शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७४ - विषय : परमादेश वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश वा पुर्जि जारी गरि पाउँ ।

भाग: साल: २०२४ महिना: बैशाख अंक:

निर्णय नं. ३७४           ने.का.प. २०२४

डिभिजन बेञ्च

का.मु.प्रधान न्यायाधीश श्री रत्नबहदुर विष्ट

न्यायाधीश श्री प्रकाशबहादुर के.शी.

२०२४ सालको रि.नं.४५०

निवेदक      : मोरबिराटनगर बजार बस्ने डा.पिनाकिप्रसाद आचार्य

विरुद्ध

विपक्षी : निर्वाचन आयोग पुतली सडक काठमाडौ

 

विषय : परमादेश वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश वा पुर्जि जारी गरि पाउँ ।

 

(१)   राष्ट्रिय पञ्चायत स्नातक प्रतिनिधित्व ऐन, २०१९ को दफा ६ मा तोकेको ढांचाबमोजिम भन्नाले आयोगले नै तोक्ने, नमूना खडा गर्ने र सो बमोजिम भन्नाले आयोगले नै तोक्ने नमूना खडा गर्ने र सो बमोजिम छफाई उम्मेद्वारहरुलाई उपलब्ध गराउनु पर्ने ।

     तोकेको ढांचा बमोजिम भन्नाले निर्वाचन आयोगले केवल दरखास्तको ढांचा अथवा नमूना मात्र तोकि दिए हुने हो वा त्यो तोकेको ढांचा बमोजिमको दरखास्तपत्र नै छापि उम्मेद्वारहरुलाई उपलब्ध गराउनु पर्ने के हो भन्ने तर्फ हेरेमा निर्वाचन आयोगले तोकेको ढांचा भनेर केवल नमूना मात्र देखाएको भन्ने कुरा कतैबाट देखिन नआएको र त्यस विषयको वहस निर्वाचन आयोग तर्फका बिव्दान सरकारी अधिवक्ताले पेस पनि गर्नु नभएकाले तोकेको ढांचा बमोजिमको दरखास्त भन्नाले आयोगले नै तोक्ने, नमूना खडा गर्ने र सो बमोजिम छपाई उमेदवारहरुलाई उपलब्ध गराउनु पर्ने भन्ने कुरा प्रष्टै भएको छ ।

 (प्रकरण नं ६)

(२) अफिस आयोगको ढिला सुस्तिबाट पक्षको अधिकार हनन् हुन नसक्ने भएमा परमादेशको आदेशद्वारा त्यस्ता आदेश खारेज हुने । मोरविराटनगर जिल्ला पन्चायत कार्यालय मतदान केन्द्रमा ०२४ साल बैशाख ३ गतेको २ बजे मात्र दाखिल हुन आएको भन्ने कुरामा मुख मिलेकै र निर्वाचन आयोगले ०२३ साल चैत्र १९ गते हावाइ डकुमेण्टद्वारा चलान गरेको भन्ने भनाइ छ तापनि बैशाख १२ गते विदा हो भन्ने जानी जानी लापरवाहि काम गरेको देखिएको । सो सुस्ती कार्यले गर्दा निवेदकलाई यथासमयमा तोकिएको ढांचा बमोजिमको दरखास्त फाराम निर्वाचन आयोगले नै तोकेको सूचना बमोजिम उपलब्ध नहुनाको कारणबाटै निवेदकको कुनै गल्ती सुस्ती नभई ०२४ बैशाख ४ गते साँझ ५ बजे सम्म दरखास्त दाखिल गर्न नसकेको प्रष्टै हुन आयो ।

(प्रकरण नं ७)

निवेदक तर्फबाट : अधिवक्ता होराप्रसाद जोशि

विपक्षी तर्फबाट      : सरकारी अधिवक्ता प्रचण्डराज अनिल

फैसला

      १.     राष्ट्रिय पन्चायत (स्नातक प्रतिनिधित्व) ऐन, २०१९ को दफा ६ मा सूचना प्रकास भएको मिति देखि निर्बाचन अफिसरले तोकेको म्याद भित्र तोकिएको स्थानमा तोकेको ढांचा बमोजिम प्रस्तावक, समर्थक र उम्मेद्वारको स्वीकृति समेतको दरखास्त पत्र निर्वाचन अफिसरलाई दिनु पर्ने कुराहरु लेखिएको पाईन्छ । निर्बाचन आयोगले मोरङ जिल्लाको निमित्त सो जिल्लाको जिल्ला पन्चायत कार्यालयलाई पनि मतदानकेन्द्र भनि तोकेकोछ । र दरखास्तपत्रको फाराम मतदान केन्द्रहरुमा उपलव्ध हुनेछ भन्ने कुराको सूचना ०२३ साल चैत्र २८ र त्यस अघिको गोरखापत्र समेतमा प्रकाशित गरेको थियो । विपक्षी आयोगको सूचना अनुसार उमेद्बारले दरखास्त दिने म्याद ०२४ साल बैशाख २ गते देखि ऐ ४ गते तक बिहान १० बजे देखि ५ बजे सम्म तोकिएको थियो । र उक्त दरखास्त निर्बाचन आयोग पुतली सडक अर्थात वागमती अन्चलको काठमाडौं जिल्ला स्थीत पुतली सडकमा दिनुपर्छ भनेको थियो । निबेदक समेत प्रत्येक नेपाली नागरिक स्नातकलई राष्ट्रिय पन्चायतकोलागि उम्मेद्वार हुने अधिकार छ र निवेदक एम.बी.बी.एस. डि.टि.एम. डिग्री प्राप्त स्नातक हुँ । नेपाल अधिराज्यको भौगोलीक स्थीति र यातायात समेतको विचारबाट बिपक्षीले समय मै आफुले तोकेको ढांचाको दरखास्तपत्र सबै मतदान केन्द्रमा पठाउँनु पर्ने बिपक्षीको परम कर्तव्य थियो । तर बिपक्षीले सो बमोजिम गर्नु भएन र समय बिलकुल नराखि बैसाख ४ गतेको ५ बजे सम्म काठमाडौं पुतली सडकमा पेश गर्नु भनेको दरखास्तपत्रको तोकिएको ढांचा बैशाख ३ गतेको २ बजे मात्र मोरङको मतदान केन्द्रमा पुर्‍याउनु भयो । बांकी समय पर्याप्त थिएन । बिपक्षीको यस कार्यले निबेदकको कानून प्रदत्त हकको प्रचलनमा आघात पर्न गयो । समयमा तोकिएको ढांचाको दरखास्तपत्र नपुगेमा उम्मेद्वार हुनेलाई उम्मेद्वारी पत्र प्रस्तुत गर्न सम्भव हुदैन भन्ने जानी वुझी बिपक्षीले ढिलो गरि पठाउँनु भयो र निबेदकको अधिकारमा आघात पार्नु भयो । बिपक्षीले स्नातक उम्मेद्वारको निर्वाचन मिति ०२४ साल बैशाख २९ गते भनि तोक्नु भएको छ र सो निर्वाचन रोक्ने तथा कानून प्रदत्त हकको प्रचलन गराउने अन्य उपाय नभएकोले नेपालको संबिधान धारा ७१ अनुसार निवेदन गर्न आएको छु । रामकृष्ण जोशी समेतले निवेदकको नाम प्रस्ताव गरेको दरखास्तपत्र पनि यसै साथ पेश गरेको छु । अतः परमादेश वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश वा पूर्जि जारी गरि ०२४ साल बैशाख २९ गते हुने भनिएको स्नातकको निर्बाचनमा उम्मेद्वार भई निवेदकलाई दरखास्त पेश गर्ने मौका दिने गर्न वा सो नभए उक्त मितिको निर्वाचन रद्द गरि निबेदक समेतलाई उम्मेद्वार भई दरखास्तपत्र पेश गर्न पर्याप्त समय दिने समेत निबेदकको कानून प्रदत्त हकको प्रचलन गराई पाउँ भन्ने डा.पिनाकीप्रसादको २४।१।८।६ को निबेदन पत्र ।

      २.    यस्मा के कसो भएको हो निबेदकको मांग वमोजिमको आदेश किन जारी हुनु नपर्ने हो यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक २ दिन भित्र माहान्यायाधीबक्ताको कार्यालय मार्फत लिखित जवाफ पठाउँनु भनी विपक्षी निर्वाचन आयोग पुतली सडक काठमाडौंलाई सूचना पठाई दिनु । महान्यायाधीवक्ताको कार्यालयलाई वोधार्थ पनि दिनु । जवाफ आए पछि या म्याद नाघे पछि पेश गर्नु भन्ने डिभिजन बेन्चको ०२४।१।१०।१ को आदेश ।

      ३.    राष्ट्रिय पन्चायत (स्नातक) प्रतिनिधित्व निर्वाचन कार्यक्रम ०२३।१२।१७ मा प्रकाशित गरिएको हो र सोही कार्यक्रममा ०२४ बैशाख२ गतेदेखि ४ गते तक १० बजे देखि ५ बजे सम्म निर्वाचन आयोग पुतली सडक काठमाडौंमा उम्मेद्वारले दरखास्त दिने म्याद तोकी दिएकैछ । सो अवधिभित्र निज निबेदक डा.पिनाकीप्रसादले उम्मेद्वारको दरखास्तपत्र (मनोनयनपत्र) दाखिल गर्न नल्याएका हुँदा निजको मनोनयनपत्र लिइएन भन्ने प्रश्न नै उठ्न नसक्ने । उक्त प्रकाशित कार्यक्रममा दरखास्तपत्रको फाराम निर्वाचन आयोग कार्यालय पुतली सडक काठमाडौंमा र मतदान केन्द्रहरुमा पनि उपलब्ध हुन सक्ने जनाउ दिइएकोमा निज निबेदकले जिल्लाबाट दरखास्तपत्र फाराम लिन पर्खि रहनु भयो । जबकी सोही कार्यक्रममा दरखास्तपत्र दाखिल गर्ने अन्तिम म्याद समेत दिइएको छ । यस स्थितिमा निबेदकले सो बिकल्प रोज्नु भयो र सो आफ्नै जिम्मेवारीमा रोज्नु भएको छ । उपयुक्त बमोजिम तोकिएको म्याद भित्र कानून बमोजिम दरखास्तपत्र निज निबेदकले दाखिल गर्न नसकेको र यस आयोगले निजलाई दाखिल गर्नमा कुनै बाधा असुविधा नदिएको हुँदा रिटको निबेदन खारेज हुन सादर अनुरोध गरिएको छ, भन्ने समेत निर्बाचन आयोगको ०२४।१।१२।३ को लिखित जवाफ ।

      ४.    यस्मा निबेदक रोहवरमा रही पेश हुन आएको प्रस्तूत विषयमा निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी र बिपक्षी तर्फबाट बिद्वान सरकारी अधिवक्ता श्री प्रचन्डराज अनिलले गर्नु भएको बहस समेत सुनी हेर्दा समयमै निर्वाचन आयोगले तोकेको ढांचा बमोजिमको दरखास्त फाराम निबेदकलाई उपलव्ध गराउनु पर्ने दायित्व निर्वाचन आयोगको हो वा होइन भन्ने र यदि त्यस्तो दायित्व कानूनद्वारा आयोग माथि राखेको भए त्यस दायित्वको अदायगी भयो भएन भन्ने प्रश्नहरुको निर्णय दिनु पर्ने हुन आयो ।

      ५.    यस सम्बन्धमा कानूनी व्यवस्था के रहेछ भनि हेर्दा राष्ट्रिय पन्चायत (स्नातक प्रतिनिधित्व) ऐन, ०१९ को दफा ६ मा उम्मेद्बारको लागि दरखास्तपत्र भन्ने शिर्षक दिई निर्वाचनमा कुनै उम्मेद्वारलाई खडा गराउन मतदाताले दफा ५ बमोजिमको सूचना (चुनाउको लागि आव्हान) प्रकाश भएका मिति देखि निर्बाचन अफिसरले तोकेको म्याद भित्र तोकिएको स्थानमा आफै वा अख्तीयारी प्राप्त वा बारेसद्वारा निर्वाचन अफिसरले तोकेको ढाँचा बमोजिम प्रस्तावक, समर्थक र उम्मेद्वारको स्वीकृति समेतको दरखास्तपत्र निर्बाचन अफिसरलाई दिनु पर्छ भन्ने उल्लेख भएको पाईन्छ ।

      ६.    तोकेको ढाँचा बमोजिम भन्नाले निर्बाचन आयोगले केवल दरखास्तको ढाँचा अथबा नमूनामात्र तोकि हुने हो वा त्यो तोकेको ढाँचा बमोजिमको दरखास्तपत्र नै छापी उम्मेद्वारहरुलाई उपलव्ध गराउनु पर्ने के हो भन्ने तर्फ हेरेमा निर्वाचन आयोगले तोकेको ढाँचा भनेर केवल नमूना मात्र देखाएको भन्ने कुरा कतैबाट देखिन नआएको र त्यस बिषयको बहस निर्वाचन आयोग तर्फका बिद्वान सरकारी अधिवक्ताले पेश पनि गर्नु नभएकाले तोकेको ढाँचा बमोजिमको दरखास्त भन्नाले आयागले नै तोक्ने, नमुना खडा गर्ने र सो बमोजिम छपाइ उम्मेद्वारहरुलाई उपलब्ध गराउनु पर्ने भन्ने कुरा प्रष्टै भएको छ ।

      ७.    त्यस्तो दरखास्त फाराम हरेक मतदान केन्द्रहरुमा पनि उपलब्ध हुन्छ भन्ने सोहि आयोगको सूचना ०२३ साल चैत्र १७ गते देखिको गोरखापत्रहरुमा प्रकाशित गरिरहेको र सो सूचना यथा समयमा खारेज पनि नभएकाले निबेदक सोहि सूचनाको आशाकारी भईरहंदा निर्वाचन आयोगले तोकेको ०२४ साल बैशाख ४ गतेको सांझको ५ बजे सम्म दाखिल गर्न असमर्थ भएको देखियो । तोकेको ढाँचाको दरखास्त फाराम मोरङ बिराटनगर जिल्ला पन्चायत कार्यालय मतदान केन्द्रमा ०२४ साल बैशाख ३ गतेको २ बजे मात्र दाखिल हुन आएको भन्ने कुरामा मुख मिलेकै र निर्वाचन आयोगले ०२३ साल चैत्र २९ गते हवाई डकुमेण्टद्वारा चलान गरेको भन्ने भनाइ छ तापनि बैशाख १।२ गते बिदा हो भन्ने जानि जानि लापरवाहि काम गरेको देखिएको । सो सुस्ती कार्यले गर्दा निबेदकलाई यथासमयमा तोकिएको ढाँचा बमोजिमको दरखास्त फाराम निर्वाचन आयोगले नै तोकेको सूचना बमोजिम उपलब्ध नहुनाको कारणबाटै निबेदकको कुनै गल्ती सूस्ती नभई ०२४ साल बैशाख ४ गते साँझ ५ बजे सम्म दरखास्त दाखिल गर्न नसकेको प्रष्टै हुन आयो।

      ८.    तसर्थ उपरोक्त उल्लेख भए बमोजिम कारणहरु बाट निबेदकको माग बमोजिम निजले निर्वाचन आयोगले तोकेको ढाँचा बमोजिमको दरखास्त दिन ल्याय लिई कानून बमोजिम गर्नु र सो दरखास्तपत्रको जाँच बुझ गर्न समेत केहि समय अवस्यै लाग्ने भएकोले सो बैशाख २९ गते तोकेको निर्वाचनको समय सो बैशाख २९ गतेबाट १ हप्ता जति वा मुनासिब माफिक समयको लागि पर सार्नु समेत भनि निर्वाचन आयोगको नाउँमा परमादेशको आदेश जारी गर्नु पर्ने ठहर्छ । निबेदन साथ पेश गरि राखेको दरखास्त निबेदकलाई दिई यो आदेशको १ प्रति लिपी बिपक्षी कहाँ पठाउँन महान्यायाधीवक्ताको कार्यालयमा तुरुन्तै पठाई नियम बमोजिम मिसिल बुझाइ दिनु ।

 

इति सम्वत् २०२४ साल बैशाख २४ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु