निर्णय नं. ९१४४ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
फैसला मिति : २०७०।१२।३०।१
२०६६–CR–०१४७
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी : जिल्ला ललितपुर, आश्राङ गा.वि.स. वडा नं. ८ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेका दिपकबहादुर घिमिरे
विरूद्ध
प्रत्यर्थी/वादी : नानीराम परियारको जाहेरीले नेपाल सरकार
२०६८–RC–०१२३
वादी : नानीराम परियारको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : जिल्ला ललितपुर, मनिखेल गा.वि.स. वडा नं. ३ बस्ने दिपक सापकोटा
§ अन्यत्र स्थलमा रहेको (Alibi) को जिकीर स्वतन्त्र र तथ्यपूर्ण प्रमाणबाट समर्थित भएमा मात्र प्रमाणको लागि ग्राह्य हुनसक्ने ।
§ वारदातको दिन र समयमा आफू घटनास्थलमा उपस्थित नरही अन्यस्थलमा रहेको भनी अन्यत्रस्थल (Alibi) को जिकीर लिने व्यक्तिले घटना हुँदाका बखत आफू उपस्थित रहेको भनिएको स्थानबाट घटना भएको स्थानको दूरी (Distance) यति धेरै छ कि घटना भएको समयमा घटनास्थलमा उपस्थित हुन असम्भव छ भनी अकाट्य र विवादरहित प्रमाणबाट प्रमाणित गर्नुपर्ने ।
§ एकै समयमा एक व्यक्ति दुई ठाउँमा उपस्थित हुन असम्भव छ भनी अभियुक्तले प्रमाणबाट स्थापित गर्न सक्नुपर्ने ।
§ अन्यत्र स्थल (Alibi) को जिकीर अकाट्य र निर्विवाद प्रमाणबाट स्थापित र प्रमाणित हुन नसकेमा सो जिकीर निजैका विरूद्ध प्रमाण लाग्ने हुन्छ । प्रचलित नेपाल कानूनबमोजिम सजायमा कमी वा छूट हुने वा सजायबाट रिहाई पाउने कुनै कुराको जिकीर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार प्रमाण ऐन, २०३१ को दफा २७(१) बमोजिम निज प्रतिवादीको हुने ।
(प्रकरण नं. ४)
पुनरावेदक/प्रतिवादीका तर्फबाट M विद्वान अधिवक्ता गणेशबहादुर गुरूङ
प्रत्यर्थी/वादीका तर्फबाट M
अवलम्बित नजीर M
सम्बद्ध कानून M
§ मुलुकी ऐन, ज्यानसम्बन्धीकोको महलको १,१३ र १३(३) नं.
सुरू तहमा फैसला गर्ने M
मा.जि.न्या.श्री तेजबहादुर कार्की
पुनरावेदन तहमा फैसला गर्ने M
मा.न्या.श्री हरिबहादुर बस्नेत
मा.न्या.श्री मिरा खड्का
मा.न्या.श्री सुष्मालता माथेमा
मा.न्या.श्री द्वारिकामान जोशी
फैसला
न्या.गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६५।१०।२३ को फैसलाउपर प्रतिवादी दिपकबहादुर घिमिरेको पुनरावेदन परी र प्रतिवादी दिपक सापकोटाको हकमा न्याय प्रशासन ऐन, २०४८ को दफा १०बमोजिम साधक जाहेर भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :
काठमाडौं जिल्ला, बालुवा गा.वि.स वडा नं. ९ स्थित जङ्गल खोल्सीमा कर्तव्य गरी मारेको महिलाको लास बोरामा प्याक गरी फालेको अवस्थामा फेला परेकोले कानूनबमोजिम गरी पाउँ भन्ने व्यहोराको मिति २०६२।५।२८ को प्रहरीको प्रतिवेदन ।
मृतक महिलाको लास सडेको, गन्ध आउने भएको, मुखबाट जिब्रो बाहिर निकालेको, मृतक लासको हात खुट्टा डोरीले बाँधेको, घाँटीमा डोरीको डाम भएको भन्ने व्यहाराको मिति २०६२।५।२८ को लास जाँच मुचुल्का ।
मेरी श्रीमती मीना नेपाली मिति २०६२।५।२३ गते घरबाट गएको, निज कार्यरत शाही नेपाली सेनाको वेण्ड गुल्ममा पनि नभएको जानकारी पाएकोले खोज तलास गरी पाउँ भनी नानीराम परियारले इलाका प्रहरी कार्यालय, ललितपुर, बाँडेगाउँमा मिति २०६२।५।३० मा दिएको निवेदन ।
मृतक लास मेरी श्रीमती मीना नेपालीको हो, चिनी सनाखत गरी यो जाहेरी दरखास्त दिएको छु । मृतक श्रीमतीलाई कर्तव्य गरी मार्नेलाई पत्ता लगाई कानूनबमोजिम कारवाही गरी पाउँ र आफ्नो जातीय धर्म अनुसार सतगत गर्न जिम्मा पाउँ । अपराधी फेला परेको अवस्थामा छुट्टै जाहेरी दिनेछु भन्ने व्यहोराको नानीराम परियारको मिति २०६२।६।१ को जाहेरी दरखास्त ।
घाँटीमा डोरीले कसेको कारणबाट मृत्यु भएको भन्ने मृतक मीना नेपालीको शव परीक्षण प्रतिवेदन ।
मेरी श्रीमती मीना नेपालीलाई शाही नेपाली सेनामा कार्यरत सबिना सापकोटाले पैसा दिई मार्ने योजना बनाई निजको डेरा कोठामा बोलाएर लगी दिपक सापकोटा, दिपक घिमिरे र सबिना सापकोटासमेतले डोरीले घाँटीमा कसी मारी बा.१ज. २५२१ नं. को भाडाको ट्याक्सीमा राखी मंगल सिंह गोलेसमेत मिली लास फालेको थाहा हुन आएकोले निजहरूउपर कानूनबमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको नानीराम परियारको मिति २०६२।६।११ को जाहेरी दरखास्त ।
मिति २०६२।५।२४ मा दिपक घिमिरेले रू.५००।- दिई गाडीमा तेल हाल्न लगाई निजहरूले कर्तव्य गरी मारेको लास फाल्न जाउँ भनेकोले मैले चलाउने गरेको बा. १ ज. २५२१ नं. को भाडाको ट्याक्सी लिई दिपक घिमिरेसमेत भै निजको डेरा कोठाअगाडि पुगेपछि बोरामा प्याक भएको मीना नेपालीको लास हाली मैले गाडी हाँकी गोकर्णको जङ्गल नजिक खोल्सामा मीना नेपालीको लास फालेको हो भन्ने व्यहोराको प्रतिवादी मंगल सिंह गोलेले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६२।६।१६ मा गरेको बयान ।
मीना नेपालीसँग सबिनाले रू.१४,०००।- सापटी लिएकोमा रू.४,०००।- फिर्ता दिएको बाँकी रू.१०,०००।- दिनुपर्ने विषयमा सबिना र मीनाको झगडा परेकोले मार्ने योजना बनाई सबिनाले मीना नेपालीलाई कोठामा बोलाएर ल्याएपछि दिपक सापकोटाले डोरीले घाँटी कसे, मैले चलबल गर्न नदिई मीना नेपालीको शरीर थिचें, सबिना सापकोटाले तकिया र सिरकले मुख छोपी मारी भोलिपल्ट बा.१ज. २५२१ नं. को भाडाको ट्याक्सीमा राखी ट्याक्सी चालक मंगल सिंह गोलेसमेत भई मृतक मीना नेपालीको लास फालेको हो भन्ने व्यहोराको प्रतिवादी दिपकबहादुर घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६२।६।१६ मा गरेको बयान ।
मिति २०६२।५।२३ गते मीना नेपालीलाई बोलाई कोठामा ल्याएपछि मैले डोरीले घाँटी कसें । दिपक सापकोटाले चलबल गर्न नदिई शरीर थिचे, सबिनाले तकियासमेतले मुख छोपी मारी बोरामा प्याक गरी मंगल सिंह गोलेले चलाउने गरेको ट्याक्सीमा राखी लगी मीना नेपालीको लास फालेको हो भन्ने व्यहोराको प्रतिवादी दिपक सापकोटाले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६२।६।१९ मा गरेको बयान ।
बा.१ज. २५२१ नं. को भाडाको ट्याक्सी मैले मासिक भाडा लिने गरी अशोकरत्न स्थापितलाई भाडामा दिएको हुँ । उक्त नं. को ट्याक्सी चलाउन मंगल सिंह गोलेलाई दिएको रहेछ । मिति २०६२।५।२४ गते चालक मंगल सिंह गोलेसमेत भई सबिना सापकोटा, दिपक सापकोटा, दिपक घिमिरेसमेतले मारेको लास गाडीमा राखी गोकर्ण नजिक जङ्गलमा फालेको कुरा थाहा पाएको हो भन्ने व्यहोराको जीवन मानन्धरले गरेको कागज ।
सबिना सापकोटा र दिपक घिमिरे मेरो घर कोठमा भाडामा बस्ने गरेको करिब २ महिना जति भयो । सो कोठामा मीना नेपालीलाई बोलाई डोरीले घाँटी कसी कर्तव्य गरी मारेको लास ट्याक्सीमा राखी फालेको कुरा पछि थाहा पाएको हुँ भन्ने व्यहोराको खोमप्रसाद घिमिरेले मिति २०६२।६।३१ मा गरेको कागज ।
मीना नेपालीलाई सबिना सापकोटाले तिर्नुपर्ने रूपैंयाको विषयमा झगडा भई मार्ने योजना बनाई मिति २०६२।५।२३ का दिन कोठामा बोलाई डोरीले घाँटी कसी सबिना सापकोटा, दिपक सापकोटा र दिपक घिमिरेले मारी बा.१ज. २५२१ नं. को भाडाको ट्याक्सीमा राखी मंगल सिंह गोलेसमेत भई गोकर्ण नजिक जङ्गलमा फालेको हो भन्ने व्यहोराको जुनु नेपाली र महेश्वरी नेपालीले मिति २०६२।६।३१ मा गरेको कागज ।
सबिना सापकोटाले मीना नेपालीलाई तिर्नुपर्ने रूपैयाँको विषयमा वादविवाद भई मार्ने योजना बनाई सबिनाले मीनालाई डेरा कोठामा बोलाई दिपक सापकोटा, दिपक घिमिरे, सबिना सापकोटासमेत मिली डोरीले घाँटी कसी मीना नेपालीलाई मारी मंगल सिंह गोलेसमेतको मिलेमतोमा बा.१ज. २५२१ नं. को ट्याक्सीमा लास राखी गोकर्ण जङ्गलमा लगी फालेका हुन् भन्ने व्यहोराको कल्पना नेपालीसमेतले गरी दिएको मिति २०६२।७।१ को वस्तुस्थिति मुचुल्का ।
दिपक सापकोटा एवं सबिना सापकोटासमेतको मीना नेपालीलाई मार्ने योजनामा प्रत्यक्ष संलग्न रही मार्नमा संयोग पारी दिनका लागि मृतक मीना नेपालीको खुट्टा शरीरसमेत थिची दिएको कुरामा साबित रही बयान गरेका प्रतिवादी दिपकबहादुर घिमिरेलाई सोही महलको १ र १३(४) नं. को कसूरमा ऐ. १३(४) नं. बमोजिम सजाय हुन तथा मार्ने योजना तथा मार्ने कार्यमा प्रत्यक्ष संलग्नता नरहेको तर ज्यान मारेको कुरा थाहा जानकारी भएर पनि जाहेरसमेत नगरी लास फाल्न दबाउन आफूले चलाउने गरेको बा.१ज. २५२१ नं.को ट्याक्सीमा लास राखी आफैंले चलाई लास फाल्नमा संलग्न रहेका मंगल सिंह गोलेको कार्य सोही ऐन महलको १७(३) बमोजिमको कसूर अपराध हुँदा सोही १७(३)नं. बमोजिम सजाय हुन माग दावी गरिएको छ । प्रतिवादी सबिना सापकोटा सैनिक ऐन, २०१६ अन्तर्गत सैनिक कर्मचारी (सिपाही) भएकोले निजलाई सैनिक ऐन, २०१६ अनुसार केन्द्रीय सैनिक प्रहरी गुल्म शाही नेपाली जङ्गी अड्डामा थुनामा राखिएको हुँदा त्यहाँबाट झिकाई कारवाही गरी पाउन अनुरोध छ भन्नेसमेत व्यहोराको मिति २०६२।७।६ मा काठमाडौं जिल्ला, अदालतमा पेश भएको अभियोगपत्र ।
मैले मृतक मीना नेपालीलाई कर्तव्य गरी मारेको होइन, सबिना र मीना नेपालीबीचको लेनदेन कारोबारबारेमा पनि मलाई थाहा छैन । म निर्दोष छु, मैले कुनै कसूर नगरेको हुँदा सजाय हुने होइन सफाइ पाउँ भन्ने व्यहोराको प्रतिवादी दिपकबहादुर घिमिरेले मिति २०६२।७।७ मा काठमाडौं जिल्ला, अदालतमा गरेको बयान ।
ड्राईभरलाई लास हो भन्ने जानकारी थिएन । मीना नेपालीलाई मार्ने मेरो र बहिनी सबिनाको मात्र संलग्नता छ, अरुको छैन । मैले अभियोग दावीको कसूर गरेको हुँदा मलाई अभियोग दावीबमोजिम सजाय भएमा कुनै पश्चाताप छैन भन्ने व्यहोराको प्रतिवादी दिपक सापकोटाले मिति २०६२।७।७ मा काठमाडौं जिल्ला, अदालतमा गरेको बयान ।
गोकर्ण जाने बाटोमा धारानेर गाडी रोक्न लगाई दिपकले उक्त प्याक ओरालेका हुन् । त्यसपछि के भयो मलाई थाहा छैन । लास हो भन्ने थाहा थिएन । अन्य सामान होला भनी लगेको हो । उक्त घटनामा मेरो कुनै संलग्नता छैन । अन्जानमा भएको गल्तीमा मैले सफाइ पाउनुपर्छ भन्ने व्यहोराको प्रतिवादी मंगल सिंह गोलेले काठमाडौं जिल्ला, अदालतमा मिति २०६२।७।७ मा गरेको बयान ।
प्रतिवादी दिपक घिमिरे र दिपक सापकोटाको उक्त वारदातमा संलग्नता थिएन होला भनी अहिले नै भन्न सकिने अवस्था नभएकोले पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादी दिपक घिमिरे र दिपक सापकोटाको हकमा अ.बं. ११८ नं. को देहाय २ को अवस्था विद्यमान भएकोले पुर्पक्षको लागि थुनामा राख्न अ.बं. १२१ नं. बमोजिमको थुनुवा पूर्जी दिनु । प्रतिवादी मंगल सिंह गोलेको हकमा निजलाई पुर्पक्षको लागि थुनामा राख्नुपर्ने अवस्था नभै अ.बं.११८ को देहाय ५ को अवस्था विद्यमान हुँदा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी निज प्रतिवादीबाट रू.९०००।- नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई पुर्पक्षको लागि तारेखमा राख्नु, नदिए नियमानुसारको सिधा खान पाउने गरी थुनामा राख्न अ.बं.१२१ नं. बमोजिमको थुनुवापूर्जी दिनु भन्ने २०६२।७।७ को काठमाडौं जिल्ला, अदालतको आदेश ।
बा.१ ज. २५२१ नं. को ट्याक्सी मेरो हो । सो ट्याक्सी यातायात व्यवस्था विभागमा मेरो नाउँमा दर्ता छ । सो ट्याक्सी ६, ७ महिनाअघिदेखि मंगल सिंह गोलेले चलाई आएका हुन् । गाडी चिनी सनाखत गरें, अदालतबाट खोजी भएका बखत दाखिल गर्ने गरी लैजान पाउँ भन्ने व्यहोराको जीवन मानन्धरको मिति २०६२।७।९ को सनाखत बयान ।
मसमेत योजनाकार भै मीना नेपालीको हत्या गरेको होइन । मेरो दाजु र दिपक घिमिरेले मीना नेपालीको हत्या गर्ने योजना बनाएका रहेछन् । मैले त निजहरूको धम्की र डरले निजको मुख तकिया र सिरकले छोपी दिएको हुँ । दाजु दिपक सापकोटा र दिपक घिमिरेले के कसरी गोकर्ण जङ्गलमा लगेर फ्याँके, मलाई थाहा भएन । मेरो दाजु र दिपक घिमिरेले मार्ने योजना बनाएको थाहा भएन । त्यो कुरा थाहा भएको भए निजलाई बोलाउने थिईनँ । मलाई सजाय नहोस् भन्ने व्यहोराको प्रतिवादी सबिना सापकोटाले काठमाडौं जिल्ला, अदालतमा मिति २०६२।७।२० मा गरेको बयान ।
यी प्रतिवादीको उक्त वारदात घट्नमा संलग्नता थिएन होला भनी अहिले नै भन्न सकिने अवस्था नभएको र हाल मुलुकी ऐन, अ.बं. ११८ को देहाय २ नं. को अवस्था विद्यमान देखिएकोले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादी सबिना सापकोटालाई पुर्पक्षको लागि थुनामा राख्न अ.बं. १२१ नं. बमोजिम थुनुवापूर्जी दिनु । साथै, यी प्रतिवादी सैनिक कर्मचारी सिपाही भएकोले यस अदालतको आदेशानुसार उपस्थित गराउने गरी निजलाई सैनिक ऐन, २०१६ अनुसार केन्द्रीय सैनिक प्रहरी गुल्म शाही नेपाली जङ्गी अड्डामा थुनामा राख्न पठाई दिनु भन्ने मिति २०६२।७।२० को काठमाडौं जिल्ला, अदालतको आदेश ।
अदालतको आदेशानुसार बुझिएका जाहेरवाला मौकामा बुझिएका मानिस तथा प्रतिवादीका साक्षीको बकपत्र भै मिसिल संलग्न रहेको ।
समरी जनरल सैनिक अदालतबाट प्रतिवादी सबिना सापकोटाको हकमा मिति २०६२।१०।१० मा भएको फैसलाको प्रमाणित प्रतिलिपि कार्यरथी विभाग जङ्गी अड्डा काठमाडौंको पत्र साथप्राप्त हुन आई मिसिल संलग्न रहेको ।
मृतक मीना नेपालीलाई प्रतिवादी सबिना सापकोटाले आफ्नो कोठामा ल्याई अन्य प्रतिवादीहरू दिपक सापकोटा र दिपक घिमिरे भै मीना नेपालीको टाउको हात खुट्टा समाई घाँटी थिची कर्तव्य गरी मीना नेपालीको मृत्यु भएको देखिँदा प्रतिवादीहरू सबिना सापकोटा, दिलीप भन्ने दिपक सापकोटा, दिपकबहादुर घिमिरेले अभियोगपत्रमा उल्लेख भएअनुसार मुलुकी ऐन, ज्यानसम्बन्धीकोको महलको १ नं. र १३ नं. को कसूर गरेको ठहर्छ । सो ठहर्नाले प्रतिवादी दिलीप भन्ने दिपक सापकोटालाई ऐ. १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद सजाय र मृतकको हात खुट्टा समाती दिने प्रतिवादी दिपकबहादुर घिमिरेलाई ऐ. १३(४) नं. बमोजिम जन्मकैद हुने ठहर्छ । प्रतिवादी सबिना सापकोटा सैनिक कर्मचारी भएकोले सैनिक अदालतबाट दोषी ठहरी जन्मकैद हुने गरी २०६२।१०।१० मा भएको फैसलाको जानकारीप्राप्त भएकोले यस अदालतबाट पनि दोहोरो कारवाही चलाउन नमिल्ने देखिँदा निजको हकमा अभियोग दावी कायम हुन नसक्ने ठहर्छ । मीना नेपालीको लास दभआउन संलग्न रहेका प्रतिवादी मंगल सिंह गोले प्रस्तुत कसूरको मतलवी भएको देखिँदा निजलाई ज्यानसम्बन्धीकोखओ महलको १७(३) नं. बमोजिम १ वर्ष कैद हुने ठहर्छ भन्ने काठमाडौं जिल्ला, अदालतबाट ०६४।३।१० मा भएको फैसला ।
घटना भएको दिन म भट्टेडाँडामा भएको मानिसलाई सबिनासँग एकै कोठामा बस्छ भन्ने कुरालाई आधारमानी मलाई ज्यान मार्ने जस्तो अपराधमा सजाय गर्ने गरी काठमाडौं जिल्ला, अदालतले गरेको फैसला बदर गरी थुनाबाट सफाइ पाउने फैसला गरी पाउँ भन्ने प्रतिवादी दिपकबहादुर घिमिरेको पुनरावेदनपत्र ।
यी पुनरावेदक प्रतिवादी दिपकबहादुर घिमिरेले आफू वारदात हुँदाको दिन र समयमा घटनास्थलमा नभई ललितपुरको भट्टेडाँडामा थिएँ । मृतकलाई मैले कर्तव्य गरी मारेको होइन भनी अदालतसमक्ष बयान गर्दा Alibi को जिकीर लिएको देखिए तापनि निजले अधिकारप्राप्त अधिकारीसमक्ष मौकामा बयान गर्दा मृतक मीना नेपालीको प्रतिवादी सबिना सापकोटासँग लेनदेनको विषयमा विवाद भै मार्ने योजना बनाई सबिनाले मीनालाई आफ्नो कोठामा बोलाई दिपक सापकोटासमेत भै घाँटी थिची मार्दा आफूले चलबल गर्न नदिई मीना नेपालीको शरीर थिचें भनी कसूरमा साबित रहेको देखिएको छ । साथै उक्त वारदातको प्रमूख योजनाकार मध्ये सबिना सापकोटाले अदालतसमक्ष बयान गर्दा मेरो दाजु दिपक सापकोटा र दिपकबहादुर घिमिरेले मीना नेपालीलाई हत्या गर्ने योजना बनाएका रहेछन् । मैले मृतकको मुख तकिया र सिरकले छोपी दिएको हुँ भनी मृतकलाई मार्दा तथ्य स्वीकार गरेको देखियो । जसले गर्दा उक्त वारदातमा यी पुनरावेदक प्रतिवादी दिपकबहादुर घिमिरेको संलग्नतालाई पुष्टि गरेको छ । निजले आफू वारदातको दिन अन्यत्र थिएँ भनी अदालतसमक्ष लिएको Alibi को जिकीरलाई पुष्टि गर्न प्रमाण ऐन, २०३१ को दफा २७(१) बमोजिम प्रमाण पेश गर्न देखाउन सकेको देखिँदैन । साथै मृतकको Autopsy मा मृत्युको कारण Ligature Strangulation भनी उल्लेख भएको र यस वारदातको मुख्य योजनाकार अभियुक्तहरूको बयानसँग यी पुनरावेदक प्रतिवादी दिपकबहादुर घिमिरेले चलहल गर्न नदिई मृतकको शरीर समाती दिएको भनी मौकामा गरेको बयानबाट पुष्टि भै रहेकोसमेत देखिँदा यी पुनरावेदक प्रतिवादी दिपकबहादुर घिमिरेको प्रस्तुत मुद्दाको वारदातमा संलग्नता रहेनछ भन्न सकिने अवस्था देखिएन । अतः मुलुकी ऐन, ज्यानसम्बन्धीकोको महलको १३(४) नं. बमोजिम यी पुनरावेदक प्रतिवादी दिपकबहादुर घिमिरेलाई जन्मकैदको सजाय हुने ठहर्याएको सुरू काठमाडौं जिल्ला, अदालतको मिति २०६४।३।१० को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६५।१०।२३ को फैसला ।
यी प्रतिवादी दिपक सापकोटासमेतले मीना नेपाली परियारलाई कर्तव्य गरी मारेको भन्ने किटानी जाहेरी परेको, अन्य प्रतिवादीहरू दिपक घिमिरे, सबिना सापकोटा र मंगलसिंह गोलेसमेतको बयानबाट मृतकलाई मार्नमा यी प्रतिवादीसमेतको संलग्नता रहेको भन्ने खुल्न आएको र यी प्रतिवादीले कसूरमा साबित रही अधिकारप्राप्त अधिकारी तथा अदालतमासमेत बयान गरेको देखियो । मृतक मीना नेपालीको प्रतिवादी सबिना सापकोटासँग लेनदेनको विषयमा विवाद भै मार्ने योजना बनाई सबिनाले मृतकलाई आफ्नो कोठामा बोलाई दिपक सापकोटासमेत भै घाँटी थिची मार्दा आफूले चलबल गर्न नदिई मीना नेपालीको शरीर थिचें भनी प्रतिवादी दिपक घिमिरेले बयान गरेको तथा उक्त वारदातको प्रमूख योजनाकारमध्ये सबिना सापकोटाले अदालतसमक्ष बयान गर्दा मेरो दाजु दिपक सापकोटा र दिपकबहादुर घिमिरेले मीना नेपालीलाई हत्या गर्ने योजना बनाएका रहेछन् । मैले मृतकको मुख तकिया र सिरकले छोपी दिएकी हुँ भनी मृतकलाई मार्दाको तथ्य स्वीकार गरेको देखियो । जसले गर्दा यी प्रतिवादी दिपक सापकोटाको संलग्नतालाई थप पुष्टि गरी दिएको छ । साथै मृतकको मृत्युको कारण Ligature Strangulation भनी उल्लेख भएको र यी प्रतिवादी दिपक सापकोटाले मृतकको घाँटीमा डोरीले फन्कामारी कसी दिएको भनी मौकामा र अदालतमा गरेको बयानबाट सो व्यहोरा पुष्टि भै रहेको देखियो । अतः प्रत्यर्थी प्रतिवादी दिपक सापकोटालाई मुलुकी ऐन, ज्यानसम्बन्धीकोको महलको १, १३ नं. को कसूरमा १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराई सुरू काठमाडौं जिल्ला, अदालतले मिति २०६४।३।१० मा गरेको फैसला मिलेकै देखिँदा प्रस्तुत साधक सदर हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०७०।८।११ को फैसला ।
पुनरावेदन अदालत, पाटनको फैसलामा मेरो चित्त बुझेन । मैले सम्मानित अदालतसमक्ष बयान गर्दा स्पष्टरूपमा उल्लेख गरी सकेको छु कि म पुनरावेदक उक्त घटना घटेको भनिएको दिन कोठामा नै थिइनँ । म पुनरावेदकले मृतकलाई चिनेको पनि छैन । कुनै किसिमको रिसइबी तथा अपराध हुनका लागि आवश्यक तत्त्वहरू विद्यमान हुनुपर्दछ र तिनै तत्त्वका आधारमा मात्र सजाय हुनुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा मृतकलाई मैले मार्नुपर्नेसम्मको कुनै पनि कारण रिसइबी मनसायहरू जस्ता तत्त्वहरू पनि विद्यमान रहेको अवस्था छैन । अख्तियारप्राप्त अधिकारीसमक्ष भएको बयानका सन्दर्भमा पहिला नै लेखेर तयार पारिएको कागजमा जबर्जस्तीरूपमा मलाई प्रहरीले सही गराएका हुन् । अधिकारप्राप्त अधिकारीसमक्षको साबिती बयानलाई मूल निर्णयाधार बनाइनु उपयुक्त हुँदैन । त्यो बयान निष्पक्ष, स्वतन्त्र र दबाबरहित हुनु आवश्यक हुन्छ । साबिती आफैंमा ठोस एवं स्वतन्त्र प्रमाण होइन । अदालत बाहिरको साबिती बयानलाई मूल निर्णयाधार बनाई म पुनरावेदकको विरूद्धमा पुनरावेदन अदालत, पाटनले गरेको फैसला प्रमाण ऐन, २०३१ को दफा (९) तथा यस सम्बन्धमा सर्वोच्च अदालतबाट संस्थापित प्रहरीमा साबितीमात्र गडाउको आधार नहुने भन्ने सिद्धान्तहरूसमेतको प्रतिकूल रहेको छ । पुनरावेदन अदालत, पाटनबाट गरिएको फैसलामा सहअभियुक्तमध्येकी सबिना सापकोटाको बयानलाई समेत निर्णयाधारकारूपमा लिइएको छ, सो निर्णयाधार कानून सङ्गत छैन । कुनै पनि मुद्दामा सहअभियुक्तको बयानको आधारमा त्यसलाई स्वतन्त्ररूपमा पुष्टि गर्ने प्रमाणबिना कुनै पनि व्यक्तिलाई कसूरदार ठहर गर्नु न्यायिक दृष्टिकोणले उचित हुँदैन । यसैगरी सहअभियुक्तहरूको पोलाइबाट मैले मृतकलाई मार्नमा प्रत्यक्ष संलग्न रहेको देखिएको र म अपराधमा संलग्न नरहेको भन्ने तथ्ययुक्त प्रमाण पेश हुन नसकेको कुरा फैसलामा उल्लेख गरिएको छ । म पुनरावेदक घटना घटेको भनिएको दिन अन्यत्र भएको कुरा मैले सम्मानित अदालतसमक्ष बयान गर्दा उल्लेख गरी सकेको छु । यसमा सहअभियुक्तको पोलाइबाट मैले कसूर गरेको भन्ने शङ्काको भरमा सजाय गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन जान्छ । कसूर प्रमाणित गर्ने प्रमाणहरू स्वतन्त्ररूपमा विलकूल शङ्कारहित तवरबाट पुष्टि हुनुपर्दछ । सहअभियुक्तमध्येकै दिपक सापकोटाले मृतकलाई मार्नमा म पुनरावेदकको संलग्नता नभएको कुरा सम्मानित अदालतसमक्ष बयान गर्दा उल्लेख गरी सकेका छन् । त्यसैगरी सहअभियुक्त मध्येकै मंगलसिंह गोलेलेसमेत मेरो संलग्नता भएको कुरा कहिंकतै उल्लेख गरेको अवस्था छैन । यसरी सूक्ष्मगतरूपमा अध्ययनसमेत नगरी गरिएको उक्त पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी दिपकबहादुर घिमिरेले यस अदालतमा पेश गरेको पुनरावेदनपत्र ।
प्रतिवादीमध्येका दिपक सापकोटाको पुनरावेदन परेको रेडर्कबाट नदेखिएकोले यस अदालतको मिति २०६९।३।१७ को आदेशले साधक जाँचको लागि साधक दायरीमा दर्ता गरी नियमबमोजिम गर्नु भन्ने आदेश भएकोले निज प्रतिवादी दिपक सापकोटाको हकमा प्रस्तुत मुद्दा साधक दायरीमा दर्ता गरी इजलाससमक्ष पेश गर्नु भन्नेसमेत यस अदालतको आदेशानुसार प्रतिपादी दिपक सापकोटाको हकमा साधक दायरीमा दर्ता भएको देखिएको ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेशीसूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी दिपक घिमिरे भन्ने दिपकबहादुर घिमिरेको तर्फबाट विद्वान अधिवक्ता गणेशबहादुर गुरूङले प्रतिवादी दिपकबहादुर घिमिरेले अदालतसमक्ष बयान गर्दा उक्त घटना घटेको भन्ने दिन र समयमा आफू अन्यत्र रहेको भनी Alibi को जिकीर लिई उक्त कसूरजन्य कार्यमा आफ्नो संलग्नता नरहेको इन्कारी बयान गरेको, अनुसन्धानका क्रममा अनुसन्धान अधिकारीसमक्ष गरेको बयान पहिला नै लेखेर तयार पारिएको कागजमा जबर्जस्तीरूपमा प्रहरीले सही गराएकोले उक्त बयानलाई मूल निर्णणधार बनाउन मिल्दैन । प्रहरीमा भएको साबिती बयान आफैंमा ठोस एवं स्वतन्त्र प्रमाण होइन । सहअभियुक्तमध्येका दिपक सापकोटा र मंगलसिंह गोलेले दिपकबहादुर घिमिरेको संलग्नता थियो भनी बयानमा उल्लेख गरेको अवस्था छैन । केवल सहअभियुक्त सबिना सापकोटाले बयान गर्दा पोल गरेकै आधारमा प्रतिवादी दिपकबहादुर घिमिरेलाई कसूरदार ठहर्याउन मिल्ने होइन । शङ्काको सुविधा अभियुक्तले पाउँछ भन्ने फौजदारी न्यायको सिद्धान्तविपरित भएको फैसला त्रुटिपूर्ण हुँदा विपक्षी झिकाउने आदेश हुनुपर्छ भनी गर्नु भएको बहससमेत सुनियो ।
यसमा पुनरावेदन अदालत, पाटनको मिति २०६५।१०।२३ र मिति २०७०।८।११ को फैसला मिलेको छ, छैन र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा नै निर्णय गर्नुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादी दिपक सापकोटासमेतको मृतक मीना नेपालीलाई मार्ने योजनामा प्रत्यक्ष संलग्नता रही, मार्नमा संयोग पारी दिनका लागि मृतक मीना नेपालीको खुट्टा, शरीरसमेत थिची दिएको कुरामा साबित रही बयान गरेका प्रतिवादी दिपकबहादुर घिमिरेलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(४) नं. को कसूरमा ऐ. १३(४) नं. बमोजिम सजाय हुन तथा मार्ने योजना र कार्यमा प्रत्यक्ष संलग्नता नरहेको तर ज्यान मारेको कुरा थाहा जानकारी भएर पनि जाहेरसमेत नगरी लास फाल्न, दबाउन आफूले चलाउने गरेको बा.१ज. २५२१ नं.को ट्याक्सीमा लास राखी आफैँले फाल्नमा संलग्न रहेका मंगलसिंह गोलेको कार्य सोही ऐन, महलको १७(३) नं. बमोजिमको कसूर अपराध हुँदा सोही १७(३) नं. बमोजिम सजाय हुन र प्रतिवादी सबिना सापकोटा सैनिक ऐन, २०१६ अन्तर्गतका सैनिक कर्मचारी (सिपाही) भएकोले निजलाई सैनिक ऐन, २०१६ अनुसार केन्द्रीय सैनिक प्रहरी गुल्म शाही नेपाली जङ्गी अड्डामा थुनामा राखिएको हुँदा त्यहाँबाट झिकाई कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र दायर भएको देखिन्छ ।
३. सुरू काठमाडौं जिल्ला, अदालतबाट प्रतिवादीहरूमध्येका दिलीप भन्ने दिपक सापकोटा र दिपकबहादुर घिमिरेलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. र १३ नं. को कसूरमा प्रतिवादी दिपक सापकोटालाई ऐ. को १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय र प्रतिवादी दिपकबहादुर घिमिरेलाई ऐ. को १३(४) नं.बमोजिम जन्मकैदको सजाय हुनेसमेत ठहर भएकोमा प्रतिवादी दिपकबहादुर घिमिरेको सुरू फैसलाउपर पुनरावेदन परी पुनरावेदन अदालत पाटनबाट मिति २०६५।१०।२३ मा सुरू इन्साफ सदर हुने ठहरी फैसला भएको र प्रतिवादी दिपक सापकोटाको हकमा पुनरावेदन नपरेकोले साधक जाहेर भई मिति २०७०।८।११ मा पुनरावेदन अदालत, पाटनबाट सुरू इन्साफ साधक सदर भएको देखिन्छ । उक्त फैसलाउपर प्रतिवादी दिपकबहादुर घिमिरेको तर्फबाट यस अदालतमा पुनरावेदनपत्र परी एवम् प्रतिवादी दिपक सापकोटाको हकमा साधक दायरीमा दर्ता भई प्रस्तुत मुद्दा पेश हुन आएको देखियो ।
४. प्रतिवादी दिपकबहादुर घिमिरेको हकमा विचार गर्दा निजले अदालतसमक्ष बयान गर्दा वारदात हुँदाको दिन र समयमा घटनास्थलमा नभई ललितपुरको भट्टेडाँडामा थिएँ, मृतक मीना नेपालीलाई मैले कर्तव्य गरी मारेको होइन भनी Alibi (अन्यत्र स्थलमा रहेको) को जिकीर लिएको देखिए तापनि अन्यस्थल (Alibi) को जिकीर स्वतन्त्र र तथ्यपूर्ण प्रमाणबाट समर्थित भएमा मात्र प्रमाणको लागि ग्राह्य हुन सक्ने हुन्छ । वारदातको दिन र समयमा आफू घटनास्थलमा उपस्थित नरही अन्यस्थलमा रहेको भनी अन्यत्रस्थल (Alibi) को जिकीर लिने व्यक्तिले घटना हुँदाका बखत आफू उपस्थित रहेको भनिएको स्थानबाट घटना भएको स्थानको दूरी (Distance) यति धेरै छ कि घटना भएको समयमा घटनास्थलमा उपस्थित हुन असम्भव छ भनी अकाट्य र विवादरहित प्रमाणबाट प्रमाणित गर्नुपर्दछ । अर्थात् एकै समयमा एक व्यक्ति दुई ठाउँमा उपस्थित हुन असम्भव छ भनी अभियुक्तले प्रमाणबाट स्थापित गर्न सक्नुपर्दछ । तर यी प्रतिवादी दिपकबहादुर घिमिरेले घटना हुँदाका दिन र समयमा आफू उपस्थित रहेको भनिएको स्थान ललितपुरको भट्टेडाँडा र घटनास्थल भनिएको काठमाडौंको सुकेधाराबीचको दूरी, यातायात र सवारी साधनको उपलब्धता आदिको विचार गर्दा कुनै व्यक्ति सो दुबै स्थानमा उपस्थित रहन असम्भव नदेखिँदा प्रतिवादी दिपकबहादुर घिमिरेले लिएको अन्यत्र स्थल (Alibi) को जिकीर तथ्य, प्रमाण र यातायात साधनको उपलब्धताको दृष्टिले मान्य हुन सक्ने देखिएन । अन्यत्र स्थल (Alibi) को जिकीर अकाट्य र निर्विवाद प्रमाणबाट स्थापित र प्रमाणित हुन नसकेमा सो जिकीर निजैका विरूद्ध प्रमाण लाग्ने हुन्छ । प्रचलित नेपाल कानूनबमोजिम सजायमा कमी वा छूट हुने वा सजायबाट रिहाइ पाउने कुनै कुराको जिकीर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार प्रमाण ऐन, २०३१ को दफा २७(१)बमोजिम निज प्रतिवादीको नै हुन्छ । प्रतिवादीले वारदातको समयमा अन्यत्र रहेको भनी लिएको जिकीर विश्वसनीयरूपले प्रमाणित गर्न सकेको देखिएन ।
५. यी पुनरावेदक दिपकबहादुर घिमिरेले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा मृतक मीना नेपालीको प्रतिवादी सबिना सापकोटासँग लेनदेनको विषयमा विवाद भै मार्ने योजना बनाई प्रतिवादी सबिना सापकोटाले मृतक मीना नेपालीलाई आफ्नो कोठामा बोलाई प्रतिवादी दिपक सापकोटासमेत भै घाँटी थिची मार्दा आफूले हलचल गर्न नदिई मीना नेपालीको शरीर र खुट्टा थिच्न सहयोग गरेको भनी कसूरमा साबित भएको देखिएको छ । प्रतिवादीमध्येकी सबिना सापकोटाले अदालतमा बयान गर्दा मेरो दाजु दिपक सापकोटा र दिपक घिमिरेले मीना नेपालीको हत्या गर्ने योजना बनाएका रहेछन् । मैले त निजहरूको धम्की र डरले निजको मुख तकियाले र सिरकले छोप्ने भनी दाजुसमेतले भनेकोले निजको घाँटीमा मेरो दाजुले डोरीले बाँधेको र दिपक घिमिरेले निजको खुट्टा चेपे र मैले मीना नेपालीको मुखमा तकिया र सिरकले छोपेको हो भन्नेसमेत व्यहोरा लेखाएबाटसमेत प्रतिवादी दिपकबहादुर घिमिरले अनुसन्धान अधिकारीसमक्ष साबित भै गरेको बयान कागज समर्थित हुन आएको छ । अनुसन्धानका क्रममा मौकामा भएको बयान कागज अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन्छ भने अदालतमा इन्कारी बयान गर्दैमा मौकामा गरिएको बयानले प्रमाणिक महत्त्व राख्दैन भन्न मिल्दैन ।
६. प्रतिवादी दिपक सापकोटा र सबिना सापकोटासमेतको अदालतमा भएको बयान र मृतक मीना नेपालीको Autopsy मा मत्युको कारण Ligature Strangulation भनी उल्लेख भएबाट मृतक मीना नेपालीको मृत्यु कर्तव्यबाट भएकोमा विवाद छैन । प्रतिवादी सबिना सापकोटासमेतको बयानबाट यी प्रतिवादी दिपकबहादुर घिमिरेले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान समर्थित भई कसूर पुष्टि भईरहेको अवस्था हुँदा काठमाडौं जिल्ला, अदालतबाट निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३ नं. को कसूरमा ऐ. १३(४) नं. बमोजिम जन्मकैद हुने ठहर गरेको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण छ भन्ने पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन ।
७. अर्का प्रतिवादी दिपक सापकोटाको सम्बन्धमा विचार गर्दा, यी प्रतिवादीसमेतले मृतक मीना नेपालीलाई कर्तव्य गरी मारेको भन्ने किटानी जाहेरी परेको देखिन्छ । अनुसन्धान अधिकारी तथा अदालतमा बयान गर्दासमेत यी प्रतिवादी कसूरमा साबित भई बयान गरेको देखिन्छ । मृतक मीना नेपालीको प्रतिवादी सबिना सापकोटासँग लेनदेनको विषयमा विवाद भै मार्ने योजना बनाई प्रतिवादी सबिनाले मृतक मीनालाई आफ्नो कोठामा बोलाई दिपक सापकोटासमेत भै घाँटी थिची मार्दा आफूले हलचल गर्न नदिई मीना नेपालीको खुट्टा थिचें भनी प्रतिवादी दिपकबहादुर घिमिरेले अनुसन्धान अधिकारीसमक्ष बयान गरेको र प्रतिवादी सबिना सापकोटाले मेरा दाजु दिपक सापकोटा र दिपक घिमिरेले मीना नेपालीलाई हत्या गर्ने योजना बनाएको रहेछन्, निजहरूको अह्रोटमा मैले मृतकको मुख तकिया र सिरकले छोपी दिएकी हुँ भनी मृतकलाई मार्दाको तथ्य स्वीकार गरी अदालतमा बयान गरेको देखिन्छ । जसबाट प्रतिवादीहरू दिपकबहादुर घिमिरे, सबिना सापकोटा र मंगलसिंह गोलेसमेतले मृतकलाई कर्तव्य गरी मारी फाल्नमा यी प्रतिवादी दिपक सापकोटासमेतको संलग्नता रहेको पुष्टि हुन आएको छ । मृतकको मृत्युको कारण Ligature Strangulation भनी Autopsy Report मा उल्लेख भएबाट र यी प्रतिवादी दिपक सापकोटाले मृतकको घाँटीमा डोरीले फन्कामारी कसी दिएको भनी मौकामा र अदालतमा समेत बयान गरेको देखिएबाट उक्त वारदातमा निजको संलग्नता स्पष्ट र प्रामाणिकरूपमा स्थापित हुन आएको छ ।
८. अतः प्रतिवादी दिपकबहादुर घिमिरेलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३ नं. को कसूरमा ऐ. को १३(४) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर गरेको सुरू काठमाडौं जिल्ला, अदालतको इन्साफ सदर हुने ठहर्याएको पुनरावेदन अदालत, पाटनको मिति २०६५।१०।२३ को फैसला मनासिब हुँदा सदर हुने ठहर्छ । पुनरावदेक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । अर्का प्रतिवादी दिपक सापकोटालाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३ नं. को कसूरमा ऐ. को १३(३) नं बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको इन्साफ साधक सदर हुने ठहर्याएको पुनरावेदन अदालत, पाटनको मिति २०७०।८।११ को फैसलासमेत साधक सदर हुने ठहर्छ । दुबै प्रतिवादीहरू थुनामा रहेको देखिएकोले सम्बन्धित कारागार कार्यालयमार्फत फैसलाको जानकारी निजहरूलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाईदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. रामकुमार प्रसाद शाह
इति संवत् २०७० साल चैत ३० गते रोज १ शुभम् ।
इजलास अधिकृत : दण्डपाणि लामिछाने