निर्णय नं. ८८३० - अंश चलन

ने.का.प. २०६९, अङ्क ५
निर्णय नं.८८३०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं: २०६८–CI–००५५
फैसला मितिः २०६८।१२।२२।४
मुद्दा : अंश चलन ।
पुनरावेदक वादीः जिल्ला सुनसरी सोनापुर गा.वि.स. वडा नं. ५ बस्ने जमरुद्दिन मियाँ
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. बस्ने जियाउल हुसेन मियाँ समेत
शुरु अदालतमा फैसला गर्ने :–
मा.न्या.श्री लक्ष्मीकृष्ण श्रेष्ठ
पुनरावेदन फैसला गर्ने :–
मा.न्या.श्री डम्बरबहादुर शाही
मा.न्या.श्री द्वारिकामान जोशी
§ निजी ज्ञान, सीप र प्रयासबाट आर्जन गरेको भनेको नितान्त आफ्नो पालामा आफ्नो मात्र श्रमसंस्, सीप र प्रयास परेको सम्पत्ति भनी अर्थ गर्नुपर्दछ । यदि सगोलका परिवार सवैको श्रम, सीप र प्रयास परेको छ भने त्यसमा कसैको पनि हक नमरोस् र यदि कुनै एक अंशीको मात्र निजी ज्ञान, सीप, श्रम र प्रयास परेको छ भने त्यसमा सहभागी नहुने अरु परिवार सदस्यलार्ई भाग बण्डा नलागोस् भन्ने कुरामा ध्यान दिनुपर्ने ।
(प्रकरण नं.६)
§ विदेशमा रहेको छोराको आर्जनबाट स्वदेशमा बावु आमाका नाममा जग्गा खरीद गरिएको अनुमान स्वाभाविक र तर्कसंगत हुन्छ । आफ्ना विरुद्ध न्यायिक अवधारणा बन्न जाने तथ्यको सम्बन्धित पक्षले खण्डन गर्न सक्दैन र सो खण्डनलाई पुष्टि गर्ने आधार प्रमाण केही दिन सक्दैन भने त्यो तथ्यले निजका विरुद्व प्रमाणको स्वरुप ग्रहण गर्ने ।
(प्रकरण नं.८)
§ अंशबण्डाको १८ नं. परिवार सदस्यको उद्यमशीलतालाई संरक्षण र प्रोत्साहन दिने कानून हो । सम्पत्तिको आर्जनको इतिहास, स्रोत र लगानीको प्रकृति विश्लेषण गरी न्यायिक निष्कर्षमा पुगिएन भने अंशबण्डाको १८ नं. को उद्देश्य र मर्म मर्न पुग्ने ।
§ पैतृक सम्पत्तिसँग कुनै सम्बन्ध नगाँसिने र परिवारका अन्य सदस्यको सो सम्पत्ति आर्जनमा कुनै योगदान आँक्न नसकिने सम्पत्ति बण्डा गर्न कर नलागोस् भन्ने नै अंशबण्डाको १८ नं. को आशय हो । विदेशमा रहेको आफ्नो छोराको आर्जनबाट आफ्ना नाममा खरीद भएको सम्पत्ति पनि निजी श्रम, सीप र प्रयासमध्ये प्रयासको आर्जन भएबाट सोबाट अंश दिन वाध्य बनाउनु अंशबण्डाको १८ नं. प्रतिकूल हुनजाने ।
(प्रकरण नं.९)
पुनरावेदक वादी तर्फबाटः
प्रत्यर्थी प्रतिवादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ प्रमाण ऐन, २०३१ को दफा ६ र ७, ७(ग)
§ अंशबण्डाको १८ नं.
§ स्त्री अंश धनको ५ नं.
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पुनरावेदन अदालत बिराटनगरको फैसलाउपर वादी पक्षबाट पुनरावेदन पत्र दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
मेरा पिता स्व. तसलीम मियाका तीन छोरामा जेठा प्रतिवादीमध्ये रफिद मिया, माहिला जियाउल र कान्छो म फिरादी जिमरुद्दिन हौँ । विपक्षी बुधनीदेवी माहिला दाजु जियाउलकी पत्नी हुन् । हामी तीन दाजुभाइ एकासगोलमा व्यवहार गरी आउँदा घरको टाठोबाठो जियाउल हुँदा जि.सु. सोनापुर गा.वि.स. वडा नं. ५ कि.नं. ९९ को ०–०–१० र ऐ.ऐ. १०० को जग्गा विपक्षीमध्येकी भाउजू वुधनी मियाइनीको नाममा दर्ता गराई हाम्रो घरबाट अनावश्यक निहुँ खोजी २०६४।८।१५ गते दिउसो घरबाट निकाला गराई दिनुभयो । मैले पाउने सम्पूर्ण सम्पत्तिको तीन खण्डको एक खण्ड दिलाई भराईपाऊँ भन्ने समेत व्यहोराको फिराद दावी ।
नातामा विवाद छैन । मिति २०६४।८।१५ गते यी वादीलाई हामीले निकाला गरेका होइनौ । माता पिताको जीवनकालबाटै हामीहरू छुट्टाछुट्टै भातभान्सा र घर व्यवहार गरी आएका हौं । जिल्ला सुनसरी सोनापुर गा.वि.स. को कि.नं. ९९ को जग्गा र ऐ.ऐ. १०० को जग्गा सगोलबाट आर्जन भएको होइन । मिति २०६४।३।६ गते मूल्य रु.३०,०००।– मा खरीद गरी मालपोत कार्यालयबाट पारित गरी लिएको हुँ । पैतृक सम्पत्ति प्रतिवादीमध्येका रफिद मियाका नाममा रहेको गा.वि.स. सोनापुर (ख) कि.नं. ८८ को जग्गा यी वादीका श्रीमती वसिरन खातुनका नाममा राजीनामा गरी लिएका हुन् । पैतृक सम्पत्ति म जियाउल हुसेनले प्राप्त गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी जियाउल हक र वुधनी मियाइनीको संयुक्त प्रतिउत्तर पत्र रहेको छ । प्रतिवादीमध्येका रफिद मियाले शुरु अदालतबाट जारी भएको म्यादभित्र प्रतिउत्तर नफिराई म्यादै गुजारी बसेका ।
प्रतिवादीमध्येका रफिद मियाँले फाँटवारीमा देखाइएको जिल्ला सुनसरी, सोनापुर ५ कि.नं. ३० को ०–०–१० जग्गा तीन वर्षअगाडि मैले ग्रामीण विकास बैंकबाट कर्जा लिई खरीद गरेको मेरो निजी आर्जनको जग्गा हो कसैको हक लाग्ने होइन र अंशबण्डा हुनुपर्ने होइन भन्ने अ.वं. १३९ नं. बमोजिम बुझिएकी मजिदा मियाइनीको बयान कागज ।
प्रतिवादीमध्येका रफिद मियासँग मिति २०५८।११।२२ मा राजीनामा गरी लिएको ०–४–१५ को जग्गा मैले माइतकी आमा दुलारी खातुनबाट दाइजोस्वरुप पाएको रु.४०,०००।– मा किनेकोमा सो जग्गा हाल मेरा नाममा दर्ता छैन । मैले बिक्री गर्दाको राजीनामा पेश गरेको छु भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. बमोजिम बुझिएकी वसिरन खातुनको बयान कागज ।
आदेशबमोजिम वादी प्रतिवादी पक्षबाट बण्डा गर्नुपर्ने श्रीसम्पत्तिको फाँटवारी मिसिल संलग्न रहेको ।
कानूनबमोजिम वादीले अंश बुझेको नदेखिँदा वादी प्रतिवादीहरूले पेश गरेको तायदाती फाँटवारीको सम्पत्तिबाट वादीले तीन भागको एक भाग अंश पाउने र चलन समेत पाउने ठहर्छ भन्ने भन्ने समेत ब्यहोराको शुरु सुनसरी जिल्ला अदालतको फैसला ।
हामी पुनरावेदकका छोराले वैदेशिक रोजगारबाट प्राप्त गरेको आम्दानीबाट कसैलाई बण्डा नलाग्ने हामी पुनरावेदकको नाउँको जग्गा बण्डा लाग्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी हामीहरू बीच व्यवहारमा अंशबण्डा भई आफ्ना नाममा रहेको जग्गा अरुलाई बिक्री गरी खाई मासी आफ्नो व्यवहार भएको तर्फ विचारै नगरी भएको शुरु फैसला त्रुटिपूर्ण हुँदा बदर गरी न्यायपाऊँ भन्ने व्यहोराको प्रतिवादीहरूको अलग – अलग पुनरावेदन पत्र ।
कित्ता नं. ९९र १०० को जग्गा बण्डा नलाग्ने र कित्ता नं. ३० मात्र बण्डा लाग्ने ठहर गर्नुपर्नेमा शुरु सुनसरी जिल्ला अदालतबाट कित्ता नं. ९९ र १०० समेत बण्डा लगाउने ठहर्याई मिति २०६६।५।१५ मा भएको फैसला सो हदसम्म उल्टी भई कित्ता नं. ३० को सम्पत्तिबाट तीन भागको एक भाग वादीले अंश पाउने र चलन समेत चलाई पाउने ठहर्छ भन्ने समेत ब्याहोराको पुनरावेदन अदालतको फैसला ।
एकासगोलका परिवार जोसुकैको नाउँमा खरीद वा दर्ता भएको भए पनि निजी आर्जन भन्ने पुष्टि हुने गरी वस्तुनिष्ठ प्रमाणको अभावमा सवै अंशियारलाई बण्डा लाग्नेमा कि.नं ९९ र १०० बण्डा नलाग्ने ठहर्याएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी फिराद दावीबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल कागजातको अध्ययन गरी इन्साफतर्फ विचार गर्दा वादी दावीबमोजिम तीन भागको एक भाग अंश पाउने ठहर्याएको शुरु फैसला केही उल्टी गरी कि.नं. ९९ र १०० बण्डा नलाग्ने ठहर्याएको पुनरावेदन अदालतको फैसला मिलेको छ छैन अर्थात् वादीको पुनरावेदन जिकीर पुग्छ पुग्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
यसमा वादीले मुख्य गरेर कि.नं. ९९ र १०० का जग्गा बण्डा लगाउनु पर्दछ भन्ने पुनरावेदन जिकीर लिएको देखिन्छ । पुनरावेदन अदालतको फैसलाउपर प्रतिवादीहरूबाट पुनरावेदन परेको नदेखिँदा कि.नं. ९९ र १०० का जग्गा बण्डा लाग्ने हो होइन भन्ने सम्बन्धमा सीमित रही विवेचना गर्नुपर्ने देखियो ।
२. अंश मुद्दामा वादी प्रतिवादीबीच अंशियारको नाता कायम हुन्छ वा हुँदैन भन्ने अदालतले विचार गर्नुपर्ने पहिलो प्रश्न हो र यस पछिको दोस्रो प्रश्न निजहरू अंशियारा हुन् भने पहिले नै अंशबण्डा भइसकेको त छैन, भन्ने फिराद प्रतिउत्तर र प्रमाणको परिप्रेक्ष्यमा ठहर गर्नुपर्ने दोस्रो प्रश्न हो । अंशियारबीच बण्डा हुनुपर्ने निष्कर्ष निस्किए तायदातीका माध्यमले देखिएका सम्पत्तिमध्ये अंशबण्डा हुनुपर्ने होइन भनी कुनै पक्षको जिकीर रहेका सम्पत्तिको इतिहास केलाउँदै सो बण्डा लाग्ने हो होइन अदालतले निर्क्यौल गर्नुपर्ने अर्को अहम् विषय हो । प्रस्तुत विवादमा वादी प्रतिवादी अंशियार नाताका व्यक्ति रहेकोमा विवाद देखिएन । निजहरू बीच पहिले नै बण्डा भएसकेको स्थापित हुन सकेको पाइन्न । यस अवस्थामा अब कुन सम्पत्ति बण्डा लाग्ने वा कुन नलाग्ने भन्ने कुराको निरोपण नै यस मुद्दाको निर्णायक विषय रहेको छ ।
३. पुनरावेदन अदालत विराटनगरले बण्डा नलगाउने ठहर्याएको सम्पत्तिमध्ये कित्ता नं. ९९ र १०० को सम्पत्ति क्रमशः पुनरावेदक प्रतिवादीद्वय जियाउल हुसेन र निजकी श्रीमती वुधनी मियाको नाममा रहेको देखिन्छ । उक्त जग्गाहरूमध्ये कि नं १०० को जग्गा र.नं १३९७५ को राजीनामाको लिखतबाट रुवीदेवी साहू सुडीबाट रु.३०,०००। मा बुधनी मियानीले मिति २०६४।३।६ मा खरीद गरेको देखिन्छ । त्यसैगरी कि.नं. ९९ को जग्गा र.नं २५६९ को राजीनामाको लिखतबाट मिति २०६४।६।२० मा खट्टे मियाबाट रु.२५०००। मा प्रतिवादी जियाउल हुसेन मियाले खरीद गरेको देखियो । प्रतिवादीले तायदाती फाँटवारी दाखिल गर्दा यी जग्गाका सम्बन्धमा आफ्नो छोरा फिरोज आलमले विदेश कतारमा चालक पेशाबाट आर्जन गरेको रकमबाट खरीद गरी आ–आफ्ना नाउँमा दर्ता रहेको निजी आर्जनको कसैलाई बण्डा नलाग्ने ब्यहोरा उल्लेख गरेको देखिन्छ । सो तथ्यलाई पुष्टि गर्न आइ.एम.ई. मार्फत रेमिटेन्स प्राप्त गरेका विभिन्न मितिका भुक्तानी फर्महरूको प्रतिलिपि समेत पेश गरेको देखिन्छ । उक्त भुक्तानी फर्महरू हेर्दा प्रतिवादीका छोरा फिरोज आलमले सन् २००६ को सेप्टेम्वरमा रु.२५,०१८।–, अक्टोबरमा रु.२२,०४४।–, नोभेम्वरमा रु.८,०१४।–, डिसेम्वरमा रु.१०,०११।–, सन् २००७ को फेबु्रअरीमा रु.२०,००६।–, अप्रिलमा रु.३९,०१८।–, मे मा रु.२२,२९१।–, जुनमा रु.७१,१४९।, जुलाईमा रु.१०,३८३।–, अगष्टमा रु.१०,६७८।–, सेप्टेम्वरमा रु.१०,४१३।–, नोभेम्वरमा रु.१९,९७५।– नेपालमा पठाएको र तत्पश्चात् पनि सन् २००७ को अन्तिम महिना र सन् २००८ को शुरुवातका महिनामा पनि सोहीबमोजिम रकम पठाएको देखियो ।
४. प्रतिवादीहरूको राजीनामा मितिलाई इस्वी सन्मा रुपान्तरण गर्दा सन् २००७ को जुन र अक्टोबर महिनामा उक्त कि.नं. १०० र ९९ नं. का जग्गाहरू कुल रु.५५,०००।– मा खरीद गरेको देखिएको पाइन्छ । प्रतिवादीका छोराले सो जग्गा खरीद गर्नुपूर्व पठाएका रकमहरूका बारेमा शंका गर्नुपर्ने अवस्था छैन । यस अवस्थामा यी दुई कित्ता सम्पत्तिबाट पनि वादीले अंश पाउनुपर्ने हो होइन भन्ने कुरा विचारणीय हुन पुगेको छ । यस सम्बन्धमा व्यवस्थित गर्ने कानून अंशबण्डाको १८ नं. हो ।
अंशबण्डाको १८ नं को कानूनी व्यवस्था देहाय बमोजिम देखिन्छ :–
१८ नं. ।। मानो नछुट्टिई सँग बसेका अंशियार छन् भने जुनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढेबढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नम्बरबमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ । सो बाहेक कुनै अंशियारले आफनो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्न वा पाउने अंशियारको निजी ठहरी आफूखुशी गर्न पाउँछ । बण्डा गर्न कर लाग्दैन । अंश नभए पनि मानो छुट्टिई भिन्न बसेका वा रजिष्ट्रेशन नगरी खती उपति आफनो आफनो गरी आफ्नो हिस्सासँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानो छुट्टिई भिन्न भएको ठहर्छ । त्यस्तो कमाएको धन लाएको ऋण आफनो आफ्नो हुन्छ ।
५. उल्लिखित कानूनी व्यवस्था हेर्दा मानो नछुट्टिई सँग बसेका अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढेबढाएको सगोलको आर्जन सबै अंशियारलाई भाग लाग्ने र सो बाहेक कुनै अंशियारले आफनो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नम्बर बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्न वा पाउने अंशियारको निजी ठहरी आफूखुशी गर्न पाउने भन्ने देखियो ।
६. कुन सम्पत्ति निजी भै अरुलाई बण्डा नगर्न पर्ने हो भन्ने सम्बन्धमा अदालतले उक्त १८ नं. को व्याख्या अति नै सम्वेदनशील र सजगताका साथ गर्नुपर्दछ । निजी ज्ञान सीप र प्रयासबाट आर्जन गरेको भनेको नितान्त आफ्नो पालामा आफ्नो मात्र श्रम सीप र प्रयास परेको सम्पत्ति भनी अर्थ गर्नुपर्दछ । यदि सगोलका परिवार सवैको श्रम, सीप र प्रयास परेको छ भने त्यसमा कसैको पनि हक नमरोस् र यदि कुनै एक अंशीको मात्र निजी ज्ञान सीप, श्रम र प्रयास परेको छ भने त्यसमा सहभागी नहुने अरु परिवार सदस्यलार्ई भाग बण्डा नलागोस् भन्ने कुरामा ध्यान दिनु पर्दछ भन्ने विधायिकी मनसाय यस कानूनी प्रवन्धको हो ।
७. प्रस्तुत मुद्दामा कि.नं.९९ र १०० का जग्गा पैतृक नभएको कुरामा विवाद छैन । २०६४।३।६ र २०६४।६।२० मा प्रतिवादीहरूको नाममा राजीनामाद्वारा यी विवादका दुई कित्ता आएका छन् । ती कित्ता पैतृक सम्पत्तिबाट बढेबढाएका भए कुनै पैतृक सम्पत्ति हस्तान्तरण भएको वा पैतृक सम्पत्तिबाट हुने आर्जन पारिवारिक सामाजिक र सांस्कृतिक समेतका कार्यमा अनिवार्यतः गर्नुपर्ने खर्च गरेर बचत हुनसक्ने रकम लगानी भएको वादीले जिकीर लिई प्रमाणबाट पुष्टि गर्न सक्नुपर्ने हुन्छ । यसो हुन सकेको छैन । यी सम्पत्तिका विषयमा प्रतिवादीहरूबाट आफ्नो छोराले कतारबाट पठाएको बैदेशिक रोजगारको आम्दानीबाट खरीद गरेको हो भन्दै निज वैदेशिक रोजगारी स्वरुप कतारमा ड्राइभरमा कार्यरत् रही रकम पठाएका विभिन्न कागज प्रमाण पेश गरेको पाइन्छ । सो प्रमाणको वादी पक्षबाट खण्डन समेत गर्न नसकेको अवस्था छ ।
८. प्रतिवादीपक्षको छोरा विदेशमा कार्यरत रहेको तथ्य स्थापित छ । निजले वावु आमालाई रकम वैध माध्यमबाट पठाएकोबाट सो पठाइएको होइन कि भन्ने शंका गर्ने ठाउँ छैन । पठाइएको रकम र प्रतिवादीहरूको नाममा किनिएका जग्गामा लगानी गरिएको रकममा तादाम्यता छ । रकम पठाइएको अवधि र जग्गा खरीद गरिएको मितिबीच पनि प्रमाणिक रुपमा सम्बन्ध गाँसिन्छ । कुनै घटना, मानिसहरूको आचरण वा काम कारोवारको सामान्य क्रम विचार गर्दा तर्कसंगत रुपमा अनुमान गर्न सकिने अन्य कुरा अदालतले अनुमान गर्न सक्ने कानूनी प्रवन्ध प्रमाण ऐन, २०३१ को दफा ७(ग) ले गरेको छ । यस क्रममा विचार गर्दा विदेशमा रहेको छोराको आर्जनबाट स्वदेशमा बावु आमाका नाममा विवादित जग्गा खरीद गरिएको अनुमान स्वाभाविक र तर्कसंगत हुन्छ । आफ्ना विरुद्ध न्यायिक अवधारणा बन्न जाने तथ्यको सम्बन्धित पक्षले खण्डन गर्न सक्दैन् र सो खण्डनलाई पुष्टि गर्ने आधार प्रमाण केही दिन सक्दैन् भने त्यो तथ्यले निजका विरुद्व प्रमाणको स्वरुप ग्रहण गर्दछ । अनुमान पनि प्रमाण नै हो । यसका सीमाहरू प्रमाण ऐन, २०३१ को दफा ६ र ७ मा व्यवस्थित छन् । यसरी वादी र प्रतिवादीबीचको व्यवहारको विश्लेषण गर्दा विवादित कि.नं. ९९ र १०० बाट पनि वादीलाई अंश दिलाउनु न्यायोचित हुँदैन ।
९. अंशबण्डाको १८ नं. परिवार सदस्यको उद्यमशीलतालाई संरक्षण र प्रोत्साहन दिने कानून हो । सम्पत्तिको आर्जनको इतिहास स्रोत र लगानीको प्रकृती विश्लेषण गरी न्यायिक निष्कर्षमा पुगिएन भने अंशबण्डाको १८ नं. को उद्धेश्य र मर्म मर्न पुग्नेछ । पैतृक सम्पत्तिसँग कुनै सम्बन्ध नगाँसिने र परिवारका अन्य सदस्यको सो सम्पत्ति आर्जनमा कुनै योगदान आँक्न नसकिने सम्पत्ति बण्डा गर्न कर नलागोस् भन्ने नै अंशबण्डाको १८ नं. को आशय हो । विदेशमा रहेको आफ्नो छोराको आर्जनबाट आफ्ना नाममा खरीद भएको सम्पत्ति पनि निजी श्रम, सीप र प्रयासमध्ये प्रयासको आर्जन भएबाट वादीलाई सोबाट अंश दिन प्रतिवादीलाई वाध्य बनाउनु अंशबण्डाको १८ नं. प्रतिकूल हुन जान्छ ।
१०. अतः यस परिदृष्यमा छोराले विदेशबाट पठाएको रकमबाट २०६४ सालमा खरीद गरेका कित्ता नं. ९९ र १०० को जग्गा बण्डा लगाउने ठहर्याएको शुरु फैसला उल्टी गरी निजी आर्जनको बण्डा नलाग्ने सम्पत्ति ठहर्याएको पुनरावेदन अदालतको फैसला न्याय तथा कानूनसम्मत् नै देखियो ।
११. तसर्थ माथि उल्लिखित आधार र कारणबाट प्रतिवादीका छोराले विदेशबाट पठाएको रकमबाट खरीद गरेको कित्ता नं. ९९र १०० को जग्गा मुलुकी ऐन, अंशबण्डाको १८ नं बमोजिम बण्डा नलाग्ने निजी आर्जनको सम्पत्ति देखिँदा बण्डा लगाउने ठहराएको शुरु जिल्ला अदालतको फैसला केही उल्टी गरी यी कित्तालाई बाहेक गरी अन्य बाँकी सम्पत्तिबाट तीन भागको एक भाग वादीले अंश छुट्टाई चलन समेत चलाई पाउने ठहराएको पुनरावेदन अदालत बिराटनगरको फैसला मुनासिव देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.कल्याण श्रेष्ठ
इति संवत् २०६८ साल चैत २२ गते रोज ४ शुभम् ...
इजलास अधिकृत :– बिष्णुप्रसाद उपाध्याय