शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २९६३ - उत्प्रेषण

भाग: २९ साल: २०४४ महिना: बैशाख अंक:

निर्णय नं. २९६३   ने.का.प. २०४४ अङ्क १

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४२ सालको रिट नम्बर १८६३

विषय : उत्प्रेषण

निवेदक  : का.न.पं वडा नं. २३ ओमबहाल बस्ने सिद्धिहर्षको छोरा वर्ष ७५ को बुद्धिहर्ष बज्राचार्य

विरुद्ध

विपक्षी   : का.न.पं. को प्रधानपञ्च कमल चित्रकारसमेत

    का.न.पं. नक्सा फाँट ।

    का.न.पं का सल्लाहकार चोलेन्द्र शम्शेर ज.ब.रा ।

    का.न.पं वडा नं.३३ ज्ञानेश्वर बस्ने तिर्थसिद्धि बिष्टकी छोरी वर्ष ६१ की पुष्प कुमारी पंत।

आदेश भएको मिति: २०४३।७।११।३ मा

 

§  विवादको नक्शा पासको दर्खास्त नगरपञ्चायतमा दिएकोमा जग्गाधनीले रिट निवेदकको नाम उल्लेख नगरी साविक जग्गाधनीको निस्सासम्म उल्लेख गरेको पाइन्छ । प्रत्यर्थी जग्गाधनी नभई मोही भएको कुरामा विवाद छैन । यसै अदालतको निर्णयबाट रिट निवेदक जग्गाधनी देखिन आएको छ । त्यस्तोमा निजलाई ज.ध. नदेखाई परेको नक्शा दर्खास्तबाट निवेदकले उजूर गर्ने स्थिति आएन । त्यस्तो दर्खास्तको आधारमा नक्शा पास गरी गरेको प्रत्यर्थी नगरपञ्चायतको आदेश नगरपञ्चायत ऐन, २०१९ को दफा ४७ को प्रतिकूल भई उक्त निर्णय अनुसार प्रत्यर्थीलाई दिएको नक्शा पासको प्रमाणपत्र उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. १४)

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ

विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

उल्लेखित मुद्दाःx

आदेश

न्या.बब्बरप्रसाद सिंहः- नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य एवं जिकिर निम्न प्रकारको छ ।

२.  का.जि.का.न.पं. वडा नं. ३२ डिल्ली बजार कालिका स्थानको कि.नं. १०० क्षेत्रफल रोपनी ३११२ को जग्गावाला जग्गाधनी निवेदक हुँ । मोही विपक्षी नं. ४ हुनुहुन्छ । साविक मोही भैरवदत्त लोहनीबाट उक्त जग्गा र सो मा भएको कच्ची छाप्रो घर नं. ४ ले ०१९।९।९ मा खरीद गरी लिनु भएको रहेछ । उक्त छाप्रोमा भित्र भित्रै पाको इँटको गारो उठाई कर्कटको छाना राखी पक्की देखाउने नियत गरी तलसिंको स्वीकृति नलिई नक्शा नगरी बनाएमा न.पं. मा उजूर पर्दा साविक जग्गाधनी रत्नकाजी शाक्यले भैरवदत्तलाई तपाई वा तपाईंका हकदार वा तपाईंले बिक्री गरी अरु मोही हुन आएमा पनि घर बनाउन दिन मञ्जूर छ भनी ०१६।९।२।५ मा स्वीकृत गरी दिएबाट भैरवदत्तले ०१८।३।२०।३ मा पास प्रमाणपत्र पाएको छु । मैले राजीनामा गरी लिई मञ्जूरनामा बमोजिम घर बनाएको हुँ हाल बनाएको होइन भन्ने पुष्पकुमारी वारेशद्वारा कागज ।

३.  चारैतिर इँटको गारो भएकोमा घरको भित्र चारैतिर पाको ईंटको गारो जस्ताको छाना गरी बनाई राखेको दस्तूर नलाग्ने भन्ने ओभरशियरको जाहेरी । घरको वाहिर भाग साविक देखि हालसम्म काँचो गारो नै कायम गरी पक्की बनाएको भन्ने नहुँदा भित्री भाग अदल बदल गर्न स्वीकृति लिन र नक्शा पास गर्न पर्ने देखिएन भन्ने काठमाडौं नगरपञ्चायत मुद्दा फाँटको निर्णयमा पुष्पकुमारी पन्तको पुनरावेदन पर्दा इन्साफ शुरुको मनासिब भन्ने काठमाडौं नगरपञ्चायत बैठकको मिति २०३४।७।१७।४ को निर्णय ।

४.  विपक्षी पुष्पकुमारी पन्तको रिटनिवेदन परी ओभरशियरको प्रतिवेदन परेपछि नक्शा पास गर्न पर्दैनथ्यो भनी जाँचबाटै मुद्दा नचल्ने देखिएको विपक्षी झिकाई कारवाही ठहर गरी नगर सभाले पुनरावेदन सुनी सदर गरेको मेरो स्वीकृति बिना बनाएको भन्ने उजूर नगरपञ्चायतको अधिकार क्षेत्र भित्र नपर्नेमा उजूर लिएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति २०३५।४।१०।३ मा निर्णय ।

५.  पुष्पकुमारी पन्तले पुनः स्वीकृति नलिई नक्शा पास नगरी घर बनाएकोले काठमाडौं नगरपञ्चायत मार्फत मुद्दा परेको हाल अदालतमा चलिरहेको छ । निवेदकको घर का.न.पं. वडा नं. २३ ओमबहालमा भएको मोही लागेको विवादित जग्गा वडा नं. ३२ डिल्ली बजार कालिकास्थानमा भएको हरबखत जग्गामा हेर्न सकिने अवस्था नभएको यही मार्ग १० गते दिन सो बाटो हिंड्दा उल्लेखित कि.नं. १०० को रोपनी ३११० जग्गा मध्ये उत्तर दक्षिण पश्चिमतर्फ जग्गा बाँकी राखी पूर्व पट्टि पूर्व पश्चिम १३ फिट उत्तर दक्षिण २१ फुट जग्गामा ईंट गारो पत्थरको रोडा सिमेण्ट र फलामको डण्डीको उपयोग गरी जमीन तलामा ढलान गरी त्यस माथि पहिला तलामा उत्तर देखि दक्षिणसम्म तीनवटा अं. ८ फिट उच्चा पिलर खडा गरी सकेको देखियो त्यहाँ रहेको विपक्षीको छोरा दुर्गाराज पन्तसँग सोधनी गर्दा नक्शा पास गरी बनाएको हुँ त्यसै बनाएको होइन भन्नु भयो । का.न.पं.मा बुझ्दा नक्शा पास गरेको भन्ने बुझिई मिति २०४२।८।१४ मा नक्कल लिई हेर्दा कि.नं. १०० को रोपनी ३११० को जग्गामा पूर्व आफ्नो जग्गा पश्चिम आफ्नो जग्गा उत्तर दक्षिण पनि आफ्नो जग्गा मोहियानी हकको नयाँ घर बनाउनेका साविक जग्गाधनीको मञ्जूरीपत्र र स.अ.को फैसलाको नक्कल पेश गरेको विपक्षी पुष्पकुमारी पन्तले दुर्गाराज पन्त मार्फत नक्शा दर्खास्त दिनु भएको र न.पं. बाट २ जनाको हामीहरूलाई घर बनाउँदा पिरमर्का पर्दैन भन्ने मुचुल्का गराएको र स.अ.को मिति २०४१।३।२६ को रिट १६४३ को निर्णयले मोहीले पटकै पिच्छे स्वीकृति लिन नपर्ने यसमा साविक ज.ध. को स्वीकृति पेश गरेको कसैको उजूर नपरेको मोही पुष्पकुमारी भन्ने मोही प्रमाणपत्रबाट देखिन्छ । नक्शा पास गरी दिँदा कानून अड्चन नहुँने भन्ने कानूनी सल्लाहाकार चोलेन्द्र शमशेर ज.ब.रा. को लिखित सल्लाह टाँस हुँदा उजूर नपरेको भन्ने समेत बोली राखी नक्शा दर्खास्त बमोजिम बनाउन मिति २०४१।१२।३० मा विपक्षी नं. २ का.न.पं. नक्शा फाँटबाट नक्शा पास प्रमाणपत्र गरी दिएको देखियो ।

६.  पुष्पकुमारी पन्तले पेश गरेको मोही हकको प्रमाणबाट जग्गाधनी बुद्धिहर्ष बज्राचार्य भन्ने देखिए पनि नक्शा दर्खास्तमा जग्गाधनी यो हो भन्ने पनि खुलाउन लगाउन पर्दथ्यो । सल्लाहकारको लेखाइमा मोहियानी हकको प्रमाणपत्रको उल्लेख छ तर दर्खास्त प्रमाण दिएको देखिँदैन । दर्खास्त परी सकेपछि मात्र दाखिल गरेको मान्नु परेको छ । विपक्षी मोही मात्र हुन् भन्ने देखिएपछि भू.सं. ऐन, २०२१ को दफा २६ को (३) अनुसार जग्गाधनीको स्वीकृति चाहिनु आवश्यक छ सो नभई नगरपञ्चायतबाट नक्शा पास गर्न नमिल्ने पनि प्रष्टै छ । कानूनी व्यवस्था अनुसार जग्गाधनी निवेदकलाई नबुझी मलाई जनाउ नदिई केही भन्न प्रतिवाद गर्न मौका नदिई कसैको उजूर नपरेको भनी नक्शा पास गरेको त्रुटिपूर्ण प्राकृतिक न्यायको विपरीत भएको छ । स.अ. को मिति २०४१।१२।२२ को निर्णयमा घर बनाउन पटकै पिच्छे स्वीकृति लिन नपर्ने यसमा साविक ज.ध. रत्नकाजीको स्वीकृति पेश गरेको देखिन्छ भने सल्लाहकारको सल्लाह अनुसार समेत नक्शा पास गरेको पाइन्छ । पुष्पकुमारी पन्तले साविक जग्गाधनीको मञ्जूरीनामाको नक्कल पेश गरेको छ दर्खास्तमा साविक जग्गाधनीको नाम उल्लेख गरेको छैन पेश गरेको नक्कल मञ्जूरीनामा भनिएको कागजबाट रत्नकाजी शाक्य भन्ने देखिन्छ तर न.पं समुदायले उक्त नक्कल कागज बाहेक साविक जग्गाधनी रत्नकाजी शाक्य नै हो भनी कुन आधारमा प्रमाणबाट स्वीकार गरेको प्रमाण लिएको हो त्यसको केही उल्लेख छैन । उक्त लिखत पासलाई रत्नकाजी शाक्यले भैरवदत्तलाई दिएको भनी भनिएको छ । भैरवदत्तबाट पुष्पकुमारी पन्तले गराई लिनु भएको राजीनामाबाट उक्त कागज सम्पूवा गरेको देखिँदैन । पुष्पकुमारीले पेश गर्दैमा मञ्जूरी कागजलाई एकतर्फ सहि मान्न मिल्दैन उक्त कागज सद्दे हो वा कीर्ते हो वर्तमान  अवस्थाको जग्गाधनी निवेदकलाई देखाउन सुनाउन पर्छ अ.बं. ७७ नं. अनुसारको प्रकृया पूर्ण नभई कुनै पनि विपक्षीले पेश गरेको कागज सही मान्न मिल्दैन हालको जग्गाधनी मलाई नबुझी साविक जग्गाधनीले गरेको स्वीकृति भनी मेरो सम्पत्तिमा मलाई असर पर्ने हानी नोक्सानी हुने गरी गरेको निर्णय त्रुटिपूर्ण छ ।

७.  नगरपञ्चायतले पास गरी दिएको नक्शापासको प्रमाण बदर भएकोमा सो को आधारमा घर बनाइरहेको पनि नगरपञ्चायत ऐन, २०१९ को दफा ५३ अनुसार समेत बनाउन नपाउने यस्तो गलत त्रुटिपूर्ण कारवाही नक्शापास प्रमाणपत्र नेपालको संविधान धारा १०,११(२) को खण्ड (ङ) धारा १५ को मेरो संवैधानिक हकमा आघात परेकोले उक्त कारवाही तथा नक्शा पास प्रमाणपत्र बदर गरी उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने समेत मुख्य रिटनिवेदन जिकिर ।

८.  यसमा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति २०४२।८।१९ गतेको आदेश रहेछ ।

९.  मैले घर बनाइसकेको तथ्यलाई स्वयं विपक्षीले स्वीकार गर्नु भएको छ । मेरो घर बनिसकेको छ । मुलुकी ऐन घर बनाउनेको ११ नं. को हदम्याद भित्र विपक्षीको उजूरी फिराद छैन र न.पं. ऐन, २०१९ को दफा ५३ समेत प्रासंगिक नभएकोले विपक्षीको रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत पुष्पकुमारी पन्तको लिखितजवाफ रहेछ ।

१०. रिट निवेदक मध्ये बुद्धिहर्ष बज्राचार्यको रिटनिवेदनमा वारिस भन्ने सम्म उल्लेख भएको तर को वारिस हो सो उल्लेख भएको रिट निवेदकको निवेदनमा महलमा पनि निजको सही नभएको प्रष्ट छ निवेदक महलमा वा जितेन्द्रहर्ष बज्राचार्य भन्ने लेखिएको तिनै वा जितेन्द्रहर्ष रिट निवेदक नै देखिएन । यस्तो टेक्नीकल गल्ती भएको नक्शा फाँट र म कानूनी सल्लाहकार प्रतिवादीको रुपमा लिन नमिल्ने हुँदा सरोकार नै नभएको व्यक्तिलाई विपक्षी बनाएको र पारीत भएको नक्शा दर्खास्त साथ पेश भएको लिखतलाई सद्दे कीर्तेमा सुनाउनु पर्ने स्थिति नहुँदा समेत रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत काठमाडौं नगरपञ्चायत नक्शा फाँट र का.न.पं. प्रधानपञ्च कमल चित्रकार र सल्लाहकार चोलेन्द्र शमशेर ज.ब.रा. समेतको संयुक्त लिखितजवाफ रहेछ ।

११.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश भई आएको प्रस्तुत विषयमा पक्ष विपक्षको तर्फबाट तारिखमा रहेका वा. समेतहरूलाई रोहवरमा राखी रिट निवेदकतर्फबाट बहसको लागि उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ तथा प्रत्यर्थी पुष्पकुमारी पन्तको तर्फबाट बहसको लागि उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीको बहस जिकिर समेत सुनियो ।

१२. प्रस्तुत विषयमा रिट निवेदकको निवेदन माग बमोजिमको आदेश जारी गर्नु पर्ने हो होइन सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

१३. यसमा भू.सं. ऐन, २०२१ को दफा २६ को (३) बमोजिम जग्गाधनीको स्वीकृति लिई न.पं. बाट नक्शा पास गर्न पर्नेमा सो नगरी रिट निवेदक जग्गाधनीलाई बुझ्दै नबुझी प्रतिवाद गर्ने मौका समेत नदिई कसैको उजूर नपरेको भनी नक्शा पास गरेको प्रत्यर्थी कार्यालयको निर्णय तथा काम कारवाही उक्त ऐन तथा प्राकृतिक न्याय सिद्धान्त विपरीत समेत हुँदा उक्त मिति २०४१।१२।२० को नक्शा पास प्रमाणपत्र बदर गरिपाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर भएकोमा साविक जग्गाधनी रत्नकाजी शाक्यले दिएको मञ्जूरनामा लिखत सहित नक्शा दर्खास्त गरेको र सोही अनुरुपको संधियार सूचनाको साथै कसैलाई पीर मर्का पर्छ भने  उजूर गर्न १५ दिने सूचना सार्वजनिक रुपमा टाँस गरी सरजमीन गर्दा समेत कसैको उजूरी नपरेकोबाट नक्शा पास गरेको कानून बमोजिम नै हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने लिखितजवाफ भएको पाइन्छ ।

१४. यस सम्बन्धमा नगरपञ्चायत ऐन, २०१९ को दफा ४७ हेर्दा नयाँ जग्गामा घर बनाउन निमित्त दफा ४६ बमोजिम नक्शा सहित दर्खास्त पेश गर्दा आफ्नो हकभोगको जग्गामा बनाउने भए हकभोगको निस्सा र अरुका हकभोगको जग्गामा बनाउने भए ज.ध.को हकभोगको निस्सा सहित निजले मञ्जूरीको लिखत समेत पेश गर्न पर्छ भन्ने उल्लेख भएको पाइन्छ । प्रत्यर्थी पुष्पकुमारी पन्तले विवादको नक्शा पासको दर्खास्त नगरपञ्चायतमा दिएकोमा जग्गाधनीले रिट निवेदक बुद्धिहर्ष बज्राचार्यको नाम उल्लेख नगरी साविक जग्गाधनीको निस्सा समेत उल्लेख गरेको पाइन्छ । प्रत्यर्थी पुष्पकुमारी जग्गाधनी नभई मोही भएको कुरामा विवाद छैन । यसै अदालतको मिति २०३५।४।१०।३ को निर्णयबाट रिट निवेदक बुद्धिहर्ष बज्राचार्य जग्गाधनी देखिन आएको छ । त्यस्तोमा निजलाई ज.ध. नदेखाई परेको नक्शा दर्खास्तबाट निवेदकले उजूर गर्ने स्थिति आएन । त्यस्तो दर्खास्तको आधारमा नक्शा पास गरी गर्ने गरेको प्रत्यर्थी नगरपञ्चायतको उक्त मिति २०४१।१२।२० को आदेश नगरपञ्चायत ऐन, २०१९ को दफा ४७ को प्रतिकूल भई उक्त निर्णय अनुसार प्रत्यर्थी पुष्पकुमारी पन्तलाई दिएको नक्शा पासको प्रमाणपत्र उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । साथै कानून बमोजिम गर्नु भनी प्रत्यर्थी कार्यालयको नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । प्रत्यर्थी कार्यालयको जानकारीको लागि यसै आदेशको एकप्रति सम्बन्धित कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४३ साल कार्तिक ११ गते रोज ३ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु