निर्णय नं. ११८ - कर्तव्य ज्यान

निर्णय नं. ११८ ने.का.प. २०१७
डिभिजन बेञ्च
का. मु प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री कालीप्रसाद उपाध्याय
फौ. डि. अ. नं. १७०,१७१,१७२
अपीलाट : सत्यप्रसाद सैंजु समेत
विरुद्ध
विपक्षी, वादी : दया लक्ष्मी
मुद्दा : कर्तव्य ज्यान
(१) अदालतले ठहराएको विरुद्ध अपील उजुर नपेरमा अदालतले ठहराएको मुनासिबै ।
कुलमान बैद्य संखिया र योगेन्द्रले क्लोरोफारम दिएको भन्ने कृष्णबहादुरको भनाई बमोजिम नठहराएको पाल्पा अपील गौडाको इन्साफ गल्ती भन्नालाई कुलमानको घर द्वारै फेला नपरेको । योगेन्द्रले क्लोरोफाराम दिएको सबुद केही नदेखिएको निज कुलमा योगेन्द्रले संखिया क्लोरोफारम दिएको नठहराएकोमा अपील उजुर समेत परेका नेदेखिदा निजहरूले क्लोरोफारम र संखिया नदिएको ठहराएको पाल्पा अपील गौडाको इन्साफ मुनासिबै
(प्रकरण नं. २४)
(२) दण्ड सजायको २३ नम्बर। खत माथि खत नथपिने । ठूलो खतको सजाय पाउने ।
मोतीप्रसाद कृष्णबहादुरलाई खुन डाका तर्फ दुबै कलममा सजाय दिने गरेको पाल्पा अपील गौडाको मुनासिब भन्नालाई खत माथि खत नथप्नु जुन ठूलो खत हो, त्यसमा मात्र सजाय दिनु भन्ने दण्ड सजायको २३ नं भएकोमा ज्यान डाका तर्फ दुबै कलममा सजाय दिएको देखिंदा सजाय बेठिक देखिन आएको । अब निज मोतिप्रसाद कृष्णबहादुरलाई कुन पट्टीको सजय दिन मनासिब होला भन्ने तर्फ विचार गरी हेरेमा पनि ज्यान तर्फ कैद वर्ष ६ मात्र हुने । डाका तर्फ दण्ड कैद दुबै कलमका सजाय हुने भई ठूलो खत डाका तर्फ नै देखिन आएकोले डाका तर्फ मात्र सजाय दिए पुग्ने ।
(प्रकरण नं. २४)
(३) फलानाकै चोटबाट मरेको भनी किटान नदेखिएमा । ज्यान सम्बन्धीको २६ नम्बरका ऐन बमोजिम २० बर्ष कैद हुने । अंश सर्वश्व नहुने । ज्यान सम्बन्धीका २६ नं. ले दामली गर्ने गरेकोमा दामली वापत २० बर्ष कैद हुने र दण्ड सजायको ३१ नम्बर बमोजिम अंश सर्वश्व हुने ।
श्रीलक्ष्मी सत्यप्रसादको चोटपीटबाट मरेको भन्ने मिसिलमा किटान भएको नदेखिएकोले ज्यान सम्बन्धीको २६ नं. का ऐन बमोजिम दामली वापतको कैद वर्ष २० गर्ने भन्न नमिली श्रीलक्ष्मीको मुखमा रुमाल कोची हातपात गरेमा कैद वर्ष २० सम्म सोही ज्यान सम्बन्धीका २६ नं. ले गर्नुपर्ने देखिन आएको र अब सत्यप्रसादको अंश सर्वस्व गर्ने ठहराएको पाल्पा अपील गौडाको मुनासिब भन्न ज्यान सम्बन्धीको २६ नं. ले कैद २० वर्ष हुनेमा दण्ड सजायको ३१ नं ले दामल हुनेका हकमा मात्र अंश सर्वस्व गर्नुपर्ने । त्यसमा सत्यप्रसाद दामल हुने नभई २० वर्ष कैद सम्म हुने मानिस देखिंदा निजको अंश सर्वस्व गर्न नमिली सत्यप्रसादको अंश सर्वस्व गर्ने ठहराएको पाल्पा अपील गौंडाको बेठिक ।
(प्रकरण न. २४)
बैतनिक वकिल : कुलराज पाण्डे
फैसला
१. पश्चिम ४ नं. को धनी नेवारनी कर्तव्य परी मरी कर्तव्यवाला पत्ता लागेन भनेको सुनेका हुँ । के के भयो थाहा भएन । पाल्पा तान्सेनका वेइलमी वेऔकातका चोरीमा शंका गरिएका पाल्पा तानसेन ठाडो गल्लीको वागे खुट्टे १ ऐ ऐ बस्ने बाँडा १ कनैयालालको भाई नेवार १ नकले नेवारका भाई १ भीमसेन टोलको नेवार १ मेहेल धारा पण्डीतको छोरा १ समेतले आफ्नो मनमा शंका गरी विदेश गई बसेका छन् र भुंग्रे बुझिएमा पत्ता लाग्ने छ भन्ने त. मु. कृष्णबहादुरको ०७।२।१८ को जाहेरीमा यसमा बेहोरा साँचो भए यो मुद्दा पाल्पा गौडा समेत भई हेरी ऐन सवाल बमोजिम गर्नु भनी पाल्पा गौडामा पठाउन प्रधान न्यायालयमा पठाइदिनु भनी श्री ३ महाराजको हुकुम बक्सेको छ भन्ने रहेछ ।
२. पाल्पा अपीलकै यसमा कारवाई गर्दा पाल्पा गौडाको ना. सु. लाई रोहवरमा राख्ने ऐन सवाल बमोजिम गर्नु र भएको नतिजा मकहाँ जाहेर गर्न आउनु भन्ने पाल्पा गभरनरको ०८।३।२४।१ को आदेश रहेछ ।
३. भुंग्रे हटीया बस्ने धनी नेवारनी कर्तव्य परी मरेको व्यहोरा पाल्पा तानसेनमा हल्ला सुनेकोले हल्ला ब्यहोरा सम्म जाहेर गरेको हुँ । धेरै दिनको कुरा हुँदा यसले भनेकोबाट सुनेको हुँ भनी खुलाउन सक्दिन । अघि जाहेर गर्दा धनी नेवारनी लेखे तापनि नाम श्रीलक्ष्मी हो । हाल खबर जाहेर गरे तापनि साबिक गराउन र नाम वतन खोलाउन सक्दिन भन्ने ०८।५।३ को डि. कृष्णबहादुरको बयान रहेछ ।
४. भुंग्रे गएको र श्रीलक्ष्मीलाई चिनेको समेत छैन । निज श्रीलक्ष्मीलाई मैले मारेका पनि छेैन । निज श्रीलक्ष्मी कसका कर्तव्यबाट मर्न गएको हो सो पनि मलाई थाहा छैन । ०६ साल फाल्गुण ८,९ गतेमा म घरै छु । निजलाई कर्तव्य गरी मारी विदेश गएको समेत होइन । डि. कृष्णबहादुरले किन त्यस्तो लेखे निजै जानुन भन्ने समेत कनैया लालको भाई हरि सुमेरुलालको ०९।३।२९।४ को बयान रहेछ ।
५. मेरो सौता श्रीलक्ष्मी कर्तव्यबाट मरेकोले मेरो जाहेरीबाट लासजाँच सर्जमीन भएको हो । लासजाँच सर्जमीनबाट कर्तव्यवाला पत्ता नलागेकोले जाहेर भई पाल्पा अपीलमा आएको हाल बांगेखुट्टा भएका नेवार भन्ने समेतका नाउँमा डि. कृष्णबहादुरका उजुर परी कारवाई भएको भन्ने सुनेकीले को को रहेछ भन्ने भनी म हकदार भई मैले सुराक गर्दा बांगे खुट्टा भएको नेवार भन्ने सत्यमान श्रेष्ठ १ भुंग्रेमा काम गरी बस्ने तानसेन को बाँडा १ कनैयालालको भाई १ हरि पुनेकलाल १ दुर्गालाल बाँडाको माहिला छोरा नचिनेको भीमसेन टोलको नेवार १ मेहेल धारा पण्डीतको छोरा १ लाकुरेको छोरा कृष्णे नेबारी रामकुमार पाध्या १ नक्लेको भाई भन्ने १ मुखमा छ्याका भएको माहिला नेवार समेत रहेछन् बुझिपाउँ भन्ने दयालक्ष्मीको दर्खास्त रहेछ ।
६. उस बखत कर्तव्यवाला यिनै हुन् भन्ने र पत्ता लगाई पाउँ भन्ने जाहेर भई कारवाई भएको सुराक पत्ता लगाई बुझ्दा बुझेका मानिस दर्खास्तमा लेखी दिएको छु । नदेखेकोले कसका चोटबाट मर्न गएको हो किटान गर्न सक्दिन । दिदीले नमानेकीले धनमाल यति थियो भन्न पनि खुलाउन सक्दिन भन्ने दयालक्ष्मीको ०९।९।४ को बयान रहेछ ।
७. ०६ साल फाल्गुण ८।९ गतेमा मालसामान खरिद गर्न बनारस गएको बनारसमा छु । ०६ साल फाल्गुँणमा हो म र रामकुमार रहीस मियाँ लाकुरे कृष्ण चेतगोविन्द ज्ञानु ज्यापु मोती लक्ष्मी श्रेष्ठ खगे क्षेत्री समेत ९ जना कांग्रेसमा काम गरी रहेको रामकुमार लाजे समेत गई श्रीलक्ष्मीको घर हेरी आएका रहेछन् । १ दिन टुंडिखेलमा जम्मा भई सल्लाहा हुँदा श्रीलक्ष्मीको घर चोरी गरी ल्याउनु पर्छ भनी भोलिपल्ट गई मालुंगामा बास बसी तेसका भोलिपल्ट साँझ कराडौंमा गई म १ लक्ष्मी १ रहीस मिया १ चेत गोविन्द १ खाने बन्दोवस्त गर्न लाग्यौं । कृष्णे ज्ञाानु मोती रामकुमार अघि गए । पछिबाट हामी पुगेपछि मेरो ससुराली हुंदा चिन्ने हुँदा १०० गज फरक खेतमा बस्यौं । रहीस मिया हेर्न बस्यो । अरू ७ जना भित्र बसे । अन्दाजी १ घण्टापछि धनमाल ल्याएकोले ९ जना रातारात गरी गंगाजी तरी सिलुवा पुगी मेरा जेठा मामाको घरमा बास बसी सो नगदी हेर्दा नगदी रु. ५०० अन्दाजी २ तोलाको दरले सुनको चुरा ४ चाँदी २५ तोलाको कल्ली १, २ रूपैयाँको पैसा सुनको चुरी ४ भाग बण्डा गर्दा मेरो भागमा ६० रूपैयाँ पर्यो । अरू भागवन्डा नगरी चुरा ९ नौ गेडी समेत चेत गोविन्द रामकुमार मोती ज्ञानु ४ जनाले बाँकी सुन चुरा २ लाकुरे कृष्णे जिम्मा र नौगेडी लक्ष्मी जिम्मा छ । श्रीलक्ष्मीलाई मैले मारेको छैन । भित्र बस्ने रामकुमार समेतले मारेका हुन् । रामकुमारले धोतीको फुर्काले बाँधी कुनैले खुट्टा हात छेकी मुखमा बुझो लगाई चोरी गरी ल्यायो भन्थे । कसका चोट पिटबाट मरेको हो थाहा छैन । चोरी ल्याउँदा श्रीलक्ष्मी मरेको थिएन भन्थे । कसैले अचेट्ने कसैले मुखमा बुझो कोच्ने सल्लाह थियो । मार्नु पर्छ भन्ने सल्लाह थिएन भन्ने समेत सत्यप्रसादको ०९।९।५ को बयान रहेछ ।
८. कृष्णबहादुर सैंजु १ सत्यप्रसाद श्रेष्ट १ चेत गोन्दि १ रामकुमार पाध्या १ लक्ष्मीप्रसाद श्रेष्ट १ रहीस मिया १ ज्ञानु ज्यापु १ राज्य खत्री र म समेत ०६ साल फाल्गुणमा हो रातको बीचमा एउटी आईमाईलाई बाँधछाँद गरी धनमाल चोरी गरी ल्याए पछि भुग्रेमा श्रीलक्ष्मी मारी चोरी गरे भन्ने सुनेको हुँ । निजै श्रीलक्ष्मी रहेछ लेखिए बमोजिमका मानिसहरू जम्मा भई श्रीलक्ष्मीको घरमा जम्मा भई पोखरा जाने सल्लाह भएको । ०६ साल फाल्गुण महिना हो गतेको सम्झना भएन सबैको वानासमा भेट भई त्यहाँबाट गयौं । पहिला बास मालुंगा दोश्रो बास कराडी कराडीबाट रामकुमार राज्य चेतगोविन्द ४ जना अगाडि गए । अरू हामी त्यहाँबाट बेलुका भात खाई राता रात अन्दाजी ८ बजे हिँडी ११ बजे श्रीलक्ष्मीको घर पुगी अघि गएका त्यहीँ बसेका रहेछन् । राति खानापीन गरी सकेपछि म र कृष्णबहादुर रहीस मियां बाहिर दलानमा बस्यौं । बाँकी अरू ६ जना भित्र बसी लक्ष्मीले क्लोरोफाराम सुँघाई विषादी औषधी समेत खुवाई चेत गोविन्द कम्मरमा समाउने सत्यप्रसादले मुखमा रुमाल कोच्ने राज्य ज्ञानु २ जनाले खुट्टा समाउने रामकुमारले झुण्ड्याई राखेको पटुका झिकी बाँधी सुनचाँदी तलास गरी १, १।। घण्टा बाद ढोका लगाई रातारात फर्की २,२।। कोस टाढा आई बाँड्दा रु. ५० का दरले पर्यो । मेरो भागको सुन टुक्रा १ तिर्थमान बाँडालाई विक्री गरेको । बाँकी गहना चेतगोविन्द जिम्मा राखी तानसेनमा आयौं । बाँकी हालसम्म बन्डा भएको छैन भन्ने समेत मोतीप्रसादको ०९।९।५ को बयान रहेछ ।
९. ०६ साल माघ पुर्णिमाको २।३ दिन पछि तान्सेन छोडी बाग्लुङ जेठानको घरमा गएको फाल्गुण महिना भर उतै छु । अघि कांग्रेसमा लागे पनि पछि सो काम छोडी दिएँ । प्रचार गर्ने काममा कतै गएको छैन । श्रीलक्ष्मीको घरमा डाका गरेको र निजलाई कर्तव्य गरी मारेको समेत छैन । डि. कृष्णबहादुरसँग तरकारी खरीद गर्ने बारे झगडा भएको र सत्यप्रसादसँग केटाकेटी देखि रिस ईवी परेको र मेरो साँचो व्यहोरा कांग्रेसको प्रचार गर्न आस्यता नभएकोले चोरी लुटपिट गरी आयस्ता चलाउने उद्देश्यले ०६ साल श्रावण भाद्र कुन महिना हो चण्डी भन्ने नाउँ नजानेको घरमा चोरी गर्न गयौं । त्यहाँ निस्फल भयो । त्यहाँपछि १ दिन टुंडीखेलमा सल्लाह गरी यो मर्ने भुंग्रेको श्रीलक्ष्मीको घर चोरी गर्ने सल्लाह भई गई पहिला बास मालुंगा दोश्रा बास करादी पुगेपछि त्यहाँबाट ज्ञानु राज्य रामबहादुर भए । अरू म समेत ६ जना बेलुका भात खाई रातारात गरी भुंग्रे पुग्यौं र श्रीलक्ष्मीको घर माथि खेतमा केही बेर बसी रही म चेवा गर्न बाहिर र म दलानमा बसें । अरू भित्र पसी ज्ञानु ज्यापूले संखीया खुवाउने सल्लाह भई दिए । चेत गोविन्द क्लोरोफाराम दिने अरू कस्ले बाँदछाँद गरे म बाहिर गल्लीमा हुँदा थाहा भएन । त्यसको २ घण्टा बाद फर्केर ९ जना रातारात नाउँ नजानेको गाउँमा बस्यौं । चोरेको माल बण्डा गर्न खोज्दा सुनको फूल १ सुनको चुरा गोटा ५ सुनको मुन्द्री थान ५ सुनको नौगेडी माला १ चाँदीको कल्ली जोडी १ नगदी रु ५८० मा पैसा गरुंगो हुन्छ भनी फाल्यौं । नगदी मेरा भागमा ६० पर्यो । त्यसपछि जंगलमा सुनको चुरी गोडा ३ टुक्रा गरी ज्ञानु चेत गोबिन्द राज्य मोती रहिसले लिए मैले र सत्यप्रसादले लिएनौं र सबै सुन लक्ष्मी जिम्मा राख्यौं र तान्सेन आयौं । संखीया र क्लोरोफाराम सुँघाउने अघि नै सल्लाह भएको हो । बाहेक अरू ककस्ले के गरे म बाहिरै हुँदा थाहा भएन । पछि साथी साथीमा कुरा हुँदा सम्म सुनेको हुँ । एकिन संखिया क्लोरोफाराम चेत गोबिन्दले ल्याएको थियो । संखिया बसन्तपुरको कुलमान श्रेष्ठ कहाँबाट र क्लोरोफाराम योगेन्द्रप्रसादले दिएको हो भन्ने कृष्णबहादुर सैुंजको ०९।९।८ को बयान रहेछ ।
१०. कृष्णबहादुरका बयान बमोजिम चेत गोविन्दलाई कुनै पनि माल विक्री गरेको छैन । सो अवैध क्लोरोफाराम मेरो दोकानमा नभएकोले दिएको होइन । कृष्णबहादुरको बाबु सम्रबहादुर उपर मेरो बाबुले अघि चोरी मुद्दा दिएको सो इवीले सम्म झुट्टा उजुर गरेको हो । निज चेत गोविन्दसँग आवत जावत समेत केही छैन भन्ने योगेन्द्रप्रसाद प्रधानको ०१०।४।२५ को बयान रहेछ ।
११. मोतीप्रसादका भनाइ बमोजिम मैले कुनै सुन पनि खरीद गरी लिएको छैन । ०६ साल मार्ग देखि मात्र म जेलबाट आएकोले भेटघाटै छैन भन्ने तिर्थराज बाँडाको ०१०।५।७ को बयान रहेछ ।
१२. चेत गोविन्द रामकुमार लक्ष्मीप्रसाद रहीस मियां ज्ञानु ज्यापु राज्य खत्री जारी भएको म्यादी पुर्जीमा हाजिर नभई गुजारी बसेको रहेछ ।
१३. राज कुमार १ सत्यलाल १ कृष्णबहादुर १ समेत ०५ सालदेखि नै कांग्रेसमा काम गरेका छौं भनी हिँडिरहन्थे । के काम गर्थे थाहा छैन । इलमको हकमा राजे र रामकुमारका हकमा के गर्थे थाहा छैन । अरू अलिअलि खुद्रा व्यापार गर्थे । त्यसबाट खान नपुग्ने ल्याकतका हुन् तापनि निजहरूले चोरी डाका गरेको र मानिस मारेको थाहा छैन भन्ने हेम नारान समेत १८ जवान सरजमीनको ०१०।१०।१७।७ को मुचुल्का रहेछ ।
१४. बडाहाकिम तारकबहादुरले सास्ती यातना दिई साबिती पोलाहा बनायो भन्ने श्री ५ महाराजाधिराजका हजुरमा पटक पटक निवेदन गर्दा हुकुम बमोजिम बुटौल अपीलका हाकिमलाई चाँडो कारवाई गरी दिनु भन्ने श्री प्रधान न्यायाधीशज्यूबाट आदेश भै ०१२।१२।२ का दिन बुटौल अपीलका हाकिमलाई सोधपूछ गर्दा सिधा नपाए तर्फ आश्बासन दिनु भएको घाउ चोट निल बारे चारैजना हाकिमहरू झगडिया भएकोले जचाउन पाइन भनेको ससुराले सोद्दा भुंग्रेदेखि आधा कोस फरक भनेको भोलि सबै कारवाई गरी दिउँला भनी जिरहमा सहि गराए । निज हाकिमहरू झगडिया हरिदत्तका घरमा बास बसे । ठाडो कारवाई गरेनन् भन्ने सत्यप्रसादको निबेदनमा ऐनसवाल बमोजिम गर्नु भन्ने श्री प्रधान न्यायाधीशज्यूबाट ०१२।२।२० मा आदेश दिनु भएको रहेछ ।
१५. ज्यान मुद्दा आदेशानुसार जाँची जाहेर गरेकेमा मुद्दा छिन्न लगाउनु भन्ने प्रधान न्यायाधीशज्यूबाट आदेश भई आएकोले चाँडो किनारा गरी जनाउ दिनु भन्ने बुटौल अपीलको ०१२।३।८।४ को पत्र ।
१६. श्रीलक्ष्मी चिनेको मानिस हो । ०६ सालमा कर्तव्य गरी मरी भन्ने सुनेको हुँ । कसले कर्तव्य गर्यो थाहा छैन । ०६ साल फागुन २ गते देखि छयाङ छेडी शिवरात्री मेलामा दोकान गर्न गएको मेला सिद्धिएपछि भुंग्रे बजार फर्केको । मसँगै दोकान गर्ने मानिस लाल ज्वारोलाल समेत थिए । म छयाङ छेडीमा छँदै मरेकी र म फर्के पछि म बस्ने श्री लक्ष्मीकै घरमा बसेको हुँ । दयालक्ष्मीसँग सुनको नौगेडी बनाउने विषयमा असल सुनको कमसल पारिदियो भनी कलह भएको थियो । त्यसै इबीले कर्तव्यवालामा मेरो समेत नाउँ लेखेको हो भन्ने समेत इन्द्रलाल गुभाजुको ०१२ साल ६।९ को बयान रहेछ ।
१७. गते थाहा भएन । ०६ साल मार्ग हो । राति अन्दाजी ११,१२ बजे कुकुर भुकी लगारेको देखियो । मानिस चिनिएन । चोर रहेछ भन्ने लाग्यो । हाल कृष्णबहादुर साविती हुँदा निजैहरू रहेछन् भन्ने लाग्छ अरू कुरा थाहा छैन भन्ने समेत शिव कुमारको ०१३।२।१२ को बयान रहेछ ।
१८. ०६ साल श्रावण भाद्र कुनै मानिस चोर्न गएको र फायर समेत भएको कुरा थाहा छैन भन्ने समेत लालबीर राणा मगर समेत ९ जनाको ०१३।२।१३ को सर्जमीन मुचुल्का रहेछ ।
१९. मोतीप्रसाद सत्यप्रसाद कृष्णबहादुरका हकमा श्रीलक्ष्मीको हात खुट्टा बाँधी धन माल सुन चाँदी चोरी गरी ल्याएमा सावित भएको देखिँदा कृष्णबहादुर मोतीप्रसाद २ जनाको हकमा कैद वर्ष १२ दण्ड मोरु ५०४७।५० का दरले र सत्यप्रसादका हकमा कैद वर्ष २० गते गर्ने र साबित हुने कृष्णबहादुरले पोलेको चेत गोबिन्द ज्ञानु राज्य खत्री रहीस मियां रामकुमारका हकमा वारेन्ट म्यादी पुर्जी गुजारी बसेकोले निजहरू हाजिर भए वा फेला परेमा ठहरे बमोजिम गर्ने अरू हरी सुमेरु समेतका हकमा केही नगर्ने समेत गरी पाल्पा गौडा अपीलबाट ०१३ साल कार्तिक २७ गतेमा फैसला गरेको रहेछ ।
२०. ०५ सालदेखि कांग्रेसमा काम गरी रहेको कृष्णबहादुरले ईबी लिई रहेकोले झुट्टा उजुर गरेकोमा बडाहाकिम समेतले जोरजुलम गरी साबिती कागज गराएकोले सो बमोजिम उजुर दिँदा भएका आदेश बमोजिम कारवाई भएन । बुटौल अपीलको हाकिमले पनि मेरो जिरह बमोजिम काम गर्नु भएन । डि. कृष्णको लाचारी बयानबाट मलाई पक्री थुनी राखेपछि मात्र झगडिया झिकी उजुरी पार्न पछि भनि दयालक्ष्मीको बयान गराई ततीम्बा गराएको । अघि स्याङ्जा अदालतबाट जाँच तहकिकात गर्दा सत्यप्रसाद श्रीलक्ष्मीको घर गएको थियो भन्न नसकी पोखराको ३,४ जना श्रीलक्ष्मीको घर बास बस्न आएको भनी लेखेको । निजहरूलाई खोजतलास गरी पत्ता लगाई कारवाई नगरेकोले चित्त बुझेन भन्ने सत्यप्रसादको अपील पत्र रहेछ ।
२१. मेरो बाबु समरबहादुरले सान्तादेवी कालगतीले मरेकीलाई कर्तव्य गर्यो भनी घरका जहान केटाकेटी बाबुलाई जोर जुलुमबाट कागज गराएकोले सो बारेमा श्री ५ मा उजुर दिएको झगडीया भै राखेको हाकिम वडाहाकिमले फैसला गर्दा वास्ता गरेनन् । अघि दरवार काण्डमा बडाहाकिम समेत ४ अड्डाका हाकिमले म समेतलाई गिरफ्तार गरी लिएको धान रकम गोल रकम माफ हवस । जाली फटाहा गिरफ्तार गर भन्ने माग गरी आएमा पक्राउ भएका तुलाराम वैद्यलाई समेत तारकबहादुरले छोडी गाउँ माथि हुलहुज्जत गरे । चपोट खोस्ने प्रयास गरे । कुटपिट गरे भन्ने रिपोर्ट लिई थुनामा राखेकोले जेलमा पनि हाम्रो कुरा आलोचना गर्ने भनी रीस लिई यो ज्यान मुद्दामा पोले पोलाएका । जवरजस्ती सन्धिमा च्यापुवा लगाई कागज गराएको हुँदा मौकैमा उजुर दिएको । जालसाजबाट गराइएको कागज नक्कल सारी लिँदा मात्र थाहा भयो । निवेदन उजुर दिँदा के के भएको रहेछ ? कैफियत रिपोर्ट जाहेर गर्नु भन्ने तोक लागी अड्डामा आएको भनी पाल्पा अपीलबाट जनाउ दिए । सत्यप्रसाद उपर हाकिमले अह्राए सिकाए बमोजिम पोल गरेको हो । झगडिया हाकिमले छिनेकोमा चित्त बुझेन भन्ने कृष्णबहादुर सैंजुको अपीलपत्र रहेछ ।
२२. मलाई झुक्यानमा पारी गराएको बयान उपर मेरो उजुर परी श्रीमानबाट भएको तोक आदेशको ख्याल विचार नगरी जाहेरी फैसला गर्दा रोहवरमा समेत नराखी गरेकोले चित्त बुझेन भन्ने समेत मोतीप्रसादको अपील रहेछ ।
२३. जगत कुमारीले दिएको निवेदनमा मुद्दा चाँडो कजलिष्टमा चढाई चाँडो पेश गर्नु भन्ने हुकुम प्रमांगी भएको । जनाउको नक्कल पेश गर्न ल्याएकोले हुकुम प्रमांगी बमोजिम बैतनिक वकिल यहाँ नहुँदा र थुनुवा समेत सदरैमा भएकोले सर्वोच्च अदालतमा मिसिल चाँडो पठाई दिनु भन्ने सर्वोच्च अदालत पश्चिम दौडाहा भैरहवा क्याम्पबाट भई आएको रहेछ ।
२४. यमसा अपीलाट कृष्णबहादुर मोतीप्रसाद सत्यप्रसादहरूको पर्न आएको अपीलबाट अपीलाटहरू र वैतनिक वकिल कुलराज पाण्डे समेतको बहस सुनी इन्साफ तर्फ बिचार गर्दा सावित हुने कृष्णबहादुर समेतले पोलेको चेत गोविन्द १ लक्ष्मी १ ज्ञानु १ राज्य खत्री १ रहिस मियां १ रामकुमार १ का हकमा निजहरूले वारेन्ट र म्यादी पुर्जिको म्यादमा हाजिर नभई गुजारी बसेको देखिँदा निजहरू हाजिर हुन आएमा वा फेला परेमा ठहरे बमोजिम गर्ने गरी अ. बं. २४० नं. का ऐन बमोजिम मुल्तवी राखेको मनासिबै देखिएको र मोतीप्रसाद कृष्णबहादुर सत्यप्रसादका हकमा श्रीलक्ष्मीका घरमा खुन डाका गरेको ठहराएको पाल्पा अपील गौडाको ईन्साफ गल्ती भन्नालाई निज मातीप्रसाद सत्यप्रसाद कृष्णबहादुरहरू श्रीलक्ष्मीका घरमा गएमा सावितै भई बयान गरेको देखिएको । तैपनि निज मोतीप्रसाद सत्यप्रसाद कृष्णबहादुरहरूले बडाहाकिम समेतका मानिसहरू भै बाँधछाँद डर त्रास देखाई साविती बयान गराएका हुन् भनि पछिबाट इन्कारीमा रही पटक पटक निवेदनहरू दिएको मिसिलबाट देखिनाले कसो हो ? भन्नालाई निजहरूले दिएका निवेदनमा भएका आदेशबाट बुटौल अपीलले बुझी कैफियत रिपोर्ट जाहेर गर्दा ऐन सवाल बमाजिम गर्नु भन्ने आदेश भएकोले त्यसतर्फमा समेत केही विचार गरिरहनु नपर्ने । आफु बच्नाको खातिर सम्म पछिबाट इन्कारीको निवेदन दिएको सिद्ध हुन आएकोबाट मौकामा खुसी राजीबाट साविती बयान गरेको देखिन आएकोले निजहरू कसुरदार होइनन् रहेछन भन्न मुनासिव नदेखिँदा श्रीलक्ष्मीका घरमा खुन डाका गर्न संयोग कृष्णबहादुर मोतीप्रसाद मिलाई दिने र सत्यप्रसाद श्रीलक्ष्मीको मुखमा रुमाल कोची खुन डाका गर्न गएको ठहराएको पाल्पा अपील गौडाको इन्साफ मनासिव भएको । अब कुलमान बैद्य संखीया र योगेन्द्रले क्लोरोफाराम दिएको भन्ने कृष्णबहादुरको भनाई बमोजिम नठहराएको पाल्पा अपील गौडाको इन्साफ गल्ती भन्नालाई कुलमानको घरद्वारै फेला नपरेको । योगेन्द्रले क्लोरोफाराम दिएको सबुद केही नदेखिएकाले निज कुलमान योगेन्द्रहरूले संखीया क्लोरोफाराम दिएको नठहराएमा अपील उजुर समेत परेको नदेखिँदा निजहरूले क्लोरोफाराम र संखिया नदिएको ठहराएको पाल्पा अपील गौडाको इन्साफ मुनासिबै भएको । अब हरी सुमेरु इन्द्रलालका हकमा पनि दयालक्ष्मी कृष्णबहादुरले शंकाबाट पोलेको सावित हुने मानिसहरूले पोलेको नदेखिँदा निजहरू उपरमा र मोतीप्रसादका भनाई बमोजिम सुन खरीद गरी लिएको तीर्थ बाँडाले लिएको समेत नठहराएको पाल्पा अपील गौडाको इन्साफ मुनासिव देखिन आएको । अब मोतीप्रसाद कृष्णबहादुरहरूलाइ खुन डाकातर्फ दुवै कलममा सजाय दिने गरेको पाल्पा अपील गौडाको मुनासिव भन्नालाई खत माथि खत नथप्नु, जुन ठुलो खत हो त्यसमा मात्र सजाय दिनु भन्ने दण्ड सजायको २३ नं. भएकोमा ज्यान डाका तर्फ दुवै कलममा सजाय दिएको देखिँदा सजाय बेठीक देखिन आएको । अब निज मोतीप्रसाद कृष्णबहादुरलाई कुन पट्टीको सजाय दिन मनासिब होला भन्ने तर्फ विचार गरी हेरेमा पनि ज्यान तर्फ कैद वर्ष ६ मात्र हुने डाका तर्फ दण्ड कैद दुवै कलममा सजाय हुने भै ठूलो खत डाकातर्फ नै देखिन आएकोले डाकातर्फ मात्र सजाय दिए पुग्नेमा ज्यान डाका दुवैतर्फ सजाय दिने गरेको पाल्पा अपील गौडाको बेठीक देखिन आएको । अब सत्यप्रसादलाई दामली वापतको कैद वर्ष २० गर्ने गरेको मनासिव भन्नालाई मर्ने श्रीलक्ष्मी सत्यप्रसादकै चोटपिटबाट मरेको भन्ने मिसिलमा किटान भएको नदेखिएकोले ज्यान सम्बन्धीका २६ नं. का ऐन बमोजिम दामली वापतको कैद वर्ष २० गर्ने भन्न नमिली श्रीलक्ष्मीको मुखमा रुमाल कोची हात पात गरेमा कैद वर्ष २० सम्म सोही ज्यानसम्बन्धीका २६ नं. ले गर्नु पर्ने देखिन आएको र अब सत्यप्रसादको अंश सर्वश्व गर्ने ठहराएको पाल्पा अपील गौडाको मुनासिव भन्न ज्यान सम्बन्धीको २६ नं. ले कैद वर्ष २० हुनेमा दण्ड सजायको ३१ नं. ले दामल हुनेका हकमा मात्र अंश सर्वश्व गर्नु पर्ने । त्यसमा सत्यप्रसाद दामल हुने नभई २० वर्ष कैद सम्म हुने मानिस देखिँदा निजको अंश सर्वश्व गर्न नमिली सत्यप्रसादको अंश सर्वश्व गर्ने ठहराएको पाल्पा अपील गौडाको बेठीक देखिन आएकोले तपसिल बमोजिमका मानिसहरूलाई तपसिलमा लेखिए बमोजिम गर्नु भनी तहसिलमा लगत दिई फरार रहेका हकमा तदारुकतासाथ कारवाई गर्न मिसिल पाल्पा अपीलमा पठाई दिनु ।
तपसिल
पाल्पा तान्सेन भगवती टोलको घर भै हाल सदर जेलमा थुनिएको सत्यप्रसाद सैजुको पाल्पा अपील गौडाको १३–७–२७ का फैसलाले गर्ने गरेको दामल वापतको कैद वर्ष २० वीस नलाग्ने ठहरेको लगत काटी दिनु भनी पाल्पा अदालतमा पुर्जि गर्न तहसिलमा लगत दिनु ...............१
ऐ. ऐ. बस्ने निज सत्य प्रसद सैंजुको श्रीलक्ष्मीको घरमा खुन डाका गरेमा ज्यान सम्बन्धीका २६ नं. ले कैद वर्ष २० हुन्छ ०९–९–९ दखि पालपा अपील मार्फत सदर जेलमा थुनिएकोले ऐन बमोजिम गर्नु भनी तहसिलमा लगत दिने ................२
देहायका मानिसहरू के सुरु पाल्पा अपील गौडाका १३।७।२७ का फैसलाले गर्ने गरेको देहायबमोजिमको कैद हाल नलाग्ने भएकोले लगत काटी दिनु भनी पाल्पा अदालतमा पुर्जि तहसिलमा लगत दिने ................. ३
आसामी कैद दण्ड
पाल्पा तानसेन असनटोलको १२– ५०४७।५०
हाल सदर जेलमा थनिएको
कृष्णबहादुर सैंजुके
ऐ ऐ नारायण टोलको हाल
सदर जेलमा थुनिएको माति
प्रसाद नेवार के १२– ५०४७।५०
निज देहायका मानिस के मथि इन्साप खण्डमा लेखिएबमोजिम चोरीको २१ नं. ले कैद वर्ष ६ र दण्ड मो. रु. ५०४७।५० दरले दण्ड कैद हुन्छ पाल्पा अदालतमा ०९।९।९ देखि थुनिएकोले देहायबमोजिम गर्नु भनि तहसिलमा लगत दिने .................... ४
असामी कैद दण्ड
पाल्पा तानसेन असन टोलको
घर भई हाल सदर जेलमा
थुनिएको कृष्णप्रसाद सैंजुके ६ ५०४७।५०
ऐ ऐ नारान टोलको
हालसदर जेलमा थुनिएको
मोतिप्रसाद नेवार के ६ ५०४७।५०
देहायका मानिस के अपील गरेवापत सजाय गर्न पर्छ कि भन्नालाई यस सर्वोच्च अदालतबाट घटी सजाय भएकोले थप सजाय गर्नु पर्दैन ...................५
इति सम्वत् २०१७ साल चैत्र १७ गते रोज ५ शुभम् ।