निर्णय नं. २९६८ - उत्प्रेषण

निर्णय नं. २९६८ ने.का.प. २०४४ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४२ सालको रिट नं. १६६९
विषय : उत्प्रेषण
निवेदक : जि. सुनसरी मेघली गा.पं वार्ड नं. २ बस्ने सुदीदेवी थरुनी
विरुद्ध
विपक्षी : जि.भु.सु.का. सुन्सरी।
जि.सुन्सरी मैथली गा.पं.वार्ड नं.२ बस्ने ढोडनदास थारु।
आदेश भएको मिति : २०४३।१०।६।३ मा
§ मोहीको मृत्युपछि निजको स्वास्नी छोराहरू मध्ये जग्गाधनीले रोजेको व्यक्ति मोही हुने भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । मोहियानी हक बण्डा नहुने संयुक्त रुपमा रहने अथवा भाइले प्राप्त गर्ने भन्ने कानूनी व्यवस्था भएको नपाइने ।
(प्रकरण नं. १२)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली
प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह
उल्लेखित मुद्दाः x
आदेश
न्या.बब्बरप्रसाद सिंहः- नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको तथ्य एवं जिकिर यस प्रकार छ ।
२. जि. मोरङ विराटनगर न.पं. वार्ड नं. १० निवासी जग्गाधनी कुमार शमशेरका नाउँमा दर्ता भएको जि.सुनसरी मथेली गा.पं. वार्ड नं. २(ङ) को कि.नं. ७६ को ज.वि. ६–४–४ जग्गाको अधिकार प्राप्त मोही निवेदकको पति स्व. उजरुदास थारु हुनुहुन्थ्यो । सो जग्गा स्व.पतिदेवले अवछिन्न रुपमा आमोद कमोद गरी आउनु भएकोमा २०३२ सालमा पति परलोक हुनु भयो । वहाँको शेषपछि एका घरकी श्रीमती निवेदिकले कमाई कानूनको शर्त बन्देजमा रही पति उजूरुदासको नामबाट जग्गाधनीलाई अद्यापी कुतबाली बुझाएकी छु पतिदेवको शेषपछि निवेदकले मात्र कमाएको तथ्यले पनि सो जग्गाको मोही विपक्षी नभएको प्रष्ट हुन्छ । उल्लेखित जग्गा २०३२ सालमा पतिदेवको निधनपछि एकाघरको धर्मपत्नी म निवेदिकाले भू.सं. ऐन, २०२१ को दफा २६(१) बमोजिम मोहीको नामसारी गरिपाउँ भनी भू.सु.का. सुनसरीमा मिति २०४१।११।१० को स्थानीय मघेली गा.पं. को सिफारिश साथ राखी निवेदन दिएको थिएँ । विपक्ष मध्येका ढोडनदासले सो जग्गाको मोहियानी प्रमाणपूर्जा दाजु उजरुदासले प्राप्त गरे पनि हामी एकासगोलका सबै परिवारले कमाई आएको र भू.सु. लागु हुँदा मोहीले भर्नुपर्ने अनुसूची कैफियतमा सो व्यहोरा उल्लेख भएको हुँदा उक्त जग्गामा म समेतले कमाई स्व.उजरुको नामबाट सालसालै कुतबाली बुझाएको हुनाले कि.नं. ७६ को ज.रो ६–४–४ मध्ये दक्षिणतर्फबाट २–४–० र कि.नं. १०६ को ज.वि. ०–७–० समेत जम्मा ज.वि. २–१०–० जग्गा मैले मोहीको हैसियतले कमाई आएको हूँदा मेरो नाउँमा नामसारी गरिपाउँ भन्ने समेत व्यहोराको निवेदन विपक्षी भू.सु.का. सुनसरीमा दिनु भएछ ।
३. विपक्षी भू.सु.का. सुनसरी र यसपछि कार्यालय भनिएकोले बुझ्नु पर्ने प्रमाणलाई उपेक्षा गरी स्व.उजरुदास समेत ३ परिवारका नाउँमा संयुक्त प्रमाण कार्यालय स्थित रहेको ३ नं. बाट देखिएकोले उक्त जग्गा मा तीनैजना मोही भएको स्पष्ट हुँदा उजरुदासको हक जति निवेदिका सुदीदेवीको नाउँमा सुमकलालको कुनै निवेदन नपरेकोले निजको भाग पनि सुदिदेवी र सुमकलालको नाउँमा संयुक्त प्रमाण पूर्जा बनाई दिने र ढोडनको हकमा अकली थरुनीको नाउँको मघेली गा.पं. वार्ड नं. २ को कि.नं. १०६ को ज.वि. ०–७–० र कुमार शमशेर थापाको नाउँको कि.नं. ७६ को ज.वि. ६–४–४ मध्ये दक्षिणतर्फबाट दामासाहीले पर्न आउने जति जग्गामा दामासाहीले बेग्लै पूर्जा बनाई दिने गरी भू.सं. ऐन, २०२१ को दफा २६(१) बमोजिम नामसारी हुने ठहर्छ भनी मिति २०४२।३।२४ मा फैसला गरेकोले अन्य उपचारको व्यवस्था नहुँदा सम्मानीत स.अ.को असाधारण अधिकार क्षेत्र गुहार्न उपस्थित भएको छु ।
४. भू.सं. ऐनको स्पष्ट प्रयोजनको लागि पतिदेवको नाउँको मोही सम्बन्धी हक निजको शेषपछि म निवेदिकाको नाउँमा मात्र नामसारी हुनु पर्नेमा विपक्षी ढोडनदासले म समेतका मोही हक लाग्ने जग्गा हो भन्ने व्यहोराको कथित निवेदन दिई विपक्षी कार्यालयले समेत ऐनको स्पष्ट कानूनी प्रावधानहरूलाई बर्खिलाप गरी विपक्षी ढोडनदास समेतका नाउँमा मोहियानी हकको प्रमाणपूर्जा दिइएको छ जस्मा भू.सं. ऐनको दफा २६(१) तथ्य सम्मानीत स.अ. बाट प्रतिपादित सिद्धान्त समेतको विपरीत भएकोले स्वतः बदरभागी छ ।
५. कार्यालय स्थित रहेको ३ नं. प्रमाणमा निवेदिकाका स्व.पति उजरु समेत जना ३ को संयुक्त नाम रहन गएको कारणले मात्र उल्लेखित जग्गामा विपक्षी ढोडन समेतलाई विपक्षी कार्यालयले दामासाहीले हुने क्षेत्रफल जग्गा उजरुको नाउँबाट नामसारी गरी मोहियानी हको प्रमाण पूर्जा बनाई दिने निर्णय गरेको छु । भू.सं. ऐन तथा नियमावली, २०२१ बमोजिम मोहियानी हक प्राप्त गर्नलाई कार्याल स्थित रहेको ३ नं. प्रमाणको कैफियत महलमा नाउँ उल्लेख भएको कारणले मात्र प्राप्त हुन सक्दैन । सो जग्गा मोहीको हैसियतले जग्गा कमाई जग्गाधनीलाई कुत बुझाएको अवस्थामा मात्र मोहियानी हक प्राप्त हुन्छ । भू.सं ऐन बमोजिम कुनै १ कित्ता जग्गामा १ व्यक्तिलाई मात्र मोहियानी हक प्राप्त हुन्छ । भू.सु. ऐनमा मोहियानी सम्बन्धमा प्राप्त हक बण्डा हुन सक्दैन भन्ने सम्बन्धमा सम्मानीत स.अ.बाट आशामाया डंगोलनी वि.हर्षबहादुर डंगोलको अंश मुद्दा (ने.का.प. २०३२ पृष्ठ ४१ वि.वे.नि.नं. ८९२) मा निर्णय भई सिद्धान्त प्रतिपादन भएको छ । सो जग्गाको मोही निवेदिकाका स्व.पति उजरुदास मात्र भएकोले निजका नाउँमा रहेको मोहियानी हकमा निजको शेषपछि निवेदिकाको नाउँमा मात्र नामसारी हुनपर्नेमा दामासाीले हुने क्षेत्रफल जग्गा उजरुको नाउँबाट विपक्षी ढोडन समेतलाई नामसारी गरी मोहियानी हकको प्रमाण पूर्जा दिएको विपक्षी कार्यालयको निर्णयमा भू.सं. ऐन, २०२१ को दफा २५(१) र (२) तथा दफा ३४ को गम्भीर त्रुटिपूर्ण हुँदा स्वतः बदरभागी छ ।
६. उपरोक्त तथ्य एवं त्रुटिले गर्दा स्व.पति उजरुको नाउँमा रहेको मोहियानी सम्बन्धी हक निजपछि एकाघरकी धर्मपत्नी म निवेदिकाको नाउँमा मात्र नामसारी हुनु पर्नेमा सरासर गैरकानूनी निर्णय गरी विपक्षी ढोडनदास र सुमकलालको नाउँमा समेत दामासाहीले मोही नामसारी गराई प्रमाण पूर्जा दिने निर्णय गरेकोले सो निर्णयले निवेदिकाको संविधानको धारा १०(१) र (२)११(२)(ङ) द्वारा प्रदत्त मौलिक हकमा अतिक्रमण हुन गएकोले अन्य उपचारको व्यवस्था नहुँदा धारा १६ बमोजिम सम्मानीत सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्रको शरण लिन उपस्थित भएको छु । धारा ७१ बमोजिम उत्प्रेषणको आदेशद्वारा विपक्षी भू.सु.का. सुनसरीले ढोडनदास समेतका नाउँमा प्रमाण पूर्जा दिने गरेको मिति २०४२।३।२४ को निर्णय बदर गरी निवेदिकाको पति स्व. उजरुको नाउँमा रहेको कि.नं. ७६ को ज.वि. ६–४–४ क्षेत्रफल जग्गाको मोही निवेदिकाको नाउँमा नामसारी गरी मोहियानी हकको प्रमाण पूर्जा दिनु भन्ने विपक्षी कार्यालयको नाउँमा परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत मिति २०४२।६।१५।३ मा पर्न आएको रिटनिवेदन ।
७. यसमा के कसो भएको हो ? निवेकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन प्रत्यर्थीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको मिति २०४२।६।२० को आदेश ।
८. मोहीको मृत्यु पश्चात निज मोहीले प्राप्त गरेको ३ नं. मोही स्थायी प्रमाणपत्रको कैफियत महलमा उल्लेख भएका परिवार र निजकी श्रीमती सुदीदेवीका नाउँ समेतमा कुमार शमशेर थापाका नाउँको जग्गा नामसारी गरी दिने र अकली थरुनीका नाउँमा मोही नामसारी हुने ठहराई उक्त मितिमा भएको निर्णयमा कुनै किसिमको त्रुटि नभएको र रिट निवेदकको संवैधानिक हकमा समेत बाधा पुग्ने गरी सो मितिमा निर्णय भए गरेको नहुँदा रिटनिवेदन खारिज गरिपाउँ भन्ने समेत भू.सु.का. सुनसरीको लिखितजवाफ ।
९. रिट निवेदकको श्रीमान उजरुदास थारु शुमकलाल थारु र ठोडनदास थारु तीनैजना दाजुभाइ भएको हुँदा उक्त विवादित जग्गामा बराबर मोहियानी हकमा खान पाउने गरी हामीहरूका नाउँमा संयुक्त रुपमा दर्ता भई आएको जग्गा हो । निवेदकले एकलौटी गरी बदनियत लिई खान खोजेको हो । मैले अवछिन्न रुपमा जग्गा कमाई कुतबाली बुझाई भर्पाई पाइआएको छु । भर्पाई भने संयुक्त रहेको छ । मेरो हक समाप्त हुनको निमित्त भू.सं. ऐन, २०२१ को दफा २९ बमोजिम प्राप्त गरेको मोहियानी हक समाप्त हुने स्थिति नै छैन र प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम मेरो हक लाग्ने प्रष्ट छ । रिट आवेदकको नाममा मेरो नाम कट्टा गरी नामसारी हुन सक्ने अवस्था छैन । नामसारी केवल उजरु दास थारुको हकमा निजको नाममा रहेको मोहियानीको नामसारी मात्र हुन सक्ने भू.सं. ऐन, २०२१ ले हक अधिकार प्रदान गरेको छ । भू.सु.का. सुनसरीले सोही आधारामा सबूत प्रमाण बुझी कानून बमोजिम गरेको निर्णयमा कुनै त्रुटि नभएकोले निवेदिकाको हकमा आघात पुगेको छैन अतः मिति २०४२।३।२४ गते भू.सु.का. सुनसरीको निर्णय यथावत कायम गर्ने गरी रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेतको ढोडनदास थारुको लिखितजवाफ रहेछ ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदिकातर्फका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली तथा प्रत्यर्थी कार्यालयको तर्फबाट बहसका निम्ति खटिई आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह समेतको बहस जिकिर समेत सुनियो ।
११. यसमा निवेदिकाको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन त्यसमा निर्णय दिनु पर्ने हुन आयो ।
१२. यसमा विवादको जग्गाको मोहियानी निवेदिकाको लोग्ने उजरुदासको नाउँमा भएकोलाई प्रत्यर्थी ढोडनदासले पनि स्वीकार गरेको छ । ढोडनदास उजरुदासको भाइ भएकोमा पनि विवाद देखिएन विवादित जग्गाको मोही उजरुदासको मृत्युपछि निजकी स्वास्नी निवेदिका सुदिदेवी थारुनी नै मोहियानी हक नामसारी गरिपाउँ भनी भू.सु.का.मा दिएको निवेदन र प्रत्यर्थी ढोडनदासले पनि नामसारीको निवेदन दिएको रहेछ । भू.सु.का.बाट सम्बन्धित माल कार्यालय बुझ्दा विवादको जग्गाको मोहियानी उजरुदासको नाउँमा भएको भन्ने मालपोत कार्यालय सुनसरीको च.नं. ६२५० मा पठाएको पत्रको नक्कल मिसिल संलग्न रहेकोबाट स्पष्ट हुन आएको छ । अब मोहीको मृत्युपछि यो मोहियानी हक कसले पाउने भन्ने कानूनी व्यवस्थातर्फ हेर्दा भू.सं. ऐन, २०२१ को दफा २६(१) मा यस परिच्छेदको अन्य दफाहरूको अधिनमा रही मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पत्नी वा छोराहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने उल्लेख भएको पाइन्छ । त्यस अनुसार मोहीको मृत्युपछि निजको स्वास्नी छोराहरूमध्ये जग्गाधनीले रोजेको व्यक्ति मोही हुने भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । मोहियानी हक बण्डा नहुने संयुक्त रुपमा रहने अथवा भाइले प्राप्त गर्ने भन्ने कानूनी व्यवस्था भएको पाइँदैन । निवेदिकाको लोग्ने उजरुदास थारुका नाउँको मोहियानी हक निजको मृत्युपछि निजको भाइ ढोडनदासको नाउँमा नामसारी हुने भन्ने भू.सु.का. को २०४२।३।२४ को निर्णय कानून अनुरुप नहुँदा त्यति हदसम्म बदर हुने ठहर्छ सो बदर भए जतिको सम्बन्धमा कानून बमोजिम निर्णय गर्नु भनी परमादेशको आदेश समेत जारी हुने ठहर्छ। सम्बन्धित कार्यालयको जानकारीको लागि म.न्या.का. मार्फत यस आदेशको १ प्रति पठाई नियम बमोजिम गरी फाइल बुझाई दिनु ।
उक्त रायसंग म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४३ साल माघ ६ गते रोज ३ शुभम् ।