शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८८३६ - कर्तव्यज्यान, ज.क. उद्योग

भाग: ५४ साल: २०६९ महिना: भाद्र अंक:

ने.का.प. २०६९,            अङ्क ५

निर्णय नं.८८३६

 

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की

२०६७-CR-०३८०

फैसला मितिः २०६९।४।२४।४

मुद्दाःकर्तव्य ज्यान, ज.क. उद्योग 

पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ्ग, बेलवारी गाउँ विकास समिति वडा नं. ९ घर भई हाल        कारागार कार्यालय मोरङ्गमा थुनामा रहेका पूर्णबहादुर तिम्सिना

विरूद्ध

प्रत्यर्थी वादीः नेपाल सरकार

 

शुरू फैसला गर्ने :

मा.न्या.श्री भरतप्रसाद अधिकारी

पुनरावेदन फैसला गर्ने :

मा.न्या.श्री हरिबहादुर बस्नेत

मा.न्या.श्री डम्बरबहादुर शाही

 

§  पीडितको पहिलेदेखि कै विभिन्न कार्य वा अभिव्यक्तिले प्रतिवादीलाई आवेश वा उत्तेजनामा ल्याउने पृष्ठभूमि तयार गरेको हुनसक्ने भए पनि पीडितले तत्काल उत्तेजना सिर्जना गर्नेहदसम्मको कुनै कार्य गरेको हुनुपर्दछ, जसको प्रतिक्रियास्वरूप प्रतिवादीले आफूलाई नियन्त्रण गर्न नसकेको होस् । यसबाट पीडितको कार्य (Provocative action) विगतदेखि हुँदै आएको (Cumulative) भए पनि सोको अन्तिम कडी तत्काल भएको हुनुपर्ने 

§  प्रतिवादीलाई उत्तेजनामा ल्याउने कार्य पीडितबाहेकका अन्य व्यक्तिको आचरण, कार्य वा अभिव्यक्तिको आधारमा भएको हुन नहुने 

(प्रकरण नं.२)

§  सामान्यतया पीडितको उत्तेजक कार्य प्रतिवादीप्रति नै लक्षित भएको हुनुपर्दछ अर्थात् प्रतिवादी त्यस्तो आवेशमा आउने गरी निजलाई नै लक्षित गरी पीडितले कुनै कार्य गरेको हुनुपर्ने 

§  विशेष परिस्थितिमा स्वीकार गर्न सकिने अपवादको आधारमा पीडितको उत्तेजक कार्य प्रतिवादीप्रति नै लक्षित भएको हुनुपर्ने भन्ने सामान्य नियमको अनुचित विस्तार गर्नु मनासिब नहुने 

(प्रकरण नं.३)

§  उत्तेजनामा ल्याउने गरी भएको पीडितको कार्य प्रतिवादीले आफ्नो मानसिक नियन्त्रण गुमाउने स्थिति उत्पन्न गर्न सक्ने गरी उत्तेजक हुनु पर्दछ । पीडितको सामान्य कार्य वा भनाईको प्रतिक्रियास्वरूप प्रतिवादी आफैँ अत्याधिक उत्तेजनामा आएमा उसलाई प्रतिरक्षा प्राप्त हुन नसक्ने 

§  प्रतिवादीकै परिवेश वा समान अवस्था र हैसियतको अन्य सामान्य समझ भएको व्यक्ति उक्त अवस्थामा प्रतिवादी सरह उत्तेजित हुन्थ्यो भन्ने कुरा वस्तुगत रूपमा स्थापित गर्न सकिने हुनुपर्दछ । यसबाट पीडितको उत्तेजक कार्य र प्रतिवादीको उत्तेजनाको बीचमा अनुपातिक सम्बन्ध (Proportional relationship) स्थापित भएको देखिनु पर्ने 

(प्रकरण नं.४)

§  कानूनबमोजिम गरेको कार्यको प्रतिक्रियास्वरूप प्रतिवादी आफैँ अत्याधिक उत्तेजना वा आवेशमा आई पीडितलाई हानि पुर्‍याउँछ वा निजको ज्यान जाने कुनै कार्य गर्दछ भने त्यस्तो प्रतिवादीलाई अत्याधिक आवेशको प्रतिरक्षा प्राप्त हुन नसक्ने 

§  अरूको कानूनी हकको सम्मान गर्नु पर्ने कर्तव्य सबैले पूरा गर्नुपर्ने स्वाभाविक कानूनी अपेक्षा हुने भएकाले आफूलाई चित्त नबुझ्ने कार्य गरेको भन्ने आधारमा मात्र कानूनी कार्यको प्रतिक्रियास्वरूप भएको अत्याधिक आवेशलाई प्रतिरक्षाको आधार मान्न नसकिने 

(प्रकरण नं.५)

§  उत्तेजक कार्य र यसको प्रतिक्रियात्मक कार्यको बीचमा अन्तराल भएमा सो अन्तरालले प्रतिवादीमा आएको आवेश शान्त गराउने (Cooling off) वा मनसाय तत्वको सिर्जना गर्ने (Creation of Intention) समय प्रदान गर्ने हुनाले यस्तो अन्तरालपछि पनि प्रतिवादीले पीडितमाथि आक्रमण गरेमा उसको यस्तो आक्रमक कार्यलाई आवेशप्ररित कार्यको रूपमा लिन नसकिने 

(प्रकरण नं.६)

§  पीडितको उत्तेजक कार्यको तत्काल प्रतिक्रियास्वरूप प्रतिवादीले आफैँउपरको नियन्त्रण पूर्णरूपमा गुमाई कुनै कार्य गर्दा पीडितको ज्यान मर्न गएको अवस्थामा प्रतिवादीले आवेशको जिकीर लिनसक्ने र आंशिक प्रतिरक्षाको सुविधा पाउनसक्ने 

(प्रकरण नं.७)

§  मृतकले आफ्नो कानूनी अधिकारको प्रयोग गरी करणीको लागि सहमति नदिनु नै यी प्रतिवादीले आफू उपरको नियन्त्रण पूर्णतः गुमाउने गरी आवेशमा आउन सक्ने अवस्थाको सिर्जना गर्ने आधार बन्न नसक्ने 

(प्रकरण नं.१०)

§  कर्तव्य ज्यानको अपराध कायम हुनको लागि सबै अवस्थामा पूर्व रिसइवी, पूर्वमनसाय वा पूर्वयोजना आवश्यक पर्दछ भन्ने हुँदैन । आपराधिक कार्य विभिन्न कडीहरू (Segments) को रूपमा रहेको अवस्थामा कुनै कडीमा आपराधिक मनसायको उपस्थिति भएमा अपराध कायम हुनको लागि सो आपराधिक मनसाय पर्याप्त हुने 

§  मार्ने मनसाय कति समयभित्र बन्नु पर्दछ भनेर कुनै पनि सीमामा बाँध्न सकिने कुरा होइन । यो मानसिक अवस्था धेरै पहिलेदेखि रहेको होस् वा तत्काल उत्पन्न भएको होस् यसले आपराधिक कार्यलाई मनसायपूर्वक गरिएको स्थापित गराई सम्पन्न अपराधको प्रकृतिलाई कुनै प्रभाव पार्न नसक्ने 

(प्रकरण नं.११)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता लीलामणि पौडेल

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  ज्यानसम्बन्धी महलको १ नं. र १३(३), १४ नं.

§  जवर्जस्ती करणीको महलको १, , ८ नं.

 

फैसला

            न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत विराटनगरको मिति २०६६।११।५ को फैसलाउपर प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नानुसार रहेको छ :

अनुहारमा पानी, बालुवा र हिलो लागेको, कपाल पानीले भिजेको, खुटृा खुम्चिएको, नाकबाट फिँज निस्किएको, घाँटीमा कसेको डाम भएको, जिब्रो टोकी दाँत देखिएको भन्ने समेत व्यहोराको घटनास्थल तथा लासजाँच मुचुल्का 

मिति २०६४।८।१० गते मेरी काकी वर्ष २९ कि मीना विश्वकर्मा सामान खरीद गर्न बेलवारी बजार आएकीमा साँझसम्म पनि नफर्केकोले खोजतलास गर्ने क्रममा मिति २०६४।८।११ गते बिहान बेलवारी९ स्थित पैनीमा मृत अवस्थामा फेला परेकी र निजलाई पूर्णबहादुर तिम्सिनाले रिक्सामा हाली घरतर्फ ल्याउँदा घटनास्थलमा निजले मृतकलाई जवर्जस्ती करणी गर्ने प्रयास गर्दा काकीले अस्वीकार गरेपछि कर्तव्य गरी मारेको बुझिएको हुँदा प्रतिवादी पूर्णबहादुर तिम्सिनालाई पक्राउ गरी आवश्यक कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरवाला नीरबहादुर विश्वकर्माको जाहेरी दरखास्त 

मृतक माती साइकल चलाउन नसक्ने भएको र निजले मलाई घरसम्म पुर्‍याई दिनु भनेकाले रिक्सामा हाली घरतर्फ ल्याउने क्रममा बाटोमा निजसँग यौनक्रिडा गर्ने सहमति भई घटनास्थलमा पुगी सम्भोग गर्न खोज्दा इन्कार गरी मेरो दाजुले तँलाई टुक्राटुक्रा पारी दिन्छ भनेकीले यौन प्यास मेटाउन नपाएको रिसमा निजलाई उत्तानो पारी लडाई बायाँ हातले उत्तानो अवस्थामा कपालमा समाती दायाँ हातले घाँटीमा थिची मारी प्राण अन्तिम भएपछि निजले ओढेको सलले घाँटीमा बाँधी घोप्टो बनाई खुट्टाले टाउको थिची हत्या गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी दीपे भन्ने पूर्णबहादुर तिम्सिनाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान 

"Cause of death could be as certained after biochemical report" भन्ने समेत व्यहोराको मृतकको शव परीक्षण प्रतिवेदन 

"The Sample no. 1-2 have shown negative tests for above mentioned insecticides, fungicide, herbicide, alcohol, fumigant and rat poison" भन्ने लेखिएको मृतकको केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाको परीक्षण प्रतिवेदन 

अंग्रेजीमा "ROVER CYCLES" लेखिएको, बाँयापट्टी पाइडल नभएको, सिट च्यातिएको रातो रंगको लेडिज साइकल थान, कालो रंगको तुनाजस्तो फित्ता भएको सेतो घिउ कलरको रंग भएको बायाँ खुट्टामा लाउने सेन्डल थान१ समेत बरामद भएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का 

मादक पदार्थ सेवन गरेको कारणले सो घटना घटेको हुनुपर्छ । प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको कुरा सुनी थाहा पाएको हो भन्ने समेत व्यहोराको घटना विवरण कागज लेखाई दिने मानिसहरू लक्ष्मी तिम्सिना र नीरा विश्वकर्मा समेतले अनुसन्धान अधिकृतसमक्ष गरिदिएको कागज 

 

संलग्न विश्लेषित आधार प्रमाणबाट प्रतिवादी दीपे भन्ने पूर्णबहादुर तिम्सिनाले जोहरवालाकी काकीलाई घर पुर्‍याई दिने वहाना बनाई करणी गर्ने उद्देश्यले रिक्सा चढाई घटनास्थलसम्म लगी मृतकसँग करणी गर्न माग्दा नदिएपछि मृतकको घाँटी दवाई पैनीको पानीमा डुबाई घाँटी थिची मृतककै सलले घाँटीमा पासो बाँधी कर्तव्य गरी मारिएको देखिएको हुँदा प्रतिवादीको सो कार्य ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. तथा जवर्जस्ती करणीको ५ नं. बर्खिलापको कसूर हुँदा निज प्रतिवादीलाई सोही कसूरमा ज्यान सम्बन्धी महलको १३(३) नं. र जवर्जस्ती करणीको ५ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग माग दावी 

मिति २०६४।८।१० गते बेलुका मृतकलाई रिक्सामा चढाई लिई आएको, यौन सम्पर्क राख्ने कुरा गर्दा निजले स्वीकारेकीमा घटनास्थल बेलवारीको जंगलमा पुर्‍याई करणी गर्न माग्दा नदिई इन्कार गरी दाजुलाई भनी टुक्राटुक्रा पारीदिन्छु भनेकाले रिसले आवेशमा आई निजलाई घाँटी थिची सलले घाँटीमा कसी मारी आफैँ घर गएको हो भन्ने समेत व्यहोराको प्रतिवादी दीपे भन्ने पूर्णबहादुर तिम्सिनाको अदालतमा भएको बयान 

प्रतिवादीले साक्षी राखेको नहुँदा वादी पक्षका साक्षी बुझ्नु भनी आदेश भई बकपत्रका लागि पत्राचार भएकोमा वादीका साक्षी उपस्थित भई बकपत्र गरेको नदेखिएको 

जवर्जस्ती करणी उद्योगतर्फको छुट्टै सजायमा अभियोग माग दावी पुग्न नसकी प्रतिवादी पूर्णबहादुर निम्सिनाले मृतकलाई ज्यानसम्बन्धीको १ नं. र १३(३) नं. बमोजिम कर्तव्य गरी ज्यान मारेको ठहर्छ । सो ठहर्नाले प्रतिवादी पूर्ण बहादुर तिम्सिनालाई उक्त ऐनकै उक्त महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरू मोरङ्ग जिल्ला अदालतको मिति २०६६।२।१९ को फैसला 

मृतकलाई मार्ने मनसाय पनि नरहेको, ज्यान लिनुपर्नेसम्मको इवी पनि नरहेको, तत्काल उठेको रिसबाट आवेशमा आई आफूलाई नियन्त्रण गर्न नसकी हुन गएको कसूरमा सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहराई शुरू अदालतबाट भएको फैसला पुनर्विचार गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन जिकीर 

प्रतिवादीले तत्काल उठेको रिसबाट कर्तव्य गरेको भन्ने नभई करणी जस्तो अपराध गर्न उद्दत भई सो कार्य गर्न नपाएको रिसले मारेको हुँ भनी बयान गरेबाट मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं. को अवस्था मान्न सकिने अवस्था नभएको र मृतकलाई मारेको बारेमा अधिकारप्राप्त अधिकारी र अदालतमा समेत सावित भई बयान गरेबाट शुरू मोरङ्ग जिल्ला अदालतले प्रतिवादी पूर्णबहादुर तिम्सिनालाई ज्यान सम्बन्धी महलको १ नं. को कसूरमा ऐ. को १३(३) नं. बमोजिम सजाय गर्ने गरेको मिति २०६६।२।१९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०६६।११।५ को फैसला 

मैले आफ्नो रिक्सामा साईकल र निज मृतकलाई राखी जाँदै गर्दा बाटोमा दुवैजनाबीच यौन सम्पर्क पर्ने कुरा गर्दै जाँदा निजले स्वीकार गरेकीले तीनपैनी भन्ने ठाउँमा पुग्दा निज रिक्साबाट ओर्लन नसकेकीले मैले रिक्साबाट ओराली निजसँग यौन सम्पर्क गर्न माग्दा समेत पुनः स्वीकार गरेको अवस्था थियो । मैले बोकेर जंगलमा लगी पूर्वसहमतिअनुसार यौन सम्पर्क गर्न खोज्दा निजले अचानक अस्वीकार गरी दाजुलाई भनी मेरो ज्यानै मारी टुक्राटुक्रा पारिदिने भनी धम्की दिन थालेकोले पूर्वसहमतिविपरीतको व्यवहार देखाउँदा मैले आफ्नो समेत ज्यानै जोखिममा पर्ने भयो भन्ने ठानी तत्काल केही सोच्न नसकी अचानक उठेको रिसका कारण गरेको कर्तव्यबाट निजको मृत्यु हुन गएको सत्य साँचो व्यहोरा उल्लेख गरी बयान गरी अनुसन्धान तथा न्याय सम्पादन कार्यमा पूर्ण सहयोग गरेको हो । मैले मृतकलाई करणी गर्ने उद्देश्यले झुक्याई फकाई फुल्याई लिएर गएको होइन । निजको ज्यानै मार्ने उद्देश्य समेत मेरो थिएन । निज अत्याधिक मदिरा सेवनका कारण नशाले ग्रस्त रहेकी र अर्धचेत अवस्थाकी भई आफू घर जान नसक्ने भएकोले आफू र आफ्नो साइकल समेत घर पुर्‍याइदिन अनुरोध गरेबमोजिम मैले आफ्नो रिक्सामा निजलाई राखी लिएर गएको अवस्था हो । बाटोमा घरतर्फ जाने क्रममा हामी दुवैको आपसी सहमति मञ्जूरीबमोजिम मैले निजसँग यौन सम्पर्क राख्ने प्रयास गर्दा पूर्वसहमतिविपरीत अचानक म विरूद्ध प्रतिशोधपूर्ण व्यवहार गरेका कारण आवेशमा आई तत्काल केही सोच्न नसकी निजको घाँटी थिच्दा मृत्यु भएको कुरासम्म सत्य साँचो हो । हामीबीच आपसी सहमतिमा करणी लिनुदिनु गर्नु जवर्जस्ती करणीको परिभाषाभित्र पर्ने होइन । मेरो मृतकलाई ज्यानै मार्नेसम्मको मनसाय पनि नरहेको, ज्यान लिनुपर्नेसम्मका इवी पनि नरहेको अवस्थामा मृतकले दाजुलाई बोलाएर टुक्राटुक्रा पार्न लगाउने भनिदिएको धम्कीका कारण तत्काल उठेको रिसबाट आवेशमा आई आफूलाई नियन्त्रण गर्न नसकी हुन गएको कसूरलाई सर्वस्वसहित जन्मकैद गर्न नमिल्ने व्यवस्था ज्यानसम्बन्धीको १४ नं. ले स्पष्ट रूपमा गरेको अवस्था हुँदा न्यायिक मनको प्रयोग गरी मलाई हदैसम्म गरिएको सजाय पुनर्विचार गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र 

नियमबमोजिम पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लीलामणि पौडेलले यी प्रतिवादीले मृतकलाई मनसायपूर्वक मारेको अवस्था छैन । यी प्रतिवादी रिक्सा चालक भएको र मृतक मादकपदार्थ सेवन गरी हिँड्न नसक्ने अवस्थामा भएकोले मृतकले आफूलाई घरसम्म पुर्‍याइदिन अनुरोध गरेपछि निज र निजको साइकल समेत रिक्सामा राखी बेलवारी बजारबाट घरतर्फ लाँदै गरेको अवस्थामा यी प्रतिवादी र मृतकबीच यौनक्रियाको बारेमा कुराकानी भएको र परस्परमा करणी गर्ने सहमति समेत भएपछि यी प्रतिवादीले तीनपैनी भन्ने स्थानमा रिक्सा रोकी मृतकलाई रिक्साबाट उतारी जंगलतर्फ लगी सहमतिबमोजिम करणी गर्न खोज्दा मृतकले अचानक इन्कार गरी सहमतिविपरीत दाजुलाई बोलाएर भोलि टुक्राटुक्रा पारी मार्ने धम्की दिएपछि यी प्रतिवादी आवेशमा आएको र सोही आवेशको अवस्थामा निजले मृतकको घाँटी थिच्दा निजको मृत्यु भएको अवस्था छ । यी प्रतिवादीले अनुसन्धानको क्रममा तथा अदालतमा समेत सोही व्यहोरा उल्लेख गरी बयान गरेकोले निजले मृतकलाई पूर्वयोजना वा रिसइवीको आधारमा मनसायपूर्वक हत्या गरेको पुष्टि हुन नसक्ने अवस्था छ । सहमतिविपरीतको मृतकको कार्यबाट यी प्रतिवादी अत्याधिक आवेशमा आएको कारणले निजले आफूउपरको नियन्त्रण गुमाई गरेको कार्यबाट मृतकको मृत्यु भएको अवस्था हुँदा निजलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजाय गर्नुपर्नेमा शुरू र पुनरावेदन अदालतले उक्त महलको १३(३) नं. बमोजिम गरेको सजाय त्रुटिपूर्ण हुँदा विपक्षीलाई झिकाई छलफल गरी पुनरावेदकलाई निजले स्वीकार गरेको ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम मात्र सजाय हुनुपर्छ भन्ने समेत बहस जिकीर प्रस्तुत गर्नुभयो 

प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदकतर्फका विद्वान अधिवक्ताले प्रस्तुत गर्नु भएको बहस जिकीर सुनी विचार गर्दा पुनरावेदन अदालत विराटनगरबाट मिति २०६६।११।५ मा भएको फैसला मिलेको छ, छैन र प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो 

निर्णयतर्फ विचार गर्दा मिति २०६४।८।१० गते मीना विश्वकर्मा सामान खरीद गर्न बेलवारी बजार आएकीमा साँझसम्म पनि नफर्केकीले खोजतलाश गर्दा मिति २०६४।८।११ गते बिहान बेलवारी९ स्थित पैनीमा मृत अवस्थामा फेला परेकी र निजलाई पूर्णबहादुर तिम्सिनाले रिक्सामा हाली घरतर्फ ल्याउँदा घटनास्थलमा निजले मृतकलाई जवर्जस्ती करणी गर्ने प्रयास गर्दा काकीले अस्वीकार गरेपछि कर्तव्य गरी मारेको बुझिएको हुँदा प्रतिवादी पूर्णबहादुर तिम्सिनालाई कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्तअनुसार प्रस्तुत मुद्दाको अनुसन्धान कारवाही प्रारम्भ भएको देखिन्छ । प्रतिवादीको बयान समेतका अनुसन्धानको क्रममा तयार भएका कागज प्रमाणको आधारमा यी प्रतिवादीउपर ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. तथा जवर्जस्ती करणीको ५ नं. बर्खिलापको कसूर गरेको भन्ने आधारमा निजलाई ज्यान सम्बन्धी महलको १३(३) नं. र जवर्जस्ती करणीको ५ नं. बमोजिम सजायको माग दावी गरी अभियोगपत्र दायर भएको देखिन्छ 

अनुहारमा पानी, बालुवा र हिलो लागेको, कपाल पानीले भिजेको, खुटृा खुम्चिएको, नाकबाट फिँज निस्किएको, घाँटीमा कसेको डाम भएको, जिब्रो टोकी दाँत देखिएको भन्ने समेत व्यहोराको घटनास्थल तथा लासजाँच मुचुल्का, जाहेरीमा उल्लिखित व्यहोरा तथा यी प्रतिवादीको अनुसन्धानको क्रममा तथा अदालतसमक्ष भएको बयान समेतबाट मृतकको कर्तव्यपूर्वक मृत्यु भएको देखिन आउँछ 

अभियोजन पक्षको माग दावीबमोजिम यी प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको हो, होइन भन्ने सम्बन्धमा विचार सीस्गर्दा यी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष वयान गर्दा मृतक माती साइकल चलाउन नसक्ने अवस्थामा रहेको र निजले मलाई घरसम्म पुर्‍याई दिनु भनेकाले रिक्सामा हाली घरतर्फ ल्याउँदा बाटोमा निजसँग यौनक्रिडा गर्ने सहमति भई घटनास्थलमा पुगी सम्भोग गर्न खोज्दा इन्कार गरी मेरो दाजुले तँलाई टुक्राटुक्रा पारी दिन्छ भनेकीले यौन प्यास मेटाउन नपाएको रिसमा निजलाई उत्तानो पारी लडाई हातले घाँटीमा थिची मारेको भनी कसूर स्वीकार गरेको देखिन्छ । अदालतमा भएको बयानमा समेत निजले सोही व्यहोरा स्वीकार गरी आफूले मृतकको हत्या गरेको भन्ने व्यहोरा उल्लेख गरेको पाइन्छ । निजको उक्त सावित कथन जाहेरीमा उल्लिखित व्यहोरा र मृतकको लासजाँच प्रकृति मुचुल्काबाट समेत समर्थित भइरहेको देखिएको छ । यसबाट मृतकको मृत्यु यी प्रतिवादीको कार्यको परिणस्वरूप भएको भन्ने तथ्यमा विवाद देखिँदैन 

यी प्रतिवादीले यस अदालतमा गरेको पुनरावेदनपत्र तथा निजका विद्वान कानून व्यवसायीले आफ्नो बहस जिकीरमा यी प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुनुपर्ने होइन । प्रतिवादीको कार्य ज्यानसम्बन्धी महलको १४ नं. अन्तर्गतको आवेशप्रेरित कार्य भएकाले सोही नं. बमोजिम सजाय हुनुपर्ने भन्ने जिकीर रहेको पाइन्छ । सो जिकीरका सम्बन्धमा विचार गर्दा के कस्तो अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. ले गरेको कानूनी व्यवस्था आकर्षित हुन्छ वा आवेशप्रेरित हत्याको वारदात हुन्छ भनी विश्लेषण गर्नुपर्ने देखिन आयो 

मानिसको ज्यान मर्ने गरी भएको आपराधिक घटना घटेको समयमा प्रतिवादी अत्याधिक आवेशको अवस्थामा भई आफूउपरको नियन्त्रण पूर्ण रूपले गुमाई कुनै कार्य गर्दछ र सो कार्यको परिणामस्वरूप पीडितको ज्यान मर्न जान्छ भने यस्तो अवस्थामा प्रतिवादीले कम सजायको लागि आंशिक प्रतिरक्षा (partial defense) को दावी गर्न सक्दछ । ज्यानसम्बन्धी अपराध सापेक्षिक अपराध (Relative Crime) भए पनि मानिसको ज्यान मर्न जाने यस्तो कार्यमा मनसाय तत्व (Mens rea)को पूर्ण अनुपस्थितिमा पनि सापेक्षिक अपराधको अपवादको रूपमा यस्तो कार्यलाई कानूनले दण्डनीय बनाए पनि मनसायप्रेरित हत्याभन्दा कम सजाय हुने हत्याको श्रेणीमा राखेको पाइन्छ । प्रतिवादीले अत्याधिक आवेशको अवस्थामा घटना घट्न जाँदा मानिसको मृत्यु भएको भनी जिकीर लिएको अवस्थामा सो घटना घटेको समयमा त्यस्तो घटना घट्नसक्ने परिस्थिति थियो कि थिएन भनी हेर्नुपर्ने हुन्छ । ज्यानसम्बन्धी मुद्दाहरूमा आंशिक प्रतिरक्षाको रूपमा आवेशप्रेरित हत्या (Prevocational homicide) भएकोले कम सजाय हुनु पर्दछ भनी प्रतिवादीले जिकीर लिएको अवस्थामा प्रतिवादीको सो जिकीर स्वीकारयोग्य छ, छैन भन्ने निर्धारण गर्नको लागि वारदातको समयमा निम्न परिस्थितिको विद्यमानता थियो कि थिएन भनी विश्लेषण गरेर हेर्नु पर्ने हुन्छः

 

(क)   पीडितले गरेको कुनै कार्य वा व्यक्त गरेको कुनै कुराबाट प्रतिवादी स्वस्फूर्त एवम् स्वाभाविक रूपमा उत्तेजित भएको वा आवेशमा आएको थियो, थिएन ?

(ख)   प्रतिवादीलाई आवेशमा ल्याउने गरी भएको पीडितको कार्य (Provocative action) प्रतिवादीप्रति नै लक्षित थियो, थिएन ?

(ग)   पीडितको आचरण, निजले गरेको कुनै कार्य वा व्यक्त गरेको कुनै कुरा प्रतिवादीलाई स्वाभाविक रूपमा अत्याधिक उत्तेजित पार्न सक्ने खालको थियो कि थिएन वा पीडितको क्रियाकलापबाट प्रतिवादीको जस्तै अवस्थाको वा समान परिवेशको सामान्य सुझबुझ भएको मानिस समेत उत्तेजित हुन सक्थ्यो, सक्दैनथ्यो ?

(घ)   प्रतिवादीलाई आवेशमा ल्याउने गरी भएको पीडितको कार्य निजले कानूनबमोजिम गर्न पाउने हो, होइन ?

(ङ)   प्रतिवादीलाई आवेशमा ल्याउने पीडितको कार्य र प्रतिवादीले पीडितमाथि गरेको आक्रमणको बीचमा समयको अन्तराल (Interval of time) कति छ वा आवेश समाप्त हुने समय (cooling-off-time) व्यतीत भएको थियो, थिएन ?

 

२. उल्लिखित प्रश्नहरूमध्ये प्रतिवादी पीडितले गरेको कुनै कार्य वा व्यक्त गरेको कुनै कुराबाट स्वस्पूmर्तरूपमा उत्तेजित भएको वा आवेशमा आएको थियो, थिएन भन्ने पहिलो प्रश्नको सम्बन्धमा विचार गर्दा प्रतिवादीको आवेश वा उत्तेजना पीडितको उत्तेजक कार्य वा अभिव्यक्तिको प्रतिक्रियास्वरूप तत्काल उत्पन्न भएको हुनु पर्दछ । पीडितको पहिलेदेखि कै विभिन्न कार्य वा अभिव्यक्तिले प्रतिवादीलाई आवेश वा उत्तेजनामा ल्याउने पृष्ठभूमि तयार गरेको हुनसक्ने भए पनि पीडितले तत्काल उत्तेजना सिर्जना गर्नेहदसम्मको कुनै कार्य गरेको हुनुपर्दछ, जसको प्रतिक्रियास्वरूप प्रतिवादीले आफूलाई नियन्त्रण गर्न नसकेको होस् । यसबाट पीडितको कार्य (Provocative action) विगतदेखि हुँदै आएको (Cumulative) भए पनि सोको अन्तिम कडी तत्काल भएको हुनुपर्दछ । यसै गरी यस्तो प्रतिवादीलाई उत्तेजनामा ल्याउने कार्य पीडितबाहेकका अन्य व्यक्तिको आचरण, कार्य वा अभिव्यक्तिको आधारमा भएको हुनुहुँदैन 

३. प्रतिवादीलाई आवेशमा ल्याउने गरी भएको पीडितको कार्य (Provocative action) प्रतिवादीप्रति नै लक्षित थियो, थिएन भन्ने दोस्रो प्रश्नको सन्दर्भमा विचार गर्दा सामान्यतया यस्तो पीडितको उत्तेजक कार्य प्रतिवादीप्रति नै लक्षित भएको हुनुपर्दछ अर्थात् प्रतिवादी त्यस्तो आवेशमा आउने गरी निजलाई नै लक्षित गरी पीडितले कुनै कार्य गरेको हुनुपर्दछ । तर यो सामान्य नियमको केही विस्तार हुनसक्दछ । लोग्नेस्वास्नी वा अत्यन्त निकट परिवारिक सम्बन्धभित्रका व्यक्तिहरूको बीचमा कतिपय परिस्थितमा एकव्यक्तिप्रति लक्षित कार्यले अर्को व्यक्ति स्वाभाविक रूपमा उत्तेजित हुनसक्ने हुन्छ । अपवादको रूपमा यस्तो परिस्थितिमा भएको उत्तेजनालाई पनि स्वाभाविक उत्तेजना वा आवेश भनी मान्नु पर्ने हुनसक्दछ । तर, यो विशेष परिस्थितिमा स्वीकार गर्न सकिने अपवादको आधारमा पीडितको उत्तेजक कार्य प्रतिवादीप्रति नै लक्षित भएको हुनुपर्ने भन्ने सामान्य नियमको अनुचित विस्तार गर्नु मनासिब हुँदैन 

४. पीडितको आचरण, निजले गरेको कुनै कार्य वा व्यक्त गरेको कुनै कुरा प्रतिवादीलाई स्वाभाविक रूपमा अत्याधिक उत्तेजित पार्नसक्ने खालको थियो कि थिएन वा पीडितको क्रियाकलापबाट प्रतिवादीको जस्तै अवस्थाको वा समान परिवेशको सामान्य सुझबुझ भएको मानिस समेत उत्तेजित हुन सक्थ्यो, सक्दैनथ्यो भन्ने तेस्रो प्रश्नको सन्दर्भमा विचार गर्दा प्रतिवादीलाई उत्तेजनामा ल्याउने गरी भएको पीडितको कार्य प्रतिवादीले आफ्नो मानसिक नियन्त्रण गुमाउने स्थिति उत्पन्न गर्न सक्ने गरी उत्तेजक हुनु पर्दछ । पीडितको सामान्य कार्य वा भनाईको प्रतिक्रियास्वरूप प्रतिवादी आफैँ अत्याधिक उत्तेजनामा आएमा उसलाई प्रतिरक्षा प्राप्त हुन सक्दैन । प्रतिवादीकै परिवेश वा समान अवस्था र हैसियतको अन्य सामान्य समझ भएको व्यक्ति उक्त अवस्थामा प्रतिवादी सरह उत्तेजित हुन्थ्यो भन्ने कुरा वस्तुगत रूपमा स्थापित गर्न सकिने हुनुपर्दछ । यसबाट पीडितको उत्तेजक कार्य र प्रतिवादीको उत्तेजनाको बीचमा अनुपातिक सम्बन्ध (Proportional relationship) स्थापित भएको देखिनु पर्दछ 

५. प्रतिवादीलाई आवेशमा ल्याउने गरी भएको पीडितको कार्य निजले कानूनबमोजिम गर्न पाउने कार्य हो, होइन भन्ने चौथो प्रश्नको सन्दर्भमा विचार गर्दा पीडितले प्रचलित कानूनबमोजिम प्राप्त गरेको हक अधिकारको उपयोग गर्ने सन्दर्भमा व्यक्त गरेको कुनै कुरा वा व्यवहार वा पीडितलाई कुनै कानूनले प्रतिरक्षाको लागि प्रदान गरेको विषेश सुविधा जस्ता कानूनी अधिकारको प्रयोगको सन्दर्भमा कानूनबमोजिम गरेको कार्यको प्रतिक्रियास्वरूप प्रतिवादी आफैँ अत्याधिक उत्तेजना वा आवेशमा आई पीडितलाई हानि पुर्‍याउँछ वा निजको ज्यान जाने कुनै कार्य गर्दछ भने त्यस्तो प्रतिवादीलाई अत्याधिक आवेशको प्रतिरक्षा प्राप्त हुन सक्दैन । अरूको कानूनी हकको सम्मान गर्नु पर्ने कर्तव्य सबैले पूरा गर्नुपर्ने स्वाभाविक कानूनी अपेक्षा हुने भएकाले आफूलाई चित्त नबुझ्ने कार्य गरेको भन्ने आधारमा मात्र कानूनी कार्यको प्रतिक्रियास्वरूप भएको अत्याधिक आवेशलाई प्रतिरक्षाको आधार मान्न सकिँदैन 

६. प्रतिवादीलाई आवेशमा ल्याउने पीडितको कार्य र प्रतिवादीले पीडितमाथि गरेको आक्रमणको बीचमा समयको अन्तराल (Interval of time) कति छ वा आवेश समाप्त हुने समय (Cooling-off-time) व्यतीत भएको थियो, थिएन भन्ने पाचौँ प्रश्नको सम्बन्धमा विचार गर्दा प्रतिवादीबाट अत्याधिक आवेशमा भएको पीडितमाथिको आक्रमण पीडितको उत्तेजक कार्यको तत्काल प्रतिक्रियास्वरूप भएको हुनु पर्दछ । यदि उत्तेजक कार्य र यसको प्रतिक्रियात्मक कार्यको बीचमा अन्तराल भएमा सो अन्तरालले प्रतिवादीमा आएको आवेश शान्त गराउने (Cooling-off) वा मनसाय तत्वको सिर्जना गर्ने (Creation of Intention) समय प्रदान गर्ने हुनाले यस्तो अन्तरालपछि पनि प्रतिवादीले पीडितमाथि आक्रमण गरेमा उसको यस्तो आक्रमक कार्यलाई आवेशप्ररित कार्यको रूपमा लिन सकिँदैन 

७. उल्लिखित प्रश्नहरूमा विवेचना गरिएबमोजिम पीडितको उत्तेजक कार्यको तत्काल प्रतिक्रियास्वरूप प्रतिवादीले आफैँउपरको नियन्त्रण पूर्णरूपमा गुमाई कुनै कार्य गर्दा पीडितको ज्यान मर्न गएको अवस्थामा प्रतिवादीले आवेशको जिकीर लिनसक्ने र आंशिक प्रतिरक्षाको सुविधा पाउनसक्ने देखिन्छ 

८. आवेशप्रेरित हत्या सम्बन्धमा मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १४ नं. मा ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनु पर्नेसम्मको इवि पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ् उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुँगा, लात मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्याद भित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । उक्त कानूनी व्यवस्थाले आवेशपूर्ण स्थिति भए पनि विषको प्रयोग वा जोखिमी हतियारको प्रयोगलाई घटनाको आवेशपूर्ण परिस्थितिको लागि वर्जित गरेको पाइन्छ । यसबाट अत्याधिक आवेशको अवस्थामा जोखिमी हतियारको प्रयोगले मानिस मर्न गएमा त्यस्तो कार्य मनसायप्रेरित हत्या हुने विद्यायिकी मनसाय रहेको देखिन्छ 

९. प्रस्तुत मुद्दामा यी प्रतिवादीले मादक पदार्थ सेवन गरेकी मृतकलाई आफ्नो रिक्सामा चढाई बेलबारी बजारबाट घरतर्फ लगेको र घरतर्फ जाने क्रममा निजसँग यौनक्रियाका बारेमा कुरा गरी करणीको लागि निज सहमत भएको भन्ने प्रतिवादीको भनाई रहेको छ । सोही सहमतिबमोजिम यी प्रतिवादीले मादक पदार्थ सेवन गरेकी मृतकलाई करणीको लागि आफूले चलाएको रिक्साबाट उतारेर जंगलतर्फ लगेको र सो अवस्थामा मृतकले करणीको लागि सहमति दिन इन्कार गरेको र निजलाई भोलि मार्ने भनी धम्की दिएकोले यी प्रतिवादी आवेशमा आई घाँटी थिचेको भन्ने देखिँन आउँछ 

१०. यी प्रतिवादीउपर मृतकले तत्काल कुनै जोखिम पैदा गरेको भन्ने देखिन आउँदैन । करणीका लागि सहमति दिनु वा नदिनु मृतकको स्वतन्त्र ईच्छाको विषय भएको र पहिले सहमति दिएको भन्ने आधारमा करणी गर्नको लागि यी प्रतिवादीमा ईच्छा भएको समयमा मृतकले सहमति दिनुपर्ने भन्ने पनि हुँदैन । प्रस्तुत मुद्दामा मृतक मादक पदार्थ सेवन गरी अर्धचेत अवस्थामा रहेकोले निजले आफ्नो रिक्सामा राखी घरतर्फ लगेको भन्ने प्रतिवादीकै बयानबाट देखिएको छ । निजले पहिले करणीका लागि सहमति दिँदा निज पूर्ण होसमा नरहेको हुनसक्ने अवस्था समेत प्रस्तुत मुद्दामा विचारणीय छ । सहमतिको अभावमा गरिने करणीलाई जवर्जस्ती करणीको महलको १ नं. ले दण्डनीय अपराधको रूपमा परिभाषित गरेको छ । यी प्रतिवादीले मृतकको सहमति नहुँदा जवर्जस्ती करणी गर्न खोज्नु नै स्वयम्मा प्रचलित कानूनबमोजिम अपराध हुने अवस्थामा करणी गर्न नदिएको भन्ने आधारमा आफू अत्याधिक आवेशमा आएको भन्ने प्रतिवादीको तर्क रहेको छ । करणीको लागि सहमति दिने वा नदिने मृतकको ईच्छामा निर्भर रहने र मृतकको सहमति नभएको अवस्थामा निजउपर जवर्जस्ती करणी हुने अवस्था भएमा सोबाट बच्न निजले केही गर्दा जुलुमीको मर्न गएको अवस्थामा समेत निजलाई वैध प्रतिरक्षा प्राप्त हुने जवर्जस्ती करणीको ८ नं. को कानूनी व्यवस्था रहेको अवस्थामा मृतकले आफ्नो कानूनी अधिकारको प्रयोग गरी करणीको लागि सहमति नदिनु नै यी प्रतिवादीले आफू उपरको नियन्त्रण पूर्णतः गुमाउने गरी आवेशमा आउन सक्ने अवस्थाको सिर्जना गर्ने आधार बन्न सक्दैन । यसका अतिरिक्त मादक पदार्थ सेवन गरेकी मृतकले यी प्रतिवादीलाई अत्याधिक उत्तेजनामा ल्याउने गरी अन्य कुनै कार्य गरेको भन्ने प्रतिवादीको जिकीर रहेको छैन र सो अवस्था मिसिलबाट समेत देखिन आउँदैन । यसबाट मृतकलाई निजको इच्छाविपरीत प्रचलित कानूनले निषेध गरेको कार्य जवर्जस्ती करणी गर्न नपाएकोले अत्याधिक आवेशमा आएको भन्ने प्रतिवादी तथा निजका कानून व्यवसायीको जिकीरलाई स्वीकारयोग्य मान्न सकिएन 

११. यी प्रतिवादीले मृतकलाई मार्नु पर्ने मनसाय, पूर्वयोजना र पूर्वरिसइवी नभएकोले कर्तव्य ज्यानको वारदात नभएको भनी जिकीर लिएको देखिन्छ । यी प्रतिवादीको भनाईअनुसार निजले मृतकलाई बजारबाट घरतर्फ रिक्सामा लाँदै गरेको अवस्थामा करणीको लागि सहमति भएको तर वारदातस्थलमा निजले करणीको लागि इन्कार गरेकोले आवेशमा आई निजको घँटी थिची मारेको भन्ने देखिन्छ । कर्तव्य ज्यानको अपराध कायम हुनको लागि सबै अवस्थामा पूर्वरिसइवी, पूर्वमनसाय वा पूर्वयोजना आवश्यक पर्दछ भन्ने हुँदैन । आपराधिक कार्य विभिन्न कडीहरू (Segments) को रूपमा रहेको अवस्थामा कुनै कडीमा आपराधिक मनसायको उपस्थिति भएमा अपराध कायम हुनको लागि सो आपराधिक मनसाय पर्याप्त हुन्छ । मार्ने मनसाय कति समयभित्र बन्नु पर्दछ भनेर कुनै पनि सीमामा बाँध्न सकिने कुरा होइन । यो मानसिक अवस्था धेरै पहिलेदेखि रहेको होस् वा तत्काल उत्पन्न भएको होस् यसले आपराधिक कार्यलाई मनसायपूर्वक गरिएको स्थापित गराई सम्पन्न अपराधको प्रकृतिलाई कुनै प्रभाव पार्न सक्दैन । यी प्रतिवादीमा मृतकले करणीको लागि सहमति दिन इन्कार गरेपछि निजमा मृतकलाई मार्ने मनसाय उत्पन्न भएको देखिएकोले मृतकलाई मार्ने निजको कार्यलाई मनसायप्रेरित कार्य नै मान्नु पर्ने देखिन आयो । यसबाट यी प्रतिवादीले मृतकलाई मनसायपूर्वक मारेको शंकारहित तवरले पुष्टि हुन आयो 

१२. तसर्थ, उल्लिखित विवेचित आधार र कारणबाट यी प्रतिवादी पूर्णबहादुर तिम्सिनाले मृतकलाई मनसायपूर्वक मारेको शंकारहित तवरले पुष्टि हुन आएकाले निजलाई ज्यानसम्बन्धी महलको १ नं. को कसूरमा ऐ. को १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरेको मिति २०६६।२।१९ को शुरू मोरङ्ग जिल्ला अदालतको फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत विराटनगरको मिति २०६६।११।५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार बुझाई दिनू 

उक्त रायमा सहमत छु 

न्या.ज्ञानेन्द्रबहादुर कार्की

इति संवत् २०६९ साल साउन २४ गते रोज ४ शुभम्

इजलास अधिकृत : श्रीप्रकाश उप्रेती

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु