्यस्तो बयान गर्‍यो ? कसैको लोभ लालच वा बहकावटमा लागि त्यस्तो बयान गर्‍यो वा भएको यथार्थ कुरा नै बतायो ? यो कुरा बिचारणीय छ, लालबहादुरको उपरोक्त बयानमा कतिसम्म सत्यता छ ? त्यो अरू स्वतन्त्र प्रमाणबाट समर्थित हुन्छ, हुँदैन ? सो विचार गर्नु अति जरुरी हुन आउँछ । अभियुक्त दोषी हुने गरी कुनै मतियार सरहको सहयोगि अभियुक्तले बयान गरेमा सो कुरालाई अरू स्वतन्त्र प्रमाणद्वारा समर्थन भएमात्र कसूर वारदात एकिन हुन आउँछ भन्ने सर्वमान्य कानूनी सिद्धान्त हो । यसै सिद्धान्तका आधारमा लालबहादुरको बयान कतिसम्म अरू स्वतन्त्र प्रमाणबाट समर्थित हुन्छ ? विचार गरि हेरौं ।

      ७६.   सर्वप्रथम यो कुरा आउँछ कि लालबहादुर प्यारेलालको एक विश्बासी पुरानो माहाबारी रु. ५०। तलब दिई राखेको नोकर हो । निजले अरूको बहकावटमा लागि यस्तो बनाबटी कुराको बयान दिएको हो कि ? भनौं भने सो कुरा कतैबाट प्रमाणित हुन सकेको छैन । न त प्यारेलालले नै लालबहादुरले घुस खाई त्यस्तो झुट्टा बयान दिएको हो भनी साबित गर्ने कोशिस गर्नु भएको छ । उल्टो प्यारेलालले नै लालबहादुरलाई घुस दिई आफ्नो पक्षमा ल्याउने प्रयास गर्नु भएको छ । लालबहादुर, रामबहादुर र जितबहादुरलाई जनही ३।३ रूपैंयाँका दरले घुस कं. तेजबहादुर मार्फत पठाउनु भएको मिसिलबाट नै देखिएको छ । लालबहादुर, रामबहादुर मेरो नोकर भएका र हामीलाई सरकारी सिधाले नपुगी भाँडा बन्धक राखेका छौं । केही खर्च पाउँ भनी खबर पठाएकोले रु. ९ दिएको हुँ । अरू कारणले होइन भन्ने प्यारेलालको भनाई छ । तर लालबहादुर, जितबहादुर र रामबहादुर थुनामा रहेको बखतमा नै बन्धकी निखन्ने के उपयुक्त बेला थियो ? फेरि लालबहादुर, रामबहादुर त प्यारलालकै नोकर भएकोले बन्धकी रहेको भाँडा निखन्न दियो भन्ने सम्झैं । तर जितबहादुर त प्यारेलालको कोही होइन । उसको भाँडाको बन्धकी निखन्न प्यारेलाललाई के मतलब ? लालबहादुर, रामबहादुर र जितबहादुर सबैको भाँडा बन्धकमा पर्नु र सबैको यसैबेला निखन्ने भन्ने कुरा पनि मिल्दो कुरा भएन । यसबाट यही प्रष्ट हुन्छ कि प्यारेलालले यी तिनै जना सहअभियुक्तलाई आफ्नो पक्षमा बकाउने कुप्रयास गरेको हो । तर कं. तेजबहादुरको इमान्दारीबाट यो काम उद्देश्य केही हदसम्म सफल हुन पाएन । यस्तो पुरानो विश्बासी नोकरले प्यारेलाललाई बनावटी कुराले फसाउन पर्ने कुनै कारण पनि देखिंदैन । फेरि लालबहादुरको बयानलाई ७ जना डाक्टरको बोर्डको रायले समर्थित हुन्छ । डाक्टरहरूको रिपोर्ट छ : लास पानीमा पाइए तापनि पानीमा डुबेर मरेको होइन । जब पानीमा डुबेर मरेको प्रकृति देखिंदैन, तब लास लालबहादुरको बयान बमोजिम नै फालिएको हो भनी विश्बास गर्न नपर्ने कुनै प्रर्याप्त कारण छैन । जनकलाल एक लायक हट्टा कट्टा देखिएको युवकले प्यारेलाललाई काटी मार्ने नियत भएको भए रेटेर मार्न पर्ने थिएन । १।२ चोटमा नै प्यारेलालको ज्यान जान सक्थ्यो । प्यारेलालको भनाई बमोजिम प्यारेलालले सेपमा दाम थन्क्याएको जनकलालले देखेको हुनाले सोही दामको लोभले प्यारेलाललाई काट्न खोजेको हो कि त ? भनौं भने पनि रेशमलाल ठुलै काँटको व्यापारी देखिएको छ । यस्तो हैसियतदारको छोराले त्यति दाम ने. रु. ७५२५।३४ भा. रु. ७९८८।। (जुन पसल जाँचबाट सेप कन्तुरमा रहेको देखियो) को लोभमा परी मानिस काटी मार्न सम्भव देखिंदैन । यदि प्यारेलालकै भनाई बमोजिम काटी मार्न नसकेको भए पनि त्यतिकैबाट मानिस रानी पोखरीमा फाल हाल्छ भनी भन्न कुनै तर्फबाट पनि मिल्ने देखिंदैन । प्यारेलालसँगै व्यापारिक कारोबार भएको व्यक्तिले प्यारेलाललाई नै काटी मार्न पर्ने केही कारण र नियत देखिंदैन । अब प्यारेलालको शरीरको घाउहरू विचार गरौंं । घाँटी निर घाउ लागेको जस्तो लागि बिउँझिएँ । देब्रे हात छातीदेखि केही माथि घाँटी निर राखी सुतेका बेलामा हातमा घाउ भएको । बायाँ हातबाट हतियार पक्रिदा खुकुरी रहेछ । उठी खुकुृरी समाती खोसाखोस भयो भन्ने र कठालो पनि समातें भन्ने प्यारेलालको भनाई छ । खुकुरी समाती सकेपछि प्यारेलालको घाँटीमा कसरी आठवटा घाउ पर्न गयो ? खुकुरी खोसाखोस हुन थाली सक्यो । आठवटा घाउ हुञ्जेलसम्म प्यारेलाल निन्द्रामा भएको भन्नु पर्‍यो । काट्नेले पनि एकै चोटी नकाटी साना साना आठवटा घाउ बनाईरहन पर्ने कारण छैन । घाउ लाग्नासाथ बिउँझें भनेपछि घाँटीमा आठवटा घाउ लाग्न सक्ने अवस्था नै परेन । त्यसको साथसाथै दाहिने हातमा पनि घाउ देखाइएको छ । दाहिने हातमा घाउ हुन पनि नमिल्ने कुरा छ । खोसाखोस गर्दा खुकुरी ढोकानेर खस्यो भन्ने प्यारेलालको भनाई बायाँ हातले खुकुरी समाती खोसाखोस भएको फेरि कठालो पनि समातेको भने पछि दाहिने हातले नै समातेको भयो । यसरी दाहिने हातमा घाउ हुने खण्ड परेको देखिंदैन । तर प्यारेलालको घाउ जाँचको केस फारमबाट दाहिने हातमा घाउ देखाएको छ । प्यारेलाल नाङ्गो खुकुरी लिई पुलिस सेन्ट्री बसेको ठाउँमा पुगेको देखिएको छ । कं. दिलबहादुर बुढाथाकीले प्यारेलाल नाङ्गो खुकुरी लिएर हिंडेको देखी खुकुरी लिई हिड्न हुन्न । मैले खुकुरी खोसी सेन्ट्रीमा नै राखेको हुँ भनी भनेको छ । प्यारेलाई काटी जनकलाल भागेको भए काटी भाग्ने मानिस समात्ने कोशिस पट्टी नलागी नाङ्गो खुकुरी लिई गुहार गुहार गरी हिड्ने काम स्वभाविक देखिंदैन । काट्न लागेको अवस्थामा गुहार माग्न स्वभाविक कुरा हो । तर काट्ने मानिस भागेपछि भाग्ने मानिस समात्न खोज्नु नै पहिलो काम हुन्छ । तर प्रस्तुत केसमा मानिस भरखरै भागेको छ तापनि त्यसपट्टी ध्यान नदिई खाली गुहारमा लागिएको छ । काट्ने मानिस कता भाग्यो ? समात्न पर्‍यो भनी अ. स. ईं. हेमप्रसादले प्यारेलालसँग भन्दा अहिले मलाई डाहा भएको छ । चिनेकै मानिस हो । त्यो कहाँ जान्छ । पक्री हालिन्छ भनी प्यारेलालले भने भनी अ. स. ई. हेमप्रसादले बयान गरेकोबाट प्यारेलालको काटी भाग्ने मानिस तत्काल पक्राउ गर्ने अभिप्राय नभई भाग्ने मानिस पक्राउ गर्न खोज्दा लालबहादुर फेला पर्ला भन्ने डरले भाग्ने मानिस समात्ने पट्टी हटक गरेको देखिन्छ । जनकलाल भागेको भनी जनकलालको स्थान लिन खोज्ने लालबहादुर भागेकोले नै काटी भाग्ने मानिस पक्रन पट्टी छेका हालेको हो भन्ने कुरालाई उपरोक्त अ. स. इ. हेमप्रसादको बयानबाट पुष्टी मिल्छ । यी सब कुरा अपराध गरेको अवस्थामा प्रकट हुने चिन्हहरू हुन् । किनभने त्यस्तो अपराध भए गरेको छ । त्यस्तो अवस्थामा कुनै पनि मानिसको मानसिक स्थिति ठिक रहन्न । यो मनोबैज्ञानिक कुरा हो । घाउ बनाउँदा बेठाममा पनि घाउ बन्न जानु, काटी भाग्ने मानिस समात्न पट्टी विचार सम्म पनि नहुनु, आफूलाई घाउ पनि लगाई सोही नाङ्गो खुकुरी हातमा लिई बनावटी चिल्लाहट गर्दै हिड्नु र डाह छटपटीको प्रकृति देखाउनु यी सब कुराहरू साधारण अवस्थामा अर्थात् मानसिक स्थिति ठिक भएको अवस्थामा हुने कुरा होइनन् । आफूलाई खुकुरी लागिसकेकोले होस् ठेगानमा नभई समात्ने विचारै आएन भन्ने प्यारेलालको भनाई छ । आफूलाई काट्ने मानिस, जसको कठालो समेत समाती सकेको र बाहिर कुसुले पूर्णप्रसाद पनि गुहारमा आइसकेको छ भनेपछि त्यस्तो मानिसलाई समात्न नसक्ने कुनै कारण देखिंदैन । लास रानी पोखरीमा फाली सकेपछि प्यारेलालको पसलमा आई प्यारेलालको लालबहादुरसँग खुकुरीले आफ्नो शरीरमा आफैंले घाउ लगाई काट्यो मार्‍यो भनी कराउछुँ । तँ भागे जस्तो गर्नु भन्ने सल्लाह अनुसार म भागेँ भन्ने जुन लालबहादुरको कथन छ त्यस कुरालाई यी माथिका कुराहरूले समर्थन गरेको देखिन्छ । खुकुरी हेर्दा पनि चलन व्यवहारमा नआएको बिल्कुल नयाँ खुकुरी छ । फेरि जनकलाल खुकुरी भिरी हिंड्ने किसिमको मानिस हो भन्ने कुरा पनि कतैबाट देखिंदैन । अर्को मुख्य प्रमाण लाग्ने कुरा प्यारेलालको पसलबाट बरामद भएको ३ गजको स्वदेशी कपडा छ । मर्ने जनकलालको मुखमा कपडा कोची राखेको रहेछ भन्ने लालबहादुरको भनाई छ । कपडामा रातो रातो दाग हुनुको साथै चिउराको टुक्राहरू पनि देखिएकोछ । प्यारेलाल तर्फको भनाईमा यो कपडा २।३ महिनाअघि प्यारेलालको छोरा भर्‍याङ्गबाट लडी विरामी हुँदा अस्पताल लैजाँदा छोरालाई बेर्ने काममा प्रयोग भएको हो र त्यसै बेला छोराले वान्ता गरेको दाग हो भन्ने जिकिर छ । त्यति लामो समयसम्म ग्राहकहरू आउने जाने पसलमा यस्तो कपडा रही रहन सक्छ भन्ने अनप्रतितको कुरा हो ।

      ७७.   यी सब कारणहरूले गर्दा प्यारेलालको पसलबाट जनकलाल भागेको नभई लालबहादुर नै जनकलाल बनी भागेको रहेछ भन्ने कुरा सिद्ध हुन आएको छ । प्यारेलालले नै त्यस्तो जघन्य अपराध गरी कसूर छिपाउन त्यस्तो रचना रचेको प्रष्ट देखिएको छ । उपरोक्त कारण प्रमाण परिबन्दबाट प्यारेलालकै कर्तव्यबाट जनकलालको ज्यान मरेको ठहर्नाले तपसिलमा लेखिएको विषयमा तपसिलमा लेखिए बमोजिम गर्ने गरी अरू विशेष अदालतको फैसलामा लेखिएको बुँदा प्रमाणबाट समेत इन्साफ उक्त विशेष अदालतको मनासिब ठहर्छ । नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

तपसिल

अपीलाठ प्र. प्यारेलालके डामल गर्ने गरेको विशेष अदालतको सजाय मुनासिबै भएकोले अपील गरेमा थप सजाय गर्न परेन ..................१

वादी अपीलाट रेशमलालके विशेष अदालतको इन्साफ सदर भएकोले अपील गरेमा निजलाई शुरुबाट केही नभएको हुँदा हा. का. १० नं. ले तजबीजी रु. १ एक दण्ड हुन्छ । तारेखमा नबस्ने गरी १६३।२१ मा रु. १०० एक सय धरौट स. अ. नगदी बिभागमा दाखेल गरेको मिसिलबाट देखिएकोले त्यसैबाट रु. १। कट्टा गरी दण्ड वापत सदर स्याहा गरी बाँकी रु. ९९। ऐन सवालको रीत पुर्‍याई रेशमलाललाई फिर्ता दिनु भनी अ. त. मा लगत दिनु ......२

देहायका मानिसके रानी पोखरीमा मौकाको लासजाँच गराउँदा ज्यान सम्बन्धीका ३ नम्बर बमोजिम रीत पुर्‍याई खुलाउनुपर्ने कुराहरू खुलाई लासजाँच गरेको नदेखिदा ज्यान सम्बन्धी ४६ नं. बमोजिम विशेष अदालतका ०१४।४।१८।६ का फैसलाले देहाय बमोजिम गर्ने गरेको जरिवानाले नपुग्ने भई उक्त ऐन बमोजिम हदै सम्मको देहाय बमोजिमका दरले जरिवाना हुन्छ । थप जरिवानाको लगत कसी असूल गर्न तहसिलमा लगत दिनु का. डि. एस. पी. अफिसका इ. शंकरप्रसाद पाध्याके शुरुका फैसलाले गर्ने गरेको जरिवाना रु. १०० मा थप मो. रु. १००। समेत जरिवाना हुन्छ । लगत कसी असूल गर्न ऐ ऐ को स. अ. ई. अंविकानाथ पाध्या क्षेत्रपाटी धोवी चौरके ऐ का फैसलाले गर्ने गरेको रु. ५०। मा थप मोरु १५०। हुन्छ ऐऐ ।१

का. मजिष्ट्रेट अफिसका विश्वनाथ पाध्या का. ई. दमाइटोल के ऐ का फैसलाले गर्ने गरेको रु. ४०। मा थप मो. रु. १६०। हुन्छ ऐऐ ।१ का. असन चौकीका अ. स. ई. तिलविक्रम खत्री पू. १ नं. पनौती मालेश्वरके ऐका फैसला बमोजिम गर्ने गरेको मो. रु. २५ मा थप मो. रु. १७५। हुन्छ ऐ ।१

एस. पी. अफिसका १०३ नं. हे. कं. गणेशबहादुर कवर क्षेत्री एस. पी. अफिसमा बहाल रहेकोकै ऐ का फैसलाले गर्ने गरेको रु. २०। मा थप मो. रु. १८०। हुन्छ ऐऐ १

ऐका ६३४ नं. कं. दलबहादुर नगरकोटी असन चौकीमा बहाल रहेका के एका फैसलाले गर्ने गरेको रु. १०। मा थप मो. रु. १९०। हुन्छ ऐ ऐ ।१

डि. यस. पी. अफिस का न. ९६६ का क. साधुराम जैसी के ऐ का फैसलाले गर्ने गरेको रु. १०। मा थप मो. रु. १९०। हुन्छ । ऐ ऐ । १

ऐ को ७३३ नं. कं. दिलबहादुर खड्का क्षेत्री के ऐका फैसलाले गर्ने गरेको रु. १०। मा थप मो. रु. १९०। हुन्छ ऐ ऐ । १

प्रस्तुत केसमा डाक्टरहरूबाट भएको लासजाँचमा जो जति कुराहरू खोल्नु खुलाउनुपर्ने थियो यर्थाथ खुलेको देखिएन लासजाँच गर्न ल्याएको समय र लासजाँच भएको समय लेखिनुपर्ने साथै मृत्युको कारण पत्ता लाग्न गाह्रो भई शंका उत्पन्न भएमा लासजाँच गर्दा पेटमा पाइएको पदार्थहरू रासयनिक जाँचको निमित्त बचाएर राख्नुपर्दछ भन्ने मेडिकल जुरिसपु्रडेन्सका किताबहरूमा लेखिएको देखिन्छ । आयन्दा हुने लासजाँचमा मर्नेको कुन किसिमबाट मृत्यु भएको छ त्यसको सिलसिलामा प्रचलित कानून र मेडिकल जुरिसप्रुडेन्सका किताबहरूबाट के कति कुरा देखाउनु खुलाउनुपर्छ त्यसको ख्याल राखी देखिएसम्मको विवरण खुलाई जाँच गर्नु भनी डाक्टरहरूलाई सूचना दिन स्वास्थ्य मन्त्रालयलाई लेखी पठाई दिनु ................३

प्रस्तुत केसमा भएको मौका तहकिकात लासजाँचमा ज्यान सम्बन्धीका ३ नम्बरको रीत पुर्‍याई पुलिसबाट खुलाउनुपर्ने कुराहरू खुलाई कारवाई गरेको नदेखिएकोले आयन्दा पर्न आउने यस किसिमका मृत्युमा लासजाँच मौका तहकिकात गर्दा प्रचलित कानूनको आधारमा रही ज्यान सम्बन्धीको ३ नं. बमोजिम खुलाउनु पर्ने कुराहरू खुलाई पाएसम्म सरजमिनका धेरै मानिसहरू राखी मौका तहकिकात लासजाँच गर्नु भनी पुलिसहरूलाई सूचना दिन गृह मन्त्रालयलाई लेखी पठाई दिनु।जनकलालको मृत्यु भएको ज्यान मुद्दा १ मैना भित्र छिनी मेरा लोग्ने प्यारेलाललाई छाडि दिनुभन्ने प्रमांगी पाउँ भन्ने समेत १५।९।२१ मा चन्द्रावति माडबारीले दिएको निवेदनमा प्यारेलाल उपर परेको ज्यान मुद्दा चाँडो फैसला गरी जाहेर गर्नु भन्ने १५।९।२५ मा हुकुम प्रमांगी बक्स भई आएको मिसिलबाट देखिएकोले बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मुद्दा छिनिएको नतिजा जाहेर गर्न रजिष्ट्रार अफिसलाई लेखी पठाइदिनु .................... ४

 

इति सम्वत् २०१७ साल पौष १५ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु